नाडा र नाडाका संस्थागत एशोसिएशनबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न
काठमाडौं । नाडा र नाडाका संस्थागत एशोसिएशनबीच बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । पुस १९ गते हेटौडामा नाडाका अध्यक्ष करण चौधरीको प्रमुख आतिथ्यतामा नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल, हेटौडा अटोमोवाइल्स एशोसिएशन र नाडा संस्थागत एशोसिएशनका पदाधिकारी तथा सदस्यबीच बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । पुस २० गते हेटौडामा सम्पन्न हेटौडा अटोमोवाइल्स एशोसिएशनको २४ औं वार्षिक साधारण सभाको सन्दर्भमा यस्तो अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको थियो । सो कार्यक्रममा उपस्थित सदस्यहरुले अटोमोवाइल क्षेत्रमा देखिएका विभिन्न समस्याहरुका सम्बन्धमा विभिन्न प्रश्न र जिज्ञाशाहरु राखेका थिए । सो कार्यक्रममा विशेषगरी भन्सार विभाग र वाणिज्य विभागले जारी गरेको यमआरपीका विषयमा, भन्सार मूल्याङ्कनको समस्या, साफ्टाअन्तर्गत आएका अटोमोवाइल बस्तुहरु, झोले व्यापारीले पुर्याएको समस्या, मधेश प्रदेशमा विना प्यान नम्बर सञ्चालन ३ हजार पसलहरुको कारण अन्य व्यवसायीहरुलाई परिरहेको नकारात्मक असर, भ्याटमा दर्ता भएर राख्नु पर्ने लेखासम्बन्धी समस्याहरु, सदस्यहरुको हितका लागि भलाई कोषको व्यवस्था, व्यवसायमा चेक वाउन्सको व्यावहारिक समस्या, अटोमोवाइल व्यवसायीहरु इन्स्योरेन्समा आवद्ध नहुदाको समस्या र नाडाका प्रदेश एशोसिएशनहरुलाई साधारण सभा सम्पन्न गर्नका लागि पनि नाडाले आर्थिक श्रोतको व्यवस्था गरिदिनु पर्ने जस्ता विषयहरुमा विस्तृत छलफल भएको थियो । छलफलको अन्त्यमा नाडाका अध्यक्ष करण चौधरीले छलफलमा उठेका प्रश्नहरुको प्रत्युत्तर समेत दिएका थिए । यस्तै नाडाका केन्द्रीय कार्य समितिका सदस्य सुनिल रिजालले स्पेयर पार्टस र एमआरपीका सम्बन्धमा उठेका प्रश्नहरुको जवाफ दिएका थिए । कार्यक्रमको अन्त्यमा नाडाका महासचिव सुरेन्द्रकुमार उपे्रतीले नाडा प्रदेशहरुलाई कर, भन्सार र भिसिटि सम्बन्धी प्रशिक्षण कार्यक्रम र सीप विकास सम्बन्धी तालिम कार्यक्रमको आयोजना गर्न आग्रह गर्दै त्यसका लागि नाडाले आवश्यक सहयोग गर्ने बताए । सो अन्तरक्रिया कार्यक्रम नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीले गरेका थिए भने कार्यक्रमको समापन हेटौडा अटोमोवाइल्स एशोसिएशनका अध्यक्ष ऋषिप्रसाद ढकालले गरेका थिए । सो कार्यक्रममा नाडाका तर्फबाट संस्थागत सदस्य कुलवहादुर क्षेत्री, केन्द्रीय कार्यसमिति सदस्य मेघराज पौडेल, केन्द्रीय कार्य समिति आमन्त्रित सदस्यद्धय नारायणप्रसाद पौडेल र सागर सापकोटाको उपस्थिति रहेको थियो । त्यसैगरी हेटौडा अटोमोवाइल्स एशोसिएशनका निबर्तमान अध्यक्ष दामोदर अटल,बरिष्ठ उपाध्यक्ष धर्मराज धिमाल, उपाध्यक्ष जितेन्द्र तिवारी, महासचिव दिपेन्द्रकुमार उपे्रती, सचिव संञ्जयकुमार गुप्ता, कोषाध्यक्ष श्यामप्रसाद कडेल, कार्य समिति सदस्यद्धय उत्तमप्रसाद भण्डारी, सुजन उपे्रती, देवनारायण टुलाल, मुनालराज न्यौपाने, प्रकाश भट्टराई, क्षेत्रिय संयोजक दिपेश खडगीको उपस्थिति रहेको थियो । त्यसैगरी जानकी अटोमोवाइल्स एशोसिएशन अफ नेपालका प्रथम उपाध्यक्ष राहुल अग्रवाल समेतको उपस्थिति रहेको थियो । अन्तरक्रिया कार्यक्रम सम्पन्न हुनु अघि हेटौडामा नाडाको इतिहासमा पहिलो पटक नाडा इण्टर प्रोभिन्स लेभल फ्रेण्डली व्याडमिण्टन प्रतियोगितासमेत सम्पन्न गरिएको थियो ।
नेपाल एसबिआई बैंकको साधारण सभाबाट १०.६५ प्रतिशत लाभांश पारित
काठमाडौं । नेपाल एसबिआई बैंकको ३१ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकको साधारण सभाले सेयरधनीलाई चुक्ता पुँजीमा १०.६५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बैंकको साधारण सभा आइतबार त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा सम्पन्न भएको हो । उक्त सभाले बैंकको आर्थिक वर्ष २०८०/८१ का लागि संचालक समितिको प्रतिवेदन एवं लेखापरीक्षकको प्रतिवेदनसहितको आर्थिक वर्ष २०८०/८१ वार्षिक आर्थिक विवरण (२०८१ आषाढ मसान्तको वासलात, आर्थिक वर्ष २०८०/८१ को नाफानोक्सान हिसाब र सोही अवधिको नगदप्रवाह विवरण लगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरु समेत) पारित गरेको छ । साधारण सभाले बैंकको सहायक कम्पनी ‘नेपाल एसबिआई मर्चेण्ट बैकिङ’ को आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरण सहितको एकीकृत वित्तीय विवरण समेत स्वीकृत गर्यो । सभाले बैंकका सेयरधनीहरूलाई ३.८० प्रतिशत बोनस सेयर र ६.८५ प्रतिशत नगद लाभांश (बोनस सेयर तथा नगद लाभांशमा लाग्ने कर सहित) गरी चुक्ता पुँजीमा जम्मा १०.६५ प्रतिशतका दरले लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ । उक्त साधारण सभाले आर्थिक वर्ष २०८१/८२ मा बैंकको लेखापरीक्षण गर्नका लागि मेशर्स पिकेएफ टिआर उपाध्याय एण्ड कं., चार्टर्ड एकाउण्टेन्ट्सलाई लेखापरीक्षकमा नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गरेको छ । साथै, उक्त सभाले बैंकको प्रबन्धपत्र तथा नियमावलीको विभिन्न दफामा संशोधन गर्ने प्रस्ताव समेत पारित गरेको छ । उक्त सभाले बैंकको तर्फबाट अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु गाभ्ने/गाभिने (मर्जर) वा प्राप्ति (एक्विजिसन) गर्न आवश्यक सहमति र सम्झौता गर्ने लगायत बैंक तथा वित्तीय संस्थाहरु गाभ्ने/गाभिने (मर्जर) वा प्राप्ति (एक्विजिसन) गर्ने/गराउने सम्बन्धमा आवश्यक कामहरु गर्न/गराउन सक्ने अख्तियारी सञ्चालक समितिलाई प्रत्यायोजन गर्ने प्रस्ताव समेत पारित गरेको छ । उक्त सभाले सभा समक्ष पेस गरिएका अन्य प्रस्तावहरु समेत प्रस्ताव बमोजिम पारित/स्वीकृत गरेको बैकले जनाएको छ ।
स्मार्टच्वाइस टेक्नोलोजिज र हाम्रो पेबीच भुक्तानीका लागि स्मार्ट क्यूआर प्रयोग गर्ने सम्झौता
काठमाडौं । स्मार्टच्वाईस टेक्नोलोजिज (एससीटी) र भुक्तानी सेवा प्रदायक संस्था हाम्रो पे (लेनदेन सेवा प्रा.लि.) बीच सहकार्य भएको छ । दुई कम्पनीबीच स्मार्ट क्युआरमार्फत भुक्तानी सेवा सञ्चालनको लागि सम्झौता भएको हो । सम्झौतासँगै हाम्रो पे प्रयोगकर्ताले स्मार्ट क्युआर मार्फत आफ्नो वालेट लोड गर्न मिल्ने र मर्चेन्टलाई भुक्तानी गर्न मिल्छ । साथै विभिन्न व्यापार व्यवसायमा संलग्न व्यवसायीले क्युआर मार्फत भुक्तानी लिनलाई स्मार्ट क्युआरको सुविधा पनि लिन सक्छन् । क्यूआर कोडका लागि प्रचलित अन्तराष्ट्रिय मापदण्ड ईएमभी स्ट्यान्डर्ड पालना गर्दै नेपाल क्यूआर स्ट्यान्डर्ड अन्तर्गत जारी हुने स्मार्ट क्युआर नेपालको पहिलो इन्टरअपरेवल क्युआर कोड हो । एससीटी र हाम्रो पेबीचको सम्झौतापत्रमा एससीटीका प्रमुख कार्यकारी अधिकृत मनोज घिमिरे र हाम्रो पेका प्रमुख कार्यकारी अधिकृत शिशिर पोख्रेलले हस्ताक्षर गरे । स्मार्ट क्युआरमार्फत हुने कारोबारवापतको रकम मर्चेन्टको खातामा तत्कालै फस्र्योट हुने भएकाले यस सेवाको सुरुवात पश्चात हाम्रो पेका प्रयोगकर्ता लगायत मर्चेन्टहरुलाई कारोबार गर्न झनै सजिलो हुने विश्वास रहेको छ ।
अमेरिकी डलरको मूल्य स्थिर, अन्य विदेशी मुद्रामा घटबढ
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकले तोकेको विनिमयदर अनुसार, अमेरिकी डलरलगायत केही विदेशी मुद्राको मूल्य आज स्थिर रहेको छ । युरोपियन युरो, युके पाउन्ड स्टर्लिङ, स्वीस फ्र्याङ्क, डेनिस क्रोनर, ओमनी रियालको भाउ बढेको छ । त्यसैगरी क्यानेडियन डलर, सिङ्गापुर डलर, थाई भाट, बहराइन दिनारको भाउ भने घटेको छ । अमेरिकी डलर एकको खरिददर एक सय ३६ रुपैयाँ ९४ पैसा र बिक्रीदर एक सय ३७ रुपैयाँ ५४ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४१ रुपैयाँ १७ पैसा र बिक्रीदर एक सय ४१ रुपैयाँ ७९ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर एक सय ७० रुपैयाँ १० पैसा, बिक्रीदर एक सय ७० रुपैयाँ ८५ पैसा , स्वीस फ्र्याङ्क एकको खरिददर एक सय ५० रुपैयाँ ७६ पैसा र बिक्रीदर एक सय ५१ रुपैयाँ ४२ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ०९ पैसा र बिक्रीदर ८५ रुपैयाँ ४७ पैसा, क्यानेडियन डलर एकको खरिददर ९४ रुपैयाँ ७८ पैसा र बिक्रीदर ९५ रुपैयाँ २० पैसा, सिङ्गापुर डलर एकको खरिददर ९९ रुपैयाँ ९५ पैसा र बिक्रीदर एक सय रुपैयाँ ३९ पैसा निर्धारण गरिएको छ । जापानी येन १० को खरिददर आठ रुपैयाँ ७१ पैसा र बिक्रीदर आठ रुपैयाँ ७४ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ७१ पैसा र बिक्रीदर १८ रुपैयाँ ७९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६२ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७२ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर तीन रुपैयाँ ९७ पैसा र बिक्रीदर तीन रुपैयाँ ९९ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपैयाँ २८ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ४३ पैसा र बिक्रीदर ३० रुपैयाँ ५६ पैसा निर्धारण भएको छ । साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ३२ पैसा र बिक्रीदर नौ रुपैयाँ ३६ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ३२ पैसा र बिक्रीदर १२ रुपैयाँ ३८ पैसा र डेनिस क्रोनर एकको खरिददर १८ रुपैयाँ ९३ पैसा र बिक्रीदर १९ रुपैयाँ ०१ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ ६१ पैसा र बिक्रीदर १७ रुपैयाँ ६८ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ४३ रुपैयाँ ८० पैसा र बिक्रीदर चार सय ४५ रुपैयाँ ७५ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ६३ रुपैयाँ २४ पैसा र बिक्रीदर तीन सय ६४ रुपैयाँ ८३ पैसा, ओमनी रियाल एकको खरिदर तीन सय ५६ रुपैयाँ १५ पैसा र बिक्रीदर तीन सय ५७ रुपैयाँ ७१ पैसा तोकिएको छ । त्यसैगरी, भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ । यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैङ्कले जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुनेसमेत जनाइएको छ ।
१३ बिघा सरकारी जग्गा अतिक्रमण, सरकारभन्दा व्यक्ति बलिया
बागमती । प्राकृतिक जलाशय मत्स्य प्रवद्र्धन एवं संरक्षण केन्द्र हेटौँडाको अतिक्रमणमा परेको जग्गा अझै फिर्ता नहुँदा माछा पोखरी असुरक्षित भएको छ । विभिन्न व्यक्ति तथा संस्थाले लामो समयदेखि मत्स्य केन्द्रको कूल ४९ हेक्टर जग्गामध्ये १३ बिघा १३ कठ्ठा १० धुर जग्गा अतिक्रमण गर्दा माछापालन क्षेत्र घटेर समस्या भएको हो । ‘हाम्रो थुप्रै जग्गा अतिक्रमणमा परेको छ, अतिक्रमण गरेर अधिकांशले भौतिक संरचना निर्माण गरेका छन्’, कार्यालय प्रमुख सरोजकुमार यादवले भने, ‘जग्गा अतिक्रमणमा परेकाले माछापालनमा समस्या भएको छ, भने जग्गाको घेरबार गर्न सकेका छैनौँ ।’ जग्गा घेरबार गर्न नसकेर माछापालनका लागि निर्माण गरिएको पोखरीसमेत असुरक्षित भएको उनको भनाइ छ । माछा प्लानको कित्ता नम्बर ९६ को जग्गामध्ये करिब १२ कठ्ठा जग्गा अतिक्रमण गरी स्थानीय विष्णुप्रसाद दङ्गाल, धनबहादुर लामा, सावित्री बज्राचार्य (कुँवर), नवीन श्रेष्ठ, उद्धव चौलागाईं, पदमबहादुर खड्का र प्रेमबहादुर परियारले भवनलगायतका संरचना निर्माण गरेर भोगचलन गर्दै आएको पाइएको कार्यालय प्रमुख यादवले बताए । अतिक्रमणमा परेको जग्गा खाली गर्न पटक–पटक सूचना दिए पनि हालसम्म खासै उपलब्धि हासिल हुन नसकेपछि अतिक्रमित जग्गामा निर्माण भएका संरचना भत्काउने तयारी भइरहेको प्रमुख यादवले बताए । अतिक्रमणमा परेको जग्गाको डिजिटल विधिबाट नक्शाङ्कन गरेपछि गत २०८० भदौ १६ गते सात जनाको नाम तोकेरै सो कार्यालयले अतिक्रमित जग्गा खाली गर्न निर्देशनात्मक सूचना जारी गरेको थियो । सूचना जारी भए पश्चात केही व्यक्तिले अतिक्रमित जग्गामध्ये छ कठ्ठा जग्गा खाली गरे पनि बाँकी जग्गा अझै खाली नभएको प्रमुख यादवको भनाइ छ । ‘अतिक्रमित जग्गा खाली गर्न सूचना जारी गरेपछि अतिक्रमण गरेका केही व्यक्तिले उच्च अदालत पाटन–मकवानपुर इजलाशमा मुद्दा गरे’, प्रमुख यादवले भने, ‘त्यो मुद्दा अदालतले खारेज गर्दै जग्गा खाली गर्न आदेश दियो । तर पनि अधिकांशले जग्गा खाली गर्नै मानेका छैनन्,’ उनले भने । केही स्थानीयले अतिक्रमण गरेकोमध्ये ६ कठ्ठा जग्गा बनाएको संरचना हटाएर जग्गा खाली गरेपछि अहिले सो जग्गामा माछाको आहारका लागि उन्नत घाँस तथा केरा लगाएर सदुपयोग गरिएको छ । बाँकी अतिक्रमित जग्गामा अनाधिकृत रुपमा निर्माण गरिएको संरचना हटाउन सूचना जारी गरिएको एक वर्ष बित्न लाग्दासमेत सम्बन्धित व्यक्तिले जग्गा खाली गर्न नचाहेकाले अब सबै संरचना भत्काएर जग्गा खाली गराइने प्रमुख यादवले बताए । यस्तै सो कार्यालयकै नाममा रहेको कित्ता नं ९६ को आठ बिघा १३ कठ्ठा १८ धुर जग्गामा पिप्ले युवा क्लबले रङ्गशाला निर्माण, हेल्थपोष्ट र कार्यालयको भवनसमेत निर्माण गरी रेष्टुरेन्ट सञ्चालन गरिरहेको जनाएको छ । पिप्ले युवा क्लबले जग्गामा रङ्गशाला, हेल्थपोष्ट र कार्यालय भवन निर्माण गरिसकेकाले सो जग्गा सङ्घीय सरकार, प्रदेश सरकार वा स्थानीय सरकारमार्फत क्लबलाई भाडामा दिने गरी प्रक्रिया अघि बढाइएको प्रमुख यादवले बताए । रासस
पाँच वटा पिचसहितको क्रिकेट मैदान निर्माण हुँदै, ६ हजार दर्शक क्षमता
काठमाडौं । हेटौँडा उपमहानगरपालिका-६ स्थित गौरिटार रङ्गशालाभित्र ११ करोड ७४ लाख रुपैयाँमा ड्रेनसहितको क्रिकेट मैदान निर्माण भइरहेको छ । अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदानमा ६ हजार दर्शक क्षमताको एउटा प्याराफिटसहित ५ वटा पिच, ७० मिटर रेडिएसको मैदान, स्कोर बोर्ड, भिभिआइपी कक्ष, खेलाडी कक्ष (प्लेयर बक्स), चेन्जिङ रुम (कपडा फेर्ने कोठा), टिभी र रेडियो ब्रोडकास्टिङ कक्ष, मिडिया कक्ष, अपाङ्गमैत्री क्षेत्र, पार्किङलगायत संरचना निर्माण हुने प्रदेश खेलकुद परिषद्का सदस्य-सचिव दीपक लामाले जानकारी दिए । त्रिकेट मैदानमा चार वटा ब्लकमा प्याराफिट निर्माण गर्ने डिपीआर निर्माण गरिएको र त्यसमध्ये हाल एउटा ब्लकको काम भइरहेको उनले बताए । क्रिकेट मैदान निर्माणका लागि ९ करोड ४२ लाख ८२ हजार रुपैयाँमा २०८० चैत २० मा एसएनएस पिएल एचकेसी जेभीले ठेक्का लिएको थियो । उनका अनुसार हाल मैदान सम्याउने काम भइरहेको छ र अधिकांश बजेट मैदान बनाउनमै खर्च हुनेछ । मैदानको लेभल मिलाएपछि भूमिगत ढलमार्फत पानी पठाउन पाइप बिछ्याउने काम हुनेछ भने विभिन्न तहमा ग्राभेल, माटो बिछ्याउने उहाँले बताउनुभयो । मैदानको सबैभन्दा माथिल्लो भागमा बर्मुण्डा दुबो रहने लामाले बताए । गत आइतबार नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्काले हेटौँडा-६ स्थित गौरीटार रंगशालामा निर्माण भइरहेको क्रिकेट ग्राउण्डको स्थलगत अवलोकन गरेका थिए । सचिव खड्कासहित प्रवक्ता छुवी लामा, मकवानपुर क्रिकेट सङ्घका पदाधिकारीले ग्राउण्ड अवलोकन गरेका थिए । क्रिकेटका लागि पूर्वाधार निर्माण भइरहेको प्रति खुसी व्यक्त गर्नुहुँदै क्रिकेट खेलको विकासका लागि पूर्वाधार निर्माणमा प्रदेश सरकारले गरेको लगानी सकारात्मक रहेको सचिव खड्काले बताउनुभयो । क्रिकेट ग्राउण्डको पूर्वाधार तीव्र गतिमा निर्माण भइरहेकाले छिट्टै राष्ट्रियस्तरको खेल खेलाउन सकिने उनले बताए ।
प्रहरीले संकलन गर्याे २ अर्ब २४ करोड बढी राजस्व
काठमाडौं । नेपाल प्रहरीले चालु आर्थिक वर्ष २०८१/ x८२ को पाँच महिनामा विभिन्न प्रकृतिका कारबाहीबाट २ अर्ब २४ करोड बढी राजस्व सङ्कलन गरेको छ । विशेष कार्ययोजना लागु गरेको प्रहरीले विभिन्न कारबाही तथा अवैध क्रियाकलाप रोकथामका लागि अभियान सञ्चालन गरेको छ । नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीका अनुसार अवैध मालसामान बरामद, ट्राफिक कारबाही, हुण्डी, सुन, नदीजन्य उत्खननलगायत विभिन्न १० विधामा गरिएको कारबाहीबाट उक्त राजस्व सङ्कलन गरिएको हो । प्रवक्ता अधिकारीले सबैभन्दा बढी अवैध मालसामान बरामदबाट ९० करोड ५७ लाख (४०.४२ प्रतिशत) राजस्व सङ्कलन भएको जानकारी दिए । ट्राफिक जरिवानाबाट ५२ करोड ७ लाख रुपैयाँ, अदालती फैसला कार्यान्वयनतर्फ ४२ करोड ७४ लाख रुपैयाँ, अवैध सुन तथा चाँदी बरामदबाट २६ करोड २९ लाख रुपैयाँ र अवैध मुद्रा बरामद गरी ४ करोड ३७ लाख रुपैयाँ राजस्व सङ्कलन गरिएको उनले जानकारी दिए । त्यसैगरी स्रोत नखुलेको २ करोड ९० लाख रुपैयाँ, हुण्डी कारोबार नियन्त्रणबाट १ करोड ८३ लाख रुपैयाँ, अवैध काठ बरामदबाट १ करोड २० लाख रुपैयाँ राजस्व सङ्कलन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । साउनदेखि मङ्सिरसम्मको विवरणअनुसार अवैध पशुपन्छी नियन्त्रण अभियानबाट १ करोड १६ लाख रुपैयाँ र अवैध नदीजन्य उत्खननबाट ९२ लाख रुपैयाँ बढी राजस्व सङ्कलन गरिएको अधिकारीले जानकारी दिए ।
अपांगमैत्री आकाशे पुल निर्माणमा अघि बढ्दै ललितपुर महानगर, कहाँ-कहाँ बन्दैछन् ?
काठमाडौं । ललितपुर महानगरपालिकाले ललितपुरबासीलगायत ललितपुरका विभिन्न वडाहरू हुँदै यात्रा गर्नेहरूलाई छिटो र सहजतालाई मध्यनजर गरी मोटरेबल पुल निर्माण कार्यक्रमलाई प्राथामिकताका साथ अघि बढाइरहेको छ । महानगरले आफ्नै बजेटमा र केही वडाहरूसँग सहकार्य गरेर साना तथा ठूला मोटरेबल र आकाशे पुल निर्माण आयोजनालाई अगाडि बढाउँदै आएको हो । महानगरले आगामी १० वर्षसम्मलाई पुग्नेगरी पुल निर्माण कार्यलाई अगाडि बढाएको जनाएको छ । महानगरका अनुसार यही चालु आर्थिक वर्षमा दुई मोटरेबल पुल सञ्चालनमा आइसकेको छ । ललितपुर वडा नम्बर २२ बुंगमतीदेखि वडा नम्बर २७ सुनाकोठीलाई जोड्ने आरसीसी पुल निर्माण सम्पन्न भएर सञ्चालनमा आइसकेको हो । यो पुल निर्माणको जिम्मा जय बुद्ध निर्माण सेवा प्रालिले पाएको थियो । निर्माण कम्पनीले ५ करोड ३३ लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । ललितपुर महानगरपालिका वडा नं १३ कुसुन्ती र वडा नं २५ भैंसीपाटी जोड्ने पुल पनि निर्माण सम्पन्न भइसकेको छ । यस ठाउँको पुल निर्माण श्री तामाङ मरिन कन्सट्रक्सन प्रालिले पाएको थियो । उक्त कम्पनीले २ करोड ४० लाख रुपैयाँमा ठेक्का पाएको हो । निर्माणाधीन अवस्थामा रहेका पुल महानगरपालिकाले महानगरकै दक्षिणतर्फको भेगलाई रिङरोडसँग सजिलै जोड्ने उद्देश्यका साथ मोटरेबल पुल निर्माण आयोजनालाई अघि सारेको जनाएको छ । अहिले पनि हरिसिद्धिबाट धापाखेल जानु पर्यो भने सातदोबाटो आएर फर्किनुपर्छ । त्यसरी घुमेर यात्रा गर्नुभन्दा सिधै यात्रा गर्नका लागि महानगरले हरिसिद्धिको इट्टा टायलबाट कान्तिपुर इन्जिनियरिङ कलेज हुँदै वडा न २३, २४ जोडिनेगरी पुल बनाउने योजना बनाएको महानगरका पूर्वाधार विभागका प्रमुख एवं आयोजना व्यवस्थापक (सीडीई) प्रदिप पौडेलले बताए । यसका लागि महानगरपालिकाले टेन्डर आह्वान गरिसकेको छ । टेन्डर यही पुस २१ गते खुल्दैछ । ललितपुर वडा नं. १४ स्थित नख्खुखोलामा आरसीसी पुल बन्दैछ । यहाँ निर्माण हुन लागेको पुलले वडा नं १४ र २५ लाई जोड्ने छ । साविकका गाविसहरूलाई चक्रपथसँग जोड्नका लागि पुल निर्माण हुन लागेको सीडीई पौडेलले बताए । यो निर्माणले वडा १३, २४, १८,२६ २७ का बासिन्दालाई सहज हुने महानगरले जनाएको छ । यो पुल निर्माणको लागि नियाग्रा कन्स्ट्रक्सनले ठेक्का पाएको छ । उक्त निर्माण कम्पनीले महानगरसँग चार करोड दुई लाख ६८ हजार ७२८ रुपैयाँमा सम्झौता गरेको छ । सम्झौता २०८० भदौमा भएको थियो । हाल त्यहाँ निर्माणको काम पनि सुरु भइसकेको छ । यो पुल आगमी २०८१ फागुन २३ गते सम्पन्न गर्नुपर्ने सम्झौता छ । सम्झौता अवधिमै काम सक्नेगरी द्रूत रूपमा काम भइरहेको निर्माण पक्षले जनाएको छ । सीडीई पौडेलका अनुसार धापाखेलबाट सुनाकोठी जोड्ने कल्भर्ट निर्माणाधीन अवस्थामा छ । यो पुल निर्माणको लागि विश्वज्योति विल्डर्सले ठेक्का पाएको छ । महागनरपालिकासँग पुल निर्माणको लागि विश्वज्योति विल्डर्सले असार १८ गते सम्झौता गरेको थियो । यो पुल २०८२ असार १७ गते सम्पन्न गरिसक्नुपर्ने छ । बीचमा असोजमा आएको बाढी र स्थानीयको अवरोधको कारण काम रोकिएपनि हाल निर्माण कार्य सञ्चालन भइरहेको निर्माण पक्षले जनाएको छ । कहाँ-कहाँ बन्दैछन् अपांगमैत्री आकाशे पुल ? ललितपुर महानगरले अपांगता भएका नागरिकलाई मध्यनजर गरी अपांगतामैत्री आकाशे पुल निर्माण कार्यलाई पनि प्राथमिकताका साथ अघि बढाइरहेकाे छ । महानगरले शारीरिक रूपमा अशक्त, बालबालिका र जेष्ठ नागरिक सबैलाई सहज होस् भन्ने हिसाबले अपांगतामैत्री पुल निर्माणलाई प्राथमिकतामा राखेको छ । काठमाडौंका सडकहरूमा आकाशे पुल प्रशस्तै भएपनि अपांगमैत्री पुल नबनको अवस्थामा महानगरले नयाँ अभ्यासको थालनी गरेको जनाइएको छ । सीडीई पौडेल लिफ्टसहितको आकाशे पुल नेपालमा पहिलो पटक बन्न लागेको बताउँछन् । पौडेलका अनुसार हाल ललितपुरको कुसुन्तीमा त्यस खालको आकाशे पुल निर्माण भइरहेको छ । उनका अनुसार पुल निर्माणको कार्य लगभग ७५ प्रतिशत सम्पन्न भइसकेको छ । ‘अब पुल निर्माणको २५ प्रतिशतमात्रै काम बाँकी छ । अब केही ट्रष्ट राख्ने काम बाँकी छ । त्यसमा लिप्टसहितको राख्नेछौं,’ उनले भने । उक्त स्थानको पुल निर्माणको लागि लामा प्रगति-मनि बुद्ध जेभीले चार करोड ६८ लाखमा सम्झौता गरेको छ । अर्को साइकलसहितको आकाशे पुल धोबीघाटमा निर्माण गर्ने महानगरको योजना छ । रिङरोडमा यस्तो खालको पुल बनाउँदा सडक विभागसँग अनुमति लिनुपर्ने भएका कारण त्यसको सहमतिको लागि सडक विभागलाई पत्र पठाइसकेको पनि सीडीई पौडेलले बताए। उनका अनुसार पाटन अस्पताल अगाडि पनि लिफ्टसहितको अपांगमैत्री आकाशे पुल बनाउने महानगरको योजना रहेको छ । त्यसका लागि विभिन्न सरोकारवालासँग छलफल पनि सम्पन्न भइसकेको छ । महानगरले उक्त ठाउँमा पुल निर्माणको लागि सञ्चय कोष, मानसिक अस्पताल र पाटन अस्पातल र सडक विभाग चार वटा निकायसँग छलफल गरिसकेको पौडेलले जानकारी दिए । ती निकायहरूसँगको छलफल सकारत्मक भएको पौडेलले सुनाए । पौडेलका अनुसार पब्लिकलाई समस्या नहुनेगरी पुल निर्माण भइरहेको छ । महानगरले व्यस्त सडकमाभन्दा मान्छेको चहलपहल कम भएको क्षेत्रमा पुल निर्माणलाई प्राथाामिकतामा राखेको छ । सीडीई पौडेलले भने, ‘हातीवनमा पुल बनाउने सन्दर्भमा हामीले सडक विभागसँग पनि अनुमति मागेका थियौं, विभागले आफै बनाउँछु भनेपछि त्यहाँ महानगरले पुल निर्माणलाई अगाडि बढाएको छैन । त्यसबाहेक हामीले पुल बनाउँदा अति आवश्यक र मान्छेको चहलपहल अलि कम भएको ठाउँलाई बढी प्राथमिकतामा राखेका छौं ।’