गोविन्द केसीसँग स्वास्थ्यमन्त्री पौडेलले भने – तपाईंको माग पूरा गर्ने गरी सुधार थालेको छु
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले चिकित्सक गोविन्द केसीले उठाएका स्वास्थ्य सुधारका विषयलाई मन्त्रालयले कार्यान्वयनमा लगेको बताएका छन् । विगतमा सरकारसँग भएका सम्झौता कार्यान्वयनको अवस्थाबारे छलफल गर्न मन्त्रालय पुगेका केसीसँग मन्त्री पौडेलले आफू विगतमा पनि केसीले उठाएका स्वास्थ्य सुधारका पक्षमा रहेको भन्दै यसपाली आफू मन्त्रालयमा आउनासाथ केसीले राखेका मागसँगे थप सुधारका कामहरु अघि बढेको बताए । ‘हामीले सार्वजनिक गरेको १४ बुँदे योजना तथा प्राथमिकतामा स्वास्थ्य क्षेत्र सुधारका धेरै विषय समेटिएका थिए । तीमध्ये केही कार्यान्वयन भैसकेका छन्, बाँकी पनि कार्यान्वयनकै चरणमा छन्,’ मन्त्री पौडेलले भने, ‘त्यसमा यहाँले उठाएका विषय पनि समेटिएका छन् ।’ मन्त्री पौडेलले विशेषज्ञ चिकित्सकको संख्या बढाउन सरकारी मेडिकल कलेजमा संख्या थप गर्ने गरी काम अघि बढेको भन्दै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबाटसमेत एमबीबीएस चिकित्सक अध्ययन थाल्ने गरी निर्णय कार्यान्वयनमा गएको जानकारी दिए । उपत्यकाबाहिर दक्ष चिकित्सा जनशक्ति तथा स्तरीय अस्पतालका विषयमा चिकित्सक केसीले उठाएकै मागसँग मिल्ने गरी हालै आफ्नै अध्यक्षताको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानले थप पोस्ट ग्रयाजुएट चिकित्सक उत्पादन गर्न मिल्ने गरी चिकित्सक दरबन्दी स्वीकृत गरेको जानकारी दिए । तत्काल चिकित्सक दरबन्दी थप्न नसकिए पनि भएकै चिकित्सकबाट अधिक सेवा दिने गरी दुई सिफ्टमा सघीय अस्पतालमा सेवा थालिएको भन्दै मन्त्री पौडेलले यसले सरकारी चिकित्सकले बाहिर काम गर्नुपर्ने समस्या कम गर्न सक्ने बताए । चिकित्सक केसीले आफू विगतका प्रतिबद्धता पूरा हुनेमा आशावादी रहेको भन्दै दक्ष चिकित्सक पलायन रोक्नका लागि आग्रह गरेका थिए । मन्त्री पौडेलले चिकित्सककै सुविधा र सेवा वृद्धि गर्नेगरी व्यवस्था गर्न थालेको भन्दै यसमा आफ्नो अधिकतम प्रयास रहने बताए । स्वास्थ्य सेवाका चिकित्सकको सेवा र समस्या सम्बोधन गर्नका लागि स्वास्थ्य सेवा ऐन ल्याउने तयारीसमेत आफूले गरिरहेको मन्त्री पौडेलले बताए । ‘चिकित्सा सेवाको भूमिका र उनीहरुको योगदानलाई मूल्यांकन गर्ने गरी नै चिकित्सा सेवा ऐन ल्याउन लागेका हौं,’ मन्त्री पौडेलले भने, ‘त्यसले पनि धेरै कुरा सम्बोधन गर्नेछ ।’
सुनको मूल्य प्रति आउन्स दुई हजार ७०० डलरभन्दा माथि
काठमाडौं । व्यापारीहरूले सुनलाई सुरक्षित सम्पत्तिको स्रोतको रूपमा सुनलाई लिएपछि शुक्रबार सुनको मूल्य प्रति आउन्स दुई हजार ७०० अमेरिकी डलरभन्दा माथि पुगेको छ। इजरायलले हमासका प्रमुख याह्या सिनवारको हत्या गरेको बताएपछि मध्यपूर्वलगायत क्षेत्रमा बढ्दो भूराजनीतिक अनिश्चितताका बीच ब्यापारीहरूले सुनलाई सुरक्षित सम्पत्तिको रूपमा कारोबार गर्दा यसको मागमा आएको वृद्धिले सुनको भाउ ह्वात्तै बढेको हो । सुन प्रारम्भिक एसियाली व्यापारमा शुक्रबार दुई हजार ७०४.८९ अमेरिकी डलरको सर्वकालिक उच्च बिन्दुमा पुगेको थियो। बिहीबार सुनको मूल्य प्रति आउन्स दुई हजार ६८८.८३ डलर कायम भएको थियो । इजरायलले गाजामा हमास र हालै दक्षिणी लेबनानमा हिजबुल्लाहसँग लडिरहेको बेला मध्यपूर्वको सङ्कटलाई लिएर सुन बजार प्रभावित भएको हो । केन्द्रीय बैङ्कहरूले ब्याजदर घटाउने उपाय अपनाउँदा यस वर्षको सुरुदेखि नै सुनको मूल्यमा ३० प्रतिशतको हाराहारीमा वृद्धि हुनपुगेको थियो । मूल्यमा देखिएको निरन्तरको वृद्धिले गर्दा सुन लगानीकर्ताका लागि थप आकर्षक सम्पत्ति बनेको छ । युक्रेनमा लामो समयदेखि चलिरहेको युद्धका बारेमा चिन्ताले व्यापारीहरूमा सुरक्षित लगानीको चाहना बढ्नुलाई स्वभाविक मानिएको छ ।
कसले पाउँछ टाटाको ७९ अर्ब भारु ? यी चार जनालाई दिइएको थियो जिम्मेवारी
काठमाडौं । टाटा समूहका अध्यक्ष रतन टाटाको निधन भएपछि उनकाे सम्पत्तिकाे विषयमा व्यापक बहस भइरहेकाे छ । उनले करिब ७ हजार ९ सय करोड भारुको सम्पत्ति छोडेका छन् । भारतीय सञ्चार माध्यमका अनुसार उनले आफ्नो वकिल साथी डारियस खम्बाटा र सहयोगी मेहली मिस्त्रीलाई आफ्नो वसियत अरूलाई सुम्पने जिम्मेवारी दिएका छन् । यसका लागि रतनले आफ्नी सौतेनी बहिनी शिरीन र डिएना जीजीभोयलाई पनि मनोनयन गरेका छन् । रतनको ८६ वर्षको उमेरमा ९ अक्टोबरमा निधन भएको थियो । उनका सौतेनी भाइ नोएल टाटा टाटा ट्रस्टको नयाँ अध्यक्ष बनेका छन् । टाटा समूहको होल्डिङ कम्पनी टाटा सन्समा टाटा ट्रस्टको ६६ % हिस्सेदारी छ । टाटा समूह देशको सबैभन्दा ठूलो औद्योगिक व्यावसायिक घराना हो । हुरुन इन्डिया रिच लिस्ट २०२४ का अनुसार रतन टाटाको टाटा सन्समा ०.८३ % सेयर थियो र उनको कुल सम्पत्ति ७ हजार ९ सय करोड भारु थियो । टाटा आफ्नो सम्पत्तिको ठूलो हिस्सा परोपकार र सामाजिक कल्याणमा दिन चाहन्थे । उनको कुल सम्पत्तिको झण्डै तीन चौंथाइ टाटा सन्समा रहेको उनको हिस्सेदारीमा जोडिएको छ । यसबाहेक टाटाले ओला, पेटीएम, ट्र्याक्सन, फर्स्टक्राइ, ब्लुस्टोन, कारदेखो, नगद कारो, अर्बन कम्पनी र अपस्टक्सलगायत करिब दुई दर्जन कम्पनीमा लगानी गरेको थियो । तर, तीमध्ये केही कम्पनीले आफ्नो सेयर बेचेका छन् । कहाँ-कहाँ छ लगानी ? रतनकाे घर मुम्बईको कोलाबामा थियो । साथै उनकाे अलिबागमा अरब सागरको तटमा हाेलिडे घर पनि थियाे । रतनकाे वसियतकाे विवरण पूर्ण रूपमा गाेप्य राखिएकाे छ । मेहली मिस्त्री रतन टाटाका विश्वासपात्र थिए र सर दोराबजी टाटा ट्रस्ट र रतन टाटा ट्रस्टका बोर्डहरूमा ट्रस्टी थिए । यी दुई ट्रस्टको टाटा सन्समा लगभग ५२ % हिस्सेदारी छ । समूहको सूचीबद्ध कम्पनीहरूमा टाटा सन्सको सेयरको बजार मूल्य लगभग १६.७१ लाख करोड भारु रहेकाे छ । जीजीभोय बहिनीहरू रतन टाटाकी आमा सुनुका छोरी हुन् । उनकी आमाको दोस्रो विवाह सर जमशेदजी जीजीभोयसँग भएको थियो । टाटाका दिदीबहिनीहरूले सधैं परोपकारी कार्यमा सक्रिय हुँदै आएका छन् । डायना सन् १९९० र २००० को सुरुमा रतन टाटा ट्रस्टको बोर्डमा ट्रस्टी थिइन् । टाटामा काम गर्ने एक स्रोतले स्वर्गीय रतन टाटा आफ्ना कान्छी बहिनीहरूसँग धेरै नजिक भएको जानकारी दिए । को हुन् मेहिल मिस्त्री ? रतन टाटाको वसियत (इच्छापत्र) तयार गर्न अधिवक्ता खम्बाटाले सहयोग गरेको स्रोतले जनाएको छ । करिब सात वर्षको अन्तरालपछि उनी गत वर्ष टाटाका दुई प्राथमिक ट्रस्टको ट्रस्टीको रूपमा फर्किए । उनले व्यावसायिक प्रतिबद्धता जनाउँदै २०१६ मा ट्रस्ट छोडेका थिए । नियमअनुसार मृतकको इच्छा कार्यान्वयन गर्न एकजना कार्यकारी हुनु आवश्यक छ । रतन टाटाले सन् २०२३ सम्ममा आफ्नो व्यक्तिगत लगानी वाहन आरएनटी एसोसिएट्स प्रालिमार्फत १८६ करोड भारु लगानी गरेका थिए । मिस्त्री र रतन टाटा आरएनटी एसोसिएट्सका दुई मात्र बोर्ड सदस्य थिए । मेहिल मिस्त्री टाटा सन्सका पूर्व अध्यक्ष दिवंगत साइरस मिस्त्रीका भाइ हुन् । टाटा सन्सको अध्यक्ष पदबाट साइरस मिस्त्रीलाई हटाउने विवादमा उनले रतन टाटालाई निरन्तर समर्थन गरेका थिए । उनी पछिल्ला वर्षहरूमा रतन टाटाको स्वास्थ्यको हेरचाहमा पनि संलग्न थिए । अक्टोबर २०२२ मा मिस्त्रीलाई टाटाका दुई ठूला ट्रस्टहरूको बोर्डमा समावेश गरियो । उनी एम. पल्लोन्जी ग्रुपका एक दर्जनभन्दा बढी कम्पनीको बोर्डमा छन् ।
रगत संकलनमा कमी आएसँगै प्लेटलेट रिच प्लाज्माको माग बढ्यो
काठमाडौं । डेंगुको संक्रमण बढेसँगै देशभर रगतको कमी हुन थालेको छ । बाढी, पहिरो, डेंगु र चाडबाडका कारण उपत्यकासहित देशभर नै रगतको कमी हुन सुरु भएको नेपाल रेडक्रस सोसाइटीले जनाएको हो । नेपाल रेडक्रस सोसाइटीका केन्द्रिय रक्तसञ्चार सेवाका निर्देशक पवनकुमार गुप्ताले अहिले दैनिक रुपमा माग पनि दशैं तिहारले गर्दा पहिलाको तुलनामा संकलन र माग कम भएको बताए । उनले अहिले डेंगु बढेकाले प्लेटलेट रिच प्लाज्माको भने माग बढेको बताए । प्लेटलेटको माग दिनानुदिन बढ्दै गएपनि दशैं, तिहार जस्ता चाडपर्वले मानिसहरु घर जाने र रगत संकलन कम हुने गर्दा माग पूरा गर्न कठिनाइ भइरहेको जानकारी दिए । उनले रातो रगत, होल ब्लडहरु भने रेडक्रससँग पर्याप्त रहेको बताए । पिआरपीको लागि प्रत्येक दिन ताजा रगतको आवश्यक पर्ने तर रक्तदान गर्नेहरुको कमीका कारण माग पूरा गर्न कठिन भएको बताए । एक जना बिरामीको लागि ७ वटासम्म पिआरपी माग हुने गरेको जानकारी दिए । अहिले रेडक्रसले ७० प्रतिशतसम्म माग पूरा गर्न सकेको पनि बताए । निर्देशक गुप्ताले डेंगु बढेका कारणले पिआरपीको माग बढिरहेको भन्दै पिआरपीको माग सम्बोधन गर्न दैनिक रुपमा रगत संकलन गर्नुपर्ने बताए । नजिक र पायक पर्ने ठाउँमा रक्तदान गर्न पनि रेडक्रसको तर्फबाट आह्वान गरे । ‘अहिले दैनिक रुपमा माग पनि दशैँ तिहारले गर्दा पहिलाको तुलनामा कम देखिएको छ तर प्लेटलेट प्रोडक्ट (पिआरपी) र प्लेटलेट कन्सर्टेटको माग अत्याधिक रुपमा बढेको छ,’ उनले भने । उनले बढी रगत संकलनका लागि आवश्यक पहलकदमी भइरहेको पनि बताए । उनले डेंगुको महामारी जारी रहेकाले रगतको अभाव भइरहेको भन्दै सबैले रक्तदान गर्न आह्वान गरे । प्रत्येक दिन एक सयदेखि डेढ सय युनिट रगत प्लेटलेट बनाउन ब्यागमा रगत संकलन गरिरहेको बताए ।
धुलिखेलका बासिन्दामा स्वास्थ्य बीमाप्रति बढ्दो आकर्षण
काभ्रेपलाञ्चोक । पहिलो स्वस्थ सहरको घोषित धुलिखेलका बासिन्दामा स्वास्थ्य बीमाप्रति आकर्षण बढेको छ । हालसम्म जिल्लाको कुल जनसङ्ख्याको ५० दशमलव ८३ प्रतिशतले स्वास्थ्य बीमा गरेको स्वास्थ्य बीमा बोर्डले जनाएको छ । जिल्लामा तीन लाख ६४ हजार ३९ नागरिक छन् । यसमध्ये १ लाख ८५ हजार ७० जनाले स्वास्थ्य बीमा गरेको बोर्डले जनाएको हो । बोर्डको जिल्ला संयोजक मुना निरौलाका अनुसार १३ स्थानीय तहमध्ये सबैभन्दा धेरै धुलिखेल नगरपालिकाका नागरिकले स्वास्थ्य बीमा गरेका छन् । उक्त नगरका ३३ हजार ७ सय २६ जनसङ्ख्यामध्ये ३२ हजार ४ सय ११ जनाले स्वास्थ्य बीमा गराएका हुन् । विश्व स्वास्थ्य सङ्गठनद्वारा ‘नेपालको पहिलो स्वस्थ सहर’ घोषित धुलिखेलका नगरप्रमुख अशोक ब्याञ्जूका अनुसार सङ्गठनको मापदण्ड पूरा गरेर स्वास्थ्य क्षेत्रको नीतिगत सुधार, स्वास्थ्य क्षेत्रको दिगो विकास लक्ष्य, वातावरणीय सुधार, गरिब नागरिकको स्वास्थ्यमा पहुँच, दीर्घरोग र सरुवा रोग अनि सामुदायिक स्वास्थ्यमा सुधार ल्याउनुका साथै स्थानीय सरकारको उक्त घोषणा गरिएको हो । “ सबै नगरवासीको स्वास्थ्य बीमा गराउने लक्ष्य छ, त्यो चालु आर्थिक वर्षमा पूरा गर्नेछौँ”, ब्याञ्जूले भने । जिल्लाका बिमितले धुलिखेल अस्पताल, मेथिनकोट अस्पताल, धुलिखेल प्राथमिक स्वास्थ्य केन्द्र, खोपासी, सुन्थान र पाँचखाल प्राथमिक स्वास्थ्य केन्द्र, बनेपास्थित रेयूकाइ एईको मासुनागा आँखा अस्पतालबाट सेवा लिन सक्नेछन् । सरकारले नेपाली नागरिकलाई सर्वसुलभ रूपमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न सामाजिक स्वास्थ्य बीमाको आधारमा स्वास्थ्य बीमा कार्यक्रम सुरु गरेको हो ।
कार्तिक २ गतेदेखि भिभो भी ४० लाइट नेपाली बजारमा उपलब्ध हुँदै, यस्ता छन् विशेषता
काठमाडौं । भिभोले आफ्नो नयाँ स्मार्टफोन भिभो भी ४० लाइट आधिकारिक रूपमा सार्वजनिक गरेको छ । भिभाे भी ४० भी सिरिजको पछिल्लो संस्करण हाे । दुई आकर्षक रंग (टाइटेनियम सिल्भर र एमरल्ड ग्रीन) मा उपलब्ध भिभाे भी ४० ले प्रभावशाली अल्ट्रा–स्लिम डिजाइन र उच्च कार्यक्षमतालाई एकैसाथ प्रस्तुत गरेको छ । फोनको पछाडिको भागमा रहेको नयाँ कुशन–कट डायमण्ड क्यामेरा मोड्युलले यसको डिजाइनलाई अझै आकर्षक बनाएको छ । भिभो भी ४० लाइटमा ५००० एमएच ब्याट्री र ८० वाटको फ्ल्यास चार्जको क्षमता रहेको छ । फाेनकाे ब्याट्री लाइफ ४ वर्षकाे रहेकाे कम्पनीले जनाएकाे छ । यस स्मार्टफोनलाई आईपी ६४ डस्ट र वाटर रेजिस्टेन्स प्रमाणित गरिएको छ । भिभो नेपालका महाप्रबन्धक माइकल लिउले भिभो भी ४० लाइट नेपाली बजारमा भित्र्याउन पाउँदा निकै खुसी व्यक्त गरेकाे बताए । डुअल स्टेरियो स्पिकर सेटअपको साथमा इमर्सिभ १२० हर्जको एमोलेड डिस्प्ले रहेको यस फोनले हरेक चलचित्र, संगीत ट्र्याक वा खेललाई जीवन्त बनाउने कम्पनीले विश्वास लिएकाे छ । फोनमा एआई– ईरेज र एआई–फोटो ईनह्यान्समेन्ट जस्ता फिचरहरूले फोटोहरूमा रहेका अनावश्यक वस्तुहरू हटाउन र गुणस्तर बढाउन सहयोग गर्ने पनि जनाइएकाे छ । फाेनमा ८ + ८ जीबीको विस्तारित र्याम र २५६ जीबी स्टोरेज क्षमता रहेको छ । आगामी कार्तिक २ गतेदेखि भिभो भी ४० लाइट नेपाली बजारमा मात्र ३६ हजार ९९९ रुपैयाँमा उपलब्ध हुनेछ । दराजमा फाेनकाे अग्रिम बुकिङ गर्न सकिनेछ । साथै देशभरका मुख्य रिटेल स्टोरमा पनि फाेन उपलब्ध हुनेछ ।
सरकारले रविलाई पक्राउ गर्न सक्ने प्रचण्डको संकेत, विपक्षी दलले प्रतिवाद गर्ने
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउ हुन सक्ने संकेत गरेका छन् । शुक्रबार बिहान बसेको विपक्षी दलहरूको बैठकमा प्रचण्डले सरकारले रविलाई पक्राउ गर्न खोजिरहेको संकेत गरेका हुन् । बिहीबार टीआरसीबारे छलफल गर्न बालुवाटारमा नेपाली कांग्रेस, एमाले र माओवादी शीर्ष नेताहरूको बैठक बसेकाे थियो । सो बैठकमा रवि लामिछानेबारे समेत छलफल भएको थियो । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले रविलाई पक्राउ गर्ने संकेत देखाएको प्रचण्डले आजको विपक्षी दलको बैठकमा सुनाए । ओलीले एक साताभित्रै रविलाई पक्राउ गर्ने गरी तयारी भइरहेको संकेत प्रचण्डको अघि गरेका थिए । प्रचण्डले सोही संकेत शुक्रबारको बैठकमा रविलाई सुनाएका हुन् । विपक्षी दलले प्रतिवाद गर्ने शुक्रबार बसेको प्रतिपक्षी दलको बैठकले सरकारले रविलाई पक्राउ गरेमा प्रतिवाद गर्ने तयारी गरेको छ । सरकारले रविलाई सहकारी प्रकरणमा पक्राउ गर्न खोजे प्रतिवाद गर्ने निर्णय गरेको बुझिएको हो । सरकारले रविलाई पक्राउ गरेर विपक्षी दललाई फुटाउने तयारी गरेको बताउँदै विपक्षी दलहरूले त्यसको प्रतिवाद गर्ने तयारी गरेका हुन् । बैठकले एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकार असफल भएको निष्कर्ष पनि निकालेको छ । बैठकले समसामयिक विषयमा सरकारलाई आइतबार ज्ञापनपत्र बुझाउने निर्णय पनि गरेकाे छ । बैठकले बाढीपहिरो पीडितको राहत र उद्धारको सन्दर्भमा सरकारको भूमिका गैरजिम्मेवार देखिएको पनि निष्कर्ष निकालेकाे छ ।
मलामी पनि नभेटिने गरी रित्तिएको गडीगाउँमा वनमाराको राज
दैलेख । जिल्ला सदरमुकामबाट निकै टाढा रहेको महावु गाउँपालिका–५ कासिकाँध गडीगाउँ पुग्दा जोकोहीको चित्त दुख्छ । यो गाउँमा पुराना बस्ती देखिए पनि मानिसको चहलपहल भने शून्यप्रायः छ । फाट्टफुट्ट भेटिने ज्येष्ठ नागरिक पनि भारी मनले भन्छन्– ‘बस्ती सबै रित्तो भो, जताततै वनमाराले राज गरेको छ ।’ दश वर्षअघि गाउँमा गाडीको प्रतीक्षा गरेर बसेकामध्ये अहिले औँलामा गन्न सकिने मानिस भेट्न कठिन छ । गाउँबाट उत्पादित जैविक उपज सवारीसाधनमा राखेर सहर पठाउने सपना साकार नहुँदै सोही सडकमा गुडेका सवारीसाधान चढेर गाउँका युवा सहर पसेपछि अहिले त्यहाँ मलामी पनि नभेटिने अवस्था छ । भौतिक विकासमा अग्रसर देखिने सरकार ग्रामीण बस्तीबाट हुने बसाइँसराइ रोक्नेतर्फ नलागेको उनीहरूको गुनासो छ । गडीगाउँमा रहेका रिजाल, आचार्य, खत्री, राउत र बाझखर्क टोल सुनसान छन् । विस २०७८ को राष्ट्रिय जनगणनाअनुसार त्यहाँका ३८ घरमा तीन सय ६६ जनाको बसोबास थियो हाल १७ घरमात्र छन् । गाउँको जनसङ्ख्या एक सय २० मा झरेको छ । गाउँका अगुवा धनबहादुर थापा भन्छन्, ‘पहिले बस्तीमा चहलपहल थियो, चाडबाडमा युवादेखि केटाकेटीसम्म सबै जम्मा हुने गर्दथे, उत्पादन पनि राम्रै थियो, अहिले मानिस सुविधायुक्त स्थानमा जान थाले गाउँका बस्ती बाँझो जमिनमा परिणत भयो । बस्ती सबै रित्तो भो, रित्तो बस्तीमा अहिले वनमाराले राज गरेको छ’, यहाँका सबै टोलमा यस्तै समस्या छन् । यस्तै गुनासो गर्छन् रावत टोलका ७० वर्षीया दानबहादुर रावत । सत्तरी वर्षमा सहजै हिँडडुल गरी काम गर्न सक्ने उनलाई छिमेकीका घरको आँगन पनि अहिले परदेशजस्तो लाग्न थालेको छ । ‘निकै अप्ठ्यारो महसुस भएको छ, दिनभरि घरमा एक्लै बस्छु, दिन काट्न मुस्किल छ, दुःखसुखका कुरा गर्ने न दौँतरी छन् न छिमेक नै ।’ दानबहादुरको दुःखभन्दा कम छैन महाबु गाउँपालिका–५ काशीकाँधका ६९ वर्षीय दानेश्वर खत्रीको पनि । ‘सुविधा खोज्दै युवा सहर गए, गाउँमा रोजगारी भएन, युवा सहर पसेपछि परिवार पनि उतै लगे, अनि गाउँमा को आएर बस्छ । दसैँको मुखमा घरमा पालेका खसीबाख्रासमेत चितुवा आएर मारिदियो, मकै लगायो बाँदर र बँदेलले सखाप पार्छ, वनमाराको झाडी भयो वनबाट खानेकुरा खोज्दै अलिअलि दुःख गरेर गाउँमै बसेका किसानलाई समेत छाड्नुपर्ने बाध्यता छ । उब्जनी हुने बाली भित्र्याउन नपाएपछि गाउँमा के खाएर बाँच्ने ?’, उनी प्रश्न गर्छन् । सहरी क्षेत्रमा बसाइँ सर्ने क्रम बढेसँगै गाउँ रित्तिएको महावु गाउँपालिका–५ का वडाध्यक्ष दीपबहादुर शाहीले बताए । बसाइँसराइ रोक्न पालिकाले कृषिमा लगानी बढाउँदै गएको बताए । कृषिमा आधुनिकीकरण आवश्यक भएकाले स्थानीय सरकार किसानसँगको सहलगानीमा काम गर्न तयार भए पनि निकै कममात्र व्यावसायिक खेतीमा लागेका छन् । परम्परागत उत्पादनलाई जंगली जनावरले नष्ट गर्न थाले पनि कृषि उत्पादनलाई बढावा दिन गाउँपालिकाले मकै, अलैँची र आलु पकेट क्षेत्र र पशुपालन पकेट क्षेत्र छनोट गरेको र सोहीअनुसार काम सुरु गरेको उनले बताए । जंगली जनावरको आतंक ग्रामीण बस्ती खाली हुनुको एक कारण जंगली जनावरको आतंक पनि हो । केही वर्षअघिसम्म आफ्नै खेतबारीमा लगाएको खेतीले वर्षभरि खान पुग्ने ग्रामीण बस्तीका बासिन्दाले पछिल्ला वर्षमा खेती लगाउन छाडेका छन् । लगाएको खेती नपाक्दै बाँदर र बँदेललगायत जंगली जनावरले नास गर्न थालेपछि पाखाबारी बाँझो छाडेर स्थानीय गाउँले परिवारको गर्जो टार्न कामको खोजीमा भारतलगायतका सुविधासम्पन्न सहर पस्न थालेका हुन् । ‘केही वर्ष अघिसम्म परिवारलाई वर्षभरि खान पुग्ने कोदो, मकै, गहुँलगायत बाली फल्ने गाउँका जमिन अहिले जंगली जनावरका कारण बाँझो पर्न थालेका छन् । केही वर्ष अघिसम्म परिवारलाई खान पुग्ने अन्न बारीमा फल्थ्यो । अहिले जङ्गली जनावरले बाली नपाक्दै नष्ट गरिहाल्छन् । बाँझो बारीले परिवारलाई खान दिँदैन । गाउँका नागरिक काम गर्दै बालबच्चा पढाउँदै सहर पस्न थाले’, महावु गाउँपालिका–५ का तुलबहादुर रिजालले भने । रासस