गौशाला धर्मशाला पशुपति मातहत ल्याउन आज बैठक बस्दै
काठमाडौं । पशुपति गौशाला धर्मशालाको विवादका बारेमा छलफल गर्न पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्को बैठक आज बस्ने भएको छ । कोष सञ्चालक परिषद्का अध्यक्षसमेत रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेको आह्वानमा बैठक बस्न लागेको हो । काठमाडौं जिल्ला अदालतले श्रीपशुपतिनाथ अमालकोट कचहरी (हाल पशुपति क्षेत्र विकास कोष) र मारवाडी सेवा समितिबीच विसं २०६० मा भएको धर्मशाला सञ्चालनसम्बन्धी सम्झौता खारेजी सदर गरिदिएपछि धर्मशाला पशुपतिनाथ मातहत ल्याउने प्रक्रियामा छ । यसैबीच कोषले काठमाडौं महानगरपालिकालाई धर्मशाला व्यवस्थापन गर्ने गरी सहमति गरेको थियो । त्यसअनुसार महानगरपालिकाले धर्मशाला प्रवेश गर्न खोज्दा मारवाडी समितिले रोकेर विरोध जनाउँदै आएको छ । यस विषयमा छलफलका लागि मन्त्रालयको निर्देशनमा आइतबार बिहान ९ बजे मन्त्रालयको सभाकक्षमा परिषद्को बैठक बस्ने गरी बोलाइएको कोषका सदस्य सचिव डा मिलनकुमार थापाले जानकारी दिए । कोष सञ्चालक परिषद्ले विसं २०८० साउन १७ गते मारवाडी सेवा समितिसँग भएको नौबुँदे सम्झौता खारेज गर्ने निर्णय गरेपछि समितिले ‘करार रद्द गर्ने निर्णय बदर गरी यथावत् पुनर्बहाली गरिपाऊँ’ जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेकामा अदालतले दाबी नपुग्ने फैसला गरेको थियो । समितिलाई धार्मिक कार्यको प्रयोजनका लागि उपलब्ध गराउने सम्झौता भएको थियो । सम्झौता–पत्रमा सेवा समितिले वार्षिक ५१ हजार रुपैयाँ तिर्ने, दुवै पक्षको सहमतिमा रकम संशोधन गर्न सकिने र श्रीपशुपतिनाथमा छाडिएका साँढेहरूलाई परम्पराअनुसार संरक्षण गर्न सेवा समितिले सहयोग गर्ने उल्लेख छ । समितिले धर्मशालामा होटल, लज, रेस्टुरेन्ट, डायलासिस सेन्टर सञ्चालन तथा व्यावसायिक प्रयोजनका लागि दूध उत्पादन गर्न जर्सी गाई पालेर दूध बेच्ने गरेको छ । गौशाला धर्मशालामा तला थपेर लज विस्तार गरेको सेवा समितिले १९ वटै सटर मासिक ३५ हजार रुपैयाँसम्म लिएर भाडामा लगाएको छ । सो विवादसम्बन्धी मुद्दा पुनः उच्च अदालत पाटन गएकामा शुक्रबार धर्मशाला हाललाई समितिले नै सञ्चालन गर्नेगरी अल्पकालीन आदेश जारी गरिएको छ । उच्च अदालतले यही कात्तिक ५ गते दुवै पक्षलाई छलफलमा बोलाएको छ ।
नेपाल-अमेरिका टी-२० सिरिज आज दोस्रो खेल खेल्दै नेपाल
काठमाडौं । नेपालले अमेरिकाविरुद्धको टी–२० आई सिरिजअन्तर्गत केहीबेरमा दोस्रो खेल खेल्दै छ । नेपाल एक खेल अघि नै सिरिज जित्ने लक्ष्यका साथ मैदानमा उत्रिने छ । तीन खेलको टी–२० आई सिरिजमा नेपालले पहिलो खेलमा शुक्रबार अमेरिकालाई १७ रनले पराजित गरेको थियो । अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरी स्टेडियममा दोस्रो खेल अहिले बिहान ५ः४५ बजे सुरु हुनेछ । पहिलो खेलमा अनुपस्थित रहेका सन्दीप लामिछाने आजको खेलमा भने समावेश हुने बताइएको छ । यसअघि पहिलो खेलमा नेपालले निर्धारित २० ओभरको खेलमा नौ विकेट गुमाएर एक सय ६४ रन बनाएको थियो । नेपालका कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ४९ रन बनाए । यस्तै ओपनरद्वय अनिलकुमार साह र आसिफ शेखले समान २७ रन बनाए । दीपेन्द्रसिंह ऐरी २८, गुलसनकुमार झाले ११ र कुशल भुर्तेलले १० रन बनाए । बलिङतर्फ अमेरिकाका सौरभ नेत्रावलकर, जसदीप सिंह र हरमित सिंहले दुई दुई विकेट लिए । नेपालले दिएको एक सय ६५ रनको लक्ष्य पछ्याएको अमेरिकाले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ४७ रन मात्रै बनाउन सक्यो । अमेरिकाका लागि शायन जहाँगीरले अविजित ६० रन बनाए । यस्तै, अन्द्रेस गौसले ३०, मलिन्द कुमारले २२ र जसदीप सिंहले १६ रन बनाए । बलिङतर्फ नेपालका दीपेन्द्रसिंह ऐरीले तीन तथा रिजन ढकाल, करण केसी र गुलसनकुमार झाले एक एक विकेट लिए ।
रेकर्ड बिन्दुबाट तल झर्याे अमेरिकी डलर, यूरोको भाउ झन् खस्किँदै
काठमाडौं । आइतबार अमेरिकी डलरको मूल्य घटेको छ । नयाँ रेकर्ड बनाउँदै उच्च बिन्दुमा पुगेको मूल्य आइतबार भने घटेको देखिन्छ । तर, युरोपियन यूरोको मूल्य भने निरन्तर ओरालो लागिरहेको छ । नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको मूल्य एकको खरिदर १३४.२१ रुपैयाँ र बिक्रीदर १३४.८१ रुपैयाँ तोकेको छ । युरोपियन यूरोको एकको खरिदर १४५.५४ रुपैयाँ र बिक्रीदर १४६.१९ रुपैयाँ, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १७४.०७ रुपैयाँ र बिक्रीदर १७५.८५ रुपैयाँ, स्वीस फ्रयाङ्क एकको खरिददर १५४.९७ रुपैयाँ र बिक्रीदर १५५.६६ रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर ९०.०५ रुपैयाँ र बिक्रीदर ९०.४६ रुपैयाँ तोकेको छ । यस्तै, क्यानेडियन डलर एकको खरिददर ९७.३१ रुपैयाँ र बिक्रीदर ९७.७५ रुपैयाँ, सिङ्गापुर डलर एकको खरिददर १०२.२७ रुपैयाँ र बिक्रीदर १०२.७३ रुपैयाँ, जापानी येन १० को खरिददर ८.९५ रुपैयाँ र बिक्रीदर ८.९९ रुपैयाँ र चिनियाँ युआन एकको खरिददर १८.८९ रुपैयाँ र बिक्रीदर १८.९८ रुपैयाँ तोकेको छ । राष्ट्र बैंककाअनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५.७३ रुपैयाँ र बिक्रीदर ३५.८९ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३६.८१ रुपैयाँ र बिक्रीदर ३६.९७ रुपैयाँ, थाई भाट एकको खरिददर ४.०५ रुपैयाँ र बिक्रीदर ४.०६ रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.५४ रुपैयाँ र बिक्रीदर ३६.७० रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरिददर ३१.१८ रुपैयाँ र बिक्रीदर ३१.३२ रुपैयाँ तोकेको छ । यस्तै साउथ कोरियन वन एक सयको खरिदद ९.७८ रुपैयाँ र बिक्रीदर ९.८३ रुपैयाँ, स्वीडिस क्रोनर एकको खरिददर १२.७५ रुपैयाँ र बिक्रीदर १२.८१ रुपैयाँ, डेनिस क्रोनर एकको खरिददर १९.५२ रुपैयाँ र बिक्रीदर १९.६० रुपैयाँ, हङ्कङ डलर एकको खरिददर १७.२७ रुपैयाँ र बिक्रीदर १७.३५ रुपैयाँ, कुवेती दिनार एकको खरिददर ४३७.९४ रुपैयाँ र बिक्रीदर ४३९.८९ रुपैयाँ र बहराइन दिनार एकको खरिददर ३५५.९८ रुपैयाँ र बिक्रीदर ३५७.५७ रुपैयाँ कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।
एयर न्यूजील्याण्डको विमानमा बमको धम्की
सिड्नी । सिड्नी एयरपोर्टमा एयर न्यूजील्याण्डको विमानमा बमको धम्की आएको स्थानीय सञ्चारमाध्यमले शनिबार जनाएको छ । स्काई न्यूज अष्ट्रेलियाका अनुसार, १४० यात्रु बोकी वेलिङ्गटनबाट सिड्नीका लागि प्रस्थान गरिएको एयर न्युजिल्याण्डको उडानमा यस्ता धम्की प्राप्त भएको थियो । फ्लाइट एनजेड-२४७ बेलुका ५ः४० बजे वेलिङ्गटनबाट विमान सकुशल अवतरण भएको रिपोर्ट गरिएको छ । रिपोर्टका अनुसार, विमानलाई टार्माकमा रोकिएपछि एयर न्यूजील्याण्डले सुरक्षा खतराको सम्भाव्यताको बारेमा सचेत रहेको पुष्टि गर्यो । ‘हामी स्थानीय अधिकारीहरूसँग काम गरिरहेका छौं र त्यस्ता घटनाहरूका लागि स्थापित मानक प्रोटोकलहरू पछ्याउँदैछौं,’ एयरलाइनका सुरक्षा अधिकारी क्याप्टेन डेभिड मोर्गनले एक विज्ञप्ति मार्फत उल्लेख गरे । एजेन्सी
असोजमा श्रम स्वीकृति लिएर ५३ हजार विदेशिए
काठमाडौं । चाडपर्वका बेला पनि वैदेशिक रोजगारीमा जानेहरूको सङ्ख्या निरन्तर बढिरहेको छ ।वैदेशिक रोजगार विभागका अनुसार गत असोजमा श्रम स्वीकृति लिएर ५३ हजार पाँच सय २५ जना विदेशिएका छन् । असोजमा १७ हजार सात सय २४ जना नेपाली संयुक्त अरब इमिरेट्स, १० हजार चार सय ६८ जना साउदी, नौ हजार सात सय ९८ जना कतारमा, तीन हजार आठ सय सात जना कुबेत र एक हजार तीन सय १४ जना मलेसिया गएका छन् । यसैगरी, असोजमा युरोपेली मुलुक रोमानिया क्रोएशिया, साइप्रस, माल्टा र पोर्चुगल जानेको सङ्ख्यामा पनि वृद्धि भएको छ । गत भदौमा ५७ हजार चार सय ९३ जना नेपाली रोजगारीका लागि विदेशिएका थिए ।
क्षतिग्रस्त तामाकोसी जलविद्युत आयोजनाको मर्मत शीघ्र थालिने
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले बाढीबाट क्षतिग्रस्त माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको मर्मतसम्भार यथाशीघ्र थालेर बिजुली उत्पादन गरिने बताएका छन् । जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुरेश आचार्य, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, दोलखाका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलसहित आयोजनाको क्षतिग्रस्त संरचनाको निरीक्षणपछि उनले आयोजनामा भएको क्षतिका कारण राज्यले अकल्पनीय घाटा व्यहोर्नुपरेको बताउँदै यथाशक्य चाँडो मर्मतसम्भार गरी विद्युत् उत्पादन गरिने प्रतिबद्धता व्यक्त गरे । मन्त्री खड्काले आयोजनाबाट चाँडोभन्दा चाँडो विद्युत उत्पादन गर्न सरकारका तर्फबाट हरसम्भव सहयोग हुने प्रतिबद्धता दोहोर्याएको उनको निजी सचिवालयले जनाएको छ । आयोजनाका प्रमुख कार्यकारी अधिकृत मोहनप्रसाद गौतमले आगामी तीन साताभित्रमा विद्युत उत्पादन थाल्ने गरी काम भइरहेको बताए ।
बागमती मनुष्मारा झाँझ सिँचाइ प्रणालीमा २ करोडको क्षति
जनकपुरधाम । गत असोज ११, १२ र १३ गतेकोअविरल वर्षासँगै आएको बाढीले बागमती मनुष्मारा झाँझ सिँचाइ कार्यालय अन्तर्गत करिब दुई करोड रुपैयाँ बराबरको भौतिक क्षति भएको छ । साथै सिँचाइ प्रणालीमा पुर्याएको क्षतिका कारण सिँचाइको कार्यमा समस्या उत्पन्न भएको कार्यालय प्रमुख रामदुलारी शरण भगतले जानकारी दिए । बाढीले सो कार्यालयअन्र्तगत झाँझ सिँचाइ प्रणलीमा रहेका मूल नहर र शाखा नहरको (बैक) डिल र तटबन्ध कटान गरेको, विभिन्न स्थानमा नहर तोडफोर गरेको र नहरको गेट तथा हेडवक्र्समा क्षति पु¥याएको बताइएको छ । झाँझ नदीमा एक्कासी आएको बाढीले रौतहट जिल्लामा रहेको झाँझ सिँचाइ प्रणालीमा करिब दुई करोड मूल्य बराबरको भौतिकरूपमा क्षति पुगेको कार्यालयको प्रारम्भिक अनुमान छ । रौटहटको महम्मदपुर, शिवनगर, भेडियाही, देवाहीगुनाही तथा जयनगरलगायत ग्रामीण क्षेत्रमा बाढीले ठाउँठाउँमा भाँझ सिँचाइ प्रणालीको संरचना भत्काएको थियो । झाँझ सिँचाइ प्रणालीबाट चार हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्याउँदै आएको सो कार्यालयको सिँचाइ प्रणालीमा भएको क्षतिका सम्बन्धमा अनुगमन तथा निरीक्षण गरी सो क्षतिबारे जानकारी दिएको हो । उक्त क्षतिग्रस्त संरचनाको मर्मत सम्भार तथा निमार्णमा ठूलो रकम लाग्ने उनले बताए । समयमा मर्मत नगरेमा त्यहाँ आउँदो हिउँदे बालीमा नहर सञ्चालन गर्न नसक्ने अवस्था रहेको प्रमुख भगतले बताए । उक्त कार्यालयअन्तर्गत सिँचाइ आयोजनाको निर्माण २०३९÷४० बाट सुरु भई २०४४/४५ बाट कार्यान्वयनमा आएको बताइएको छ । कार्यालयअन्तर्गत सर्लाहीतर्फ हिरापुर ब्यारेज मनुष्कमारा सिँचाइ प्रणाली प्रथमबाट दुई हजार आठ सय हेक्टर तथा मानपुर ब्यारेज मनुष्मारा सिँचाइ प्रणाली दोस्रोबाट तीन हजार दुई सय हेक्टर गरी ६ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्याउँदै आएको प्राप्त विवरणमा उल्लेख गरिएको छ । रौतहटतर्फ झाँझ सिँचाइ प्रणालीबाट चार हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्याएको छ । अर्थात सर्लाही तथा रौतहटमा गरी कुल १० हजार हेक्टर जमिनमा सो कार्यालयबाट सिँचाइ सुविधा पुर्याउँदै आएको कार्यालयले जनाएको छ । सो आयोजनाबाट हाल ६० हजार मेट्रिकटनभन्दा बढी खाद्यान्न उत्पादन सुरु भएको कार्यालय प्रमुख भगतले जानकारी दिए । चालू आर्थिक वर्षमा सो कार्यालयको पुँजीगत खर्च ६ करोड तथा चालूगत खर्च एक करोड ११ लाख रुपैयाँ रहेको छ ।
सभामुख घिमिरेलाई सांसद लामिछाने पक्राउको जानकारी
काठमाडौं । सभामुख देवराज घिमिरेलाई प्रतिनिधिसभा सदस्य रवि लामिछाने पक्राउ परेको जानकारी गराइएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले सभामुखलाई त्यससम्बन्धी जानकारी लेखीपठाएको सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयद्वारा आज जारी सूचनामा उल्लेख छ । चितवन निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित लामिछानेलाई कास्की जिल्ला अदालतको पक्राउ अनुमतिबमोजिम फौजदारी कसूरको अनुसन्धानका क्रममा पक्राउ गरिएको सूचनामा जनाइएको छ । नेपालको संविधानको धारा १०३ को उपधारा ६ मा ‘सङ्घीय संसद्को कुनै सदस्य पक्राउ गरिएमा पक्राउ गर्ने अधिकारीले त्यसको सूचना सम्बन्धित सदनको अध्यक्षता गर्ने व्यक्तिलाई तुरुन्त दिनुपर्नेछ’ भनी उल्लेख छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति लामिछानेलाई कास्कीको सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न भएको आरोपमा अनुसन्धानका लागि शुक्रबार काठमाडौंबाट पक्राउ गरेको थियो । सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गीतेन्द्रबावु (जीबी) राईसँग मिलेर लामिछानेले गोर्खा मिडिया नेटवर्कमा रकम ल्याएर अपचलन गरेको मुद्दा जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान गरिरहेको छ ।