घिरौला ७०, पुदीना ९०० रुपैयाँ, कुन तरकारीको मूल्य कति ?
काठमाडौं । फलफूल तथा तरकारी बजार विकास समिति कालीमाटीले गोलभेडाको मूल्य १३५ रुपैयाँ तोकेको छ । यस्तै रातो आलु ८२ रुपैयाँ, सुकेको प्याज ९९ रुपैयाँ, लोकल गाजर ११० रुपैयाँ, बन्दा ५० रुपैयाँ, काउली १२० रुपैयाँ, मुला ४५ रुपैयाँ, लाम्चो भन्टा ३५ रुपैयाँ, तने बोडी ९० रुपैयाँ तोकेको छ । यस्तै मटरकोशा १८६ रुपैयाँ, घिउ सिमी (राजमा) १९० रुपैयाँ, भटमासकोशा ९० रुपैयाँ, तितो करेला ५५ रुपैयाँ, लौका ४२ रुपैयाँ, परवर ७५ रुपैयाँ, चिचिण्डो ४५ रुपैयाँ तोकेको समितिले जनाएको छ । घिरौला ७० रुपैयाँ, फर्सी ९५ रुपैयाँ, सलगम ११० रुपैयाँ, भिण्डी ७५ रुपैयाँ, सखरखण्ड ८५ रुपैयाँ, बरेला ७५ रुपैयाँ, पिंडालू ६५ रुपैयाँ, स्कूस २५ रुपैयाँ, रायो साग ७५ रुपैयाँ, पालूगो साग ८५ रुपैयाँ, चमसूरको साग १२६.६७ रुपैयाँ, तोरीको साग ५५ रुपैयाँ तोकिएको छ । प्याज हरियो १२६.६७ रुपैयाँ, च्याउ २७६.६७ रुपैयाँ, कुरीलो ४५० रुपैयाँ, ब्रोकाउली १४० रुपैयाँ, चुकुन्दर ९५ रुपैयाँ, रातो बन्दा १२६.६७ रुपैयाँ, जिरीको साग १७६.६७ रुपैयाँ, सेलरी ९५० रुपैयाँ, पार्सले २ हजार ७६६.६७ रुपैयाँ, पुदीना ९०० रुपैयाँ तोकेको समितिले जनााएको छ ।[pdf id=517680]
१२५ ऋणीले तिरेनन् निर्धन उत्थान लघुवित्तको कर्जा
काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले ऋण नतिर्ने १२५ जना ऋणीको नाम सार्वजनिक गरेको छ । लघुवित्तले समयमै ऋण नतिर्ने १२५ जना ऋणीको नाम सार्वजनिक गरेको हो । लघुवित्तका अनुसार धितो सुरक्षण राखि सामूहिक जमानीमा कर्जा लिएका ऋणीले लिएको ऋण कर्जाको साँवा ब्याज लगायत अन्य रकमसमेत तिर्नुपर्ने हो । तर, उक्त रकम नतिरी नबुझाई ऋण कर्जा सम्बन्धी सर्त बन्देज उल्लङ्घन गरेको र पटकपटक ताकेता गर्दा समेत भुक्तानी गर्न चासो नदेखाई बेवास्ता गरेकाले ३५ दिनभित्र चुक्ता गर्न लघुवित्तले आग्रह गरेको छ । यदि ३५ दिनभित्र नतिरेको खण्डमा ऋणी तथा जमानीकर्तालाई कर्जा सूचना केन्द्रको कालोसूचीमा नाम समावेश गर्ने लघुवित्तले जनाएको छ । साथै धितोमा रहेका वा नरहेको चलअचल सम्पत्ति लिलाम विक्री गरी वा अन्य कुनै व्यवस्था गरी आफ्नो लेना रकम असुल गरिने बताइएको छ ।
रविलाई आज अदालत उपस्थित गराइने, सुरक्षा व्यवस्था कडा
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज जिल्ला अदालत कास्कीमा उपस्थित गराइने भएको छ । सूर्यदर्शन सहकारीको रकम अपचलन मुद्दामा पक्राउ परेका लामिछिानेलाई आज अदालतमा उपस्थित गराइने भएको हो । शुक्रबार रास्वपाको पार्टी कार्यालय काठमाडौंबाट पक्राउ परेका रविलाई शनिबार बिहान पोखरा लगिएको थियो । शनिबार सार्वजनिक बिदा भएकाले आइतबार रविलाई अदालत उपस्थित गराइने भएको हो । रविविरुद्ध सहकारी ठगी तथा सङ्गठित अपराधसम्बन्धी मुद्दा चलाइएको छ । रविको पक्राउविरुद्ध विरोध प्रदर्शन गरेको रास्वपाले आज पनि जारी राख्ने भएको छ । रास्वपाले शनिबार पोखरा चिप्लेढुंगा र काठमाडौंको माइतीघर मण्डलासहित देशका विभिन्न ठाउँमा प्रदर्शन गरेको थियो । आइतबार पनि जिल्ला प्रशासन कार्यालय कास्की अगाडि प्रदर्शन गर्ने रास्वपाले जनाएको छ । रास्वपाले सडक प्रदर्शन जारी राखेकाले पोखरामा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
महाशिलामा ७ करोडका पर्यटकीय पूर्वाधार निर्माण
काठमाडौं । पर्वतको महाशिला गाउँपालिका–५ लुङ्खुदेउरालीमा अवस्थित एसियाकै ठूलो महाशिला (ढु्ङ्गा)मा ७ करोड रुपैयाँको लगानीमा पर्यटकीय पूर्वाधार निर्माणसँगै पर्यटकको आकर्षण बढ्न थालेको छ । सडकमार्गको पहुँचसँगै महाशिला वरिपरि आकर्षक संरचना निर्माण गरिएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, गण्डकी प्रदेश सरकारको उद्योग तथा पर्यटन मन्त्रालय र स्थानीय गाउँपालिकाको लगानीमा विभिन्न संरचना निर्माण गरिएका हुन् । सदरमुकाम कुश्माबजारबाट करिब ४० किलोमिटरको दूरीमा पर्ने महाशिलामा रहेको यो ठूलो ढुङ्गा स्थानीयस्तरमा मेहलढुङ्गाको नामले परिचित छ । यसको अवलोकन गर्न आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै गएको महाशिला धार्मिक तथा पर्यटकीय विकास संस्थाका अध्यक्ष पुष्पराज पौडेलले बताए । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत ४ करोड १२ लाख रुपैयाँको लागतमा पर्यटकका लागि सुविधासम्पन्न आश्रम भवन, स्वामिनारायण गुफा, मन्दिर तथा शौचालय निर्माण गरिएको छ । गण्डकी प्रदेश सरकारको सहयोगमा महाशिला परिसरमा १ करोड रुपैयाँको लागतमा १०८ गौमुखी धारा, महाशिला परिक्रमा गर्ने पदमार्ग, मुख्य गुफा तथा पुरानो संरचना संरक्षणलगायत पूर्वाधार तयार गरिएको छ । नेपाल पर्यटन बोर्डमार्फत रु ११ लाखको लागतमा ट्रष्ट भवन बनाइएको छ भने गाउँपालिकाले पनि विभिन्न संरचना तथा सडक पूर्वाधारमा लगानी गरेको छ । चालु आर्थिक वर्षमा समेत सङ्घीय मन्त्रालयमार्फत १ करोड ५० लाख रुपैयाँ विनियोजन भएको संस्थाका अध्यक्ष पौडेलले जानकारी दिए। उनका अनुसार उक्त बजेट महाशिला परिसरमा पर्खाल निर्माण तथा आश्रम भवनमा आवश्यक सामग्री खरिदलगायतमा खर्चिने भएको छ । केही वषअघिसम्म आवश्यक प्रचारप्रसार र पूर्वाधारको अभावमा ओझेलमा परेको महाशिलामा अहिले धार्मिक, आन्तरिकसँगै बाह्य पर्यटकसमेत आउन थालेको अध्यक्ष पौडेलको भनाइ छ । लुुङ्खुदेउरालीमा पक्की मोटरबाटोको सुविधा पुगेकाले पनि पोखरा, स्याङजा, गुल्मी, बुटवल, पाल्पालगायत जिल्लाबाट सिधैँ पर्यटक आउने गरेको स्थानीय सरस्वती अधिकारीले बताउनुभयो । महाशिला एक पटक हिँडेर परिक्रमा गर्दा एक माना चामलको भात पाक्ने किंवदन्ती छ । एकपटक घुम्दा १० मिनेटभन्दा बढी समय लाग्छ । यहाँ हरेक एकादशी, बालाचतुर्दशी, शिवरात्रि, रामनवमी, अक्षयतृतीयालगायत चाडपर्वमा मेला लाग्छ । महाशिला गाउँपालिकाको नामकरण यही शिलाको नामबाट गरिएको हो । १३० मिटर अग्लो शिला झण्डै १० रोपनी क्षेत्रफलमा फैलिएको छ । शिला परिसरमा विभिन्न संरचना निर्माणका लागि स्थानीयवासीले निःशुल्क जग्गासमेत दान गरेका छन् । अहिले शिलाको स्वामित्वमा झण्डै २० रोपनी क्षेत्रफल रहेको अध्यक्ष पुष्पराज पौडेलले बताए । महाशिला गाउँपालिकाले यसको विकासका लागि ७० करोड रुपैयाँको गुरुयोजनासमेत बनाएको छ । गुरुयोजनाअनुसार काम अघि बढाउँदै लगिएको गाउँपालिकाका अध्यक्ष ईश्वरीप्रसाद भुसालले बताए । सङ्घीय र प्रदेश सरकारसँगको पहलमा गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्ने योजना छ ।
आज देशभर मौसम सफा रहने
काठमाडौं । हाल देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै स्थानीय वायुको पनि केही प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभागले कोशी, मधेश, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने जनाएको छ । कोशी, मधेश, बागमती र कर्णाली, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा आंशिक बदलीदेखि मुख्यतया मौसम सफा रहने छ । कोशी, मधेश, बागमती प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । विभागका अनुसार आज राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीलगायत बाँकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
समता घरेलुको एफपीओ कात्तिक १२ गतेदेखि, पुँजी ५९.९० करोड रुपैयाँ पुग्ने
काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाले कात्तिक १२ गतेदेखि थप सार्वजनिक निष्काशन (एफपीओ) निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । लघुवित्तले ३ करोड ५० लाख ९० हजार ४२५ रुपैयाँको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्य दरका ३ लाख ५० हजार ९०४.२५ कित्ता सेयर जारी गर्ने भएको हो । साविकको मनकामना स्मार्ट लघुवित्तलाई गाभेपछि प्रबन्धपत्रमा भएको व्यवस्था बमोजिम सेयर पूँजी संरचना अनुपात संस्थापकको ६९.४८ प्रतिशत र सर्वसाधारणको ३०.५२ प्रतिशत कायम गर्न नपुग सेयरका लागि सर्वसाधारणका लागि एफपीओ जारी गर्न लागेको हो । हाल लघुवित्तको चुक्ता पूँजी ५६ करोड ४० लाख रुपैयाँ रहेको छ । एफपीओ निष्काशनपश्चात् लघुवित्तको चुक्ता पुँजी ५९ करोड ९० लाख रुपैयाँ पुग्नेछ । लघुवित्तको एफपीओमा लगानीकर्ताले कात्तिक २० गतेसम्म आवेदन दिनुपर्नेछ । यदि सो अवदिभित्र पूर्ण आवेदन नपरेमा आवेदन दिने समय कात्तिक २६ गतेसम्म लम्बिनेछ । लघुवित्तको एफपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । लघुवित्तको एफपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल छ । लगानीकर्ताहरूले सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमाफएत आवेदन दिन सक्नेछन् । एफपीओ निष्काशन प्रयोजनका लागि गराएको रेटिङ्गमा क्रेडिट रेटिङ्ग कम्पनी इक्रा नेपालले लघुवित्तलाई इक्रएनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस प्रदान गरेको छ । यसले लघुवित्तको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।
ओली सरकार ढल्दैन, विपक्षी दलहरूले सपना देख्न छाडे हुन्छ : कोइराला
काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले वर्तमान सरकार ढल्ने कुनै सम्भावना नरहेकोे बताएका छन् । उनले सरकार ढल्छ कि भनेर सपना नदेख्न विपक्षी दलहरूलाई सुझाव दिए । मोरङको बेलबारीमा नेपाल भूतपूर्व सैनिक सङ्घ मोरङको प्रथम जिल्ला अधिवेशन समारोहलाई सम्बोधन गर्दै नेता कोइरालाले राजनीतिक स्थिरता, आर्थिक विकास र सुशासन कायम गर्ने लक्ष्यका साथ निर्माण भएको सरकार ढल्ने सम्भावना नरहेको स्पष्ट पारे । आगामी निर्वाचनसम्म कांग्रेस र एमालेको गठबन्धनकै सरकार रहिरहने बताउँदै नेता कोइरालाले भने, ‘यो सरकार ढल्दैन, चल्छ, यद्यपी मन्त्रीहरूले इमान्दारीपूर्वक काम गर्नुपर्दछ । जनतालाई सरकार भएको अनुभूति दिनुपर्दछ ।’ कोइरालाले राजनैतिक स्थिरता, आर्थिक विकास र सुशासनका लागि देशका सबैभन्दा ठूला दल कांग्रेस र एमालेको सरकार बनेको उल्लेख गरे । ‘यो सरकार बनेको धेरै भएको छैन, त्यसैले काम गर्न दिनुपर्छ,’ उनले भने । सुशासन कायम गर्न सरकार निर्मम रूपमा प्रस्तुत हुनुपर्नेमा जोड दिँदै उनले कांग्रेस र एमालेको बलले मात्रै संविधान संशोधन नहुने भएकाले सबैले मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिए । नेता कोइरालाले अन्य दललाई पनि विश्वासमा लिएर संविधान संशोधन गर्नुपर्ने बताए । ‘संविधान संशोधन छुट्टै आयोग बनाएर हुन्छ कि संसदीय समिति बनाएर हुन्छ, सबै दलको सहमतिमा गर्नुपर्दछ,’ उनले भने । उ नेपाल भूतपूर्व सैनिक सङ्घ मोरङको प्रथम जिल्ला अधिवेशनबाट प्रेम गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।
असोजमा साढे ३० हजार विदेशी पर्यटकले घुमे अन्नपूर्ण क्षेत्र
काठमाडौं । गत असोज महिनामा ३० हजार ७३२ जना विदेशी पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्रको भ्रमण गरेका छन् । पदयात्राका लागि प्रख्यात उक्त क्षेत्रमा असोज महिनाभर दक्षिण एसियाली मुलुकका ११ हजार ९८५ र अन्य मुलुकका १८ हजार ७४७ पर्यटक भित्रिएका हुन् । असोजयता पर्यटकको आउजाउ बढेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का प्रमुख डा रबिन कडरियाले बताए । उनका अनुसार गत भदौमा ‘सार्क’ क्षेत्रका ७ हजार ३६९ र अन्य देशका ५ हजार ९०१ जना गरी जम्मा १३ हजार २७० पर्यटकले त्यस क्षेत्रको भ्रमण गरेका थिए । असोजदेखि मङ्सिरसम्म मुख्य पर्यटकीययाम रहेकाले यस अवधिमा पर्यटकको सङ्ख्या थप बढ्ने आयोजना प्रमुख डा कडरियाको भनाइ छ । पदयात्राका लागि पनि यो याम उत्तम मानिने हुँदा अन्नपूर्ण चक्रीय पदमार्गमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल देखिएको उहाँले बताए । ‘एक्याप’ले सडकमार्ग र पदयात्रामार्फत अन्नपूर्ण क्षेत्रका विभिन्न गन्तव्यस्थलमा पुग्ने विदेशी पर्यटकको मात्र तथ्याङ्क राख्दै आएको छ । ‘एक्याप’ भित्र पर्ने अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, सिक्लेस, खुमै डाँडा, मनाङको तिलिचो ताल, थोरङ् भञ्ज्याङ, उपल्लो मुस्ताङ, मुक्तिनाथ, म्याग्दीको घोडेपानीलगायत क्षेत्र पर्यटकको रोजाइमा पर्ने गरेको छ । दसैँ, तिहार जस्ता ठूला पर्वका बिदा छोपेर नेपालीहरु पनि यही याममा बढी घुमफिरमा निस्कने गरेका छन् । ट्रेकिङ एसोसिएसन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले दसैँलगत्तै पर्यटकीयस्थलहरुमा चहलपहल ह्वात्तै बढेको बताए । ७ हजार ६ सय वर्गकिलोमिटरमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्र रोमाञ्चक र आनन्ददायक पदयात्राका लागि विश्वमै परिचित रहेको उनको भनाइ छ । प्राकृतिक सौन्दर्य, जैविक विविधता, हिमाली जनजीवन, संस्कृति आदि कारणले देशविदेशका पर्यटकमाझ उक्त क्षेत्र लोकप्रिय छ । कास्की, लमजुङ, मनाङ, म्याग्दीलगायत ठाउँबाट यस क्षेत्रको छोटो, मध्यम र लामो दूरीको पदयात्रा तय गर्न सकिन्छ । आकर्षक गन्तव्यस्थल, पर्यटनमैत्री पूर्वाधार, स्थानीयवासीको आतिथ्यता र सेवासुविधाका हिसाबले अन्नपूर्ण चक्रीय पदमार्ग घुमफिरका लागि उत्कृष्ट मानिन्छ । मुख्य पर्यटकीय याम (असोज–मङ्सिर) र (चैत–जेठ) मा अन्नपूर्ण क्षेत्रमा पर्यटकको घुइँचो नै लाग्ने गर्छ । अन्नपूर्ण संरक्षण क्षेत्रअन्तर्गत कास्कीको चर्चित पर्यटकीय गाउँ घान्दु्रकका होटलमा हिजोआज ७५ प्रतिशत पाहुना रहेको घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष विक्रम गुरुङले बताए । ‘केही दिनयता पर्यटकको चहलपहल बढेको छ, व्यवसायीहरु पनि उत्साहित छन्,’ उनले भने । पर्यटन क्षेत्र कोभिड–१९ अघिकै अवस्थामा भने अझै नफर्केको उनको भनाइ छ । गत आवमा २ लाख २२ हजार १८० विदेशी पर्यटक अन्नपूर्ण क्षेत्रमा भित्रिएका थिए । जसमध्ये एसियाली मुलुकका १ लाख १७ हजार ८४५ र अन्य मुलुकका १ लाख ४ हजार २५६ जना पर्यटक थिए ।