मुनलाइट हाइड्रोले १ अर्ब ७६ करोडको आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज
काठमाडौं । मुनलाइट हाइड्रोपावर कम्पनीले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले १ अर्ब ७६ करोड १ लाख ५ हजार रुपैयाँको १ करोड ७६ लाख १० हजार ५० कित्ता साधारण सेयर निष्कासन गर्ने भएको हो । कम्पनीको आईपीओ प्रक्रिया अघि बढाउन लक्ष्मी सनराइज क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । लक्ष्मी सनराइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विजयलाल श्रेष्ठ र मुनलाइट हाइड्रोपावरका सीईओ अनन्त कार्कीले आईपीओ निष्काशनका लागि सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । कम्पनीले सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिकामा निर्माणाधीन २२.१४ मेगावाट क्षमताको बलेफी—ए जलविद्युत आयोजनाको हाल ७० प्रतिशतभन्दा बढी कार्य सम्पन्न गरिसकेको छ ।
साना किसान विकास लघुवित्तद्वारा ग्रामीण उद्यम कर्जा व्यवस्थापन तालिम सम्पन्न
काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लि., शाखा कार्यालय नेपालगञ्जको आयोजनामा ग्रामीण उद्यम कर्जा व्यवस्थापन तालिम सम्पन्न भएको छ । कार्तिक ९ र १० गते २ दिन सम्म चलेको तालिममा २८ वटा साझेदार साना किसान कृषि सहकारी संस्थाहरुका ३० जना ग्रामीण उद्यम कर्जा हेर्ने फोकल पर्सनहरुको सहभागिता रहेको थियो । तालिमको उद्घाटन सत्रमा बोल्दै शाखा प्रबन्धक विशाल कुमार तुलाधरले सहकारीहरुले समुदाय स्तरमा रहेका ग्रामीण उद्यम परियोजना सञ्चालन गर्न विपन्न तथा साना किसानलाई प्रोत्साहन गर्नुपर्ने, सञ्चालनमा रहेका परियोजनामा सहुलियत कर्जा सुविधा प्रदान गरी व्यवसायलाई थप व्यपस्थित बनाउन सहयोग गर्न सके ग्रामीण समुदाय, विपन्न वर्ग र साना किसानको आर्थिक अवस्था सुधार हुने कुरा व्यक्त गरेका थिए । तालिममा वरिष्ठ अधिकृत राम जनक चौधरीले ग्रामीण उद्यम कर्जाको परिचय, उद्देश्य, आवश्यक प्रक्रिया र प्रभावकारी व्यवसायिक योजनाले मात्र व्यवसाय सफल हुने बताए । साथै कर्जा विश्लेषणको प्रक्रिया र यसले कर्जाको गुणस्तरमा पार्ने सकारात्मक प्रभावका बारेमा कक्षा सञ्चालन गरेका थिए । तालिमका सहजकर्ता साना किसान कृषि सहकारी संस्था लि, उरहरीका प्रबन्धक अनुज के.सीले ग्रामीण उद्यम कर्जा व्यवस्थापनमा आफ्नो अनुभव सुनाउदै ग्रामीण उद्यम कर्जा लगानी गर्दा ध्यान दिनुपर्ने कुराहरु, आफ्नो संस्थामा हालसम्म कजाको भाखा ननाघेको, यस्तो कर्जा लगानी गर्दा धितो मुल्याकंन, लगानी पूर्वको प्रभावकारी विश्लेषण, व्यवसायी सदस्यको आय व्ययको वास्तविक अवस्था हेरेर सदस्यको घर परिवार सँगै बसेर सदस्यले गर्न लागेको व्यवसायको व्यवसायिक योजना समेत बनाईने र आवश्यकता अनुसार मात्र कर्जा प्रवाह हुने हुँदा ग्रामीण उद्यम कर्जाको गुणस्तर उच्च रहने बताए । त्यसैगरी सहजकर्ता भिष्मलाल चौधरी र राजन थापाले सदस्यको व्यवसाय स्थापना गर्दाको समय देखि पूर्ण रुपमा सञ्चालन नभए सम्म सदस्यसँग नियमित भेटघाट गर्ने, हौसला प्रदान गर्ने, व्यवसायिक रुपमा यस्ता परियोजना गरिरहेका सदस्यहरु कार्यक्षेत्रमा प्रशस्त रहेको, कतिपय उच्च सम्भावना बोकेका परम्परागत रुपमा व्यवसाय गरिरहेका सदस्यहरु लाई प्रोत्साहन गरी व्ययसायिक रुपमा काम गर्नको लागि सहयोग गर्नुपर्ने बताएका थिए । साथै अन्य कर्जाहरु लगानी गर्दा समेत ग्रामीण उद्यम कर्जा लगानीकै प्रक्रिया अवलम्वन गरेको र यसले कर्जाको गुणस्तरमा सुधार ल्याएको बताएका थिए । तालिमको समापन समारोहमा बोल्दै शाखा प्रबन्धक विशाल कुमार तुलाधरले एसियाली विकास बैंक जस्तो अन्तराष्ट्रिय संगठनले विश्वास गरेर यस्तो परियोजना साना किसानलाई सुम्पिएको हुँदा यसलाई सफल बनाउने जिम्मेवारी र दायित्व हाम्रै रहेको बताए । तालिममा सिकेका कुराहरुलाई व्यवहारमा उतार्न सके मात्र तालिम तथा कार्यक्रमको अर्थ हुने हुँदा सहभागिहरुले लिएको लक्ष्य पुरा गर्न शाखा कार्यालयले जुनसुकै किसिमको सहयोग गर्न तयार रहेकोले आफुले लिएको लक्ष्य र गरेको प्रतिवद्वता पुरा गर्नको लागि शुभकामना दिएका थिए ।
अपि पावरले अपार्टमेन्ट पनि बनाउने, सभाले अनुमोदन गर्यो ४ कम्पनीमा लगानी गर्ने प्रस्ताव
काठमाडौं । अपि पावर कम्पनीको साधारण सभा आइतबार कार्तिक ११ गते सम्पन्न भएको छ । गौशालाको होटल क्रिष्टल पशुपतिमा आइतबार बसेको साधारणसभाले आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन प्रस्तुत छलफल गर्दै पारित गरेको छ । वार्षिक प्रतिवेदनको छलफल गर्दा अपि पावर कम्पनीको संस्थापक अध्यक्ष देखि अहिलेका प्राविधिक विश्लेषण हेर्दै लगानी गरिरहेका सेयरधनीले भाग लिएका थिए । सभाले लेखापरिक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०८०/०८१ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायतका वित्तिय विवरणहरुलाई सेयरधनीहरु सामु छलफल गर्दै पारित गरेको हो । सभाले विशेष प्रस्तावको रुपमा कम्पनीको आर्थिक वर्ष २०८०/०८१ सम्मको जगेडा कोष तथा सेयर प्रिमियमबाट प्राप्त मुनाफाबाट ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको ०.२६३२ प्रतिशत नगद लाभांस वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साथै यस अगाडी घोषणा भएको ९.५१३५ प्रतिशत बाट बाँकी रहेको ४.२५०३ प्रतिशतले हुने रकम कम्पनीको जगेडा कोष कायम रहने पनि कम्पनीका अध्यक्ष सिर्जना खड्काले सभालाई जानकारी गराएकी थिइन् । यस बाहेक सभाले लेखापरिक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण पनि गरेको छ । सभामा अपि पावरले सहायक कम्पनी अपि इन्फ्रा लिमिटेड कम्पनीमा १०० प्रतिशत सेयर स्वामित्व रहने गरी लगानी गर्ने प्रस्ताव अगाडी सारेका थिए । उक्त कम्पनीले ललितपुरको झम्सिखेलमा अवस्थित ४३ इकाई सहितको ९ तल्ले आवासीय भवन बनाउन कार्य अगाडी बढाइसकेको छ । यस बाहेक अपि पावरको बहुमत सेयर स्वामित्व रहने गरी लटिनाथ पावर कम्पनी लिमिटेड कम्पनीमा लगानी गर्ने न्वागाड साना जलविद्युत आयोजना ९९.७ मेवा निर्माण गर्ने प्रस्ताव पनि सभाले पारित गरेको छ । तेस्तै ,अपि पावर कम्पनी लिमिटेडले सुदुर पश्चिम प्रदेशमा रहेको दार्चुला पावर कम्पनी लिमिटेड कम्पनीमा लगानी गरी मध्य चमेलिया जलविद्युत आयोजना ९२८.३ मेवा निर्माण गर्ने प्रस्ताव पनि सभाबाट अनुमोदन गराएको छ । यस बाहेक अपिको बहुमत लगानी रहेको सुर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेड कम्पनीमा लगानी गरि माथिल्लो तादी खोला जलविद्युत आयोजना ९११ मेवा को निर्माण अन्तिम चरणमा रहेको र उक्त लगानी अनुमोदन गर्ने प्रस्ताव सभाले अनुमोदन गरिसकेको छ । सुर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले सर्वसाधारणमा आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दिसकेको छ । तेस्तै,कम्पनीले सर्वसाधारण सेयरधनीबाट ३ जना संचालकमा मधुसुदन कोइराला, संजिव न्यौपाने र दुवारिका न्यौपाने नियुक्त भएका छन् भने महिला संचालकमा सिर्जना खड्का नियुक्त भएकी छिन् ।
सनलाइफ क्यापिटलको लगानीकर्ता शिक्षा तथा सचेतना कार्यक्रम सम्पन्न
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सहायक कम्पनी सनलाइफ क्यापिटलले विश्व लगानीकर्ता सप्ताह–२०२४ को अवसरमा धितोपत्र बजारमा लगानी गर्ने लगानीकर्ताहरु, युवा विद्यार्थीहरु, व्यवसायिक महिला, उद्योग व्यवसायिहरु लक्षित गरेर लगानीकर्ता शिक्षा तथा सचेतना सम्बन्धि कार्यक्रम आयोजना गरेको छ । धितोपत्र बोर्डको समन्वयमा देशव्यापिरुपमा धितोपत्र बजारसँग सरोकार राख्ने विभिन्न संघसंस्थाहरुको सहभागितामा विश्व लगानीकर्ता सप्ताह–२०२४ को अवसरमा आयोजना भईरहेका विभिन्न लगानीकर्ता शिक्षा तथा सचेतना सम्बन्धि कार्यक्रम अन्तर्गत सनलाइफ क्यापिटलले कार्तिक ८ गते आम लगानीकर्ताहरु, व्यवसायिक महिला तथा व्यवसायिक व्यक्तित्वहरुको सहभागितामा बनेपाको होटल उग्रचण्डिमा लगानीकर्ता शिक्षा तथा सचेतना सम्बन्धि कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा नेपालि धितोपत्र बजारको पृष्ठभुमि, नेपालि धितोपत्र बजारको प्राविधक विकास, लगानीका आधारभुत पक्षहरु, धितोपत्र बजारमा हुने धोकाधडी तथा घोटालाको रोकथाम , सामुहिक लगानिकोष र योजना सम्बन्धि बृहत जानकारी र लगानी व्यवस्थापन सम्बन्धि विषयहरु समेटेर प्रस्तुतिकरण र अन्तर्क्रिया गरिएको थियो । साथै युवा विद्यार्थीहरुलाई लक्षित गरेर विश्व लगानीकर्ता सप्ताह–२०२४ को अवसरमा सनलाइफ क्यापिटलले कार्तिक ११ गते एभरेष्ट सेकेन्डरी बोर्डिङ स्कुल गल्कोपाखा,काठमाण्डौंमा धितोपत्र बजार तथा वस्तु विनियम बजार सम्बन्धि शिक्षा तथा सचेतना कार्यक्रम आयोजना गरिएको थियो । उक्त कार्यक्रममा वित्तिय बजार, धितोपत्र बजार सम्बन्धी जानकारी गराउनुको साथै लगानी गर्दा ध्यानदिनुपर्ने कुराहरु, प्राथमिक र दोस्रो बजार सम्बन्धी जानकारी र धितोपत्र बजारमा गरिने कारोबारको व्यवहारिक ज्ञान प्रदान गरिएको थियो जसमा विद्यार्थीहरुको उत्साहजनक सहभागिता रहेको थियो । सनलाइफ क्यापिटल धितोपत्र बोर्डबाट स्विकृत प्राप्त मर्चेन्ट बैंकर हो । जसले मर्चेन्ट बैंकिङ्ग व्यवशाय अन्र्तगत लगानी व्यवस्थापन र धितोपत्र प्रत्याभूति सेवा प्रदान गर्दै आइरहेको छ ।
सन नेपाल लाइफद्वारा मार्केटिङ म्यानेजर इन्स्टलेसन कार्यक्रम सम्पन्न
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले असोज मसान्तसम्म नियुक्त हुने मार्केटिङ म्यानेजरहरुलाई ग्राण्ड होटेल पोखरामा कात्तिक ९ र १० गते १ रात २ दिनको मार्केटिङ म्यानेजर इन्स्टलेसन प्रोग्राम आयोजना गरेको छ । कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल, प्रमुख बजार अधिकृत गणेश चौलागाइ, ट्रेनर तथा लाइफ कोच रविन कटुवाल लगायत प्रदेश प्रमुख तथा विभिन्न शाखा प्रमुखहरुको उपस्थितिमा भएको उक्त कार्यक्रममा देशैभरबाट ५०० जना भन्दा बढिको सहभागिता रहेको थियो । कार्यक्रममा कम्पनीको ब्राण्ड एम्बेसेडर कुञ्जना घिमिरे(सुन्तली) ले अभिकर्ता मार्फत सामाजिक रुपमा सेवा प्रदान गराउँदै ब्यवसायिक रुपमा अर्थाेपार्जन गर्न सकिने र महिलाहरुले गृहिणीको रुपमा मात्र सिमित नरही ब्यवसायिक रुपमा अभिकर्ता मार्फत र आत्मनिर्भर र सामाजिक रुपान्तरण गर्न आग्रह गरेकी थिइन् । कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले यस डिजिटल युगमा डिजिटल साक्षरताको महत्त्वबारे चर्चा गरे । उनले यस प्रतिस्पर्धात्मक युगमा डिजिटलाइजेसनले अभिकर्ताहरुलाई सफल बनाउन कसरी मद्दत गर्न सक्छ भन्ने कुरामा मार्ग दर्शन पनि दिए । साथै, उनले आफ्ना अभिकर्ताहरुलाई अझ राम्रो कार्य सम्पादन गर्न र ग्राहकलाई सुरक्षित जीवनको प्रत्याभूति दिलाउन नवीनतम योजनाहरु ल्याउन काम गरिरहेको जानकारी दिए ।
यातायात कार्यालयद्वारा तीन महिनामा २२ करोड ८१ लाख राजस्व संकलन
बागमती । यातायात व्यवस्था कार्यालय हेटौँडा मकवानपुरले चालु आर्थिक २०८१/८२ को पहिलो तीन महिनाको अवधिमा २२ करोड ८१ लाख रुपैयाँभन्दा बढी राजस्व संकलन गरेको छ । नयाँ सवारी दर्ता, नवीकरण तथा सवारी चालक अनुमतिपत्र वितरणलगायतबाट चालु आव २०८१/८२ को साउनदेखि असोज महिनासम्ममा सो कार्यालयले २२ करोड ८१ लाख ४७ हजार आठ सय रुपैयाँ दुई राजस्व संकलन भएको कार्यालय प्रमुख प्रवीण श्रेष्ठले जानकारी दिए। उनका अनुसार चालु आवको तीन महिनामा सवारी करबाट दुई करोड ७४ लाख ६४ हजार नौ सय ५१ रुपैयाँ, सवारी चालक अनुमतिपत्र वितरणबाट सात करोड ५८ लाख ७२ हजार ४८ रुपैयाँ, यातायात क्षेत्रको आम्दानीबाट १२ करोड ४८ लाख दुई हजार पाँच सय ५३ रुपैयाँ तथा बेरुजुबाट आठ हजार दुई सय ५० रुपैयाँ राजस्व संकलन भएको छ । यस्तै चालु आवको सो अवधिमा मोटरसाइकल पाँच सय ७३ वटा, साना सवारी तीन सय ३२ वटा, टेम्पो/ई–रिक्सा दुई सय ४८ वटा, ठूला तथा मझौला सवारी एक सय ५८ वटा र ट्र्याक्टर एक गरी एक हजार तीन सय १३ नयाँ सवारी दर्ता भएको कार्यालय प्रमुख श्रेष्ठले जानकारी दिए । यस अवधिमा नयाँ एक हजार एक सय ९६ र वर्ग थप आठ सय ५९ गरी दुई हजार ५५ जनालाई सवारी चालक अनुमति पत्र (लाइसेन्स) वितरण गरिएको प्रमुख श्रेष्ठले जानकारी दिए । यस्तै सो अवधिमा एक हजार पाँच सय ४६ नवीकरण, २९ वटा प्रतिलिपी १७ नवीकरण प्रतिलिपी दिइएको जनाएको छ । सो कार्यालयले अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा विभिन्न शीर्षकमा ५६ करोड सात लाख १७ हजार रुपैयाँ राजस्व संकलन गरेको थियो भने चार हजार तीन सय ९९ वटा सवारी साधन दर्ता गरेको थियो ।
यस्तो छ सोमबारका लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैँया २४ पैसा र बिक्रीदर एक सय ३४ रुपैँया ८४ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४४ रुपैँया ९१ पैसा र बिक्रीदर एक सय ४५ रुपैँया ५६ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७४ रुपैँया १० र बिक्रीदर एक सय ७४ रुपैँया ७८ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५४ रुपैँया ८६ पैसा र बिक्रीदर एक सय ५५ रुपैँया ५५ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैँया ६५ पैसा र बिक्रीदर ८९ रुपैँया ५ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैँया ६३ पैसा र बिक्रीदर ९७ रुपैँया ६ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय एक रुपैँया ५९ पैसा र बिक्रीदर एक सय २ रुपैँया ४ पैसा निर्धारण गरिएको छ । जापानी येन १० को खरिददर आठ रुपैँया ८१ पैसा र बिक्रीदर आठ रुपैँया ८५ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैँया ८५ पैसा र बिक्रीदर १८ रुपैँया ९४ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैँया ७४ पैसा र बिक्रीदर ३५ रुपैँया ९० पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैँया ८२ पैसा र बिक्रीदर ३६ रुपैँया ९८ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर तीन रुपैँया ९९ पैसा र बिक्रीदर चार रुपैँया, युएई दिराम एकको खरिददर ३६ रुपैँया ५५ पैसा र बिक्रीदर ३६ रुपैँया ७१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैँया ९३ पैसा र बिक्रीदर ३१ रुपैँया ७ पैसा, साउथ कोरियन वन एक सयको खरिददर ९ रुपैँया ६७ पैसा र बिक्रीदर ९ रुपैँया ७१ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैँया ६४ पैसा र बिक्रीदर १२ रुपैँया ६९ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैँया ४२ पैसा र बिक्रीदर १९ रुपैँया ५१ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैँया २८ पैसा र बिक्रीदर १७ रुपैँया ३५ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३८ रुपैँया १२ पैसा र बिक्रीदर चार सय ४० रुपैँया ८ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५६ रुपैँया ५ पैसा र बिक्रीदर तीन सय ५७ रुपैँया ६४ पैसा तथा भारतीय रुपैँया एक सयको खरिददर एक सय ६० रुपैँया र बिक्रीदर एक सय ६० रुपैँया १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।
नेपाल लाइफ पाठशाला सञ्चालनमा, अब बीमा सेवा र सिकाई एउटै प्लाटफर्ममा
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले लर्निङ म्यानेजमेन्ट सिस्टम (नेपाल लाइफ पाठशाला) सञ्चालनमा ल्याएको छ । आइतबार कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले उक्त प्लयाटफर्ममा लग इन गरी उक्त लर्निङ म्यानेजमेन्ट सिस्टमको अनावरण गरेका हुन् । यस प्लयाटफर्मका कारण अब घरै बसीबसी आफ्नो अनुकूल समयमा बीमा अभिकर्ताको तालिम लिन सकिने र यसले बीमाको प्रचारप्रसार तथा विस्तारमा प्रभावकारी भूमिका निर्वाह गर्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत पराजुलीले बताए । हालको लागि नेपाल बीमा प्राधिकरणले तर्जुमा गरेको पाठ्यक्रमको आधारमा बीमा अभिकर्ताको आधारभूत तालिमको लागि श्रव्य दृश्यहरू निर्माण गरी सञ्चालनमा ल्याइएको र आगामी दिनमा कर्मचारीको सिप ज्ञान अभिवृद्धिका निम्ति पनि कार्यहरु थालनी गर्ने बताए । उनले निकट भविष्यमा नै बीमाको महत्व र बीमा सम्बन्धी सम्पूर्ण जानकारीहरू एउटै प्लयाटफर्ममा उपलब्ध गराउने अभिप्रायका साथ यस प्ल्याटफर्मलाई सशक्त बनाउँदै जाने पनि बताए । सोही अवसरमा यस कम्पनीले बीमाको नवीकरण शुल्क दाखिला तथा बीमा योजना अन्तर्गत लिएको कर्जाको भुक्तानी गर्नका निम्ति कम्पनीले सञ्चालनमा ल्याएको डाइनामिक क्यूआरको पनि प्रयोग गरी घरै बसीबसी सहजताका साथ भुक्तानी गर्न पनि आग्रह गरे । कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयालले इनोभेशनलाई केन्द्रबिन्दुमा राखेर बीमा सेवालाई सहज, सरल चुस्त र दुरुस्त बनाउने पथमा कम्पनी लम्की रहेको बताए । कम्पनीका नायब महाप्रबन्धक उमापति पोखरेलले पहिला भौतिक उपस्थितिमा तालिमहरू प्रदान गर्दै आएकोमा यस प्लयाटफर्मले त्यो परिस्थितिको अन्त्य गरेको बताइन् । तालिम विभागका प्रमुख रोजेश बस्नेतले उक्त प्लयाटफर्मको उपयोगिता र प्रयोग गर्ने तरिकाको बारेमा आफ्नो प्रस्तुतिकरण गरेका थिए । पेशागत बीमा अभिकर्ता संघ नेपाल, बीमक समिति नेपाल लाइफका सचिव तेजमणि शर्मा तिमल्सिनाले कम्पनीले सञ्चालनमा ल्याएको प्लयाटफर्मले तालिम प्रक्रियालाई सहज बनाउने बताए ।