नेपालमा दर्ता भयो टिकटक, यस्ता छन् सर्त
काठमाडौं । नेपालमा आधिकारिक रूपमा चीनको प्रख्यात एप टिकटक दर्ता भएको छ । सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० को दफा ३ को उपदफा ६ बमोजिमको व्यवस्थाअनुसार टिकटक सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा दर्ता गरिएको हो । मन्त्रालयका अनुसार मंगलबार टिकटकका प्रतिनिधिले दर्ता प्रमाणपत्र लिएका थिए । एपले नेपालको कानुन तथा सर्त मान्न तयार भएको, पर्यटन प्रवर्द्धन तथा डिजिटल साक्षरतामा पनि सघाउने प्रतिबद्धता जनाएको छ । निर्देशिकाको दफा ३ को उपदफा ८ अनुसार दर्ता भएको सामाजिक सञ्जाल प्लेटमर्फ सञ्चालन गर्ने व्यक्ति, कम्पनी वा संस्थाले प्रत्येक ३ वर्षमा विवरण अद्यावधिक गराउनुपर्ने व्यवस्था रहेको छ । सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्ने निर्देशिका, २०८० को दफा ३ मा सामाजिक सञ्जाल प्लेटफर्म सञ्चालन गर्न चाहने व्यक्ति, कम्पनी वा संस्थाले निर्देशिका बमोजिम मन्त्रालयमा सूचीकरण गर्नुपर्ने व्यवस्था छ । टिकटक नेपालमा दर्ता हुने तेस्रो सामाजिक सञ्जाल हो । यसअघि भाइबर र विटक नेपालमा दर्ता भएका थिए । साथै सरकारले फेसबुक, इन्स्टाग्रामलगायतका सामाजिक सञ्जालको माउ कम्पनी मेटालाई पनि नेपालमा दर्ता हुन आह्वान गर्दै पात्राचार गरेको छ । विश्वभर धेरै मानिसलाई स्टार बनाएकाे टिकटकलाई कुनै समय नेपालमा बन्देज लगाइएकाे थियाे, यद्यपि अहिले उक्त बन्देज खुला गरिएकाे छ । टिकटक नेपाल र भारतमा मात्र नभइ विश्वरभर चर्चित छ । तर, सन् २०२० मा भारत–चीन सीमामा भएको झडपपछि भारतीय सरकारले टिकटकलगायत ५९ चिनियाँ एपमाथि प्रतिबन्ध लगाएको थियो । भारतमा यसलाई प्रतिबन्ध लगाउँदा विश्वभर डेढ अर्बभन्दा बढी पटक डाउनलोड भइसकेको थियो । यी डाउनलोडहरूमध्ये एक तिहाइ भारतीयहरूले नै गरेका थिए । अहिले विश्वका धेरै देशले यसलाई प्रतिबन्ध लगाएका छन् । यद्यपि यो एप अझै पनि धेरै देशहरूमा प्रयोग गरिन्छ । यो पनि पढ्नूहाेस् : धेरैलाई स्टार बनाएको टिकटकका मालिक बने चीनको सबैभन्दा धनी व्यक्ति
अमेरिकी राष्ट्रपति निर्वाचन : जित नजिक ट्रम्प
काठमाडौं । अमेरिकाको राष्ट्रपतिय निर्वाचनमा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प जित नजिक पुगेका छन् । ट्रम्प जितभन्दा केवल ३४ सिट टाढा छन् । उनले ५ सय ३८ मध्ये २ सय ४६ सिटमा जित हासिल गरेका छन् । ४१ राज्यको नतिजा हेर्दा २६ राज्यमा ट्रम्प र उनका प्रतिस्पर्धी कमला ह्यारिसले १५ राज्यमा अग्रता बनाएका छन् । यता ह्यारिसले २ सय १० सिटमा अग्रता बनाएकी छन् । दुई उम्मदवारबीच केवल ३६ सिटको फरक छ । ह्यारिस डेमोक्र्याटिक पार्टीकाे उम्मेदवार हुन् भने ट्रम्प रिपब्लिकन पार्टीका उम्मेदवार हुन् ।
ग्रामीण भेगमा ट्याक्टरको प्रयोग बढ्न थाल्यो, काम गर्न सहज र समयको बचत
दार्चुला । प्रविधिको विकाससँगै दार्चुलाका पहाडी ग्रामीण क्षेत्रमा अहिले परम्परागत रुपमा गोरूको प्रयोग गरी खेत जोत्ने चलन विस्तारै हराउन थालेको छ । तराईमा मात्र प्रयोग हुँदै आएको ट्याक्टर पछिल्ला केहीवर्षयता पहाडी ग्रामीण बस्तीमा पनि पुग्न थालेसँगै यसको प्रयोग बढ्न थालेको हो । दुई वर्ष अघिसम्म अपिहिमाल गाउँपालिका–४ का प्रकाश कार्कीले गोरूको सहायताले महिनौँ लगाएर खेतबारी जोत्थे । यहाँका अधिकांशको घरमा कम्तिमा एक हलगोरू, हलो र जुवा हुन्थ्यो । अहिले प्रकाशको घरमा गोरू, हलो र जुवा केही छैनन् । खेतबारी खन्न ट्याक्टरको प्रयोग बढेसँगै प्रकाशलाई खेतीकिसानी गर्न सजिलो भएको छ । महिनौँ लगाएर खन्नुपर्ने खेतबारी ट्याक्टरले दुई दिनमा खन्न थालेपछि काममा सहज हुनुका साथै समयको बचत भएको कार्कीले बताउँछन् । गाउँमा अहिले गहुँ छर्ने बेला भएको भन्दै आफ्नो खेतको काम सकेर अरुकोमा पनि काम भ्याइने उनले उल्लेख गरे । ट्याक्टरको प्रयोग बढेसँगै खेतीबाली लगाउन, माटो धुल्याउन निकै सजिलो भएको अपिहिमाल–४ का किसान बताउँछन् । यसअघि भनेको समयमा गोरू नपाउने, कामदारको अभावलगायत समस्या भोगिरहेका यहाँका किसानलाई ट्याक्टरको प्रयोग बढ्न थालेपछि काममा सहज भएको छ । ट्याक्टरको प्रयोग गरी काम गर्दा समयको बचत हुनुका साथै जमिन बाँझो राख्नुपर्ने बाध्यता अन्त्य भएको विनोद अट्यालले बताए । खेत जोत्न ट्याक्टरको प्रयोग गर्न थालेपछि गोरू र खेताला खोज्नुपर्ने झन्झट हटेको उनको भनाइ छ । कम जनशक्ति र समयमा पनि धेरै काम गर्न सकिने भएकाले ट्याक्टरको प्रयोग उपलब्धिमूलक बनेको उनले बताए । काममा सजिलो हुने भएपछि अहिले गाउँमा सामूहिक रुपमा ट्याक्टर खरिद गरेर भित्र्याउने चलन बढेको छ । सडक नपुगेको अपिहिमालका अधिकांश बस्तीसम्म अहिले ट्याक्टरको पहुँच पुगेको अपिहिमाल–४ का कल्यानसिंह बोहराले जानकारी दिए । उनका अनुसार गाउँमा डिजेल दुई सय ३० रुपैयाँ प्रतिलिटरमा पुगेको भन्दै महँगो भए पनि किसानले ट्याक्टरको प्रयोग गरेर खेतीपाती गर्न थालेका छन् । ‘पाखा र भिरालो बारीमा मकै, गहुँ, जौ, धानलगायत अन्न छर्न अहिले खेत जोत्ने काम गोरूले नगरी मिनिटिलर (हाते ट्याक्टर) बाट हुन थालेको छ । गाउँमा अधिकांशले गोरू पाल्न छोडिसकेका छन्’, बोहराले भने, ‘अहिले खेती गर्न प्रविधिको प्रयोग बढ्दै गएकाले हामीले पनि हाते ट्याक्टरको प्रयोग गर्न थालेका हौँ ।’ अपिहिमाल–२ का डब्बलसिंह कार्कीले गाउँमा थोरै परिवारले मात्रै अहिले गोरू पाल्ने गरेका सुनाए । ‘पाँच–छ वर्ष अघिसम्म गाउँका हरेक घरमा एक हलगोरू हुन्थ्यो । अहिले गाउँमा एकाधबाहेक गोरू नै छैनन्’, उनले भने, ‘दुई–तीन परिवारको खेतमा एउटै व्यक्तिको गोरू प्रयोग हुने गरेको छ । अधिकांशले हाते ट्याक्टर प्रयोग गर्छन् ।’ किसान वसन्तसिंह लोथ्यालले शिक्षा तथा रोजगारीको खोजीमा युवाले गाउँ छोड्दै जाँदा गाउँमा गोरूको विकल्पमा ट्याक्टरको प्रयोग बढ्न थालेको बताए । ‘काम गर्ने युवा गाउँमा नभएपछि गोरू पाल्ने चलन पनि हराउँदै गएको छ । गोरू चराउने, घाँसपानी गर्ने कोही नभएपछि विस्तारै गाउँलेले गोरू पाल्न छोडेका हुन्’, उनले भने । रासस
अध्ययन भन्छ- सन् २०५० सम्म विश्वमा क्यान्सरबाट मृत्यु हुनेको सङ्ख्या दोब्बर, कमजोर राष्ट्रमा तीन गुणा बढी
काठमाडौं । अस्ट्रेलियाको एक अध्ययनले सन् २०५० सम्ममा विश्वभर क्यान्सरका कारण हुने मृत्युको सङ्ख्या झण्डै दोब्बर हुने प्रक्षेपण गरेको छ । अध्ययनले सन् २०५० मा विश्वमा एक करोड ८५ लाख मानिसको क्यान्सरका कारण मृत्यु हुने अनुमान गरेको छ, जुन सन् २०२२ को ९७ लाखको तुलनामा ८९.७ प्रतिशतले बढी हो । युनिभर्सिटी अफ क्विन्सल्याण्डका हब्तामु बिजुआयेहुको नेतृत्वमा अनुसन्धानकर्ताहरूले १८५ देशका ३६ प्रकारका क्यान्सरका बिरामी र मृत्युदरको विश्लेषण गरी सन् २०५० को संयुक्त राष्ट्रसङ्घको जनसङ्ख्या पूर्वानुमानमा यो दर लागू गरेर भविष्यका क्यान्सरका बिरामी र मृत्युको प्रक्षेपण गरेका थिए । सन् २०२२ मा दुई करोड क्यान्सर भएकामा सन् २०५० मा तीन करोड ५३ लाख पुग्ने अनुमान गरिएको छ । संयुक्त राष्ट्रसङ्घको मानव विकास सूचकाङ्क (एचडीआई) मा कम वरीयता भएका देशहरूमा सन् २०५० सम्ममा क्यान्सरका बिरामी र मृत्युदर तीन गुणाले बढ्ने अनुमान गरिएको छ । सन् २०५० मा फोक्सोको क्यान्सर यस रोगका कारण हुने मृत्युको प्रमुख कारण रहने अनुमान गरिएको छ, जुन सन् २०२२ मा १८.७ प्रतिशत रहेको थियो । सन् २०२२ देखि २०५० को बीचमा महिलाको तुलनामा पुरुषमा क्यान्सरका बिरामी र मृत्यु हुनेको सङ्ख्या केही बढी हुने अध्ययनले देखाएको छ ।
ट्रम्पलाई २४३ इलेक्टोरल मत प्राप्त हुँदा ह्यारिसलाई १९४ : अमेरिकी सञ्चारमाध्यम
काठमाडौं । अमेरिकी राष्ट्रपतिका लागि मंगलबार भएको निर्वाचनमा डेमोक्र्याटिक पार्टीका तर्फबाट उम्मेद्वार रहेका उपराष्ट्रपति कमला ह्यारिस र रिपब्लिकन उम्मेद्वार पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पबीच कडा प्रतिस्पर्धा देखिएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । अमेरिकी सञ्चारमाध्यमका अनुसार अहिलेसम्म उपराष्ट्रपति ह्यारिसले क्यालिफोर्निया, न्यूयोर्कलगायत १४ वटा राज्यमा बहुमत ल्याउने सुनिश्चित भएको छ भने नेता ट्रम्पले टेक्सास, ओहायो, नर्थ क्यारोलाइना र अन्य भरपर्दो रिपब्लिकन झुकाव भएका राज्यसहित २३ राज्यमा जित हासिल गर्ने देखिएको छ । अहिलेसम्म ट्रम्पले २४३ र ह्यारिसले १९४ इलेक्टोरल मत प्राप्त गरेका छन् । राष्ट्रपति पदमा जीतको लागि जादुई इलेक्टोरल सङ्ख्या २७० रहेको छ। पर्यवेक्षकहरूले ह्वाइट हाउसका लागि भएको निर्वाचनमा यस पहिले नै प्रक्षेपण गरिए अनुसार दुबै उम्मेदवारको झण्डै बराबर मत रहेको अनुमान गरिएका केही राज्य निर्णायक हुनेछन् । एपी, सीएनएन, फक्स न्यूज, एमएसएनबीसी÷एनबीसी न्यूज, एबीसी र सीबीएसलगायत अमेरिकी मिडियाको अनुमानको आधारमा प्रत्येक उम्मेदवारले जितेका राज्यहरूको सूची र इलेक्टोरल मतहरूको सम्बन्धित सङ्ख्या निम्नानुसार छ। डेमोक्र्याटिक नेता ह्यारिस पाएका कूल १९४ इलेक्टोरल मतमध्ये क्यालिफोर्नियामा ५४, कोलोराडोमा १०, कनेक्टिकटमा सात, डेलावेयरमा तीन, कोलम्बियामा तीन, हवाईमा चार, इलिनोइसमा, १९, मेरिल्याण्डमा १०, म्यासाचुसेट्समा ११ र न्यू मेक्सिकोमा पाँच, न्यूयोर्कमा २८, ओरेगनमा आठ, रोएड आइल्याण्डमा चार, भर्मोन्टमा तीन, भर्जिनियामा १३, वासिङ्टनमा १२ रहेका छन् । त्यसैगरी, ट्रम्पले पाएका कूल २४३ इलेक्टोरल मतमध्ये अलबामामा नौ, अर्कान्ससमा छ, फ्लोरिडामा ३०, आइडाहामो चार, इन्डियानामा ११, आयोवामा छ, कन्सासमा छ, केन्टकीमा आठ, लुसियानामा छ, मिसिसिपीमा छ, मिसौरीमा १०, मोन्टानामा चार, नर्थ क्यारोलिनामा १६, नर्थ डकोटामा तीन, ओहायोमा १७, ओक्लाहोमा सात, साउथ क्यारोलिनामा नौ, साउथ डकोटामा तीन, टेनिसीमा ११ टेक्सासमा ४०, यूटामा छ, वेस्ट भर्जीनियामा चार, वायोमिङमा तीन रहेका छन् ।
९ वर्ष विदेशमा काम गरेका चन्द्रबहादुर भन्छन् : गाउँमै साउदी अरबको भन्दा दुई गुणा बढी आम्दानी भयो
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–२ रोहोटेका चन्द्रबहादुर घिमिरेले तरकारी खेतीबाट गाउँमै स्वरोजगार र आत्मनिर्भर बनेका छन् । गाउँकै माटोमा तरकारी खेतीमार्फत खुसी र समृद्धि आर्जन गरेका घिमिरे रोजगारीको खोजीमा विदेश भौतारिने युवाहरुका लागि प्रेरणाको स्रोत बनेका हुन् । आफ्नो देशमै केही गर्ने र परिवारसँगै बस्ने योजनाले नौ वर्ष साउदी अरबको बसाइलाई बिट मारेर स्वदेश फर्केका रोहोटेका ५० वर्षीय घिमिरेले साउदी अरबको भन्दा दुई गुणा बढी आम्दानी गर्न सफल भएका छन् । ‘जहाँ भएपनि काम नगरी सुःख पाइदैन,’ उनले भने ‘बिचौलियालाई लाखौ पैसा दिएर आफैलाई बेचेर विदेशमा पुगेर अर्काको नोकर बन्नुभन्दा आफ्नै खेतबारीमा नङग्रा खियाउँदा सन्तुष्टी मिल्दो रहेछ् ।’ पाँच हाइटेक प्रविधिको टनेलमा तरकारी खेती गर्नुभएका घिमिरेको बारीमा अहिले मौसमी र बेमौसमी तरकारीहरु लटरम्मै झुलिरहेका छन् । काउली, बन्दा, मटरकोसा, गोलभेँडा, मूला, साग, धनियाँदेखि लिएर काँक्रा र तीतेकरेलाजस्ता बेमौसमी तरकारी फलाएर घिमिरेले एक याममा चार लाख रुपैयाँभन्दा बढी कमाई हुने बताए । अमृता कृषि फार्म सञ्चालन गरेका घिमिरेले आफ्नै ठाउँमा गरे के हुँदो रहेनछ भन्ने उदाहरण प्रस्तुत गरेका छन् । उनले गोलभेडा, काउली, बन्दा, आलु, साग, मौसमी तरकारी र बेमौसमी तरकारीको उत्पादन गरेर बेनी बजारमा बिक्री गर्दै र्आएका छन् । घिमिरेको कृषि फार्ममा श्रीमती र छोराले पनि साथ दिएका छन् । छोरालाई उच्च शिक्षा पढाउन र घरब्यवहार चलाउन तरकारी खेतिले सहज भएको घिमिरेले बताए । कृषि ज्ञान केन्द्रले हाइटेक प्रबिधिको टनेल स्थापना गर्न सहयोग गरेको छ । केन्द्रका प्रमुख सञ्जिब बास्तोला चन्द्रबहादुर मेहनती, परिश्रमी, संघर्षशिल र सफल अगुवा कृषकको पहिचान बनाउन सफल भएका बताउँछन् । बेनी नजिकै रहेको र सडक यातायातको सुविधाका कारण बजारको समस्या नभएपछि छिमेकीको जग्गाका हुर्कदै गरेका रुखको ओसेप घिमिरेको ब्यवसायिक तरकारी खेतीका लागि चुनौति बनेको छ । रासस
छठका लागि महँगो मूल्यमा केरा किन्न बाध्य जनकपुरवासी, भन्सारमा रोक लगाएपछि केराको अभाव
काठमाडौं । मिथिलाञ्चलमा भव्यतापूर्वक मनाइने छठ पर्वको तयारीमा श्रद्धालुहरू लागेका छन् । व्रतालुहरू मंगलबार नहाए खाए विधिसँगै छठ व्रतको शुभारम्भ गरेका छन् भने श्रद्धालुहरू छठ पर्वमा प्रयोग हुने पूजाका सामग्री जुटाउने तयारीमा लागेका छन् । छठ पर्वमा अनिवार्य रुपमा प्रयोग हुने पूजा सामग्रीमा केरा तथा नरिवललगायतका फल पर्छ । अहिले फलफूल मण्डीमा केरा किन्न आउनेहरुको भीड बढेको छ । छठ पर्वको प्रमुख प्रसादको रुपमा प्रयोग हुने केरा किन्नेहरूको जनकपुरधामका प्रमुख बजारमा केही दिन यता भीड लागेको छ । प्रत्येक वर्ष जस्तै यसवर्ष पनि केराको विक्री छठ पर्वको पूर्वसन्ध्यामा व्यापक वृद्धि भएको छ । यद्यपि अन्य वर्षभन्दा महँगो मूल्यमा श्रद्धालुहरू केरा किन्न बाध्य भइरहेका छन् । यस वर्ष पछिल्लो वर्षको तुलनामा दोब्बर मूल्य तिरेर केरा किन्न परिरहेको गुनासो उपभोक्ताहरूको छ । यस वर्ष भारतबाट खरिद गरेर नेपाल भित्र्याउन रोक लगाएकाले केराको अभाव भएको जनकपुरधामस्थित फलफूल व्यवसायी संघका महासचिव भूवनेश्वर पूर्वेले बताए । उनका अनुसार जनकपुरधाम बजारमा पछिल्लो वर्ष ८० ट्रक केराको आयात गरिएको थियो भने यो वर्ष भन्सारमा रोक लगाइएकाले ६० ट्रक केरा आयात गरिएको छ । जनकपुरधाम बजारमा भारतको हाजीपुर, आसाम, समस्तीपुर, सीतामढी लगायतका क्षेत्रबाट आयात गरिँदै आएको थियो । जबकि यस वर्ष नवलपरासीको त्रिवेणीबाट मात्रै केरा बढी मात्रामा आयात गरिएको छ । भारतको केरा सस्तो भएपनि नेपाल भित्र्याउन समस्या भएपछि त्यसको मार उपभोक्तामा पर्ने निश्चित रहेको फलफूल व्यवसायी दीलिप साले बताए । छठका लागि केरा किन्न पुगेका उपभोक्ता पहिलेको तुलनामा छठ पर्व धेरै महँगिएको बताउँछन् । पहिला पहिला ३ सयदेखि ५ सय रुपैयाँमा केरा किन्न पुग्थ्यो । तर यस वर्ष कम्तीमा ८ सयदेखि १ हजार रुपैयाँसम्म मात्रै केरा खरिद गर्नुमा खर्चिनु परिरहेको छ ।
एनएलजी इन्स्योरेन्सले मंसिर ११ गतेदेखि हकप्रद सेयर बिक्री खुला गर्ने, कात्तिक २७ गते बुकक्लोज
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले मंसिर ११ गतेदेखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले चुक्ता पुँजी १ अर्ब ५३ करोड ९५ लाख ३५ हजार रुपैयाँको ६.२५६ प्रतिशत अर्थात् १० कित्ता सेयर बराबर नयाँ ६.२५६ कित्ता हकप्रद सेयर बिक्री गर्ने भएको हो । इन्स्योरेन्स कम्पनीले ९६ करोड ३१ लाख २२ हजार २२ रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ९६ लाख ३१ हजार २२०.२२ कित्ता हकप्रद सेयर जारी गर्नेछ । हकप्रद निष्काशनपश्चात् कम्पनीको चुक्ता पुँजी २ अर्ब ५० करोड २६ लाख ५७ हजार ९८२ रुपैयाँ पुग्नेछ । कम्पनीले हकप्रद सेयर निष्काशन प्रयोजनार्थ इन्स्योरेन्सले कात्तिक २७ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले कात्तिक २६ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भइ कायम सेयरधनीहरूले कम्पनीको हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । कम्पनीको सेयरमा लगानीकर्ताहरूले पुस १ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रद निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल रहेको छ । लगानीकर्ताले एनएलजी इन्स्योरेन्सका केन्द्रीय तथा क्षेत्रिय कार्यालय, लक्ष्मी सनराइज बैंकका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै, नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा आवद्ध बैंक तथा वित्तीय संस्थाहरूबाट सीआस्वा प्रणाली र मेरो सेयरमार्फत् आवेदन दिन सक्नेछन् । इक्रा नेपालले इन्स्योरेन्सलाई इक्राएनपी इस्यूअर रेटिङ्ग ए माइनस प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमता पर्याप्त सुरक्षित रहेको संकेत गर्दछ ।