हकप्रदको रकम जम्मा गर्न सञ्चालक र ठूला सेयरधनीलाई लिवर्टीको ताकेता
काठमाडौं । लिवर्टी इनर्जीले सञ्चालक लगायत ठूला सेयरधनीहरूलाई हकप्रद सेयर बापतको रकम जम्मा गर्न निर्देशन दिएको छ । हकप्रद सेयरबापत आफ्नो हकमा पर्न आएको रकम समयमै जम्मा गर्न भनेको हो । कम्पनीले चुक्ता पुँजी १ अर्ब ५० करोड रुपैयाँको ५० प्रतिशत अर्थात् १ः०.५० को अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने तयारीमा छ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले कम्पनीलाई ७५ करोड रुपैयाँ बराबरको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ७५ लाख कित्ता हकप्रद सेयर निष्काशन गर्न अनुमति दिइसकेको छ । सर्वसाधारण सेयरधनीहरूलाई आवेदन खुल्ला गर्नुपूर्व संचालक लगायत आधारभूत (चुक्ता पूँजीको १ प्रतिशत र सो भन्दा बढी सेयर धारण गर्ने) सेयरधनीहरूले आफुले लिनुपर्ने हकप्रद सेयर वापतको रकम बुझाउनु पर्ने व्यवस्था छ । सोही व्यवस्था बमोजिम आफ्नो स्वामित्वमा पर्न आएको हकप्रद सेयर बापतको प्रतिकित्ता १ १ सय रुपैयाँ अंकित मूल्य दरले दरले हुन आउने रकम जम्मा गर्न आग्रह गरेको हो । कम्पनीले कात्तिक २९ गतेभित्र कम्पनीमा सम्पर्क गरी उक्त रकम जम्मा गर्न सेयरधनीहरूलाई अनुरोध थरेको हो । यदि कुनै सञ्चालक लगायत आधारभुत सेयरधनीहरुबाट हकप्रद सेयरको लागि आवेदन सहितको रकम प्राप्त नभएमा नियमानुसार हुने कम्पनीले जनाएको छ ।
पूर्णबहादुरको सारङ्गीले कमायो ८.२५ करोड, एकैदिन ३८० भन्दाबढी ‘शो’
काठमाडौं । गत सातादेखि प्रदर्शनमा आएको नेपाली चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ ले बिहीबार नेपालभरका हलमा ३८० भन्दा बढी ‘शो’ पाएको छ । यसले नेपाली चलचित्र इतिहासमा एकैदिन सबैभन्दा धेरै ‘शो’ पाउने नेपाली चलचित्रको रेकर्डसमेत बनाएको चलचित्र निर्माण कम्पनी सेभेन सिसले जनाएको जनाएको छ । चलचित्रको मुख्य भूमिकामा रहेका कलाकार विजय बरालले काठमाडौं उपत्यकामा १८० र उपत्यका बाहिरका २ सय गरी देशभरका ८९ हलमा ३८० भन्दा बढी ‘शो’ पाएर चलचित्र उत्साहजनक रूपमा प्रदर्शन भइरहेको जानकारी दिए । हालसम्म चलचित्रले बक्स अफिसमा प्रदर्शनमा आएको एक हप्तामै ८ करोड २५ लाख रुपैयाँ सङ्कलन गरेको प्रारम्भिक विवरण प्राप्त भएको पनि बरालले जानकारी दिए । सरोज पौडेलको लेखन तथा निर्देशन रहेको चलचित्रमा बराल मुख्य भूमिकामा रहेका छन् भने प्रकाश सपूत, मुकुन भुसाल, बुद्धि तामाङ, अञ्जना बराइली, माओत्से गुरुङ, देशभक्त खनाल, भोलाराज सापकोटा, विनोद न्यौपाने, आलिस बास्तोला, स्वयम केसी, जान्वी पौडेललगायतको यसमा अभिनय रहेको छ । सेभेन सिस सिनेमा र बासुरी फिल्मस्को प्रस्तुति रहेको चलचित्रको निर्माता विनोद पौडेल र प्याट्रिक सुवेदी तथा कार्यकारी निर्मातामा रमेश चौलागाईं, हरि श्रेष्ठ र रमेश ढकाल रहेका छन् । यो चलचित्र गन्धर्व परिवारको कथावस्तुमा आधारित छ । चलचित्रले एउटा बुबाले छोराको सफलताका लागि गरेको सङ्घर्षको कथा समेटेको छ ।
मृग भनेर हानेको गोली साथीलाई लागेपछि…
खोटाङ । सिकार खेल्न सँगै जङ्गल गएका साथीले हानेको भरुवा बन्दुकको गोली लागेर केपिलासगढी गाउँपालिका-१ फेदीस्थित पिपिङका ५८ वर्षीय जगतप्रसाद राईको मृत्यु भएको छ । फेदीको हात्तीढुङ्गे जङ्गलमा सिकार खेल्न सँगै गएका स्थानीय २५ वर्षीय चेतन राईले प्रहार गरेको भरुवा बन्दुकको गोली लागेर बुधबार राति जगतप्रसादको घटनास्थलमै मृत्यु भएको हो । मृग भनेर आफूले हानेको गोली लागेर साथी (जगतप्रसाद)को घटनास्थलमै मृत्यु भएको चेतनले स्वीकार गरेको फेदीका स्थानीयवासी एवं स्थानीय नेता लक्ष्मण साम्पाङले जानकारी दिए । ‘रातको समयमा दुईजना मिलेर सिकार गर्न गएका रहेछन् । चरणमा आउने मृग भनेर चेतनले गोली चलाएको रहेछ । तर आफूले प्रहार गरेको गोली मृगलाई नभई जगतप्रसादलाई लाग्दा घटनास्थलमै मृत्यु भएछ,’ उनले भने, ‘गोली लागेर जगतप्रसादको मृत्य भएपछि चेतनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । चेतनले मृग भनेर गोली हानेको तर, दृष्टि भ्रम भएर साथीलाई लागेर मृत्यु भएको स्वीकार गरिसकेका छन् ।’ फेदीको पिपिङस्थित गाउँ नजिकैको जङ्गलमा भरुवा बन्दुक पड्केको आवाज सुनेपछि हेर्न जाँदा जगतप्रसादको छातीबाट रगत बगिरहेको अवस्थामा घटनास्थलमै मृत्यु भएको र चेतन भाग्दै गरेको फेला पारिएको आफन्तले बताएका छन् । घटनालगत्तै आफूले प्रहार गरेको बन्दुक छाडेर भागेका चेतनलाई फोन सम्पर्क गरेर घरमा बोलाएपछि प्रहरीको जिम्मा लगाइएको साम्पाङले बताए । घटनाका बारेमा स्थानीयले प्रहरी चौकी खार्ताम्छालाई जानकारी दिएपछि खार्ताम्छाबाट खटिएको प्रहरी टोलीले घटनास्थल सुरक्षित राखेर जिल्ला प्रहरी कार्यालय खोटाङलाई खबर गरेको थियो । जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक सञ्जु कार्कीको नेतृत्वमा गएको प्रहरी टोलीले बिहीबार घटनास्थलको सर्जमिन मुचुल्का गरेर मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल दिक्तेल ल्याएको जनाइएको छ । घटनास्थलबाट एउटा प्रहार भएको खाली र अर्को गोली भरिएको भरुवा बन्दुक बरामद गरिएको निरीक्षक कार्कीले बताए । उनका अनुसार चेतनले प्रहरीसमक्ष आफूबाट गल्ती भएको स्वीकारेका छन् । जिल्लाका स्थानीयले मनोरञ्जनका साथै मासु र हाडखोर बिक्रीका लागि बाघ, भालु, मृग, थार, घोरल, खरायो, कालिजलगायत जङ्गली जनावर तथा पक्षी सिकार गर्दै आएका छन् । सिकारीले लोपोन्मुख जनावर रेडपाण्डा, सालक र हुचिल जीवितै नियन्त्रणमा लिएर बिक्रीसमेत गर्ने गरेको स्थानीयले बताएका छन् । चोरी सिकार गर्नेलाई नियन्त्रणमा लिएर कानुनी कारबाही नगर्दा पछिल्लो समय लोपोन्मुख जीवजन्तु जिल्लामा हराउन थालेको स्थानीयले बताएका छन् ।
विद्युतीय वाहन र बस एकापसमा ठोक्किए, ४ जनाको निधन, ६ घाइते
काठमाडौं । नारायणगढ-मुग्लिन सडकखण्डको सत्र किलोमा आज बिहान भएको दुर्घटनामा ४ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता भेषराज रिजालका अनुसार आज बिहान ३ बजे मुग्लिनबाट नारायणगढतर्फ आइरहेको विद्युतीय वाहन र नारायणगढबाट मुग्लिनतर्फ गइरहेको बस एकापसमा ठोक्किँदा विद्युतीय वाहनमा सवार गोरखा आरुघाट गाउँपालिका-१ का ४२ वर्षीय राजबहादुर गुरुङ, परिचय नखुलेका ४० वर्षीया महिला, ३२ वर्षीय र ३५ वर्षीय पुरुषको मृत्यु भएको हो । दुर्घटनामा अन्य ६ जना घाइते भएका छन् । घाइतमध्ये दुई जनाको भरतपुर अस्पताल र चार जनाको चितवन शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
जलवायु परिवर्तन प्रभावको असर विदेशी पर्यटक चरामा
बेलबारी (मोरङ) । हिउँद सुरु भएसँगै जाडो छल्न पर्यटक चरा नेपाल आउने गर्छन् । चैत अन्तिमसम्म जाडो छल्न नेपालमा रहने विदेशी पर्यटक चरामा पछिल्लो समय जलवायु परिवर्तनको प्रभाव देखिन थालेको छ । जलवायु परिवर्तन प्रभावका कारण आवास परिवर्तन, खाद्य चक्रको परिवर्तन, प्रवासनको समय परिवर्तन, रोग र परजीवीहरूको वृद्धिलगायत समस्याले आगन्तुक चरामा असर पुगेको देखिन्छ । उपयुक्त वातवारण अभावमा आगन्तुक पर्यटक चराको सङ्ख्यामा कमी देखिन थालेको कोशी टप्पु लर्निङ ग्राउण्ड्समा कार्यरत प्राकृतिक पदप्रदर्शक चरा जानकार अनिश तिम्सिना बताउँछन् । ‘जलवायुको असरसँगै सरकारी निकायबाट चरा तथा वन्यजन्तुको उचित बासस्थान साथै आहाराको व्यवस्थापन आवश्यक छ,’ तिम्सिना भन्छन् । सिमसारलगायत चराको उपयुक्त बासस्थानमा विभिन्न किसिमका मिचाहा वनस्पतिलाई व्यवस्थित गरी रैथाने प्रजातिका वनस्पतिको संरक्षणमा सबै लाग्नुपर्ने चरा जानकार तिम्सिना बताउँछन् । खेतबारीमा लगाइएको अन्नबालीमा बढ्दो विषादी प्रयोगले चरालाई सङ्कट बढ्दै गएको हुँदा सबै सरोकारवाला निकायको त्यसतर्फ ध्यान जान जरुरी रहेको तिम्सिनाको भनाइ छ । कोशीटप्पु वन्यजन्तु आरक्ष चराको राजधानीजस्तै मान्ने गरिन्छ । देशभरि पाइने ८९५ चरामध्ये हाल यहाँ ५३५ चरा फेला परिसकेका छन् । कोशी बर्ड सोसाइटीको अगुवाइमा भएको जलपक्षी गणना सन् २०२३ मा कोशीटप्पु वन्यजन्तु आरक्षमा ५८ प्रजातिका १३ हजार ६६८ को सङ्ख्यामा चरा आएको तथ्याङ्क छ । ‘नेपालमा पाइने सबै प्रजातिका चरा पनि वर्षभरि नै नेपालमा रहन्छन् भन्ने हुँदैनन्,’ बर्ड वाचिङ क्याम्प कोशी टप्पुका सञ्चालक कुरमान मन्सुरीले भने, ‘नेपालमा हिउँदमा आउने हिउँदे आगन्तुक र वसन्त ऋतुको आगमनसँगै आउने आगन्तुक पाहुना चराको बसाइँसराइ वर्षभरि नै निरन्तर चलिरहन्छ ।’ कोशी टप्पुमा बर्सेनि नयाँनयाँ प्रजातिका चरा आउने क्रम थपिए पनि विगत वर्षमाझैँ झुण्डझुण्डमा आउने चराको सङ्ख्यामा भने कमी आएको मन्सुरी बताउँछन् । उनका अनुसार कोशीटप्पुकै आसपासको बर्जुताल र मोरङको बेतना सिमसारमा भने अझै पनि पाहुना चरा झुण्डमै आउने गरेको पाइएको छ । मोरङको बेलबारी नगरपालिकास्थित वेतना सिमसार वन उपभोक्ता समितिका अध्यक्ष शम्भु भट्टराईको अनुसार कोशी टप्पुमा आउने प्रायःजसो पाहुना चरा यहाँ पनि आइपुग्छन् । नेपालका विभिन्न भागबाट साथै दक्षिण भारत र साइबेरियासम्मका चरा वेतनामा मज्जाले हेर्न पाइन्छ । विशेषगरी मङ्सिरदेखि चैतसम्म विदेशी चरा यहाँ बस्ने गर्छन् । पछिल्लो समय जलवायु परिवर्तन प्रभावका कारणको कारण हुनसक्छ विगतका वर्षहरूमा जस्तो चराको झुण्ड कम देखिन्छ । बेलबारीका जीव विज्ञान जानकार डिल्ली कोइरालाले भने, ‘उत्तरी ध्रुवमा हिमपात सुरू भएसँगै हिउँदयामको बढ्दो जाडो छल्न नेपालका तल्लो हिमाली भेग, पहाड र तराईका विभिन्न भूभाग तथा तालतलैया र नदी आसपासमा हजारौँ पर्यटक चरा बसाइँ सरी नेपालका विभिन्न सिमसार, खोलानालामा आउने गर्दछन् ।’ उनका अनुसार जलवायु परिवर्तनका कारण चराले प्रवासनको समय परिवर्तन गर्न सक्छ, जसले तिनीहरूको प्रजनन र अवतरणमा असर पार्न सक्ने साथै चरा बस्ने स्थानको तापमान र वर्षापातको ढाँचा परिवर्तन गर्न सक्छ र तिनीहरुको जन्म स्थानमा असर पार्न सक्छ । बर्सेनि करिब एक सय ५० प्रजातिका चरा रुस, किर्जिस्तान, तुर्किस्तान, उज्वेकिस्तान, अजरवैजान, चीन, मङ्गोलियाका साथै युरोप, कोरिया तथा तिब्बती क्षेत्रबाट नेपालमा आउने गरेको तथ्याङ्क छ । करिब ५० प्रजातिका बटुवा चरा नेपालको बाटो हुँदै दक्षिणी मुलुक भारत, पाकिस्तान र श्रीलङ्कातर्फ जाने गर्छन् । जाडो छल्न आउने हिउँदे आगन्तुक चरा नेपालका प्रमुख सिमसार क्षेत्र कोशीटप्पु वन्यजन्तु आरक्ष, चितवन राष्ट्रिय निकुञ्ज, बिसहजारी ताल, जगदीशपुर ताल, घोडाघोडी ताल, शुक्लाफाँटा वन्यजन्तु आरक्ष तथा कोशी, गण्डकी, नारायणी नदी र त्यसका सहायक नदीमा नै प्रायः रहने गर्छन् । जाडोयाममा नेपालमा बसाइँ सरेर आउने चराको अधिकांश हिस्सा हाँस प्रजातिले ओगट्छन् । अन्य प्रजातिमा सिकारी तथा मांसाहारी चरा, चाँचर, साना फिस्टा, अर्जुनक, झ्याप्सी, भद्राइ आदि पर्दछन् । दक्षिणी मुलुक र अफ्रिकाबाट हजारौँ ग्रीष्मकालीन आगन्तुक चरा बच्चा कोरल्न नेपाल आउने गर्छन् । यी चरा असोजसम्ममा आफ्ना बच्चा हुर्काएर पुरानै बासस्थानमा फर्कन्छन् । यसरी आउने करिब ६० प्रजातिका चराको अधिकांश हिस्सा कोइली प्रजातिको हुन्छ । नेपालमा पाइने १९ प्रजातिका कोइलीमध्ये १५ प्रजातिले त आफ्नो गुँड नै बनाउँदैनन् र आफ्नो अण्डा अरु चराको गुँडमा पार्दिन्छन् । उक्त चराले आफ्नै सन्तान ठानेर कोइलीको बच्चालाई हुर्काउँछ । नेपाल आउने अन्यमा मुरलीचरी, गाजले सुनचरी, स्वर्गचरी, चित्रक पिट्टा, कटुस टाउके आदि रहन्छन् । ग्रीष्मकालीन आगन्तुक चराको मुख्य बासस्थान भने वन र यस आसपासका घाँसेमैदान तथा कृषि भूमि हुन् ।
अन्नपूर्ण आधार शिविरमा पर्यटकसँगै फोहरको चुनौती
काठमाडौं । अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको भूगोलमा पर्ने ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालको आरोहण आधार शिविर २ वर्षअघिसम्म सुनसान थियो । वसन्त ऋतुमा हिमाल आरोहणका लागि आउने हेलिकप्टरमार्फत पुग्ने आरोही र तिनका सीमित सङ्ख्यामा सहयोगीहरू मात्र आधार शिविरमा हुन्थे । पदमार्ग निर्माण र प्रचारप्रसारसँगै पछिल्लो एक वर्षयता अन्नपूर्ण आधार शिविरमा हिउँदको तीन महिनाबाहेकका समयमा दैनिकजसो पर्यटक पुग्ने गरेका छन् । आन्तरिक पर्यटकको रोजाइमा परेको अन्नपूर्ण आधार शिविर र त्यहाँ जाने ‘मौरिस हर्जोग’ पदमार्गमा पाहुनाको बसाइ व्यवस्थापन र बढ्दो प्रदूषण चुनौती बनेको छ । मौरिस हर्गोज पदमार्गमा पर्यटक लैजान सहजीकरण गरिरहेका सुरेन गुरुङले पदयात्रीहरूले फालेको प्लाष्टिक, स्टिल र सिसाजन्य फोहरका कारण प्रदूषण बढेको बताए । ‘पदमार्ग र आधार शिविरमा प्लाष्टिक, कागज, कपडा, स्टिल र सिसाले फोहर भएको छ, कुहिने फोहरलाई खाडलमा गाड्ने, नकुहिनेलाई व्यवस्थापन नगर्ने हो भने यहाँको सुन्दरतामा असर पर्न सक्छ,’ उनले भने । कति मात्रामा फोहर छ भन्ने यकिन नभए पनि पदयात्रीले सामान राखेर लगेका प्लाष्टिक, बोरा, बट्टा, बोत्तल, कपडा र ग्यासको खाली सिलिण्डर यत्रतत्र फालेका भेटिने गुरुङले बताए । हालसम्मकै धेरै पर्यटक अन्नपूर्ण गाउँपालिका-४ का वडाध्यक्ष लोकबहादुर फगामीका अनुसार चालु शरदयाममा करिब ४ हजार जना आन्तरिक पर्यटक अन्नपूर्ण आधार शिविरको भ्रमणमा गएका छन् । यो याममा हालसम्मकै धेरै सङ्ख्यामा पर्यटक अन्नपूर्ण आधार शिविर गएका उनले बताए । बेनी, काठमाडौं, पोखरा, बागलुङ, चितवनलगायत सहरबाट विशेष गरेर जागिरे र युवायुवतीहरू अन्नपूर्ण आधार शिविरको पदयात्रामा आएका छन् । तीन दिनको छोटो अवधिमा साहसिक पदयात्रा गर्न सकिने भएकाले पर्यटकको रोजाइमा अन्नपूर्ण आधार शिविर परेको हो । होटल तथा लजको सुविधा नभएको मौरिस हर्जोग पदमार्ग र अन्नपूर्ण आरोहण शिविरमा जानेहरूले खाना, खाजाका परिकार, भाँडाकुँडा, ग्यास, लत्ताकपडाको आफैँ जोहो गर्नुपर्छ । सरसफाइ कार्यक्रम फोहर बढेपछि अन्नपूर्ण गाउँपालिका र घराम्दीका खेलाडीको टोलीले पछिल्लो एक महिनाको अवधिमा दुईपटक उक्त पदमार्ग र आधार शिविर क्षेत्रमा सरसफाइ गरेका छन् । हाल बेलायत बस्दै आएका धनकुमार पाइजाको सहयोगमा घराम्दीका भलिबल खेलाडी १९ जनाको टोलीले गत असोज १७ देखि १९ गतेसम्म कुहिने फोहरलाई खाडल खनेर गाड्ने र नकुहिने फोहरलाई सङ्कलन गरी केही तल ल्याएर जलाएका थिए । यसैगरी अन्नपूर्ण गाउँपालिका–४ नारच्याङका वडासदस्य श्याम पुर्जाको नेतृत्वमा स्थानीय युवाहरूको टोलीले गत हप्ता पदमार्ग र आधार शिविर क्षेत्रमा सरसफाइ गरिएको थियो । शौचालय अभावमा समस्या पदमार्गमा व्यवस्थित शौचालयको पनि अभाव छ । फुतफुते भरना नजिकै रघुगङ्गा गाउँपालिका–१ बेगकी ललिता शेरपुञ्जाको अगुवाइमा सार्वजनिक शौचालय निर्माण भएको छ । भुसकेतमा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप०को सहयोगमा गत वर्ष शौचालय निर्माण भएको थियो । सम्धीखर्क, आरोहण आधार शिविर र पञ्चकुण्ड तालको आश्रयस्थलमा बास बस्ने पर्यटकलाई शौचालयको समस्या भएको बेनीका कनक प्रधानले गुनासो गरे । जेठो हिमाल फ्रान्सका मौरिस हर्जोग र लुई लचेनलले सन् १९५० को जुन ३ तारिखका दिन आरोहण गरेको अन्नपूर्ण ८ हजार मिटरभन्दा अग्लो पहिलो मानव पाइला परेको हिमाल हो । सगरमाथाभन्दा तीन वर्षअघि आरोहण भएको अन्नपूर्णलाई जेठो हिमाल भनिन्छ । हर्जोगको टोलीले अन्नपूर्ण चढ्न प्रयोग गरेको बाटो पछ्याउँदै नारच्याङका तेज गुरुङको अगुवाइमा २०६८ सालमा अन्नपूर्ण हिमाल र आधार शिविर म्याग्दीमा पर्ने तथ्य तथा पदमार्ग पहिचान भएको थियो । सो पदमार्गलाई अन्नपूर्ण गाउँपालिकाले ‘मौरिस हर्जोग’ नामकरण गरेको छ । नारच्याङबाट हुमखोलासम्म २० किलोमिटर सडक र हुमखोलाबाट आधार शिविरसम्म आधारभूतस्तरको २२ किलोमिटर पदमार्ग तयार भएको छ । अन्नपूर्ण र निलगिरि हिमालको फेदीबाट बग्ने मिस्त्रीखोलाको किनारैकिनार अग्ला झरना, मनमोहक हिमशृङ्खला, अनौठो भूगोल, पहाड, दुर्लभ वनस्पति, वन्यजन्तुको अवलोकन गर्दै आधार शिविर पुग्न सकिन्छ । गाउँपालिकाको प्रयास पदमार्गको स्तरोन्नति, खोलामा झोलुङ्गे पुल निर्माण, आश्रयस्थलको क्षमता विस्तार, खानेपानी, शौचालय, सञ्चार, विद्युत् सुविधा र सुरक्षाको व्यवस्थापनका लागि एकीकृत गुरुयोजना तयार पारिएको छ । अध्यक्ष पुनले चालु आर्थिक वर्षमा विनियोजन भएको १ करोड रुपैयाँ बजेटबाट आश्रयस्थलको क्षमता विस्तार, शौचालय, खानेपानी, पुललगायत पूर्वाधार निर्माणमा परिचालन गरिने बताए । मोबाइल र विद्युत् सुविधा विस्तारका लागि सम्बद्ध निकायमा पहल गर्नुका साथै स्थानीय सामाजिक सङ्घसंस्थासँग समन्वय गरेर फोहर व्यवस्थापनको प्रयास गरेको अध्यक्ष पुनले बताए । पर्यटकको खानेबस्ने सुविधाका लागि सामुदायिक होटल तथा लज सञ्चालनको विषयमा छलफलको तयारी गरेको पनि उनले बताए ।
अमेरिकी डलरले बनायो नयाँ रेकर्ड, यूरो र पाउण्डको मूल्यमा वृद्धि
काठमाडौं । अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएसँगै डलरको मूल्यले नयाँ उचाइ कायम गरेको छ । बिहीबार अमेरिकी डलरको भाउ हालसम्म कै उच्च बिन्दुमा पुगेको डलरको भाउ शुक्रबार उक्त थप बलियो बनेको हो । नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलरको मूल्य एकको खरिदर १३४.७० रुपैयाँ र बिक्रीदर १३५.३० रुपैयाँ तोकेको छ । जुन मूल्य हालसम्मकै उच्च हो । यसअघि हिजो अमेरिकी डलरको मूल्य एकको खरिदर १३४.५४ रुपैयाँ र बिक्रीदर १३५.१६ रुपैयाँ तोकेको थियो । अमेरिकी डलरको मूल्य लगातार उकालो लाग्दा मुलुकको अर्थतन्त्रमा समेत नकारात्मक असर पर्छ । विप्रेषण आप्रवाहमा सकारात्मक प्रभाव पर्ने भए पनि अन्य क्षेत्रमा भने नकारात्मक असर पर्नेछ । मूल्य वृद्धिका अलावा, विदेशी परामर्शदार्तालाई दिनुपर्ने भुक्तानी, राज्यले विदेशी दातृ निकायलाई तिर्नुपर्ने ऋणको सावा तथा ब्याजको भुक्तानीमा समेत नकारात्मक असर पर्नेछ । आज युरोपियन यूरोको एकको खरिदर १४४.९४ रुपैयाँ र बिक्रीदर १४५.५९ रुपैयाँ, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १७३.८८ रुपैयाँ र बिक्रीदर १७४.६५ रुपैयाँ, स्वीस फ्रयाङ्क एकको खरिददर १५३.६९ रुपैयाँ र बिक्रीदर १५४.३७ रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर ८८.३३ रुपैयाँ र बिक्रीदर ८९.७२ रुपैयाँ तोकेको छ । यस्तै, क्यानेडियन डलर एकको खरिददर ९६.९७ रुपैयाँ र बिक्रीदर ९७.४० रुपैयाँ, सिङ्गापुर डलर एकको खरिददर १०१.५० रुपैयाँ र बिक्रीदर १०१.९६ रुपैयाँ, जापानी येन १० को खरिददर ८.७५ रुपैयाँ र बिक्रीदर ८.७९ रुपैयाँ र चिनियाँ युआन एकको खरिददर १८.८० रुपैयाँ र बिक्रीदर १८.८९ रुपैयाँ तोकेको छ । राष्ट्र बैंककाअनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५.८६ रुपैयाँ र बिक्रीदर ३६.०२ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३६.९६ रुपैयाँ र बिक्रीदर ३७.१२रुपैयाँ, थाई भाट एकको खरिददर ३.९३ रुपैयाँ र बिक्रीदर ३.९५ रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.६७ रुपैयाँ र बिक्रीदर ३६.८४ रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरिददर ३०.५९ रुपैयाँ र बिक्रीदर ३०.७३ रुपैयाँ तोकेको छ । यस्तै साउथ कोरियन वन एक सयको खरिदद ९.६६ रुपैयाँ र बिक्रीदर ९.७० रुपैयाँ, स्वीडिस क्रोनर एकको खरिददर १२.४७ रुपैयाँ र बिक्रीदर १२.५३ रुपैयाँ, डेनिस क्रोनर एकको खरिददर १९.४४ रुपैयाँ र बिक्रीदर १९.५२ रुपैयाँ, हङ्कङ डलर एकको खरिददर १७.३३ रुपैयाँ र बिक्रीदर १७.४१ रुपैयाँ, कुवेती दिनार एकको खरिददर ४३८.९५ रुपैयाँ र बिक्रीदर ४४०.९० रुपैयाँ र बहराइन दिनार एकको खरिददर ३५७.३० रुपैयाँ र बिक्रीदर ३५८.८९ रुपैयाँ कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि ५ महिना दैनिक १० घण्टा बन्द हुने
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआइए) आजदेखि करिब ५ महिना दैनिक १० घण्टा बन्द हुने भएको छ । नेपाल नागरिक उड््डयन प्राधिकरण (क्यान)का अनुसार विमानस्थलको स्तरोन्नतिका लागि आजबाट दैनिक १० घण्टा उडान बन्द गरेर विस्तारको काम गर्न लागिएको हो । प्राधिकरणअन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले विमानस्थलको दक्षिण–पश्चिमतर्फ समानान्तर ‘ट्याक्सीवे’, उत्तरतर्फको ‘इन्टरनेशनल एप्रोन’ र विमानस्थलको पूर्वतर्फको ‘ह्याङ्गर एप्रोन’लगायत विस्तार गर्नेछ । यी काम पूरा गर्न १५ अर्ब रुपैयाँ खर्च हुने आयोजनाले जनाएको छ । स्तरोन्नतिका क्रममा राति १० बजेदेखि बिहान ८ बजेसम्मका सबै उडान कटौती हुनेछन् । हाल विमानस्थल बिहान ६ बजे खुलेर राति २ बजेसम्म सञ्चालन हुँदै आएको थियो । आयोजना प्रमुख दीपेन्द्र श्रेष्ठले टीआइएको धावनमार्गसँगै समानन्तर हुने गरी ट्याक्सीवे बनाउन लागिएको छ । उनले उडान सुरक्षामा कुनै खतरा उत्पन्न नहोस् भनेर उडान बन्द गरिएको उल्लेख गरे । नेपालमा हाल तीन अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थापनाको ७४ वर्षपछि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएका हुन् । मुलुकको जेठो अन्तर्राष्ट्रिय विमानस्थल टीआइएको पटकपटक मर्मत र क्षमता अभिवृद्धि गरिँदै आएको छ । विसं २०७७ मा सो विमास्थलको धावनमार्ग विस्तार गरी ३ हजार ३ सय मिटर कायम गरिएको थियो । त्यतिबेला पनि बेलुका ६ देखि बिहान ६ बजेसम्म दैनिक १२ घण्टा उडान बन्द गरिएको थियो । तत्कालीन समयमा विमानस्थलको धावनमार्गको दक्षिणतर्फ (कोटेश्वर क्षेत्र रनवे जिरो–टु) विस्तार भएको थियो । विसं २०७५ मा दैनिक १० घण्टा विमानस्थल बन्द गरेर झण्डै चार महिना अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग पूर्ण रूपमा मर्मत (कालोपत्र) गरिएको थियो । विमानस्थल मर्मतको अवधिमा आन्तरिक र अन्तर्राष्ट्रियतर्फ करिब ३० प्रतिशत उडान कटौती भएको थियो । विमानस्थल भएर आन्तरिकतर्फ ११ हेलिकप्टर कम्पनीसहित १९ हवाई कम्पनी र आन्तर्राष्ट्रियतर्फ तीन नेपालीसहित ३० हवाई सेवा कम्पनीले उडान गर्दै आएका छन् । काठमाडौँ विमानस्थलमा आन्तरिकमा दुईतर्फी ३ सयभन्दा बढी र अन्तर्राष्ट्रियतर्फ १ सय हाराहारी उडान हुने गरेका छन् ।