तरकारी खेतीबाट वार्षिक सात लाख आम्दानी
रामपुर । रामपुर नगरपालिका–६ स्थित प्याक्लुककी गङ्गा बस्यालले विसं २०७२ देखि व्यावसायिक तारकारी खेती गर्दै आएका छन्। करिब १२ रोपनी क्षेत्रफलमा गरेको तरकारी खेतीबाट उनले वार्षिक सात लाख रुपैयाँ आम्दानी गर्दै आएका छन् । आजभन्दा एक दशकअघि तरकारी खेतीबाट जीविकोपार्जन होला भन्नेमा बस्याल विश्वस्त हुन सकेका थिएनन् । सदरमुकाम तानसेनबाट टाढा रहेको रामपुर बजार ग्रामीण सहरका रुपमा मानिन्छ । तरकारीले बजार नपाए नोक्सानी हुने चिन्ताका बीच उनले व्यवसाय विस्तार गर्दै जाने योजनासहित तरकारीखेतीमा लागे । अहिले तरकारीखेतीले बजार पाएपछि यसबाटै जीविकोपार्जन भइरहेको बस्यालले बताए । वार्षिक रुपमा सबै खर्च कटाएर तरकारी बिक्रीबाट सात लाख रुपैयाँ आम्दानी हुने गरेको उनले जानकारी दिए । उनी स्थानीय बजारको अवस्था र ग्राहकको माग अनुसार तरकारी लगाउने गर्छन् । यहाँ आलु, काउली, बन्दा, गोलभेँडालगायत जातका तरकारीले राम्रो बजार पाउने भएपछि सो जातका तरकारी उत्पादनमा जोड दिने गरेका छन् । बस्यालले हाल १२ रोपनी क्षेत्रफलमा तरकारीखेती गर्दै आएका छन् । दश रोपनी जग्गा १० वर्षका लागि वार्षिक ५० हजार रुपैयाँ बुझाउने गरी भाँडामा लिएको बताउँदै स्थानीय बजारमा तरकारीको खपत हुन थालेपछि व्यवसाय विस्तार गरी १२ रोपनी पुर्याएको उनले जानकारी दिए । तरकारी खेतीबाट परिवारको सबै खर्च र छोराछोरीको पढाइ खर्चसमेत व्यवस्थापन हुँदै आएको बस्यालले बताए । ठूला सहर तथा बजार पुग्ने सडक जोडिए पनि पक्की र व्यवस्थित सडक नहुँदा, रामपुर गाउँ भएकाले बजार सानो हुनसलगायत कारणले केही समस्या भने हुने उनको भनाइ छ । ‘भविष्यमा यो व्यवसायले आयआर्जनको बलियो माध्यम बनाउन सकिन्छ भन्ने सोचका साथ तरकारीखेती सुरु गरेँ, तरकारीबाट सोचेजस्तै आम्दानी भइरहेको छ’, बस्यालले भने, ‘हाम्रो परिवारको जीविका राम्रैसँग चलेको छ, यस व्यवसायबाट हामी सन्तुष्ट छौँ ।’ पहिले स्याङ्जाको वालिङ, गल्याङलगायत विभिन्न बजारमा लगेर तरकारी बिक्री गरेको स्मरण गर्दै उनले अहिले भने उत्पादित तरकारीले रामपुरमा नै खपत भइरहेको जानकारी दिए । उनको व्यवसायमा श्रीमती राधिका बस्यालले सघाएकी छन् । श्रीमान् श्रीमती दुवैजना तरकारी खेतीमा आबद्ध छन् । उनीहरुको यो व्यवसाय देखेर अहिले गाउँघरमा छिमेकीले पनि तरकारी लगाउन थालेका छन् । बारी हरिया तरकारीले ढाकिएका छन् । उनको बारीमा अहिले काउली, बन्दा, आलु, सागमुला, धनियालगायत सागसब्जी तयार हुँदैछन् । गत भदौमा मात्रै एक रोपनी जग्गामा लगाएको काँक्राबाट एक लाख रुपैयाँ आम्दानी भएपछि व्यवसायमा हौसला थपिएको राधिकाले बताइन् । ‘तरकारीखेती थालेपछि वरिपरि हरियाली भएको छ । गाउँमा विस्तारै पहिचान पनि बन्दै गएको छ । अहिले बजारको समस्या छैन, व्यापारीले घरमा आएर खरिद गरेर तरकारी लैजानुहुन्छ’, उनले भनिन् । बर्सेनि तरकारीका साथै बिरुवासमेत उत्पादन गर्न थालेको राधिकाको भनाइ छ । उनका अनुसार करिब एक रोपनी जग्गामा मौसमी तथा बेमौसमी जातका तरकारीका बिरुवा उत्पादन भइरहेका छन् । पछिल्लो समय यहाँको बजार बढ्दै गएपछि निर्वाहमुखी खेती गर्ने किसानले पनि व्यावसायिक तरिकाबाट खेती गर्न थालेका रामपुर नगरपालिकाका कृषि शाखा प्रमुख नारायणप्रसाद गैरेले बताए । व्यावसायिक खेतीमा जोड दिने किसानलाई नगरपालिकाले खेती गर्ने प्रविधिसम्बन्धी तालिम, गोष्ठी, बिउबिजन, उपकरण तथा प्राविधिक सेवा दिँदै आएको उनले जानकारी दिए । रासस
लघु बीमा कम्पनीले कृषि बीमा बेच्न पाउने, पूर्वाधार निर्माण गर्न प्राधिकरणको निर्देशन
काठमाडाैं । लघु बीमा कम्पनीहरूले पनि कृषि बीमाको पोलिसी बेच्न पाउने भएका छन् । नेपाल बीमा प्राधिकरणले कम्पनीहरूलाई कृषि तथा पशुपंक्षी बीमाको पोलिसी बिक्री गर्न आवश्यक तयारी थाल्न सुझाव दिएको छ । कम्पनीहरूले आवश्यक पूर्वाधार तयार गरेपछि पोलिसी बिक्री गर्न अनुमति दिने तयारीमा प्राधिकरण रहेको छ । हाल नेपालमा ७ वटा लघु बीमा कम्पनीहरू रहेका छन् । जसमध्ये ४ वटा निर्जीवन कम्पनी रहेका छन् । उक्त ४ कम्पनीलाई कृषि तथा पशुपंक्षीको बीमा गर्नका लागि पूर्वाधार बनाउन प्राधिकरणले सुझाव दिएकाे हो । कार्तिक महिनाको पहिलो साता ४ वटा लघु निर्जीवन कम्पनी र प्राधिकरणबीच यसबारेमा छलफल भएको थियो । छलफलमा उनीहरूलाई पूर्वाधार तयार गरेर आउन सुझाव दिएको प्राधिकरणका सूचना अधिकारी निर्मल अधिकारीले बताए । प्राधिकरणका उपनिर्देशकसमेत रहेका अधिकारीले भने, छलफलमा उनीहरूलाई पहिला पूर्वाधार खडा गर्न भनेका छौं । पूर्वाधार तयार भएपछि पोलिसी बिक्रीका लागि अनुमति दिन्छौं । कम्पनीहरू पनि सकारात्मक देखिएका छन् ।’ उनका अनुसार कृषि तथा पशुपंक्षीको बीमा गर्न कम्पनीहरूले अभिकर्ता बनाउनु पर्ने, सिस्टम बनाउनु पर्ने, पोलिसी जेनेरेट गर्न सफ्टवेर प्रणाली विकास गर्नु पर्ने, कृषि बीमाको पोलिसी छपाई, पोलिसीकाे अध्ययन, तार्गेट ग्रुप पहिचान गर्ने, कृषि तथा पशुपंक्षी अध्ययन गरेको कर्मचारी हायर गर्ने र सोहीअनुसार तालिम दिनुपर्ने काम पहिला कम्पनीहरूले गर्नुपर्छ । त्यसपछि प्राधिकरणले अनुमति दिनेछ । सूचना अधिकारी निर्मलका अनुसार लघु बीमा कम्पनीहरूलाई ५० लाख रुपैयाँसम्मको कृषि बीमा पोलिसी बिक्री गर्ने गरी अनुमति दिने प्राधिकरणको तयारी छ । लघु निर्जीवन बीमा कम्पनीहरूले ५० लाख रुपैयाँसम्मको बीमा गर्न पाउने व्यवस्था रहेको छ । सोहीअनुसार कृषि बीमामा पनि बीमांक रकम ५० लाख रुपैयाँसम्मको बीमा गर्न दिने तयारी रहेको उनले बताए । कृषि तथा पशुपंक्षी बीमा प्रिमियम अनुदान उपलब्ध गराउने निर्देशिकाअनुसार बीमा गर्दा किसानले ८० प्रतिशत अनुदान पाउने व्यवस्था थियो । तर, गत असोजको दोस्रो साता बसेको मन्त्रिपरिषदको बैठकले उक्त निर्देशिका कार्तिक एक गतेदेखि लागु हुनेगरी खारेज गर्याे । सो निर्देशिका खारेज भएसँगै कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले कृषि बीमाको अनुदान दिने कार्यविधि तयार गरेको थियो । कार्तिक एक गतेदेखि निर्देशिका खारेज र कार्यविधि लागू भयो । उक्त कार्यविधिले कृषि बीमाको अनुदानलाई ३ खण्डमा संरचना बनायो । एक करोडभन्दा धेरै बीमांक रकमको बीमा गर्नेले बीमाशुल्कको ५० प्रतिशत अनुदान पाउन ५० देखि १ करोड रुपैयाँसम्मको बीमांक रकम भए ६५ रुपैयाँ अनुदान पाउने र ५० लाख रुपैयाँभन्दा कम रकमको बीमा गर्दा किसालने ८० प्रतिशत अनुदान पाउने कार्यविधिमा उल्लेख छ । निर्देशिकाअनुसार लघु बीमा कम्पनीले अनुदानको कृषि बीमा गर्न पाउन थिएनन् । सो निर्देशिकाको परिभाषामा बीमक भन्नाले जीवन बीमा व्यवसाय गर्ने बीमा कम्पनी भरेर उल्लेख गरिएकाे थियो । जसमा लघु बीमाको परिकल्पना नै गरिएको थिएन । तर, कार्यविधिले लघु बीमा कम्पनीलाई पनि बीमकको परिभाषामा समेटेकाले उनीहरूले पूर्वाधार तयार गर्नासाथ कृषिको पोलिसी बिक्री गर्न पाउने सूचना अधिकारी निर्मलको भनाइ छ । सो कार्यविधिले बीमकको परिभाषामा सो शब्दले लघु निर्जीव बीमा कम्पनीलाई पनि जनाउने उल्लेख छ । यसो भएकाले लघु बीमकलाई कृषिको पोर्टफोलियो अनुमति दिइँदा कुनै कानुनी संशाेधन गर्नुपर्ने झन्झट छैन । मात्र प्राधिकरणले अनुमति दिए पुग्छ भने बीमा कम्पनीहरूले आवश्यक पूर्वाधार, कर्मचारीको व्यवस्थापन, शाखा, विभाग आदिको स्थापना गर्नुपर्ने हुन्छ । लघु निर्जीव बीमा कम्पनीले हाल सम्पत्ति बीमाअन्तर्गत घर बीमा र मोटर, तेस्रो पक्ष बीमाअन्तर्गत चोरी र दुर्घटना बीमाको पोलिसी बेच्दै आएका छन् । अब उनीहरूले कृषि तथा पशुपंक्षीको बीमा पनि गर्न पाउने भएका हुन् ।
राष्ट्रपति पौडेलले गरे छठी माताको पूजाआराधना
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रथम महिला सविता पौडेलले छठ पर्वका अवसरमा छठी माताको पूजाआराधना गरेका छन् । राष्ट्रपति पौडेलले काठमाडौंको गौरीघाट र कमलपोखरीमा तयार गरिएको छठ पूजास्थलमा पुगेर आज अपराह्न छठी माताको पूजाअर्चना गरेका हुन् । राष्ट्रपति पौडेल र प्रथम महिला सविता पौडेलले पूजास्थलमा अस्ताउँदो सूर्यलाई अर्घदान गरेका थिए । राष्ट्रपति पौडेल सुरुमा पशुपति क्षेत्रस्थित गुह्वेश्वरी मन्दिर अघि वाग्मती किनारमा निर्माण गरिएको छठ पूजास्थल पुगेका थिए । त्यहाँ उनले सूर्यसहित छठी माताको पूजाआराधना एवं अर्घदान गरे । यसैगरी उनले गुह्वेश्वरीपछि कमलपोखरीमा रहेको छठ पूजास्थलमा पुगेर छठी माताको पूजाआराधना गरे । राष्ट्रपति पौडेल गुह्वेश्वरी र कमलपोखरीको पूजास्थल पुग्दा छठ पूजा आयोजक समितिका पदाधिकारीहरूले स्वागत गरेका थिए ।
दराज ११.११ को आयोजना हुँदै, ८० प्रतिशसम्म छुट
काठमाडौं । दराजले सेल दराज ११.११ को आयोजना गर्दैछ । नेपालमा वर्षकै ठूलो सेलका रूपमा परिचित दराज ११.११ यस वर्ष नोभेम्बर ११ देखि २१ (कार्तिक २६ देखि मंसिर ६ गते) सम्म आयोजना हुने भएको छ । कम्पनीअनुसार यस सेलमा ८० प्रतिशसम्म छुट हुने भएको छ । साथै, देशभर निःशुल्क डेलिभरी सुविधा र ३ करोड रुपैयाँसम्मका भौचरहरू लगायत सुविधाहरू समेत उपलब्ध हुनेछन् । दराजले १० वटा बैंक र २ वटा वालेट पार्टनरहरूसँग मिलेर ११.११ सेलमा प्रिपेमेन्टमार्फत २ हजार ५०० रुपैयाँसम्मको छुट प्रदान गर्ने व्यवस्था पनि गरेको छ । यी बैंकका डेबिट कार्डहरू मार्फत डिजिटल प्रिपेमेन्ट गर्दा ग्राहकहरूले १५ प्रतिशत छुट, अधिकतम २ हजार रुपैयाँसम्म प्राप्त गर्न सक्ने दराजले जानकारी दिएको छ । साथै, क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरुले २० प्रतिशत छुट, अधिकतम २५०० रुपैयाँसम्म प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ । ग्राहकहरू नबिल बैंक, हिमालयन बैंक, सनिमा बैंक, एभरेस्ट बैंक, एनएमबी बैंक, माछापुच्छ्रे बैंक, सिटिजन्स बैंक, नेपाल बैंक, ज्योति विकास बैंक, र महालक्ष्मी विकास बैंकका डेबिट कार्डमार्फत डिजिटल प्रिपेमेन्ट गर्दा ग्राहकहरूले १५ प्रतिशत छुट, अधिकतम २ हजार रुपैयाँसम्म प्राप्त गर्न सक्ने दराजले जानकारी दिएको छ । साथै, क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरूले २० प्रतिशत छुट, अधिकतम २ हजार ५०० रुपैयाँसम्म प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ । त्यस्तै, आफ्नो ई–सेवा र आईएमई पे वालेटमार्फत प्रिपेमेन्ट गर्ने ग्राहकहरूले पनि दराज ११.११ को विभिन्न समयमा छुट प्राप्त गर्न सक्नेछन् । साथै, यस अभियानमार्फत दैनिक रुपमा ११ रुपैयाँ, १११ रुपैयाँ र ११११ रुपैयाँका डिलहरू पनि सेलमा रहनेछन् । खरिदकर्ताहरूले ६९९ रुपैयाँ, ९९९ रुपैयाँ, १९९९ रुपैयाँ र २९९९ रुपैयाँभन्दा कममा उत्कृष्ट डिल्स पाउन सक्नेछन् । साथै, दराज ११.११ सेल अवधिभर कम्तिमा ३५०० रुपैयाँको सामग्री खरिद गर्ने एक भाग्यशाली खरिदकर्ताले प्यानासोनिकको ३५०००० रुपैयाँ मूल्य बराबरको घरायसी सामग्रीको सेट जित्न सक्नेछन् । थप पाँच जना ग्राहकहरूले कामाख्या डेकोर, बागमती प्लास्टिक्स, सेटाफिल, मामाअर्थ, र जिना अल्केमीका तर्फबाट आकर्षक गिफ्ट ह्याम्परहरू पनि जित्न सक्नेछन् ।
विश्वका प्रमुख अर्थतन्त्र चीन र अमेरिकाले ‘सही बाटो’ खोज्नुपर्छ : सी जिनपिङ
काठमाडौं । चीनका राष्ट्रपति सी जिनपिङले बेइजिङ र वासिङ्टनबीच सहकार्य गर्ने उपाय खोज्नुपर्ने बताएका छन् । उनले अमेरिकी नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पठाएको सन्देशमा यस्ताे बताएका हुन् । हालका वर्षहरूमा व्यापारदेखि ताइवानबारे दुई देशका अडानका कारण दुई देशबीचको सम्बन्धमा समस्या उत्पन्न भएको छ । अमेरिकी राष्ट्रपतीय निर्वाचनमा पूर्वराष्ट्रपति ट्रम्प दोस्रो कार्यकालका लागि निर्वाचित भएपछि ट्रम्पलाई पठाएको पहिलो सन्देशमा सीले भनेका छन्, ‘चीन र संयुक्त राज्य अमेरिकाले सहयोगबाट फाइदा उठाउँछन् र मुठभेडबाट पीडित हुन्छन् भन्ने कुरा इतिहासले देखाएको छ । स्थिर, स्वस्थ र दिगो चीन–अमेरिका सम्बन्ध दुवै देशको साझा हितमा छ र यो अन्तर्राष्ट्रिय समुदायको अपेक्षाअनुरूप छ।’ उनले वासिङ्टन र बेइजिङलाई ‘संवाद र सञ्चारलाई मजबुत बनाउन’ र ‘मतभेदको उचित व्यवस्थापन’ गर्न आग्रह गरे । उनले भने, ‘नयाँ युगमा दुवै देश र विश्वलाई फाइदा पुर्याउन विश्वका प्रमुख अर्थतन्त्र चीन र अमेरिकाले ‘सही बाटो’ खोज्नुपर्छ।’ चिनियाँ उपराष्ट्रपति हान झेङले पनि अमेरिकी उपराष्ट्रपतिमा निर्वाचित जेडी भान्सलाई सन्देश पठाउँदै बधाई र सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् । अमेरिकी राष्ट्रपतीय निर्वाचनको प्रचार अभियानका क्रममा रिपब्लिकन नेता ट्रम्प र उनकी डेमोक्र्याटिक प्रतिद्वन्द्वी तथा वर्तमान् उपराष्ट्रपति कमला ह्यारिस दुवैले बेइजिङसँग कडा कदम चाल्ने नारा दिएका थिए । ट्रम्पले अमेरिका प्रवेश गर्ने सबै चिनियाँ सामानमा ६० प्रतिशत कर लगाउने घोषणा गरेका थिए । स्टिमसन सेन्टरका सिनियर फेलो युन सुनले एएफपीसँग भने, ‘नवनिर्वाचित राष्ट्रपतिले अमेरिका र चीनबीचको व्यापारमा केही हदसम्म सन्तुलन मिलाउने लक्ष्य राख्नुभएको छ ।’ चिनियाँ विदेशमन्त्रालयका प्रवक्ताले बिहीबार ट्रम्पलाई राष्ट्रपति निर्वाचित भएकोमा बधाई दिँदै ‘दुवै पक्षले पारस्परिक सम्मान, शान्तिपूर्ण सहअस्तित्व र दुवै हितका लागि सहकार्यका सिद्धान्तलाई कायम राख्ने’ विश्वास व्यक्त गरेका थिए ।
रास्वपाले तोक्यो उपनिर्वाचनको जिम्मेवारी
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्थानीय तहको उपनिर्वाचनका लागि सातै प्रदेशमा निर्वाचन परिचालनको जिम्मेवारी तोकेको छ । केन्द्रीय निर्वाचन संयोजन समितिका संयोजक गणेश पराजुलीको सभापतित्वमा बुधबार बसेको बैठकले प्रतिनिधिसभा सदस्य एवं केन्द्रीय सदस्यहरुलाई निर्वाचन परिचालनको जिम्मेवारी तोकेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए । उक्त बैठकले कोशी प्रदेशमा निशा डाँगीलाई जिम्मेवारी तोकेको छ । डा चन्दा कार्कीलाई मधेश, शिशिर खनाललाई बागमती, विन्दाबासिनी कंसाकारलाई गण्डकी, केन्द्रीय सदस्य कुसुम महर्जनलाई लुम्बिनी, लिमा अधिकारीलाई कर्णाली र विष्णुकुमार श्रेष्ठलाई सुदुरपश्चिमको जिम्मेवारी तोकेको छ । पार्टीले उम्मेदवारीका लागि आवेदन दिन ‘गुगल फारम’ वा निर्वाचन परिचालन समितिमा उपलब्ध आवेदन फारम भर्न समेत सूचना जारी गरेको छ । केन्द्रीय निर्वाचन संयोजन समितिबाट स्थानीय तह उपनिर्वाचनका लागि प्रारम्भिक निर्वाचन कार्यतालिका समेत तयार गरेको प्रवक्ता झाले बताए । संयोजक एवं प्रतिनिधिसभा सदस्य पराजुलीले आजदेखि उम्मेदवार आह्वान गरेर केही दिनमा टुङ्गो लगाउने बताए । पराजुलीका अनुसार उम्मेदवार छनोट सर्वसम्मत प्रक्रियाबाट टुङ्गो लगाइने छ । यदि एकभन्दा बढी आकांक्षी भएमा ‘प्राइमरी’ मतदानमार्फत उम्मेदवार चयन गरिने छ । उनले पार्टी संयन्त्र नभएका स्थानमा स्वतन्त्र उम्मेदवारदेखि मधेशमा राजनीतिक दलसँग सहकार्यको तयारी रहेको जानकारी दिए । ‘सबै स्थानमा उम्मेदवार उठाउने कुरा हो, तर भुगोलअनुसार उपस्थिति नपुग्न सक्छ । हाम्रो संयन्त्र नभएका स्थानमा कसलाई सहयोग गर्ने भन्नेबारे छलफल गर्दैछौँ’, उनले भने । उनले स्थापित राजनीतिक दलसँगै सहकार्य हुने सम्भावना भने कम रहेको स्पष्ट पारे । रास्वपाले उम्मेदवार छनोट प्रक्रियाको प्राविधिक पाटो टुङ्गो लागेपछि चुनावी कार्यक्रममा ध्यान केन्द्रित गर्ने जनाएको छ । संयोजक पराजुलीले यस उपनिर्वाचनबाट पार्टीको मुद्दा स्थापित गर्न सहयोग पुग्ने बताए । ‘उपनिर्वाचनलाई हार र जित भन्दा जनतामाझ हाम्रो पार्टीको मुद्दा स्थापित गर्ने गरी कार्यक्रम तय गर्दैछौँ’, उनले भने । विभिन्न कारणले स्थानीय तहमा रिक्त पदका लागि आगामी मङ्सिर १६ गते उपनिर्वाचन हुँदैछ । जम्मा ४४ रिक्त पदका लागि मङ्सिर २ गते उम्मेदवारी दर्ता गर्ने मिति निर्वाचन आयोगले तोकेको छ ।
बेहोस गर्ने औषधीले बालिकाको मृत्यु, तीन जना डाक्टर प्रहरी नियन्त्रणमा
काठमाडौं । डोटीको राजपुरस्थित सुजङ अस्पतालका तीनजना डाक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । खेल्ने क्रममा लडेर हात भाँच्चिएर घाइते भएकी बालिका उपचारका लागि अस्पताल पुग्दा मृत्यु भएपछि प्रहरीले उपचारमा संलग्न डा. पक्राउ गरेको जनाइएको छ । दिपायल–सिलगढी नगरपालिका–३ दिपायलकी ९ वर्षीया रजनी भुलको उपचारको क्रममा मृत्यु भएको हो । सामान्य उपचारपछि बुधवार राति करिब ८ बजे शल्यक्रियाका लागि बालिकालाई बेहोस गर्ने क्रममा औषधीले रियाक्सन गरी मृत्यु भएपछि बालिकाका आफन्तले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले उपचारमा संलग्न ३ जना चिकित्सकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । डा. राजमणि यादव, डाक्टर सुरेन्द्रकुमार चौधरी र डाक्टर अभिषेक यादवलाई प्रहरीले नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय, डोटीका अनुसार बालिकाको शव हाल अस्पतालमै छ।
व्यावसायिक ड्रागन फ्रुट खेतीमा आकर्षण बढ्दै, एक पटक लगाइसकेपछि ५०औँ वर्षसम्म फल दिने
मन्थली । वर्षमा दुई पटक फल दिने र खेती गर्न पनि सहज हुने भएकाले पछिल्लो समय जिल्लाका अधिकांश पालिकाका किसान ‘ड्रागन फ्रुट’ खेतीतर्फ आकर्षित भएका छन् । सुख्खा ठाउँमा खेती गर्न सकिने, खेती गरिएको जमिनभित्र अग्ला नहुने विभिन्न जातका फलफूल, अदुवा बेसार, लसुन प्याजलगायत सागसब्जी पनि उत्पादन गर्न सकिने भएकाले दोहोरो फाइदा हुने देखेपछि यहाँका किसान ड्रागन फ्रुटखेतीतर्फ आकर्षित भएका हुन् । जिल्लाको रामेछाप र मन्थली नगरपालिका तथा खाडादेवी गोकुलगङ्गा र लिखु तामाकोसी गाउँपालिकासहित अधिकांश पालिकामा यसको व्यावसायिक खेती विस्तार हुँदै गएको जिल्लास्थित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले जनाएको छ । पहिला ड्रागनका फाइदासहित यसकाबारेमा जानकरी नहुँदा खेतीप्रति आकर्षण नभएको बताउँदै पछिल्लो समय सामाजिक सञ्जाल युट्युब हेरेर जानकारी पाएपछि व्यावसायिक खेती विस्तार गरेको रामेछाप–८ का शिवराम श्रेष्ठले जानकारी दिए । ‘सुरुमा खेती गर्दा गाउँलेले ‘यो सिउँडी जस्तो के खेती गरेको ?’ भनेर आलोचना पनि गरे । पहिलो उत्पादन गाउँलेलाई चखाएपछि उहाँहरुले पनि खेतीप्रति चासो देखाउन थाल्नुभयो’, उनले भने । रामेछाप बजार नजिक एक रोपनी जग्गामा खेती गरेको जनाउँदै श्रेष्ठले बजारमा ड्रागनको माग बढी भएकाले बजारीकरणको समस्या नरहेको बताए । साठी वर्षीय शिवाराम पेसाले किराना तथा हार्डवेयर व्यवसायी हुन् । पसलका साथै कृषि कर्ममा रमाउने उनी पछिल्ला केहीवर्षयता व्यावसायिक ड्रागन खेतीमा रमाइरहेका छन् । मन्थली नगरपालिका–५ का रामबहादुर शाही र वडा नं ७ का दिलबहादुर सार्कीले पनि ड्रागन फ्रुटको व्यावसायिक खेती सुरु गरेका छन् । वर्षमा दुई पटक उत्पादन दिने यो फल स्वादिलो हुनुका साथै पर्याप्त पौष्टिक तत्व पनि पाइने भएकाले अन्तर्राष्ट्रिय बजारबाट यसको माग बढी आउने गरेको रामबहादुरले बताए । यो फल बिरामीका लागि उपयुक्त हुने चिकित्सकहरुले बताएका भन्दै प्रशस्त उत्पादन भए बजारीकरणको समस्या नआउने उनको भनाइ छ । यो फल एक पटक लगाइसकेपछि ५०औँ वर्षसम्म ढुक्क हुने र यसलाई धेरै मेहनत नगरिकन आम्दानी लिन सकिने भएकाले आफू खेतीतर्फ आकर्षित भएको रामबहादुरले बताए । वनमारा उमे्रेको पाखो बारी फँडानी गरेर करिब तीन रोपनी जग्गामा ड्रागनका बिरुवा लगाएको उनले जानकारी दिए । यसको खेती गरिएको जमिनभित्र सयपत्री फूलको पनि खेती गरिरहेको रामबहादुरले उल्लेख गरे । यस वर्षको तिहारमा सयपत्रीको फूल र माला बिक्री गरी एक लाख रुपैयाँ आम्दानी भएको उनले जानकारी दिए । ड्रागन खेती गरिरहेका कतिपय किसानले सयपत्री, गोदावरी, मखमलीलगायत फूल लगाएका छन् भने कतिपय लसुन प्याज, काउली, बेसारलगायत खेती पनि गरिरहेका छन् । खेती गर्न सहज हुनुका साथै नगदेबाली लगाएर आम्दानी गर्न सकिने भएकाले जिल्लामा ड्रागन खेती गर्ने किसान बढ्दै गएका प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले जनाएको छ । अहिले बगैँचाबाट तीनदेखि तीन सय ५० रुपैयाँसम्ममा फल बिक्री हुने गरेको मन्थली–७ का किसान दिलबहादुर सार्कीले जानकारी दिए । ‘पाखो तथा सुख्खा बारीमा यसअघि मकै तथा अन्य अन्नबाली रोप्ने गरेको थिएँ । उत्पादन कम हुने र मूल्य पनि नपाउने समस्या थियो । अहिले परीक्षणका रुपमा ड्रागन खेती थालेकामा एक वर्षमा नै उत्पादन दिन थालेको छ’, उनले बताए । सार्की पेसाले शिक्षक छन् । पठनपाठनका साथै उनले खेती पनि गरिरहेको उल्लेख गरे । किसानले स्थानीय तथा सङ्घीय सरकारले ड्रागन खेती विस्तार गरी जिल्लालाई ‘ड्रागन फ्रुट जोन’ का रुपमा विकास गर्नुपर्ने माग गरेका छन् । जिल्लास्थित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले खेती विस्तरका लागि कार्यलयसँग रकम अभाव भएकाले कार्यक्रम सञ्चालन गर्न नसकिएको जनाएको छ । परियोजना कार्यालयका प्रमुख थिरलाल गैरेले अन्य कार्यक्रमबाट मिलाएर ड्रागन खेती गर्ने किसानलाई सम्बोधन गर्न सकिने बताए । उनले नेपालमा यसको व्यावसायिक खेती सुरु भएको धेरै वर्ष नभएको भन्दै किसानलाई यसका सकारात्मक पक्षका बारेमा जानकारी गराउँदै यसको खेतीतर्फ थप आकर्षित गराउन सकिने धारणा राखे । आन्तर्राट्रिय बजारमा ड्रागनको माग बढी भएकाले पनि बजार अभाव नहुने भन्दै प्रमुख गैरेले किसानले खेती विस्तार गर्दै लैजानुपर्ने बताए । ‘परियोजनामार्फत अन्य कार्यक्रमलाई परिमार्जन गरी ड्रागन खेती गर्ने किसानलाई सम्बोधन गर्न सकिन्छ । यसबारे सरोकार भएका निकायसँग छलफल गर्नेछौँ’, उनले भने । ड्रागन फ्रुटको खेती विकास र विस्तर गरी स्थानीय र सङ्घीय सरकारअन्तर्गतका कृषि विकास कार्यालय, प्रधानमन्त्री आधुनिकीकरण परियोजनालगायत सरोकार भएका निकायले किसानलाई अनुदान दिएर सहयोग गर्नुपर्ने स्थानीय समाजसेवी बिपीन भट्टराईले बताए । किसानलाई प्रोत्साहन गर्न आवश्यक तालिम, प्राविधिक ज्ञानलगायत सहयोग उपलब्ध गराउनुपर्नेमा उनले जोड दिए । रासस