विकासन्युज

पालिकाले दूध उत्पादक किसानलाई प्रतिलिटर २० रुपैयाँ अनुदान दिने

काठमाडौं । नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिकाले दूध उत्पादक किसानलाई प्रतिलिटर २० रुपैयाँ अनुदान दिने भएको छ । गाउँपालिकाले गत आर्थिक वर्षसम्म प्रतिलिटर ७.५० रुपैयाँ अनुदान दिँदै आएकोमा चालु आर्थिक वर्षदेखि अनुदान रकम वृद्धि गरी प्रतिलिटर २० रुपैयाँ पुर्याइएको हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले बताए । अनुदान रकम साना किसानसम्म पुर्याउन एक आवमा सहकारीमार्फत बिक्री गरेको दूधको परिमाण अनुसार अनुदान रकम प्रदान गरिने गाउँपालिकाका अध्यक्ष पाण्डेले बताए । ‘गाउँपालिकाभित्र रहेका दुग्ध सहकारीहरूले उपलब्ध गराएको वार्षिक तथ्याङ्कका आधारमा अनुदान दिने व्यवस्था गरेका छौँ, किसानलाई प्रोत्साहन गरी गाउँपालिकाभित्र दूध उत्पादन वृद्धि गर्ने हाम्रो मुख्य लक्ष्य हो,’ उनले भने । हुप्सेकोट गाउँपालिकाको आव २०८१/८२ को नीति कार्यक्रम एवं बजेटमा गाउँपालिकाभित्रका दुग्ध सहकारीमा किसानले बिक्री गरेको प्रतिलिटर दूधमा २० रुपैयाँ नगद अनुदान दिने उल्लेख गरिएको छ । दूध उत्पादन वृद्धि गर्न गाउँपालिकाले आव २०७८/७९ देखि प्रतिलिटर ५ रुपैयाँ अनुदान दिन सुरु गरेकोमा चालु आवमा अनुदान रकम उल्लेख्य वृद्धि गरिएको हो । उत्पादनको आधारमा अनुदान दिँदा साना किसान लाभान्वित भएको गाउँपालिका अध्यक्ष पाण्डेको भनाइ छ । उत्पादनका आधारमा दूधमा अनुदान वितरण गर्न थाले पछि दूध उत्पादन र पशु पाल्ने किसानको सङ्ख्या वृद्धि भएको उनले बताए । ‘हुप्सेकोट गाउँपालिकालाई दुग्ध उत्पादनमा आत्मनिर्भर बनाउने लक्ष्यअनुसार कृषकलाई आकर्षित गर्ने कार्यक्रम अगाडि सारिएका छन्, गाउँपालिकाको पहाडी क्षेत्रमा पशुपालन कम हुने हुँदा यस क्षेत्रमा दूध उत्पादन कम हुने गरेको छ,’ उनले भने । गाउँपालिकाले गत आवमा प्रतिलिटर १० रुपैयाँ अनुदान रकम उपलब्ध गराउने घोषणा गरे पनि गण्डकी प्रदेश सरकारले पनि दूधमा अनुदान रकम उपलब्ध गराएकाले प्रदेशबाट किसानलाई प्राप्त अनुदान रकम घटाएर प्रतिलिटर १० रुपैयाँ हुने गरी अनुदान वितरण गरिएको हुप्सेकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद पराजुलीले बताए । ‘आव २०८०/८१ मा कूल ७५ हजार २०२ लिटर दूधमा कूल ५ लाख ६४ हजार १२ रुपैयाँ अनुदान रकम किसानलाई वितरण गरिएको छ, आव २०७९/८० मा कूल ५७ हजार ३२३ लिटर दूधमा प्रतिलिटर ५ रुपैयाँको दरले २ लाख ८६ हजार ६१९ रुपैयाँ अनुदान रकम प्रदान गरिएको थियो,’ उनले भने । गाउँपालिकाले दूध उत्पादक किसानलाई अनुदान दिन थाले पछि दूध उत्पादनमा वृद्धि भएको हुप्सेकोट गाउँपालिकाका उपाध्यक्ष पूर्णसिंह रानामगरले बताए । उत्पादन वृद्धि सँगसँगै किसानलाई उत्साहित गराउन यस वर्ष दूध उत्पादनमा आकर्षक अनुदान रकमको व्यवस्था गरिएको उपाध्यक्ष रानाको भनाई छ । चालु आवका लागि दूधमा अनुदान कार्यक्रमअन्तर्गत २५ लाख बजेट विनियोजन गरिएको हुप्सेकोट गाउँपालिकाका लेखा अधिकृत राजेन्द्रप्रसाद रेग्मीले बताए ।

बिटकोइनको मूल्य ८० हजार डलर पुग्यो

काठमाडौं । व्यापारीहरूले डोनाल्ड ट्रम्पको ह्वाइट हाउसमा फर्काइ क्रिप्टोकरेन्सीका लागि राम्रो हुने अनुमान गरेसँगै बिटकोइन आइतबार नयाँ रेकर्ड उच्चस्तरमा पुगेको छ । यो डिजिटल मुद्राले आफ्नो इतिहासमा पहिलो पटक ८० हजार डलर नाघेको हो । रिपब्लिकन उम्मेद्वार ट्रम्पले डिजिटल मुद्राहरूमा नियमहरू सजिलो बनाउने आशाका कारण गत मङ्गलबारको अमेरिकी राष्ट्रपति चुनाव जितेपछि यो बढ्दै गएको हो । बिटकोइनले बुधबार ७५ हजार डलर पुगेर मार्चमा हासिल गरेको ७३ हजार ७९७.९८ डलरको पूर्व सर्वकालीन उच्च रेकर्ड तोडेको हो । डेमोक्रेटिक पार्टीकी उम्मेदवार कमला ह्यारिससँगको प्रतिस्पर्धामा ट्रम्पलाई क्रिप्टो–समर्थक उम्मेदवारका रूपमा हेरिएको थियो । ट्रम्पको पहिलो राष्ट्रपति कार्यकालमा क्रिप्टोकरेन्सीलाई घोटाला भएको थियो । तर त्यसपछि मौलिक रूपमा आफ्नो स्थिति परिवर्तन गर्याे र युनिटका लागि आफ्नै प्लेटफर्म पनि सुरू गरे । उनले संयुक्त राज्य अमेरिकालाई ‘विश्वको बिटकोइन र क्रिप्टोकरेन्सीको राजधानी’ बनाउने र टेक अर्बपति तथा दक्षिणपन्थी षड्यन्त्र सिद्धान्तवादी एलन मस्कलाई सरकारी खर्चको व्यापक लेखापरीक्षणको जिम्मेवारी दिने वाचा गरेका छन् । ट्रम्पको अघिल्लो कार्यकालमा कर्पोरेट कर कटौतीले बजारमा तरलता बढाउँदा क्रिप्टोकरेन्सी जस्ता उच्च वृद्धि सम्पत्तिमा लगानी प्रोत्साहित गरेको थियो । ट्रम्पले सेप्टेम्बरमा आफ्ना छोराहरू र उद्यमीहरूसँग मिलेर वर्ल्ड लिबर्टी फाइनान्सियल नामक डिजिटल मुद्रा प्लेटफर्म सुरु गर्ने घोषणा गरेका थिए । तर यस महिनाको सुरुमा भएको बिक्री सुरुआत कमजोर रहेको थियो । बजारमा आएका टोकनहरूको एक अंशले मात्र खरिदकर्ता पाएका थिए । क्रिप्टोकरेन्सीहरूले तिनको चरम अस्थिरतादेखि लिएर केही उद्योग दिग्गजको पतनसम्म आफ्नो सिर्जनादेखि नै समाचार बनाएका छन् । यसमध्ये एफटिएक्स एक्सचेन्ज प्लेटफर्म सबैभन्दा प्रमुख थियो । चुनावका क्रममा न्युयोर्क सिटीको एक रेस्टुरेन्टमा बर्गर किनेर ट्रम्प बिटकोइन प्रयोग गरेर खरिद गर्ने पहिलो पूर्वराष्ट्रपति बन्नुभयो । यसलाई ‘ऐतिहासिक कारोबार’ का रूपमा सम्मान गरियो । बिटकोइन आइतबारसहित निरन्तर कारोबार हुन्छ ।

बाइक चलाउँदै गरेका शिक्षकमाथि गोली प्रहार भएपछि…

काठमाडौं । मकवानपुरका एक प्रधानाध्यापकमाथि गोली प्रहार भएको छ । आइतबार अज्ञात समूहले मकवानपुरको बागमती गाउँपालिका-१, बोटगाउँ निवासी प्रधानाध्यापक प्रेम बहादुर बोम्जनलाई गोली प्रहार गरेको हो । बोम्जन मकवानपुरको बकैया गाउँपालिका स्थित बुद्ध माध्यामिक विद्यालय हात्तीसुँडेका प्रधानाध्यापक हुन् । सर्लाही र सिन्धुलीको सिमानास्थित हरिहरपुरगढी गाउँपालिका-६, स्थित जंगलको बाटोमा मोटरसाइलमा हिड्दै गरेको अवस्थामा उनीमाथि गोली प्रहार भएको हो । अज्ञात समूहले प्रहार गरेको गोली बोम्जनको बायाँ बंगारा मुनी अड्किएको प्रहरीले जानकारी दिएको छ । प्रहरीले घाइतेलाई तत्काल उद्धार गरेको थियो । उनलाई सर्लाहीको बागमती स्थित बागमती मोडल अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि बारा रिफर गरिएको प्रहरीले जानकारी दिएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

बाढी पहिरोको क्षतिको दाबी भुक्तानी सुस्त भएपछि प्राधिकरण ‘फायर’, दोस्रो पटक लिखित निर्देशन

काठमाडाैं । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरूलाई बीमा दाबी भुक्तानी छिटो गर्न निर्देशन दिएको छ । कम्पनीहरुले दाबी भुक्तानीमा ढिलो गरेको उल्लेख यथाशिघ्र र प्रभावकारी पार्न प्राधिकरणले निर्देशन दिएको हो । ‘हालसम्म अत्यन्त न्यून संख्या र रकममा मात्र दाबी भुक्तानी भएकोमा गम्भीरर ध्यानाकर्षण भएको छ, बीमा दाबी सम्बन्धमा पटक–पटक प्राधिकरण र बीमकका प्रतिनिधिको उपस्थितिमा भएको छलफल तथा निर्णय अनुसार तदारुकताकासाथ क्षति मुल्याङ्कन (सर्भे) गराई दाबी फछ्यौट कार्य प्रभावकारी बनाउनु हुन निर्देशानुसार अनुरोध छ ।,’ प्राधिकरणले दिएको निर्देशनमा भनिएको छ । गत असोजको दोस्रो साता आएको अबिरल वर्षासँगै आएको बाढी पहिरोका कारण ठूलो धनजनको क्षति भएको थियो । त्यसमध्ये बीमा कम्पनीहरुमा साढे १० अर्ब रुपैयाँको दाबी पेस भएको थियो । बाढी पहिरोले भएको क्षतिको बीमा दाबी भुक्तानी छिटो गर्न प्राधिकरणले बीमा कम्पनीहरुलाई निर्देशन दिएको थियो । प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा कम्पनीहरुका प्रमुख कार्यकारी अधिकृतहरुलाई बोलाएर छिटो दाबी भुक्तानी दिन भनेका थिए । सोही अनुसार कम्पनीहरुले पनि प्राधिकरणलाई विश्वस्त बनाएको थियो । कम्पनीमा पेस भएको दाबी र दिएको भुक्तानीको विवरण हरेक साताको बुधबार प्राधिकरणमा पेस गर्नुपर्ने सर्तसहित प्राधिकरणले कम्पनीहरुलाई निर्देशन गरेको थियो । तर, धन सम्पत्ति क्षति भएको डेढ महिना हुनलाग्दा पनि कम्पनीहरु दाबी भुक्तानीमा उदार देखिएका छैनन् । अर्थात कम्पनीहरुले एकदमै न्यून मात्रामा मात्रै दाबी भुक्तानी दिएका छन् । दाबीको ४.४७ प्रतिशत मात्र भुक्तानी उक्त बाढी पहिरोपछि बीमा कम्पनीहरुमा १० अर्ब ५३ करोड २७ लाख रुपैयाँ माग दाबी पेश भएको थियो । जसमध्ये असोज कार्तिक २० गतेसम्म कम्पनीहरुले ४७ करोड ११ लाख रुपैयाँ मात्र भुक्तानी दिएका छन् । जुन कुल दाबी रकमको ४.४७ प्रतिशत भुक्तानी भएको हो । यसरी भुक्तानी दिनेमा शिखर इन्स्योरेन्स अगाडी रहेको छ । शिखर एकलैले २५ करोड १९ लाख बढी दाबी भुक्तनी दिएको छ । शिखरले पनि कुल दाबीको जम्मा २४.२३ प्रतिशत मात्र भुक्तानी दिएको छ । शिखरमा १ अर्ब ३ करोड ९५ लाख रुपैयाँ दाबी पेश भएको थियो । अन्य कम्पनीहरुले दिएको दाबी भुक्तानी अत्यन्त न्यून रहेको छ । हालसम्म बीमा कम्पनीहरुमा ३ हजार ४ सय ६० वटा दाबी पेश भएकोमा ६ सय ३७ वटा दाबीमा मात्र भुक्तानी भएको छ ।

कालीकोटमा ठूलो दुर्घटना, हेलिकप्टरमार्फत उद्वार

काठमाडाैं । कालीकोटको पलाँता गाउँपालिका-३ राडुनेटा नजिकै जिप दुर्घटना हुँदा ६ जनाको निधन भएको छ । कर्णाली प्रदेश ००१ ज ५६ नम्बरको जिप दुर्घटनामा परेको हो । दुर्घटनामा ज्यान गुमाएकाको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी नायव उपरीक्षक टेकबहादुर रावतले जानकारी दिए । दुर्घटनामा गम्भीर घाइते भएका सात यात्रुको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । घाइतेहरुलाई उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत लगिएको उनले बताए ।

राष्ट्रपति पौडेल अजरबैजान प्रस्थान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अजरबैजानको बाकु सहरमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप–२९) मा भाग लिन आज अपराह्न त्यसतर्फ प्रस्थान गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उनलाई उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली र प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले बिदाइ गरे । यसअघि नेपाली सेनाको एक टुकडीले राष्ट्रपति पौडेलको सम्मानमा सम्मानगारत अर्पण गरेको थियो । राष्ट्रपतिको बिदाइका लागि उपप्रधानमन्त्री, मन्त्री, सांसद, नेपाल सरकारका उच्च पदस्थ अधिकृत तथा सुरक्षा निकायका प्रमुख र नेपालस्थित कूटनीतिक नियोगका प्रतिनिधिहरू विमानस्थल पुगेका थिए । अजरबैजानका राष्ट्रपति इलहम अलियभको निमन्त्रणामा उक्त सम्मेलनमा सहभागी हुन राष्ट्रपति पौडेल बाकु गएका हुन् । उनले यही कात्तिक २७ र २८ गते हुने उच्चस्तरीय सत्रको ‘विश्व नेताहरू जलवायु कार्य शिखर सम्मेलन’लाई कात्तिक २७ गते सम्बोधन गर्ने कार्यक्रम रहेको छ । कात्तिक २८ गते राष्ट्रपति पौडेलको नेतृत्वमा नेपालले बेग्लै उच्चस्तरीय सत्र सञ्चालन गर्ने तय भएको छ । ‘पर्वतीय क्षेत्रमा जलवायुजन्य हानि तथा नोक्सानीको सम्बोधन’ विषयक उक्त बैठकमा नेपालले आफ्ना ‘एजेन्डा’माथि विश्वको ध्यानाकर्षण गराउनेछ । सम्मेलन यही कात्तिक २६ सुरु भई आगामी मङ्सिर ७ गतेसम्म सञ्चालन हुनेछ । सम्मेलनमा सहभागी भई राष्ट्रपति पौडेल कात्तिक ३० गते शुक्रबार बिहान स्वदेश फर्कने कार्यतालिका छ ।

मानव तस्करीको आरोप लागेका पूर्वमन्त्री अधिकारीलाई २ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई दुई दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । मानव तस्करी तथा सरकारी कागजात कीर्तेको आरोप लागेका उनलाई जिल्ला अदालत काठमाडौंले दुई दिन हिरासतमा राख्न अनुमति दिएको हो । नक्कली परिचयपत्र बनाई संगठित गिरोहलाई पैसा बुझाएर गत साता जापान पुगेका तीन युवा अध्यागमनबाट फिर्ता गरिएलगत्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेर प्रहरी अनुसन्धानमा थिए । उनलाई शनिबार नै एमालेको कोशी प्रदेश कमिटीले राष्ट्रिय प्रतिनिधि परिषद सदस्य तथा पार्टीको संगठित सदस्यबाट निलम्बन गरेको थियो । शनिबारको सचिवालय बैठकले प्रदेश कमिटीको उक्त निर्णयलाई अनुमोदन गरेको छ ।

सानिमा बैंकको दराजसंग ‘दराज ११.११’ योजनाका लागि सहकार्य

काठमाडौं । सानिमा बैंकले ग्राहकहरुका लागि दराजसंग ‘दराज ११.११’ योजनामा छिुट दिने सहकार्य भएको छ । कम्पनीका अनुसार योजना अवधिभर दराजबाट सामान खरिद गरी ग्राहकहरुले सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्डबाट अग्रीम भुक्तानी गर्दा छुट प्राप्त गर्न सक्नेछन् । ग्राहकहरुले डेबिट कार्डबाट भुक्तानी गर्दा १५ प्रतिशत वा अधिकतम् २ हजार रुपैयाँसम्मको छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम् २ हजार ५०० रुपैयाँसम्मको छुट प्राप्त गर्न सक्नेछन् । यो योजना अवधिभर सहभागी हुने ग्राहकहरूलाई ‘पहिलोलाई प्राथमिकता’ को आधारमा छुट प्रदान गरिने छ । छुटका लागि ग्राहकहरूले दराजबाट बैंक भौचर संकलन गर्नुपर्नेछ । यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताहरुले, १३ प्रतिशत प्रति वर्षका दरले, २४ महिना सम्मका लागी मासिक किस्ताबन्दी सुविधा पनि प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । यो योजना २०८१ कार्तिक २६ देखि मंसिर ७ गतेसम्म १२ दिनका लागि लागू हुनेछ ।