विकासन्युज

अब एम्बुलेन्स र शव वाहनमा कर छुट

काठमाडौं । सरकारले विद्युतबाट सञ्चालन हुने एम्बुलेन्स र शव वाहनलाई कर छुट दिने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नेपालभित्र पैठारी वा उत्पादन हुने विद्युतबाट सञ्चालन हुने एम्बुलेन्स तथा शव वाहनमा लाग्ने स्वच्छ पूर्वाधार लगानी शुल्क र मूल्य अभिवृद्धि कर (भ्याट) पूर्ण रूपमा छुट दिने निर्णय गरेको हो । सरकारको यो निर्णयसँगै विद्युतीय एम्बुलेन्स तथा शव वाहन आयात वा उत्पादन गर्दा लाग्ने स्वच्छ पूर्वाधार लगानी शुल्क र भ्याटमा पूर्ण छुट हुनेछ। निर्णयले स्वास्थ्य तथा सामाजिक सेवाका लागि प्रयोग हुने विद्युतीय सवारीसाधनको प्रयोगलाई प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ।

स्मार्ट सेल घोटाला प्रकरणमा २२ प्रतिवादीसँग ९६ अर्ब बिगो दाबी

काठमाडौं । स्मार्ट सेल घोटाला प्रकरणको अनुसन्धान टुंग्याउँदै केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले २२ जनालाई प्रतिवादी बनाएर मुद्दा अघि बढाउनुपर्ने रायसहित अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको छ । सीआईबीका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अनुपम शमशेर जबराका अनुसार गत शुक्रबार जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन पेस गरिएको हो । प्रतिवेदनमा घटनासँग सम्बन्धित विभिन्न पक्षका २२ जनाविरुद्ध कानुनी कारबाही अघि बढाउनुपर्ने निष्कर्ष निकालिएको छ। याे प्रकरणमा करिब ९६ अर्ब रुपैयाँ बराबरको बिगो मागदाबी गर्नुपर्ने निष्कर्षसमेत अनुसन्धान प्रतिवेदनमा उल्लेख गरिएको छ। सीआईबीका अनुसार दूरसञ्चार सेवा प्रदायकको सम्पत्ति व्यवस्थापन नियमावली, २०७९ को नियम १८ अनुसार नेपाल दूरसञ्चार प्राधिकरणको नियन्त्रणमा आएको सम्पूर्ण सम्पत्ति, दूरसञ्चार पूर्वाधार, संरचना, प्रणाली तथा सञ्जालसम्बन्धी विषयमा सरकारको स्वामित्व र हित प्रभावित पार्ने गरी काम भएको देखिएको छ।  

एनसेल सेयर खरिद-बिक्री छानबिन प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले एनसेलको सेयर खरिद–बिक्रीसम्बन्धी अध्ययन तथा छानबिन प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वमहालेखापरीक्षक टंकमणि शर्मा दंगालको संयोजकत्वमा गठित ‘एनसेलको सेयर खरिद–बिक्रीसम्बन्धी अध्ययन तथा छानबिन प्रतिवेदन, २०८०’ सार्वजनिक गर्ने निर्णय गरेको हो ।  एनसेलको सेयर खरिद–बिक्री प्रकरणमा प्रश्न उठेपछि सरकारले २०८० मंसिरमा पूर्वमहालेखापरीक्षक शर्माको संयोजकत्वमा पाँच सदस्यीय उच्चस्तरीय छानबिन समिति गठन गरेको थियो । समितिलाई एनसेलको सेयर खरिद–बिक्री प्रक्रिया, त्यससँग जोडिएका कानुनी तथा वित्तीय पक्ष र सम्भावित राजस्व तथा नियामकीय प्रभावबारे अध्ययन गरी प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको थियो ।  समितिले प्रतिवेदनमा एनसेलको सेयर कारोबारसँग सम्बन्धित विभिन्न कानुनी, वित्तीय तथा नियामकीय प्रश्न उठाउँदै सरकारलाई सुझाव दिएको थियो। प्रतिवेदनमा सेयर खरिद–बिक्री सम्झौताको पारदर्शिता, खरिदकर्ताको वित्तीय तथा प्राविधिक क्षमता, लगानीको स्रोत, राजस्व चुहावट, सम्पत्ति शुद्धीकरण र दूरसञ्चार क्षेत्रको नियमनलगायतका विषय समेटिएको उल्लेख छ ।  समितिले एनसेलको सेयर खरिद–बिक्री सम्झौतालाई यथास्थितिमा स्वीकार गर्न उपयुक्त नहुने निष्कर्षसहित खरिदकर्ताको पृष्ठभूमि तथा लगानीको स्रोतमा थप अनुसन्धान गर्नुपर्ने सुझाव दिएको थियो । त्यस्तै, विगतका सेयर कारोबारमा राजस्व चुहावट, विदेशी मुद्राको अवैध अपचलन तथा सम्पत्ति शुद्धीकरण भएको हुन सक्ने आशंकामा सम्बन्धित निकायबाट थप अनुसन्धान गर्नुपर्ने सुझावसमेत प्रतिवेदनमा रहेको छ । सरकारको पछिल्लो निर्णयसँगै लामो समयदेखि सार्वजनिक बहसमा रहेको एनसेल सेयर खरिद–बिक्री प्रकरणको छानबिन प्रतिवेदन अब सार्वजनिक हुने भएको छ ।   

गोल्छालाई १ करोड धरौटीमा छाड्न आदेश

काठमाडौं । विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा व्यवसायी शेखर गोल्छालाई १ करोड धरौटीमा छाड्न आदेश दिएको छ ।  मंगलबार (आज) विशेष अदालतका अध्यक्ष वासुदेव आचार्य र सदस्यद्वय हेमन्त रावल र विदुर कोइरालाको इजलासले गोल्छालाई १ करोड धरौटीमा छाड्न आदेश दिएको हो । गोल्छा अहिले अदालतमै रही बैंक ग्यारेन्टी प्रक्रियामा लागिरहेको अदालतका सूचना अधिकारी पार्वती हितानले जानकारी दिइन् । धरौटी बुझाएसँगै गोल्छा रिहा हुनेछन् । आजै उनले विशेष अदालतमा उपस्थित भई बयान दिएका थिए ।  गोल्छा जोडिएको यस मुद्दामा दीपक भट्ट, सुलभ अग्रवालसहित ३४ जना र पाँच कम्पनीलाई प्रतिवादी बनाइएको छ ।  सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ अन्तर्गत दायर यो मुद्दामा गोल्छाविरुद्ध ५२ करोड ५० लाख रुपैयाँबराबरको बिगो दाबी गरिएको छ । त्यसैगरी, भट्टविरुद्ध २६ अर्ब ६३ करोड २७ लाख ७१ हजार ५९ रुपैयाँ ६८ पैसा बराबरको बिगो दाबी गरिएको छ।  त्यस्तै, अग्रवालविरुद्ध २५ अर्ब ५९ करोड २० लाख ६ हजार १२४ रुपैयाँ ३१ पैसा बराबरको बिगो मागदाबी छ । नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्षसमेत रहेका गोल्छालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गत बैशाखको १० गते पक्राउ गरेको थियो । नेपाल धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदनसमेतका आधारमा पक्राउ गरिएको सीआईबीले जनाएको थियो ।

नाइमा एक्स्पोमा एथरको नयाँ ४५०एक्स, १० मिनेटमै ३० किमि रेन्ज थपिने

काठमाडौं । एथर नेपालले नेपाल मोबिलिटी एक्स्पो (नाइमा) २०२६ मा नयाँ एथर ४५०एक्स ओभरटोन्स सिरिज सार्वजनिक गरेको छ । वैद्य इनर्जी प्रालिअन्तर्गत नेपालमा एथर इनर्जीको आधिकारिक वितरक एथर नेपालले नयाँ स्कुटर सार्वजनिक गरेको हो । अगस्ट ११ देखि १६ गतेसम्म सञ्चालन हुने एक्स्पोमा एथरले नयाँ ४५०एक्स ओभरटोन्ससँगै विभिन्न स्मार्ट प्रविधि पनि प्रदर्शन गरेको छ । एथरको स्टल हल ‘सी’को स्टल ‘सी२’मा राखिएको छ । त्यहाँ आगन्तुकले नयाँ स्कुटर र प्रविधिको प्रत्यक्ष अनुभव गर्न सक्नेछन् ।  तीन नयाँ रङमा ४५०एक्स ओभरटोन्स नयाँ ४५०एक्स ओभरटोन्समा तीन नयाँ रङ उपलब्ध छन् । यसमा स्टिल ह्वाइट, स्पेस ग्रे र लुनार ग्रे रहेका छन् । स्कुटरको पुरानै धारिलो र आधुनिक स्वरूपलाई निरन्तरता दिँदै नयाँ डिजाइन प्रस्तुत गरिएको कम्पनीले जनाएको छ ।  म्याजिक ट्विस्टले ब्रेकिङ सहज बनाउने एथरले ४५० सिरिजमा म्याजिक ट्विस्ट प्रविधि ल्याएको छ । यसले थ्रोटल पछाडितर्फ घुमाउँदा स्कुटरको गति घटाउन सहयोग गर्छ । यसबाट धेरै अवस्थामा ब्रेकको लिभर प्रयोग गर्नुपर्ने आवश्यकता कम हुन्छ । विद्युतीय मोटरमार्फत गति घटाउँदा पुनः ऊर्जा संकलन हुने कम्पनीले जनाएको छ । ब्याट्री पूर्ण चार्ज भएको अवस्थामा पनि म्याजिक ट्विस्टले काम गर्नेछ ।  लामो यात्राका लागि ‘इन्फिनिट क्रुज’ एथरले इन्फिनिट क्रुज सुविधा पनि ल्याएको छ । यसले लामो दूरीको यात्रामा स्थिर गति कायम राख्न सहयोग गर्छ । लगातार थ्रोटल दिइरहनुपर्ने आवश्यकता कम हुने कम्पनीले जनाएको छ । यसबाट लामो यात्रा थप सहज र आरामदायी हुने अपेक्षा गरिएको छ ।  आवाजबाटै स्कुटर नियन्त्रण ४५० सिरिजमा भ्वाइस अन एथर प्रविधि पनि उपलब्ध गराइएको छ । यसबाट राइडरले आवाजकै माध्यमबाट गन्तव्य खोज्न सक्नेछन् । नेभिगेसन सुरु गर्न, चार्जिङ स्टेसन खोज्न र स्कुटरका केही सेटिङ नियन्त्रण गर्न पनि सकिनेछ । यसका लागि मिल्दो ब्लुटुथ हेडसेट वा स्मार्ट हेल्मेट प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ ।  १० मिनेट चार्जमा ३० किलोमिटर यात्रा एथरले नयाँ ६ किलोवाट फास्ट चार्जर पनि सार्वजनिक गरेको छ । कम्पनीका अनुसार यसले करिब १० मिनेटमा ३० किलोमिटरसम्मको यात्रा गर्न पुग्ने ऊर्जा थप्न सक्छ । यसले विद्युतीय सवारीको चार्जिङलाई थप सहज बनाउने कम्पनीको विश्वास छ ।  ३ लाख ३४ हजार ९ सयबाट एथर ४५० सिरिज नयाँ एथर ४५०एक्स ओभरटोन्स सिरिज नेपालमा ११ अगस्टदेखि उपलब्ध हुनेछ । नेपालमा एथर ४५० सिरिजको सुरुवाती मूल्य ३ लाख ३४ हजार ९ सय रुपैयाँ रहेको छ । त्यस्तै, रिज्टा सिरिजको सुरुवाती मूल्य ३ लाख १४ हजार ९ सय रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।  एथर स्कुटर जित्ने अवसर नाइमा २०२६ मा एथर नेपालले उपहार अभियान पनि सञ्चालन गरेको छ । एक्स्पोमा आउने आगन्तुकले नयाँ एथर स्कुटर जित्ने अवसर पाउनेछन् । त्यसका लागि एथर इनर्जी नेपालका आधिकारिक सामाजिक सञ्जालका पेज पछ्याउनुपर्नेछ । त्यसपछि हल ‘सी’, स्टल ‘सी२’मा रहेको एथरको स्टलमा पुगेर स्कुटरसँग फोटो खिच्नुपर्नेछ । फोटो सामाजिक सञ्जालमा राखेर एथर इनर्जी नेपाललाई ट्याग गर्नुपर्नेछ । साथै दुई जना साथीलाई पनि ट्याग गर्नुपर्नेछ । 

ह्विस्की र भोड्का बेचेर यती डिस्टिलरीको आम्दानी ६ अर्ब, बैंकमा ऋण ५.७२ अर्ब

काठमाडौं । ‘ओल्ड दरबार’ ह्विस्की र ‘८८४८’ भोड्का उत्पादन तथा बिक्री गर्दै आएको यती डिस्टिलरी प्राइभेट लिमिटेडले एक वर्षमा पौने ६ अर्ब रुपैयाँको कारोबार गरेको छ । कम्पनीले आर्थिक वर्ष २०८२/८३ मा ५ अर्ब ८५ करोड ४० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको हो । कम्पनीको उक्त आम्दानी अघिल्लो आर्थिक वर्षको तुलनामा १.१० प्रतिशत अर्थात् ६ करोड ४० लाख रुपैयाँले घटेको हो । आर्थिक वर्ष २०८१/८२ मा कम्पनीले ५ अर्ब ९१ करोड ८० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । यसअघि कम्पनीले आव २०८०/८१ मा ४ अर्ब ७३ करोड ५० लाख रुपैयाँ, आव २०७९/८० मा ५ अर्ब १७ करोड ५० लाख रुपैयाँ, आव २०७८/७९ मा ५ अर्ब ७२ करोड २० लाख रुपैयाँ, आव २०७७/७८ मा ४ अर्ब ३३ करोड ८० लाख रुपैयाँ, आव २०७६/७७ मा ३ अर्ब ५८ करोड ६० लाख रुपैयाँ, आव २०७५/७६ मा ४ अर्ब ५० करोड ४० लाख रुपैयाँ, आव २०७४/७५ मा ३ अर्ब २६ करोड ८९ लाख रुपैयाँ, आव २०७३/७४ मा १ अर्ब ९१ करोड ३४ लाख रुपैयाँ र आव २०७२/७३ मा ४६ करोड रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो । यती डिस्टिलरीका प्रमुख उत्पादन ‘ओल्ड दरबार’ ह्विस्की र ‘८८४८’ भोड्का हुन् । कम्पनीले भोड्का, ह्विस्की, जिन तथा ७० युपी श्रेणीका मदिरासहित ६ देखि ७ वटा विभिन्न ब्रान्ड उत्पादन गर्दै आए पनि आम्दानीको ठूलो हिस्सा दुई प्रिमियम उत्पादनमै केन्द्रित छ । कम्पनीको कुल आम्दानीमा ‘८८४८’ भोड्का र ‘ओल्ड दरबार’ ह्विस्कीको हिस्सा करिब ९१ प्रतिशत रहेको छ । बाँकी आम्दानी मुख्यतः ७० युपी श्रेणीका अन्य उत्पादनबाट हुने गरेको छ । मदिरा उद्योगमा उच्च प्रतिस्पर्धा रहेकाले यी दुई प्रमुख उत्पादनमध्ये कुनै एकको बिक्री वा बजार हिस्सामा प्रतिकूल असर परेमा त्यसले कम्पनीको समग्र वित्तीय अवस्थामा प्रभाव पार्न सक्ने जोखिम रहेको छ । त्यसैले अन्य उत्पादनको बजार विस्तारमार्फत आम्दानीको स्रोत विविधीकरण गर्नु कम्पनीका लागि महत्वपूर्ण हुने देखिन्छ । आम्दानीमा सामान्य कमी आए पनि कम्पनीको सञ्चालन नाफा मार्जिन भने सुधारिएको छ । आर्थिक वर्ष २०८२/८३ मा कम्पनीको सञ्चालन नाफा मार्जिन करिब ३० प्रतिशत पुगेको छ । अघिल्लो आर्थिक वर्षमा यस्तो मार्जिन २८ प्रतिशत र त्यसअघि २२ प्रतिशत रहेको थियो ।  यती डिस्टिलरीको कार्यशील पुँजीमा निर्भरता भने अझै उच्च रहेको छ । आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन आम्दानीको तुलनामा कम्पनीको कार्यशील पुँजीको अनुपात करिब ३१ प्रतिशत रहेको छ । मदिरा उत्पादनका लागि लामो समयसम्म मौज्दात राख्नुपर्ने भएकाले कम्पनीको कार्यशील पुँजी आवश्यकता उच्च रहेको हो । विशेषगरी पुरानो ह्विस्की उत्पादनका लागि कच्चा पदार्थ तथा तयार उत्पादन लामो समयसम्म भण्डारण गर्नुपर्ने भएकाले मौज्दात अवधि लामो हुने गरेको छ । त्यस्तै, ग्राहकबाट उठाउनुपर्ने रकम पनि उच्च रहेको छ । तयार मदिराको बिक्रीमा लाग्ने करसहितको कुल आम्दानीमा उधारो अवधि लागू हुने भएकाले ग्राहकबाट उठाउनुपर्ने रकम बढ्ने गरेको हो । लामो समयसम्म मौज्दातमा रहने उत्पादनका लागि आपूर्तिकर्ताबाट प्राप्त हुने उधारो सुविधाले कार्यशील पुँजीको दबाब केही हदसम्म व्यवस्थापन गरेको छ । यसका कारण कम्पनीको कुल बाह्य दायित्व र कुल खुद सम्पत्तिबीचको अनुपात करिब २.७ गुणामा सीमित रहेको छ ।  कम्पनीले पछिल्ला वर्षमा लाभांश वितरणमा समेत कमी ल्याएको छ । आर्थिक वर्ष २०८०/८१ र २०८१/८२ को नाफाबाट औसत ४३ प्रतिशत लाभांश वितरण गरिएको थियो । जबकि आर्थिक वर्ष २०७९/८० को नाफाबाट करिब १६८ प्रतिशत लाभांश वितरण गरिएको थियो । आगामी अवधिमा कम्पनीले नाफाको करिब ६० देखि ६५ प्रतिशतसम्म लाभांश वितरण गर्ने अनुमान गरिएको छ । कम्पनीले कच्चा पदार्थ आयात गर्दा विदेशी मुद्रा जोखिमसमेत बेहोर्दै आएको छ । कच्चा पदार्थ खरिदका लागि कम्पनीले तुलनात्मक रूपमा लामो अवधिका तथा विदेशी मुद्रा जोखिमबाट सुरक्षित नगरिएका उधारो प्रतितपत्र प्रयोग गर्ने गरेको छ । यस्ता प्रतितपत्र सामान्यतः युरोमा आधारित हुने भएकाले पछिल्ला वर्षमा कम्पनीले उल्लेख्य विदेशी मुद्रा नोक्सानी बेहोरेको जनाएको छ ।  तयारी मदिरामा लाग्ने उच्च आयात शुल्कले स्वदेशी मदिरा उत्पादकलाई संरक्षण प्रदान गर्दै आएको छ । घरेलु मदिरा उद्योगमा प्रवेशका लागि तुलनात्मक रूपमा उच्च अवरोध रहेकाले स्थापित उत्पादकलाई आफ्नो बजार हिस्सा कायम राख्नसमेत सहयोग पुगेको छ । तर, सरकारले तयारी मदिरामा लाग्ने आयात शुल्क वा भन्सार दर घटाएमा वा हटाएमा कम्पनीको आम्दानी, नाफा मार्जिन तथा ऋण भुक्तानी क्षमतामा उल्लेखनीय असर पर्न सक्ने जोखिम रहेको कम्पनीको भनाइ छ ।  नेपालमा मदिरा उच्च कर लाग्ने वस्तुमध्ये एक हो । मदिरामा लाग्ने अन्तःशुल्क दरसमेत वर्षेनी बढ्दै आएको छ । कर तथा शुल्कमा निरन्तर वृद्धि हुनुका साथै बजारमा प्रतिस्पर्धा बढ्दै जाँदा त्यसबाट उत्पन्न अतिरिक्त लागत उपभोक्तामा हस्तान्तरण गर्ने कम्पनीको क्षमता कमजोर हुन सक्छ । यसले कम्पनीको नाफा मार्जिनमा दबाब पार्न सक्ने देखिन्छ। यसका अतिरिक्त, नियामक निकायले मदिराको प्रवद्र्धन, बिक्री तथा वितरणमा थप प्रतिबन्ध लगाएमा त्यसको प्रत्यक्ष प्रभाव कम्पनीको व्यवसायमा पर्न सक्ने जनाएको छ ।  यती डिस्टिलरीको ५० प्रतिशत स्वामित्व रवि केसीसँग तथा बाँकी ५० प्रतिशत अभिषेक श्रेष्ठ र उनका परिवारका सदस्यसँग रहेको छ । श्रेष्ठ आफ्नो परिवारबाट व्यवसायमा प्रवेश गर्ने दोस्रो पुस्ताका उद्यमी हुन् । उनलाई मदिरा उत्पादन तथा होटल व्यवसायमा अनुभव छ । आतिथ्य, मदिरा उत्पादन तथा व्यवस्थापन क्षेत्रमा पृष्ठभूमि भएका श्रेष्ठले कम्पनीको प्राविधिक पक्ष हेर्दै आएका छन् । त्यस्तै, रवि केसीसँग सुर्य टोबाको कम्पनी प्राइभेट लिमिटेडमा वरिष्ठ कार्यकारीका रूपमा लामो समय काम गरेको अनुभव रहेको छ । सुर्य टोबाको कम्पनी अन्तर्राष्ट्रिय कम्पनी समूह आइटिसीअन्तर्गतको कम्पनी हो । केसीले यती डिस्टिलरीको बजार तथा बजारीकरणसम्बन्धी पक्ष सम्हाल्दै आएका छन् ।  यती डिस्टिलरीसँग मदिराको मिश्रण तथा बोतलबन्दी गर्ने उत्पादन केन्द्र रहेको छ । उक्त कारखानामा विभिन्न प्रकारका उत्पादन तयार गर्न पाँचवटा प्रशोधन तथा बोतलबन्दी उत्पादन लाइन सञ्चालनमा छन् । यी पाँचवटा उत्पादन लाइनको संयुक्त बोतलबन्दी क्षमता दैनिक करिब ९ हजार पेटी रहेको छ । कम्पनीले यही उत्पादन क्षमतामार्फत विभिन्न प्रकारका मदिरा उत्पादन तथा बजारमा आपूर्ति गर्दै आएको छ । यती डिस्टिलरीले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट कुल ५ अर्ब ७२ करोड ४० लाख रुपैयाँ ऋण लिएको छ । यसमध्ये ७२ करोड ९९ लाख रुपैयाँ दीर्घकालीन र ४ अर्ब ९९ करोड ४० लाख रुपैयाँ अल्पकालीन ऋण रहेको कम्पनीले जनाएको छ । 

यी हुन् मन्त्रिपरिषद बैठकका निर्णयहरू

काठमाडौं । मंगलबार (आज) बसेको मन्त्रिपरिषद बैठकले विभिन्न निर्णय गरेको छ । सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले बैठकले ५ निर्णय गरेको जानकारी दिए । यी हुन् मन्त्रिपरिषद बैठकका निर्णयहरू : १. नेपालभित्र पैठारी वा उत्पादन हुने विद्युतबाट सञ्चालन हुने एम्बुलेन्स र शव वाहनमा लाग्ने स्वच्छ पूर्वाधार लगानी शुल्क र मूल्य अभिवृद्धि करमा पूर्ण रूपमा छुट प्रदान गर्ने । २. सुनसरी/सिराहा जिल्लामा भएको प्रदर्शनको क्रममा मृत्यु भएका मृतक व्यक्तिहरू सुनसरी जिल्लाका ओमप्रकाश मेहता, जयप्रकाश मेहता, रविन्द्रकुमार मेहता र सिराहा जिल्लाका गनेशकुमार यादवलाई सहिद घोषणा गर्ने । ३. पोर्चुगल सरकारलाई काठमाडौंमा कन्सुलर कार्यालय (कन्सुलर अफिस) खोल्न सहमति दिने । ४. वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशक पदमा बाराका  निर्मलकुमार उप्रेतीलाई नियुक्ति गर्ने । ५. पूर्वमहालेखापरीक्षक टंकमणि शर्मा दङ्गालको संयोजकत्वमा गठित एनसेलको सेयर खरिद बिक्री सम्बन्धी अध्ययन तथा छानबिन प्रतिवेदन, २०८० सार्वजनिक गर्ने । 

सुनसरी र सिरहाका ४ जनालाई सहिद घोषणा गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं । सरकारले सुनसरी र सिरहा जिल्लामा घटेको घटनामा ज्यान गुमाउने ४ जनालाई सहिद घोषणा गर्ने भएको छ । मंगलबार (आज) बसेको मन्त्रिपरिषद् बैठकले ४ जनालाई सहिद घोषणा गर्ने निर्णय गरेको हो । सुनसरीमा ज्यान गुमाएका ओमप्रकाश मेहता, जयप्रकाश मेहता र रवीन्द्र मेहता र त्यस्तै, सिरहामा ज्यान गुमाएका गणेश यादवलाई सहिद घोषणा गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए।