सयपत्री हाइड्रोपावरले सतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने
काठमाडौं । सयपत्री हाइड्रोपावरले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीको आइतबार बसेको सञ्चालक समितिको बैठकबाट चुक्ता पुँजीको १:१ (एक सेयर बराबर एक सेयर) अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने निर्णय भएको छ । कम्पनीले विद्युत नियमन आयोगसँग हकप्रद निष्कासनको अनुमति मागेको छ । नियमन आयोगले स्वीकृति दिएपछि वार्षिक साधारणसभामा पेस हुनेछ । वार्षिक साधारण सभाले स्वीकृत गरेपछि कम्पनी हकप्रद निष्कासन गर्नेछ । यो कम्पनीको चुक्तापुँजी ३० करोड रुपैयाँ छ । कम्पनी हकप्रद मार्फत प्राप्त हुने रकम ऋण तिर्न र दरम खोला ‘ए’ जलविद्युत् आयोजनाको मर्मतमा खर्च गरिने दाबी गरिएको छ ।
अहिले सञ्चालित उद्योग व्यवसायलाई नयाँ सोचबाट अघि बढाउनुपर्छ : अध्यक्ष ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अतिकम विकसित मुलुक (एलडीसी)बाट नेपाल विकासशील मुलुकमा रूपान्तरण हुँदा स्टार्टअप उद्यमको विकास गर्नु अपरिहार्य रहेको बताएका छन् । सोमबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको एफएनसीसीआई इनोभेसन संवाद कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले यस्तो बताएका हुन् । मुलुक अतिकम विकसित मुलुक (एलडीसी)बाट नेपाल विकासशील मुलुकमा रूपान्तरण हुँदा विश्व प्रतिष्पर्धामा आउन नयाँ नयांँ नविनतम सोचका साना, मझौला उद्यम र स्टार्टअपको विकास गर्नु अपरिहार्य उनको भनाइ छ । अध्यक्ष ढकालले अहिले सञ्चालित उद्योग व्यवसायहरूलाई पनि नयाँ सोचबाट अघि बढाउनुपर्ने आवश्यकता भएको बताए । नयाँ सोचका साथ व्यवसाय बिस्तार गर्नसक्दा मात्रै अर्थतन्त्रको विकासमा नयाँ अवसरहरू सिर्जना हुने र नवप्रवर्तनले लागत घटाउने तथा उद्यमीहरूको लागि आत्मनिर्भर बन्ने माध्यम हुने विश्वास रहेको जानकारी दिए । उनले महासंघले इनोभेटिभ स्टार्टअपको विकास एवं प्रवर्द्धनमा सघाउ पुर्याउन ‘स्टार्टअप एण्ड इनोभेसन फोरम’ गठन गरेको बताए । लघु घरेलु तथा साना उद्यम समितिले यस क्षेत्रको बिस्तारका लागि काम गरिरहेको अध्यक्ष ढकालको भनाइ छ । निर्यात प्रवर्द्धन समितिले बाहिरको बजार खोज्ने प्रयास गरेको उनले बताए । ‘विकासउन्मुख देशमा स्तरउन्नति भएको परिवेशमा विश्व प्रतिष्पर्धामा आउन नयाँ नयाँ इनोभसन सोचका साना, मझौला उद्यम र स्टार्टअपको विकास गर्नु अपरिहार्य भएको छ । साथै सञ्चालित उद्योग व्यवसायहरुलाई पनि नयाँ सोचबाट अघि बढाउनुपर्ने आवश्यकता भएको छ,’ अध्यक्ष ढकालले भने । उनले देशभित्र आर्थिक क्रियाकलाप बढाउन कर प्रणालीलाई सरल र व्यवसायमैत्री बनाउनुपर्ने, करका प्रक्रियाहरूमा पारदर्शी बनाई कम दरमा कर उपलब्ध गराउन सक्नुपर्ने बताए । उनले आयात–निर्यात प्रक्रियालाई सरल बनाउँदै अनधिकृत आयात रोक्न जरुरी रहेको पनि उल्लेख गरे ।
पूर्वसभामुख ढुंगानाको निधनको शोकमा कांग्रेसले मंगलबार केन्द्रिय कार्यालय बन्द गर्ने
काठमाडौं । नेपाली कांग्रेसले पूर्वसभामुख एवं पार्टीका नेता दमननाथ ढुंगानाको निधनको शोकमा मंसिर ३ र ४ गते पार्टी केन्द्रिय कार्यालयमा पार्टीको आधा झण्डा झुकाउने निर्णय गरेको छ । सोमबार बिहान बसेको पार्टी केन्द्रिय कार्य समितिको आकस्मिक बैठकले स्वर्गीय ढुंगानाकोप्रति शोक प्रश्ताव पारित गर्दै २ दिन पार्टीको आधा झण्डा झुकाउने र मंसिर ४ गते मंगलबार पार्टीको केन्दिय कार्यालय बन्द गर्ने निर्णय गरेको हो । बैठकले उनको निधन भएको १३ औं पुण्यतिथिको दिन पार्टी केन्द्रिय कार्यालयमा शोक सभा आयोजना गर्ने निर्णय पनि गरेको पार्टीका महामन्त्री गगनकुमार थापाले जानकारी दिए । कांग्रेसद्वारा जारी शोक प्रश्तावमा स्वर्गीय ढुंगानाले मानव अधिकार, न्याय क्षेत्र, बिद्रोही माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन र लोकतान्त्रिक व्यवस्थाको सुदृढिकरणका पुर्याएकाे भएको योगदान सदैव स्मरणीय रहिरहने निष्कर्ष निकाल्दै लागि उनले पुर्याउनु भएको योगदान सदैव स्मरणीय रहने उल्लेख गरिएको छ । महामन्त्री थापाले भने, ‘पूर्वसभामुख दमननाथ ढुंगानाको ८३ वर्षको उमेरमा राजधानीका फ्रन्टलाईन अस्पतालमा उपचारको क्रममा मंसीर २ गते भएको निधनले नेपाली कांग्रेस मर्माहत र स्तब्ध भएको छ ।’ बैठकमा बोल्दै पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्वर्गीय ढुंगानाले पार्टी र सभामुखको रुपमा खेलेको निष्पक्ष भुमिका सदा स्मरणीय रहिरहने बताए । उनले भने, ‘संसद उहाँले निष्पक्ष रुपमा सभामुखको भुमिका निर्वाह गर्नुभयो । उहाँको अचानक निधन भएको खबर सुन्नुपर्यो । मलाई त बिरामी भएको पनि थाहा भएन । अब जे हुनु भईहाल्यो । उहाँको असामयिक निधन भयो ।’ पूर्वसभामुख ढुंगाना २०४८ सालको आम निर्वाचनमा नेपाली कांग्रेसबाट काठमाडौं निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभामा निर्वाचित भई सभामुखको भुमिका निर्वाह गरेका थिए । उनले सभामुखको रुपमा संसद संसद प्रतिपक्षको हो भन्ने मान्यतालाई स्थापित गराउन महत्वपूर्ण भुमिका निर्वाह गरेका थिए । त्यसैगरी स्वर्गीय ढुंगानाले माओवादी सशस्त्र द्वन्द्वलाई शान्ति प्रक्रियामा ल्याउन सहजकर्ताको रुपमा समेत उनको सक्रिया भुमिका खेलेको पनि कांग्रेसले जनाएको छ ।
प्रदूषणका कारण दिल्लीका विद्यालय बन्द, विश्व र्याङ्किङमा लगातार शीर्ष स्थानमा
काठमाडौं । भारतको राजधानी नयाँदिल्लीले बढ्दो विषाक्त धुवाँका कारण सोमबारदेखि अर्को सूचना नहुँदासम्म विद्यालयहरूलाई अनलाइन कक्षामा रूपान्तरण गरेको छ । यो विशाल महानगरको स्वास्थ्य सङ्कट कम गर्ने पछिल्लो प्रयास हो । आइतबार साँझ विश्व स्वास्थ्य सङ्गठनले सिफारिस गरेको दैनिक अधिकतम मात्राभन्दा ५७ गुणा बढी पीएम २.५ प्रदूषकहरू (फोक्सोमार्फत रक्त प्रवाहमा प्रवेश गर्ने खतरनाक क्यान्सर–कारक सूक्ष्म कणहरू) रेकर्ड गरिएको थियो । सोमबार बिहान यी मात्राहरू चेतावनी सीमाभन्दा करिब ३९ गुणा माथि थिए र सहर बाक्लो खैरो र पीडादायक धुवाँले ढाकिएको थियो । यो सहर प्रत्येक वर्ष पीडादायक धुवाँले ढाकिने गर्दछ । विशेष गरी छिमेकी क्षेत्रहरूमा किसानहरूले जोत्नका लागि आफ्नो खेतहरू सफा गर्न पराल जलाउने साथै कारखाना र सवारीसाधनको धुवाँलाई दोष दिइन्छ । हावाको गुणस्तर ‘अझ बिग्रनबाट रोक्ने प्रयासमा’ सहरका अधिकारीहरूले यी प्रतिबन्धहरू लगाएका हुन् । अधिकारीहरूले बच्चाहरूलाई घरमै राखेर सवारी साधनको चाप उल्लेख्य रूपमा घटाउन सकिने आशा राखेका छन् । प्राथमिक विद्यालयहरूलाई बिहीबार व्यक्तिगत कक्षाहरू बन्द गर्न आदेश दिइएको थियो । सोमबार डिजेल सञ्चालित ट्रकहरू र निर्माण कार्य सीमित गर्ने लगायत थप प्रतिबन्धहरू लगाइएको छ । सरकारले बालबालिका र वृद्धवृद्धाका साथै फोक्सो वा मुटुको समस्या भएका व्यक्तिहरूलाई ‘सकेसम्म घरभित्रै बस्न’ आग्रह गरेको छ । सहरका धेरैले एयर फिल्टर किन्न सक्दैनन् । उनीहरूसँग हजारौँ समयभन्दा अघि नै मृत्यु हुने कारण मानिएको दुर्गन्धित हावाबाट प्रभावकारी रूपमा जोगिन सक्ने घरहरू पनि छैनन् । यी आदेश सोमबार बिहानदेखि लागू भएका छन् । तीन करोडभन्दा बढी मानिस बस्ने नयाँदिल्ली र यसको वरिपरिको महानगरीय क्षेत्र हिउँदमा वायु प्रदूषणको विश्व र्याङ्किङमा लगातार शीर्ष स्थानमा रहन्छ । चिसो तापक्रम र सुस्त गतिको हावाले हरेक हिउँद मध्य अक्टोबरदेखि कम्तीमा जनवरीसम्म घातक प्रदूषकहरूलाई समातेर स्थिति झन् खराब बनाउँछ । भारतको सर्वोच्च अदालतले गत महिना स्वच्छ हावा मौलिक मानव अधिकार भएको फैसला गर्दै केन्द्र सरकार र राज्यस्तरका अधिकारीहरू दुवैलाई कारबाही गर्न आदेश दिएको थियो ।
जनकपुरधामका शैक्षिक संस्था अनिश्चितकालीन बन्द रहने, शुल्कको विषयमा विवाद
जनकपुरधाम । जनकपुरधामका शैक्षिक संस्था सोमबारदेखि अनिश्चित समयका लागि बन्द भएका छन् । छात्रवृत्तिमा अध्ययनको शुल्कको विषयलाई लिएर हिसान, प्याब्सन र एनप्याब्सनले संयुक्तरूपमा आजदेखि अनिश्चितकालीन शैक्षिक संस्था बन्दको आह्वान गरेको हो । संस्थागत विद्यालयको कक्षा ११ र १२ मा छात्रवृत्तिमा अध्ययनरत विद्यार्थीको अन्य शुल्कको विषयमा जनकपुरधाम उपमहानगरपालिका १४ कात्तिकमा गरेको निर्णय फिर्ता हुनुपर्ने संगठनहरूको माग छ । सो निर्णय अनुसारको शुल्कमा पढाउन नसकिने बताउँदै संगठनहरूले यसअघि १३ भदौ २०८१ मा उपमहानगरपालिकाको छात्रवृत्ति वितरण व्यवस्थापन समितिले गरेको निर्णयनुसार नै लिन पाउनु पर्ने माग गरेको छ । ‘छात्रवृत्ति वितरण व्यवस्थापन कार्यविधि २०७४ बमोजिम छात्रवृत्तिमा छनोट विद्यार्थीहरुलाई कक्षा ११ र १२ मा छात्रवृत्तिमा अध्ययनका लागि मिति २०८१/०५/१४ गतेमा हिसान धनुषा आवद्ध संस्थागत विद्यालयहरूमा पत्राचार गरेको र कार्यविधि २०७४ को ५.२ (ङ) बमोजिम सिफारिस भएको विद्यार्थीहरूबाट भर्ना शुल्क, मासिक शुल्क र परीक्षा शुल्कबाहेक अन्य शुल्क लिन सक्ने व्यवस्था रहेको र सोही अनुसार गर्दै आए पनि पुन: २०८१/०७/१४ गते फरक किसिमको निर्णय भई आएको हुँदा सो शुल्कमा पढाउन नसकिने,’ तीनवटै संगठनले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । भतरपुर, विराटनगर, बुटवललगायतकै स्थानजस्तै शुल्क लिन दिन कात्तिक २९ गते जनकपुरधाम उपमहानगरका नगर प्रमुखलाई अनुरोध गर्दा केही पहल नभएकोले तीनवटै संस्थासँग आवद्ध विद्यालयहरू बन्द गर्न बाध्य भएको संगठनहरूको भनाइ छ ।
भ्रष्टाचारको मुद्दामा सफाइ पाएका बैकुण्ठ अर्यालले दिए राजीनामा
काठमाडौं । मुख्यसचिव डा. बैकुण्ठ अर्यालले पदबाट राजीनामा दिएका छन् । उनले आज राजीनामा दिएकाे जनाइएकाे छ । उनी राष्ट्रिय योजना आयोगमा मुख्य सचिवसरहको जिम्मेवारीमा थिए । आगामी मन्त्रिपरिषद बैठकले अर्यालको राजीनामाबारे निर्णय गर्ने छ । स्रोतका अनुसार अर्यालले सोमबारबाट लागू हुनेगरी पदबाट राजीनामा दिएका हुन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा अर्यालले सफाइ पाएका थिए । सफाइ पाएसँगै उनी आइतबार राष्ट्रिय योजना आयोगमा उपस्थित भएका थिए । अर्याललाई मुद्दा लागेसँगै लीलादेवी गड्तौला निमित्त हुँदै कायममुकायम मुख्यसचिव नियुक्त भएकी थिइन् । त्यसपछि मुख्यसचिव नियुक्त भएकी उनले अवकाश पाएपछि १३ भदौमा एकनारायण अर्याल मुख्यसचिव नियुक्त भएका थिए ।
नेपाल प्रहरीका चिकित्सकतर्फ ३ जना डीआईजी बढुवा सिफारिस (सूचीसहित)
काठमाडौं । नेपाल प्रहरीका प्राविधिक प्रहरी समूह स्वास्थ्य उपसमूह चिकित्सकतर्फ रिक्त रहेको तीन प्रहरी नायव महानिरीक्षक (डीआईजीपी) पदमा सोही समूह र उपसमूहका तीन जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बढुवा सिफारिस भएका छन् । आइतबार बसेको बढुवा समितिको बैठकले डा. दामोदर पौडेल, डा.मनोजकुमार यादव र डा. संजिता दाहाल (घिमिरे)लाई एसएसपीबाट डीआईजीमा बढुवा गर्ने निर्णय गरेको हो । प्रहरीका अनुसार यी तीन जना नै नेपाल प्रहरी अस्पताल, महाराजगञ्जमा कार्यरत चिकित्सक हुन् ।
करोडौंको निजी विमान र तीन दर्जन लक्जरी कार भएका धनाढ्य राष्ट्रपति, विदेशमा पनि लगानी
काठमाडौं । के तपाईंले बोला अहमद टिनुबुको नाम सुन्नु भएको छ ? उनी नाइजेरियाका राष्ट्रपति हुन् । उनको सम्पत्ति सुनेर धेरै मानिस आश्चर्यमा पर्छन् । सन् १९९१ देखि राजनीतिक करिअर सुरु गरेका टिनुबु विश्वकै धनी राजनीतिज्ञमध्ये एक हुन् । उनी २०२३ मा नाइजेरियाको १६औं राष्ट्रपति बनेका थिए । राजनीतिबाहेक टिनुबु व्यापारको दुनियाँमा पनि ठूलो नाम हो । उनीसँग निजी विमान, हवेली र ३० भन्दा बढी लक्जरी कार छन् । यति मात्र होइन, उनको बेलायत र अमेरिकालगायत विभिन्न देशमा पनि सम्पत्ति छ । हाल उनी ७२ वर्षका भए । करोडौंको निजी विमान टिनुबुसँग निजी विमान छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार यसको मूल्य २१.७ बिलियन नाइजेरियन नायरा (करिब ११८ करोड रुपैयाँ) रहेको छ । टिनुबुले आफ्नो निजी विमान देशभर लामो यात्रा र अन्तर्राष्ट्रिय यात्राका लागि प्रयोग गर्दछन् । ३० भन्दा बढी लक्जरी कार शौखिनको मामिलामा टिनुबु विश्वका अन्य धनाढ्यभन्दा कम छैनन् । उनीसँग ३० भन्दा बढी लक्जरी कार छन् । यी कारहरूमा जीप प्राडो र ल्यान्ड रोभरजस्ता विश्वका महँगा कार समावेश छन् । यसबाहेक उनको कार कलेक्शनमा बीएमडब्ल्यू, फर्ड, लेक्सस, मर्सिडिज बेन्ज र पोर्च पनि पर्छन् । विदेशमा पनि सम्पत्ति टिनुबुको नाइजेरियामा मात्र नभई विदेशमा पनि पर्याप्त सम्पत्ति छ । यसमा धेरै हवेली र सपिङ सेन्टर छन् । बेलायत र अमेरिकामा समेत उनका हवेली छन् । नाइजेरियाको राजधानी अबुजामा रहेको हवेलीको मूल्य ६५० मिलियन नाइजेरियन नाइरा (लगभग ५.२८ करोड रुपैयाँ) बताइएको छ । उनी यही महलमा बस्छन् । यसबाहेक नाइजेरियामा उनको अन्य धेरै सम्पत्ति छ, जसको कुल मूल्य करोडौं रुपैयाँ छ । नेटवर्थ कति ? टिनुबु अपार सम्पत्तिका मालिक हुन् । फोर्ब्सको रिपोर्टअनुसार उनको कुल सम्पत्ति करिब ११५ अर्ब नाइजेरियाली नायरा (लगभग ९३७.६ करोड रुपैयाँ) छ । उनको मुख्य आम्दानीको स्रोत उनले राष्ट्रपतिको रूपमा पाउने तलब र व्यापारबाट हुने आम्दानी हो । सञ्चार माध्यमका अनुसार राष्ट्रपतिको रूपमा उनको वार्षिक तलब ५० करोड नाइजेरियन नाइरा (लगभग ४० लाख रुपैयाँ) रहेको छ । टिनुबुले आफ्नो सबै सम्पत्ति भाडामा दिएका छन् । यसबाट उनले हरेक वर्ष करिब ३३० करोड नाइजेरियन नाइरा (लगभग १९.२ करोड रुपैयाँ) कमाउँछन् । टिनुबुको सम्पत्तिलाई लिएर बेलाबेलामा विवाद पनि हुने गर्दछ । उनीमाथि राजनीति र उच्च पदको दुरुपयोग गरी धेरै सम्पत्ति जम्मा गरेका आरोप लाग्ने गर्दछ । (एजेन्सीको सहयोगमा)