निर्यात व्यापार बढाउने रणनीतिमा थप सहकार्य गर्न सरकार तथा सरोकारवालालाई अध्यक्ष ढकालको आग्रह
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले निर्यात व्यापार बढाउने रणनीतिमा थप सहकार्यका लागि सरकार तथा सरोकारवालाहरूलाई आग्रह गरेका छन् । अति कम विकसित मुलुकको सूचीबाट विकासशीलमा स्तरोन्नति हुने समय नजिकिँदै गर्दा बाह्य बजारसँग प्रतिस्पर्धी हुन थप तयारी आवश्यक भएकोतर्फ अध्यक्ष ढकालले ध्यानाकर्षण गराएका हुन् । महासंघले सोमबार आयोजना गरेको अन्तर्क्रियामा अध्यक्ष ढकालले स्वदेशमै माग घटेका बेला विदेशी बजारमा प्रतिस्पर्धा गर्नुपर्ने चुनौती नजिक आइरहेको बताए । नवप्रवर्तन तथा सूचना प्रविधिको उपयोगमार्फत प्रतिस्पर्धी क्षमता बढाउनुको विकल्प नरहेको पनि उनको भनाइ थियो । स्तरोन्नतिबाट फाइदा लिन राष्ट्रिय योजना आयोगले तयार गरेको रणनीतिलाई व्यवसायीहरूको सुझावअनुसार थप परिमार्जन गर्नुपर्ने अवस्था रहेको पनि उनले उल्लेख गरे । अध्यक्ष ढकालले लघु घरेलु साना एवं मझौला उद्यमले पुँजी र प्रविधिका आधारमा पनि प्रतिस्पर्धी क्षमता कम हुने भएकाले यस्ता उद्यमीलाई थप सहयोगको जरुरी रहेको पनि उल्लेख गरे । लघु घरेलु साना एवं मझौला उद्यमीलाई आइपर्ने चुनौतीको सामना गर्न सघाउने उद्देश्यले महासङ्घमै लघु घरेलु साना एवं मझौला उद्यम विकास केन्द्र स्थापनासमेत गरेको छ । सो केन्द्रको आजै अध्यक्ष ढकालसहित राष्ट्रिय योजना आयोगका सचिव मधुकुमार मरासिनी र उद्योग वाणिज्य तथा आपूर्ति सचिव कृष्णबहादुर राउतले उद्घाटन गरे । सो केन्द्रले नीतिगत व्यवस्थाहरू, प्रक्रियागत सहजता तथा क्षमता अभिवृद्धि र बजार विस्तारमा उद्यमीहरूलाई सहयोग पुर्याउने लक्ष्य लिएको छ ।
यी शेख जसका कारण यूएईको सेयर बजार १ ट्रिलियन डलर नाघ्यो
काठमाडौं । अबुधाबीको शाही परिवारसँग सम्बन्धित कम्पनीहरूमा आएको उछालका कारण संयुक्त अरब इमिरेट्स (युएई) को सेयर बजारको कुल मूल्य १ ट्रिलियन अमेरिकी डलर नाघेको छ । शेख तहनून बिन जायद अल नाह्यानसँग सम्बन्धित कम्पनीहरूको यो बूममा ठूलो भूमिका रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । युएईको सेयर बजारको संयुक्त मूल्यांकन १ ट्रिलियन डलर नाघेको यो पहिलो पटक हो । यसमा दुबई र अबुधाबीको एक्सचेन्ज समावेश छन् । ब्लूमबर्गका अनुसार यो आँकडाले युएईको सेयर बजारलाई मिलान तथा म्याड्रिडको भन्दा ठूलो बनाउँछ । तर, यो साउदी अरबको करिब ३ ट्रिलियन डलरको स्टक मार्केटभन्दा सानो छ । शेख तहनून बिनको चमत्कार यस उपलब्धिमा शेख तहनून बिन जायद अल नाह्यानसँग सम्बन्धित कम्पनीहरूको योगदान महत्त्वपूर्ण रहेकाे जनाइएकाे छ । अबुधाबीका दुई डिप्टी रुलर्समध्येका एक युएईका राष्ट्रिय सुरक्षा सल्लाहकार र राष्ट्रपतिका भाइ शेख तहनून १.५ ट्रिलियन डलरको साम्राज्यका साथ विश्वको सबैभन्दा शक्तिशाली व्यवसायीहरूमध्ये एकको रूपमा उभिएका छन् । यस साम्राज्यमा इन्टरनेशनल होल्डिङ कम्पनी (आईएचसी) पनि समावेश छ, जसका अध्यक्ष शेख तहनूर हुन् । पछिल्ला केही वर्षहरूमा आईएचसी सेयर ४३ हजार प्रतिशतभन्दा धेरैले बढेको छ । यसको बजार पुँजीकरण लगभग २५० बिलियन डलर पुगेको छ, जुन संयुक्त एक्सचेन्जको कुल मूल्यको एक चौथाई हो । आइएचसीले के गर्छ ? अबुधाबी स्टक एक्सचेन्जको तथ्यांकअनुसार आईएचसीमा ८८ प्रतिशत सेयर स्थानीयको रहेको छ । आइएचसी, जसले पहिले माछापालन व्यवसाय गर्थ्यो अब यूएईको अर्थतन्त्रलाई तेलको निर्भरताबाट टाढा राख्ने प्रयासमा सबैभन्दा अगाडि छ । कम्पनी र यसका सहायक कम्पनीले धेरै व्यवसायमा लगानी गरेका छन् । यसमा रिहानाको लान्जरी लाइन, एलन मस्कको स्पेसएक्स र इमिरेट्सको सबैभन्दा ठूलो प्रोपटी डेभलपर पीजेएससी सामेल छ । शेख तहनून फर्स्ट अबुधाबी बैंक पीजेएससीका अध्यक्ष पनि हुन् । यसले सन् २०२३ मा बेलायतको स्ट्यान्डर्ड चार्टर्ड पीएलसीका लागि बिडिङ गर्ने विचार गरेको थियो । अबुधाबीको बेन्चमार्क एफटीएसई एडीएक्स जनरल इन्डेक्समा बैंक र आईएचसीको संयुक्त भार ५० प्रतिशतभन्दा बढी छ ।
२०औं वार्षिकोत्सवको अवसरमा शिखर इन्स्योरेन्सले गर्यो कर्मचारीलाई सम्मान
काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले २० औं वार्षिकोत्सव सम्पन्न गरेको छ । कम्पनीले विभिन्न कार्यक्रमका साथमा वार्षिकोत्सव मनाएको छ । यसैबीच कम्पनीमा २० वर्ष भन्दा बढी समय देखि कार्यरत कर्मचारीहरुलाई सुनको सिक्का तथा १० वर्ष भन्दा बढी समयदेखि कार्य गर्ने ११ जना गरी कुल ३४ जना कर्मचारीहरुलाई १०० ग्राम चाँदीको सिक्का सहित सम्मान गरिएको थियो । कम्पनीले विगतमा पनि हरेक वर्ष आफ्नो वार्षिक उत्सव कार्यक्रममा १० वर्ष भन्दा बढी समयदेखि कम्पनीमा सेवा प्रदान गर्ने कर्मचारीहरुलाई चाँदीको सिक्का सहित सम्मान प्रदान गर्दै आइरहेको छ । कम्पनीले आफ्नो २० वर्षको समयमा निम्न बमोजिमको सफलताहरु हासिल गर्न सफल रह्यो । १०० करोड भन्दा बढी बीमा शुल्क संकलन गर्ने पहिलो बीमा कम्पनी २०० करोड भन्दा बढी बीमा शुल्क संकलन गर्ने पहिलो बीमा कम्पनी ३०० करोड भन्दा बढी बीमा शुल्क संकलन गर्ने पहिलो बीमा कम्पनी ४०० करोड भन्दा बढी बीमा शुल्क संकलन गर्ने पहिलो बीमा कम्पनी ५०० करोड भन्दा बढी बीमा शुल्क संकलन गर्ने पहिलो बीमा कम्पनी बीमा शुल्क रकममा करिब १४ प्रतिशतको बजार हिस्सा २० वर्षको समयमा २० अर्ब रुपैयाँ भन्दा बढीको दाबी रकम भुक्तानी २० वर्षको समयमा १ लाख भन्दा बढी दाबी संख्याको भुक्तानी २० वर्षको समयमा आफ्ना शेयरधनीहरुलाई २९५ प्रतिशतको लाभांस प्रदान मर्जर विना २५० करोड रुपैयाँको चुक्ता पुँजी पु-याउने पहिलो बीमा कम्पनी १०० भन्दा बढी शाखा संजाल विस्तर गर्ने पहिलो बीमा कम्पनी ६०० जना भन्दा अधिक मानव संसाधन विकास गर्ने पहिलो बीमा कम्पनी
मुक्तिनाथ विकास बैंकले सञ्चालनमा ल्यायो मुक्तिनाथ फाइदा एप
काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न आफ्नो मोबाईल बैंकिङ सेवाको स्तरवृद्धि गरि थप सेवा सहितको ‘मुक्तिनाथ फाइदा एप’ सञ्चालनमा ल्याएको छ । मुक्तिनाथ फाइदा एप सञ्चालन पछि ग्राहकहरुले ‘मोबाइल एक फाइदा अनेक’ लिन सक्ने व्यवस्था गरिएको बैंकले जनाएको छ । यो एप डिजिटल बैंकिङको सर्वव्यापी दृष्टिकोणमा आधारित भएकोले सबै ग्राहकले सरल र सुरक्षित तरिकाले घरमा नै बसी बैंकिङ सेवा उपयोग गर्न सकिने बैंकले उल्लेख गरेको छ । ग्राहकले गर्ने सुरक्षित कारोबारको लागि सुरक्षा प्रश्नहरु राख्न सक्ने साथै ग्राहकले प्रयोग गर्ने डिभाईस ग्राहक स्वयमको हो होईन पहिचान गर्ने जसबाट अनधिकृत व्यक्तिको पहुँच नहुने भएको छ । ग्राहकहरुले मोबाईल फोन तथा वेबबाट एउटै पासवर्ड प्रयोग गरी आफ्नो खाताबाट सुरक्षित कारोबार गर्न सक्नेछन् । यसका साथै, अन्य थप गरिएको सुविधाहरुमा विभिन्न बिल भुक्तानी, नगद जम्मा भौचर, एटीएम कार्ड नविकरण, इ–कर्मस कार्ड सक्रिय, भाषा छनौट, विदेशी मुद्रा विनियमदर, व्याजदर, कारोवारको सिमाको जानकारी, बैंकले दिने वस्तु तथा सेवाहरुको जानकारी, भेटघाटको लागि अनुरोध, कारोबार सफल नभएमा कारोबारको दाबी गर्न, बैंकले दिने विभिन्न सुचनाहरुको जानकारी लिन, गुनासो तथा सुझाव दिन, चेक बुक अनुरोध गर्न, विभिन्न भुक्तानीको तालिका राख्न,आम्दानी तथा खर्चको ग्राफ साथै अन्य सुविधाहरू रहेको छ । साथै, बैंकले विकास बैंकले प्रर्वद्धन गरेको नेपालको पहिलो सामुहिकलगानी कोष ‘मुक्तिनाथ म्युचुअल फण्ड’ यहि मंसिर महिनाभित्र सार्वजनिक निष्काशनमार्फत् इकाईहरु बिक्रिमा ल्याउने भएको छ । यस कोषको प्रवद्र्घक मुक्तिनाथ विकास बैंक र भने योजना व्यवस्थापक मुक्तिनाथ क्यापिटल रहेको छ ।
गुरुङ, श्रेष्ठ र राणा मिलेर बनाउने होटलको निर्माण सुरु, दरबारमार्गमा यस्तो बन्दैछ २५ तले होटल
काठमाडौं । दरबारमार्गमा २५ तलासहितको अन्नपूर्ण स्क्वायर निर्माण सुरु भएको छ । भाटभटेनी समूह, लिटिल एन्जल्स र अन्नपूर्ण समूहले संयुक्त रूपमा अन्नपूर्ण स्क्वायर निर्माण थालेका हुन् । उक्त स्थानमा पहिला होटल अन्नपूर्ण रहेको थियाे । सोमबार एक विशेष समारोहकाबीच भूमिपूजा सम्पन्न गर्दै कम्पनीका अध्यक्ष मीनबहादुर गुरुङले सुन्दर नेपालको सुन्दरताको प्रतीकका रूपमा निर्माण थालिएको बताए । ‘भारतको आर्किटेक्चर कम्पनीले यसको डिजाइन गरेको छ,’ उनले भने, ‘दुई चरणमा काम सम्पन्न गर्ने योजना बनाएका छौं । २०८५ वैशाख १ गतेदेखि होटल सञ्चालनमा ल्याउने लक्ष्य रहेको छ ।’ अन्नपूर्ण स्क्वायर २५ तलाको हुनेछ, जहाँ होटल ९ लाख स्क्वायर फिट क्षेत्रफलमा रहनेछ भने ४० कोठा अपार्टमेन्ट हुनेछ । भाटभटेनीको एउटा स्टोर पनि त्यहाँ रहनेछ । कम्तीमा पनि ६ अर्ब रुपैयाँको लगानीमा निर्माण थालिएको होटलसँगै क्यासिनो पनि सञ्चालनमा आउनेछ । ‘सुन्दर नेपालको सुन्दरताको प्रतीक निर्माण गर्ने लक्ष्य राखेर काम अघि बढाएका छौं,’ भाटभटेनी सुपरमार्केटका अध्यक्षसमेत रहेका गुरुङले भने, ‘२०८५ वैशाख १ गतेबाट होटल सञ्चालनमा ल्याउने तयारी गरिएको छ । अहिले पुरानो संरचना भत्काइरहेका छौं । नगरपालिकाले जति छिटो अनुमति दिन्छ हामीले त्यति नै छिटो निर्माण पनि थाल्नेछौं ।’ साढे तीन सय कोठा रहने उक्त होटल नेपालकै गौरव गर्न सक्ने संरचनाको रूपमा निर्माण गर्न लागिएको भए पनि मूल्य भने ‘रिजनेवल’ हुने उनले बताए । ‘होटल र आर्केड निर्माण हुन्छ । होटल अलग्गै र आर्केड अलग्गै हुन्छ,’ गुरुङले भने, ‘साढे तीन सय कोठासहितको होटल निर्माण हुन्छ । बैंक्वेट हल २५ सय, २ हजार र १५ सय क्षमताका तीनवटा हुनेछ । धेरै राम्रा कोठा हुनेछन् तर महंगा होइनन् । मूल्य रिजनेबल हुन्छ ।’ आर्केड डेढ वर्षमा र होटल साढे दुई वर्षमा निर्माण सकिने पनि उनले बताए ।
प्रभु केबलकारले ३० करोडको आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा कुमारी क्यापिटल नियुक्त
काठमाडौं । प्रभु केवलकार एण्ड टुरिजम लिमिटेडले आईपीओ जारी गर्ने भएको छ। कम्पनीले चुक्ता पुँजीको तीस करोड रुपैयाँको आईपीओ जारी गर्ने भएकाे हाे । कम्पनीको आईपीओ निष्कासनसम्बन्धी सम्पूर्ण कार्य अघि बढाउनका लागि बिक्री प्रबन्धकमा कुमारी क्यापिटल नियुक्त भएको छ । बिक्री प्रबन्धक नियुक्तिसम्बन्धि सम्झौतापत्रमा प्रभु केवलकारका अध्यक्ष भोजकुमार खड्का र कुमारी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) पुष्प शर्माले हस्ताक्षर गरे । प्रभु केवलकारको लगानीमा तीनवटा केवलकार परियोजना अगाडि बढेका छन् । जसमध्ये बुटवलमा गौतम बुद्धको कुलगुरु ऋषि कालदेवलको आश्रम र पाल्पाको नुवाकोटगढी जाने सिद्धार्थ केवलकार परियोजना गत असोजदेखि व्यावसायिक रूपमा सञ्चालनमा आइसकेका छन् । उक्त केवलकारबाट छोटो समयमा नै ७५ हजारभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटकले यात्रा गरिसकेका छन् । केवलकार बुटवलस्थित फुलबारी पार्क रहेको देउराली डाँडादेखि पाल्पाको नुवाकोटमा पुग्छ, जहाँ राजा मणिमुकुन्द सेनको दरबार, सांस्कृतिक डबली, कामना भैरवको मन्दिर, कर्णेल उजीर सिंहको शालिकलगायत विभिन्न पुरातात्विक सम्पदासमेत रहेका छन् । त्यस्तै, प्रभु केवलकारको लगानीमा सुदूरपश्चिमस्थित बाजुराको बडीमालिका मन्दिर र चितवनको इच्छाकामना मन्दिरमा निकट भविष्यमा केवलकार बनाइ सञ्चालन गर्ने कम्पनीको तयारी रहेको छ । प्रभु केवलकार एण्ड टुरिजम लिमिटेडको आईपीओ निष्कासनका लागि यस कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा ५ करोडभन्दा बढी मुनाफा आर्जन गरेको छ । प्रभु ग्रुप्स एण्ड कम्पनीज अन्तर्गतका प्रभु ऊर्जा कृषि पर्यटन विकास लिमिटेड, प्रभु होल्डिङ्गस् एण्ड हाइड्रो डेभलपमेन्ट कम्पनी लिमिटेड, हाइड्रो होल्डिङ्गस् एण्ड पावर डेभलपमेन्ट कम्पनी लिमिटेड, प्रभु स्टिल्स एण्ड हाइड्रो इक्युपमेन्ट इण्डस्ट्रिज लिमिटेड गरी ४ वटा कम्पनीको मुख्य लगानीमा प्रभु केवलकार एण्ड टुरिजम लिमिटेड स्थापित भएकाे थियाे ।
सेयर लगानीकर्ता घरजग्गामा पसेपछि कारोबारमा सुधार, अब चलायमान हुने अपेक्षा
काठमाडौं । कार्तिक महिनामा घरजग्गाको कारोबार बढेसँगै त्यसबाट संकलन हुने राजस्व पनि वृद्धि भएको छ । २०८१ कार्तिक महिनामा घरजग्गासम्बन्धी ९७ हजार १ सय ९६ वटा कारोबार भएका छन् । जसमध्ये ३३ हजार ५ सय ११ वटा लिखत पारित भएको छ । गत वर्षको कार्तिक महिनामा घरजग्गासम्बन्धी ७७ हजार १८५ वटा कारोबार हुँदा २६ हजार ४६ वटा लिखत पारित भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ । गत वर्षको सोही अवधिको भन्दा यस वर्षको कार्तिक महिनामा जग्गाको कित्ताकाट पनि वृद्धि भएको छ । कार्तिक महिनामा देशभर ३३ हजार ४२२ वटा कित्ता कित्ताकाट भएर ७३ हजार ६८ वटा कित्ता कायम गरिएको छ । गत वर्ष ३० हजार ३८७ वटा कित्ता कित्ताकाट गरेर ७० हजार ११६ वटा कित्तामा विभाजित गरिएको थियो । यसरी घरजग्गाको कित्ताकाट र कारोबार बढेसँगै त्यसबाट संकलन हुने राजस्वमा पनि वृद्धि भएको विभागको तथ्यांकले देखाउँछ । विभागका अनुसार घरजग्गाको कारोबारबाट २०८० कार्तिक महिनामा २ अर्ब ७० करोड ४० लाख रुपैयाँ राजस्व संकलन भएको छ । जुन गत वर्षको कार्तिक महिनाको तुलनामा २४.९६ प्रतिशत बढी हो । गत वर्षको कार्तिक महिनामा घरजग्गाको कारोबारबाट २ अर्ब १६ करोड ३८ लाख रुपैयाँ राजस्व संकलन भएको थियो । सेयर बजारका लगानीकर्ता घरजग्गा कारोबारतर्फ सोझिएपछि घरजग्गाको कारोबार वृद्धि भएको व्यवसायीहरूको भनाइ छ । सेयर बजारमा करेक्सन आएपछि त्यस क्षेत्रमा लगानी गर्ने लगानीकर्ताले घरजग्गामा लगानी गर्न थालेपछि कारोबार वृद्धि भएको नेपाल जग्गा तथा आवास विकास महासंघका महासचिव विष्णुप्रसाद घिमिरेले बताए । उनले भने, ‘पछिल्लो समय सेयर बजार घट्न थालेको थियो । लागनीकर्ताले सेयरको रकमले घरजग्गामा लगानी गर्न थालेपछि घरजग्गाको कारोबार वृद्धि भएको हो ।’ महासचिव घिमिरेका अनुसार पछिल्लो १५ दिन अर्थात तिहारपछि घरजग्गाको कारोबार वृद्धि भएको हो । तिहारपछि देशभर नै कारोबार वृद्धि भएको उनको भनाइ छ । आगामी दिनमा घरजग्गाको कारोबार निरन्तर बढ्दै जाने उनको दाबी छ । घरजग्गाको कारोबारलाई अझै प्रभावकारी बनाउन सरकारले पनि यस क्षेत्रलाई ध्यान दिनुपर्नेमा उनले जोड दिए । नेपाल राष्ट्र बैंकले यस क्षेत्रमा केही खुकुलो नीति लिएको खण्डमा कारोबार पनि बढ्ने र त्यसबाट सरकारलाई प्राप्त हुने राजस्व पनि बढ्ने उनको बुझाइ छ । सरकारलाई राजस्व चाहिने तर राजस्व वृद्धि गर्न यस क्षेत्रमा गर्नुपर्ने सुधारात्मक कामहरूमा ध्यान नदिएको गुनासो महासचिव घिमिरेको छ । नेपाल राष्ट्र बैंकले मासिक किस्तामा वैध आम्दानीको ७० प्रतिशतवाला व्यवस्थालाई सच्याउनु पर्ने उनले बताए । यसैगरी, घरजग्गा खरिद गर्ने जनताले बैंकलाई तिर्ने मासिक किस्ता वैध आम्दानीको ७० प्रतिशत हुनुपर्ने व्यवस्था रहेको बताउँदै उनले यसलाई बढाउनुपर्नेमा जोड दिए । यस्तै, अढाई करोड रुपैयाँसम्मको घर किन्न सरकारले सहुलियत गरिदिएको भएपनि त्यो प्रभावकारी नभएको उनको भनाइ छ । सरकारले एकातिर भन्ने अनि अर्कोतिर व्यवस्थाले कस्ने नीति ल्याएकाले प्रभावकारी हुन नसकेको महासचिव घिमिरेले बताए । उनले हिसाब गर्दै भने, ‘मानौं अढाई करोडको घर किन्दा एक करोड आफै लगानी गरेर बाँकी डेढ करोड बैंकबाट लगानी कर्जा लिइयो ।डेढ करोडको किस्ता मासिक रूपमा कम्तिमा पनि ३ लाख बढी तिर्नु पर्छ । ३ लाख किस्ता तिर्न मासिक ४ लाख ५० हजारभन्दा बढी वैध आम्दानी हुनु पर्छ ।’ सरकारको यस नीतिअनुसार एउटा सचिवले घरजग्गा किन्न नसक्ने अवस्था छ । सचिवको वैध तलब ७० हजार रुपैयाँको हाराहारी छ । उसले एक करोडको कर्जा लिएको खण्डमा २ लाख रुपैयाँको हाराहारीमा मासिक किस्ता भुक्तानी गर्नुपर्छ । त्यसको लागि उसको वैध तलब ३ लाख हुनु पर्दछ । राष्ट्र बैंकले यस व्यवस्थालाई मात्र सच्याए पनि घरजग्गाको कारोबार ह्वात्तै बढ्ने महासचिव घिमिरेको दाबी छ । यस्तै, महासंघले घरजग्गा व्यवसाय सुधारका लागि सरकारले सुधार्नुपर्ने विषयहरू समेटेर नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई ज्ञापनपत्र पनि बुझाएको थियो । महासंघले अफ्ना विभिन्न ६ मागसहितको पत्र गभर्नरलाई बुझाएको हो । यस्ता छन् माग (१) अनुमति प्राप्त रियल स्टेट कम्पनीलाई प्रवाह हुँदै आएको कर्जामा कर्जा र धितोको अनुपात ८० प्रतिशत कायम गर्नुपर्ने । (२) कर्जा र आम्दानीको अनुपात ८० प्रतिशत गर्नुपर्ने । (३) रियल इस्टेट व्यवसाय गर्ने कम्पनीहरुलाई प्रदान गरिने कर्जाको जोखिम भार १०० प्रतिशत कायम गर्नुपर्ने । (४) रियल स्टेट कर्जाको पुनर्तालिकीकरण / पुनर्संरचना गर्नुपर्ने । (५) अर्थतन्त्र चलायमान नभएको वर्तमान परिप्रेक्ष्यमा कर्जाको प्रिमियम घटाउनुपर्ने । (६) रियल इस्टेट कर्जालाई वर्किङ क्यापिटल गाइडलाइन लागू नगर्नका लागि स्पष्ट निर्देशन दिनुपर्ने ।
सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक पदका लागि आवेदन माग (सूचनासहित)
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक पदका लागि आवेदन माग गरेको छ । मन्त्रालयले सोमबार एक सार्वजनिक सूचना प्रकाशित गर्दै दरखास्त पेस गर्न आह्वान गरेको छ । सरकारले तोकिएका योग्यता पुगेको व्यक्ति कार्यकारी निर्देशक पदमा उम्मेदवार हुन पाउने गरी सूचना निकालेको छ । कम्तीमा ३० वर्ष उमेर पूरा भएको तथा मान्यता प्राप्त विश्वविद्यालयबाट कम्प्युटर इन्जिनियरिङ, इलेक्ट्रिकल इन्जिनियरिङ, इलेक्ट्रोनिक्स इन्जिनियरिङ, मेकानिकल इन्जिनियरिङ, सूचना प्रविधि वा व्यवस्थापन विषयमा स्नातकोत्तर उपाधि हासिल गरेको व्यक्तिले आवेदन दिनसक्नेछन् । इच्छुक र तोकिएको योग्यता पुगेका उम्मेदवारले १० दिनभित्र मन्त्रालयको संस्थान समन्वय शाखामा दरखास्त पेस गर्न सक्ने सूचनामा उल्लेख छ ।