नेपाल प्रिमियर लिगको खेल तालिका सार्वजनिक, यस्तो छ तालिका ?
काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान)ले यही मङ्सिर १५ गतेदेखि हुने नेपाल प्रिमियर लिग (एनपिएल)को खेल तालिका सार्वजनिक गरेको छ । क्यानले सोमबार नेपाल प्रिमियर लिगको खेल तालिका सार्वजनिक गरेको हो । क्यानका अनुसार मङ्सिर १५ गते हुने उद्घाटन खेलमा विराटनगर किङ्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुनेछ । उद्घाटन खेल मध्याह्न १२ः१५ बजे त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा हुनेछ । मङ्सिर १६ गते कुनै पनि खेल राखिएको छैन । कीर्तिपुर नगरपालिकासहित देशका विभिन्न स्थानमा हुन गइरहेको स्थानीय तहको उपनिर्वाचनले मङ्सिर १६ गते कुनै पनि खेल नराखिएको हो । मङ्सिर १७ देखि २४ गतेबाहेक पुस १ गतेसम्म निरन्तर लिग चरणका खेल हुनेछन् । मङ्सिर १७ देखि मङ्सिर ३० गतेसम्म (मङ्सिर २४ गतेबाहेक) दिनमा दुई वटा खेल हुनेछन् । पहिलो खेल बिहान ९ः१५ बजेदेखि र दास्रो खेल दिउँसो १ः१५ बजेदेखि सुरु हुनेछ । पुस १ गते भने एक खेलमात्रै हुनेछ । यस्तो छ लिग चरणको खेल तालिका ? मङ्सिर १५ गते हुने उद्घाटन खेलमा विराटनगर किङ्ग्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा भएपछि दोस्रो खेल मङ्सिर १७ गते हुनेछ । यस्तै १७ गते बिहान ९ः१५ बजे हुने पहिलो खेलमा काठमाडौं गुर्खाज र चितवन राइनोज भिड्नेछन् भने दिउँसो १ः१५ बजेदेखि हुने दोस्रो खेलमा जानकपुर बोल्टस् र कर्णाली याक्स भिड्नेछन् । मङ्सिर १८ गतेको पहिलो खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्स, दोस्रो खेलमा चितवन राइनोज र पोखरा एभेञ्जर्सबीच प्रतिस्पर्धा हुनेछ । यसैगरी १९ गते पहिलो खेलमा कर्णाली याक्स र काठमाडौं गुर्खाज, दोस्रो खेलमा विराटनगर किग्ङ्स र लुम्बिनी लायन्स भिड्नेछन् भने २० गते हुने पहिलो खेलमा पोखरा एभेञ्जर्स र जनकपुर बोल्ट्स, दोस्रो खेलमा काठमाडौं गुर्खाज र सुदूरपश्चिम रोयल्सबीच खेल हुनेछ । यस्तै २१ गते पहिलो खेलमा कर्णाली याक्स र चितवन राइनोज, दोस्रो खेलमा लुम्बिनी लायन्स र पोखरा एभेन्जर्स भिड्नेछन् भने २२ गते हुने पहिलो खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम, दोस्रो खेलमा कर्णाली याक्स र विराटनगर किङ्ग्सबीच खेल हुनेछ । मङ्सिर २३ गते पहिलो खेलमा जनकपुर बोल्टस् र लुम्बिनी लायन्स, दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच भिडन्त हुने क्यानले जारी गरेको खेल तालिकामा उल्लेख गरिएको छ । त्यस्तै २५ गते हुने पहिलो खेलमा चितवन राइनोज र लुम्बिनी लायन्स, दोस्रो खेलमा कर्णाली याक्स र पोखरा एभेञ्जर्सबीच भिडन्त हुनेछ । यही २६ गते पहिलो खेलमा जनकपुर बोल्टस् र सुदूरपश्चिम रोयल्स, दोस्रो खेलमा काठमाडौं गुर्खाज र लुम्बिनी लायन्स भिड्नेछन् । मङ्सिर २७ गते हुने पहिलो खेलमा पोखरा एभेञ्जर्स र विराटनगर किङ्ग्स, दोस्रो खेलमा जनकपुर बोल्टस् र काठमाडौं गुर्खाज भिड्नेछन् भने २८ गतेको पहिलो खेलमा लुम्बिनी लायन्स र कर्णाली याक्स, दोस्रो खेलमा विराटनगर किङ्ग्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुनेछ । त्यसैगरी २९ गते हुने पहिलो खेलमा पोखरा एभेञ्जर्स र काठमाडौं गुर्खाज, दोस्रो खेलमा चितवन राइनोज र जनकपुर बोल्टस्बीच खेल हुनेछ भने ३० गतेको पहिलो खेलमा विराटनगर किङ्ग्स र काठमाडौं गुर्खाज र दोस्रो खेलमा पोखरा एभेञ्जर्स र सुदूरपश्चिम रोयल्स भिड्नेछन् । लिग चरणका खेलहरु सकिएपछि शीर्ष चारमा रहने टोली प्लेअफमा प्रवेश गर्नेछन् । आगामी पुस ३ गते पहिलो क्वालिफायर र इलिमिनेटर खेल हुनेछ । ३ गते बुधबार बिहान ९ः१५ बजे इलिमिनेटर खेल हुनेछ । जसमा लिग चरणको खेलमा तेस्रो र चौथो स्थानमा रहने टोलीबीच प्रतिस्पर्धा हुनेछ । इलिमिनेटर खेलमा विजयी हुने टोलीले दोस्रो क्वालिफायरमा स्थान बनाउनेछन् । त्यस्तै पुस ३ गते नै दिउँसो १ः१५ बजे पहिलो क्वालिफायरको खेल हुनेछ जसमा लिग चरणको शीर्ष स्थानमा रहेको टोली र दोस्रो स्थानमा रहेको टोली भिड्नेछन् । पहिलो क्वालिफायरको खेल जित्ने टोली सिधै फाइनलमा प्रवेश गर्छ भने पराजित भएको टोलीले दोस्रो क्वालिफायरको खेलमा स्थान बनाउँदै पुनःएकपटक फाइनलमा पुग्ने अवसर पाउँछ । दोस्रो क्वालिफायर खेल पुस ४ गते बिहीबार मध्याह्न १२ः१५ बजे हुनेछ । जसमा पहिलो क्वालिफायरमा पराजित भएको टोली र इलिमिनेटर खेलमा विजयी भएको टोलीबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो क्वालिफायर खेल जित्ने टोली फाइनलमा प्रवेश गर्छ । एनपिएलको फाइनल खेल आगामी पुस ६ गते शनिबार मध्याह्न १२ः१५ बजे हुनेछ । फाइनल खेलमा पहिलो क्वालिफायर खेल जितेको टोली र दोस्रो क्वालिफायर जित्ने टोली उपाधिका लागि भिड्नेछन् ।
बाढीले ९ वटा पुलमा क्षति गरेपछि र्याफ्टिङको व्यवस्था
फाइल फोटो काठमाडौं । गत असोज १० देखि १२ गतेसम्म परेको अविरल वर्षाका कारण आएको बाढीले रामेछाप र सिन्धुली जिल्लालाई जोड्ने ९ वटा पुलमा क्षति पुगेको छ । सुनकोसी नदीमा आएको बाढीले सिन्धुली र रामेछाप जोड्ने ती पुल क्षति हुँदा स्थानीयलाई आवतजावतमा समस्या भएको हो । सुनकोसीमा आएको बाढीले खुर्कोटको पक्की र झोलुङ्गे पुल, खैरेनीघाटको पक्की पुल, सित्खा, बेलघारी, हर्दिनिघाट, बिर्ता, पुछिघाट र मन्सुली घाटको झोलुङ्गे पुल पूर्ण रुपमा क्षति पुर्याएको जिल्ला विपद् व्यवस्थापन समिति रामेछापका संयोजक राजुप्रसाद पौडेलले बताए । बाढीले बगाएको खुर्कोट र खैरेनी घाटको पक्की पुलमध्ये खुर्कोटमा सेनाको सक्रियतामा बेलिब्रीज निर्माण गरी सञ्चालनमा आइसकेको छ भने खैरेनीघाटको पुल भने अझै निर्माण सुरु हुन नसकेको उनको भनाइ छ । बाढीले विभिन्न ठाउँको झोलुङ्गे पुल बगाएपछि समस्यामा रहेका स्थानीयको सहजताका लागि खाँडादेवी गाउँपालिकाले पालिकाभित्र ‘र्याफ्टिङ’ व्यवस्था गरेको छ । खाँडादेवी गाउँपालिका-१ राकाथुमस्थित दुई वटा झोलुङ्गे पुलमा बाढीले क्षति गरेको वडाध्यक्ष रामकुमार श्रेष्ठले बताए । पुल बाढीले बगाएपछि तत्कालका लागि र्याफ्टिङमार्फत कोसी वारपार गर्ने व्यवस्था मिलाइएको उनले जानकारी दिए । पुल बगाएपछि शिक्षा, स्वास्थ्य उपचारलगायतमा सहज सेवा लिन स्थानीयलाई समस्या भएपछि स्थानीयको मागअनुसार अस्थायी रुपमा रयाफ्टिङ सञ्चालन गरिएको खाँडादेवी गाउँपालिकाका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले जानकारी दिए । सुनकोसीमा आएको बाढीले झोलुङ्गे तथा पक्की पुलसमेत बगाएपछि गाउँपालिकाका विभिन्न स्थानका नागरिक समस्यामा परेका छन् । सोही पालिका–४ स्थित पुछिघाटको पुलमा बाढीले क्षति पु¥याएपछि खाल्टेमा अध्ययन गर्न जानेआउने विद्यार्थी जोखिम मोलेर आवतजावत गर्न बाध्य छन् । खाँडादेवी गाउँपालिकाको कोथबे, पुछिघाट लुवु, डप्खालगायत स्थानका माझी समुदायले कोसी वारपार गर्न र्याफ्टिङ बोर्डको माग गरेका छन् । गाउँपालिकाले कोथबे र लुवुघाटका माझी समुदायलाई कोसी वारपार गर्ने सुविधाका लागि र्याफ्टिङ बोर्ड उपलब्ध गराइएको अध्यक्ष श्रेष्ठले बताए । उनले तालिम प्राप्त र्याफ्टिङ चालको अनुमति लिएका चालकबाट ‘लाइफज्याकेट’ प्रयोग गरी स्थानीयलाई आवतजावतको सुविधा दिने व्यवस्था गरिएको जानकारी दिए । र्याफ्टिङले स्थानीयलाई स्वास्थ्योपचार सेवा लिन तथा कृषिकर्मका लागि कोसी वारपार गर्न केही भए पनि सहज भएको गाउँपालिकाका अध्यक्ष श्रेष्ठको भनाइ छ ।
बाढीको दाबी भुक्तानी गर्न बीमा कम्पनीको आलटाल, पौने १२ अर्बमा ५ प्रतिशत मात्रै भुक्तानी
काठमाडाैं । बीमा कम्पनीहरूले बाढीपहिरोका कारण धनसम्पत्तिमा क्षति भएका बीमितको दाबी भुक्तानीमा आलटाल गरेको देखिएको छ । बाढी पहिरोबाट ठूलो क्षति बेहोरेका बीमितले बीमा रकम दाबी गरेको लामो समय भइसक्दा पनि भुक्तानी गरेका छैनन् । बाढी पहिरोबाट क्षति बेहोरेका बीमितले हालसम्म पौने १२ अर्ब बीमा रकम दाबी गरेका छन् । तर, त्यसको ५ प्रतिशत अर्थात् ६१ करोड रुपैयाँ मात्रै कम्पनीले भुक्तानी गरेका छन् । कार्तिक २८ गतेसम्म बीमा कम्पनीहरूले ६१ करोड ७ लाख ९३ हजार रुपैयाँ दाबी भुक्तानी दिएका हुन् । बीमितले बाढी पहिरोबाट क्षति भएको भन्दै बीमा कम्पनीहरुमा ११ अर्ब ८२ करोड रुपैयाँको दाबी पेस गरेका छन् । नेपालमा सञ्चालनमा रहेका चार लघु निर्जीवनसहित १८ वटा निर्जीवन बीमा कम्पनीले उक्त दाबी भुक्तानी दिएका हुन् । जसमध्ये सबैभन्दा धेरै शिखर इन्स्योरेन्सले दाबी भुक्तानी गरेको छ । शिखर इन्स्योरेन्सले २६ करोड ६ लाख रुपैयाँ दाबी भुक्तानी दिएको छ । शिखरमा एक अर्ब ९८ लाख रुपैयाँ दाबी पेस भएको थियो । यसैगरी, सिद्धार्थ प्रिमियरमा २ अर्ब ६० करोड २४ लाख रुपैयाँ दाबी पेस भएको थियो । सो कम्पनीले ९ करोड ३७ लाख भुक्तानी दिएको छ । नेको इन्स्योरेन्सले ६ करोड ९० लाख रुपैयाँ दाबी भुक्तानी दिएको छ । नेकोमा ७६ करोड ३९ लाख रुपैयाँको दाबी पेश भएको थियो । १ अर्ब ३६ करोड दाबी पेश भएको सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ५ करोड ८२ लाख भुक्तानी गर्दा १ अर्ब ९ लाख दाबी पेश भएको हिमालयन एभरेष्टले ४ करोड ६१ लाख रुपैयाँ भुक्तानी दिएको छ । यसैगरी, आईजीआई प्रुडेन्सियलले ३ करोड ९ लाख, सानिमा जीआईसीले २ करोड ५८ लाख र नेपाल इन्स्योरेन्सले १ करोड ८ लाख रुपैयाँ दाबी भुक्तानी दिएका छन् । राष्ट्रिय जीवन बीमा कम्पनी र ट्रष्ट माइक्रो इन्स्योरेन्स कम्पनीले एक रुपैयाँ पनि भुक्तानी दिएको छैन । उक्त कम्पनीहरूमा क्रमशः २० करोड ६७ लाख र १५ करोड २० लाख रुपैयाँ दाबी पेश भएको थियो । दाबी र भुक्तानीकाे तथ्यांक
अमेरिकापछि विश्वव्यापी लगानीको दोस्रो ठूलो केन्द्र भारत बन्ने
काठमाडौं । वाल स्ट्रीटका दिग्गजहरूले डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालमा भारत अमेरिकापछि विश्वव्यापी लगानीको दोस्रो ठूलो केन्द्र बन्ने भविष्यवाणी गरेका छन् । सिटीग्रुप इंकका कार्यकारी उपाध्यक्ष विश्वास राघवनले ३ ट्रिलियन अमेरिकी डलरभन्दा बढी लगानी गर्न तयार रहेका लगानीकर्ता चुनिने बताए । सार्वजनिक र निजी बजारबीच तिनीहरूको लगानी प्रवाहमा भिन्नता हुनेछ । राघवनका अनुसार ट्रम्पले अमेरिकालाई फेरि उत्पादनको हब बनाउने कुरामा जोड दिइरहेका बेला बहुराष्ट्रिय कम्पनीहरूले आफ्नो लगानी योजना परिवर्तन गरिरहेका छन् । यद्यपि, नीति परिवर्तनले विश्वव्यापी व्यापार प्रणालीलाई अस्थिर बनाउन सक्छ । तर, अमेरिकामा रोजगारी बढ्ने अपेक्षा गरिएको छ । भारतको मुम्बईमा हुर्केका राघवनले भारत आफैमा ठूलो बजार भएको बताए । साथै, ट्रम्पको पक्षमा हुनुले भारतलाई ठूलो फाइदा हुन सक्छ । कुन–कुन क्षेत्रमा लगानीकर्ताको चासो ? दिग्गज बैंकरले ऊर्जा, पूर्वाधार र उपभोक्ता क्षेत्र अन्तर्राष्ट्रिय लगानीकर्ताको चासोको विषय हुनसक्ने बताए । यद्यपि, वातावरणमैत्री स्रोतहरूमा ध्यान केन्द्रित गर्न र ठूलो जनसंख्याको जरुरतको पूरा गर्न आवश्यक छ । राघवनले भने, ‘भारतजस्तो ठाउँको सुन्दरता यो हो कि यहाँ जे उत्पादन हुन्छ, त्यसलाई पनि उपभोग गर्न सकिन्छ । जबकि बेलायत वा अन्य कुनै देशलाई हेर्नुभयो भने तपाईंले उत्पादनलाई यताउता पठाउनुपर्ने हुन्छ ।’ उनका अनुसार बढ्दो आय र जनसङ्ख्याको पूरा नहुने मागले भारतलाई वस्तु तथा सेवाका लागि उत्कृष्ट बजार बनाएको छ । उत्पादनमा सरकारको ध्यान केन्द्रित, नयाँ धनी वर्गको उदय र प्रमुख बजारमा ७ प्रतिशतको वार्षिक चक्रवृद्धिले बढिरहेको अर्थतन्त्रको साथ सबैभन्दा छिटो लगानीको प्रवाह बढ्ने अपेक्षा गरिएको छ । भारतीय बजारको उत्कृष्ट प्रतिफल भारतीय स्टक बजारले विगत दुई दशकमा अमेरिकी डलरको सर्तमा उदीयमान बजारहरूमध्ये उत्कृष्ट प्रतिफल दिएको छ । कारण यो हो कि यहाँको आम्दानी बढिरहेको छ । तर त्यो अब रोकिएको जस्तो देखिन्छ, किनकि पोर्टफोलियो लगानीकर्ताहरूले विगत दुई महिनामा १३ बिलियन बेचेका छन् । राघवनले द्रुत रूपमा बढ्दो सम्पत्ति र बैंकिङ सुधारहरूले पनि भारतीय कर्पोरेटहरूलाई ऋणमुक्त बनाएको बताए । भारत ग्लोबल प्लेटफर्ममा सबैभन्दा अगाडि छ । यसले सिटीग्रुपलाई आफ्नो व्यवसाय पुनर्निर्माण गर्ने अवसर दिन्छ । राघवनले भने, ‘अहिले हामीसँग यस्ता कम्पनी छन् जो आफ्नो वर्गमा उत्कृष्ट छन् । उनीहरूले भारतलाई विश्वसामु ल्याउन अभूतपूर्व काम गर्न सक्छन् । मलाई यी धेरै नाम थाहा छ ।’
कीर्तिपुरका उम्मेदवार विरुद्ध परेन उजुरी
काठमाडौं । कीर्तिपुर नगरपालिकाको प्रमुख र दुई वडाध्यक्षको उम्मेदवार विरुद्ध उजुरी नपरेको निर्वाचन अधिकृतको कार्यालयले जानकारी गराएको छ । २ मंसिर (हिजो) भएको उम्मेदवारको मनोनयन दर्ता विरुद्ध उजुरीका लागि आज समय तोकिएको थियो । दिउँसो ३ बजेसम्मका लागि तोकिएको समयावधिमा कुनै पनि उजुरी नपरेको कार्यालयले बताएको छ । कीर्तिपुर नगरपालिकाको प्रमुख पदमा दलगत ९ र स्वतन्त्र ११ जनाले उम्मेदवारी दिएका थिए । वडा नम्बर १ र २ गरी २२ जनाले वडाध्यक्षमा उम्मेदवारी दिएका छन् । दलगत रूपमा नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), एकीकृत समाजवादी, जनमत, जनता समाजवादी, नेपाल मजदुर किसान पार्टी र नेपाल समाजवादी पार्टीले प्रमुख पदमा उम्मेदवारी दिएका छन् ।
सुन धितो राखेर कुन बैंकले कति दिन्छ ऋण ? यस्तो छ प्रक्रिया
काठमाडौं । पछिल्लो समय सुनको मूल्यमा ठूलो उतारचढाव आइरहेको छ । लामो समय बढेर केही दिनअघि मात्रै घट्न थालेको सुन पुनः बढ्न थालेको छ । सोमबारमात्रै सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढ्यो । सोमबार सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढेर प्रतितोला १ लाख ६१ हजार रुपैयाँमा कारोबार भयो । हिजो सुन प्रतितोला १ लाख ६० हजार रुपैयाँमा कारोबार भएको थियो । यसरी सुनको मूल्यमा उतारचढा आइरहँदा सुनलाई धितोका रूपमा बैंकमा राखेर ऋण लिनेहरू पनि धेरै छन् । बैंक तथा वित्तीय संस्थाले पनि सुनलाई धितोका रूपमा राखेर ऋण दिइरहेका हुन्छन् । नेपाल राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकले सुन तथा चाँदीमा ५५ अर्ब ६० करोड रुपैयाँ लगानी गरेका छन् । चालु आर्थिक वर्षको असोजसम्मको तथ्यांकअनुसार वाणिज्य बैंकहरूले सो लगानी गरेका हुन् । सरकारी स्वामित्वका नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकले भने सुनमा लगानी बढाएका छन् । यो अवधिसम्म नेपाल बैंकले २३ अर्ब ८३ करोड ४० लाख रुपैयाँ सुनमा लगानी गरेको छ भने राष्ट्रिय वाणिज्य बैंकले २० अर्ब ८१ करोड ९० लाख रुपैयाँ लगानी गरेको छ । यी दुई सरकारी बैंकबीच लगानीमा ठूलो प्रतिस्पर्धा देखिन्छ । यस्तै, यो अवधिमा प्राइम कमर्सियल बैंकले ६ अर्ब ७३ करोड ८० लाख, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले १ अर्ब ८७ करोड ४० लाख, लक्ष्मी सनराइजले ७२ करोड, सिटिजन्सले ६९ करोड ७० लाख, नबिलले ६२ करोड र माछापुच्छ्रेले १६ करोड ६० लाख रुपैयाँ सुनमा लगानी गरेको छ । राष्ट्र बैंकको तथ्यांकअनुसार प्रभुले ७ करोड ६० लाख, एनआईसी एशियाले २ करोड २० लाख, कृषि विकासले १ करोड ६० लाख, सिद्धार्थले १ करो २० लाख, कुमारीले २० लाख, सानिमाले साढे ८ लाख र एनएमबिले करिब ७ लाख रुपैयाँ लगानी गरेको छ । तथ्यांकअनुसार आधा दर्जन बैंक्ले भने सुन कर्जा दिएका छैनन् । स्ट्याण्डर्ड चार्टर्ड बैंक, हिमालयन, नेपाल एसबिआई, एभरेष्ट र ग्लोबल आइएमई बैंकले सुन कर्जा प्रवाह गरेका छैनन् । राष्ट्र बैंकका अनुसार सन् २०२४ को हालसम्म बैंक तथा वित्तीय संस्थाले कुल ६० अर्ब ७१ करोड ३० लाख रुपैयाँ लगानी गरेका छन् भने २०२३ मा ५५ अर्ब ५३ करोड ३० लाख र सन् २०२२ मा ५२ अर्ब ७८ करोड १० लाख रुपैयाँ ऋण लगानी गरेका थिए । नेपाल राष्ट्र बैंकले गत असोजमा एकीकृत निर्देशन जारी गर्दै सुनचाँदी धितोमा ५० लाख रुपैयाँसम्म मात्रै कर्जा पाइने व्यवस्था गरेको थियो । राष्ट्र बैंकले यस्तो कर्जामा एकल ग्राहक कर्जा सीमा ताकेको थियो । यो व्यवस्थाले पनि बैंकहरूले सुनधितो कर्जा उल्लेख्य रूपमा बढाएका छैनन् । कसरी लिने सुन कर्जा ? सुन कर्जा लिनका लागि अन्य कर्जा लिएसरह नै प्रक्रिया अपनाउनु पर्ने हुन्छ । सुनलाई धितोको रूपमा राखेर बैंकबाट कर्जा लिनेले सम्बन्धित बैंकमा कर्जाको फारम भर्नु पर्ने हुन्छ । कर्जा लिन चाहनेले आफ्नो तीन पुस्तेसहितको विवरण फारममा ऋण लिन चाहनुको उद्देश्य, धितो राख्ने सुनको परिमाण र कर्जा रकम लगायतका विवरण भर्नु पर्ने हुन्छ । बैंकले धितोको सुनको निश्चित परिमाण ऋण दिने गरेका छन् । बैंकले धितोको अधिकतम् ८० प्रतिशत ऋण दिने गरेका छन् ।
पूर्वसभामुख ढुंगानाको राजकीय सम्मानका साथ अन्त्येष्टि
काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको पशुपतिनाथस्थित आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । आर्यघाटमा उनको सम्मानमा नेपाली सेनाको एक टुकडीले शोक सलामी अर्पण गरेको थियो । ढुंगानाको पार्थिव शरीरमा उनका छोराहरूले दागबत्ती दिए । पूर्वसभामुख ढुंगानाको सम्मानमा १७ तोपको सलामी समेत दिइएको थियो । कलेजोसँग सम्बन्धित समस्याका कारण केही समयदेखि उपचाररत पूर्वसभामुख ढुंगानाको आईतवार ८३ वर्षको उमेरमा उपचारका क्रममा पुरानो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा निधन भएको थियो ।
पुलमा भ्वाङ परेपछि विमानस्थल जोड्ने सडक अवरुद्ध
झापा । पूर्वी नाका काँकडभिट्टाबाट चन्द्रगढी विमानस्थल जाने धुलाबारी–भद्रपुर सडक हडिया पुलमा भ्वाङ परेका कारण अवरुद्ध भएको छ । भद्रपुर र मेचीनगर नगरपालिकाको सिमानामा रहेको हडिया नदीको पक्की पुलको पश्चिम भागमा विगत एक वर्षअघि भ्वाङ परेको थियो । मर्मतसम्भार नगरिँदा भ्वाङ बढेर अहिले पुलबाट चार चक्के सवारी साधनको आवतजावत अवरुद्ध भएको हो । भ्वाङ बढेर पुलबाट गाडी वारपार गर्न नसकिने अवस्था सिर्जना भएका कारण बस र सानो आकारका गाडीले सेवा बन्द गरेको मेचीनगर–१५ निवासी हिरण्य न्यौपानेले बताए । धुलाबारीबाट ज्यामिरगढी हुँदै भद्रपुर जाने टेम्पो, म्याजिक भ्यान लगायतका सवारी साधनले उत्तरी झापाका सर्वसाधारणलाई भद्रपुरस्थित प्रादेशिक अस्पताल, मेची बहुमुखी क्याम्पस, जिल्ला प्रशासन, मालपोत, नापी लगायतका सरकारी कार्यालय जान सुविधा पुर्याउँदै आएका थिए । ‘पुलमै भ्वाङ परेपछि यात्री बोक्ने चार चक्के कुनै पनि गाडी चलेका छैनन्’, स्थानीय न्यौपानेले भने, ‘जनताले साह्रै दुःख पाए, सरकारले पुल मर्मत गर्ने या अर्को पुल बनाउने बारेमा कुनै चासो दिएन ।’ भूटान, भारतको सिक्किम, दार्जिलिङ, कोलकाता, आसाम लगायतका स्थानबाट नेपाल आउने पर्यटकले चन्द्रगढी विमानस्थल प्रयोग गर्न सोही सडक प्रयोग गर्दै आएका थिए । अब उनीहरुले विर्तामोड र चारआलीको अर्को लामो सडक प्रयोग गर्नुपरिरहेको छ । ज्यामिगरढी क्षेत्रबाट चन्द्रगढी र भद्रपुरका विद्यालयमा अध्ययनका लागि जाने विद्यार्थी यातायात अवरुद्ध हुँदा सकसमा परेका छन् । भद्रपुर र चन्द्रगढीबाट आउने विद्यालयका गाडीले पुलको पश्चिमी किनारामा विद्यार्थीलाई ओरालेर फर्किने गरेका छन् । आफ्ना छोराछोरीलाई लिन ज्यामिरगढीका अभिभावक पुलसम्मै मोटरसाइकल र सिटी सफारी लिएर पुग्न बाध्य छन् । यसैबीच भद्रपुर र मेचीनगर नगरपालिकाका नगर प्रमुखद्वय गणेश पोखरेल र गोपाल बुढाथोकीले आइतबार भ्वाङ परेको पुलको निरीक्षण गरेका छन् । विगत एक वर्षदेखि भ्वाङ परेको पुललाई मर्मत गर्नेतर्फ दुवै नगरपालिकाले चासो नदेखाएको स्थानीयको आरोप छ । ‘एउटा नगरपालिकाले अर्कोलाई देखाएर समस्याबाट फुत्किने जुक्ति मात्र लगाएर हुँदैन’, भद्रपुर–९ निवासी राहुल राजवंशी भन्छन्, ‘करोडौँको बजेट बनाउने नगरपालिकाले भत्किएको पुलसमेत टाल्न नसक्दा यो अवस्था आयो ।’ नगरपालिकाहरुले पूर्वाधार शुल्क भनेर सवारी साधनबाट कर उठाउने गरेको जनाउँदै राजवंशीले पुल मर्मत गर्ने दायित्वबाट दुवै नगरपालिका पन्छिन नहुने बताए । रासस