विकासन्युज

४ महिनामा सरकारले लियो १ खर्ब ६५ अर्ब सार्वजनिक ऋण, कति पुग्यो ?

काठमाडाैं । चालु आर्थिक वर्ष २०८१/०८२ को पहिलो चार महिनामा करिब ८४ अर्ब रुपैयाँ सार्वजनिक ऋण थपिएको छ । चालु आवको ४ महिनामा नेपालले तिर्नुपर्ने ऋण ८३ अर्ब ९५ करोड रुपैयाँले वृद्धि भएको सार्वजनिक ऋण व्यवस्थापन कार्यलयले जनाएको छ । कार्यालयका अनुसार कार्तिक मसान्तसम्म नेपालको सार्वजनिक ऋण २५ खर्ब १८ अर्ब ५ करोड रुपैयाँ पुगेको छ । यो कुल ग्राहस्थ उत्पादनको ४४.१४ प्रतिशत हो । कुल सार्वजनिक ऋण मध्ये १२ खर्ब ५२ अर्ब १६ करोड रुपैयाँ आन्तरिक र १२ खर्ब ६५ अर्ब ८९ लाख वह्य ऋण रहेको कार्यालयले जनाएको छ । गत आवको अन्त्यसम्ममा नेपालको सार्वजनिक ऋण २४ खर्ब ३४ अर्ब ९ करोड रुपैयाँ रहेको थियो । कार्तिक मसान्तसम्ममा सरकारले १ खर्ब ६५ अर्ब ७१ करोड रुपैयाँ ऋण लिएको छ भने ८६ अर्ब ३१ करोड ऋण तिरेको छ । विनिमय दर उतावचढावका कारण ४ अर्ब ५६ करोड ऋण वृद्धि भएको छ । सरकारले चालु आर्थिक वर्षमा लागि ५ खर्ब ४७ अर्ब रुपैयाँ सार्वजनिक ऋण उठाउने लक्ष लिएको छ । जसमध्ये आन्तरिक तर्फ ३ खर्ब ३० अर्ब र बाह्य तर्फबाट २ खर्ब १७ अर्ब ऋण उठाउने लक्ष सरकारले राखेको छ । कार्तिक मसान्तसम्ममा ३०.३० प्रतिशत ऋण लिइसकेका छ । प्रतिशतका आधारमा आन्तरिक तर्फ ४३.६४ र वाह्य तर्फबाट १०.०१ प्रतिशत ऋण लिएको छ ।

महालक्ष्मी विकास बैंकले ८.९९ प्रतिशतमै हरित घर कर्जा प्रदान गर्ने

काठमाडौं । महालक्ष्मी विकास बैंकले ग्राहकहरुलाई लक्षित गरी महालक्ष्मी हरित घर कर्जा एकल अंकको ब्याजदर ८.९९ प्रतिशतमा नै प्रदान गर्ने भएको छ । दिगो र वातावरणमैत्री कर्जा प्रदान गर्ने बैंकको निति बमोजिम बैंकले यस्तो कर्जा प्रदान गर्न लागेको हो । बैंककाअनुसार जल उर्जा, फोहोर पानी निर्मलीकरण, वायु उर्जा, सौर्य उर्जा, जैविक उर्जा लगायतका कृषि तथा वन जंगलमा आधारित भएर निर्माण गरिने घरको लागि यस्तो कर्जा प्रदान गरिनेछ । न्यूनतम २ वर्षदेखि अधिकतम ३० वर्ष अवधी रहने गरी बैंकले कर्जा प्रदान गर्नेछ । यस्तो कर्जा वातावरणीय विशेषता पुष्टी गर्न सक्ने तथा नवीकरणीय वा दिगो स्रोतहरुको प्रयोग गरेर-गरिएका घर खरिद गर्न, घर निर्माण गर्न, अर्पाटमेन्ट खरिद गर्न, घर थप-पुर्ननिर्माण-मर्मत सम्भार गर्न प्रदान गरिने बैंकले जनाएको छ । यस्तो कार्यबाट वातावरण संरक्षण गर्न, दिगो विकासको प्रर्वद्धन गर्न तथा नेपाल राष्ट्र बैकको नियामकीय निर्देशनको पालना गर्न समेत सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

दुर्गा प्रसाईंलाई लगियो अस्पताल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध भ्रामक प्रचार गरेको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई वीर अस्पताल लगिएको छ । मंगलबार बिहान भक्तपुरस्थित निवासबाट पक्राउ परेका प्रसाईंलाई प्रहरीले स्वास्थ्य जाँचका लागि अस्पताल पुर्याएको हो । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीका अनुसार यस मामलामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले अनुसन्धान गर्नेछ । प्रसाईंलाई हिरासतमा लिएर अनुसन्धान गर्न आजै अदालतसमक्ष उपस्थित गराइँदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियाको एक कम्पनीमा प्रधानमन्त्रीको लगानी रहेको प्रमाण भएको दाबी गरिएको एक भिडियो सार्वजनिक गरेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । उनले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीको स्मार्ट एजियाटा कम्पनीमा २१ करोड (साढे ३२ अर्ब रूपैयाँभन्दा बढी) अमेरिकी डलर लगानी रहेको बताएका थिए । प्रसाईंको फेसबुक पेजबाट भिडिओ रिपोर्ट सार्वजनिक गरिएको थियो, जसमा उनले प्रधानमन्त्री ओलीमाथि विभिन्न आरोप लगाएका छन् । प्रसाईंले भिडिओमा प्रमाण भन्दै केही कागजातहरू देखाएका छन् ।

५१ अंकले घट्यो बजार, साढे १० अर्बको कारोबार

काठमाडाैं । आज मंगलबार सेयर बजारमा भारि गिरावट आएको छ । आज ५१.११ अंकले घटेर नेप्से २ हजार ७ सय २.६५ विन्दुमा ओर्लिएको छ । आज २२४ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ भने २० कम्पनीको मूल्य वृद्धि भएको छ । एक कम्पनीको मूल्यमा कुनै परिवर्तन भएको छैन । यस दिन आत्मनिर्भर लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज २ करोड २५ लाख ८८ हजार २४७ कित्ता सेयर किनबेच हुँदा १० अर्ब ४६ करोड ८३ लाख रुपैयाँ बढीको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार न्यादि ग्रुप पावरको भएको छ । न्यादि ग्रुपको ४६ करोड ६९ लाख रुपैयाँ बढीको सेयर कारोबार हुँदा समृद्धि फाइनान्सको २९ करोड ८ लाख, पोखरा फाइनान्सको २४ करोड ९२ लाख, पिपुल्स हाइड्रोपावरको २३ करोड ९४ लाख र सिंघटी हाइड्रोको २३ करोड ७५ लाख रुपैयाँ बढीको सेयर कारोबार भएको छ । आज सबै सब इन्डेक्स रातामै भएको छ । होटल समूह सर्वाधिक ३.०७ प्रतिशतले घटेको छ ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ (तस्बिरहरू)

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार बिहान भक्तपुरस्थित घरबाटै व्यवसायी प्रसाईंलाई पक्राउ गरिएको हो । पक्राउपछि उनलाई थप अनुसन्धानका लागि केन्द्रिय अनुसन्धान ब्युरो (सीआइबी) पुर्याइएको छ । व्यवसायी प्रसाईंले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि कीर्ते कागजात बनाइ गम्भीर आरोप लगाएको प्रहरीको प्रारम्भ्कि निस्कर्ष छ । प्रधानमन्त्री ओलीले कम्बोडियास्थित स्मार्ट एक्जियाटा टेलिकम कम्पनीमा लगानी गरेको आरोप प्रसाईंले लगाएका थिए । प्रसाईंले फर्जी कागजात बनाइ प्रचार गरेको प्रहरीको भनाइ छ ।  

बागबजारमा सुट मेला, भाग्यमानीलाई दुबई र थाइल्याण्ड घुम्ने अवसर  

काठमाडौं । बागबजारको आराधना कम्प्लेक्समा सुट मेला सुरु भएको छ । सुटमा आएको नयाँ डिजाइनबारे ग्राहकलाई जानकारी गराउने उद्देश्यले मेलाको आयोजना गरिएको हो । कोभिड- १९ पछि सुस्त भएको व्यापार र आर्थिक सुस्तताले निरासमा परेका सेवाग्राहीको उत्साह भर्ने उद्देश्यले मेलाको आयोजना गरिएको मेरिना इम्पेक्सका निर्देशक अर्जुन बस्नेतले जानकारी दिए । आराधना कम्प्लेक्स भवनका ११ पसल मिलेर मेला आयोजना गरिएको हो । अहिले विवाहको सिजन सुरु भएकाले दूरदराजबाट सुट सिलाउन काठमाडौं आउनेको संख्या बढेकाले उनीहरूको सहजताको लागि पनि मेलाले सहयोग पुग्ने विश्वास आयोजकले गरेको छ । ‘विवाहको बेला अघिपछिभन्दा अलिक फरक देखिन चाहन्छन्, उनीहरूको चाहनालाई मध्यनजर गर्दै सेवा दिने कोसिस गरिरहेका छौं । यही विश्वासले सुट सिलाउनकै लागि दूरदराजका सेवाग्राही काठमाडौं आउने गरेका छन् । सेवाग्राहीले चिनेको ठाउँ भएर केही न केही गर्नुपर्छ भन्ने उद्देश्यले मेलाको आयोजना गरिएको हो,’ निर्देशक बस्नेतले भने ।  उनका अनुसार यो कम्प्लेक्समा रहेका ११ पसलले ग्राहकको मन जितिरहेका छन् । ‘विश्वास नै हाम्रो लागि सबैभन्दा ठूलो कुरा हो, ग्राहकले गरेको विश्वास र आफूहरूले सेवा दिन गरेको मिहिनेतलाई उत्साहको रूपमा भर्न मेला सञ्चालन गरिएको हो, ’ उनले भने । आराधना कम्प्लेक्समा रहेका मेरिना इम्पेक्स, अनुपम टेलर्स, श्रेष्ठ टेलरिङ, एक्सलेन्ट टेलर्स, एस.टी टेलर्स, सिजनल टेलर्स, टिपटप टेलर्स, रिच स्टिचिङ, मेरो टेलर्स, हिल टप,  ह्यारी कलेक्सनले सुंयुक्त रूपमा मेलाको आयोजना गरेका हुन् ।  मंसिर १ गतेदेखि सुरु भएको यो मेला आगामी वैशाख महिनासम्म सञ्चालन हुनेछ । जोडीलाई रमाउने अवसर  यो मेलामा नागरिकले सुट किनमेल गर्नेदेखि सुटका डिजाइनबारे अवलोकन गर्न पाउनुका साथै लक्की ड्रमार्फत घुम्न पाउने अवसर पाउनेछन् । जसमा  एक जोडीलाई दुबई, अर्को एक जोडीलाई थाइल्याण्ड, १५ जोडीलाई पोखरा, १० जोडीलाई चितवनको सौराह घुम्ने अवसर दिइने छ । यस्तै, १० जोडीलाई मनकामना दर्शनका लागि पठाउने योजना छ भने अन्यलाई चन्द्रागिरि केबलकारको टिकटदेखि विभिन्न ठाउँमा घुम्न जान पाउने छन् । यसका लागि मंसिर १ गतेदेखि वैशाख २४ गतेसम्म जसले सुट खरिद गर्छ, उनीहरूलाई कुपन दिने र त्यो कुपनबाट लक्की ड्र गर्ने अनि छनोटमा परेकाहरूलाई यो सुविधा दिइने जनाइएकाे छ । यो अवसरले आन्तरिक पर्यटनदेखि होटेल व्यवसायीलाई पनि राहत पुग्ने विश्वास गरिएको छ ।  मेरिना इम्पेक्सले विगतमा यस्ता कार्यक्रम गर्दै आएको भए पनि  एउटै कम्प्लेक्सका ११ वटा पसल मिलेर गरिएको यो आयोजना भने पहिलो पटक  हो ।  

१०३ रुपैयाँमै सिटिजन्स बैंकको सेयर किन्ने मौका

काठमाडौं । सिटिजन्स बैंकको संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंकका संस्थापक सेयरधनी रघुवेन्द्र अग्रवालको नाममा रहेको ४ हजार ४४० दशमलव ८७ कित्ता सेयर बिक्रीमा राखिएको हाे । बैंकको उक्त संस्थापक सेयरमा  सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन् । उक्त सेयरको मूल्य  प्रतिकित्ता १०३ रुपैयाँ तोकिएको छ । लगानीकर्ताले आवेदन दिँदा सो मूल्य वा साेभन्दा बढी तोकी ७ दिनभित्र आवेदन दिन पर्नेछ ।

एक महिनाभित्रै औषधिको मूल्य समायोजन गर्छौँं : मन्त्री पौडेल

पर्वत । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले एक महिनाभित्रै सबै प्रकारका औषधिको मूल्य समायोजन गरिने बताएका छन् । पर्वत अस्पतालको निरीक्षण तथा डिजिटलाइजेशन उद्घाटन समारोहलाई मंगलबार सम्बोधन गर्दै उनले औषधिमा फार्मेसी व्यवसायी र कम्पनीबाट भइरहेको मनोमानी अन्त्य गर्नका लागि मूल्य समायोजन गर्न थालिएको बताए । सरकारले मूल्य समायोजन गरेपछि सोही मूल्यसूचीका आधारमा मुलुकभर औषधि खरिद बिक्री हुने र बिरामी ठगिन नपर्ने उनको भनाइ छ । उनले औषधिको मूल्य समायोजनको कार्य अन्तिम चरणमा पुगेको बताए । मन्त्री पौडेलले नागरिकलाई सर्वसुलभ रुपमा गुणस्तरीय स्वास्थ्य सुविधा उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताए । विपन्न र असहाय नागरिकले पनि सहज रुपमा सबैखाले स्वास्थ्य सुविधा उपभोग गर्न सकुन र उपचारको अभावमा कोही पनि अकालमा मृत्युवरण गर्न नपरोस् भन्ने उद्देश्यले स्वास्थ्य क्षेत्रको सुधारका काम भइरहेको उनको भनाइ छ । मन्त्री पौडेलले तत्कालीन स्वास्थ्यमन्त्री गगन थापाको पालामा सुरु भएको स्वास्थ्य बीमा कार्यक्रमलाई परिमार्जन गर्ने तयारी भइरहेको बताए । उनले तत्कालीन अवस्थामा एक लाख रुपैयाँको स्वास्थ्य बीमा रहेकामा अब यसलाई बढाएर पाँच लाख रुपैयाँ पुर्‍याउने योजना रहेको बताए । उनले यसका लागि रोजगारीमा आबद्ध कर्मचारीबाट मासिक तलबको दुई प्रतिशत स्वास्थ्य बीमा कोषमा जम्मा गर्ने व्यवस्था गरिनुपर्ने बताए । यसबाट पैसा नभएकाको पनि उपचार गर्न सहज हुने उनको भनाइ छ । सरकारले उठाउने सबैखाले करमा पनि शून्य दशमलव पाँच प्रतिशत बीमा कोषमा जाने व्यवस्था गरिनुपर्ने भन्दै उनले अहिले उठ्ने स्वास्थ्य बीमा करलाई तेब्बर बनाउनुपर्ने बताए । मन्त्री पौडेलले मुलुकभरीका १६ लाख किशोरीलाई पाठेघरको क्यान्सरविरुद्धको खोप लगाउने व्यवस्था गरिएको जनाउँदै अहिले खोप भण्डारणको काम भइरहेको बताए । त्यस्तै १४ वर्ष मुनिका बालबालिकाको क्यान्सरको निःशुल्क उपचार गरिने जस्ता कार्यक्रमले धेरै लाभान्वित भएको बताए । अर्को प्रसङ्गमा मन्त्री पौडेलले स्रोतको अभावका कारण स्वास्थ्य क्षेत्रलाई चाहेअनुरुप विकास गर्न नसकिएको बताए । उनले स्रोतको व्यवस्थापन गरेर स्वास्थ्य क्षेत्रलाई गुणस्तरीय र सर्वसुलभ बनाउँदै लजाने योजना समेत सुनाए । सो अवसरमा पर्वत अस्पताल विकास समितिका अध्यक्ष शंकर गिरीले अस्पतालको सुधारका लागि आवश्यक विभिन्न कुरा समेटिएको मागपत्र पेस गरेका छन् । मन्त्री पौडेलले मागपत्र बुझ्दै पर्वत अस्पतालको विकास र गुणस्तरीय सेवा प्रवाहका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाए ।