चालु खाता दोब्बरले बढ्यो, शोधनान्तर स्थिति १.८४ खर्बले बचतमा
काठमाडौं । चालु आर्थिक वर्षको तीन महिनामा चालु खाता दोब्बरले वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालु आर्थिक वर्ष २०८१/८२ को असोजसम्म चालु खाता १ खर्ब ११ अर्ब ८७ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ५९ अर्ब ६५ करोड रुपैयाँले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ४४ करोड ९४ लाखले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा ८३ करोड ४० लाखले बचतमा रहेको छ । समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर २ अर्ब रुपैयाँ कायम भएको छ भने प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह (ईक्विटि मात्र) ४ अर्ब ८१ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद पुँजीगत ट्रान्सफर १ अर्ब १५ करोड रुपैयाँ कायम भएको थियो भने प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह (ईक्विटि मात्र) ३ अर्ब ३८ करोड रुपैयाँ रहेको थियो । समीक्षा अवधिमा शोधनान्तर स्थिति १ खर्ब ८४ अर्ब ९९ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १ खर्ब १ अर्ब ६६ करोड रुपैयाँले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ७६ करोड ६८ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १ अर्ब ३८ करोडले बचतमा रहेको छ ।
३ महिनामा वैदेशिक शिक्षाका लागि ३२ अर्ब १८ करोड बाहिरियो
काठमाडाैं । अध्ययनका लागि नेपाली विद्यार्थी विदेशिँदा ३२ अर्ब रुपैयाँ बढी बाहिरिएको छ । चालु आर्थिक वर्षको ३ महिनामा अध्ययनका लागि विद्यार्थी विदेश जाँदा ३२ अर्ब १८ करोड रुपैयाँ बाहिरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । गत आवको सोही अवधिका विद्यार्थीहरू अध्ययनका लागि विदेश जाँदा ३२ अर्ब ९२ करोड रुपैयाँ बाहिरिएको थियो । अध्ययनका लागि विदेशिने रकम गत वर्षको भन्द यस वर्ष ७३ करोड रुपैयाँ घटेको तथ्यांकले देखाउँछ । यो तीन महिना (साउन, भदौ र असोज)मा नेपालीहरूले विदेश जाँदा ५१ अर्ब ८० करोड रुपैयाँ बाहिरिएको छ भने विदेशीहरू नेपाल आउँदा १७ अर्ब १३ करोड रुपैयाँ भित्रिएको छ । भ्रमण शीर्षकमा नेपाल भित्रिनेभन्दा बाहिरिने रकम ३ गुणा बढी छ ।
दिगो ई–स्टपको तेस्रो आउटलेट नवलपरासीको दलदलेमा
काठमाडौं । दिगो ग्रुपले आफ्नो तेस्रो ई–स्टपलाई नवलपरासीको दलदलेमा विस्तार गरेको छ । मंसिर २ गते औपचारिक उद्घाटन गरिएको सो ई–स्टपमा सडक यात्रुको लागि रेस्टुरेन्टको सुविधाको साथै सार्वजनिक बिद्युतिय सवारीसाधनका लागि २ वटा जीबीरटी चार्जर र निजि सवारीसाधनका लागि सिसिएस टु चार्जर जडान गरिएको हो । दलदलेको साथै दिगो ई–स्टप रामटार र कुरिन्टारमा पनि संचालन भईरहेको छ । उद्घाटन कार्यक्रममा दिगो ग्रुपका प्रमुख कार्यकारी अधिकृत सौरब श्रेष्ठले भने, ‘ई–स्टपको तेस्रो संस्करण दलदलेमा संचालनपछि राजमार्गका यात्रुहरुलाई निकै उद्धार हुनेछ । यस ई–स्टपले महेन्द्र राजमार्गमा बढिरहेको बिद्युतिय सवारीसाधनलाई चर्जिङ्ग को सुविधा दिनुको साथै रेस्टुरेन्टले सुलभ मूल्यमा सफा र मिठो खानाको सुविधा दिनेछ ।’ दिगो ग्रुपका अध्यक्ष राजन रायमाझीले दगो ई–स्टपले नेपाली राजमार्गको यात्रामा नयाँ युगको सुरुवात ल्याएको बताए । ‘दिगो ई–स्टप एउटा पिट स्टप मात्र होइनस यो एक दर्शन समेत हो । हामी कार्बन उत्सर्जन घटाउन सक्रिय रूपमा योगदान गर्दै यात्रा सुविधाको लागि समर्पित छौं’ उनले भने । दलदलेमा दिगो ई–स्टपले आधुनिक यात्रीहरूको आवश्यकता पूरा गर्न डिजाइन गरिएका सेवाहरू प्रदान गर्ने जनाइएको छ । यसको मूल भागमा उन्नत ईभी चार्जिङ स्टेशनहरू राखिएकाले विद्युतीय सवारी साधनहरू सधैं सडकमा छन् भनी सुनिश्चित गर्ने बताइएको छ ।
३.३६ प्रतिशतले बढ्यो तलब तथा ज्याला
काठमाडौं । कर्मचारी तथा मजदुरको तलब तथा ज्याला सूचकाङ्क बढेको देखिन्छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार कर्मचारी तथा मजदुरको तलब ३.३६ प्रतिशतले बृद्धि भएको हो । अघिल्लो वर्षको सोही त्रैमासमा यस्तो सूचकाङ्क ५.६५ प्रतिशतले बढेको थियो । बैंककाअनुसार आर्थिक वर्ष २०८०/८१ लाई नयाँ आधार वर्ष कायम गरी त्रैमासिक रुपमा तलब तथा ज्याला सूचकाङ्क प्रकाशित गरिएको छ । नयाँ तलब तथा ज्याला सूचकाङ्क प्रादेशिक, नेपालस्तरीय औद्योगिक वर्गीकरण र नेपालस्तरीय पेसागत वर्गीकरण गरी तीनवटा ढाँचामा प्रकाशित गरिएको छ । प्रदेशगत रुपमा समीक्षा अवधिमा कोशी प्रदेशको वार्षिक बिन्दुगत तलब तथा ज्याला सूचकाङ्कको बृद्धिदर १.२४ प्रतिशत, मधेश प्रदेशको ४.९९ प्रतिशत, बागमती प्रदेशको २.९५ प्रतिशत, गण्डकी प्रदेशको २.२६ प्रतिशत, लुम्बिनी प्रदेशको ३.६७ प्रतिशत, कर्णाली प्रदेशको ५.०३ प्रतिशत र सुदूरपश्चिम प्रदेशको ६.४० प्रतिशत रहेको बैंकले जनाएको छ ।
मूल्यवृद्धि अझै ४.८२ प्रतिशत, सुदूरपश्चिम प्रदेशमा सबैभन्दा धेरै महँगी
काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको असोज महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.८२ प्रतिशत रहेको जनाएकाे छ । बैंकका अनुसार अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.५० प्रतिशत रहेको थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.१८ प्रतिशत र गैर-खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.४९ प्रतिशत रहेको छ । अघिल्लो वर्ष सोही अवधिमा यी समूहहरूको मुद्रास्फीति क्रमशः ८.४८ प्रतिशत र ६.८५ प्रतिशतले वृद्धि थियो । समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत तरकारी उप-समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क २५.१५ प्रतिशत, दाल तथा गेडागुडीको १० प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ९.५७ प्रतिशत र घ्यू तथा तेलको ४.९८ प्रतिशतले बढेको छ भने माछा तथा मासु उप-समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १.१८ प्रतिशत, मरमसलाको०.७९ प्रतिशत र चिनी तथा चिनीजन्य पदार्थको ०.७८ प्रतिशतले घटेको छ । गैर-खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उप-समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क १०.४९ प्रतिशत, मदिराजन्य पेय पदार्थको ६.३२ प्रतिशत, कपडाजन्य तथा जुत्ताचप्पलको ६.१२ प्रतिशत र घरायसी उपकरणको ४.८८ प्रतिशतले बढेको छ । समीक्षा महिनामा ग्रामीण क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ५.०० प्रतिशतले बढेको छ भने सहरी क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकाङ्क ४.७६ प्रतिशतले बढेको छ । प्रदेशगत रूपमा समीक्षा महिनामा कोशी प्रदेशको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ६.२६ प्रतिशत, मधेश प्रदेशको ५.०८ प्रतिशत, बागमती प्रदेशको ४.२४ प्रतिशत, गण्डकी प्रदेशको ३.९८ प्रतिशत, लुम्बिनी प्रदेशको ४.४२ प्रतिशत, कर्णाली प्रदेशको ३.२५ प्रतिशत र सुदूरपश्चिम प्रदेशको ६.५६ प्रतिशत रहेको छ । समीक्षा महिनामा काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.५० प्रतिशत, तराईको ५.२३ प्रतिशत, पहाडको ४.३२ प्रतिशत र हिमालको ५.०८ प्रतिशत रहेको छ । २०८१ असोज महिनामा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ५.५१ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति २.७८ प्रतिशत रहेको थियो । समीक्षा महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको वार्षिक बिन्दुगत थोक मुद्रास्फीति क्रमशः ८.२२ प्रतिशत, ४.३६ प्रतिशत र २.६३ प्रतिशत रहेको छ । समीक्षा महिनामा निर्माण सामग्रीको थोक मुद्रास्फीति ४.५८ प्रतिशतले घटेको छ ।
साढे २२ खर्ब पुग्यो विदेशी मुद्रा सञ्चिति, १७.६ महिनाको आयात धान्ने
काठमाडौं । नेपालमा विदेशी विनिमय सञ्चिति साढे २२ खर्ब रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार गत असोजसम्म विदेशी मुद्रा सञ्चिति २२ खर्ब ३२ अर्ब २८ करोड रुपैयाँ पुगेको हो । गत असारसम्म विदेशी मुद्रा सञ्चिति २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँ रहेको थियो । तीन महिनाको अवधिमा ९.४ प्रतिशतले विदेशी मुद्रा बढेको राष्ट्र बैंकले जनाएको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति १६ अर्ब ६० करोड पुगेको छ । गत असारसम्म अमेरिकी डलरमा १५ अर्ब २७ करोड रहेको थियो । तीन महिनामा अमेरिकी डलर ८.७ प्रतिशत बढेको राष्ट्र बैंकको भनाइ छ । कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकमा असारसम्म १८ खर्ब ४८ अर्ब ५५ करोड रुपैयाँ रहेको असोजमा ७.५ प्रतिशतले वृद्धि भई १९ खर्ब ८८ अर्ब रुपैयाँ पुगेको छ । बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति २०८१ असार मसान्तमा १ खर्ब ९२ अर्ब ५५ करोड रुपैयाँ रहेकोमा २०८१ असोज मसान्तमा २६.९ प्रतिशतले वद्धि भई २ खर्ब ४४ अर्ब २७ करोड रुपैयाँ कायम भएको छ । असोज मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.९ प्रतिशत रहेको छ । चालु आर्थिक वर्ष २०८१/८२ को तीन महिनाको आयातलाई आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १७.६ महिनाको वस्तु आयात र १४.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।
३ महिनामा ४ खर्ब बढी रेमिट्यान्स भित्रियो
काठमाडाैं । चालु आर्थिक वार्षको ३ महिनामा नेपालमा भित्रने रेमिट्यान्स ११.५ प्रतिशतले वृद्धि भएको छ । यो तीन महिनामा ४ खर्ब ७ अर्ब ३१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार गत वर्षको सोही अवधिमा नेपालमा भित्रिने रेमिट्यान्स २५.८ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३ अर्ब ४ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह २ अर्ब ७६ करोड रहेको थियो । समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) रु.४४२ अर्ब ४४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ४०४ अर्ब ७ करोड रहेको थियो । समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या १ लाख १० हजार ६५४ र पुनः श्रम स्वीकृति लिनेको संख्या ५९ हजार ९३९ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः १ लाख १३ हजार ३९७ र ४९ हजार २९७ रहेको थियो ।
स्ट्याण्डर्ड चार्टर्ड बैंकले आह्वान गर्यो साधारण सभा
काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले ३८औं साधारणसभा आह्वान गरेको छ । साधारणसभा मंसिर २५ गते हुन लागेको हो । साधारणसभाले चुक्ता पुँजीको २५.५० प्रतिशत लाभांश पारित गर्ने बैंकले जनाएको छ । यसैगरी, १९ प्रतिशत नगद र ६.५० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पनि साधारणसभामा राखिने छ । साधारणसभाका लागि बैंक सञ्चालक समितिले मंसिर ट गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।