विकासन्युज

वायु प्रदुषणका कारण भारतमा विद्यालयहरू बन्द, घरबाटै अनलाइन क्लास सुरु

काठमाडौं । भारतको राजधानी देहली क्षेत्र र वरपरको वायु प्रदुषणका कारण विद्यालयहरु बन्द गरिएको छ । विद्यार्थीलाई घरबाटै अनलाइनबाट शिक्षा दिन सुरु गरिएको हो । केही दिनदेखि शहर गम्भीर वायु प्रदुषणसँग लडिरहेको छ । शहर र बाहिरी इलाकामा प्राथमिक र माध्यमिक विद्यालयहरू सावधानीका रूपमा बन्द गरिएका छन् । शहरका दुई ठूला विश्वविद्यालयहरूले खराब हावाको गुणस्तरलाई ध्यानमा राख्दै सबै कक्षाहरू अनलाइन सञ्चालन गर्ने निर्णय गरेका छन् ।

गोरखाको धार्चेमा साढे २ करोडमा बन्यो आधारभूत अस्पताल

गोरखा । उत्तरी गोरखाको धार्चे गाउँपालिकामा पाँच श्ययाको धार्चे आधारभूत अस्पताल भवन निर्माण सम्पन्न भएको छ । देशभरका सबै पालिकाहरुमा आधारभूत अस्पताल निर्माण गर्ने सङ्घीय सरकारको योजनाअनुसार उक्त अस्पताल भवन निर्माण भएको हो । धार्चे गाउँपालिकाको वडा नम्बर ३, स्थित खोर्लाबेँसी गाउँपालिका र स्विटरल्याण्डको अर्थ सी एयर नामक संस्थाको आर्थिक सहयोग तथा छाया नेपालको समन्वयमा भवन निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले बताए। उनले भने, ‘कूल दुई करोड २८ लाख रुपैयाँको लागतमा अस्पतालको भवन निर्माण भएको हो । भवन निर्माणका लागि गाउँपालिकाको ४० प्रतिशत र अर्थ सी एयरको ६० प्रतिशत लागत साझेदारी छ ।’ नवनिर्मित अस्पताल भवनको बुधबार एक कार्यक्रम आयोजना गरी पालिकालाई हस्तान्तरण भएको छ । अस्पताल सञ्चालनमा आएपछि धार्चे र चुमनुब्री गाउँपालिकाका सर्वसाधारणलाई आधारभूत स्वास्थ्योपचार सेवा उपलब्ध हुने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काजीमान सुनारले बताए ।

रात्रिकालिन समयमा बिपी राजमार्ग सञ्चालनमा रोक

काठमाडौं । सरकारले क्षतिग्रस्त बिपी राजमार्ग रात्रिकालिन समयमा बन्द गरेको छ । सडक डिभिजन कार्यालय भक्तपुरले बुधबार राति नौ बजेदेखि बिहान ४ बजेसम्म अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि उक्त सडक सञ्चालनमा रोक लगाएको हो । राजमार्गको प्रस्थानबिन्दु धुलिखेलदेखि सिन्धुलीको बर्खेखोलासम्म राजमार्गको विभिन्न सडकखण्डमा डाइभर्सन मर्मत भइरहेको जनाउँदै राति सात घण्टा बन्द गराइएको हो । राजमार्गअन्तर्गत धुलिखेलदेखि बर्खे खोलासम्मको सडकखण्डमा चौकीडाँडा, नार्के बजार र कालढुङ्गा (भ्याकुरे खोला) देखि माम्तीखोलासम्म डाइभर्सन मर्मत भइरहेको छ । अर्को सूचना जारी नभएसम्मका लागि राजमार्गमा तोकिएको समयमा राती गाडी नचलाउन आग्रह गरिएको हो । यसैबीच गत असोज दोस्रो साता बाढीपहिरोका कारण क्षतिग्रस्त भई अस्थायी रुपमा एकतर्फी सञ्चालनमा ल्याइएको बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको चौकीडाँडादेखि सिन्धुलीको बर्खेखोलासम्मको सडकखण्डमा लगाइएको रोकसमेत कायमै छ । सुक्खा पहिरो जानसक्ने भएकाले रातिको समयमा यातायात सञ्चालनमा कार्यालयद्वारा रोक लगाइँदै आइएको हो । सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले अस्थायी रुपमा निर्माण गरिएको सडकमा पहिरो आउनसक्ने भएकाले तत्कालै खोल्ने अवस्था नरहेको हो । असोज अन्तिम सातादेखि वैकल्पिक ट्रयाक निर्माण गरेर उक्त रुटमा परमिट भएका यात्रुवाहक वस र साना सवारीसाधन सञ्चालनमा ल्याइएको थियो । पूर्वी नेपाल जोड्ने छोटो दूरीका रुपमा रहेको उक्त राजमार्गबाट दैनिक हजारौँ यातायातका साधन आवतजावत गर्छन् ।

समाज निर्माणको लागि आन्तरिक श्रोतको परिचालन गनुपर्छ : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले कुनै पनि मुलुकको दिगो विकासको लागि आन्तरिक श्रोतको प्रभावकारी परिचालन अपरिहार्य रहेको बताएका छन् । अध्यक्ष ढकालले सो कुरा राष्ट्रिय कर दिवस २०८१ को अवसरमा बुधबार महांसघको सचिवालयमा आयोजित ‘लगानीमैत्री वातावरण प्रवर्द्धनको लागि अन्तरनिकाय समन्वय’ विषयको अन्तरक्रिया कार्यक्रममा भनेका हुन् । सो अवसरमा बोल्दै अध्यक्ष ढकालले मुलुक सञ्चालन र विकासको मेरुदण्डनै देशले परिचालन गर्ने राजस्वको आयतनमा निर्भर हुने भएकोले कुनै पनि मुलुकको सवल अर्थव्यवस्था र उन्नत समाज निर्माणको लागि आन्तरिक श्रोतको प्रभावकारी परिचालन अपरिहार्य रहेको बताए । ढकालले विगत केहि वर्षदेखि निजी क्षेत्र र सरकारको समेत अत्यन्त चासोको रुपमा रहेको लगानी प्रवर्द्धन सम्वन्धि विषयले समग्र कर प्रशासनलाई झकझकाई यस पटकको कर दिवसमा दिशा निर्देश गरेको हुँदा, यो मुद्धाले गति लिन थालेको आभास निजी क्षेत्रलाई भएको जानकारी दिए । उनले कर प्रशासनले राजस्व लक्ष्य निर्धारण र संकलन मात्र हैन करदाताको मनोवल बढाई व्यवसायिक गतिविधि बढाउने क्रियाकलाप र वातावरण सृजना गर्ने तर्फ ध्यान दिईएमा राजस्व संकलन स्वभाविक रुपमा वृद्धि भई आर्थिक गतिविधि बढ्ने बताए । अध्यक्ष ढकालले आन्तरिक श्रोतको परिचालन भन्ने वित्तिकै त्यसको प्रत्यक्ष सम्वन्ध त्यो मुलुकको कर प्रणाली र राजस्व प्रशासनसंग जोडिएको हुनाले लक्षित राजस्व संकलनको लागि उद्योगधन्दा, व्यवशायजन्य कृयाकलापहरु सुव्यवस्थित ढंगले सञ्चालन भएको हुनु पर्नेमा जोड दिए । यसको लागि व्यवशायमैत्री वातावरण निर्मााणको साथै विदेशी लगानीको हकमा लगानी र प्रतिफलको फिर्ताको सुनिश्चितता सहित सम्वद्ध सबै सरकारी निकायहरुको एकीकृत र समन्वयकारी प्रयासको आवश्यकता रहेको जानकारी दिए । आन्तरिक राजस्व विभाग, राजस्व अनुसन्धान विभाग, उद्योग विभाग, सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागका महानिर्देशकहरु उपस्थित रहेको उक्त कार्यक्रममा कार्य समितिका पदाधिकारी र विभिन्न वस्तुगत संघ र उद्योगी व्यवशायीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा विभिन्न व्यक्तिहरुको जिज्ञासालाई सम्बोधन गर्दै आन्तरिक राजस्व विभागका महानिर्देशक राम प्रसाद आचार्यले औद्योगिक र लगानीमैत्री वातावरण तयार गर्न सामुहिक प्रयासको आवश्यकता रहेको बताए । सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागका महानिर्देशक सुमन दाहालले अपेक्षित लगानीको वातावरण बन्न नसकेको अवस्थाको विश्लेषण गर्दै आफ्ना काम कारबाहीहरुलाई पारदर्र्शी बनाई समिक्षा हुनु पर्दछ भने । उद्योग विभागका महानिर्देशक राजेश्वर ज्ञवालीले अन्तरनिकाय समन्वयको सारनै औद्योगिक वातावरण प्रवर्द्धनको लागि भन्दै विभागबाट प्रदान गरिने सेवा प्रवाहलाई अझ उन्नत र परिष्कृत बनाउने प्रतिवद्धता व्यक्त गरे । यसै गरी राजस्व अनुसन्धान विभागका महानिर्देशक चण्डी प्रसाद घिमिरेले पछिल्लो समय कर प्रणाली सम्वन्धि नीतिहरु लगानीमैत्री बन्दै आएको बताए । कार्यक्रमको समापन महासंघका उपाध्यक्ष सुर कृष्ण वैद्यले गरेका थिए ।

नमस्ते पेमार्फत नेपाल टेलिकम र एनसेल सेवाहरूमा १५० रुपैयाँसम्मको क्यासब्याक

काठमाडौं । नमस्ते पेले आफ्ना प्रयोगकर्ताहरूलाई नेपाल टेलिकम सेवाहरू र एनसेल रिचार्जमा आकर्षक क्यासब्याकको नयाँ अफर सुरु गरेको छ । कम्पनीकाअनुसार यो अफर ४ मंसिरदेखि ३० माघसम्म मान्य हुनेछ । यस अफरअन्तर्गत, नेपाल टेलिकमका सेवाहरू जस्तै रिचार्ज, ल्यान्डलाइन, एफटीटीएच र एटीएसएलको बिल भुक्तानी तथा एन्सेल रिचार्ज गर्दा नमस्ते पे प्रयोगकर्ताहरूले २ प्रतिशत क्यासब्याक प्राप्त गर्न सक्नेछन् । त्यसैगरी, फ्राइडे फ्ल्यास अफरअन्तर्गत, प्रत्येक शुक्रबार निश्चित समय अवधि का लागि प्रयोगकर्ताहरूले नेपाल टेलिकम र एनसेलमा रिचार्ज गर्दा ५ प्रतिशत (अधिकतम २० रुपैयाँसम्म) क्यासब्याक प्राप्त गर्न सक्छन् । साथै, नेपाल टेलिकमका एफटीटीएच र ल्यान्डलाइन सेवा भुक्तानी गर्दा ४ प्रतिशत (अधिकतम रु १५० सम्म)को क्यासब्याक प्राप्त गर्न सकिन्छ । क्यासब्याक प्राप्त गर्न प्रयोगकर्ताहरूले प्रोमोकोड प्रयोग गर्नुपर्दैन ।

बहदुरमाई नगरपालिकाका कर्मचारी र जनप्रतिनिधिले ४ महिनादेखि पाएनन् तलब

वीरगञ्ज । जिल्लाको बहुदरमाई नगरपालिका प्रमुख र प्रमुख प्रशासकीय अधिकृतबीचको वैमनस्यताका कारण कर्मचारी तथा जनप्रतिनिधिले साउन महिनादेखि तलबभत्ता सुविधाबाट वञ्चित भएका छन् । चालु आर्थिक वर्षको खाता सञ्चालन नहुँदा नगरपालिकाको विकास निर्माणदेखि सुत्केरीभत्ता, दीर्घरोगीले पाउने सुविधा र विद्यार्थीले पाउने छात्रवृत्तिदेखि दैनिक खाजा खर्चसम्म सबै रोकिएको छ । स्थानीय तहले असार १० गतेभित्रै पालिकाको नगरसभाबाट आगामी आवको नीति कार्यक्रम तथा बजेट ल्याउनुपर्ने व्यवस्था भए पनि सो नगरपालिकाले सो मितिमा नगरसभा गर्न सकेन । नगरपालिकाभित्रको विवादको कारणले ढिलोगरी गत कात्तिक ८ गते नगरसभाबाट पालिकाको नीति तथा कार्यक्रम र बजेट ल्याएको थियो । बहुदरमाई नगरपालिकाका प्रमुख सिंहासन साह तेलीले नगरसभाबाट बजेट स्वीकृत भएको झण्डै एक महिना बित्न लाग्दा पनि प्रमुख प्रशासकीय अधिकृतलाई बजेट खर्च गर्ने अधिकार प्रत्यायोजन नगर्दा जनप्रतिनिधि र कर्मचारी चार महिनादेखि तलबभत्ता तथा अन्य सुविधाबाट वञ्चित भएका हुन् । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ७३ अनुसार नगरसभाबाट बजेट स्वीकृत भएको सात दिनभित्र प्रमुख वा अध्यक्षले प्रमुख प्रशासकीय अधिकृतलाई बजेटको खर्च गर्ने अख्तियारी दिनुपर्ने व्यवस्था छ । बहुदरमाई नगरपालिका उपप्रमुख सुष्माकुमारी कुशवाहाले नगरसभाबाट बजेट पारित भएको एक महिना बित्नै लाग्दा पनि नगर प्रमुखले प्रमुख प्रशासकीय अधिकृतलाई अख्तियारनामा नदिँदा नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीले तलबभत्ता नपाएको बताइन् । ‘मैले पटकपटक, प्रमुखसँग समन्वय गरिसके । तर, उहाँले प्रमुख प्रशासकीय अधिकृतलाई अख्तियारी नदिँदा अहिले नगरपालिकाको कर्मचारी तलब बेतनदेखि नगरपालिकाको सम्पूर्ण आर्थिक गतिविधि ठप्प छन्,’ उनले भनिन्, ‘नगरपालिका तथा सम्पूर्ण वडा कार्यालयमा कार्यरत कर्मचारी, सामुदायिक विद्यालयका शिक्षक कर्मचारी, स्वास्थ्य निकायका कर्मचारीले २०८१ साउनदेखि तलबभत्ता पाएका छैनन् । विद्यार्थीले छात्रवृत्ति, दैनिक खाजा खर्च,सुत्केरी भत्ता सबै रोकिएको छ ।’ पालिकामा रहेका कर्मचारी, जनप्रतिनिधि सामुदायिक विद्यालयका शिक्षक गरी झण्डै एक सयभन्दा धेरै कर्मचारी तथा जनप्रतिनिधिले साउनदेखि कात्तिकसम्मको कुनै पनि तलबभत्ता, दशैँ खर्चलगायत सुविधा पाएका छैनन् । उपप्रमुख कुशवाहाले साउनदेखि नगरभित्रका सम्पूर्ण विकास निर्माण कार्यहरू पनि रोकिएको जानकारी दिइन् । कोष तथा लेखा नियन्त्रण कार्यालय पर्साका प्रमुख यज्ञराज उप्रेतीले पर्साको बहुदरमाई गाउँपालिकाको खाता अहिलेसम्म पनि सञ्चालनमा नआएको बताए । ‘गत कात्तिकमा नगरसभा भए पनि नगरपालिका प्रमुखले प्रमुख प्रशासकीय अधिकृतलाई अख्तियारी नदिँदा अहिलेसम्म खाता सञ्चालनमा हुन सकिरहेको छैन’, उनले भेन, ‘चालु आवको साउनदेखि पालिकाको सम्पूर्ण आर्थिक गतिविधि ठप्प छ । आवश्यक समन्वय गरिरहे पनि अहिलेसम्म विवाद समाधान भएको छैन ।’ गत कात्तिक ३० गते नगरपालिकाका उपप्रमुख कुशवाहा, वडा नम्बर १ का वडाध्यक्ष प्रमोदप्रसाद यादव, वडा नम्बर २ का वडाध्यक्ष जीतेन्द्र पटेल, वडा नम्बर ३ का दिनेश यादव, वडा नम्बर ४ का सुरेन्द्रप्रसाद यादव, वडा नम्बर ५ का वडाध्यक्ष सुनिल महतो कोइरी र वडा नम्बर ९ का वडाध्यक्ष रवीन्द्रप्रसाद गुप्ताले जिल्ला प्रशासन कार्यालय पर्सालाई संयुक्त रूपमा ज्ञापन पत्र बुझाएका थिए । बहुदरमाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महमद शेरे मुस्तफाले नगरप्रमुखले नगरसभाबाट पारित भएको बजेटको अख्तियारी नदिँदा कर्मचारी तथा जनप्रतिनिधिले तलबप्राप्त गर्न नसकेको बताए । ‘नगरप्रमुख ज्यूले अख्तियारी नदिँदा पालिकाको खाता अझैसम्म पनि सञ्चालन गर्न सकिरहेका छैनौँ,’ उनले भने। नगरपालिका प्रमुख तेलीले प्रमुख प्रशासकीय अधिकृतको असहयोगका कारण अख्तियारनामा दिन केही ढिलाइ भएको स्वीकारे । ‘गत कात्तिक ८ गते नगरसभाबाट बजेट पारित गरेका छौँ । चाडपर्व र अन्य विविध कारणले अख्तियारी दिन केही समय लागेको हो’, उनले भने, ‘मङ्सिरभित्रै अख्तियारी दिनेछु ।’ रासस

५ प्रतिशत नगद लाभांश बाँड्ने नेशनल म्यानेजमेन्ट फण्डको घोषणा

काठमाडौं । नेशनल म्यानेजमेन्ट फण्डले लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको मंसिर ३ गते बसेको बैठकले चुक्ता पुँजी ८१ करोड रुपैयाँको ५ प्रतिशतका दरले ४ करोड ५ लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लाभांश पारित गर्न कम्पनीले पुस ३ गते होटल अकामा धुम्वाराही काठमाडौंमा बेलुका ५ बजे दोस्रो वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको सभाले आर्थिक वर्ष २०८०/८१ को संचालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, आर्थिक वर्ष २०८१/८२ को लागी लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने र संचालकको नियुक्ति अनुमोदन गर्नेछ ।

प्रिमियम मूल्यमा प्रभु हेलिकप्टरको २०.९५ लाख कित्ता सेयर बिक्रीमा

काठमाडौं । प्रभु हेलिकप्टरले प्रिमियम मूल्यमा सेयर बिक्रीमा राखेको छ । कम्पनीले अंकित मूल्य १ सय रुपैयाँमा ५० रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता १५० रुपैयाँ सेयर बिक्रीमा राखेको हो । कम्पनीले जारी पुँजीमध्ये २० लाख ९५ हजार कित्ता सेयर बिक्रीमा राखेको हो । उक्त सेयर कम्पनीका संस्थापक सेयरधनीहरूले मात्रै खरिद गर्न पाउनेछन् । यदि मंसिर १२ गतेसम्म संस्थापकले सेयर खरिद नगरेमा अन्य लगानीकर्ताका लागि बिक्री खुला गरिने कम्पनीले जनाएको छ ।