सबै उम्मेदवार फेल भएपछि राष्ट्रिय जीवन बीमाले दोस्रोपटक माग्यो सीईओ
काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनीले दोस्रोपटक प्रमुख कार्यकारी अधिकृत (सीईओ)का लागि दरखास्त आह्वान गरेको छ । कम्पनीले पहिलोपटक दरखास्त आह्वान गर्दा आवेदन दिएका सबै उम्मेदवार अनुतिर्ण भएपछि पुनः दोस्रो पटक सीईओ मागेको हो । कम्पनीले यसअघि गत असोज १६ गते सीईओ मागेको थियो । तर, सीईओका लागि दरखास्त दिने उम्मेदवारहरूले न्यूनतम अंक पनि प्राप्त गर्न नसकेपछि अन्तर्वार्ताका लागि अयोग्य भएको प्रमुख कार्यकारी अधिकृत छनोट तथा सिफारिस समितिले जनाएको छ । यसपटक कम्पनीको सीईओ पदको लागि योग्यता पुगेका इच्छुक नेपाली नागरिकले २१ दिन अर्थात् मंसिर २६ गतेभित्र आवेदन दिनुपर्नेछ । बीमा, व्यवस्थापन लगायत विभिन्न विषयमा कम्तीमा स्नातकोत्तर वा सो सरहको उपाधि हासिल गरी कम्पनीमा व्यवस्थापक तहमा बीमा क्षेत्रमा भएका कम्तीमा ५ वर्ष वा आर्थिक क्षेत्रमा भए ८ वर्ष तथा दुबै क्षेत्रमा भए बीमामा एक वर्षको अनुभव सहित कम्तीमा ७ वर्षको अनुभव हुनुपर्ने छ ।
अमेरिकी डलर रेकर्ड मूल्यमा स्थिर, यस्तो छ अन्य देशको मुद्राको भाउ
काठमाडौं । बिहीबार अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा स्थिर रहेको छ । नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको मूल्य एकको खरिदर १३४.७७ रुपैयाँ र बिक्रीदर १३५.३७ रुपैयाँ तोकेको छ । आज युरोपियन यूरोको एकको खरिदर १४२.१५ रुपैयाँ र बिक्रीदर १४२.७८ रुपैयाँ, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १७०.५४ रुपैयाँ र बिक्रीदर १७१.३० रुपैयाँ, स्वीस फ्रयाङ्क एकको खरिददर १५२.१८ रुपैयाँ र बिक्रीदर १५२.८६ रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर ८७.६३ रुपैयाँ र बिक्रीदर ८८.०२ रुपैयाँ तोकेको छ । यस्तै, क्यानेडियन डलर एकको खरिददर ९६.३० रुपैयाँ र बिक्रीदर ९६.७२ रुपैयाँ, सिङ्गापुर डलर एकको खरिददर १००.३४ रुपैयाँ र बिक्रीदर १००.७९ रुपैयाँ, जापानी येन १० को खरिददर ८.६५ रुपैयाँ र बिक्रीदर ८.६९ रुपैयाँ र चिनियाँ युआन एकको खरिददर १८.६० रुपैयाँ र बिक्रीदर १८.६८ रुपैयाँ तोकेको छ । राष्ट्र बैंककाअनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५.९० रुपैयाँ र बिक्रीदर ३६.०६ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३६.९६ रुपैयाँ र बिक्रीदर ३७.१३ रुपैयाँ, थाई भाट एकको खरिददर ३.८८ रुपैयाँ र बिक्रीदर ३.९० रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.६९ रुपैयाँ र बिक्रीदर ३६.८६ रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरिददर ३०.१४ रुपैयाँ र बिक्रीदर ३०.२७ रुपैयाँ तोकेको छ । यस्तै साउथ कोरियन वन एक सयको खरिदद ९.६५ रुपैयाँ र बिक्रीदर ९.६९ रुपैयाँ, स्वीडिस क्रोनर एकको खरिददर १२.२५ रुपैयाँ र बिक्रीदर १२.३० रुपैयाँ, डेनिस क्रोनर एकको खरिददर १९.०६ रुपैयाँ र बिक्रीदर १९.१५ रुपैयाँ, हङ्कङ डलर एकको खरिददर १७.३१ रुपैयाँ र बिक्रीदर १७.३९ रुपैयाँ, कुवेती दिनार एकको खरिददर ४३८.१३ रुपैयाँ र बिक्रीदर ४४०.०८ रुपैयाँ र बहराइन दिनार एकको खरिददर ३५७.५३ रुपैयाँ र बिक्रीदर ३५९.१२ रुपैयाँ कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।
कुमारी बैंकको १.३१ लाख कित्ता सेयर बिक्रीमा, क-कसले खरिद गर्न पाउँछन् ?
काठमाडौं । कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंकको संस्थापक समूहको सेयर बिक्रीमा राखिएको हो । बैंकका केही संस्थापक सेयरधनीहरूले आफ्नो नाममा रहेका १ लाख ३१ हजार ६२८ कित्ता सेयर बिक्रीमा राखेका हुन् । सो सेयरको मूल्य बिक्रेताले तोकेबमोजिम हुनेछ । बैंकको उक्त सेयरमा विद्यमान संस्थापक सेयरधनीहरूले मात्रै आवेदन दिन पाउने छन् । यदि ३५ दिन भित्र संस्थापक सेयरधनीहरूले खरिद नगरेमा सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ । उक्त सेयर खरिद गर्न इच्छुक संस्थापकले कुमारी क्यापिटल र कुमारी बैंकको प्रधान कार्यालय आइपुग्नेगरी आवेदन दिनुपर्नेछ ।
आज सेयरधनी बने २ बैंकको लाभांश पाइने, साधारण सभा कहिले ?
काठमाडौं । ग्लोबल आइएमई बैंक र प्राइम बैंकको लाभांश सुरक्षित गर्ने आज मंसिर ६ गते अन्तिम रहेको छ । लाभांश तथा साधारण सभा प्रयोजनार्थ यी दुई बैंकले मंसिर ९ गते एक दिनका लागि सेयरधनी दर्ता किताब बन्द गर्ने निर्णय गरेका छन् । त्यसैले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा मंसिर ६ गतेसम्म कायम सेयरधनीहरूले मात्रै साधारण सभामा सहभागी भई लाभांश प्राप्त गर्न सक्नेछन् । ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट हाल कायम चुक्ता पुँजी ३६ अर्ब १२ करोड ८७ लाख रुपैयाँको ५.५ प्रतिशत बोनस सेयर प्रस्ताव गरेको छ । लाभांश पारित गर्न बैंकले मंसिर २७ गते नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा बिहान १० बजे १८औँ वार्षिक साधारण सभा बोलाएको छ । यस्तै, प्राइम बैंकले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट चुक्ता पुँजी १९ अर्ब ४० करोड २५ लाख रुपैयाँको करसहित ५ प्रतिशतका दरले ९७ करोड १ लाख २५ हजार ७८६ रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको छ । लाभांश पारित गर्न बैंकले मंसिर १९ गते आर्मि अफिसर्स क्लब भद्रकालीमा बिहान ११ बजे १७औँ वार्षिक साधारण सभा आह्वान गरेको छ ।
एक पालिका, एक खेल मैदान योजनामैै सीमित
काठमाडौं । बागलुङमा विभिन्न खेलका पूर्वाधार निर्माणले गति लिन सकेको छैन । खेल पूर्वाधारको योजना बनाएको एक दशक बित्दा समेत लगानी गर्न सकिएको छैन । स्थानीय तहले ‘एक पालिका, एक खेल मैदान’को अवधारणा ल्याए पनि कार्यान्वयन भएको छैन । खेलाडी पूर्वाधारबिना खेल खेल्न बाध्य छन् । बागलुङ नगरपालिका–१ स्थित बाङ्गेचौर खेल मैदानको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनेको एक दशक बित्न लागेको छ । तर यहाँ तारबार मात्र हालेको छ । नगरपालिका र सङ्घीय संरकारले बिनियोजन गरेको ८ करोड रुपैयाँ बजेट फिर्ता गएको छ । यस्तै बागलुङ नगरपालिका–९ स्थित तित्याङको आलेखर्क खेल मैदान पनि डिपिआरमै सिमिति भएको छ । बागलुङका अन्य स्थानीय तहले अघि सारेका खेल पूर्वाधार पनि बन्न सकेका छैनन् । तमान रङ्गशाला र काठेखोला गाउँपालिकाको रेशको खेल मैदान निर्माणले पनि गति लिन सकेको छैन । रङ्गशालाको डिपिआर स्थानीय तहको सहयोगमा तयार भए पनि खेल मैदान बन्न नसकेको बागलुङ–९ तित्याङका वडाध्यक्ष राजु थापाले बताए । बागलुङमा वषौँदेखि बजेट अभावमा खेल मैदान बन्न नसकेका खेलकुद विकास समितिका अध्यक्ष कुमार खड्काले जानकारी दिए । बाङ्गेचौर खेल मैदानमा रहेका सल्लाका बोट हटाउन नसक्दा बजेट फ्रिज भएको छ । ‘खेल क्षेत्रमा राज्यले लगानी बढाउन सकेको छैन, खेलकूद गतिविधि ठप्प जस्तै छन्,’ उनले भने, ‘बाङ्गेचौर खेलमैदान बनाउन ३० करोड रुपैयाँ लाग्ने गरी डिपिआर बनाइएको थियो, अहिले लागत बढेर ५० करोड रुपैयाँ पुगेको छ ।’ बागलुङ–९ तित्याङमा बजेट अभावले मैदान बनाउन नसकेको वडाध्यक्ष राजु थापाले बताए । बागलुङ बजारबाट नजिकै रहेको तित्याङस्थित आलेखर्क खेल मैदानलाई विस्तार गरी बाङ्गेचौर खेल मैदानको विकल्पका रुपमा अगाडी बढाइएको हो । झण्डै २० रोपनी जग्गामा फैलिएको आलेखर्क खेल मैदानलाई बहुउदेश्यीय रङ्गशाला निर्माण गर्न सकिने भएपनि बजेट अभावले रोकिएको छ । यसमा झण्डै ६ करोड रुपैयाँ खर्च लाग्ने देखिन्छ । तमानखोला गाउँपालिकाले तमानगाउँमा निर्माण गर्ने रङ्गाशाला समेत अधुरै छ । गाउँपालिकाले चालु आर्थिक वर्षमा १० लाख रुपैयाँ बजेट बिनियोजन गरेको छ । त्यो पर्याप्त नहुँदा सङ्घीय र प्रदेश सरकारको मुख ताक्नुपरेको तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले बताए । ‘पालिकाको बजेटले रङ्गशाला बनाउन असम्भव छ, यसका लागि कम्तिमा १० करोड रुपैयाँ बजेट चाहिन्छ,’ उनले भने ।
बालकुमारीमा आगलागी, ५ दमकलको सहयोगपछि निभाइयो
काठमाडौं । बालकुमारीस्थित एउटा घरमा मध्यरातमा विद्युत् चुहावट भएर आगलागी भएको छ । महानगरीय प्रहरी प्रभाग कोटेश्वरका अनुसार बालकुमारीस्थित सिसिआरसी कलेज नजिक स्वाभिमान श्रेष्ठको दुई तले घरमा एक्कासी विद्युत् चुहावट भएर आगलागी भएको हो । आगलागीबाट घरको पहिलो तलामा भोजराज भट्टले सञ्चालन गरेको ‘डगेरा फार्मेसी’ जलेर नष्ट भएको प्रभागका सहायक हवल्दार रुद्रप्रसाद गौतमले जानकारी दिए । यसैगरी आगलागीबाट श्रेष्ठको घरसँगै एउटा पान पसल र मःम पसल जलेर नष्ट भएको प्रहरीले जनाएको छ । सँगैको ‘जुम्बा डान्स सेन्टर’ पनि जलेर नष्ट भएको छ । आगलागीबाट भएको क्षतिको विवरण यकिन नभएको प्रहरीले जनाएको छ । पाँचवटा दमकलको सहयोगमा एक घण्टापछि आगो निभाइएको थियो । आगो निभाउन काठमाडौंका तीन र ललितपुरका दुईवटा दमकलका साथै प्रहरी परिचालन गरिएको थियो ।
हिमपातले हवाई यातायातमा असर पर्नसक्ने, यस्तो छ देशभरको मौसम पूर्वानुमान
काठमाडौं । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा हाल कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार आज दिउँसो देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भेगमा मौसम सफा रहने छ । कोशी प्रदेश,बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भेगका एक/दुई स्थानमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । त्यसैगरी,आज राति देशका पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । आगामी २४ घण्टामा कोशी,बागमती र गण्डकी प्रदेशका पहाडी भागका एक/दुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली क्षेत्रका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्नसक्ने भएकाले विभागले सम्बद्ध सबैलाई सतर्कता अपनाउन अनुरोध गरेको छ ।
विदेशी कार्यक्रम सञ्चालन गरिरहेका कलेजलाई मापदण्डमा रही काम गर्न शिक्षा मन्त्रालयको निर्देशन
काठमाडौं । शिक्षा मन्त्रालयलले मापदण्ड विपरीत विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेका कलेजहरूलाई तीन वर्षभित्रमा मापदण्डमा रहेर सञ्चालन गर्न निर्देशन दिएको छ । शिक्षा मन्त्रालयकै स्वीकृतिमा नियम विपरीत सञ्चालनमा आएका कलेजलाई मन्त्रालयले नै निर्देशन दिएको हो । विज्ञहरू सम्मिलित एक अध्ययन प्रतिवेदनले मापदण्ड पुरा नभएका र गुणस्तर सुनिश्चित नभएका कलेजले विदेशी कार्यक्रम सञ्चालन गरिरहेको प्रतिवेदन बुझाएपछि मन्त्रालयले यस्तो कदम चालेको हो । मन्त्रालयले ४ बुँदे निर्देशन जारी गर्दै तीन वर्षभित्र सबै मापदण्ड पूरा गर्न भनेको छ । ‘उच्च शिक्षा सञ्चालनसम्बन्धी निर्देशिका, २०५९ बमोजिम अनुमति लिई सञ्चालनमा रहेका कलेजहरूलाई थप व्यवस्थित र प्रभावकारी तवरबाट सञ्चालन गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको मिति २०८१ असोज ५ गतेको निर्णयबमोजिम स्वीकृत कार्ययोजना अनुसार कार्यान्वयन गरी सोको प्रगति विवरण यस मन्त्रालयमा नियमित जानकारी गराउनु हुन अनुरोध छ,’ मन्त्रालयले निकालेको सूचना भनिएको छ । सबै शिक्षण संस्थाहरूले तीन वर्षभित्र विश्वविद्यालय अनुदान आयोगबाट क्यूएए प्राप्त गरिसकेको हुनुपर्ने र यसका लागि सम्बन्धित कलेजले अविलम्ब प्रक्रिया थाल्न पनि निर्देशन दिएको छ । यस्तै, एउटै भवन परिसरमा एकभन्दा बढी नेपाली वा विदेशी विश्वविद्यालयका शैक्षिक कार्यक्रम सञ्चालन गरेका कलेजलाई एक वर्षभित्र अलग-अलग स्थानमा सञ्चालन गर्नुपर्ने, प्रत्येक शिक्षण संस्थाले छुट्टाछुट्टै डेडिकेटेड पूर्णकालीन प्रिन्सिपलको अविलम्ब व्यवस्था गर्नुपर्ने र निजहरूको सम्पर्क नम्बरसहितको नाम नामेसी विवरण मन्त्रालयमा उपलब्ध गराउनुपर्ने पनि सूचनामा उल्लेख छ । यो पनि पढ्नूहोस् : दुई दर्जन कलेजको मापदण्ड विपरीतको काम, नाम परिवर्तन गर्न नपाउने