विकासन्युज

अब नेपालमा ओमानी रियाल पनि खरिद बिक्री हुने, मूल्य ३५१.९३ रुपैयाँ

काठमाडौं । नेपाल राष्ट्र बैंकले ओमानको मुद्रा नेपालमा खरिद बिक्री हुने जनाएको छ । केन्द्रीय बैंकले एकीकृत परिपत्र, २०८० मा संशोधन गर्दै ‘ओमानी रियाल’ थप भएको जनाएको छ । विदेशी विनिमय व्यवस्थापन विभागका कामु कार्यकारी निर्देशक राजेन्द्र भट्टराईका अनुसार विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १२ र नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ६३ ले दिएको अधिकार प्रयोग गरी उक्त मुद्रालाई नेपालमा कारोबारका लागि थप गरिएको छ । हाल नेपालभर विभिन्न २१ वटा विदेशी मुद्राको खरिद बिक्री हुँदै आएको छ । ओमानी रियालको खरिद बिक्री सुरु भएपछि वैदेशिक रोजगारीका लागि ओमान पुगेको नेपाली नागरिकका लागि थप सहज हुने बताइएको छ । राष्ट्र बैंकले शुक्रबार उक्त मुद्राको खरिद मूल्य ३५०.३७ रुपैयाँ र बिक्री मूल्य मूल्य ३५१.९३ रुपैयाँ तोकेको छ ।

कोशी, बागमती, गण्डकी र कर्णालीमा वर्षा र हिमपात हुने, बाँकी भागमा मौसम सफा

काठमाडौं । देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको तथा भारत उत्तर प्रदेशको तल्लो वायुमण्डलमा कमजोर निम्नचापीय प्रणाली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहेको छ । विभागका अनुसार आज दिउँसो देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका एक-दुई स्थानमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । त्यसैगरी, आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ । आगामी २४ घण्टामा कोशी,बागमती गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका एक/दुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली क्षेत्रका एक/ई स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्नसक्ने भएकाले विभागले सम्बद्ध सबैलाई सतर्कता अपनाउन अनुरोध गरेको छ ।

नेप्सेले सार्वजनिक गर्याे कारोबार योग्य ११२ कम्पनी (सूचीसहित)

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले कारोबार योग्य कम्पनीको सूची सार्वजनिक गरेको छ । नेप्सेले पहिलोपटक धितोपत्र व्यापारी (स्टक डिलर)का लागि कारोबार योग्य ११२ कम्पनीको सूची सार्वजनिक गरेको हो । धितोपत्र व्यापारी (स्टक डिलर) कार्य सञ्चालन सम्बन्धी कार्यविधि, २०७७ को परिच्छेद २ को दफा ३ (२) बमोजिम योग्य कम्पनीहरूको सूची सार्वजनिक गरेको नेप्सेले जनाएको छ । कारोबार योग्य कम्पनीहरू दफा ३(३) बमोजिम आर्थिक वर्ष २०८१/८२ का लागि अद्यवधिक गरी सोही कार्यविधिको दफा ३(१) मा रहेको व्यवस्था बमोजिम सूची सार्वजनिक गरिएको नेप्सेको भनाइ छ ।[pdf id=523973]  

नेपालले पायो डबल बी माइनस कन्ट्री रेटिङ, सरकारकाे घाटा जीडीपीको ४ प्रतिशतमा झर्ने

काठमाडौं । नेपालले डबल बी माइनस कन्ट्री रेटिङ पाएको छ । अन्तर्राष्ट्रिय रेटिङ एजेन्सी फिचले नेपाललाई डबल बी माइनस कन्ट्री रेटिङ दिएको हो । सरकारले पहिलोपटक कन्ट्री रेटिङ गराएको हो । फिचले देशको आर्थिक अवस्थालाई सकारात्मक रूपमा मूल्यांकन गर्दै राजनीतिक स्थिरता भए आर्थिक सुधार हुने जनाएको छ । कम ऋण, कमजोर संरचनात्मक पक्ष जलविद्युत क्षेत्रको समर्थित द्रुत वृद्धिको सम्भावनाले देशको बलियो आर्थिक विकास सुनिश्चित गरेको छ । प्रतिव्यक्ति आय र शासनका मापदण्डहरू ‘बीबी’ मेडियनभन्दा निकै तल छन्, तर २००६ मा सशस्त्र द्वन्द्व अन्त्य र राजनीतिक परिवर्तनपछि ती सुधार हुँदै गएका छन् । स्थिर ऋण फिचले १५ जुलाई २०२४ मा समाप्त हुने आर्थिक वर्षमा संघीय (केन्द्रीय) सरकारको ऋण जीडीपीको ४४ प्रतिशतभन्दा बढी पुग्यो, जुन ‘बीबी’ मापनको ५५ प्रतिशतभन्दा तल छ । नेपालले ‍अन्तर्राष्ट्रिय मुद्रा कोषको सहयोगमा आर्थिक स्थिरता र विकास योजनाहरू अपनाउँदै आगामी वर्षहरूमा यस स्तरमा ऋणलाई स्थिर राख्ने अपेक्षा गरिएको छ । गैर-वित्तीय दायित्वहरू सीमित छन्, यद्यपि निगरानी र अनुगमन पूर्ण रूपमा भएकाे छैन । बलियो ऋण पहुँच आर्थिक वर्ष २०८१ मा संघीय सरकारको ब्याज भुक्तानी राजस्वको करिब ८ प्रतिशतसम्म पुग्यो, जुन ‘बीबी’ मापनको भन्दा अलि तल छ । करिब ४० प्रतिशत सरकारको ऋण बाह्य छ । राजस्व झट्का गत वर्षमा आयात र त्यससम्बन्धी करहरूमा तीव्र गिरावटले राजस्वमा असर पारेको थियो । यसले अर्थव्यवस्थालाई कमजोर बनायो, यद्यपि कोभिडपछिको पर्यटन पुनरुत्थान र रेमिट्यान्सले केही राहत दिएको थियो । राजनीतिक अस्थिरता २०१४ देखि अहिलेसम्म नेपालले आठ पटक सरकार परिवर्तन गरेको छ । यसले दीर्घकालीन नीति निर्माणमा बाधा पुर्‍याए पनि आर्थिक व्यवस्थापनमा व्यापक सहमति देखिन्छ । राजनीतिक स्थिरता भए आर्थिक सुधार हुने देखिन्छ । बैंकिङ र विदेशी मुद्रा सञ्चिति बैंकिङ क्षेत्रमा पनि सकारात्मक संकेत देखिएको छ । निजी क्षेत्रमा ऋण कुल ग्राहस्थ उत्पादनको ८६ प्रतिशत पुगेको छ भने बैंकमा निक्षेप रकम १०६ प्रतिशतसम्म पुगेको छ । यसैगरी विदेशी मुद्रा सञ्चिति १३ अर्ब अमेरिकी डलर पुगेको छ ।

वायुसेवा निगमले घटायो अन्तर्राष्ट्रिय सेक्टरको हवाई भाडादर

काठमाडौं। नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले अन्तर्राष्ट्रिय सेक्टरको भाडादर घटाएको छ । निगमले न्यूनतम २ हजार ५ सयदेखि अधिकतम ५ हजार रुपैयाँसम्म भाडादर घटाएको हो । निगमले विज्ञप्ति जारी गरी भारतका नयाँदिल्ली, मुम्बई र बैंगलोर, युनाइटेड अरब इमिरेट्स (यूएई) को दुबई, साउदी अरबको दमाम, मलेसियाको क्वालालम्पुर, हङकङ, थाइल्यान्डको बैंकक र जापानको नारिता उडानमा भाडादर घटाएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हवाई भाडादर घटाउन विशेष निर्देशन दिएपछि सबै सेक्टरमा भाडादरमा छुट दिन थालिएको निगमको भनाइ छ । निगमकाअनुसार दिल्ली, मुम्बई र बैंगलोरमा प्रतिटिकट २ हजार ५ सय तथा दोहो, दुबई, दमाम, क्वालालम्पुर, हङकङ, बैंकक र नारिताका लागि प्रतिटिकट ५ हजार रुपैयाँसम्म छुट दिइएको छ ।

नेपालगञ्जमा १०८ फिट अग्लो ‘हनुमान’को मूर्ति बनाइँदै, १० करोड लाग्ने

खजुरा । नेपालगञ्जमा १०८ फिट अग्लो ‘हनुमान’को मूर्ति निर्माण भइरहेको छ । नेपालगञ्ज उपमहानगरपालिकाले १०८ फिट अग्लो हनुमानको मूर्ति बनाइरहेको जनाएको छ । मन्दिरको फाउन्डेसन (बेस) र प्लेटफर्मको काम सकिएपछि अहिले मूर्ति निर्माणको काम सुरु गरिएको उपमानगरपालिकाका इञ्जिनीयर सुरज शर्माले बताए । उनका अनुसार हनुमानको खुट्टा ढलानको काम सम्पन्न भएको छ । उपमहानगरपालिका–२ हनुमानगढीस्थित बालदा तलाउमा १०८ फिट अग्लो हनुमानको मूर्ति निर्माण हुन लागेको हो । उपमहानगरपालिकाले जम्बुदिप कन्स्ट्रक्सन प्रालि काठमाडौंलाई दुई वर्षभित्र निर्माणकार्य सम्पन्न गर्ने गरी १७ मार्च २०२३ मा सम्झौता गरेको थियो । मूर्ति निर्माणका लागि भ्याटसहित १० करोड ११ लाख ५२ हजार ४९४ रुपैयाँमा ठेक्का सम्झौता भएको इञ्जिनीयर शर्माले बताए । नेपालगञ्जमा धार्मिक पर्यटन प्रवद्र्धन गर्नका लागि ऐतिहसिक हनुमानको मूर्ति बनाउन थालिएको हो । भारतको अयोध्यामा राम मन्दिर बनेपछि राम र हनुमानको सम्बन्धलाई एकाकार गर्दै आयोध्यासँग नेपालगञ्जलाई ‘टाइअप’ गर्ने उद्देश्यका साथ हनुमानको मूर्ति निर्माण सुरु गरिएको नगर प्रमुख प्रशान्त विष्टले बताए । उनले नेपालगञ्जको धार्मिक पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास गर्दै अयोध्यासँगको आध्यात्मिक ‘कनेक्सन’ मा यो मूर्ति कोशेढुङ्गा सावित हुने बताए ।

अडानी समूहले दियो सफाइ, भन्छ- घूसखोरी र ठगीको आरोप निराधार

काठमाडौं । अडानी समूहले अमेरिकी न्याय विभाग र यूएस सेक्युरिटीज एण्ड एक्सचेन्ज कमिसन (एसईसी) ले लगाएका आरोपलाई आधारहीन बताएकाे छ । अमेरिकी अदालतले अडानी समूहका अध्यक्ष गौतम अडानीसहित ८ जनाविरुद्ध मुद्दा दायर गरेको थियाे । अडानी ग्रीनका निर्देशकहरू विरुद्ध लगाएको घुसखोरीको आरोप निराधार भएको समूहले विज्ञप्ति जारी गर्दै बताएकाे छ । विज्ञप्तिमा अमेरिकी न्याय विभागले भर्खरै आरोप दायर गरेको र दोषी प्रमाणित नभएसम्म प्रतिवादीहरू निर्दोष मानिने उल्लेख गरिएको छ । यस विषयमा सम्भावित सबै कानुनी उपायहरू अवलम्बन गरिने पनि उल्लेख गरिएको छ । सेयरधनीलाई आश्वासन अडानी समूहले विज्ञप्तिमा आफ्ना सेयरधनीहरूलाई आश्वासन दिएको छ । यसले अडानी समूहले सधैं सबै क्षेत्रहरूमा पारदर्शिता र नियामक नियमहरूको पालना गरेको र त्यसलाई निरन्तरता दिने बताएको छ । विज्ञप्तिमा भनिएको छ, ‘हामी हाम्रा सेयरधनीहरू, साझेदारहरू र समूहका कर्मचारीहरूलाई कानुनको पूर्ण पालना गर्ने संस्था हौं भन्ने विश्वस्त पार्न चाहन्छाैं ।’ के हो विषय ? अडानी र उनका भतिजासहित कुल ८ जनामाथि अमेरिकी अभियोजनकर्ताले घुस लिएको आरोप लगाएका छन् । अभियोजकहरूका अनुसार सौर्य ऊर्जाको ठेक्का लिनका लागि भारतीय सरकारी अधिकारीहरूलाई २६५ मिलियन डलर घुस दिएको आरोप छ । यस मामिलामा अदालतले अडानी र उनका भतिजा विरुद्ध पक्राउ पूर्जी जारी गरेको छ । सेयरमा ठूलो गिरावट यी आरोपलगत्तै अडानी समूहका सबै सेयरमा भारी गिरावट आएको छ । समूहको प्रमुख कम्पनी अडानी इन्टरप्राइजेजको सेयर २० प्रतिशतले घटेको छ । अडानी इनर्जी सोलुसन्सको सेयर पनि २० प्रतिशतको तल्लो सर्किटमा पुगेकाे छ । अडानी पोर्ट्स पनि २०% ले घट्यो । २ लाख करोडभन्दा बढीको घाटा सेयरमा आएको गिरावटका कारण अडानीलाई २ लाख करोड भारुभन्दा बढीको घाटा भएको छ । सेयरमा आएको गिरावटका कारण अडानी समूहका कम्पनीहरूको मार्केट क्याप करिब २ लाख करोड भारुले घटेको छ । केही मिडिया रिपोर्टमा यो घाटा करिब ३ लाख करोड भारु रहेको पनि बताइएको छ । २०२३ को सुरुमा हिन्डनबर्ग रिसर्चको रिपोर्ट आएपछि पनि अडानीको सेयर घटेको थियो । आजको गिरावट त्यसपछिको सबैभन्दा ठूलो गिरावट हो । (एजेन्सीहरूको सहयोगमा) यो पनि पढाैं-  अडानीविरुद्ध अमेरिकामा पक्राउ पूर्जी, अर्बौं डलर ठगीको आरोप

स्थानीयसँग जग्गाको विषयमा सहमति नजुट्दा बैतडीका दुई पालिकामा सबस्टेसन सञ्चालनमा ढिलाइ

बैतडीको पाटन । तस्बिर : कृष्ण विष्ट/बैतडी काठमाडौं । बैतडीमा जग्गा विवादका कारण विद्युत सबस्टेसनको सञ्चालन प्रक्रियामा समस्या भएको छ । विद्युत लाइन तान्नको लागि स्थानीयहरूले जग्गा नदिँदा पाटन नगरपालिका र मेलौली नगरपालिकाको सबस्टेसन सञ्चालनमा ढिलाइ भएकाे हो । पाटन नगरपालिका- ६ को सुर्नया खोला विद्युत गृहदेखि पाटन सबस्टेसनसम्मको ३३ केभी प्रशारण लाइन तान्नको लागि स्थानीयहरूले जग्गा नदिएपछि पाटन र मेलौली सबस्टेसन सञ्चालनमा आउन नसकेको हो । स्थानीयहरूसँग पटक-पटक सहमतिको लागि छलफलको प्रयास भए पनि ठोस सहमति नजुटेको विद्युत वितरण केन्द्र बैतडीका प्रमुख जनार्दन पौडेलले विकासन्यूजलाई जानकारी दिए । उनले भने, ‘स्थानीयहरूको गाउँ र खेत हुँदै लाइन तान्ने योजना थियो, सहमति नै दिँदैनन्, पुनः छलफल हामीले जारी राखेका छौं । उनीहरूलाई सहमतिमा ल्याउनका लागि अहिले पालिकासँग समन्वय भइरहेको छ ।’ यसअघि पनि स्थानीय जग्गाधनी र जनप्रतिनिधिहरूबीच छलफल भएको तर सहमति नजुट्दा काम अघि बढ्न नसकेको उनको भनाइ छ । स्थानीय कृष्णसिंह ऐरलगायतको खेतीयोग्य जमिन रहेको र उनीहरूले उक्त जमिन नदिने बताउँदै आएपछि ३३ केभी लाइनको सब स्टेसन सञ्चालनमा आउन नसकेको हो । लाइन सर्भेका बेला कुनै समन्वय नगरेको र अहिले लाइन विस्तारको लागि जग्गा दिन चाहिं नसकिने स्थानीयहरूको भनाइ छ । ‘हाम्रो लालपुर्जा भएको जमिन हो । जग्गा दिँदा खेतीयोग्य जमिन मासिन्छ । यदि सरकारले यसको क्षतिपूर्ति दिन्छ भने सहमतिमा आउँछौं । नत्र हामी जमिन दिदैनौं, ’ पाटन ६ का स्थानीय कृष्णसिंहले भने । हाल बैतडीमा विद्युतीकरणको काम तीव्र गतिमा भइरहको विद्युत वितरण केन्द्र, बैतडीले जनाएको छ । दोगडाकेदार गाउँपालिका, डिलासैनी गाउँपालिका, पूर्चौडी नगरपालिका, सूर्नया गाउँपालिका, सिगास गाउँपालिका र पाटन नगरपलिकामा अहिले विद्युतीकरण सबस्टेसनको काम धमाधम भइरहेको हो । विद्युतीकरण भएपछि नागरिकहरूलाई सहज हुने विश्वास विद्युत वितरण केन्द्र, बैतडीको छ । पालिकालाई पूर्ण विद्युतीकरण गर्ने योजनालाई विद्युत वितरण केन्द्र, बैतडीले प्राथमिकतामा राखेकाले यो कार्यमा सहयोग गर्न सबैलाई आग्रहसमेत गरेकाे छ ।