विकासन्युज

बीएण्डसीमा एमबीबीएस पठनपाठनको तयारी

झापा । राष्ट्रिय चिकित्सा शिक्षा आयोगबाट स्वीकृति प्राप्त झापाको बीएण्डसी मेडिकल कलेजले चिकित्सा शास्त्रअन्तर्गत एमबिबीएस (स्नातक तह)को पठनपाठनको तयारी पूरा गरेको छ । सर्वोच्च अदालतले २०८० चैत १३ गते बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन परमादेश जारी गरेको थियो । सोही परमादेशका आधारमा काठमाडौँ विश्वविद्यालयले सम्बन्धन प्रदान गरेको हो । चिकित्सा शिक्षा आयोगले चालु शैक्षिकसत्रका लागि बीएण्डसीलाई ५० विद्यार्थी पढाउन पाउने सिट निर्धारण गरेको थियो । हाल नियमानुसार नै विद्यार्थी भर्ना चलिरहेको कलेजका जनसम्पर्क अधिकृत प्रमेश गिरीले बताए । पहिलो वर्षमा ५० विद्यार्थीलाई अध्यापन गराउन कलेजले आवश्यक जनशक्ति, भौतिक पूर्वाधार र शैक्षिक सामग्रीको व्यवस्था गरिसकेको उनको भनाइ छ । कलेजले मेचीनगर नगरपालिका-१२ धाइजनमा विद्यार्थीलाई पठनपाठन गराउन पाँचतले ‘बेसिक साइन्स ब्लक’ तयार गरेको छ भने ‘क्लिनिकल साइन्स’ अध्यापनका लागि विर्तामोड नगरपालिका-५ स्थित बीएण्डसी हस्पिटलमा व्यवस्था मिलाइएको जनसम्पर्क अधिकृत गिरीले जानकारी दिए । ‘एमबिबीएस पठनपाठनका लागि धेरै वर्षअघिदेखि हामी तयारी अवस्थामा थियौँ,’ उनले भने, ‘धाइजनमा सुविधासम्पन्न साइन्स ब्लक छ । अभ्यास गर्न विद्यार्थीले बीएण्डसी अस्पताल नै उपयोग गर्न पाउनेछन् ।’ कलेजमा १५० विद्यार्थीलाई सहज रूपमा पठनपाठन गराउने व्यवस्था मिलाइएको छ ।

कोशी र गण्डकीमा वर्षासँगै हिमपातको सम्भावना, यस्तो छ आजको मौसम

काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहनका साथै कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली भएको छ भने बाँकी भागमा मौसम सफा रहेको छ । विभागका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी, र गण्डकी पहाडी भागका एक/दुई स्थानमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । त्यसैगरी, आज राति कोशी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी प्रदेशका पहाडी भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । आगामी २४ घण्टामा कोशी र गण्डकी प्रदेशका पहाडी भागका एक/दुई स्थानमा हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली क्षेत्रका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्नसक्ने भएकाले विभागले सम्बद्ध सबैलाई सतर्कता अपनाउन अनुरोध गरेको छ ।

गरिमा विकास बैंकको आयोजनामा सर्वाधिक धनराशीको रोड रेस कम्पिटिसन २०८१ सम्पन्न

काठमाडौं । ‘स्वस्थ जीवनशैली’ का लागि खेलकुुद भन्ने नाराका साथ गरिमा विकास बैंकले रोड रेस कम्पिटिसज २०८१ ऋायोजना गरेको छ । बैंकले १८औँ वार्षिकोत्सवको अवसरमा खुल्लातर्फ महिला र पुरुष तथा कर्पोरेटतर्फ महिला र पुरुष गरी कुल ४ वटा प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगिताका प्रमुख अतिथि किर्तिमानी धावक तथा ओलम्पियन बैकुण्ठ मानन्धरले उद्घाटन गरेको उक्त प्रतिस्पर्धाको खुल्लातर्फको १० कि.मी. दूरीको प्रतियोगिता गरिमा विकास बैंकको केन्द्रीय कार्यालय लाजिम्पाटबाट शुरु भई नारायणगोपालचोक, हात्तीगौडा हुँदै बुढानिलकण्ठ नगरपालिकाको गणेशचोकमा पुगी पूनः लाजिम्पाट, आएर समापन हुने गरी रुट तय गरिएको थियो । यस्तै, कर्पोरेटतर्फको ५ कि.मी. दूरीको प्रतियोगिता बैंकको केन्द्रीय कार्यालयबाट शुरु भई नारायणगोपालचोक पुगी पूनः लाजिम्पाटमा आई समापन हुने गरी रुट तय गरिएको थियो । कूल ६५० जना भन्दा बढी धावकहरुको सहभागिता रहेको उक्त प्रतियोगितामा हरेक विधामा प्रथम, दोश्रो, तेश्रो, चौथो र पाँचौ स्थान हासिल गर्ने प्रतिस्पर्धीहरुलाई क्रमशः ७५ हजार रुपैयाँ, ६० हजार रुपैयाँ, ४५ हजार रुपैयाँ, ३० हजार रुपैयाँ र १५ हजार रुपैयाँ नगद पुरस्कार, मेडल र प्रमाण–पत्र प्रदान गरिएको थियो । बैंक सञ्चालक तथा ओम हस्पिटल तथा रिसर्च सेन्टरका अध्यक्ष डा.आनन्द प्रसाद श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए भने बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) माधव प्रसाद उपाध्ययले कार्यक्रमको उद्देश्यको बारेमा प्रकाश पारेका थिए । बैंकका अध्यक्ष श्यामप्रसाद बस्यालले यस्ता कार्यक्रमले स्वास्थ जीवनशैली निर्माणमा निकै महत्वपूर्ण भूमिका खेल्ने भएकाले प्रत्येक वार्षिकोत्सवमा यस्ता कार्यक्रम गर्नुपर्ने धारणा राखे । कार्यक्रममा बोल्दै एथलेटिक्स परिवार नेपालका अध्यक्ष राजन खत्रीले बैंकले आयोजना गरेको ५ कि.मी.र १० कि.मी.दूरीको प्रतियोगिता नेपालमा आयोजना भएमध्येको हालसम्मकै सर्वाधिक राशीको प्रतियोगिता भएको बताए । साथै, बैंकले नेपाल र बंगलादेशबीच सम्पन्न साफ वुमन्स च्याम्पियनसिप २०२४ फुटवलको फाईनल खेलमा नेपाली महिला फुटवल टिमलाई बंगलादेशको टिम विरुद्ध गर्ने प्रतिगोल १ लाख रुपैयाँको दरले नगद पुरस्कार प्रदान गर्ने सार्वजनिक घोषणा गरेको थियो । नेपाली टिमले उक्त खेलमा १ गोल गरेकाले घोषणा गरेबमोजिमको १ लाख रुपैयाँ नगद पुरस्कार अखिल नेपाल फुटवल संघ, राष्ट्रिय महिला फुटवल टिमको प्रतिनिधीलाई हस्तान्तरण गरिएको छ । बैंकले १८औं वार्षिकोत्सवको अवसरमा उक्त कार्यक्रमसहित देशभर १८ वटा सामाजिक उत्तरदायित्वमूलक कार्यक्रम समेत सम्पन्न गरेको छ । बैंकले यस किसिमको रोड रेस प्रतियोगिता प्रत्येक वर्ष आयोजना गर्ने लक्ष्य राखेको छ ।

पिकनिकबाट फर्कंदै गरेको स्कुल बस दुर्घटनामा, २८ जना घाइते

भरतपुर । चितवनको उपरदाङगढीमा पिकनिक गएर फर्कंदै गरेको स्कुल बस दुर्घटनामा परेको छ । कालिका नगरपालिका–४ पदमपुरस्थित चित्रवन माविको मधेश प्रदेश ०३–०११ क २६७७ नंको बस आज साँझ ५ बजे कालिका नगरपालिका–९ द्रब्यटारमा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । दुर्घटनामा परेर चालकसहित २७ जना विद्यार्थी र एक शिक्षिका गरी २८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक ज्ञानकुमार महतोले जानकारी दिनुभयो । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ । अहिले चितवन मेडिकल कलेजमा २२ र पुरानो मेडिकल कलेजमा ६ जनाको उपचार भइरहेको महतोले बताए । उनका अनुसार ३० जना विद्यार्थीसहित ३२ जना बसमा सवार थिए । पिकनिक गएर फर्किंदै गर्दा ‘ब्रेक फेल’ भएर बस दुघर्टनामा परेको थियो ।

लगानी नडुब्ने सुनिश्चिता, रिक्स प्रिमियम र हेजिङ शुल्क घट्ने, क्रेडिट रेटिङबाट के लाभ लिने ?

काठमाडौं । प्रक्रिया सुरु भएको करिब ६ वर्षपछि नेपालले आफ्नो सार्वभौम साख मूल्याङ्कन (सोभरेन क्रेडिट रेटिङ) सम्पन्न गरेको छ । पहिलोपटक गराएको क्रेडिट रेटिङमा नेपालले ‘डबल बी माइनस’ (बिबी) स्कोर प्राप्त गरेको छ । प्रत्यक्ष वैदेशिक लगानी (एफडिआइ) र बाह्य ऋण भित्र्याउँदा लगानीकर्ताले खोज्ने महत्वपूर्ण सूचकका रुपमा क्रेडिट रेटिङ पर्दछ । यसकारण दातृ निकाय, विकास साझेदार तथा वैदेशिक लगानीकर्ता र नेपालको निजी क्षेत्रलेसमेत लामो समयदेखि क्रेडिट रेटिङ अतिआवश्यक रहेको बताउँदै आएका थिए । नेपालले कोभिड-१९ महामारीअघि नै रेटिङ प्रक्रिया थालेको थियो । तर, महामारीले अर्थतन्त्रमा गम्भीर सङ्कुचन देखिएको बेला क्रेडिट रेटिङ गर्दा खराब अवस्था देखिने भएपछि सरकारी प्रयासबाटै यो प्रक्रिया रोकियो । पहिलोपटक गराएको क्रेडिट रेटिङको नतिजा शुक्रबार सार्वजनिक गर्दै अर्थ मन्त्रालयले यसलाई ‘सन्तोषजनक’ देखिएको र आगामी दिनमा यो अवस्था सुधार गर्दै जाने बताएको छ । यो रेटिङले नेपालको अर्थतन्त्रको संरचना, सार्वजनिक वित्तीय व्यवस्थापन र समष्टिगत आर्थिक तथा वित्तीय अवस्था सुदृढ रहेको र लगानीमैत्री वातावरण रहेको देखाएको मन्त्रालयको भनाइ छ । लगानीकर्ताले प्रतिफल हेरेर लगानी गर्छन् । निर्धारण गर्ने आधारका रुपमा क्रेडिट रेटिङलाई हेर्ने गरिन्छ । नेपालमा सहज र सुदृढ लगानीको वातावरण छ भन्ने कुरा यो रेटिङको नतिजाले देखाएको छ । विश्वका ३० भन्दाबढी देशमा वित्तीय सूचनासम्बन्धी सेवा उपलब्ध गराइरहेको रेटिङ एजेन्सी ‘फिच रेटिङ’ले नेपालको साखको स्वतन्त्र आँकलन पछि भनेको छ, ‘नेपालको सार्वजनिक ऋण र कूल गार्हस्थ्य उत्पादन (जिडिपी)को अनुपात सुविधाजनक अवस्थामै छ । नेपालले राखेको लक्षित आर्थिक वृद्धि र राजस्व सुदृढीकरणबाट यो अनुपात अहिलेकै अवस्थामा कायम रहन सक्छ । सहनशीलता राम्रो छ । बाह्य क्षेत्र राम्रो छ ।’ पहिलोपटक सार्वभौम साख मूल्याङ्कन गराएर ऐतिहासिक उपलब्धि हासिल गरेको र त्यसको नतिजा पनि सन्तोषजनक देखिएको दाबी सरकारले गरिरहँदा नेपालले के कस्तो लाभ लिनसक्छ ? र त्यसका लागि हामी कति तयार छौँ ? भन्ने प्रश्न महत्वपूर्ण छ । मुलुकको विकास र समृद्धिका आकाङ्क्षा पूरा गर्न आन्तरिक स्रोतले नभ्याउने अवस्थामा प्रत्यक्ष वैदेशिक लगानी र बाह्य ऋणको भर पर्नुपर्ने हुन्छ । तर, लगानीकर्ताले भने सम्बन्धित देशमा भएको लगानीको उचित प्रतिफल पाइन्छ/पाइँदैन वा दिइएको ऋण फिर्ता हुन्छ/हुँदैन भन्ने कुराको सुनिश्चितता खोज्ने गर्दछन् । पूर्वअर्थसचिव शिशिरकुमार ढुङ्गाना सार्वभौम साख मूल्याङ्कनले नेपालको कर्जा तिर्न सक्ने क्षमता र लगानीको प्रतिफलको सुनिश्चितता राम्रो देखिएको बताउँछन् । ‘रेटिङले लगानी वातावरणका लागि आत्मविश्वास बढाउँछ । अहिलेको नतिजाले नेपालमा गरिएको लगानीको तिर्नसक्ने क्षमता (क्रेडिट बर्दिनेस) राम्रो छ भन्ने देखाएको छ । यसले यहाँ भएको लगानी डुब्दैन भन्ने सुनिश्चिता प्रदान गर्दछ,’ उनले भने, ‘वित्तीय स्रोत परिचालनका लागि अझै ठाउँ छ भन्ने कुरा पनि रेटिङ नतिजाले देखाएको छ ।’ नेपालको जिडिपी र सार्वजनिक ऋणको अनुपात अहिले ४४ प्रतिशत हाराहारी छ । जुन अनुपातले धेरै दबाब नरहेको देखाउने र थप ऋण लिनका लागि अझै ठाउँ रहेको देखाएको ढुङ्गाना बताउँछन् । ‘हाम्रो वित्तीय खाडल (फिस्कल ग्याप) कम हुँदै गएको छ भन्ने देखिएको छ । यसले स्रोत परिचालनका लागि अझै पनि दायरा बाँकी छ भन्ने बुझाउँछ र यी सबै कुराले लगानीकर्ताको विश्वास बढाउने हो,’ उनले भने । साख मूल्याङ्कनमा राम्रो अवस्था देखिनुले सस्तो लगानी ल्याउनका लागि भूमिका खेल्ने पनि ढुङ्गाना बताउँछन् । ‘विदेशीहरुले ऋण दिँदा अथवा सरकार वा निजी क्षेत्रले विदेशबाट पैसा ल्याउँदा ‘रिक्स प्रिमियम’ लगाउने गर्थे । ‘रिक्स प्रिमियम’को दर कम हुन्छ वा यस्तो प्रिमियम नलाग्ने हुन्छ । जसकारण लगानी सस्तो हुन्छ, लगानीको जोखिम कम भएपछि हेजिङको शुल्क पनि कम हुने भयो,’ उनले भने । नेपालको ऋण तिर्नसक्ने क्षमता राम्रो हुँदा सरकारले द्विपक्षीय तथा बहुपक्षीय ऋण स्वीकार गर्दा ‘नेगोसियसन’को क्षमता बढ्ने ढुङ्गाना बताउँछन् । त्यस्तै, निजी क्षेत्रले पनि वैदेशिक लगानी ल्याउँदा अथवा अन्तर्राष्ट्रिय बजारमा बण्ड स्वीकार गर्दा सहुलियत दरमा ‘नेगोसिय सन’ गर्न पाउँछन् । यसरी मुलुकको ऋण तिर्नसक्ने क्षमता राम्रो छ भन्नुको अर्थ विदेशी लगानीकर्तालाई लगानीको सुनिश्चितता हुने र नेपालमा आउने लगानीको लागत (कस्ट अफ फन्ड) कम हुने देखिन्छ । नेपालको अवस्था राम्रो छ भन्ने देखिएपछि अब नेपालले कसरी लाभ लिनसक्छ भन्ने प्रश्नमा पूर्वअर्थसचिव ढुङ्गानाले भने, ‘सरकारले राम्रो प्रतिफल दिने र उपयुक्त आयोजना पहिचान गरेर ‘प्रोजक्ट बैंक’ तयार पारी लगानीकर्तासमक्ष प्रस्तुत गर्न सक्नुपर्छ । लगानी खोज्नका लागि सरकारले निजी क्षेत्रलाई अधिकतम परिचालन गरेर अब क्रेडिट रेटिङ पनि भयो र लगानी भित्र्याउ भन्न सक्नु पर्‍यो । निजी क्षेत्रले पनि विदेशी निजी क्षेत्रबाट लगानी प्राप्त गर्नका लागि उनीहरुसँग वार्ता र छलफल गरेर त्यस्तो लगानी भित्र्याउन सक्नुपर्‍यो ।’ विदेशी साझेदारमार्फत नेपालमा लगानी भित्र्याउने निजी क्षेत्रको प्रयासमा अब क्रेडिट रेटिङको नतिजाले राम्रो प्रभाव देखिने नेपाल उद्योग परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवाल बताउँछन् । विदेशी लगानीकर्ताले कुनै पनि मुलुकमा लगानी गर्नका लागि सबैभन्दा पहिले कन्ट्री रेटिङको अवस्थालाई हेर्ने भएकाले अब नेपाललाई लगानी भित्र्याउन पहिलेकोभन्दा सहज हुने उनको बुझाइ छ । ‘कुनै पनि लगानीकर्ताले सबैभन्दा पहिले हेर्ने भनेको कन्ट्री रेटिङ नै हो । निजी क्षेत्रले पनि विदेशी लगानी ल्याउनका लागि प्रयास गर्ने हो, यसले त्यसमा सहयोग पुग्छ, अर्कोतर्फ सरकारले पनि कुनै ऋण लिँदा वा अन्तर्राष्ट्रिय बजारमा ऋणपत्र जारी गर्दा क्रेडिट रेटिङले सहयोग गर्छ,’ उनले भने । नेपालको सार्वजनिक र निजी क्षेत्रबाट भएको लगानीले लक्षित आर्थिक र पूर्वाधार विकास गर्न नसकिरहेको अवस्थामा वैदेशिक लगानी र ऋण अपरिहार्य हो । तर, विदेशी लगानीकर्ताले भने सम्बन्धित मुलुकमा लगानी वातावरणको अवस्था कस्तो छ भनेर जान्न क्रेडिट रेटिङको अवस्था कस्तो छ भनेर हेर्ने । अब भने नेपालले आफ्नो अवस्था देखाउनसक्ने अवस्थामा पुगेको अग्रवाल बताउँछन् । ‘विभिन्न मुलुकसँग नेपालमा लगानी गर्नका लागि उनीहरुसँग कुरा गर्दा कन्ट्री रेटिङ नै नभएको भन्ने गर्थे । के आधारमा विश्वास गर्ने भन्ने प्रश्न उठ्थ्यो अहिले राम्रो नतिजा आएको छ । त्यसले सकारात्मक प्रभाव पर्छ,’ उनले भने, ‘उदाहरणका लागि नेपालले जलविद्युत् क्षेत्रमा सन् २०३५ सम्ममा २८ हजार ५ सय मेगावाट क्षमताका आयोजना निर्माण सम्पन्न गर्ने भनिएको छ । त्यसका लागि हाम्रो लगानी मात्रले कन्ट्री रेटिङ भएपछि अब विदेशी लगानी ल्याउनका लागि ।’ विगतमा कन्ट्री रेटिङ नभएका कारण ठूला कम्पनी नेपालमा लगानी गर्न नचाहेको अग्रवाल बताउँछन् । दक्षिण एसियाली क्षेत्रका अन्य देशहरूको तुलनामा सन्तोषजनकस्तरको क्रेडिट रेटिङ नेपालले प्राप्त गरेको छ । यो नतिजाले सरकार, निजी क्षेत्र र सम्पूर्ण लगानीकर्तामा उत्साह थप्नु स्वाभाविक हो । पूर्व बैंकर अनलराज भट्टटराईले नेपालले सार्वभौम साख मूल्याङ्कन गर्नु आफैँमा एक महत्वपूर्ण उपलब्धि र गौरवको विषय रहेको बताउँछन् । ‘नतिजा राम्रो वा नराम्रो आउँछ भन्ने कुराभन्दा पनि हामी क्रेडिट रेटिङ गराएको मुलुकमा पर्‍यो, यो नै उपलब्धिको विषय हो । यसअघि हामी कुन अवस्थामा थियो भन्ने नै थाहा थिएन । तर अहिले हाम्रो अवस्था के हो भनेर देखिएको छ,’ उनले भने । नेपालको क्रेडिट रेटिङको नतिजाले छोटो समयका लागि वित्तीय स्थायित्व कायम रहेको र लामो समयका लागि भने केही असहज अवस्था रहेको देखाएको भट्टराईले बताए। त्यस्तै अब नेपालको अवस्थाबारे विश्व समुदायलाई थाहा हुने र नेपालले पनि के कुरामा सुधार गर्नुपर्छ भनेर आफ्नो योजना बनाउनुपर्ने उनको बुझाइ छ । ‘अब हामीलाई कसैले मूल्याङ्कन गरिरहेको छ भनेर बुझ्नुपर्ने हुन्छ । रेटिङ एकपटक गरेपछि सकियो भन्ने होइन हाम्रो अवस्था सुधार गरेर अर्कोपटक गर्दा अहिलेकोभन्दा । राम्रो नतिजा आउन सक्छ, कति समयमा मूल्याङ्कन गर्ने भन्ने सम्बन्धित मुलुकमा भरपर्छ,’ भट्टराईले भने । नेपालले पछिल्ला वर्षमा कुनै पनि ऋण चुक्ता गर्न नसकेको (क्यापासिटी टु पे) वा गर्न नचाहेको (विलिङनेस टु पे) भन्ने नदेखिएकाले नेपालप्रति लगानीकर्ता विश्वस्त हुने आधार रहेको उनको बुझाइ छ । यद्यपि राजनीति अस्थिरताका कारण लगानीकर्ताले त्यस्तो जोखिमको शङ्का वा अनुमान गर्ने गरेको भट्टराईले बताए । नेपालले आफ्नो कूल गार्हस्थ्य उत्पादनमा रेमिट्यान्स बाहेक अरु क्षेत्रको योगदान बढाउँदै जानुपर्ने तथा निजी क्षेत्रले विदेशी मुद्रामा ऋण लिँदा वा लगानी भित्र्याउँदा त्यसको प्रतिफल विदेशी मुद्रामा पाइन्छ वा पाइँदैन भन्ने कुराको आँकलन गर्नुपर्ने उनको बुझाइ छ । ‘निजी क्षेत्रले विदेशी मुद्रामा लगानी भित्र्याउँदा त्यसको प्रतिफल पनि विदेशी मुद्रामै जाने हो । त्यसका लागि निजी क्षेत्र सक्षम छ वा छैन भन्ने हेर्न जरुरी छ,’ उनले भने । यसरी सार्वभौम क्रेडिट रेटिङले कुनै पनि देशको लगानी वातावरणको मूल्याङ्कन गर्ने महत्वपूर्ण आधार प्रदान गर्दछ भने प्राप्त क्रेडिट रेटिङले नेपालको साख क्षमता उच्च रहेको देखाएको छ । जसले गर्दा नेपालले अन्तर्राष्ट्रिय बजारबाट न्यून ब्याजदरमा ऋण प्राप्त गर्न सहज बनाउने सम्भावना बढेको छ । निजी क्षेत्रको विश्वास अभिवृद्धि गर्न सहयोग पुग्नुका साथै विदेशी लगानी आकर्षित गर्ने अवसर प्रदान गर्नेसमेत ठानिएको छ ।

काठमाडौंमा आज तीन शव भेटिए, ६० वर्षीय पुरूषको पहिचान खुलेन

काठमाडौं । काठमाडौंका विभिन्न क्षेत्रमा आजमात्रै तीन जना मृत भेटिएका छन् । काठमाडौंको गोकर्णेश्वर नगरपालिका, टोखा र दक्षिणकालीमा शव भेटिएको काठमाडौंका प्रहरी प्रवक्ता, प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार गोकर्णेश्वर नगरपालिका-१ सुन्दरीजलस्थित निमा तामाङको घरको आँगनमा सोलुखुम्बु घर भएका ५२ वर्षीय नरबहादुर राई, टोखा नगरपालिका-१० खरिबोटस्थित सत्कार खाजा पसलका सञ्चालक सुनसरी धरान उपमहानगरपालिका घर भएका ५५ वर्षीय अर्जुनकुमार राई आफ्नै खाजा पसल अगाडि मृत फेला परेका छन् । यसैगरी दक्षिणकाली नगरपालिका-६ दक्षिणकाली साँस्कृतिक क्षेत्र सुधार समितिको जङ्गलको पानी ट्याङ्की नजिक खोल्सामा आज बिहान एक पुरुष मृत भेटिएका प्रहरीले जनाएको छ । अन्दाजी ६० वर्षीय ती पुरूषको पहिचान खुलेको छैन । तीनै वटा घटनाबारे अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

इन्भेष्टमेन्ट कम्पनीको सेयर कारोबारसम्बन्धी नयाँ प्राबधान

काठमाडौं । गैरआवासीय नेपालीको संयुक्त लगानीमा स्थापित इन्भेष्टमेन्ट कम्पनीको सेयर कारोबारसम्बन्धी नयाँ व्यवस्था गरिएको छ । धितोपत्र बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डका प्रवक्ता डा. नवराज अधिकारीका अनुसार, इन्भेष्टमेन्ट कम्पनीको सेयरमा गैरआवासीय नेपालीले लगानी गर्नसक्ने र त्यस्तो सेयरदोस्रो बजारमा पनि उनीहरुले मात्रै खरिद बिक्री गर्न पाउने छन् । बोर्डले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका, २०७४ मा आठौँ संशोधन गर्दै त्यसप्रकारको प्रबन्ध गरेको हो । गैरआवासीय नेपालीले नेपालका बैंक तथा वित्तीय संस्थामा खाता खोल्न सक्नेछन् । सोही खातामा आस्वा प्रणालीको प्रयोग गरी सरकार र गैरआवासीय नेपालीले स्थापना गरेको कम्पनीको सेयरमा आवेदन दिनसक्ने प्रबन्ध गरिएको उनले जानकारी दिए । त्यसरी बिक्री गरिने सेयरमा आवेदन दिन सकिने न्यूनतम सीमा भने एक हजार कित्ता रहेको छ । सेयर खरिद गर्न चाहने गैरआवासीय नेपाली नागरिकले आफ्नो परिचयपत्र वा स्थायी लेखा नम्बर पेस गर्नुपर्नेछ । त्यस्तो कम्पनीको संस्थापकवा सर्वसाधारणका रुपमा लगानी गर्न सक्नेछन् । सेयरको कारोबार प्रणाली धितोपत्र बजारले व्यवस्थागरेबमोजिम हुनेछ । संयुक्त लगानीको इन्भेष्टमेन्ट कम्पनीले धितोपत्र निष्काशन गर्दा सेयरको प्रत्याभूतिसम्बन्धी व्यवस्था भने लागू हुने छैन । गैरआवासीय नेपालीलाई पुँजी बजारमा लगानीको अवसर उपलब्ध गराउन सरकार र बोर्डको उच्च प्राथमिकता रहेको प्रवक्ता डा अधिकारीको भनाइ छ ।

चिलिमेका ३ आयोजनाको १६८ मेगावाट राष्ट्रिय प्रसारणमा, कुलमानले भने- निरन्तर प्रयासपछि ठूलो उपलब्धी

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको अगुवाइमा रसुवामा सुरु भएका तीनवटा जलविद्युत आयोजनाको निर्माण सम्पन्न भएको छ । तीनवटा जलविद्युत आयोजनाहरु निर्माण सम्पन्न भई १६८ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ । तीनवटै आयोजनाहरुबाट उत्पादित विद्युत् विद्युत् रसुवाको आमाछोदिङमो गाउँपालिका थम्बुचेतस्थित प्राधिकरणले बनाएको २२०/१३२/३३ केभी सबस्टेसनमा जोडी राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गरिएको हो । १४.८ मेगावाटको माथिल्लो साञ्जेन, ४२.५ मेगावाटको साञ्जेन र १११ मेगावाटको रसुवागढी जलविद्युत आयोजनाहरुको निर्माण सम्पन्न गरी राष्ट्रिय प्रसारण लाइनमा जोडिएका हुन् । जसमध्ये माथिल्लो साञ्जेन गत वर्षको असोजमा निर्माण सम्पन्न भई व्यवसायीक रुपमा विद्युत् उत्पादन गरी हालसम्म करिब ३० करोड रुपैयाँको विद्युत् बिक्री गरिसकेको छ । ४२.५ मेगावाटको साञ्जेन जलविद्युत आयोजनाको निर्माण सम्पन्न गरी शुक्रबारबाट राष्ट्रिय प्रसारण लाइनमा जोडी परीक्षणका रुपमा विद्युत उत्पादन सुरु गरिएको छ । १११ मेगावाटको रसुवागढी जलविद्युत आयोजनाको निर्माण सम्पन्न भई हाल परीक्षणका रुपमा विद्युत उत्पादन गरिरहेको छ । परीक्षण उत्पादन सफल भएपछि एवम् तोकिएका मापदण्ड पूरा गरेपछि साञ्जेन र रसुवागढीको व्यवसायीक रुपमा विद्युत् उत्पादन सुरु हुने छ । दुवै आयोजनाहरुबाट यही महिनाभित्रमा व्यवसायीक रुपमा विद्युत् उत्पादन हुनेछ । नदी प्रवाहमा आधारित माथिल्लो साञ्जेन, साञ्जेन र रसुवागढी जलविद्युत आयोजनाहरुबाट हिउँदयाममा करिब ८० मेगावाट मात्र विद्युत उत्पादन हुन्छ । चिलिमे जलविद्युत कम्पनीको अनुवाइमा २७० मेगावाटका चारवटा आयोजना सुरु गरिएकामा सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्यभोटेकोशीबाहेक तीनवटा आयोजनाहरु सम्पन्न भएका हुन् । सबै आयोजनाहरु २०७२ सालको विनाशकारी भूकम्प र त्यसपछिका पराकम्पन एवम् बाढीपहिरोले पुर्याएको क्षति तथा अवरोध, कमजोर भौगर्भिव अवस्था, मधेश आन्दोलनका कारण निर्माण समाग्री ढुवानी र इन्धन आपूर्तिमा आएको समस्या, प्रत्येक वर्षायाममा आयोजना क्षेत्रमा आइरहे ठूलो बाढी, पहुँच मार्गमा निरन्तर गइरहने पहिरो, कोभिड–१९को महामारी, कोभिड-१९पछि चीनसँगको सीमा बन्द हुँदा सामान आयातमा सिर्जित समस्यालगायतको चपेटामा परेका थिए । यसले गर्दा आयोजनाहरुको निर्माण प्रभावित भएको थियो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विभिन्न कारणले जीर्ण बनेका चिलिमेका आयोजनाहरु निरन्तरको प्रयासपछि निर्माण सम्पन्न हुनु ठूलो उपलब्धी भएको बताए । ‘म चिलिमे कम्पनीको प्रबन्ध  सञ्चालक भएका बेला आम सर्वसाधारणको पनि लगानी रहने गरी एक साथ चारवटै आयोजनाहरुको निर्माण अगाडि बढाइएको थियो, मुख्य रुपमा काबु बाहिरको परिस्थितिका कारण आयोजनाहरुको निर्माणमा केही समय लागेतापनि अब तीनवटा आयोजनाहरुको निर्माण सम्पन्न भई विद्युत् उत्पादन सुरु भएको छ, बढी विद्युत् माग हुने काठमाडौं उपत्यकाबाट नजिकै रहेका आयोजनाहरुले हिउँदयाममा विद्युत् प्रणालीलाई सन्तुलन र भरपर्दो बनाउन सहयोग गर्नेछन्,’ कार्यकारी निर्देशक घिसिङले भने । भूकम्प, नाकाबन्दी, विदेशी मुद्राको तुलनामा नेपाली मुद्राको अवमूल्यन, निर्माण अवधि लम्बिंदा ऋणको ब्याजदर तथा प्रशासनिक खर्च बढ्दा लागतमा केही वृद्धि भएको छ । माथिल्लो साञ्जेन र सञ्जेन गरी दुवै आयोजनाहरुको अनुमानित लागत निर्माण अवधिको ब्याजबाहेक ७ अर्ब ३५ करोड रुपैयाँ थियो । आयोजनाको प्रबर्द्धक साञ्जेन जलविद्युत कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अर्पण बहादुर सिंहले निर्माण अवधिको ब्याजबाहेक आयोजनाहरुको लागत ९ अर्ब २० करोड हुने अनुमान गरिएको बताए । सीईओ सिंहले लागत अनुमान बमोजिम दुवै आयोजनाहरुको अनुमानित लागत प्रति मेगावाट साढे २२ करोड रुपैयाँ हुने देखिएको उल्लेख गरे। चिलिमेका चार वटै आयोजनाहरुमा कर्मचारी सञ्चय कोषले ऋण प्रवाह गरेको हो । कम्पनीमा चिलिमे जलविद्युत कम्पनीको ३९.३६ प्रतिशत, प्राधिकरणको १०.३६ प्रतिशत, रसुवाका स्थानीय तहको १.२८ प्रतिशत संस्थापक सेयर छ । कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता र कम्पनीका संस्थापक संस्थाहरु (प्राधिकरण, चिलिमे र रसुवा जिल्लाका सम्बन्धित स्थानिय तह)का कर्मचारीहरु तथा ऋणदाता संस्था (कर्मचारी संचयकोष) का कर्मचारीहरु, आयोजना प्रभावित रसुवाबासी र सर्वसाधारणको गरी ४९ प्रतिशत साधारण सेयर छ । माथिल्लो साञ्जेन र साञ्जेनबाट वार्षिक रुपमा १ अर्ब ८० करोड युनिट विद्युत उत्पादन हुनेछ । माथिल्लो साञ्चेनलाई विद्युतको बढी माग हुने साँझको समय (पिक) दिउँसोको पानी जम्मा गरी ७० मिनेट पूर्ण क्षमतामा चलाउन सकिन्छ । यसका लागि पिकिङ पोखरी निर्माण गरिएको छ । उक्त पोखरीमा पानी सञ्चय गरी साँझको समयमा थप विद्युत् उत्पादन गरी हिउँदयामका साँझको समयमा थप विद्युत् उत्पादन गरी प्रणालीलाई सन्तुलन बनाउन योगदान पुग्ने सीईओ सिंहले बताए ।