विकासन्युज

नोट वितरण ७५ प्रतिशतले बढ्यो, नीतिमा मात्र सीमित डिजिटल कारोबार

काठमाडौं । सरकारसँगै नेपाल राष्ट्र बैंकले देशको अर्थतन्त्रलाई डिजिटलमा रूपान्तरण गर्न विभिन्न प्रयास गरिरहेको छ । नगद कारोबार घटाएर डिजिटल कारोबार बढाउने रणनीति राष्ट्र बैंकले लिएको छ । सरकारको समेत प्राथमकिता रहेको डिजिटल कारोबारलाई राष्ट्र बैंकले आफ्नो मुख्य प्राथमिकतामा राखेको देखिन्छ । तर, राष्ट्र बैंकले आफ्नो नीतिसँग बमेल खाने गरी गत वर्ष अर्बाैं रुपैयाँ बराबरको नोटहरू बजारमा पठाएको देखिन्छ । गत आर्थिक वर्ष २०८०/८१ मा राष्ट्र बैंकले ७३ अर्ब ९९ करोड ९० लाख रुपैयाँ बराबरका विभिन्न दरका ३५ करोड ३७ लाख ५० हजार थान नयाँ नोटहरू चलनचल्तीका लागि बजारमा पठाएको छ । गत वर्षको तुलनामा यो रकम ७५ दशमलव २३ प्रतिशतले बढी हो । अघिल्लो वर्ष राष्ट्र बैंकले ४२ अर्ब २२ करोड ७५ लाख रुपैयाँ बराबरका विभिन्न दरका ४६ करोड ६२ लाख ५० हजार थान नयाँ नोटहरू चलनचल्तीका लागि बजारमा पठाएको थियो । नगद कारोबारलाई अन्त्य गर्न नसकेपनि डिजिटिलमा जोड दियो भने आगामी दिनमा नगदमा हुने कारोबार कम हुँदै जाने देखिन्छ । तर, राष्ट्र बैंकले बजारमा नोटको सर्कुलेसन बढाउँदै जाँदा डिजिटल कारोबारमा त्यसको प्रत्यक्ष असर पर्न सक्ने जानकारहरू बताउँछन् । २०८१ असारसम्म ६ खर्ब ९० अर्ब १५ करोड रुपैयाँका विभिन्न दरका अर्ब ३७ करोड ७८ लाख ६० हजार ८३९ नोट बजारमा चलनचल्तीमा छन् । जबकि २०८० असारसम्म ६ खर्ब ४० अर्ब ८ करोड रुपैयाँ बराबरको विभिन्न दरका ३ अर्ब २५ करोड ३० लाख ८७ हजार ५२८ नोट नोटहरू चलनचल्तीमा थिए । अघिल्लो वर्षको तुलनामा गत वर्ष नेपाली बजारमा रकम ७.८२ प्रतिशत बढेको हो भने नोटहरूको संख्या ३.८३ प्रतिशतले बढेको देखिन्छ । नगद कारोबारलाई डिजिटल कारोबारमा रूपान्तरण गर्दा अर्थतन्त्रमा पारदर्शिता हुने विश्वास सरकारको छ । हरेक कारोबार डिजिटलबाट हुँदा छिटोछरितो र हरेक कारोबार पारदर्शी हुने एक बैंकर बताउँछन् । त्यसैले नगद कारोबारलाई निरुत्साहित गर्दै राष्ट्र बैंकले डिजिटल कारोबारमा नागरिकलाई प्रोत्साहन गर्न जरुरी रहेको ती बैंकरको भनाइ छ । प्रत्येक वर्ष बजारमा नोटको संख्या बढ्दै पछिल्लो १२ वर्षको तथ्याङ्क हेर्ने हो भने नेपाली बजारमा राष्ट्र बैंकले प्रत्येक वर्ष नोटको संख्या बढाउँदै गएको देखिन्छ । राष्ट्र बैंकका अनुसार विसं २०७० असारसम्म २ खर्ब ३३ अर्ब ४६ करोड रुपैयाँका विभिन्न दरका १ अर्ब २७ करोड ६१ लाख २० हजार नोट चलनचल्तीमा थिए । जुन संख्या निरन्तर बढ्दै गएको देखिन्छ । राष्ट्र बैंकका अनुसार विसं २०७१ असारमा २ खर्ब ७२ अर्ब २५ करोड रुपैयाँ बराबरका विभिन्न दरका १ अर्ब ५३ करोड २ लाख ५२ हजार नोट चलनचल्तीमा थिए । यस्तै, विसं २०७२ असारमा नेपाली बजारमा ३ खर्ब १९ अर्ब ८ करोड रुपैयाँका विभिन्न दरका १ अर्ब ६९ करोड ६ लाख ७२ हजार नोट, विसं २०७३ असारमा ३ खर्ब ८६ अर्ब १६ करोड रुपैयाँका १ अर्ब ८४ करोड ८२ लाख १२ हजार नोट चलनचल्तीमा थिए । यस्तै, नेपाली बजारमा विसं २०७४ असारमा ४ खर्ब ३० अर्ब ९९ करोड रुपैयाँका २ अर्ब १ करोड ९८ लाख ७२ हजार नोट, विसं २०७५ असारमा ४ खर्ब ९४ अर्ब ३८ करोड रुपैयाँका २ अर्ब ३२ करोड २७ लाख ३४ हजार १८ नोट, विसं २०७६ असारमा ५ खर्ब ७ अर्ब ६ करोड रुपैयाँका २ अर्ब २५ करोड ७७ लाख ५० हजार ५४६ नोट संख्या बजारमा थिए । राष्ट्र बैंकका अनुसार वि.सं २०७७ असारमा ५ खर्ब ८८ अर्ब ६ करोड रुपैयाँका २ अर्ब ६९ करोड ३२ लाख ६५ हजार ७७५ नोट, वि.सं २०७८ असारमा ६ खर्ब ८३ अर्ब ५० करोड रुपैयाँका २ अर्ब ७५ करोड ८४ लाख २४ हजार १६४ नोट र विसं २०७९ असारमा ६ खर्ब ३२ अर्ब ४७ करोड रुपैयाँका ३ अर्ब ५ अर्ब ४६ करोड ८९ लाख १४७ नोट बजारमा चलनचल्तीमा रहेका थिए । कुन दरका कति नोट चलनचल्तीमा छन् ? राष्ट्र बैंकको तथ्याङ्कअनुसार बजारमा १ रुपैयाँ दरका १६ करोड ९ लाख ८६ हजार ६०३ नोट चलनचल्तीमा छन् । जसको कुल रकम १६ करोड ९ लाख ८६ हजार ६०३ रुपैयाँ हुन आउँछ । यस्तै, २ रुपैयाँ दरका १८ करोड ५१ लाख १८ हजार ५२ रुपैयाँको ९ करोड २५ लाख ५९ हजार २६ वटा नोट चलनचल्तीमा छन् । यस्तै, नेपाली बजारमा ५ रुपैयाँ दरका ७४ करोड ८२ लाख २५ हजार ३७ नोट चलनचल्तीमा रहेका छन् । जसको कुल रकम ३ अर्ब ७४ करोड ११ लाख २५ हजार १८५ रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएको छ । यस्तै, १० रुपैयाँ दरका ६० करोड ३१ लाख २३ हजार ९७४ नोट, २० रुपैयाँ दरका ४० करोड १२ लाख ३० हजार ९५१ नोट, २५ रुपैयाँ दरका २२ लाख ८१ हजार २९६ नोट, ५० रुपैयाँ दरका २८ करोड १६ लाख ४३ हजार ८९९ नोट बजारमा चलनचल्तीमा रहेको राष्ट्र बैंकको तथ्याङ्क छ । राष्ट्र बैंकका अनुसार १ सय रुपैयाँ दरका ३२ करोड ५३ लाख ११ हजार ८६८ नोट, २५० रुपैयाँ दरका ३ लाख ४९ हजार ६९१ नोट, ५ सय रुपैयाँ दरका २७ करोड ३७ लाख ९८ हजार ८३९ नोट र १ हजार रुपैयाँ दरका ४८ करोड ८३ लाख ४९ हजार ६५५ नोट बजारमा चलनचल्तीमा रहेका छन् । पूर्वबैंकर अनलराज भट्टराई सरकारको खर्च बढ्दा, विदेशी ऋण तथा सहयता आउँदा, रेमिट्यान्स बढ्दा नोटको सर्कुलेसन बढ्दै जाने बताउँछन् । यदि सरकारको राजस्व संकलन र विभिन्न बण्ड जारी गर्दा बजारमा नोटको सर्कुलेशन घट्न सक्ने उनले बताए । ‘सरकारको खर्च बढ्दा, विदेशी ऋण तथा सहयता आउँदा, रेमिट्यान्स आउँदा नोटको सर्कुलेसन बढ्दै जान्छ । त्यतिबेला सरकारले नोटको संख्या बढाउँदै जान्छ, अचेल एकडेढ खर्च रेमिट्यान्स आउन थालेको छ । जसले नोटको संख्या बढ्दै जान्छ । किनभने पैसाको माग हुन्छ । जति मोनि सर्कुलेशन बढ्दै जान्छ त्यति नै पैसाको माग पनि बढ्दै जान्छ,’ पूर्वबैंकर भट्टराईले भने, ‘सरकारको राजस्व कम छ भने बजारबाट पैसा भित्रिएको छैन, कर तिर्दा मनी सर्कुलेसन घट्छ । र, सरकारले बण्ड जारी गरेर ऋण लियो भनेपनि बजारबाट फेरि राष्ट्र बैंकमा तानिन्छ, जसले सर्कुलेशन घट्छ ।’ तर, पछिल्लो समय डिजिटल कारोबार बढ्दा नोटको सर्कुलेशन पनि घट्न पुगेको उनको भनाइ छ । राष्ट्र बैंकले चाहेर नोटको संख्या घटाउन नसक्ने उनको भनाइ छ । बजारको मागअनुसार नै नोट निष्कासन गर्ने गरेको उनले बताए । ‘यदि मोबाइल बैंकिङ, क्यूआरजस्ता डिजिटल भुक्तानीका माध्यम नभएको भए मनी सर्कुलेसन अझै बढ्थ्यो । तर, यसको प्रयोगले बजारमा जति नोट बजारमा आउनुपर्ने हो आएको छैन । किनभने अधिकांश मान्छेले डिजिटलबाट कारोबार गरिरहेका छन्,’ पूर्वबैंकर भट्टराईले भने, ‘केन्द्रीय बैंकले २०२६ सम्म डिजिटल करेन्सी ल्याउने तयारी पनि छ, जनताको माग अनुसार बजारमा नोट पठाइन्छ, जस्तो रेमिट्यान्सको डलरमा आउने हो । त्यो डलर नेपाली बजारमा पठाउनुपर्ने हुन्छ । राष्ट्र बैंकले नोटमा पठाउँछ ।’ राष्ट्र बैंकका सहायक सूचना अधिकारी डा. भागवत आचार्य अर्थतन्त्र विस्तारसँगै डिजिटल कारोबार बढेपनि नोटको संख्या घट्छ नै भन्न नसकिने बताउँछन् । साथै, दूर्गम क्षेत्रमा अझैपनि इन्टरनेट र स्मार्टफोनसँगको पहुँच नभएकाले पनि बजारमा नोटको सर्कुलेसन गर्नुपरेको उनको भनाइ छ । ‘डिजिटल कारोबारलाई मुलुकले परिलक्षित गरेको छ, राष्ट्र बैंकले आफ्नो एजेण्डा बनाएको छ, बैंक तथा वित्तीय संस्थाहरूलाई पनि डिजिटल कारोबारमा जोड दिन भनिरहेको छ, डिजिटललाई प्रोत्साहन गरेको हो । तर, अनिवार्य गरेको होइन,’ उनले भने, ‘आवश्यकता अनुसार बजारमा चलनचल्तीका लागि नोट पठाइन्छ । कतिपय दुर्गम क्षेत्रमा इन्टरनेटको सुविधा र सबै मान्छेसँग स्मार्ट फोनको पहुँच छैन, वित्तीय सचेतानाको अभाव छ, कतिपय डिजिट कारोबार गर्न नसक्ने पनि छन्, त्यसैले अर्थतन्त्र जति विस्तार भइरहन्छ, त्यति नै कारोबार बढ्दै जान्छ । अर्थतन्त्र विस्तारसँगै डिजिटल कारोबार बढेपनि नोटको संख्या घट्छ नै भन्न सकिँदैन ।’

ड्रागन फ्रुट बेचेर वार्षिक १५ लाख आर्जन, स्वदेशमा नै श्रम गर्दा राम्रो आम्दानी हुने

चौतारा । साँगाचोकगढी नगरपालिका–१४ डडुवाका किसान ओमबहादुर बस्नेत आफूले सुरु गरेको ‘ड्रागन फ्रुट’ खेतीबाट मनग्य आम्दानी भएपछि खेती विस्तारको योजना बनाएका छन् । छ रोपनीमा ३० रुपैयाँ लगानी गरेर खेती सुरु गरेका उनले स्वदेशमा नै पाखुरा बजार्न युवा पुस्तालाई आग्रह गरेका छन् । बजारमा ड्रागन फ्रुटको उच्च माग भएकाले मागअनुसार आपूर्ति गर्न आफूलाई हम्म्मेहम्मे परेको उनी बताउँछन् । विदेश जाने खर्च आफ्नै घरगाउँमा ड्रागन फ्रुटका लागि गरेमा वार्षिक १२ देखि १५ लाख रुपैयाँसम्म कमाउन सकिने उनको सुझाव छ । जुनसुकै मौसम र माटोमा यो फल लाग्ने भएकाले उनले युवालाई स्वदेशमा नै श्रम गर्न सुझाएका हुन् । वर्षको दुईपटक उत्पादन हुने ड्रागन फ्रुट प्रतिकिलो पाँच सय रुपैयाँभन्दा बढीमा बिक्री हुने गरेको छ । चौतारा साँगाचोकगढी नगरपालिकाले ड्रागन फ्रुटखेतीलाई प्रोत्साहन गर्न तारबारका लागि चार लाख रुपैयाँसहयोग गरेको छ । एकपटक बिरूवा लगाएपछि समय–समयमा सामान्य गोडमेल र सिँचाइबाहेक अन्य काम गर्नु नपर्ने र रोपेको दुई वर्षदेखि लगातार लामो समयसम्म फल दिने हुनाले अन्य खेतीबालीको तुलनामा यसको खेतीबाट प्रशस्त आम्दानी हुने उनी बताउँछन् । रासस

अडानी र उनका भतिजविरुद्ध नोटिस जारी, २१ दिनभित्र जवाफ पेश गर्नुपर्ने

काठमाडौं । अमेरिकी धितोपत्र तथा विनिमय आयोग (एसईसी) ले अडानी समूहका अध्यक्ष गौतम अडानी र उनका भतिज सागर अडानीविरुद्ध नोटिस जारी गरेको छ । जसमा दुवैलाई २१ दिनभित्र जवाफ दिन भनिएको छ । सोलार ऊर्जाको ठेक्का लिनका लागि २६५ मिलियन डलर करोड (३२०० करोड रुपैयाँभन्दा बढी) घूस दिएको आरोपसँग सम्बन्धित मुद्दामा एसईसीले जवाफ मागेको हो । अमेरिकी अदालतले दुवैविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । यो नोटिस गौतम अडानीको निवास (शान्तिवन फार्म) र सागर अडानीको निवास (बोडकदेव हाउस) अहमदाबादमा पठाइएको छ । सूचना पाएको २१ दिनभित्र (सूचना पाएको दिन बाहेक) दुवैले घुस दिएको अभियोगमा आ–आफ्नो अडान स्पष्ट गर्नुपर्ने उल्लेख छ । यो सूचना न्यूयोर्क पूर्वी जिल्ला अदालतबाट नोभेम्बर २१ मा पठाइएको थियो । नोटिसमा के छ ? सूचनामा भनिएको छ, ‘यो नोटिस प्राप्त भएको २१ दिन भित्र (निवेदन प्राप्त गरेको दिन समावेश हुँदैन), तपाईंले वादी (एसईसी) लाई संलग्न उजुरी वा संघीय नियमावली १२ अन्तर्गतको प्रस्तावको जवाफ पेश गर्नुपर्छ ।’ यसमा यो पनि भनिएको छ, ‘तपाईंले जवाफ दिन असफल भएमा तपाईंविरुद्ध पूर्वनिर्धारित फैसला प्रविष्ट गरिनेछ । तपाईंले अदालतमा आफ्नो जवाफ वा प्रस्ताव पनि पेश गर्नुपर्नेछ । घुस दिएको आरोप अडानी र उनका भतिजासहित कुल ८ जनामाथि अमेरिकी अभियोजनकर्ताले घुस लिएको आरोप लगाएका छन् । अभियोजकहरूका अनुसार सौर्य ऊर्जाको ठेक्का लिनका लागि भारतीय सरकारी अधिकारीहरूलाई २६५ मिलियन डलर घुस दिएको आरोप छ । अडानी समूहद्वारा आरोप अस्वीकार अडानी समूहले बिहीबार नै स्पष्टीकरण दिएको छ । अडानी ग्रीनका निर्देशकहरू विरुद्ध लगाएको घुसखोरीको आरोप निराधार भएको समूहले विज्ञप्ति जारी गर्दै बताएकाे छ । विज्ञप्तिमा अमेरिकी न्याय विभागले भर्खरै आरोप दायर गरेको र दोषी प्रमाणित नभएसम्म प्रतिवादीहरू निर्दोष मानिने उल्लेख गरिएको छ । यस विषयमा सम्भावित सबै कानुनी उपायहरू अवलम्बन गरिने पनि उल्लेख गरिएको छ । आरोप लागेसँगै उनको सेयरमा ठूलो गिरावट आएको थियाे । २०२३ को सुरुमा हिन्डनबर्ग रिसर्चको रिपोर्ट आएपछि पनि अडानीको सेयर घटेको थियो । यो गिरावट २०२३ पछिको सबैभन्दा ठूलो गिरावट हो । (एजेन्सीहरूको सहयोगमा)

सिटिजन्स बैंकको कम्पनी सचिवमा प्रमेश राज कायस्थ, बैंकिङ क्षेत्रमा १४ वर्षको अनुभव

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको कम्पनी सचिवमा प्रमेश राज कायस्थ नियुक्त भएका छन् । बैंकको मंसिर ७ गते बसेको सञ्चालक समितिको ४६९ औं बैठकले कायस्थलाई मंसिर ९ गतेदेखि लागू हुनेगरी कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय गरेको छ । करिव १४ वर्षदेखि बैंकिङ क्षेत्रमा कार्यकुशलता प्रदर्शन गर्दै आएका कायस्थ हाल बैंकको प्रमुख वित्त अधिकृतको रुपमा कार्यरत छन् । वित्त व्यवस्थापन, रणनीतिक योजना तथा धितोपत्र बजार सम्बन्धी विषयमा उनको दक्षता रहेको छ । हाल उनी बैंकको सहायक कम्पनी सिटिजन्स क्यापिटल लिमिटेडको सञ्चालक पनि हुन् । डिजिटल बैंकिङ लाई उच्च प्राथमिकतामा राख्दै सिटिजन्स बैंकले हालसालै फोनपे सँगको सहकार्यमा नेपालमै पहिलो पटक भर्चुअल क्रेडिट कार्ड ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ सार्वजनिक गरेको छ । भौतिक कार्डको आवश्यकता नपर्ने २,५०,००० रुपैयाँसम्मको क्रेडिट सीमा उपभोग गर्न पाउने यो कार्ड मार्फत ग्राहकहरूले कोड स्क्यान गरेर किनमेल गर्न, नेपाल भित्र अनलाइन खरिदहरू गर्न प्रयोग गर्न सक्नेछन् । भर्चुअल क्रेडिट कार्ड एक पूर्ण डिजिटल रुपमा सञ्चालित क्रेडिट कार्ड हो र ग्राहकहरूले आफ्नो मोबाइल बैंकिङ एप्लिकेशन मार्फत नै यो कार्ड प्राप्त गर्न तथा आफ्नो कारोबार गर्न सक्दछन् । साथै बैंकले ग्राहकहरुको स्वास्थ्य र सुविधा लाई मध्यनजर गर्दै नयाँ बचत योजना ‘हेल्थ एण्ड वेल्थ बचत खाता’ को पनि सुरुवात गरेको छ । बचतकर्तालाई प्रतिफलस्वरूप उच्च ब्याजदर साथसाथै स्वास्थ्य जाँच गरी आफ्नो स्वास्थ्यबारे सजग रहन प्रेरित गर्ने अभिप्रायका साथ बैंकले यो योजना ग्राहकमाझ ल्याएको हो । यस योजना अन्तर्गत खाता खोल्दा ग्राहकले वर्षको एकपटक निःशुल्क होलबडी चेकअपसँगै पाँच पटक स्किनसम्बन्धी कन्सलटेसन, दुईपटक दाँत र एकपटक आँखासम्बन्धी कन्सलटेसन गर्न पाउने बैंकले जनाएको छ ।

मनकामना केबलकार २७ औं वर्षमा प्रवेश, साढे १३ लाख यात्रुलाई सेवा दिने

काठमाडौं । मनकामना केबलकार सञ्चालनमा आएको २६ वर्ष भएको छ । सुरुका दिनमा वार्षिक १० लाख यात्रुलाई सेवा दिँदै आएको थियो । हाल १२ लाख यात्रुलाई सेवा दिने गरेको छ । यस वर्ष भने १३ लाख ५० हजार यात्रुलाई सेवा दिने लक्ष्य लिइएको मनकामना दर्शन प्रालिले जानकारी दिएको छ  । केबलकार हाताभित्र नै सुविधासम्पन्न रिसोर्ट निर्माणको अन्तिम चरणमा पुगेको प्रालिले जनाएको छ । रिसोर्टमा स्वीमिङ पुल, हेल्थ क्लब, सभा सेमिनार हल र रेस्टुरेन्टको सुविधा हुने केबलकारले जनाएको छ । शनिबार २६औं वर्ष पूरा गरी २७ औं वर्षमा प्रवेश गरेको मनकामना दर्शन प्रालिले आगामी वर्षहरूमा थप स्तरीय सेवा दिने प्रतिबद्धता समेत जनाएको छ । २६औं वार्षिकोत्सवका उपलक्ष्यमा नेपालकै पहिलो केबलकारका स्रष्टा स्वर्गीय लक्ष्मणबाबु श्रेष्ठको योगदानबारे चर्चा गरिएको थियो । विज्ञप्तिका अनुसार  २६ वर्ष पुगिसकेको केबलकारको एनलग प्रविधिको मर्मतसम्भार गर्नुका साथै उक्त प्रविधिलाई डिजिटल प्रणालीमा स्तरोन्नति गरिएको छ । लक्ष्मणबाबु श्रेष्ठकै पालादेखि सामाजिक व्यावसायिक उत्तरदायी नीति अँगाल्दै यसअन्तर्गत मनकामना र आसपासका क्षेत्रमा विकास, स्वास्थ्य, शिक्षा तथा विपन्नवर्ग जातिहरूलाई सहयोग गर्दै आएको मनकामना दर्शन प्रालिद्वारा जारी विज्ञप्तिमा भनिएको  छ । सामाजिक व्यावसायिक उत्तरदायी नीतिअनुसार केबलकार टिकट बिक्रीबाट हुने आम्दानीको कुल रकममध्ये १ प्रतिशत/१ प्रतिशतका दरले गोरखाको शहीद लखन गाउँपालिका र चितवनको इच्छाकामना गाउँपालिकालाई विकास निर्माण, शिक्षा, स्वास्थ्य, संस्कृति सम्पदा जगेर्ना, विपन्न वर्गको हित तथा दैवी प्रकोपका लागि बर्सेनि सहयोग गर्दै आएको विज्ञप्तिमा उल्लेख छ ।

भाटभटेनी र रिन्यु होल्डिङ्सले १२.७५० मेगावाट सौर्य ऊर्जा उत्पादन गर्ने

काठमाडौं । भाटभटेनी सुपरमार्केट एण्ड डिपार्टमेन्टल स्टोर प्रालि र रिन्यु होल्डिङ्स प्रालिबीच भाटभटेनीका विभिन्न सुपरमार्केटहरूको छत तथा खाली स्थानलाई उपयोग गरेर १२.७५० मेगावाट बराबरको सौर्य ऊर्जा उत्पादन तथा सहकार्य गर्न सम्झौता भएको छ । सम्झौतापत्रमा भाटभटेनीको तर्फबाट सञ्चालक सावित्री गुरुङ र रिन्यु होल्डिङ्सको तर्फबाट प्रबन्ध निर्देशक किरणकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् । रिन्यु होल्डिङ्सले सोलर, हाइड्रोलगायतका नेपालको नवीकरणीय ऊर्जाका साथै चार्जिङ स्टेसन र नवीकरणीय ऊर्जासम्बन्धी नवीनतम प्रविधिमा काम गर्ने लक्ष्य लिएको छ । सम्झौतापत्रमा भाटभटेनीको तर्फबाट सञ्चालक सावित्री गुरुङ र रिन्यु होल्डिङ्सको तर्फबाट प्रबन्ध निर्देशक किरणकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् । रिन्यु होल्डिङ्सले सोलर, हाइड्रोलगायतका नेपालको नवीकरणीय ऊर्जाका साथै चार्जिङ स्टेसन र नवीकरणीय ऊर्जासम्बन्धी नवीनतम प्रविधिमा काम गर्ने लक्ष्य लिएको छ ।

सिप्रदी र म्याक लुब्रिकेन्टस्को सम्बन्धको प्रतीक ‘म्याक स्टार नाईट’ कार्यक्रम सम्पन्न

काठमाडौं । सिप्रदी ट्रेडिङ्ग एवं भारत पेट्रोलियम कोर्पोरसनले संयुक्त रुपमा ‘म्याक स्टार नाइट्’ कार्यक्रम राजधानीको सोल्टी होटेलमा गत मंगलबार आयोजना गरेको थियो । कार्यक्रममा सिप्रदीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ, प्रमुख सञ्चालन आधिकृत राजेश प्रसाद गिरी, उपाध्यक्ष सौरव राज थपलिया लगायत भारत पेट्रोलियम बाट कार्यकारी निर्देशक शुभान्कर सेन, रणनीति तथा अन्तराष्ट्रिय विभागका उपमहाप्रबन्धक राहुल दोङ्रे, पूर्व क्षेत्रिय प्रमुख रविकान्त गोविन्दु, प्राविधिक सेवा कार्यकारी हिमांग्शु सिंघल लगायात अधिकारीहरुको उपस्थिति थियो । म्याक स्टार नाइट मा डिलरहरुको अतिरिक्त उपस्थितिमा म्याक सिप्रदी स्टार एप एवम रुबी प्लस गृज को उद्घाटन गरियो । म्याक सिप्रदीका श्रेष्ठ १० ओटा डिलरहरुलाई विभिन्न विधामा सम्मानित गरिएको थियो। त्यस्तै, म्याक सिप्रदीका १० वटा डिलरहरुलाई उत्कृष्ट कार्यगरे बापत विभिन्न विधामा सम्मानित गरिएको थियो । सम्मानित डिलरहरु सप्तकोशी बियरिङ्ग, डाइनयामिक ट्रेडिंग , फोर बी सप्लायर्स, खेतान ट्रेडिंग, मनकामना अटो मोबाइल्स, बंगलामुखी मोटर ट्रेडर्स, अस्त्र ईन्टरनेशनल, भवानी ट्रेड लिंक, नेक्स्ट जेनेरेसन अटोमोटिभ र श्री कामना सप्लायर्स रहेका छन् ।

आइएमई पे एपको नयाँ सुविधा- आईईएलटीएस टेस्टको शुल्क तिर्न मिल्ने

काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पे’ले आईईएलटीएस टेस्टको शुल्क भुक्तानी आइएमई पे मार्फत गर्न सकिने सुविधा सार्वजनिक गरेको छ । यस सुविधामार्फत प्रयोगकर्ताहरुले आइएमई पे एपमार्फत आफ्नो आईईएलटीएस परीक्षा शुल्क सहजै भुक्तानी गरेर आफ्नो समय र मेहनत बचाउन सक्नेछन् । प्रयोगकर्ताहरुले आईईएलटीएस को एकेडेमिक टेस्ट र जेनेरल ट्रेनिङ टेस्ट, आईईएलटीएस युकेभीआईको एकेडेमिक टेस्ट र जेनेरल ट्रेनिङ टेस्ट, लाइफ स्कील्स ए१/ए२, ब१ को निम्ति भुक्तानी आइएमई पे एप मार्फत गर्न सक्नेछन् । सिमित अवधिको लागि आइएमई पे एपबाट आईईएलटीएस टेस्टको शुल्क भुक्तानीमा फ्लाट १००० रूपैयाँ क्यासब्याक पनि प्राप्त गर्न सकिने कम्पनीले बताएको छ । ’हामी हाम्रा प्रयोगकर्ताहरूलाई यो नयाँ सेवा प्रदान गर्न पाउँदा उत्साहित छौं’, आइएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले भने, ’आईईएलटीएस शुल्क भुक्तानीको लागि सुविधाजनक र सुरक्षित प्लेटफर्म प्रदान गरेर हामीले प्रयोगकर्ताहरुलाई आफ्नो उद्देश्यहरु पुरा गर्न सशक्त बनाउने लक्ष्य राख्छौं ।’