सेयर बजारको क्षेत्र ठूलो छ, नयाँ स्टक पहिलो प्राथमिकता
काठमाडौं । नेपाल धितोपत्र (सेबोन)का नवनियुक्त अध्यक्ष सन्तोष नारायण श्रेष्ठले नेपालको पुँजी बजारमा नयाँ स्टक एक्सचेञ्ज ल्याउने योजना पहिलो प्राथमिकता राखेको बताएका छन् । मंगलबार अर्थमन्त्रालयमा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसदा पौडेलबाट पद तथा गोपनीयताको सपथ लिँदै उनले सरकारको नीति निर्देशनअनुरूप नयाँ स्टक एक्सचेञ्ज ल्याउने बताए । नवनियुक्त अध्यक्ष श्रेष्ठले सेयर बजारलाई दीर्घकालसम्म सञ्चालन गर्ने गरी काम गर्ने योजना रहेको दावी गरे । पुँजी बजारको दिगो विकास र लगानीकर्ताको हक हितका लागि काम गर्ने उनले बताए । ‘लगानीकर्ताको मनोबल बढाउने गरी काम गर्छु, लगानीकर्ताको लगानी सुरक्षालाई प्राथमिकतामा राख्नेछु, सेयर बजार मात्र नभई समग्र अर्थतन्त्र नै चलायमान बनाउनु छ, देशको अर्थतन्त्र र आर्थिक विकासका लागि पुँजी बजारलाई सदुपयोग गर्नुपर्छ,’ अध्यक्ष श्रेष्ठले भने, ‘सेयर बजारको क्षेत्र ठूलो छ, सेयर बजार पुँजी बजारको सानो हिस्सामात्रै हो । हामीले समग्र पुँजी बजारलाई नै विकास गर्नुपर्छ ।’ साथै धितोपत्र बोर्ड अध्यक्षविहीन हुँदा विगत लामो समयदेखि सेयर निष्कासनका लागि दर्जनौं कम्पनी पाइपलाइनमा छन् । प्रक्रिया पुर्याएर ती कम्पनीलाई सेयर बिक्री गर्न उनले अनुमति दिनुपर्ने देखिन्छ । पुँजी बजारमा हुने गलत क्रियाकलापको निगरानी र नियन्त्रणमा आफ्नो बढी जोड रहने उनको भनाइ छ । ‘लगानीकर्ताको सुरक्षाका लागि काम गर्न आएको हुँ, व्यापारिक घराना वा स्वार्थ समूहबाट होइन, प्राथमिकताका आधारमा काम गर्ने र पुँजी बजारमा रहेका समस्याहरूलाई अवसरका रूपमा बदल्नेछु,’ अध्यक्ष श्रेष्ठले भने । उनले नेपालको पुँजी बजारलाई पूर्ण रूपमा सदुपयोग नभएको बताउँदै भने, ‘पुँजी बजारको दायरा बढाउन सकिने अवस्था रहेको छ, बजारका सिद्धान्त बमोजिम मुलुकको हितमा काम गर्छु ।’ पुँजी बजारका क्षेत्रमा रहेका समस्याहरूलाई संस्थागत रूपमा सम्बोधन गर्न अर्थमन्त्री पाैडेलले नवनियुक्त अध्यक्षलाई निर्देशन दिए । पुँजी बजारको व्यवस्थित विकासका लागि गतिशिल ढंगले काम गर्नुपर्ने उनको भनाइ छ । ‘अध्यक्षले राम्रा काम र नतिजाद्वारा सबै आशंकाहरूलाई चिर्दै पुँजी बजारको विकासमा महत्त्वपूर्ण योगदान दिनुपर्छ, निष्ठापूर्वक र योग्यतापूर्वक काम गर्ने आशा छ,’ अर्थमन्त्री पौडेलले भने । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले श्रेष्ठलाई धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त गरेको हो । जन्मथलो स्याङ्जाको भीरकोट नगरपालिका रहेका श्रेष्ठ हाल बुटवल बस्छन् । काठमाडौं विश्वविध्यालयबाट एमबीए गरेका श्रेष्ठ स्वाभिमान लघुवित्त वित्तीय संस्थामा करिब ८ वर्ष अध्यक्षको जिम्मेवारी निभाइसकेका छन् । तत्कालीन नेपाल एक्सप्रेस फाइनान्समा सञ्चालक समितिको अध्यक्षसमेत बनेका श्रेष्ठसँग नेपाल विद्युत प्राधिकरणमा सञ्चालक भएर काम गरेको अनुभव छ । सोप एण्ड केमिकल, जलविद्युत् तथा कलेजहरूमा समेत संलग्न रहेका उनको विभिन्न जलविद्युत कम्पनीमा लगानीसमेत रहेको छ ।
शाओमीको ह्यान्डहेल्ड गार्मेन्ट स्टीमर सार्वजनिक, मूल्य ४ हजार २९९
काठमाडौं । शाओमीले नेपालमा नयाँ ह्याण्डहेल्ड गार्मेन्ट स्टीमर सार्वजनिक गरेको छ । यो हलुका र कम्प्याक्ट डिभाइसले कपडालाई खुम्चिन नदिनुका साथै कपडालाई फ्रेस राख्न मद्दत गर्ने कम्पनीले जनाएकाे छ । शाओमी नेपालका कन्ट्री म्यानेजर मनु मनस्वीका अनुसार स्टीमरको तौल केवल ७७० ग्राम रहेको छ । यसलाई लामो समयसम्म थकान बिना नै प्रयोग गर्न सकिन्छ । यसलाई फोल्ड गर्न सकिने हुनाले घरमा मात्र नभई यात्राको क्रममा पनि उत्तिकै उपयोगी हुने जनाइएकाे छ । यो डिभाइसमा सेरामिक कोटेड डाइ–कास्ट एलुमिनियम प्यानल समावेश रहेको छ जसले गर्दा यो मात्र २६ सेकेन्डमै तात्छ र यसले स्थिर तापक्रम पनि प्रदान गर्दछ । यसको स्मूथ ग्लाइडिब प्रविधिले खुम्चेको कपडालाई नबिगारी मिलाउँछ भने सेकेन्डरी भेपराइजेसन प्रविधिले पानीको दाग पनि हटाउने विश्वास कम्पनीको छ । यो डिभाइस सिल्क, सिन्थेटिक्स, लिनेन, नाइलन, ऊन र कपासजस्ता विभिन्न प्रकारका कपडामा प्रयोग गर्न मिल्छ । यसले खुम्चाई हटाउनका साथै ९९.९९ प्रतिशत ब्याक्टेरिया र माइट्स हटाएर कपडालाई स्वच्छ र ताजा बनाउने कम्पनीको दावी छ । शाओमी ह्यान्डहेल्ड गार्मेन्ट स्टीमरको मूल्य ४ हजार २९९ रहेको छ । यो नेपालभरका आधिकारिक शाओमीका आधिकारिक रिटेल स्टोरहरूमा उपलब्ध हुने कम्पनीले जनाएकाे छ । थप जानकारी शाओमीको आधिकारिक वेबसाइटमा पाउन सकिन्छ ।
गौरमा ‘बजाज माइलेज च्याम्पियन’ सम्पन्न
काठमाडौं । रौतहटको गौरमा ‘बजाज माइलेज च्याम्पियन’ सम्पन्न भएको छ । बजाज माइलेज च्याम्पियनमा नेपालभरिका बजाज प्लाटिना चालकहरू सहभागी भएका थिए । माइलेज च्याम्पियनमा लोकेशकुमार चौरसियाले ९९ किमि प्रति लिटरको प्रभावशाली प्रदर्शन गर्दै पहिलो स्थान हासिल गरे । त्यस्तै, ९४ किमि प्रति लिटरको प्रदर्शनका साथ मुकेशकुमार शाह दोस्रो स्थान र ९० किमि प्रति लिटरको प्रदर्शन गर्दै रोशन अली यादव तेस्रो स्थानमा रहे । माइलेज च्याम्पियनमा सहभागी चालकहरूले न्यूनतम लागतमा सबैभन्दा धेरै दूरी तय गर्ने लक्ष्यसहित प्रतिस्पर्धा गरेका हुन् । पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएसँगै आम ग्राहकलाई माइलेजको अवस्थाबारे जानकारी दिन उक्त च्याम्पियन आयोजना गरिएको बजाजका एरिया सेल्स मेनेजर विजय सिंहले बताए ।
एनपीएल डिशहोम गो एप र एक्सन स्पोर्टसको युट्युब च्यानलमा हेर्न सकिने
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) २०२४ को डिजिटल स्ट्रिमिङ अधिकार डिशहोमले प्राप्त गरेको छ । डिजिटल माध्यमबाट खेलको प्रत्यक्ष प्रशारण गर्न एनपीएलको व्यावसायिक अधिकार व्यवस्थापन गरिरहेको ब्रान्ड लजिक र डिश मिडिया नेटवर्कबीच सम्झौता भएको हो । डिशहोमले एनपीएल २०२४ का सबै खेल प्रत्यक्ष रूपमा डिशहोम गो एप र एक्सन स्पोर्टस एचडी नामक युट्युब च्यानलमा प्रशारण गर्नेछ । एनपीएल २०२४ मा विराटनगर, चितवन, जनकपुर, कर्णाली, काठमाडौं, लुम्बिनी, पोखरा, र सुदूरपश्चिम गरी ८ फ्रेन्चाइज टिमहरूले राउन्ड–रोबिन फर्म्याटमा प्रतिस्पर्धा गर्नेछन् । कुल ३२ खेलहरूको रोमाञ्चक यात्रा कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न हुनेछ। प्रतियोगिता मंसिर १५ देखि पुष ६ सम्म कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा आयोजना हुनेछ । प्रतियोगिताका खेलहरू टेलिभिजनमा भने स्टार स्पोर्ट्स नेटवर्कले प्रसारण गर्नेछ ।
पोखरा विश्वविद्यालयको उपकुलपतिका लागि १२ जनाको आवेदन
काठमाडौं । पोखरा विश्वविद्यालयको उपकुलपतिका लागि १२ जनाको आवेदन परेको छ । विश्वविद्यालयको रिक्त उपकुलपतिको नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समितिले आवेदन परेका १५ जनामध्ये तीन जनाको नाम अस्वीकृत गर्दै १२ जनाको नाम स्वीकृत गरेको छ । नेपालगञ्जका प्रा.डा वेदराज केसी, लमजुङका प्रा.डा दीपकबहादुर भण्डारी, तनहुँका प्रा.डा ज्ञानेश्वर शर्मा, कास्कीका प्रा.डा विश्वराज अधिकारी, तनहुँका प्रा.डा केदारनाथ घिमिरे, कास्कीका प्रा.डा पुष्पराज शर्मा, कास्कीका प्रा.डा सरोज कोइरालाको आवेदन स्वीकृत भएको छ । यस्तै, तनहुँका प्रा.डा निर्मला जमरकट्टेल, नवलपरासीका प्रा.डा विष्णुराज तिवारी, रौतहटका प्रा.डा विनयकुमार मिश्र, गुल्मीका प्रा.डा टेकराज ज्ञवाली र तनहुँका प्रा.डा दीपकराज पौडेलको आवेदन स्वीकृत भएको शिक्षा मन्त्रालयले जनाएको छ ।
धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष श्रेष्ठले लिए शपथ
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)का नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले शपथ लिएका छन् । उनलाई मंगलबार अर्थमन्त्रालयमा अर्थमन्त्री विष्णुप्रसाद पाैडेलले शपथ ग्रहण गराए । श्रेष्ठलाई सोमबार बसेको मन्त्रिपरिषदको बैठकले धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त गरेको हाे । धितोपत्र बोर्ड अध्यक्ष सिफारिस समितिले उत्कृष्ट कार्यायोजना तथा अन्तर्वार्ताका आधारमा सन्तोषनारायणसहित, मुक्तिनाथ श्रेष्ठ र डा. नवराज अधिकारीको नाम मन्त्रीपरिषदमा सिफारिस गरेको थियो । अन्ततः सन्तोषनारायण श्रेष्ठले बाजी मारे । स्याङ्जाको भीरकोट नगरपालिकामा जन्मेका श्रेष्ठ हाल बुटवल बस्छन् । साथै उनको बसाईं काठमाडौंमा समेत छ । काठमाडौं विश्वविध्यालयबाट एमबीए गरेका श्रेष्ठ स्वाभिमान लघुवित्त वित्तीय संस्थामा करिब ८ वर्ष अध्यक्षको जिम्मेवारी निभाइसकेका छन् । काठमाडौं विश्वविध्यालयबाट एमबीए गरेका श्रेष्ठ स्वाभिमान लघुवित्त वित्तीय संस्थामा करिब ८ वर्ष अध्यक्षको जिम्मेवारी निभाइसकेका छन् । २०८० पुस २० गतेदेखि धितोपत्र बोर्ड अध्यक्षविहीन भएको थियो । माघ पहिलो साता राष्ट्रिय योजना आयोगका तत्कालीन उपाध्यक्ष डा.मीनबहादुर श्रेष्ठको नेतृत्वमा अर्थ सचिव कृष्णहरि पुष्कर र उदय निरौला सदस्यीय रहेको छनोट समिति गठन भयो । त्यतिबेला प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ थिए भने अर्थमन्त्री वर्षमान पुन । फागुन १६ गते अध्यक्ष पदका लागि दरखास्त आह्वान गर्दा १९ जनाले आवेदन दिएका थिए । छनोट समितिले १९ जनामध्येबाट सन्तोष नारायणसहित बोर्डका कार्यकारी निर्देशक मुक्ति श्रेष्ठ, नवराज अधिकारी, नेपाल स्टक एक्स्चेन्जका कृष्णबहादुर कार्की र बीमा प्राधिकरणका पूर्वअध्यक्ष चिरञ्जिवी चापागाईं पाँच जनामा सर्टलिष्ट गरेको थियो। तर, सर्टलिस्टमा परेका ५ जनामध्ये पहिलो चरणमा सन्तोष नारायण र मुक्ति श्रेष्ठले मात्रै कार्यायोजना प्रस्तुति तथा अन्तर्वार्ता दिए । अधिकारी, कार्की र चिरञ्जिवी चापागाईंले बहिस्कार गरे । सिफारिस समितिले तीन जनाको नाम मन्त्रिपरिषद् बैठकमा सिफारिस गर्नु पर्ने व्यवस्था छ । पाँचमध्ये बहुसंख्यक उम्मेदवार (तीन जना) अन्तर्वार्तामा अनुपस्थित भएपछि अध्यक्षको नियुक्ति प्रक्रिया रद्द गर्यो । तर, सेबोन अध्यक्षको नियुक्ति प्रक्रिया रद्द गरेको भन्दै सन्तोष नारायणले अदालत पुगेका थिए । र, अदालतले पनि उनको पक्षमा आदेश दिएपछि नियुक्ति प्रक्रिया पुनः अघि बढेको थियो । यही बीचमा प्रचण्ड नेतृत्वको सरकार ढलेर केपी शर्मा ओली प्रधानमन्त्री बने भने विष्णु पौडेल अर्थमन्त्री । र, राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. शिवराज अधिकारी नियुक्त भएपछि उनी छनोट समितिको समेत संयोजक बने । गत मंसिर ९ गते सर्टलिष्टमा परेका पाँच जना कार्की, चापागाईं र अधिकारीलाई अन्तर्वार्ताका लागि बोलाएको थियो । तीन जनामध्ये कार्की र अधिकारीले मात्रै अन्तर्वार्ता दिएका थिए भने चापागाईं अनुपस्थित भएका थिए ।
१८ औं हात्ती तथा पर्यटन महोत्सव पुस ११ देखि सुरु
काठमाडौं । पर्यटकीय गन्तव्य सौराहामा आगामी पौष ११ गतेदेखि १५ गतेसम्म १८ औं हात्ती तथा पर्यटन महोत्सव–२०८१ हुने भएको छ । १८ औं हात्ती तथा पर्यटन महोत्सव–२०८१ क्षेत्रीय होटल संघ नेपाल चितवनको आयोजनामा हुन लागेको हो । संघले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै तीन वर्षसम्म रोकिएको महोत्सव गत वर्षदेखि निरन्तरता दिएको जानकारी दियो । पत्रकार सम्मेलनमा बोल्दै क्षेत्रीय होटल संघ नेपाल चितवनका अध्यक्ष गंगा गिरीले १८ औं हात्ती तथा पर्यटन महोत्सव-२०८१ आगामी पौष ११ गतेदेखि १५ गतेसम्म गर्न लागिएको बताए । उनले महोत्सवमा हात्ती वनभोज, हात्ती फुटबल, हात्ती पोलो, हात्ती सुन्दरी प्रतियोगितालगायत झाँक्री प्रदर्शनी गरिने बताए । उनले महोत्सवमा मैत्रीपूर्ण खेलकुद प्रतियोगितासँगै चितवनको पर्यटनको सम्भावना र चुनौतीसम्बन्धी अन्तरक्रिया कार्यक्रमसमेत हुने अध्यक्ष गिरीले बताए । महोत्सवमा हात्तीको दिनचर्याबारे जानकारी, स्वदेशी तथा विदेशी ट्राभल एजेन्सीसँग बी–टु–बी कार्यक्रम, स्थानीय भेषभूषा तथा कला संस्कृतिको संरक्षण, स्थानीय कृषि उत्पादनको प्रवर्द्धनात्मक कार्यक्रम गरिने आयोजकले जनाएको छ ।
वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी, तीन जना पक्राउ
काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षको तलबको प्रलोभनमा रकम ठगी गरेको अभियोगमा तीन जना पक्राउ परेका छन् । विभिन्न देशमा पठाइदिने भनी सर्वसाधारणबाट रकम असुल गरी सम्पर्क विहीन भएकाधनुषाको मिथिला नगरपालिका–९ का ४१ वर्षीय रवीन कोइराला, धादिङको सिद्धलेक गाउँपालिका–७ आदमटारका ३६ वर्षीय पदमबहादुर भुजेल र झापा बाह्रदर्शी गाउँपालिका–३का ४१ वर्षीय कार्तिकलाल राजवंशी पक्राउ परेका हुन् । रविनले एक लाख रुपैयाँ, पदमले तीन लाख र कार्तिक सात लाख ७० हजार लिई सम्पर्कबिहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरुलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।