विकासन्युज

सामाजिक सुरक्षा कोषको दायरा विस्तार हुँदै, योगदानकर्ताका छोराछोरीले पनि लाभ पाउने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सामाजिक सुरक्षाको दायरालाई विस्तार गरिने घोषणा गरेका छन् । सातौं सामाजिक सुरक्षा दिवसका अवसरमा सामाजिक सुरक्षा कोषद्वारा मंगलबार आयोजित कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आगामी ९० दिनपछि योगदानकर्ताका छोराछोरीले पनि कोषबाट लाभ पाउने र एक लाखभन्दा बढी उपचार खर्च लाग्ने योगदानकर्तालाई लाग्ने खर्चको ५० प्रतिशत कोषबाट बेहोरिने घोषणा गरे । उनले संविधानमा गरिएको मौलिक हकका व्यवस्था र दायित्वप्रति सरकार जिम्मेवार र जवाफदेही हुने बताउँदै मुलुकलाई गरिबी र पछौटेपनमा नभएको आधुनिक, विकसित र समृद्ध बनाउने जनाए । कार्यक्रममा कोषअन्तर्गत बढी योगदानदाता र सेवा दिने विभिन्न व्यक्ति र संस्थालाई प्रधानमन्त्री ओलीबाट पुरस्कार प्रदान गरिएको थियो । तत्कालीन प्रधानमन्त्री ओलीको पालामा २०७५ सालमा यो कार्यक्रम अभियानका रूपमा सुरु भएको थियो । योगदानमा आधारित सामाजिक सुरक्षा कोषको स्थापना भएको आज ६ वर्ष पूरा भएर ७ वर्ष प्रवेश गरेको छ । २०७५ साल मंसिर ११ गते स्थापना भएको यस कोषमा हालसम्म औपचारिक क्षेत्रका १९ हजार ७ सय ६६ रोजगारदाता र ५ लाख ८३ हजार ३ सय श्रमिक आवद्ध भइसकेको जनाइएको छ । यसैगरी, वैदेशिक रोजगारीमा रहेका १२ लाख गरी कुल १७ लाख ९४ हजार ७४० श्रमिक कोषमा आवद्ध भइसकेको कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले जानकारी दिए । ७ औं वार्षिकोत्सवको कार्यक्रममा बोल्दै उनले यस्तो जानकारी गराएका हुन् । यो अवधिमा ११ अर्ब ६२ करोड रुपैयाँ योगदानकर्ता तथा निजको परिवारलाई भुक्तानी गरिसकेको पनि अधिकारीले जानकारी गराए । जसमध्ये औषधी उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजनाअन्तर्गत ३ लाख ७४ हजार १५२ वटा दाबी परेको र सोवापत १ अर्ब ४८ करोड १९ लाख, अस्वस्थता सुरक्षा योजनाअन्तर्गत ७ हजार ११७ दाबीवापत १५ करोड २० लाख र आश्रित सुरक्षा योजनाअन्तर्गत ५८७ श्रमिकका परिवारलाई १८ कराड ५४ लाख र वृद्ध अवस्था सुरक्षा योजना अन्तर्गत ९ अर्ब ८० करोड रुपैयाँ गरी कुल ११ अर्ब ६२ करोड रुपैयाँ दाबी भुक्तानी गरिसकेको उनको भनाइ छ । कार्यकारी निर्देशकका अनुसार कोष करिब पूर्णरूपमा डिजिटल प्रणालीमा गइसकेको छ । त्यसै कारणले सूचना तथा सञ्चार मन्त्रालयले सर्भिस प्रोभाइडर २०८० को पुरस्कार सामाजिक सूरक्षा कोष (एसएफएफ) ले पाएको पनि उनले उल्लेख गरे । यस्तै, कोषले अन्तर्राष्ट्रिय सामाजिक सुरक्षा संगठनको सदस्यसमेत प्राप्त गरेको उनले जानकारी गराए । चालु आर्थिक वर्षमा कोषको सुविधा पनि थप भएको छ । पहिला अनौपचारिक, स्वरोजगार र वैदेशिक क्षेत्रका श्रमिकले मात्रै औषधी उपचार पाउँथे भने अब उनीहरूका १८ वर्ष मुनिका छोराछोरीले पनि सुविधा पाउने उनले जानकारी गराए । कोषले हालसम्म विराटनगर, सिमरा, बुटवल, नेपालगञ्ज, पोखरा र जनकपुरमा शाखा कार्यालय विस्तार गरिसकेको छ । यही आर्थिक वर्षभित्र कर्णालीको सुर्खेत र सुदूरपश्चिमको धनगढीमा पनि कार्यालय विस्तार गर्ने योजना रहेको कार्यकारी निर्देशक अधिकारीले बताए । यस्तै, कोरोनाको महामारीको अवस्थामा श्रमिक र रोजगारदाताले गर्नुपर्ने योगदानवापत सरकारले राहतस्वरूप २ अर्ब ५० करोड रुपैयाँ कोषमा जम्मा गरिदिएको स्मरण गर्दै उनले भने, ‘अप्ठ्यारोमा सरकारले आर्थिक भरथेग पनि गरिदिन्छ भन्ने यो प्रमाण हो ।’ यस्तै, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले  विश्वभरमा रहेका तर श्रम स्वीकृत नभएका नेपालीलाई श्रम स्वीकृति दिएर कोषमा आवद्ध गर्न सकिने बताए । उनले विभिन्न भिसामार्फत विदेश गएका र उतै काम गरिरहेका नेपालीलाई श्रम स्वीकृत दिएर कोषमा आवद्ध गराउनुपर्ने बताएका हुन् । यस्तै, कोषमा हालसम्म ८० अर्ब रुपैयाँ जम्मा भएकाले सो रकमलाई विभिन्न उत्पादन क्षेत्रमा लगानी गर्नुपर्ने उनकाे जाेड थियाे ।

धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष श्रेष्ठको शपथ साढे ५ बजे

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)का नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले मंगलबार शपथ ग्रहण गर्दैछन् । उनले आज बेलुका साढे पाँच बजे अर्थमन्त्रालयमा शपथ ग्रहण लिन लागेका हुन् । नवनियुक्त अध्यक्षलाई अर्थमन्त्री विष्णुप्रसाद पाैडेलले शपथ ग्रहण गराउनेछन् । श्रेष्ठलाई सोमबार बसेको मन्त्रिपरिषदको बैठकले धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त गरेको हाे । धितोपत्र बोर्ड अध्यक्ष सिफारिस समितिले उत्कृष्ट कार्यायोजना तथा अन्तर्वार्ताका आधारमा सन्तोषनारायणसहित, मुक्तिनाथ श्रेष्ठ र डा. नवराज अधिकारीको नाम मन्त्रीपरिषदमा सिफारिस गरेको थियो । अन्ततः सन्तोषनारायण श्रेष्ठले बाजी मारे । स्याङ्जाको भीरकोट नगरपालिकामा जन्मेका श्रेष्ठ हाल बुटवल बस्छन् । साथै उनको बसाईं काठमाडौंमा समेत छ । काठमाडौं विश्वविध्यालयबाट एमबीए गरेका श्रेष्ठ स्वाभिमान लघुवित्त वित्तीय संस्थामा करिब ८ वर्ष अध्यक्षको जिम्मेवारी निभाइसकेका छन् । काठमाडौं विश्वविध्यालयबाट एमबीए गरेका श्रेष्ठ स्वाभिमान लघुवित्त वित्तीय संस्थामा करिब ८ वर्ष अध्यक्षको जिम्मेवारी निभाइसकेका छन् ।

महिलामा विकराल बन्दै अनियमित महिनावारी, वेवास्ता गरे क्यान्सरदेखि मुटु रोगसम्म लाग्ने जोखिम 

काठमाडौं । ओखलढुङ्गाकी रमिला थापा १९ वर्षकी हुँदा महिनावारी सुरु भयो । त्यसपछि उनको महिनावारी  तीन महिना जति रोकियो । केही समयपछि फेरि नियमित हुन थाल्यो । यो क्रम एक वर्षसम्म चल्यो । त्यसपछिका दिनमा फेरि गडबडी सुरु हुन थाल्यो । कहिले २-३ महिनामा त कहिले ४-५ महिनाको एक पटक महिनावारी हुन थाल्यो । सुरुमा उनलाई यो क्रम सामान्य नै लाग्यो । लामो समयसम्म महिनावारीको चक्र यस्तै गरी चल्दै गयो ।  तर केही महिनायता रमिलामा ठ्याक्कै उल्टो हुन थाल्यो, महिनामै दुई तीन पटक महिनावारी भयो । त्यसपछि भने बल्ल डर लाग्न थाल्यो । यो समस्या उनले आमालाई सुनाइन् । आमालाई लिएर गाउँकै स्वास्थ्यसंस्थामा गइन् । सामान्य रुघाखोकी जाँच हुने अस्पतालमा यसको उपचार सम्भव थिएन । फेरि उनी आमासँगै जिल्लामै रहेको क्लिनिकमा पुगिन् ।  अस्पतालले यो पाठेघरसम्बन्धी समस्या हुन सक्ने भन्दै स्त्रीरोग विशेषज्ञसँग सल्लाह लिन सुझाव दियो । त्यसपछि थापा उपचारका लागि काठमाडौं आइन् । आइतबार पाटन अस्पतालमा भेटिएकी रमिलाले भनिन्, ‘पहिले समयमा नहुने, ढिला हुने हुन्थ्यो । सामान्य नै होला भन्ने लाग्यो, अहिले त महिनामा दुईतीन पटक नै महिनावारी हुन्छ, किन यस्तो समस्या भयो भनेर जाँच गर्न आएँ ।’ पहिलो पटक ठूलो अस्पतालमा आएकी रमिलालाई डर लागिरहेको थियो । ‘डाक्टरले के सोध्छन्, के-के जाँच गर्नुपर्छ?,’ उनी भन्छिन्, ‘न केही दुखाइ छ,  नदुखुञ्जेल अस्पताल जाने बानी छैन, यस्तो समस्या देखेपछि जाँच गर्नुपर्छ भने सबैजनाले अनि चेक गर्न आएकी हुँ ।’ ग्वार्कोकी उषा राजवंशीको पनि समस्या यस्तै छ । बिहे नगरुञ्जेल यो समस्यालाई वेवास्ता गर्दै आएकी उनी बिहेपछि पनि यस्तै समस्या हुन थालेपछि जाँच गर्न अस्पताल पुगिन् । महिनावारी अनियमित हुँदा उनको गर्भसमेत बस्न सकेको छैन । उनलाई पनि अनियमित महिनावारी सामान्यजस्तो लाग्थ्यो । जब बच्चा जन्माउने योजनामा उनी पुगिन् तब बच्चा नबस्ने समस्या देखियो ।  ‘बिहे गरेको धेरै वर्ष भइसक्यो अहिलेसम्म गर्भ रहन सकेको छैन,’ उषा भन्छिन्, ‘पहिले वास्तै गरिएन, समयमै सचेत नहुँदा समस्या पो हुँदो रहेछ, अहिले उपचार गरिरहेकी छु, डाक्टरले निको हुन्छ भन्नुभएको छ । हेरौं अब के कसो हुन्छ ।’ उनी अस्पताल जाँच गर्न जाँदा अनियमित महिनावारीले गर्दा यो सबै समस्या भएको बताउँछिन् । अहिले उनी यो समस्याको उपचारका लागि पाटन अस्पताल धाइरहेकी छन् ।  यस्ता समस्या लिएर अस्पताल पुग्ने महिलाको सङ्ख्या आजभोलि निकै बढी छ । कतिपय किशोरी अभिभावकसँगै अस्पताल पुग्ने गर्छन् भने कोही एक्लै उपचारका लागि पुग्ने गर्छन्   थापाथली अस्पतालदेखि पाटन लगायतका अन्य अस्पतालमा महिनावारी अनियमित भएको समस्या लिएर अस्पताल पुग्ने महिलाको सङ्ख्या बढ्दै गएको अस्पतालले बताएका छन् ।  सरकारी अस्पतालसँगै निजी अस्पतालमा पनि यस्ता समस्या लिएर पुग्ने महिलाको सङ्ख्या अहिले निकै बढेको छ ।  पाटन अस्पतालमा महिनावारी गडबड भएको समस्या लिएर दैनिक १०-१५ जना महिला पुग्ने गरेको अस्पतालले जनाएको छ । यता थापाथली अस्पतालमा पनि दैनिक २०-२५ जना महिला महिनावारी गडबडीको समस्या लिएर पुग्ने गरेका छन् ।  यस्तै, निजीरूपमा सञ्चालन भएका फर्टिलिटीमा पनि यस्ता समस्या लिएर आउने महिलाको सङ्ख्या बढी छ । उता नरदेवीमा रहेको आयोर्वेदिक अस्पतालमा पनि दैनिक ५-६ जना महिला यस्तो समस्या लिएर पुग्ने गरेका छन् । किन हुन्छ महिनावारी अनियमित ? कुनै पनि महिला बच्चा जन्माउन योग्य हुँदा उसको महिनावारी सुरु हुन्छ । जसलाई रजस्वला पनि भन्ने गरिन्छ । महिनावारी एक प्राकृतिक प्रक्रिया हो । यो हरेक महिना साामान्यतया २८ देखि ३५ दिनको अन्तरालमा हुने गर्छ ।  प्रजनन् क्षमता भएका महिलामा हरेक एक महिनामा एउटा अण्डा परिपक्क भएर बाहिर निस्कन्छ । त्यो बेला रत्तश्राव हुन्छ ।  हरेक महिलाको १४, १६ दिन या १८ दिनमा एउटा अण्डा बनेर फुट्ने गर्छ । तर महिनावारी अनियमित हुँदा यो अण्डा फुट्दैन । जसले गर्दा महिलामा महिनावारी हुनेक्रम २८ देखि ३५ दिनमात्र नभइ ६० देखि ७० दिनसम्म पुग्छ । जसलाई महिनावारी अनियमित भनिन्छ । स्त्रीरोग विशेषज्ञहरू अस्वस्थ खानपान र जीवनशैलीकै कारण यो समस्या देखिने गरेको बताउँछन् । उनीहरूका अनुसार यसको शिकार  किशोरीदेखि युवा वयस्क उमेर समूहका महिलाहरू हुने गरेका छन् । स्त्रीरोग विशेषज्ञ डा. नुतन शर्मा  यो समस्या  पीसीओडी/पीसीओएस अर्थात (पोलिसिस्टिक ओभरी सिन्ड्रोम) र थाइराइडका कारण पनि हुन सक्ने बताउँछन् । पीसीओडी/पीसीओएस कसरी हुन्छ  ? पीसीओडी/पीसीओएस भनेको महिलाहरूको डिम्बाशयसम्बन्धी समस्या हो । यो  हुनुका धेरै कारणहरू छन् । यसमध्येको एउटा कारण वंशाणुगत हो । परिवारमा कसैलाई यो समस्या देखिएको छ भने अर्को पुस्तामा पनि देखिने सम्भावना बढी हुन्छ ।  अर्को हर्मोन असुन्तलनका कारण पनि समस्या देखिन्छ । मान्छेको शरीरभित्र विभिन्न किसिमका हर्मोनहरू हुन्छन् । स्वस्थ रहन सबै हर्मोनको सन्तुलन कायम राख्नुपर्छ । तर हर्मोनको असुन्तलनका कारण शारीरिक समस्या देखिने गर्छन् ।  मानिसको शरीरमा इन्सुलिन भन्ने एउटा तत्व हुन्छ । जसले हामीले खाएको खानालाई शक्तिमा परिणत गर्छ । तर, कतिपय किशोरी महिलामा यसले काम गर्दैन । खाएका खाना शक्तिमा परिणत नभइ बोसोमा गएर बस्छ । बोसोले अर्को एउटा  हर्मोन बनाइदिन्छ । यसो हुँदा एउटा हर्मोन एकदम बढी अर्को कम हुँदा शरीरमा हर्मोनको तालमेल मिल्दैन । जसका कारण अण्डा बन्न छोड्छ । प्रायजसो महिलाको १४, १६ दिन या १८ दिन एउटा अण्डा बनेर फुट्ने गर्छ । तर यो अण्डा फुट्दैन । यो अण्डा नफुटेपछि शरीरमा भएको अर्को प्रोजेस्टेरोन भन्ने हर्मोनले बच्चा बसेन भने महिनावारी गराउँछ । त्यो हर्मोन बन्न बन्द हुन्छ ।  महिनावारी नियमित हुनका लागि मुख्यतया एस्ट्रोजेन र प्रोजेस्टेरोन हर्मोनहरूको सन्तुलन आवश्यक हुन्छ । जब यी हर्मोनहरूको स्तरमा उतारचढाव हुन्छ तब महिनावारी अनियमित हुन्छ ।  जसका कारण २-३ महिनापछि पाठेघर आफै बाक्लो हुँदै टुटेर रगतको रूपमा निस्कन्छ । यही इन्सुलिनले काम नगर्दा शरीरमा विभिन्न किसिमका समस्याहरू देखापर्छन् । यसलाई चिकित्सकीय भाषामा पीसीओडी/पीसीओएसको समस्या भन्छन् ।  यस्तो किन हुन्छ ? स्त्रीरोग विशेषज्ञ डा.विनीता तिवारी खानपान र हाम्रो दैनिक जीवनयापनकै कारण महिलामा यस्तो समस्या देखा पर्ने बताउँछन् ।  हाम्रा हजुरआमा, आमाहरूले थाहा नपाएका रोगहरू अहिलेका महिला किशोरी अवस्थादेखि नै भाेग्दै आइरहेको उनकाे भनाइ छ । महिनावारी अनियमित हुनुको कारण पनि खानपान र दैनिकीमै आधार रहने बताउँदै उनी पछिल्लो पुस्ताका महिलामा यसको असर पर्ने गरेको बताउँछिन् । ‘पहिलेका महिला घरभित्र भान्छामै पाइने खानेकुरा खान्थे, दिनभरि खेतबारीकै काममा व्यस्त हुन्थे,’ विशेषज्ञ तिवारी भन्छिन्, ‘आजभोलि त्यसको उल्टो छ, घरको खानेकुरा छोडेर,प्याकेटका कुरा खाने, दिनभरि बस्ने, काम गर्नुपरे पनि अफिसमै बसेर गर्ने गर्छन् जसले यस्ता रोगहरू देखा पर्न थाले ।’ उनी महिनावारी अनियमित हुनुको समस्या औषधी खाएर भन्दा दैनिकी परिवर्तन गरेरमात्र निको हुने बताउँछिन् ।  डा. ऐश्वर्या श्रेष्ठ महिलामा देखिने जति पनि समस्या छन् यसको समाधान पनि आफ्नै हातमा रहेको बताउँछिन् । दैनिकीमात्रै परिर्वतन गर्ने निको हुने यो समस्यालाई वेवास्ता गर्दा क्यान्सरसमेत हुने जोखिम रहेको भन्दै उनी यो समस्यालाई गम्भीर रूपमा लिनुपर्नेमा जोड दिन्छिन् । महिलाले खानपान र शारीरिक व्यायाममा ध्यान दिए भने पनि यो समस्याबाट मुक्त हुन सक्ने उनको अनुभव छ ।  

एनपीएलका उत्कृष्ट नेपाली खेलाडीलाई ६२ लाख पर्ने ओमोडाको कार दिने

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा मंसिर १५ गतेदेखि सुरु हुन लागेको पहिलो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा उत्कृष्ट प्रदर्शन गर्ने नेपाली खेलाडीलाई शारडा समूहले ब्रान्ड न्यू कार प्रदान गर्ने भएको छ । नेपालमा यस कारको बजार मूल्य ६१ लाख ९९ हजार रुपैयाँ रहेको छ। यस संस्करणमा ‘प्लेयर अफ द सिरिज’ घोषित हुने नेपाली खेलाडीले यो विशेष सम्मान पाउने भएका हुन् । एनपीएलको व्यावसायिक अधिकार व्यवस्थापन गरिरहेको ब्रान्ड डिजिटल लजिक प्रालि र क्यानको संयुक्त पहलमा यो सम्झौता गरिएको हो । सम्झौतापत्रमा ब्रान्ड डिजिटल लजिकका प्रमुख कार्यकारी अधिकृत रोशन निरौला र शारडा समूह अन्तर्गतको एसपीजी अटोमोबाइल्सका निर्देशक गौरव शारडाले हस्ताक्षर गरे । एसपीजी अटोमोबाइल्सका निर्देशक गौरव शारडाले यो सहकार्यले नेपालमा क्रिकेटको प्रवर्द्धन र विकासका लागि टेवा पुर्‍याउने विश्वास व्यक्त गरे । ब्रान्ड लजिकका सिईओ रोशन निरौलाले ‘प्लेयर अफ द सिरिज’ का रूपमा यो पुरस्कार नेपालको खेल इतिहासमा हालसम्मको सबैभन्दा ठूलो पुरस्कार भएको बताएका छन् । साथै एसपीजी अटोमोबाइल्सको ‘ओमोडा एन्ड जेइको’ले एनपीएलको पहिलो संस्करणमा ‘ड्रिभन बाई’ सह प्रायोजकको रूपमा साझेदारी गरेको छ । एनपीएलको पहिलो संस्करणमा ८ टिमबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिता मंसिर १५ देखि पुष ६ सम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा आयोजना हुनेछ ।

सबै संघीय अस्पतालमा विद्युतीय हाजिरी अनिवार्य गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै संघीय अस्पताललाई विद्युतीय हाजिरी अनिवार्य गर्न परिपत्र गरेको छ । कतिपय सरकारी अस्पतालमा कार्यालय समयमा चिकित्सक उपलब्ध नहुने गुनासो आए पछि विद्युतीय हाजिरीमार्फत रेकर्ड राख्ने व्यवस्था मिलाउन मन्त्रालयले परिपत्र गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले कार्यालय समयमा चिकित्सक बाहिर भेटिने समस्या अन्त्य गर्न विद्युतीय हाजिरी अनिवार्य गरेर कडाइ गर्न मातहतका कर्मचारीहरुलाई भनेका थिए । त्यसलगत्तै मन्त्रालयअन्तर्गतको गुणस्तर मापन तथा नियमन महाशाखाले २४ वटा संघीय अस्पताललाई विद्युतीय हाजिरी अनिवार्य व्यवस्था गरेर सोको जानकारी पठाउन पत्राचार गरेको हो । मन्त्रालयले विद्युतीय हाजिरी राखिएपश्चात समयमा चिकित्सक उपलब्ध भए नभएको अनुगमनसमेत थाल्ने भएको छ । मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले कार्यालय समयमा चिकित्सक तथा स्वास्थ्य कर्मचारी नभएका गुनासा सम्बोधन गर्न हाजिरीलाई विद्युतीय बनाउने निर्णय भएको बताए । ‘हामीले सबै संघीय अस्पताललाई विद्युतीय हाजिरी व्यवस्था अनिवार्य गर्न भनेका छौं,’ उनले भने, ‘त्यसपछि अनुगमन गर्दा नभएको पाइएमा कारबाही हुनेछ ।’ मन्त्रालयले केही दिनअघि औषधीको मूल्य सबैले देख्ने गरी सार्वजनिक गर्न सबै संघीय अस्पताल तथा मेडिकल कलेजहरुलाई समेत पत्राचार गरेको थियो । दुई साताभित्र सार्वजनिक गर्नका लागि मन्त्रालयले पत्राचार गरेको थियो । यसको समेत अनुगमन गर्ने तयारी मन्त्रालयले गरेको प्रवक्ता बुढाथोकीले बताए ।

सम्पदा लघुवित्तको कम्पनी सचिवको जिम्मेवारी पवनकुमार श्रेष्ठलाई

काठमाडौं । सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडको कम्पनी सचिवको जिम्मेवारी पवनकुमार श्रेष्ठले पाएका छन् । मंसिर १० गते सोमबार बसेको कम्पनी सञ्चालन समितिको बैठकको निर्णयअनुसार संस्थाका नायक महाप्रबन्धक पवनकुमार श्रेष्ठले सचिव पदको जिम्मेवारी पाएका हुन् । श्रेष्ठले निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडमा २२ वर्ष काम गरी प्रादेशिक स्तरको तत्कालीन आरम्भ लघुवित्त वित्तीय संस्था लिमिटेडमा प्रमुख कार्यकारी अधिकृतमा कार्यरत थिए । आरम्भ लघुवित्त वित्तीय संस्था लिमिटेड र चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड सफल मर्जरपश्चात बनेको आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडबाट राजीनामा दिएका श्रेष्ठसँग निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडबाट करिअर सुरु गरी लघुवित्त क्षेत्रमा २८ वर्षको अनुभव रहेको छ । साविक सबैको लघुवित्त वित्तीय संस्था लिमिटेड र साविक साधना लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा मर्जर भई बनेको नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रिय स्तरको कार्यक्षेत्र भएको सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडले ७ वटै प्रदेशका ४५ वटा जिल्लामा १५५ वटा शाखा सञ्जालबाट १,७८,३७८ घरधुरीहरूमा सेवा विस्तार गरेको छ । यस वित्तीय संस्थाले ९ अरब ७४ करोड ५७ लाख रुपैयाँ लगानीमा रहेको रकम र २ अर्ब ४७ करोड रुपैयाँ बचत परिचालन गरी रहेको छ ।

मौद्रिक नीतिको त्रैमासिक समीक्षा शुक्रबारसम्म सार्वजनिक हुने, के हुँदैछ परिवर्तन ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले यही साताभित्र चालु आर्थिक वर्ष २०८१/८१ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गर्ने अन्तिम तयारी गरेकाे छ । राष्ट्र बैंक स्रोतका अनुसार यही साताको शुक्रबारसम्म मौद्रिक नीतिको त्रैमासिक समीक्षा सार्वजनिक गर्ने तयारी छ । ‘राष्ट्र बैंक मौद्रिक नीति सार्वजनिक गर्ने तयारी भइरहेको छ । मौद्रिक नीतिको मस्यौदा अन्तिम चरणमा छ । शुक्रबारसम्म सार्वजनिक गर्छाैं, शुक्रबारसम्म सार्वजनिक गरिसक्नुपर्ने व्यवस्था छ,’ स्रोतले भन्यो । हाल अर्थतन्त्र सहज अवस्थातर्फ उन्मुख छ । बैंक तथा वित्तीय संस्थाहरूको कर्जाको ब्याजदर औसत ९ प्रतिशत बिन्दुमा झरिसकेको छ भने निक्षेपको ब्याजदर औसत ५ प्रतिशत बिन्दुको हाराहारीमा छ । बैंकिङ क्षेत्रमा ब्याजदर न्यून बिन्दुमा हुँदा पनि कर्जाको माग नरहेको बैंकरहरू बताउँछन् । राष्ट्र बैंकले पनि कर्जा विस्तार गर्ने गरी विगतका मौद्रिक नीतिमार्फत सहजीकरण गरिसकेको छ । तर पनि कर्जाको माग उल्लेख्य रूपमा नबढ्दा राष्ट्र बैंकले यसपटक पनि कर्जा विस्तारसँग सम्बन्धित व्यवस्था चलाउने देखिन्छ । जसका लागि राष्ट्र बैंकले क्षेत्रगत रूपमा जाने कर्जामा केही व्यवस्थामा हेरफेर गर्न सक्ने सम्भावना देखिन्छ । सेयर लगानीकर्ताहरूले सेयर कर्जाको व्यक्तिगततर्फको १५ करोडको सीमा खारेज गर्नुपर्ने माग राखेका छन् । साथै, संस्थागत लगानीकर्ताहरू (बैंक तथा वित्तीय संस्था)लाई दोस्रो बजारमा सेयर कारोबारमा खुला गर्नुपर्ने माग उनीहरूले राखेका छन् । पछिल्लो समय कर्जाको माग पनि नआएकाले बैंकरहरू पनि सेयर धितो कर्जामा जाने कर्जामा राष्ट्र बैंक अझै लचिलो बन्नु पर्ने गरी लबिङ गरिरहेका छन् । महँगो ब्याजदरमा निक्षेप संकलन गरेर सस्तोमा राष्ट्र बैंकमा थुपार्नु परेको छ । त्यसैले राष्ट्र बैंकसामु नीतिगत व्यवस्थामार्फत् कर्जाको माग बढाउनु पर्ने चुनौती छ । यो समस्याको समाधानका लागि उद्योगी व्यवसायीले परियोजना धितोको माग राखिरहेका छन् । यस्तै, निर्माण व्यवसायीहरूलाई प्रवाह भएको कर्जाको साँवा ब्याज तिर्ने अवधि मंसिर मसान्तसम्म छ । उक्त व्यवस्थालाई थप गर्नुपर्ने माग व्यवसायीहरूले गरिरहेका छन् । राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभाग प्रमुख तथा कार्यकारी निर्देशक डा. गुणाकर भट्ट मौद्रिक नीतिको पहिलो त्रैमासको समीक्षमा धेरै परिवर्तन गर्नुपर्ने अवस्था नरहेको बताउँछन् । ब्याजदर न्यून बिन्दुमा झरेको र पर्याप्त तरलता रहेकाले राष्ट्र बैंकले धेरै चलाउनुपर्ने विषय नरहेको उनको भनाइ छ । ‘मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा नयाँ विषय केही छैन । किनभने ब्याजदर न्यून बिन्दुमा झरेको छ । तरलता फालाफाल छ, यसैले राष्ट्र बैंकले चलाउनुपर्ने धेरै विषय केही छैन,’ उनले भने, ‘मौद्रिक नीतिले ब्याजदर र तरलता हेरेर समीक्षा गर्छ, अहिले दुईटै विषय बजारलाई फेरबदल छ ।’ ब्याजदर न्यून भएपनि कर्जा लगानी हुन सकेको छैन । सेयर बजारमा जाने कर्जामा हेरफेर गर्ने विषयमा अहिलेसम्म छलफल नभएको उनले बताए । हाल जुन व्यवस्था छ सोही अवस्थामा कायम रहने सम्भावना रहेको उनले बताए ।

सुनको मूल्य घटेपछि माग बढ्यो, न्युरोड क्षेत्रका सुनचाँदी पसलमा ग्राहकको भीड

काठमाडौं । सरकारले सुन आयातमा लाग्ने भन्सार दर आधा घटाएपछि त्यसको प्रभाव उपभोक्ता बजारमा देखिएको छ । सुनचाँदी पसलमा सुन किन्ने उपभोक्ताको सङ्ख्या बढेको छ । सुनचाँदी व्यवसायी महासङ्घका पूर्व अध्यक्ष मणिरत्न शाक्य मूल्य घटेपछि माग बढ्नु स्वभाविक रहेको बताउँछन् । ‘बजार भाउ घटेपछि त्यसको प्रभाव स्वभाविक रुपमा मागमा देखिन्छ । सस्तो भएपछि मान्छेले किन्न खोज्छन्’, उनले भने । सोमबार बजारमा सुनचाँदीको राम्रो कारोबार भएको उनको भनाइ छ । पछिल्ला दुई दिनमा मात्र सुनको मूल्य प्रतितोला १८ हजार पाँच सयले घटेको छ । आइतबार प्रतितोला एक लाख ६७ हजार दुई सय रुपैयाँमा कारोबार भएकोमा सोमबार घटेर प्रतितोला एक लाख ५१ हजार तीन सय रुपैयाँ कायम भएको थियो । त्यस्तै, आज सुन प्रतितोला दुई हजार छ सयले घटेर एक लाख ४८ हजार सात सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । सरकारले सुनमा २० प्रतिशत भन्सार लगाउँदै आएकामा १० प्रतिशत विन्दु अर्थात् आधार घटाएर १० प्रतिशत कायम गरेको छ । उच्च भन्सार दरका कारण नेपाली बजारमा सुनको मूल्य उच्च रहेको र छिमेकी भारतमा सस्तो सुन पाइने भएपछि त्यहाँबाट अवैध आयात बढेको आशङ्काकाबीच सरकारले भन्सार दर घटाएको हो । हिजो र आज दुई दिन काठमाडौंको न्युरोड क्षेत्रका सुनचाँदी पसलहरुमा ग्राहकको भीड बढेसँगै कारोबार पनि बढेको व्यवसायीको भनाइ छ । सुनचाँदी व्यवसायी महासङ्घका निर्देशक राजेन्द्र तुलाधर सुनचाँदी पसलमा भीड देखिएको भए पनि कति कारोबार भयो भन्ने विवरण उपलब्ध नरहेको बताउँछन् । ‘हरेक पसलमा ग्राहकको भीड देखिए भन्ने जानकारी आएको छ । तर कारोबारको यकिन तथ्यांक उपलब्ध छैन । महासङ्घले कारोबारको तथ्याङ्कसमेत मागेको थियो । तर व्यापारीले दिँदैनन्’, उनले भने । सुन आयातको अधिकार वाणिज्य बैंकहरुले पाएका छन् । तर बजारमा माग नहुँदा यसअघि बैंकहरुले सुन आयात नगरेको महासङ्घका पूर्व अध्यक्ष शाक्य बताउँछन् । ‘बैंकहरुले आयात गरेका छ्र्रैनन् । भन्सार घटेपछिको दरमा आयात गरेर सुन बजारमा पुग्न एक हप्ता समय लाग्छ’, उनले भने । नेपालमा सुन आपूर्ति आयात तथा बिक्री वितरणसम्बन्धी व्यवस्था नेपाल राष्ट्र बैंकले मिलाउँदै आएको छ । सुनको बजार मूल्य निर्धारण भने महासङ्घमा रहेको मूल्य निर्धारण समितिले गर्ने गरेको छ । नेपाल राष्ट्र बैंकले जारी गरेको एकीकृत परिपत्रअनुसार सुन आयातसम्बन्धी हालको व्यवस्था हेर्दा निर्यातकर्ता तथा स्थानीय बिक्रेतालाई सुन उपलब्ध गराउन राष्ट्र बैंकले बैंकमा स्वर्णकोषको व्यवस्था गरेको छ । उक्त कोषमा रहेको सुनको मौज्दातबाट सम्बन्धित बैंकहरूले निर्यातकर्ता तथा विदेशी मुद्रा स्वीकार गर्ने इजाजत प्राप्त स्थानीय बिक्रेतालाई सुन बिक्री गर्ने गर्छन् । राष्ट्र बैंकले सुनको बिक्री मूल्य अमेरिकी डलरमा निर्धारण गर्ने गर्छ । जसकारण अमेरिकी डलरको मूल्य तलमाथि हुँदा त्यसको असर सुनको नेपाली मूल्यमा देखिने गरेको छ । राष्ट्र बैंकका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा एक प्रतिशतभन्दा बढी घटबढ भएमा सोअनुसार समायोजन गरी कायम गरिएको सुनको संशोधित बिक्री मूल्यको जानकारी राष्ट्र बैंकले बैंकलाई गराउँदछ । बैंकहरूले राष्ट्र बैंकले निर्धारण गरेको मूल्यको आधारमा निर्यातकर्ता तथा स्थानीय बिक्रेतालाई सुन बिक्री गर्दछन् । बैंकहरूले यसरी स्वर्णकोषबाट बिक्री गरेको सुनको भुक्तानी अमेरिकी डलरमा राष्ट्र बैंकलाई गर्छन् । निर्यातकर्ता तथा स्थानीय बिक्रेतालाई स्वर्णकोषबाट सुन बिक्री गरेबापत सेवा शुल्कस्वरुप बिक्री गरेको सुनको मूल्यको शून्य दशमलव २५ प्रतिशत रकम नेपाल राष्ट्र बैंकले सम्बन्धित बैंकलाई उपलब्ध गराउँछ । बैंकहरूले निर्यातकर्तालाई सुनका गर–गहना निर्यात गर्न प्राप्त अग्रिम भुक्तानी प्रमाणपत्रको आधारमा सुन उपलब्ध गराउँछन् । बैंकहरूले निर्यातकर्ता तथा स्थानीय बिक्रेतालाई न्यूनतम एक सय ग्राम र बढीमा १० ग्रामको गुणन खण्डले हुन आउने परिमाणमा सुन बिक्री गर्नुपर्ने व्यवस्था छ । वाणिज्य बैंकहरुले दैनिक २० किलोग्रामसम्म सुन आयात गर्न पाउने व्यवस्था छ । भन्सार विभागका अनुसार पछिल्लो पाँच वर्षमा मात्र १६ हजार नौ सय ४७ किलोग्राम सुन आयात भएको छ । चालु आर्थिक वर्षको चार महिनामा मात्र एक अर्ब ४२ करोड ७५ लाख २८ हजार रुपैयाँ बराबरको एक सय ३३ किलोग्राम सुन आयात भएको छ । जसबाट राज्यले रू २८ करोड ५५ लाख सात हजार बराबर भन्सार राजस्व प्राप्त गरेको देखिन्छ । गत आर्थिक वर्ष २०८०/८१ मा रू २३ अर्ब ६५ करोड ३९ लाख १६ हजार बराबरका दुई हजार छ सय ५२ किलोग्राम सुन आयात भएको विभागको तथ्याङ्कमा देखिन्छ । जसबाट सरकारले रू तीन अर्ब ६४ करोड ८३ लाख बराबर भन्सार राजस्व प्राप्त गरेको थियो । अघिल्लो आर्थिक वर्ष २०७९/८० मा रू २२ अर्ब ३५ करोड ४५ लाख ९१ हजार बराबरको दुई हजार नौ सय १७ किलोग्राम सुन आयात भएको देखिन्छ । जसबाट राज्यले रू दुई अर्ब ५३ करोड ८३ लाख ५८ हजार बराबर राजस्व प्राप्त गरेको थियो । आर्थिक वर्ष २०७८/८९ मा रू ३५ अर्ब ६१ करोड ९६ लाख बराबरको पाँच हजार ५३ किलोग्राम सुन आयात भएको थियो । सो वर्ष सुन आयातबाट सरकारले रू चार अर्ब २९ करोड ५० लाख ५६ हजार राजस्व सङ्कलन गरेको थियो । आर्थिक वर्ष २०७७/७८ मा तीन हजार नौ सय २५ किलोग्राम सुन आयात भएको थियो । सो आर्थिक वर्षमा रू २७ अर्ब ३४ करोड ३९ लाख ५२ हजार बराबरको सुन आयात हुँदा सरकारले रू तीन अर्ब ३३ करोड ५८ लाख राजस्व प्राप्त गरेको थियो । आर्थिक वर्ष २०७६/७७ मा रू १३ अर्ब ४६ करोड पाँच लाख बराबरको दुई हजार चार सय किलोग्राम सुन आयात भएको थियो भने त्यसबाट रू एक अर्ब ५० करोड ७५ लाख बराबर राजस्व सङ्कलन भएको थियो ।