विकासन्युज

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा बुधबार बढेको सुनचाँदीको मूल्य बिहीबार भने घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन तोलामा ३ सय रुपैयाँले घटेको हो । मंगलबारको तुलनामा बुधबार तोलामा ९ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ४९ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य बिहीबार तोलामा ३ सय रुपैयाँले घटेर १ लाख ४९ हजार ३ सय रुपैयाँ कायम भएको हो । यस्तै, बुधबारको तुलनामा बिहीबार सुनसँगै चाँदीको मूल्य समेत घटेको छ । महासंघका अनुसार बिहीबार प्रतितोला ३० रुपैयाँले घटेर चाँदीको मूल्य १ हजार ८ सय रुपैयाँ कायम भएको हो ।

बैंकहरूको शाखा विस्तार बन्द, दुर्गमको कारोबार वृद्ध भत्तामा सीमित

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूले विगतका एकै वर्षमा ११ सयभन्दा बढी नयाँ शाखा विस्तार गरेका थिए । आर्थिक वर्ष २०७४/७५ मा १ हजार ११७ वटा नयाँ शाखा खुलेका थिए भने आव २०७५/७६ मा १ हजार १० वटा नयाँ शाखा सञ्चालनमा आएका थिए । त्यसपछिका वर्षहरूमा पनि बैंकहरूले शाखा विस्तारमा जोड नै दिएको देखिन्छ । तर, पछिल्लो समय बैंकको शाखा विस्तार कार्य निकै सुस्ताएको छ । राष्ट्र बैंकका अनुसार विगत ११ वर्षमा बैंक तथा वित्तीय संस्थाहरूको शाखा कार्यालय उच्च रूपमा बढेको छ । विसं २०७० असोजमा बैंक तथा वित्तीय संस्थाका २ हजार ५३३ वटा शाखा कार्यालय सञ्चालनमा थिए । जसमध्ये वाणिज्य बैंकका १ हजार ५०६, विकास बैंकका ७८१ र फाइनान्स कम्पनीका २४६ शाखा कार्यालय थिए । २०८१ असोजसम्मको तथ्याङ्कअनुसार बैंक तथा वित्तीय संस्थाका ६ हजार ४८८ वटा शाखा कार्यालय सञ्चालनमा छन् । जसमध्ये वाणिज्य बैंकका ५ हजार ६२, विकास बैंकका १ हजार १३७ र फाइनान्स कम्पनीका २८९ वटा शाखा कार्यालय सञ्चालनमा छन् । २०७० देखि २०७९ सालसम्म ९ वर्षमा शाखा विस्तार करिब १५५ प्रतिशतले वृद्धि भएको छ, जुन वार्षिक सरदर १७ दशमलव १६ प्रतिशत हो । तर, पछिल्लो तीन वर्षमा शाखा विस्तार शून्य दशमलव ०९ प्रतिशतमा झरेको छ । २०७९ असोजयता भने बैंक तथा वित्तीय संस्थाहरूको शाखा विस्तार सुस्ताएको देखिएको छ । पछिल्लो तीन वर्षको अवधिमा बैंक तथा वित्तीय संस्थामा जम्मा १९ वटा शाखा थपिएका छन् । जसमा वाणिज्य बैंकका १२ वटा शाखा कार्यालय घटेका छन् । विसं २०७९ असोजमा वाणिज्य बैंकका ५ हजार ७४ वटा, विकास बैंकका १ हजार १२१ वटा र फाइनान्स कम्पनीका २७४ शाखा सञ्चालनमा थिए । पछिल्लो समय शाखा विस्तार कार्य बैंकरहरूको प्राथमिकतामा छैन । अहिले डिजिटल बैंकिङ कारोबार ह्वात्तै बढेको छ । अहिले बैंकहरू शाखाभन्दा पनि डिजिटल कारोबार विस्तारमा केन्द्रित भएको बैंकर्सहरू बताउँछन् । आईसीएफसी फाइनान्सका नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) अमित श्रेष्ठ डिजिटल बैंकिङले शाखा विस्तारमा बैंकहरूले चासो दिन छाडेको बताउँछन् । शाखा विस्तारभन्दा पनि डिजिटल बैंकिङमा बढी जोड दिने गरेको उनको भनाइ छ । ‘बैंक तथा वित्तीय संस्थाले शाखा विस्तार गर्न छाडेका छन्, सबै काम डिजिटलबाट हुन थालेपछि शाखा कार्यालय जरुरी नै भएन, त्यसैले बैंकहरूको शाखा विस्तारतर्फ ध्यान छैन,’ उनले भने, ‘हाल सञ्चालनमा रहेका शाखा कायम रहेपनि नयाँ शाखा विस्तारको योजना बैंकहरूको छैन, डिजिटल बैंक भएपछि शाखा विस्तार हुँदैनन् ।’ विगतमा राष्ट्र बैंकको बाध्यकारी नियमले बैंकहरूले शाखा विस्तार गरेको एक बैंकर बताउँछन् । संघीयता लागू भएसँगै एक पालिका एक बैंक शाखा नीति लागू गरिएको थियो ।  पछिल्लो समय मर्जर तथा डिजिटल कारोबार बढेका कारण बैंक तथा वित्तीय संस्थाको शाखा संख्या घटेको उनको भनाइ छ । ‘विगतमा राष्ट्र बैंकको निर्देशनले बैंकहरूको शाखा संख्या बढ्यो, सबै स्थानीय तहमा बैंकको शाखा हुनुपर्छ भनेपछि बैंकहरू शाखा विस्तार गर्न बाध्य भए,’ उनले भने, ‘बैंकहरू मर्ज भएपछि एउटै ठाउँमा दुईटा शाखा सञ्चालनमा हुन पुगे, दुईवटा शाखालाई मर्ज गराएर एउटा मात्रै शाखा बनाए भने कतिपय ठाउँमा शाखा बन्द गरे, त्यसैले शाखा कार्यालयको संख्या कम देखिएको हो ।’ ती बैंकरका अनुसार अझै बैंकहरूको शाखा कार्यालय घट्नेछन् । डिजिटल कारोबार तीव्र रूपमा बढ्दै गएको छ, आरटीजीएस, भुक्तानी, कारोबारलगायत सबै काम डिजिटलबाट भएपछि अझै शाखा घट्ने उनको दाबी छ । ‘विस्तारै हाल सञ्चालनमा रहेका शाखा पनि काम नलाग्ने हुन्छन्, दुर्गम क्षेत्रमा सञ्चालनमा रहेका बैंकका शाखा कार्यालय पुरै घाटामा छन्, ती शाखा कार्यालय वृद्ध भत्ता मात्रै बाँडिरहेका छन्, अन्य व्यवसाय नै छैन,’ उनले भने । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) र विश्व बैंकको लहलहैमा लागेर जति धेरै शाखा खोल्यो, त्यति धेरै वित्तीय पहुँच पुगेको मानिन्छ भन्ने भ्रममा राष्ट्र बैंक पनि परेकाले विगतमा शाखाको संख्या अत्यधिक बढेको बैंकका जानकारहरू बताउँछन् । तर, व्यवसाय गर्ने ठाउँ नहुँदा र लागत मात्रै बढ्दा कार्यालय बन्द गर्नतर्फ बैंकहरू लागि रहेका छन् । नेपाल राष्ट्र बैंकका सहायक सूचना अधिकृत डा. भागवत आचार्य वित्तीय सेवाको पहुँच बढाउन विगतमा शाखा विस्तारमा जोड दिएको भएपनि अब सेवामा गुणस्तरीयता हुनुपर्ने बताउँछन् । साथै पछिल्लो समय कोरोना महामारी र आर्थिक मन्दीका कारण बैंकको सेवा विस्तारमा केही असर पुर्‍याएको हुन सक्ने उनको भनाइ छ । ‘वित्तीय पहुँच बढाउन शाखा विस्तार गरिएको थियो, जसले बैंक तथा वित्तीय संस्थाहरूको सेवा विस्तार भयो । वित्तीय सेवा विस्तारको निश्चित सीमा हुन्छ, त्यसैले सेवा विस्तार पुगेको पनि हुन सक्छ,’ उनले भने, ‘विश्वव्यापी कोरोना महामारी, अर्थतन्त्रमा परेको मन्दीका कारण फाइनान्सियल हेल्थमा नकारात्मक असर पर्न थाल्यो, त्यसैले शाखा विस्तारमा ठेस लागेको हुन सक्छ ।’ शाखा विस्तारभन्दा पनि मर्जरमा जान थालेको र अर्थतन्त्रले माग नगरेका कारण शाखा विस्तार नभएको हुन सक्ने उनले बताए । डिजिटल कारोबारका कारण शाखा विस्तारभन्दा पनि सेवाको घनत्व विस्तारतर्फ बैंकहरू लागेको उनको बुझाइ छ । ‘पहुँच भन्दा पनि सेवाको गुणस्तर अथवा संख्यात्मक विस्तारभन्दा गुणात्मक विस्तारमा जोड दिन थाले,’ सूचना अधिकृत आचार्यले भने, ‘पछिल्लो समय शाखा खोल्न अनुमति माग्ने फाट्टफुटट्ट आएका आउँछन्, विगतमा जस्तो उत्साह छैन किनभने लगानी विस्तारको अवस्था पनि छैन ।’  

आज साँझ मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । आज साँझ मन्त्रिपरिषद् बैठक बस्दैछ । बैठक साँझ पाँच बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्न लागेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणबारे निर्णय गर्न बैठक बस्न लागेको हो । बैठकमा चीन भ्रमणका एजेन्डाबारेमा पनि छलफल हुनेछ । प्रधानमन्त्री ओली यही मंसिर १७ गते चीन भ्रमण जाने तयारीमा छन् । प्रधानमन्त्री केपी शर्मा ओली ४० सदस्यीय टोलीको नेतृत्व गर्दै चीन भ्रमणमा जाँदैछन् । त्यसअघि भ्रमणको तयारीका लागि आजै दिउँसो परराष्ट्रमन्त्री आरजु राणा चीन जाँदैछिन् । मन्त्री राणाले शुक्रबार (मंसिर १४) चिनियाँ विदेशमन्त्री वाङ यीसँग छेङ्दुमा भेटवार्ता गर्ने तय भएको छ । भेटमा प्रधानमन्त्रीको भ्रमण दुई देशको आपसी हितका विविध विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले बताएको छ ।

काठमाडौंको र्‍याडिसन होटेलमा जियोमाण्डु सम्मेलन सुरु

काठमाडौं । भू-प्राविधिक समाज (नेपाल जियोटेक्निकल सोसाइटी)ले अन्तर्राष्ट्रिय ‘जियोमान्डु’ शृंखलाको दोस्रो संस्करण ‘जियोमान्डु-२०२४’ काठमाडौंको र्‍याडिसन होटेलमा सुरु भएको छ । कार्यक्रम आजभोली ‘दिगो पूर्वाधारका लागि भू-प्रविधि’ शीर्षकको विषयवस्तुका साथ आयोजना गरिएको हो । कार्यक्रममा विभिन्न देशका भू-प्राविधिक, इन्जिनियर र अनुसन्धानकर्ताको सहभागीता रहेको छ । कार्यक्रममा उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह मुख्य अतिथिका रूपमा उपस्थित हुँदै छन् । ‘आजको समयमा नेपालले धेरै विकास गरिरहेको छ । सडक, जलविद्युत, सिंचाई र नयाँ सहर बनाउने काममा ठूलो प्रगति भएको छ । तर यी विकास कार्यहरू गर्दा हामीले प्राकृतिक प्रकोप र जलवायु परिवर्तनको पनि ध्यान दिनुपर्छ,’ देबेन्द्र केसीले भने । यसका लागि भू-प्राविधिक इन्जिनियरिङको भूमिका धेरै महत्वपूर्ण रहेको सहभागीहरु बताउँछन् । यस सम्मेलनले अनुसन्धानकर्ताहरू, इन्जिनियरहरू र व्यवसायीका लागि ज्ञान आदान-प्रदान गर्न, अनुसन्धान निष्कर्षहरू प्रसार गर्न र पूर्वाधार विकासको अर्को चरणलाई परिभाषित गर्ने हेतुले कार्यक्रमको आयोजना गरिएको आयोजकको भनाई छ। ‘जियोमान्डु’ सम्मेलन श्रृंखलाले विश्वव्यापी स्तरमा दिगो पूर्वाधार विकासमा केन्द्रित रहँदै भू-प्राविधिक इन्जिनियरिङ समुदायभित्र ज्ञान आदान-प्रदान, सहकार्य र दिगो समाधानहरूको प्रवर्धन गर्ने लक्ष्य राखेको छ। यस सम्मेलनमा संसारभरका विज्ञहरूले एक अर्कामा ज्ञान अनुभव आदानप्रदान गर्ने बताइएको छ।

स्थानीय तह उपनिर्वाचन : आज रातिदेखि मौन अवधि सुरु

काठमाडौं । स्थानीय तह उपनिर्वाचनअन्तर्गत आज राति १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ । मतदानको समयभन्दा ४८ घण्टाअघि निषेधित अवधि रहने व्यवस्था अनुसार आज राति १२ बजेदेखि नै लागू हुने निर्वाचन आयोगले जनाएको छ । मौन अवधिका समयमा कुनै पनि उम्मेदवार वा अन्य व्यक्तिले मत माग्ने वा अरू कुनै पनि किसिममा प्रचारका गतिविधि गर्न पाइने छैन । निर्वाचन आयोगले जारी गरेको आचारसंहिताअनुसार यो अवधिमा उम्मेदवारका अतिरिक्त राजनीतिक दलहरूलाई सभा, सम्मेलन, गोष्ठी, भेला, अन्तरक्रियालगायत गतिविधि गर्न रोक लगाइएको छ । आगामी मंसिर १६ गते ३३ जिल्लाका ४४ पदका लागि मतदान हुँदैछ । दुई जिल्ला समन्वय समिति प्रमुख, एक/एक मेयर र उपमेयर, गाउँपालिका अध्यक्ष २, उपाध्यक्ष ४ र ३४ वडाध्यक्ष पदका लागि निर्वाचन हुन लागेको हो । मतदानका लागि १६२ मतदान स्थल र २९३ मतदान केन्द्र तोकिएका छन् । निर्वाचनमा २ लाख २६ हजार ७९९ मतदाता रहेका छन् । ४४ पदमध्ये तीन पदमा एकल उम्मेदवारी परेकोले ४१ पदका लागि मात्रै मतदान हुनेछ । ओखलढुंगा जिल्ला समन्वय समिति प्रमुखमा काँग्रेसका टेकराज भट्टराई र कैलाली जिल्ला समन्वय समिति प्रमुखमा काँग्रेसकै टीकाकुमारी चौधरी (भुल)निर्विरोध निर्वाचित भइसकेका छन् । यसैगरी रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका-२ को वडाध्यक्षमा माओवादीका जगत घर्ती निर्विरोध निर्वाचित भएका छन् ।

थाङ्काबाट वार्षिक १५ लाख आम्दानी, एउटै चित्र पाँच लाखसम्म बिक्री हुने

धरान । बौद्ध दर्शनमा आधारित परम्परागत चित्रकला थाङ्का बनाएर सुनसरीको बराहक्षेत्र नगरपालिका–५ कालाबन्जरका राजकुमार विष्टले वार्षिक १५ लाख रुपैयाँ आर्जन गर्दै आएका छन् । विगत २० वर्षदेखि थाङ्का बनाउँदै आउनुभएका उजले थाङ्कालाई नै आम्दानीको मुख्य स्रोत बनाएका छज् । उनी भन्छन्, ‘बौद्ध दर्शनमा आधारित एउटा विशिष्ट शास्त्रीय चित्रकलाजस्तै हो र यो नेवार जातिको परम्परागत चित्रकला पौभासँग मिल्दोजुल्दो हुन्छ । घर खर्च यसैबाट जुटाउने गरेको छु । धेरै चित्र गुम्बाहरुमा बिक्री हुने गरेको छ’, तर यहाँ प्रशस्त गुम्बा नहुँदा काठमाडौंका साथै चीनको तिब्बत, हङकङ, सिङ्गापुर,अमेरिकालगायत देशमा बिक्री हुने गरेको छ । थाङ्का चित्र अहिले धेरैजसो नेपाल भ्रमणमा आउने विदेशी पर्यटकले किन्ने गरेका छन् । उनी सुनाउँछन् । विदेशीले थाङ्का चित्रमार्फत नेपालको ऐतिहासिक तथा धार्मिक परम्परालाई झल्काउने उनले बताए । उनले १० जनालाई रोजगारी पनि दिएका छन् । उनीसँग थाङ्का बनाउन सिकेकाहरू धचित्र कोर्न सिक्नेको लागि पनि एउटा राम्रो ठाउँ बनेको वैदेशिक रोजगारीमा गएका छन् जहाँ उनीहरूले यो कला पनि प्रस्तुत गर्ने उनले सुनाए । एउटा थाङ्का चित्र बनाएर पहिलोपटक ५० हजार रुपैयाँमा बिक्री गरे पछि व्यावसायिक रुपमा काम थालेका उनले चार हजारदेखि पाँच लाखसम्म रुपैयाँका थाङ्का बिक्री गर्दै आएका छन् । रासस

ईसेवाको ‘मेरो डिजिटल देश’ अभियान : अन्जुला घिमिरेले जितिन् काठमाडौंमा घर

काठमाडौं । डिजिटल रेमिट्यान्स कम्पनी ईसेवा मनि ट्रान्सफरको ‘मेरो डिजिटल देश’ अभियानअन्तर्गत अन्जुला घिमिरेले काठमाडौंमा घर जितेकी छन् । १४ महिना यता जारी यस अभियानमा रोमानिया बस्ने घिमिरेले कान्तिपुर टेलिभिजनमा भएको प्रत्यक्ष प्रसारणमा गोलाप्रथाबाट काठमाडौंमा घर जितेकी हुन् । उनले रोमानिया बाट ईसेवा मनि ट्रान्स्फरमार्फत आफ्नो घरमा रेमिट्यान्स् पठाएकी थिइन् । ईसेवा मनि ट्रान्सफरले विदेशबाट आउने रेमिट्यान्सलाई वैधानिक बनाउन प्रोत्साहन गर्ने उद्देश्यले ‘मेरो डिजिटल देश’ अभियान सार्वजनिक गरेको थियो । अभियानमार्फत विश्वका जुनसुकै मुलुकमा रहेका नेपालीले नेपालमा इच्छाएको व्यक्तिको बैंक खाता वा इसेवा वालेटमा पैसा पठाउँदा एक जनालाई बम्पर उपहारस्वरुप काठमाडौंमा घर दिने घोषणा गरेको थियो । इसेवा सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरेको संस्था हो । अघिल्लो वर्ष यसै अभियान अन्तर्गत पूर्णबहादूर श्रेष्ठले ललितपुरको महालक्ष्मी नगरपालिका-४ इमाडोल, बोजेपोखरीमा ३ आना क्षेत्रफलमा बनेको साढे दुई तलाको घर जितेका थिए ।

रक्तअल्पताबाट जोगाउन किशोरीहरूलाई विद्यालयमा नै आइरन चक्की

टीकापुर ।  किशोरीहरूलाई  रक्तअल्पताबाट जोगाउन विद्यालयमा नै आइरन चक्की खुवाउने अभियान टीकापुरमा जारी छ । टीकापुर नगरपालिकाले नगरका सबै विद्यालयमा किशोरावस्थाका छात्रालाई आइरन चक्की खुवाउने अभियान थालेको हो । दश वर्षमाथिका सबै किशोरीलाई आइरन चक्की र जुकाको औषधि खुवाइन्छ । सुरुमा विद्यालयमा आइरन चक्की खान डराउने किशोरीहरू आजभोलि नियमित खान थालेका छन् । टीकापुरकी पूजा चौधरी महिनावारी हुन थालेपछि कमजोर महसुस गर्न थालिन् । चौथो पटक महिनावारी भएकी पूजा एक्कासी बेहोस भइन् । अभिभावकले स्वास्थ्य संस्थामा लगेर परीक्षण गराउँदा कमजोरी र शरीरमा आइरनको कमी रहेको स्वास्थ्यकर्मीले बताए । त्यसपछि पूजाका अभिभावकले छोरीलाई पोषणयुक्त खानासँगै आइरन चक्की खुवाए । आजभोलि पूजाको स्वास्थ्य राम्रो छ । ‘म खानपानमा पोषणयुक्त खानेकुरामा जोड दिन्छु’, उनले भनिन्, ‘विद्यालयमा हरेक आइतबार आइरन चक्की खुवाइन्छ । आइरन चक्कीसँगै किशोरीको स्वास्थ्य र पोषिलो खानाबारे शिक्षकले जानकारी दिन्छन् ।’ सबै विद्यालयकासरकारको पोषण कार्यक्रमअन्तर्गत पालिकाले विद्यालयकै सक्रियतामा यो अभियान सञ्चालन गरिरहेको टीकापुर नगरपालिका रामपुर सहरी स्वास्थ्य केन्द्रका स्वास्थ्यकर्मी दीपेन्द्र पनेरु बताउछन् । ‘नजिकै रहेको स्वास्थ्य संस्थाले विद्यालयका स्वास्थ्य विषय अध्ययन गराउने शिक्षकलाई आइरन चक्की उपलब्ध गराउने गर्दछन्’, उनले भने, ‘तीन वर्षयता शिक्षकले आफ्नो विद्यालयका किशोरीलाई हप्तामा एक पटकका दरले १३ हप्ता आइरन खुवाउने गरेका छन् ।’ विद्यालयमा आइरन चक्की खुवाए, नखुवाएको अनुगमन र सुपरिवेक्षण स्वास्थ्य संस्थाका प्रमुखले गर्ने जिम्मेवारी छ । टीकापुर–२ स्थित जनजागृति मावि सीतापुरमा तीन सय बढी किशोरीले आइरन खान्छन् । सुरुमा खान नमानेका किशोरीहरू आजभोलि कुरा बुझेपछि सहजै खाने गरेका शिक्षक उर्मिला रावलले बताइन् । ‘सुरुमा किशोरी धेरै डराए, औषधि किन खाने, हामीलाई के रोग छ र ? भनी प्रश्न गर्थे’, उनले भनिन्, ‘नियमित कक्षाकोठामा जानकारी दिएपछि सहजै खान्छन्, किशोरीहरू स्वस्थ हुनुपर्छ भन्नेमा उनीहरू सचेत  छन् ।’ यसैगरी, वीरेन्द्र विद्यामन्दिरले पनि हरेक आइतबार कक्षा शिक्षकको सहयोगमा आइरन चक्की खुवाइरहेको शिक्षक सुरेन्द्रबहादुर शाहले बताए । ‘कक्षा शिक्षकको सहयोगमा आइरन चक्की खुवाउने गरिएको छ’, उनले भने, ‘कक्षा सुरु हुनुअघि किशोरीलाई आइरन चक्की खुवाउने अनि हरेक आइतबार पोषिला खानेकुराबारे जानकारी दिने गरेका छौँ ।’ विद्यार्थीलाई पोषणबारे सिकाउन थालेपछि शिक्षक सचेत भएका छन् । उनीहरूमा पनि ज्ञान बढिरहेको शिक्षकहरू बताउँछन् । केदारेश्वर आधारभूत विद्यालयमा केही किशोरी आइरन खाने उमेरका छन् । कम नै भए पनि उनीहरूलाई बानी बसाउन केही समय लागेको प्रधानाध्यापक बद्रीप्रसाद भट्टराई बताउछन् । ‘पोषणयुक्त खानपानबारे हामीले पनि ज्ञान लिएका छौँ’, उनले भने, ‘छोरीहरूलाई किशोरावस्थाबाटै स्वस्थ बनाएमा कुपोषण अन्त्यमा सहयोग पुग्छ ।’ किशोरीलाई विद्यालयमा आइरन चक्कीसँगै समय समयमा जुकाको औषधि पनि खुवाइन्छ । जसका लागि नगरपालिकामा पालिकाले शिक्षकहरूसँग छलफल गर्ने गरेका छन् । छोरीहरूको महिनावारी हुने हुनाले पनि शरीरमा रगतको अभाव हुनसक्छ । अस्नेहरी सहरी स्वास्थ्य केन्द्रका सिनियर अहेव सकुन्तला रोकाया आइरन चक्की खुवाउने अभियान क्रमशः प्रभावकारी बन्दै गएको बताए । रासस