विकासन्युज

तीनजना विद्यार्थीहरू ‘युवा भाषा वैज्ञानिक पुरस्कार’बाट पुरस्कृत

काठमाडौं । भाषा विज्ञान नेपालको ४५ औं अन्तराष्ट्रिय सम्मेलनमा तीनजना विद्यार्थीहरू ‘युवा भाषा वैज्ञानिक पुरस्कार’बाट पुरस्कृत भएका छन् । दर्शनाचार्य–विद्यावारिधि (एमफिल–पिएचडी)मा अध्ययनरत युवा भाषा वैज्ञानिकहरू मोहन गुरुङ, सिर्जना घिमिरे र नेह गर्ग ‘युवा भाषा वैज्ञानिक पुरस्कार–२०८१’को आवार्डबाट पुरस्कृत भएका हुन् । गुरुङ र घिमिरे त्रिभुवन विश्वविद्यालय, भाषा विज्ञान केन्द्रीय विभाग र गर्ग बनारस हिन्दु युनिर्भसिटीका विद्यार्थी हुन् । मंसिर ११ र १२ गते काठमाडौंमा सम्पन्न सम्मेलनमा अनुसन्धान लेखन र प्रस्तुतीकरणको आधारमा उनीहरू नगद १० हजार रुपैयाँ, प्रमाणपत्र र अवार्डबाट पुरस्कृत भएका हुन् । ‘गण्डकी क्षेत्रको ठाडो भाकाः समाज भाषिक अध्ययन’ विषयको अनुसन्धान लेखन एवम् प्रस्तुतीकरणको आधारमा गुरुङले आवार्ड जितेका हुन् । ‘बहुभाषिक कक्षाकोठमामा सिकाईमा कठिनाई’ विषयबाट घिमिरेले र ‘मैथिलीका शाब्दिक, रूपात्मक तथा वर्णनात्मक प्रेरणार्थक संकेतनः तुलनात्मक अध्ययन’ विषयबाट खोज, लेखन र प्रस्तुतीकरणको आधारमा गर्गले आवार्ड पाएका हुन् । हरेक वर्षको अंग्रेजी महिना डिसेम्बर २६ र २७ गते आयोजना गरिने सम्मेलनमा नेपालका दुईजना र नेपाल बाहिरका एकजना भाषा वैज्ञानिकले यो अवार्ड पाउँछन् । यो अवार्ड नेपालको भाषाबारे अध्ययन, अनुसन्धान र लेखनका लागेका भाषा वैज्ञानिकहरूले पाउँछन् । डा. समर सिन्हा (सिक्किम विश्वविद्यालयका प्रोफेसर), डा. दानराज रेग्मी र डा. भीमलाल गौतम (त्रिभुवन विश्वविद्यालय) रहेको मूल्याङ्कन समितिले उनीहरूलाई आवार्डका लागि सिफारिस गरेको थियो । सम्मेलनमा अमेरिका, अष्ट्रेलिया, भारत, जर्मनी, साउदी अरब, पोल्याण्ड, बेलायतलगायत १० देशका भाषा वैज्ञानिकहरूको सहभागिता थियो ।

सार्वजनिक लगानी परिचालन परियोजनासम्बन्धी सम्झौता, सहुलियतपूर्ण वित्तीय परिचालन गर्ने लक्ष्य

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र फिनल्याण्डका परराष्ट्र मन्त्रालयका वैदेशिक व्यापार तथा विकासमन्त्री भिल्ले ताभियोबीच भेटवार्ता भएको छ । अर्थ मन्त्रालयमा उनीहरूबीच भेटवार्ता भएपछि नेपाल सरकार र फिनल्याण्ड सरकारबीच सार्वजनिक लगानी परिचालन परियोजनासम्बन्धी खाका सम्झौतामा हस्ताक्षर भएको छ । फिनल्याण्डको सार्वजनिक लगानी सुविधा योजनाअन्तर्गत वित्त परिचालन हुने परियोजनाको सम्झौतामा अर्थ मन्त्रालयका अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख धनीराम शर्मा र नेपालका लागि फिनल्याण्डका राजदूत रिना रिक्का हेइकाले हस्ताक्षर गरे । यो सम्झौताको लक्ष्य नेपालमा सामाजिक-आर्थिक पूर्वाधार सुदृढ गर्न र दिगो विकासलाई प्रोत्साहन गर्न परियोजनामा आधारित सहुलियतपूर्ण वित्तीय परिचालन गर्ने रहेको छ । अनुदान प्राप्त परियोजनाहरूमार्फत नेपालले खानेपानी, फोहोर व्यवस्थापन, ऊर्जा र विद्युत, डिजिटलाइजेसन, मौसम विज्ञान, स्वास्थ्य सेवा प्रविधि, विपद् व्यवस्थापन र उद्धार सामग्रीलगायत विविध सामाजिक-आर्थिक पूर्वाधारमा लगानी गर्न सक्छ । आर्थिक परिचालन प्रक्रिया सार्वजनिक क्षेत्र लगानी सुविधा मार्गदर्शनद्वारा निर्देशित हुनेछ, जुन आर्थिक सहयोग र विकास संगठन (ओईसीडी) ढाँचामा आधारित छ । नेपाल अतिकम विकसित देश (एलडीसी) को सूचीमा परेकाले पचास प्रतिशत आर्थिक सहायता अनुदानको रुपमा उपलब्ध गराइनेछ । कार्यक्रममा उपप्रधानमन्त्री एवं अर्थमन्त्री पौडेलले यो सम्झौता नेपालको आर्थिक सामाजिक क्षेत्रको पूर्वाधार विकासका लागि महत्त्वपूर्ण उपलब्धी हुने बताए । फिनल्याण्डका विकासमन्त्री ताभियोले सार्वजनिक लगानी परिचालन नेपाल र फिनल्याण्डबीच आर्थिक सहकार्य विकासका लागि महत्त्वपूर्ण माध्यम बन्ने विश्वास व्यक्त गरेका थिए ।

नेक्सजेन र सामुदायिक रेडियो प्रसारक संघबीच सम्झौता, व्यावसायिक क्षमता अभिवृद्धिमा सहकार्य गर्ने

काठमाडाैं । सामुदायिक रेडियोहरूको छाता संगठन सामुदायिक रेडियो प्रसारक संघ नेपाल र नेक्सजेन म्यानेजमेन्ट एण्ड इक्विटी सोलुसन्सबीच सम्झौता सम्पन्न भएको छ। देशैभरि सञ्चालित सामुदायिक रेडियोहरूको व्यावसायिक क्षमता अभिवृद्धि र वित्तीय स्रोत पहिचान तथा प्रभावकारी परिचालनमा सहकार्य गर्ने उद्देश्यले लागि दुवै संस्थाबीच सहमति भएको हो। संघको केन्द्रीय कार्यालय, चाकुपाट, ललितपुरमा बिहीबार सम्झौता भएको हो । सम्झौतापत्रमा संघको तर्फबाट अध्यक्ष अर्जुन गिरी र नेक्सजेन म्यानेजमेन्टको तर्फबाट प्रबन्ध सञ्चालक रमेशकुमार भट्टराईले हस्ताक्षर गरे । आर्थिक मन्दीको कारण वित्तीय स्रोतको व्यवस्था नहुँदा धेरै रेडियोहरू क्रमश: समस्याग्रस्त हुँदैछन् । सामुदायिक रेडियो प्रसारक संघको लागि वित्तीय स्रोतको व्यवस्थापन तथा समस्याग्रस्त सदस्य रेडियोहरूको प्रभावकारी सञ्चालनमा सहयोग र सहकार्य गर्नेगरी संघ र नेक्सजेनबीच सम्झौता भएको नेक्सजेन म्यानेजमेन्टका प्रबन्ध सञ्चालक भट्टराईले जानकारी दिए । सामुदायिक रेडियो प्रसारक संघ, देशैभरि सञ्चालित गैर-नाफामूलक सामुदायिक रेडियोहरूको छाता संगठन हो । संघको नेटवर्कमा अहिले ३५० वटाभन्दा बढी रेडियोहरू आवद्ध छन् । संघले आफ्ना सदस्य रेडियोहरूको  सुसञ्चालन, वित्तीय स्रोतहरूको परिचालन, सूचना प्रवाह र तालिमहरूमा सहयोग प्रदान गर्दै आइरहेको छ । नेक्सजेन म्यानेजमेन्ट विशेषज्ञ सेवा दिने गरी सञ्चालित कम्पनी हो । यसले सम्पत्ति व्यवस्थापनसम्बन्धी काम र व्यावसायिक परामर्श दिने काम गर्छ । छोटो अवधिमा यसले देशी विदेशी कम्पनीहरूसँग सम्झौता र सहकार्य गरी सेवा दिँदै आएको छ ।

परराष्ट्रमन्त्री राणा चीन प्रस्थान

काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा बिहीबार चीन प्रस्थान गरेकी छन् । चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा चीनको औपचारिक भ्रमणका लागि उनी आज मध्याह्न त्यसतर्फ प्रस्थान गरेकी हुन् । डा राणा नेपालको परराष्ट्र मन्त्रीमा नियुक्त भएपछि पहिलो पटक चीन भ्रमणमा गएकी हुन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयका कायममुकायम सचिव अमृतबहादुर राई र मन्त्रालयका अधिकारीहरूले बिदाइ गरेका थिए । भ्रमणका क्रममा मन्त्री डा राणाले चिनियाँ विदेशमन्त्री यीसँग द्विपक्षीय भेटवार्ता गर्नेछिन् । सो भेटवार्ता शुक्रबार चीनको सिचुआन प्रान्तस्थित छेन्दु सहरमा हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । चीनको औपचारिक भ्रमणका साथै प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न भ्रमणको तयारीस्वरूप उनी आज चीन गएकी हुन् । प्रधानमन्त्री ओली अर्को साता चीन भ्रमणमा जाँदै छन् । परराष्ट्रमन्त्री डा राणा यही मङ्सिर १५ गते स्वदेश फर्कनेछिन् ।

प्रधानमन्त्रीसमक्ष सूचना आयोगको वार्षिकप्रतिवेदन पेस

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सूचना आयोगले आर्थिक वर्ष २०८०/८१ को १६ औँ वार्षिक प्रतिवेदन बिहीबार पेस गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङले सो प्रतिवेदन प्रधानमन्त्री ओलीसमक्ष पेस गरेका हुन् । उक्त प्रतिवेदन प्रधानमन्त्रीमार्फत् सङ्घीय संसद्मा प्रस्तुत गरिने व्यवस्था रहेको छ । सोही अवसरमा आयोगको वर्तमान नेतृत्वको पाँच वर्षे कार्यकालमा निर्णय भएका ‘महत्वपूर्ण आदेश सङ्ग्रह’ को प्रधानमन्त्री ओलीबाट सार्वजनिक गरियो । प्रधानमन्त्री ओलीले सूचनाको हकलाई वास्तविक हकका रुपमा स्थापित गर्दै सरोकार भएका पक्षलाई आवश्यक सूचना दिने काममा सरकार र आयोगबीच सहकार्य हुनुपर्ने बताए । उनले लोकतन्त्रका पक्षमा सक्दो कार्यान्वयन गर्दै अराजकतालाई भने निरुत्साहन गर्नुपर्नेमा जोड दिए । प्रमुख आयुक्त गुरुङले आफूहरुको पाँच वर्षको कार्यकालमा पाँच हजार एक सय ८२ पुनरावेदन प्राप्त भएकामा ९५ प्रतिशत फस्र्यौट गरिएको जानकारी गराए । प्रमुख आयुक्त गुरुङ आयुक्तहरु कमला ओली थापा र रत्नप्रसाद मैनालीको कार्यकाल यही मङ्सिर २३ गते सकिँदैछ ।

सीमित स्रोतभित्र अधिकतम लाभ लिने प्रयास गरौँ : स्वास्थ्यमन्त्री पौडेल

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सीमित स्रोतभित्र अधिकतम लाभ लिने प्रयास गर्नुपर्ने बताएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आयोजनामा भइरहेको राष्ट्रिय संयुक्त वार्षिक समीक्षा बैठकमा उनले भने, ‘अपुग स्रोतकै कारण चाहेका कति कार्यक्रम लागू गर्न सकिएको छैन, राज्यले छुट्याएको बजेटभित्र अधिकतम सेवा कसरी दिन सकिन्छ भन्ने प्रयास गर्नुपर्छ ।’ उनले भएकै बजेट पनि उचित कार्ययोजना नभएका कारण खर्च हुन नसकेको बताए । उनले सर्वसाधारणले अस्पतालको सेवा विश्वास गर्ने हुनाले अस्पतालको सरसफाइमा ध्यान दिन, कुन सेवा कति शुल्क लिने भनेर खुलाएर वेबसाइट वा बोर्डमा राख्न, स्वस्थ्यकर खाना खुवाउनमा ध्यान दिन आवश्यक रहेको बताए । मन्त्री पौडेलले अस्पताललाई प्लाष्टिकमुक्त क्षेत्र बनाउन प्रयत्न गर्नमा जोड दिनुपर्ने बताए । वार्षिक रुपमा हुने यो समिक्षा बैठकमा गत आर्थिक वर्षका उपलब्धि र प्रगतिको समीक्षा एवं भावी योजनाका लागि स्वास्थ्य मन्त्रालय, स्वास्थ्य विभाग, औषधि व्यवस्था विभाग, आयुर्वेद तथा वैकल्पिक चिकित्सा सेवा महाशाखा लगायतका पदाधिकारीको उपस्थिति रहेको छ । बैठक शुक्रबारसम्म सञ्चालन हुनेछ ।

धार्मिक र पर्यटकीय स्थलमा पूर्वाधार निर्माण गर्न म्याग्दीमा एक करोड ५० लाख रुपैयाँ विनियोजन

म्याग्दी । गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८०/८१ मा जिल्लाका धार्मिक र पर्यटकीय स्थलमा पूर्वाधार निर्माण गर्न विभिन्न ११ योजनाका लागि एक करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । पर्यटन तथा उद्योग कार्यालयले कार्यान्वयन हुने १० योजनाका लागि एक करोड २० लाख रुपैयाँ र पर्यटन, वाणिज्य तथा उपभोक्ता हकहित संरक्षण निर्देशनालय पोखरा अन्तर्गतको एक योजनालाई ३० लाख रुपैयाँ विनियोजन भएको हो । प्रमुख पोषानाथ शर्माले बजेट बिनियोजन भएका योजनाको सर्वेक्षण, लागत अनुमान तयार, उपभोक्ता समिति गठन र सम्झौताको प्रक्रीया अघि बढाएको बताए ।धवलागिरि गाउँपालिका–४ मा पर्ने धौलागिरि चक्रीय पदमार्ग योजना भने निर्देशनालयमार्फत कार्यान्वयन हुने उनले बताए । अन्नपूर्ण गाउँपालिका–५ का खोप्रा लेकमा पर्यटकीय पूर्वाधार र रघुगङ्गा गाउँपालिकाको काली बराह मन्दिर हुदै धवलागिरी आइसफल जाने पदमार्ग योजनाका लागि २०/२० लाख बजेट प्राप्त भएको छ । रघुगङ्गा गाउँपालिका–४ को नागीदेवी मन्दिर संरक्षण, वडा न. ३ को गायत्री मन्दिर संरक्षण, वडा नं. –२ को माझखर्क–ओखरबोट हुदै साझपानी पदमार्ग, बेनी नगरपालिका –७ को शान्तिपार्क, वडा नं.–२ को ध्यानकुटी पूर्वाधार, वडा नं. ६ को मसिनढुंगा थाकनपोखरी एकपाटे पदमार्ग, धवलागिरी गाउँपालिका–५ मल्कवाङ डाडाकटेरी ररावर हुदै ग्यासखार पदमार्ग र मालिका–७ बिम–तल्लोगाउँ पदमार्गका लागि १०/१० लाख बजेट प्राप्त भएको छ । म्याग्दीमा प्रदेश सरकारले पर्यटनसम्बन्धी योजनाका लागि आर्थिक वर्ष २०७८/७९ मा आठ वटा योजनालाई २० लाख, आर्थिक वर्ष २०७९/८० मा २१ योजनालाई एक करोड ९२ लाख, आर्थिक वर्ष २०८०/८१ मा १८ योजनालाई एक करोड ५६ लाख विनियोजन गरेको थियो । प्रशस्त पर्यटकीय स्थल भएपनि गण्डकी प्रदेशका अन्य जिल्लाको तुलनामा म्याग्दीमा कम बजेट बिनियोजन हुने र घट्नुका साथै योजनाले पूर्णता नपाउने समस्या देखिएको म्याग्दी उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजेश शाक्यले बताए । आर्थिक वर्ष २०८०/८१ मा सुरु भएका १८ पदमार्ग सम्बन्धी योजना मध्य चार मात्र सम्पन्न भएका थिए । गत वर्ष सुरु भएको कालीबराह पदमार्ग बाहेकका योजनाले यो वर्ष निरन्तरता पाएका छैनन् । अधुरा योजनाबाट नागरिकले लाभ लिन नसक्ने भएकाले निर्माणाधीन कामका लागि बजेटको निरन्तरता आवश्यक पर्ने सरोकारवाला बताउँछन् ।

उखुको जुस बेचेर मासिक ४० हजार कमाइ, आम्दानी गर्न विदेश जानु नपर्ने 

महोत्तरी । मिथिला–१ ढल्केबरका ३० वर्षीय पञ्चलाल साहले उखुको जुस बेचेर मासिक ४० हजार आम्दानी गर्दै आएका छन् । महोत्तरीको बर्दिबासचोकमा बिहानैदेखि साँझसम्म उखु पेलेर रस बेच्ने काम गर्दै आएका उनले आम्दानी गर्न विदेश जानु नपर्ने धारणा राखे । ‘हामीले कुरा नबुझी भौतारिन्छौँ, काम गर्न सके स्वदेशमा आम्दानीका प्रशस्त स्रोत छन्’, उखुको रस बेच्दै साहले भने, ‘आफ्नै ठाउँमा परिवारको साथमा काम गर्न र जीविकोपार्जन गर्न सकिन्छ । अवसर खोजी गरेर मेहनत गर्नुपर्छ, आम्दानीका स्रोत जति पनि भेटिन्छन् ।’ पछिल्ला तीन वर्षदेखि बर्दिबासलाई आफ्नो बजार बनाएका साहले उखुको रस बेचेको कमाइले परिवारको गुजारा चलाउनुका साथै यसअघि विदेश जाँदाको चार लाख रुपैयाँ ऋण पनि तिरिसकेको बताए । ‘महिनामा ४० हजार रुपैयाँ कमाइ हुन्छ, किन जानु खाडी ?’, उनले प्रश्न गरे, ‘मैले अहिले विदेश जाने कुरा सोच्नै छाडेँ ।’ यसअघि गरिबीले थिचेर जीविकोपार्जनका लागि कतार र सउदीअरेबियामा पाँच वर्ष बिताउँदा ऋणको भार लिएर फर्केको साहको अनुभव छ । ‘घरको दुःख टार्न भनेर ऋण गरेर गएँ, दलालको चक्कर रहेछ, भनेको काम नपाएर ऋण बोकेर रुँदै घर फर्केँ’, उनले भने, ‘स्वदेश फर्केर दुई लाख रुपैयाँमा उखु पेल्ने मोटर किनेर काम थालैँ, अहिले परिवारको खर्च गर्न कुनै दुःख छैन ।’ यहाँको कामले पुरानो ऋण तिरेर घरगुजारा चलाउँदै छरछिमेकमा पर्दा दुई/चार सय सरसापट चलाउनसक्ने भएको साहले बताए । “मेरो छ जनाको परिवारलाई दैनिकी चलाउन, छोराछोरी पढाउन अहिले कुनै समस्या छैन”, उनले भने । साहले दुई छोराछोरीलाई बर्दिबासमा राखेर पढाइ रहेका छन् । साहजस्तै ईश्वरपुर नगरपालिकाको श्रीनगरका २० वर्षीय विक्कीकुमार साहले पनि उखुको जुस बेच्ने काम गर्दै आएका छन् । खोजखाज गरेर राहदानी बनाएका विक्कीले विदेश जाने ऋण नपाएपछि सानो पुँजीले दुई वर्षअघि उखु पेलेर जुस बेच्न थालेको बताए । अहिले यसबाट कमाइ हुन थालेपछि छुटेको पढाइलाई निरन्तरता दिनुका साथै घर खर्चमा सहयोग गर्न थालेको उनले बताए । ‘दैनिक एक हजार रुपैयाँ भन्दा बढी आम्दानी हुन्छ, अहिले १२ कक्षाको पढाइलाई निरन्तरता दिन थालेको छु । अब ऋण काढेर विदेश जाने सोच छैन’, विक्कीले भने । बर्दिबासचोकमा मात्रै यही पेसा गरिरहेका छ/सातजना भेटिन्छन् । सबैजसोले दैनिक काम गर्दा मनग्ये आम्दानी भइरहेको प्रतिक्रिया दिने गरेका छन् । महोत्तरी, सर्लाही र धनुषामा उखुखेती बढी हुने भएकाले यहाँ कच्चापदार्थ (उखु) खोज्न भौतारिनु नपर्ने र रस नगदमा जाने हुँदा उधारो करोबार नहुने विक्कीको भनाइ छ । मोटर गुडाउँदै उखु पेलेर रस बेच्ने काम गरिरहेकाहरूसँग किसान पनि खुसी छन् । यिनीहरूले चिनीमिलको भन्दा केही बढी मूल्यमा तत्कालै नगद दिएर उखु लाने हुँदा दैनिक गर्जो टार्न नगद आइरहेको बर्दिबास–२ का किसान क्षेत्रबहादुर भुजेलले बताए । बजारचोकमा उखुको जुस खाने बाक्लै आगन्तुक हुन्छन् । आफ्नै आँखा अगाडि पेलेर ताजा जुस दिने भएकाले उपभोक्ताको रोजाइमा परेको हो । ‘पसलमा राखिएका विभिन्न थरिका जुसभन्दा यो स्वस्थ्यकर र तत्काल ऊर्जा दिने हुन्छ’, स्थानीय स्वास्थ्यकर्मी गिरेन्द्रकुमार झाले भने । स्वदेशमा अवसर खोज्ने हो भने विदेश जानुपर्ने बाध्यता अन्त्य हुने झाको भनाइ छ । साना व्यावसायिलाई स्थानीय सरकारले जीविकोपार्जनमूलक सीप विकास, आर्थिक तथा प्राविधिक सहयोग गरी युवालाई विदेश जानबाट रोक्नुपर्नेमा उजले जोड दिए । रासस