पोर्चुगलमा पहिलोपटक नेपाली दूतावास स्थापना
लिस्बन । युरोपेली मुलुक पोर्चुगलमा पहिलोपटक नेपाली दूतावास स्थापना भएको छ । परराष्ट्र मन्त्रालयबाट आएका कर्मचारीको टोलीले राजधानी लिस्बनमा दूतावास स्थापनापछि सेवा दिन सुरु गरेका छन् । दूतावासले लिस्बनस्थित अल्कान्तारामा अस्थायी कार्यालय सञ्चालन गरेर सेवा प्रवाह गर्न सुरु गरेको जनाएको छ । नेपाली दूतावास लिस्बनले फ्रान्सस्थित नेपाली दूतावाससँगको सहकार्यमा घुम्ती सेवा सञ्चालन गरेर राहदानीसहित आवश्यक कागजात प्रमाणीकरणसम्बन्धी ‘कन्सुलर’ सेवा दिन सुरु गरेको हो । शुक्रबारदेखि सुरु भएको घुम्ती सेवाबाट प्रहरी चारित्रिक प्रमाणपत्र (प्रहरी रिपोर्ट) सहित करिब दुई सय कागजात प्रमाणीकरणको सेवा दिन थालेको दूतावासले जनाएको छ । शिविर अवधिभर दूतावासले अधिकृत वारेसनामा प्रमाणीकरण बाहेकका अन्य प्रहरी चारित्रिक प्रमाणपत्र, नाता प्रमाणित, जन्मदर्ता, विवाह दर्तालगायत कागजात प्रमाणीकरणसम्बन्धी कन्सुलर सेवा प्रदान गर्नेछ । यस्तै यसअघि सञ्चालन भएको घुम्ती शिविरबाट विद्युतीय राहदानीका लागि आवेदन दिएका सेवाग्राहीको तयार भएर आएको राहदानी वितरण गर्नेछ भने विविध कारणले राहदानी तयार हुन नसकेका सेवाग्राहीको पुनः जैविक तथ्याङ्क संकलन गरिने दूतावासले जनाएको छ । कागजात प्रमाणीकरणसम्बन्धी समस्यामा परेका नेपालीलाई सहज बनाउने उद्देश्यले हालका लागि घुम्ती सेवा सञ्चालन गरेर नेपाली दूतावास लिस्बनले राहदानीसहित अन्य कागजात प्रमाणीकरणसम्बन्धी अत्यावश्यक सेवा प्रवाह गर्न सुरु गरेको पोर्चुगलका लागि कार्यवाहक राजदूत रामबाबु नेपालले राससलाई जानकारी दिए । लिस्बनस्थित नेपाली दूतावासबाट यथाशीघ्र सम्पूर्ण सेवा प्रवाह हुने बताउँदै उनले त्यसका लागि केही समय लाग्ने भएकाले धैर्य गर्न पोर्चुगलवासी नेपालीलाई आग्रह गरे । ‘हामीले लिस्बनमा दूतावास स्थापना गरेर सेवा प्रवाह गर्न सुरु गरेका छौँ । हालका लागि अस्थायी कार्यालय सञ्चालन भएको छ’, नेपालले भने, ‘दूतावासको स्थायी कार्यालय र कर्मचारीको निवासका लागि भवनको खोजी भइरहेको छ । नयाँ दूतावास भएकाले आन्तरिक तयारी र व्यवस्थापनमा पनि जुटिरहेका छौँ ।’ पोर्चुगलका लागि नवनियुक्त नेपाली राजदूत प्रकाशमणि पौडेल केही दिनभित्रै पोर्चुगल आउनुहुने र त्यसपश्चात दूतावासले सम्पूर्ण सेवा प्रदान गर्ने कार्यवाहक राजदूत नेपालले जानकारी दिए । उनका अनुसार कन्सुलर सेवा सुरु भएसँगै प्रहरी चारित्रिक प्रमाणपत्रसहित अन्य कागजात प्रमाणीकरणसम्बन्धी समस्यामा परेका सेवाग्राही नेपालीको दूतावास परिसरमा घुइँचो लाग्ने गरेको छ । दूतावासले कन्सुलर सेवा विभाग काठमाडौँले प्रमाणीकरण गरेको प्रहरी चारित्रिक प्रमाणपत्र, जन्मदर्ता, नाता प्रमाणित, विवाह दर्तालगायत अन्य कागजात प्रमाणीकरणकासम्बन्धी सेवा प्रदान गर्ने जनाएको छ । घुम्ती सेवामा फ्रान्सस्थित नेपाली दूतावासकी नियोग उपप्रमुख सीता बस्नेत, नेपाली दूतावास लिस्बनका तृतीय सचिव अनिल रानालगायत कर्मचारी खटिएका छन् । दूतावासले फेबु्रअरी २६ अर्थात् फागुन १४ गतेसम्म घुम्ती सेवा प्रदान गर्ने र त्यसपश्चात आफ्नो नियमित सेवा प्रवाह गर्ने जनाएको छ । लामो समयपछि यहाँ नेपाली दूतावास स्थापना भएपछि पोर्चुगलवासी नेपाली उत्साहित भएका छन् । दूतावास नहुँदा लामो समयदेखि राहदानीसहित कागजातसम्बन्धी समस्या भोग्दै आएका पोर्चुगलवासी नेपालीले अन्ततः दूतावास स्थापना भएसँगै सहज भएको बताएका छन् । दूतावास स्थापना भएपछि कागजात प्रमाणीकरण र राहदानी बनाउन स्पेन, फ्रान्सलगायत नेपाली दूतावास रहेका अन्य मुलुक जानुपर्ने बाध्यता अन्त्य भएको छ । पोर्चुगलमा नेपालीको यकिन तथ्यांक नभए पनि अनुमानित ६० हजारको हाराहारीमा रहेका दूतावासले अनुमान गरेको छ । यसअघि पटक–पटक फ्रान्सस्थित नेपाली दूतावासको टोली र राहदानी विभाग काठमाडौँको टोली पोर्चुगल आएर घुम्ती सेवामार्फत् पोर्चुगलवासी नेपालीलाई सेवा प्रदान गर्दै आएको थियो । यसअघि पोर्चुगलका लागि राजदूत सिफारिस हुनुभएका शनिल नेपाल पोर्चुगल आउन नपाएपछि फिर्ता बोलाइएको थियो । नेपाललाई फिर्ता बोलाएसँगै दूतावास स्थापनाको विषय केही समय अन्योल बनेको थियो । हाल उनी स्पेनका लागि राजदूत नियुक्त भई जिम्मेवारीसमेत सम्हालेका छन् । नेपाल सरकारले परराष्ट्र मन्त्रालयका सहसचिव प्रकाशमणि पौडेललाई गत साउनमा पोर्चुगलका लागि नेपाली राजदूतमा नियुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको थियो भने राष्ट्रपति रामचन्द्र पौडेलले गत मङ्सिरमा उहाँलाई पोर्चुगलका लागि राजदूत नियुक्त गरेका थिए। पोर्चुगलमा नेपाली दूतावास स्थापनाका लागि गैरआवासीय नेपाली संघ पोर्चुगललगायत यहाँ रहेका नेपाली संघसंस्था, सामाजिक अभियन्तालगायत पोर्चुगलवासी नेपालीले लामो समयदेखि संघर्ष गर्नुका साथै विभिन्न दबाबमूलक कार्यक्रमसमेत हुँदै आएको थियो । रासस
बीएमडब्ल्यूले यूकेमा ‘इलेक्ट्रिक मिनी उत्पादन’को समय पुनरावलोकन गर्ने
काठमाडौं । बीएमडब्ल्यूले ब्रिटेनमा पूर्ण–इलेक्ट्रिक मिनी कार उत्पादन गर्ने आफ्नो तालिका पुनर्विचार गरिरहेको शनिबार घोषणा गरेको छ । अटोमोबाइल उद्योगमा रहेका अनिश्चितताहरू बढ्दै गएपछि बीएमडब्ल्यूले पुनर्विचार गरिरहेको हो । मिनीले २०२३ मा ६०० मिलियन पाउन्ड (७५७.८० मिलियन) लगानी गरेर २०३० सम्म आफ्नो मिनी ब्रान्डलाई पूर्ण रूपमा इलेक्ट्रिक बनाउने योजना बनाएको घोषणा गरेको थियो । योजनाअन्तर्गत २०२६ मा अक्सफोर्डमा उत्पादन सुरु गरिने उल्लेख थियो । तर शनिबार बीमएमडब्ल्यू समूहले उक्त योजनालाई पुनरावलोकन गरिरहेको जनाएको छ । ‘अटोमोबाइल उद्योगमा रहेका विभिन्न अनिश्चितताहरूलाई ध्यानमा राख्दै बीएमडब्ल्यू समूह हाल अक्सफोर्डमा ब्याट्री–इलेक्ट्रिक मिनी उत्पादन पुनः सुरू गर्ने समयतालिका पुनरावलोकन गर्दैछ,’ कम्पनीले आफ्नो विज्ञप्तिमा जनाएको छ । बीएमडब्ल्यूले विद्युत् सवारीसाधनहरूको बिक्री अपेक्षाअनुसार तीव्र गतिमा वृद्धि गर्न सकिरहेको छैन । उद्योगले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सबै अमेरिकी अटो आयातमा २५ प्रतिशत ट्यारिफ लगाउने धम्कीको सामना गर्नुपरिरहेको छ । यसैबीच फक्सवागनको अडीले उत्तर अमेरिकामा आफ्नो उत्पादन विस्तार गर्ने योजना बनाएको छ भने मर्सिडिजले पनि अमेरिकामा आफ्नो उत्पादन वृद्धि गर्ने घोषणा गरिसकेको छ । मिनीले आफ्नो विज्ञप्तिमा भनेको छ कि अक्सफोर्ड कारखानाको निर्माण कार्य राम्रोसँग अघि बढिरहेको छ ताकि उक्त प्लान्टलाई भविष्यका लागि तयार पार्न सकियोस् । तर, कम्पनीले बेलायत सरकारलाई आफ्नो समयतालिका पुनरावलोकन गर्ने निर्णयबारे जानकारी गराइसकेको छ । ईभी यातायात समूहहरूले ‘ईयूलाई गरे ‘सीओ टु’ उत्सर्जन नियमहरू खुकुलो नपार्न आग्रह मर्सिडिज बेन्जले लागत कटौती योजना ल्यायो, २०२५ को आम्दानी घट्ने पूर्वानुमान स्मार्ट ईभी लञ्चपश्चात् वीवाईडीविरुद्ध गुनासोको बाढी स्टेलान्टिसले टर्मोली प्लान्टमा हाइब्रिड गाडीका पार्ट्स उत्पादन गर्ने साइबरट्रक दुर्घटनाले तनावमा टेस्ला, सेल्फ-ड्राइभिङ सफ्टवेयरबारे चिन्ता बढ्यो
चितवनमा अन्य समयमाभन्दा साँझ बढी दुर्घटना
चितवन । चितवनमा सबैभन्दा बढी साँझको समयमा दुर्घटना भएका छन् । चालू आर्थिक वर्ष २०८१/८२ को छ महिनामा जिल्लामा पाँच सय आठ सवारीसाधन दुर्घटना भएका छन् । त्यसमा बेलुका ६ देखि राति १२ बजेको समय अवधिमा धेरै दुर्घटना भएका हुन् । यस अवधिमा दुई सय १७ दुर्घटना भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख गायत्रीराज शर्माका अनुसार राति १२ बजेदेखि बिहान ६ बजेसम्म ३६, बिहान ६ देखि दिउँसो १२ बजेसम्म ९१ र दिउँसो १२ देखि बेलुका ६ बजेसम्म एक सय ६४ दुर्घटना भएका छन् । चालु आर्थिक वर्षको छ महिनामा भएका दुर्घटनामा ७० जनाको मृत्यु भएको छ भने एक सय १० जना गम्भीर घाइते भएका छन् । दुर्घटनामा सात सय ७२ सवारीसाधन संलग्न देखिन्छन् । चालू आवको सुरूको चार महिनामा दुई सय ६१ दुर्घटना भएका थिए । पछिल्लो दुई महिनामा मात्रै दुई सय ४७ दुर्घटना भएको तथ्याङ्कले देखाएको छ । शर्माका अनुसार साँझको समयमा सवारी साधनको बत्ती, सडक बत्ती नियमानुसार नहुँदा दुर्घटना बढी हुने गरेका छन् । यस्तै मादक पदार्थको सेवन गरी सवारीसाधन सञ्चालन गर्ने र साँझको समयमा सहरी क्षेत्रमा सवारीसाधनको चाप उच्च हुने भएकाले पनि दुर्घटना बढी हुने गरेको उनको भनाइ छ । जिल्लामा दुर्घटनाको सङ्ख्या बढे पनि मृत्युदर भने कमी देखिन्छ । पहिलो चौमासिकमा दुर्घटनाबाट ५६ जनाको मृत्यु भएको थियो । पछिल्लो दुई महिनामा दुर्घटनामा परी १४ जनाको ज्यान गएको छ । शर्माका अनुसार दुर्घटनाबाट चालू आवको साउनमा १०, भदौमा पाँच, असोजमा १३, कात्तिकमा १८, मङ्सिरमा १०, पुसमा सात र माघमा सात जनाको मृत्यु भएको छ । सवारी साधनको दुर्घटनाबाट गत आर्थिक वर्ष २०८०/८१ मा एक सय १५ जनाको मृत्यु भएको थियो भने आव २०७८/७९ मा एक सय ४० र आव २०७९/८० मा ७८ जनाको मृत्यु भएको कार्यालयको तथ्याङ्क छ । जिल्लामा सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले विभिन्न गतिविधि गर्दै आएको उनले बताए । उहाँले भन्नुभयो, ‘दुर्घटना न्यूनीकरण गर्न ‘एक विद्यालय, एक ट्राफिक शिक्षक’को अवधारणाअन्तर्गत प्रशिक्षण कार्यक्रम सञ्चालन गरिरहेका छौँ ।’ ट्राफिक प्रहरीले शिक्षकलाई तालिम दिने र तालिम प्राप्त शिक्षकले विद्यार्थीलाई ट्राफिक शिक्षा दिने गरिएको छ । ट्राफिक शिक्षाका लागि ट्राफिक प्रहरी कार्यालयले शिक्षकलाई आवश्यक सामग्री पनि प्रदान गर्दै आएको छ । दुर्घटना न्यूनीकरणकै लागि आँपटारीमा ट्राफिक ‘रिफ्रेस सेन्टर’को स्थापना गरिएको छ भने समय समयम छड्के जाँचलाई तीव्रता दिइएको उनको भनाइ छ । शर्माले भने, ‘दुर्घटना न्यूनीकरणका लागि सबै लाग्नुपर्छ ।’ रासस
सिटिजन्स बैंकको १९९औं शाखा ललितपुरको हरिसिद्धीमा
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शाखा विस्तार गर्ने क्रममा आफ्नो १९९औं शाखा ललितपुरको हरिसिद्धीमा सञ्चालनमा ल्याएको छ । यससँगै काठमाडांै उपत्यकाभित्र यस बैंकको ४० वटा शाखा र बागमती प्रदेशमा ५६ वटा शाखा सञ्चालनमा आएका छन् । हरिसिद्धीमा आइतबार आयोजित एक कार्यक्रमका बीच बैंक सञ्चालक समितिका अध्यक्ष प्रबलजंग पाण्डेले नयाँ शाखाको शुभारम्भ गरे । उक्त शाखाको उद्घघाटन समारोहमा स्थानीय निकायका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, विभिन्न संघसंस्थाका प्रमुखको उपस्थिति रहेको थियो । नयाँ शाखा सञ्चालनको अवसरमा यो शाखामा खाता खोल्दा कर्पाेरेट मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङजस्ता सेवा पहिलो वर्ष निःशुल्क प्राप्त गर्न सकिनेछ । यसैगरी, डिम्याट खाता खोल्दा लाग्ने शुल्कमा पहिलो वर्षको लागि छुटको व्यवस्था रहेको छ । साथै लकर सुविधा लिँदा लकर अनिवार्य मौज्दातमा २५५ र पहिलो वर्ष लकर शुल्कमा ५०५ छुट उपलब्ध रहेको छ । विश्वकै प्रतिष्ठित अवार्ड ‘बैंक अफ द इयर २०२४’ को उपाधि प्राप्त गर्न सफल भएको बैंकले केही समय अघिमात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ (भर्चुअल क्रेडिट कार्ड) सञ्चालनमा ल्याएको छ । साथै नेपालमै पहिलो पटक मोबाइल बैंकिङ एप मार्फत नै शेयर आवेदन र ऋच्ल् नम्बर सेवा लिन सकिने सुविधा पनि ल्याएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरि ६० जिल्लामा फैलिएका आफ्ना १९९ वटा शाखा, १६४ वटा एटीएम, ३ विस्तारित काउन्टर र ७४ वटा शाखारहित बैंकिङ इकाइहरूबाट १८ लाख ५० हजार ग्राहकवर्गलाई बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ ।
केबलकार विवाद : फुङ्लिङ र पाथीभरा क्षेत्रमा निषेधाज्ञा जारी
फुङ्लिङ । ताप्लेजुङ सदरमुकाम फुङलिङ बजार र पाथीभरा क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ । पाथीभरामा केबलकार निर्माणको विषय विवाद चर्किंदै गएपछि जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले आज बिहानदेखि लागू हुनेगरी निषेधाज्ञा जारी गरेको हो । प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले शनिवार राति जारी गर्नुभएको सूचनामा सदरमुकाम फुङ्लिङ बजार र पाथीभरा क्षेत्रमा निषेधाज्ञा जारी गरिएको उल्लेख छ । शनिवार साँझ फुङ्लिङमा बजारमा नो केबलकार पक्ष र प्रहरीबिच झडप भएपछि परिस्थिति प्रतिकूल भएकाले निषेधाज्ञा जारी गर्नुपरेको सूचनामा उल्लेख छ । संवेदनशील र प्रतिकूल परिस्थितिका कारण स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३) (क) बमोजिम निषेधाज्ञा जारी गरिएको हो । आइतबार बिहान ५ बजेदेखि अर्को सूचना नभएसम्म फुङलिङ बजार क्षेत्रसहित पूर्वतर्फ दोखु सल्लेरी, पश्चिमतर्फ घोचौंउ र थलङधार, उत्तरतर्फ उकाली पानी र दक्षिणतर्फ शेर्पा टोल, भेटेरिनरी कन्चनजंघा टोलसम्म निषेधाज्ञा जारी गरिएको हो । पाथीभरा क्षेत्रको काफ्लेपाटी क्षेत्रअन्तर्गत पूर्वतर्फ पर्यटक प्रहरी भवन, पश्चिमतर्फ बलु डाँडा क्षेत्र, उत्तरतर्फ केबलकार बेस स्टेशन र दक्षिणतर्फ निर्माणाधीन नयाँ बसपार्कको १०० मिटर क्षेत्रभित्र सीमा (चार किला) निषेधाज्ञा तोकिएको छ । निषेधाज्ञा जारी गरिएको क्षेत्रभित्र पाँच जनाभन्दा बढी मानिस जमघट हुन नपाउने, सभा, जुलुस, प्रदर्शन र घेराउ जस्ता गतिविधि गर्न नपाउने भनिएको छ । निर्माणाधीन केबलकारको विषयलाई लिएर शनिबार साँझ सदरमुकाम फुङ्लिङमा नो केबलकार पक्ष र प्रहरीबिच झडप हुँदा दुवै पक्षका घाइते भएका छन् । गत बिहीबार पनि पाथीभरा क्षेत्रस्थित केबलकार निर्माणस्थलमा पनि नो केबलकार समूह र प्रहरीबीच झडप भएको थियो । उक्त झडपमा प्रहरी, आन्दोलनकारी र अन्य गरी १३ जना घाइते भएका थिए ।
ललितपुरको सिभिल होम्समा आगलागी
काठमाडौं । ललितपुरको सुनाकोठीस्थित सिभिल होम्समा आगलागी भएको छ । एक घरको माथिल्लो तलामा रहेको पूजाकोठामा बालिएको बत्तीबाट आगो लागेको हो । अहिले ललितपुर महानगरपालिकाको दमकल र नगर प्रहरीसहितको टोलीले आगो निभाइरहेको प्रहरीले जनाएको छ ।
एक तोला सुन किन्न एक लाख ७० हजार ३०० रुपैयाँ लाग्ने
काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य बढेको छ । शुक्रबार प्रतितोला एक लाख ७० हजार रुपैयाँ कायम भएको सुनको मूल्य आइतबार एक लाख ७० हजार तीन सय रुपैयाँ कायम भएको छ । आज चाँदीको मूल्य भने घटेको छ । शुक्रबार प्रतितोला एक हजार ९९० रुपैयाँ रहेको चाँदीको मूल्य आज एक हजार ९७० रुपैयाँ कायम भएको छ ।
विवाहको पार्टीमा पेय पदार्थको रूपमा मोही, बेहुला-बेहुलीसँगै मोहीमा पाहुनाको आकर्षण
काठमाडौं । वैवाहिक कार्यक्रममा बेहुला–बेहुलीप्रति सबैको आकर्षण हुनु स्वाभाविक नै हो । तर कहिलेकाँही अन्य पक्षहरूमा पनि आगन्तुकको ध्यान जान सक्छ । काठमाडौंमा हालै भएको एउटा विवाह कार्यक्रममा अधिकांशको नजर बेहुला–बेहुलीसँगै मोहीमा पनि रह्यो । अन्य पेय पदार्थको साटो मोही राखेपछि धेरैले मन पराए । यही फागुन ६ गते थापागाउँको एक क्याङ्कुटमा बेहुला माधव भण्डारी र बेहुली अस्मि सापकोटा जग्गेमा व्यस्त भइरहँदा उनीहरूलाई शुभकामना र आशीर्वाद दिनेको भीड त्यसलगत्तै स्थानीय मोहीतिर लहसिएको थियो । अन्य पेय पदार्थको साटो मोही पिउन पाउँदा फरकपन महसुस गरेको काठमाडौंकी शिक्षा भट्टराईले बताइन् । बिहेमा सहभागी अन्तरराष्ट्रिय सेफ घनश्याम कँडेलले भोजमा मोहीको प्रयोग निकै राम्रो भएको बताए । विवाहमा मोहीप्रति मानिसहरुको आकर्षण देख्दा आफूलाई पनि निकै खुसी लागेको सेफ कँडेलले बताए । बिहेमा सहभागी शिक्षक उदय चापागाईँले पनि आफ्ना छोरा र छोरीको बिहेमा अन्य पेयपदार्थ नराखी मोही नै राख्ने रहर जागेको बताए । बिहेका आगन्तुक एवं वरिष्ठ सञ्चारकर्मी डा राजेन्द्रराज तिमिल्सनाले पनि मोहीको महत्वबारे चर्चा गरे । उनले पौराणिक प्रसङ्ग उल्लेख गर्दै देवराज इन्द्रलाई समेत मोही पिउने धोको कहिल्यै पूरा नभएको उल्लेख गरे । कृषि र पर्यटन प्रवर्द्धन अभियन्तासमेत रहनुभएका बेहुलीका पिता एवं टेलिभिजनकर्मी देवीप्रसाद सापकोटाले बिहेलाई केही नयाँपन दिन मोही समावेश गरेको बताए । बिहेमा मोहीको प्रवर्द्धनमा कृषिमन्त्री सरिक भएकोप्रति उनले विशेष खुसी व्यक्त गरे । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी, बेहुला माधव भण्डारी र बेहुली अस्मि सापकोटाले मोही पिएर कृषि उत्पादनलाई प्रवर्द्धन गरेका थिए । नेपालीहरूका सबै चाडपर्व र कार्यक्रममा ठाउँअनुसारका उपजको प्रवर्द्धनबाट किसानलाई हौसला मिल्ने भएकाले यस्ता कार्यक्रम बढाउनुपर्ने मन्त्री अधिकारीले बताए । काठमाडौंमा हुने कार्यक्रमका लागि मोही ढुवानीमा केही समस्या भए पनि उपभोक्ताको रुचिअनुसार गुणस्तरीय मोही आपूर्ति गर्न सकिने पवन डेरी चितवनका सञ्चालक पवनप्रसाद बाँस्तोलाले बताए । चितवनमा मात्र प्रचलनमा रहेका विभिन्न कोल्ड ड्रिङ्क्सको करिब ३५ प्रतिशत हिस्ता मोहीले लिइसकेको मोही प्रवर्द्धनमा लागेका अभियन्ताहरूले बताएका छन् । नेपाल सरकार पनि पछिल्ला दिनमा स्वदेशी उत्पादन र कृषि उपजको उपभोग बढाउन आवश्यक नीति र कार्यक्रम बनाउन थालेको छ । रासस