एनपीएलको बीमा प्रायोजक बन्यो सिद्धार्थ प्रिमियर इन्स्योरेन्स
काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स नेपाल प्रिमियर लिग (एनपीएल) को बीमा प्रायोजक बनेको छ । इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) वीरेन्द्र बैदवारले एनपीएलमा आवद्ध भइ क्रिकेटको प्रवर्द्धनमा सघाउन पाउँदा कम्पनीले गर्व महसुस गरेको बताए । कम्पनीले प्रतियोगिताका म्यान अफ दी म्याचलाई पुरस्कार प्रदान गर्नुका साथै खेलको प्रवर्द्धनात्मक प्लेकार्ड र टिसर्ट पनि प्रदान गरेको छ । मंसिर १५ गतेदेखि सुरु भएको एनपीएल पुष ६ गतेसम्म चल्नेछ । एनपीएलमा आठ टिम समावेश छन् । शनिबार भएको खेलमा विराटनगर किङ्ग्सलाई आठ विकेटले हराउँदै जनकपुर बोल्ट्सले सुखद सुरुवात गरेकाे छ ।
एघार महिनामा १० लाख ५५ हजार विदेशी पर्यटक भित्रिए, मार्चमा मात्रै एक लाख २८ हजार
काठमाडौं । सन् २०२४ को ११ महिनामा १० लाख ५५ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार यस वर्षको जनवरीदेखि नोभेम्बरसम्म हवाईमार्ग भएर १० लाख ५५ हजार पाँच सय ३३ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका हुन् । उक्त तथ्यांकअनुसार सन् २०२४ मा १३ लाख १५ पर्यटक स्वागत गर्ने लक्ष्य हासिल गर्न कठिन हुने देखिएको छ । सन् २०२४ अन्त्य हुन अब एक महिनामात्र बाँकी छ । डिसेम्बरमा करिब ७० हजार पर्यटक आउने बोर्डले अनुमान गरेको छ । यसरी हेर्दा वर्ष २०२४ मा ११ लाख १५ हजार हाराहारीमात्रै पर्यटक भित्रिने देखिन्छ । नोभेम्बरमा मात्रै एक लाख १४ हजार पाँच सय एक पर्यटक आएका छन् । यो अघिल्लो वर्ष सन् २०२३ को सोही महिनाको तुलनामा पाँच दशमलव ४० प्रतिशत बढी हो । उक्त वर्षको नोभेम्बरमा एक लाख आठ हजार छ सय ३० पर्यटक भित्रिएका थिए । सन् २०१९ को नोभेम्बरमा एक लाख ३० हजार तीन सय तीन विदेशी पर्यटकले नेपाल भ्रमण गरेका बोर्डको तथ्यांकमा उल्लेख छ । बोर्डका निर्देशक मणिराज लामिछानेले हालसम्मको पर्यटक आगमन विश्लेषण गर्दा सन् २०२३ को तुलनामा झण्डै १० प्रतिशत मात्रै बढ्ने देखिएको बताए । सन् २०२३ मा १० लाख १४ हजार आठ सय ७१ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका उनले जानकारी दिए । बोर्डले सन् २०२४ मा कोरोना महामारीपूर्व सन् २०१९ मा आएका पर्यटकभन्दा बढी आउने अनुमान गरेको थियो । सन् २०१९ मा ११ लाख ९७ हजार एक सय ९१ विदेशी पर्यटक नेपाल आएका थिए । एसिया प्यासिफिक क्षेत्रको भन्दा नेपालको पर्यटन पुनरुत्थान माथि रहेको बोर्डका निर्देशक लामिछानेले उल्लेख गरे । संयुक्त राष्ट्रसङ्घ विश्व पर्यटन सङ्गठन (युएनडब्लुटिओ) को छ महिनाको आँकडा अनुसार विश्वव्यापी रूपमा ९६ प्रतिशतले नेपालको पर्यटन पुनरुत्थान भएको छ । उक्त अवधिमा विश्वव्यापी ९३ प्रतिशत पर्यटन पुनरुत्थान भएको जनाइएको छ । विभिन्न कारणले सन् २०२४ मा प्रक्षेपण गरिएको पर्यटक आगमन लक्ष्य भेट्टाउन कठिन भएको बोर्डका निर्देशक लामिछानेले उल्लेख गरे । ‘हालसम्मको पर्यटक आगमन हेर्दा विश्वव्यापी रूपमा नेपालको पर्यटक आगमन सकारात्मक देखिन्छ,’ उनले भने, ‘पर्यटनका विभिन्न सूचकलाई विश्लेषण गर्दा सन् २०१९ को भन्दा बढी पर्यटक आउने प्रक्षेपण गरिएको थियो । लामो समयसम्म बोर्डको अन्तर्राष्ट्रिय प्रवर्द्धन रोकिनु, विमान दुर्घटना र प्राकृतिक विपत्तिलगायत कारणले पर्यटक आगमन सुधार हुन नसकेको अनुमान गरिएको छ ।’ करिब छ महिना बोर्डको अन्तर्राष्ट्रिय प्रवर्द्धन रोकिनु, बीचमा विमान र हेलिकप्टर दुर्घटना हुनु, असोजको ११ र १२ गतेको अविरल वर्षापछिको बाढीपहिरोपछिका घटना र गत कात्तिक २३ गतेदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको १० घण्टा उडान बन्दलगायत कारणले अपेक्षित रूपमा पर्यटक आउन नसकेका बोर्डले विश्लेषण गरेको छ । बोर्डको विवरणमा नोभेम्बरमा भारतबाट १९ हजार नौ सय १५ पर्यटक आएका छन् । संयुक्त राज्य अमेरिकाबाट १० हजार नौ सय ८१ र चीनबाट नौ हजार चार सय ५८ पर्यटकले नेपाल भ्रमण गरेका छन् । संयुक्त अधिराज्य बेलायतबाट छ हजार पाँच सय ११, बङ्गलादेशबाट पाँच हजार एक सय ४८, अष्ट्रेलियाबाट चार हजार आठ सय २९, थाइल्याण्डबाट चार हजार दुई सय ६२, श्रीलङ्काबाट चार हजार तीन सय ९५, जर्मनीबाट तीन हजार नौ सय २६ र फ्रान्सबाट तीन हजार आठ सय ४१ पर्यटक नेपाल भ्रमणमा आएका छन् । कुन महिनामा कति पर्यटक मार्चमा सबैभन्दा बढी एक लाख २८ हजार एक सय ६७ र सबैभन्दा कम जुलाईमा ६४ हजार पाँच सय ९९ पर्यटकले नेपाल भ्रमण गरेका छन् । अक्टोबरमा एक लाख २४ हजार तीन सय ९३, अप्रिलमा एक लाख ११ हजार तीन हजार ७६ पर्यटक आएका तथ्याङ्कमा उल्लेख छ । नोभेम्बरमा एक लाख १४ हजार पाँच सय एक, सेप्टेम्बरमा ९६ हजार तीन सय पाँच, जनवरीमा ७९ हजार एक सय, फेब्रअरीमा ९७ हजार चार सय २६, मेमा ९० हजार दुई सय ११, जुनमा ७६ हजार सात सय ३६ र अगस्टमा ७२ हजार सात सय १९ पर्यटक नेपाल आएका छन् ।
सेबोन अध्यक्ष श्रेष्ठले गरे कार्यकारी निर्देशकको जिम्मेवारी हेरफेर
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष सन्तोषनारायण श्रेष्ठले महाशाखा प्रमुखहरूको जिम्मेवारी हेरफेर गरेका छन् । अध्यक्ष श्रेष्ठले बोर्डका कार्यकारी निर्देशक मुक्ति श्रेष्ठलाई नियमन विभागमा यथावत राखेका छन् । बाँकी तीन जनाको जिम्मेवारी हेरफेर भएको छ । बोर्डका कार्यकारी निर्देशक डा. नवराज अधिकारीलाई नीति अनुसन्धान तथा तालिम विभागको जिम्मेवारी दिइएको छ । यसअघि उनी व्यवस्थापन तथा कानुन विभागमा थिए । यस्तै, अर्का कार्यकारी निर्देशक विनयदेव आचार्यलाई व्यवस्थापन तथा कानुन विभागको जिम्मेवारी दिइएको छ । उनी यसअघि सुपरीपेक्षण विभागमा थिए । त्यस्तै, कृष्णराज पोखरेललाई सुपरीवेक्षण विभागको जिम्मेवारी दिइएको छ । यसअघि उनी नीति अनुसन्धान तथा तालिम विभागमा थिए । अध्यक्ष श्रेष्ठले शुक्रबार कार्यकारी निर्देशकहरूको जिम्मेवारी हेरफेर गरेका हुन् ।
क्यान नुवाकोटको अध्यक्षमा नारायणकुमार घले निर्वाचित
काठमाडौं । कम्प्युटर एशोसिएसन नेपाल महासङ्घ (क्यान) जिल्ला शाखा नुवाकोटको तेस्रो अधिवेशनले नारायणकुमार घलेलाई सर्वसम्मत रूपमा अध्यक्षमा निर्वाचित गरेको छ । घलेको नेतृत्वमा सात सदस्यीय कार्यसमिति गठन भएको छ, जसले स्थानीय स्तरमा सूचना तथा सञ्चार प्रविधि (आईसीटी) को विकास, डिजिटल साक्षरता प्रवर्द्धन, र युवा केन्द्रित कार्यक्रमहरू सञ्चालन गर्ने लक्ष्य राखेको छ। क्यान नुवाकोटको वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशन क्यान महासङ्घका केन्द्रीय महासचिव चिरञ्जिवी अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा अधिकारीले नारायणकुमार घलेलाई एक गतिशील नेतृत्वकर्ता भन्दै, स्थानीय स्तरमा आईसीटी विकास, डिजिटल साक्षरता, र युवा केन्द्रित गतिविधिमा ध्यान केन्द्रित गर्न सुझाव दिए । पद हस्तान्तरण कार्यक्रमका क्रममा क्यान महासङ्घका केन्द्रीय महासचिव चिरञ्जिवी अधिकारी, सचिव शेखरनाथ दुलाल र निवर्तमान अध्यक्ष पवन नेपालले नवनिर्वाचित पदाधिकारीहरूलाई टिका, खादा, र प्रमाणपत्र प्रदान गरे। नवनिर्वाचित कार्यसमितिमा निम्न पदाधिकारीहरू चयन भएका छन्: अध्यक्ष: नारायणकुमार घले उपाध्यक्ष: तारा रिमाल नेपाल सचिव: सुनिल श्रेष्ठ कोषाध्यक्ष: अजय नगरकोटी सहसचिव: विशाल सापकोटा सदस्यहरू: रामकृष्ण देवकोटा र हेमन्तराज घिमिरे कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासङ्घ सन् १९९२ मा सूचना तथा सञ्चार प्रविधि क्षेत्रको संस्थागत विकासका लागि गैरनाफामूलक संस्थाको रूपमा स्थापना भएको हो । आईसीटी क्षेत्रमा संलग्न विज्ञ, जनशक्ति, र व्यवसायीहरूको छाता संगठनको रूपमा क्यानले डिजिटल परिवर्तन र प्रविधि प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेलिरहेको छ। नयाँ कार्यसमितिले नुवाकोट जिल्लामा डिजिटल परिवर्तनलाई तीव्रता दिनका लागि विभिन्न नवीन कार्यक्रम र परियोजनाहरू अघि बढाउने अपेक्षा गरिएको छ । क्यान महासङ्घले आफ्नो उद्देश्यअनुसार आईसीटी क्षेत्रमा नयाँ आयाम थप्दै राष्ट्रिय स्तरमा योगदान पुर्याउने विश्वास गरिएको छ ।
घट्यो सेयर बजार, ५ कम्पनीमा सकारात्मक सर्किट
काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक ९.९९ अंकले घटेर २७३८.०७ बिन्दुमा पुगेको हो । आज घटेको बजारमा ६३ वटा कम्पनीको सेयर मूल्य बढ्दा १७८ वटा कम्पनीको सेयर मूल्य घटेको छ । साथै, ३ वटा कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन भएको छैन । १ करोड ६७ लाख कित्ता सेयर खरिदबिक्री हुँदा ८ अर्ब ८३ करोड रुपैयाँ बढीको कारोबार भएको छ । जसमध्ये एक्सेल डेभलपमेन्ट बैंकको सबैभन्दा बढी कारोबार गरेको छ । एक्सेल डेभलपमेन्टको ३४ करोड ३१ लाख रुपैयाँ बढीको कारोबार भएको छ । साथै, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको २८ करोड ९० लाख रुपैयाँ बढीको कारोबार भएको छ भने नेपाल फाइनान्सको २८ करोड ६ लाख रुपैयाँ बढीको कारोबार गरेको छ । साथै, कारोबारमा विकास बैंक, होटल र व्यापार समूहको उपसूचक बढेको छ भने भने बाँकी समूहको उपसूचक घटेको छ । विकास बैंकको उपसमूह ४.५२, होटल तथा पर्यटनको उपसमूह ०.३० र व्यापारको उपसमूह ९.० प्रतिशतले बढेको छ । यस्तै, आज ५ वटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ । विशाल बजार कम्पनी, करपोरेट डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, ग्रिन डेभलपमेन्ट बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकमा सकारात्मक सर्किट लागेको हो । कारोबारमा जानकी फाइनान्सको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
फार्मेसीमा परिचय र पोशाक अनिवार्य गर्न सघाउने मन्त्री पौडेलको प्रतिबद्धता
काठमाडौं । नेपाल फार्मेसी परिषदले पुष ४ गतेबाट लागू हुने गरी गर्न लागेको अनिवार्य पोशाकको व्यवस्था लागू गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सघाउने भएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले फार्मेसीलाई व्यवस्थित गर्नका लागि आवश्यक व्यवस्था गर्न परिषदलाई भनेका थिए । लगत्तै परिषदले पहिलो चरणमा फार्मेसिष्टको पहिचान खुलाउन पोशाक अनिवार्य गर्ने निर्णय गरेको हो । परिषदले आगामी पुष ४ गतेबाट लागू हुने गरी गत मंसिर ४ गते फर्मासिष्ट तथा सहायकका लागि सेतो एप्रोनसहितको पोशाक र परिचय अनिवार्य गर्ने निर्णय गरेको थियो । कुनै पनि सामुदायिक फार्मेसी वा अस्पताल फार्मेसीमा औषधी वितरणमा कार्यरत रहेका फर्मासिष्टले एप्रोनसँगै हरियो पृष्ठभूमिमा सेतो रंगको अक्षरमा नाम, पद र परिषद् दर्ता नम्बर तथा फार्मेसी सहायकले नीलो पृष्ठभूमिमा सेतो रंगको अक्षरमा नाम, पद र परिषद् दर्ता नम्बर अनिवार्य राख्नुपर्ने निर्णय पुष ४ गतेबाट लागू हुँदैछ। यस्तो निर्णयले औषधी बिक्रीवितरणमा आधिकारिक व्यक्तिमात्र संलग्न हुने र कुनै कैफियत देखिएमा कारबाही गर्न सहयोग पुग्ने परिषदका रजिष्ट्रार सञ्जीवकुमार पाण्डेले बताए । मन्त्री पौडेलले यस व्यवस्थाको अनुगमन कडा गर्न आग्रह गर्दै मन्त्रालयले कार्यान्वयनका लागि सघाउने प्रतिबद्धता जनाए । औषधीको बिक्री वितरणलाई व्यवस्थित र नियमित बनाउन मन्त्री पौडेलले औषधी व्यवस्था विभागलाई समेत अनुगमन बढाउन सजग गराएका छन् । मन्त्रालयका प्रवक्ता डाक्टर प्रकाश बुढाथोकीले परिषदको निर्णय कार्यान्वयनमा सघाउन मन्त्रालयले पत्राचार गर्ने बताए । यसका अलावा औषधी बिक्री वितरणमा बेथिति देखिए नदेखिएकोसमेत अनुगमन गर्ने र दोषी देखिएमा एकै साथ कारबाही अघि बढाइने उनले बताए । मन्त्री पौडेलले औषधीको मूल्य समायोजन गर्नका लागि गठित समितिले अहिले काम गरिरहेको छ । समितिको सुझावअनुसार अधिकतम उपयोग हुने औषधीमा नागरिकलाई कम भार पर्ने गरी मूल्य समायोजन गर्ने मन्त्रालयको तयारी छ ।
टुपीएम नुडल्सले भारतमा पायो ‘फ्युचर फरवार्ड स्टार ब्रान्ड’ पुरस्कार
काठमाडौं । टुपीएम स्न्याक्स् एण्ड नुडल्स ब्राण्डले भारतको मुम्बईमा आयोजित भव्य समारोहमा रिलायन्स रिटेलद्वारा प्रतिष्ठित ‘फ्युचर फरवार्ड स्टार ब्रान्ड’ पुरस्कार प्रााप्त गरेको छ । टुपीएम ब्रान्डको प्रतिनिधित्व गर्दै वेदान्त जाजुले यो पुरस्कार ग्रहण गरे । यो पुरस्कार यस वर्ष भारतमा लन्च गरिएका सबैभन्दा आशाजनक ब्रान्डहरूको सम्मानमा प्रदान गरिएको हो । यसले प्रतिस्पर्धी बजारमा टुपीएमको उल्लेखनीय सफलतालाई देखाउँँदछ । आफ्ना विभिन्न स्वादिष्ट नुडल्स तथा स्न्याक्स्का उत्पादनहरूको कारण टुपीएम चाँडै नै भारतीय उपभोक्ताहरूको मनपर्ने ब्रान्ड बन्न सफल भएको छ । ‘फ्युचर फरवार्ड स्टार ब्रान्ड’ पुरस्कारले भारतीय खुद्रा बजारमा भविष्य निर्माण गर्ने सोच र सम्भावना बोकेका उदीयमान ब्रान्डहरूलाई प्रोत्साहन गर्ने रिलायन्स रिटेलको प्रतिबद्धतालाई प्रस्तुत गर्दछ । टुपीएम स्न्याक्स् एण्ड नुडल्स् भारतभरका सबै आधुनिक व्यापार, ई–कमर्स र छिटो बिक्री वितरण हुने प्लेटफर्महरूमा उपलब्ध छन् ।
लुम्बिनी लायन्सको बीमा साझेदार नेपाल इन्स्योरेन्स
काठमाडौं । नेपालको पहिलो निर्जीवन बीमा कम्पनी नेपाल इन्स्योरेन्स र लुम्बिनी लायन्सबीच नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रायोजनसम्बन्धी सम्झौता भएको छ । मसिंर १५ गतेदेखि कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा भइरहेको एनपीएलमा बीमा साझेदारको रूपमा यस नेपाल इन्स्योरेन्स लुम्बिनी लायन्सको प्रायोजक बनेको हो । नेपाल इन्स्योरेन्सको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) ईश्वर पोखरेल र लुम्बिनी लायन्सका अध्यक्ष ईश्वरबहादुर जीसीले उक्त सम्झौतामा हस्ताक्षर गरे । उक्त लिगमा सहभागि खेलाडी तथा अन्य व्यक्तिहरूले प्रयोग गर्ने लुम्बिनी लायन्सको टोपीमा कम्पनीको लोगो अंकित हुनेछ भने अन्य विभिन्न प्रवर्धनात्मक क्रियाकलापमा समेत नेपाल इन्स्योरेन्सको सहभागिता रहने कम्पनीले जनाएको छ । यस सम्झौताबाट नेपालको खेलकुदको विकाशमा टेवा पुग्ने कम्पनीले विश्वास लिएको छ । यस कम्पनीले विगत ७८ वर्षदेखि बीमा सेवा दिँदै आएको छ ।