१६ अंकले घट्यो नेप्से, ८ अर्ब ३६ करोड रुपैयाँ बढीको कारोबार
काठमाडौं । साताको पाँचौ अर्थात् अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक १५.९३ अंकले घटी २७३४.९३ बिन्दुमा पुगेको छ । बिहीबार सेयर बजारमा ४० वटा कम्पनीको सेयर मूल्य बढ्दा २०१ वटा कम्पनीको सेयर मूल्य घटेको छ । साथै, ३ वटा कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन आएको छैन । यस्तै, ३०७ कम्पनीको १ करोड ६७ लाख कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ३६ करोड रुपैयाँ बढीको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार गर्ने नेपाल फाइनान्स लिमिटेड रहेको छ । नेपाल फाइनान्स लिमिटेडले ४२ करोड १९ लाख रुपैयाँ बढीको कारोबार गरेको हो। साथै, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनीको २९ करोड, लाइफ इन्स्योरेन्स कर्पाेरेशनको २० करोड ८७ लाख, रसुवागढी हाइड्रोपावर कम्पनीको २० करोड ११ लाख र जानकी फाइनान्स लिमिटेडको १३ करोड ९८ लाख रुपैयाँ बढीको काराेबार गरेका छन् । आज खानीखोला हाइड्रोपावर, सुपरमादी हाइड्रोपावर, मानुषी लघुवित्तलगायतको सेयर बढे पनि सपोर्ट माइक्रोफाइनान्स, नेपाल फाइनान्सलगायतको सेयर मूल्य घटेको छ। आज उपसमूहका लाइफ इन्स्याेरेन्स र व्यापार सूचकबाहेक अन्य राताम्य छन् ।
कन्याममा २३ करोड खर्चेर बनेको ‘टि टेस्टिङ एण्ड प्रोमोसन सेन्टर’ सञ्चालन हुँदै
इलाम । सूर्योदय नगरपालिका–७ कन्याममा निर्माण भएको ‘टि टेस्टिङ एण्ड प्रोमोसन सेन्टर’ सञ्चालनको तयारीमा छ । कोसी प्रदेश सरकार र नगरपालिकाको २३ करोड रुपैयाँ लगानीमा बनेको उक्त सेन्टर यही मङ्सिर २७ देखि सञ्चालनमा आउन लागेको हो । नगरप्रमुख रणबहादुर राईले मङ्सिर २७ गते कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले उद्घाटन गर्ने कार्यक्रम तय भएको जानकारी दिए । ‘उद्घाटनमा प्रदेशका अन्य मन्त्रीहरू पनि आउनुहुन्छ’, उनले भने, ‘यो मुलुकको पहिलो चिया अनुसन्धान तथा प्रवर्द्धन केन्द्र हो, केन्द्रको पूर्वाधार निर्माणको सबै काम सम्पन्न भएको छ ।’ अहिले सेन्टरको भौतिक पूर्वाधार तयार भएको भन्दै आवश्यक उपकरणसमेत जडान भएका नगरप्रमुख राईले जानकारी दिए । उनका अनुसार केन्द्रमा चिया चाख्ने (टि टेस्टिङ)को काम हुनेछ भने चिया अनुसन्धानका लागि भौतिक पूर्वाधार तयार छ । ‘आवश्यक थप उपकरण व्यवस्थापन गरिँदैछ । इलामका लागि मात्र होइन, यो सेन्टर देशका लागि पनि नमूना हुने विश्वास लिएका छौँ’, नगरप्रमुख राईले भने, ‘चियाको स्वाद, गुणस्तर जाँचदेखि चियासम्बन्धी सबै किसिमका अध्ययन यही केन्द्रमा हुनेछ ।’ केन्द्रमा विश्वभरका जोसुकै चिया व्यापारी वा टी–इन्स्पेक्टर (चियाविज्ञ) ले चियाको गुणस्तर जाँच गर्न सक्ने उनले बताए । कन्याम घुम्न आउने पर्यटकले थरिथरिका चियाका स्वाद लिन पाउने नगर कार्यालयले जनाएको छ । सेन्टर सञ्चालनका लागि नगरले कार्यविधि तयार गरेको छ । नगरप्रमुख राईले टि टेस्टिङ नगरअन्तर्गत हुने बताउँदै अनुसन्धानको काम भने नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले गर्ने जानकारी दिए । चिया रोप्न सुरु भएको करिब एक सय ६० वर्षपछि इलाममा अनुसन्धान केन्द्र निर्माण हुँदा यहाँका किसानमा उत्साह थपिएको छ । चिया किसान मनोज भट्टराईले केन्द्र स्थापनापछि चियामा लाग्ने स–साना रोगको पहिचान हुने र उत्पादन बढाउन किसानलाई सहज हुने बताए । चिया प्राविधिकसमेत गाउँमा उत्पादन गर्न केन्द्रले मद्दत गरेमा किसानलाई थप सहज हुने उनको भनाइ छ । ‘यहाँ सामान्यतया चिया प्रशोधन कम हुने, उत्पादन भएको चिया परम्परागत शैलीमा टिप्ने र प्रशोधन हुँदै आएको छ । अनुसन्धान केन्द्रले चियामा नयाँ आयाम स्थापना गर्न मद्दत पुग्ने आशा छ’, भट्टराईले भने । चियाका लागि प्रख्यात इलामको कन्याम चियाबारीबीचमा निर्मित केन्द्रमा पर्यटक थप आकर्षित हुने विश्वास लिइएको उनले बताए । केन्द्र चियाको व्यापार प्रवर्द्धनमा सहयोगी बन्ने कोसी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर रानामगरले बताए । ‘अहिले गुणस्तरीय चिया जाँच गर्ने, यसको व्यापार र गुणस्तर प्रवर्द्धन गर्न किसानलाई समस्या भइरहेको छ’, उनले भने, ‘अब कन्याममा मुलुकको नमूनाका रूपमा अनुसन्धान केन्द्र स्थापना भएको छ ।’ चिया उत्पादनका हिसाबले इलाम महत्वपूर्ण र उर्वरभूमि मानिन्छ । सूर्योदय नगरपालिकालाई चियाको राजधानीका रूपमा चिनिएको छ । यहाँ अनुसन्धान केन्द्र स्थापना भएपछि नेपाली चियासम्बन्धी अनुसन्धान गर्न चाहनेलाई सहज हुने जनाइएको छ । किसान धीरज अधिकारीले भने, ‘स्वदेश र विदेशमा रहेका चिया अध्ययन, अवलोकन र अनुसन्धान गर्ने आउने हुँदा हाम्रो जिल्लामा पर्यटकको सङ्ख्यामासमेत वृद्धि हुने अपेक्षा छ ।’ नगरपालिका कोसी प्रदेशको पर्यटकीय नगरी भएकाले पनि केन्द्र स्थापनापछि पर्यटक आगमन बढ्ने उनले उल्लेख गरे । केन्द्र निर्माणले समग्र जिल्लाको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने सरोकार भएकाहरू बताउँछन् । नगरपालिकामा अन्य ठूला लगानीका आयोजनामध्ये कुनै निर्माणको अन्तिम चरणमा छन् भने कुनै निर्माण भइरहेका नगरप्रमुख राईले बताए । उनका अनुसार अन्तर्राष्ट्रिय दातामार्फत केही ठूलो लगानीका आयोजना आउने चरणमा छन् । जिल्लामा उत्पादित चिया १० प्रतिशत नेपालमा, ७० प्रतिशत भारत र थप २० प्रतिशत तेस्रो मुलुक निर्यात हुने गरेको जनाइएको छ । रासस
नेपाल-कोरियामैत्री नगरपालिका अस्पताल र टीकापुर अस्पतालबीच बिरामी रेफरलसम्बन्धी सम्झौता
काठमाडौं । कोइका नेपाल र मध्यपुर थिमि नगरपालिकाको साक्षीमा नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल र टीकापुर अस्पतालबीच २०२४ डिसेम्बर ५ मा समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रका प्राथमिक लक्ष्यमा बिरामी रेफरल सेवामा सुधार र स्वास्थ्य सेवामा पहुँच बढाउनु हो । दुवै अस्पताल कोइकाको आर्थिक सहयोगमा स्थापना भएका हुन्। नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालका निर्देशक डा. दीपेन्द्रकुमार रौशन र टीकापुर अस्पतालका प्रमुख मेडिकल सुपेरिटेन्डेन्ट डाक्टर रेमकुमार राईले कोइकाका देशीय निर्देशक मुुहन कङ र मध्यपुर थिमि नगरपालिकाका मेयर सुरेन्द्र श्रेष्ठको उपस्थितिमा सम्झौतामा हस्ताक्षर गरे । सम्झौताले टीकापुर अस्पतालका बिरामीहरूलाई नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा विशेष चिकित्सा सेवाहरू अझ प्रभावकारी रूपमा पहुँच गर्न सक्षम बनाउँदै संगठित बिरामी रेफरल प्रणाली स्थापना गरेको छ । यस प्रयासले उनीहरूको स्थानीय सुविधामा उपलब्ध नभएको अत्याधुनिक उपचार आवश्यक पर्ने बिरामीहरूका लागि स्वास्थ्य सेवा वितरणलाई उल्लेखनीय रूपमा वृद्वि गर्ने लक्ष्य राखेको छ । सम्झौताले टीकापुर अस्पतालबाट बिरामीलाई नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा रिफर गर्ने, अत्याधुनिक हेरचाहमा द्रूत र प्रभावकारी पहुँच सुनिश्चित गर्नको लागि एक राम्रो संरचित प्रक्रिया परिभाषित गरेको छ । दुवै अस्पतालले मेडिकल टोलीहरूबीचको समन्वय सुधार गर्न र बिरामी व्यवस्थापनलाई अनुकूलन गर्न बलियो सञ्चार प्रणालीहरु विकास गर्नेछन् । यसैगरी, दुवै संस्थाका स्वास्थ्यसेवाकर्मीको विशेषज्ञतालाई सुदृढ पार्न सहयोगात्मक प्रशिक्षण कार्यशाला गोष्ठीहरू र कार्यशालाहरूको योजना सम्झौतामा समावेश छन् । कोइकाका देशीय निर्देशक कङले कोइकाको सहयोगमा स्थापना भएका जिल्ला स्तरका अस्पतालहरूलाई नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालसँग जोड्ने योजना ग्रामीण क्षेत्रका ठूलो जनसंख्यालाई कम लागतमा गुणस्तर सेवा प्रदान गरी स्वास्थ्य संस्थाहरूको बीचमा सुमधर तालमेल स्थापित गर्न उल्लेखनीय कदम हुने बताए । यस सम्बन्धले नेपालको स्वास्थ्य बीमा कार्यक्रमलाई सुदृढ बनाउन सक्ने कङको विश्वास रहेको छ । मध्यपुर थिमि नगरपालिकाका मेयर सुरेन्द्र श्रेष्ठले टीकापूरका गरिब तथा असाहाय बासिन्दालाई न्यून शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा पाउनका लागि यो साझेदारी महत्त्वपूर्ण कदम हुने बताए । टीकापुर अस्पतालका अध्यक्षले नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालसँग मिलेर काम गरेर हाम्रा बिरामीका लागि स्वास्थ्य सेवामा रहेको खाडललाई पुरा गर्न यो महत्त्वपूर्ण कदम भएकोमा खुसी व्यक्त गरे । विशेषगरी आर्थिक रूपमा विपन्न वर्गले यस कार्यक्रमबाट लाभान्वित हुने उनले विश्वास व्यक्त गरे ।
प्राइम बैंकको ठूलो सेयरधनी बन्यो रिलायबल नेपाल लाइफ, कसले बेच्यो सेयर ?
काठमाडौं । प्राइम कमर्सियल बैंकबाट तीनजना संस्थापक सेयरधनी बाहिरिएका छन् । सनेन्द्र बर्जाचार्य, नरेशलाल श्रेष्ठ र राजेश श्रेष्ठले गत आर्थिक वर्ष २०८०/८१ मा आफ्नो स्वामित्वको सेयर बिक्री गरेर बैंकबाट बाहिरिएका हुन् । अघिल्लो आर्थिक वर्ष २०७९/८० मा बैंकमा सनेन्द्र बर्जाचार्यको ०.६७ प्रतिशत अर्थात् १३ लाख ६ हजार ६२० कित्ता, नरेशलाल श्रेष्ठको ०.५३ प्रतिशत अर्थात् १० लाख ३० हजार ४८ कित्ता, राजेश श्रेष्ठको ०.५१ प्रतिशत अर्थात् ९ लाख ९० हजार ८४७ कित्ता सेयर थियो । साथै, श्यामबहादुर श्रेष्ठ र स्वेता मास्के श्रेष्ठले पनि बैंकमा आफ्नो सेयर स्वामित्व घटाएका छन् । बैंकमा श्यामबहादुर श्रेष्ठको ०.५५ प्रतिशत अर्थात् १० लाख ६७ हजार ७६२ कित्ता र स्वेता मास्के श्रेष्ठको ०.६७ प्रतिशत अर्थात् १२ लाख ९६ हजार ५७२ कित्ता सेयर स्वामित्व छ । जबकि अघिल्लो वर्ष श्यामबहादुरको ०.७० प्रतिशत अर्थात् १३ लाख ६१ हजार ६३७ कित्ता र स्वेता मास्केको ०.६९ प्रतिशत अर्थात् १३ लाख २९ हजार ४८८ कित्ता सेयर थियो । साथै, बैंकमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स ठूला सेयरधनीको सूचीमा थपिएको छ । रिलायबल नेपालले बैंकको १.०६ प्रतिशत अर्थात् २० लाख ४७ हजार ३३४ कित्ता सेयर खरिद गरेर ठूला सेयरधनीको सूचीमा थपिएको हो । बैंकमा सबैभन्दा बढी सेयर स्वामित्व उमेश श्रेष्ठको छ । श्रेष्ठको २.४६ प्रतिशत अर्थात् ४७ लाख ७३ हजार १३७ कित्ता सेयर स्वामित्व रहेको छ । यस्तै, कर्मचारी सञ्चय कोषको १.८८ प्रतिशत अर्थात् ३६ लाख ४५ हजार २६१ कित्ता सेयर स्वामित्व रहेको छ । अघिल्लो वर्ष बैंकमा कोषको १ प्रतिशत अर्थात् १९ लाख ४७ हजार ४३४ कित्ता स्वामित्व थियो । यस्तै, विनोदचन्द्र बरालको १.४४ प्रतिशत अर्थात् २७ लाख ८५ हजार ५०३ कित्ता सेयर लगानी रहेको छ । अघिल्लो वर्ष बैंकमा बरालको १.०६ प्रतिशत अर्थात् २० लाख ५१ हजार १४९ कित्ता सेयर थियो । यस्तै, बैंकमा कृष्ण पुरीको १.०३ प्रतिशत अर्थात् १९ लाख ९६ हजार २४८ कित्ता, विक्रम पाण्डेको ०.८७ प्रतिशत अर्थात् १६ लाख ७९ हजार ९८८ कित्ता, सुशील मित्तलको ०.७३ प्रतिशत अर्थात् १४ लाख ११ हजार ५१३ कित्ता सेयर स्वामित्व छ । यस्तै, सुन्दरनारायण जोशीको ०.७१ प्रतिशत अर्थात् १३ लाख ७५ हजार ३८५ कित्ता, शैलजा बर्जाचार्यको ०.७० प्रतिशत अर्थात् १३ लाख ६१ हजार ६३८ कित्ता, नरेन्द्र बर्जाचार्यको ०.६८ प्रतिशत अर्थात् १३ लाख २० हजार ३८० कित्ता, मनोहर दास मोलको ०.६७ प्रतिशत अर्थात् १३ लाख ६ हजार ६२१ कित्ता सेयर लगानी रहेको छ । नरेन्द्र बज्राचार्य बैंक सञ्चालक समिति सदस्य पनि हुन् । यस्तै, महेशराज कर्णिकारको ०.५६ प्रतिशत अर्थात् १० लाख ८८ हजार १८० कित्ता, लाइफ इन्स्योरेन्स कर्पाेरेशन नेपालको ०.५६ प्रतिशत अर्थात् १० लाख ८४ हजार ५३७ कित्ता, महेन्द्र रत्न शाक्यको ०.५२ प्रतिशत अर्थात् १० लाख २ हजार ३७५ कित्ता, चिरञ्जिवी दवाको ०.५१ प्रतिशत अर्थात् ९ लाख ८२ हजार २०२ कित्ता र सन्तोषनारायण श्रेष्ठको ०.५० प्रतिशत अर्थात् ९ लाख ७३ हजार २२० कित्ता सेयर स्वामित्व रहेको छ । बैंकका अनुसार सञ्चालक समिति अध्यक्ष राजेन्द्रदास श्रेष्ठको ३ लाख ४२ हजार ६३९ कित्ता, सञ्चालकहरू उदयमोहन श्रेष्ठको ८ लाख ९४ हजार कित्ता, डा. गजेन्द्र विष्टको १९ हजार १५९ कित्ता, प्रचण्डमान श्रेष्ठको १ हजार ८६४ कित्ता, मनोज पौडेलको १ हजार ८६४ कित्ता सेयर स्वामित्व छ । बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)सञ्जीव मानन्धरको ६ लाख १६ हजार ८६६ कित्ता सेयर स्वामित्व रहेको छ ।
इतिहासकार पुरुषोत्तम शमशेर राणाको निधन
काठमाडौं । इतिहासकार पुरुषोत्तम शमशेर राणाको ९९ वर्षको उमेरमा निधन भएको छ । उनको आज दिउँसो काठमाडौंको मेडिसिटी अस्पतालमा उपचारको क्रममा निधन भएको हो । उनको जन्म १९८२ साल चैत १५ गते चारबुर्जा दरबार (हाल निर्वाचन आयोगको कार्यालय रहेको बहादुर भवन) मा भएको थियो । उनले राणाकालीन प्रमुख ऐतिहासिक दरबारहरू र श्री ३ हरुका वृत्तान्त पुस्तक लेखेका छन् । उनी रुद्र शमशेरका नाति र ईश्वर शमशेरका छोरा हुन् ।
१०० अर्ब डलर क्लबमा पुन: सामेल भए मुकेश अम्बानी
काठमाडौं । मुकेश अम्बानी फेरि १०० अर्ब डलर क्लबमा सामेल भएका छन् । ब्लूमबर्ग बिलिनियर्स इन्डेक्सका अनुसार मंगलबार उनको कुल सम्पत्ति १.३० बिलियन डलरले बढेको छ । यो वर्ष अम्बानीको कुल सम्पत्ति ३ अर्ब ८४ करोड डलरले बढेको छ । विश्वका धनी व्यक्तिको सूचीमा उनी १७ औं स्थानमा छन् । यसैबीच, अडानी समूहका अध्यक्ष गौतम अडानीको नेटवर्थ पनि मंगलबार १ अर्ब ३९ करोड डलरले बढेको छ । उनी ८४.० अर्ब डलरको कुल सम्पत्तिका साथ विश्वका धनी व्यक्तिको सूचीमा १९ औं स्थानमा छन् । यस वर्ष उनको कुल सम्पत्ति २६४ मिलियन डलरले घटेको छ । हालै अमेरिकी अभियोजकहरूले गौतम अडानी र केही उच्च अधिकारीमाथि घुसखोरीको आरोप लगाएका थिए । तर, अडानीले यी आरोप अस्वीकार गर्दै आएको छ । यी आरोपका कारण समूहको विशेषगरी अडानी ग्रीन इनर्जीको सेयरमा ठूलो गिरावट आएको थियो । शीर्ष ३ मा को-को ? विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कको नेटवर्थ मंगलबार ४.०६ अर्ब डलरले घटेको छ । योसँगै उनको कुल सम्पत्ति अहिले ३४९ अर्ब डलर पुगेको छ । यो वर्ष उनको कुल सम्पत्ति १२० अर्ब डलरले बढेको छ । मंगलबार सबैभन्दा बढी कमाइ मार्क जुकरबर्गको भएको छ । फेसबुकको मूल कम्पनी मेटा प्लेटफर्मका सीईओको कुल सम्पत्ति ७ अर्ब २० करोड डलरले बढेको छ । धनीहरूको सूचीमा जेफ बेजोस (२३४ बिलियन डलर) दोस्रो स्थानमा र जुकरबर्ग (२१७ बिलियन डलर) तेस्रो स्थानमा छन् ।
नेपालले बौद्धिक पलायनको समस्या भोगिरहेको छ : अध्यक्ष भट्टराई
काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देशमा रहेका विषयविज्ञ र प्राविधिकहरुको सही सदुपयोग गर्न नसक्दा नेपालले बौद्धिक पलायनको गम्भिर समस्या भोगिरहेको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित ‘आर्कविल्ड एक्स्पो २०२४’को उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष भट्टराईले यस्तो बताएका हुन् । नेपाल जस्तो विकासशील र विकासोन्मुख देशमा विकास निर्माण सँगसँगै हुने पर्यावरणीय समस्याहरुको समाधान गर्न प्रविधि र विषय विज्ञहरुको अधिकतम प्रयोग गर्नुपर्ने जानकारी दिए । उनले आर्किटेक्टले मानवजातीको विकास र भौतिक प्रगति मात्र नभई कला, संस्कृति र सम्पदाको समेत प्रतिनिधित्व गर्ने भएकाले यसलाई पेशाको रुपमा नभई अभियानको रुपमा अंगाल्नुपर्ने बताए । अध्यक्ष भट्टराईले आर्किटेक्टलाई समयानुकुल सदुपयोग गरी आफ्नै देशमा जनशक्ति परिचालन गर्नुपर्ने जानकारी दिए । ‘आर्किटेक्टले मानवजातीको विकास र भौतिक प्रगति मात्र होइन कला, संस्कृति लगायत क्षेत्रको प्रतिनिधित्व पनि गर्दछ । हाम्रा जस्तो अल्पविकसित देशले देशमा रहेका विषयविज्ञहरु, प्राविधिकहरुको सही सदुपयोग गर्न नसक्दा हामो जस्तो गरिव देशले बौद्धिक पलायनको गम्भिर समस्याहरु भोग्नु परिरहेको अवस्था छ’, उनले भने । अध्यक्ष भट्टराईले नेपालमा संसारभर रहेका संस्कृति र भाषाका हाँगाहरु रहेको बताए ।
३० वर्ष कटेपछि महिलाले खानुपर्छ यस्ता ३ चीज, जसले ल्याउँछ छाला र कपालमा चमक
काठमाडौं । महिलाहरूले ३० वर्ष कटेपछि छाला र कपालमा चमक ल्याउनका लागि खानपानमा विशेष ध्यान दिनुपर्छ । किनभने यस समयमा हर्मोनहरू तीव्र रूपमा परिवर्तन हुन थाल्छन् । यसकारण धेरै समस्याहरू देखा पर्न सक्छन् । विभिन्न हर्मोनहरूको उपस्थिति महिलाहरूको शारीरिक संरचना पुरुषहरूभन्दा भिन्न बनाउँछ । ३० वर्षको उमेरपछि हर्मोनको स्तरमा अचानक परिवर्तन आउँछ, जसका कारण धेरै स्वास्थ्य समस्याहरू देखापर्न सक्छन् । आयुर्वेदिक विशेषज्ञहरू ३० वर्षको उमेरपछि प्रत्येक महिलाले अश्वगन्धा, अलस र शिलाजित खानुपर्ने सुझाव दिन्छन् । विशेषज्ञहरूका अनुसार ३० वर्षको उमेरपछि हर्मोनहरूको स्तरमा उतारचढाव, ऊर्जा कम, छाला र कपालको स्वास्थ्यमा खराबी आउनुजस्ता समस्याहरू देखिन्छन् । यससँगै प्रजनन क्षमता पनि कम हुन थाल्छ, जसले ३० पछि परिवार योजना बनाउने महिलाहरूका लागि चुनौतीपूर्ण हुन सक्छ । यसबाहेक छिटो उमेर ढल्किनबाट जोगिन पनि यस्ता चीजहरूको सेवन गर्न थाल्नुपर्छ । अश्वगन्धा डाक्टरले महिलाहरूलाई ३० वर्षपछाडि नियमित रूपमा अश्वगन्धा पाउडर सेवन गर्न सुझाव दिएका छन् । अश्वगन्धाले तनाव बढाउने हर्मोनलाई घटाउँछ । साथै यसले तनाव हर्मोनका कारण हुने प्रिम्याच्योर एजिङ (समयअघि बुढ्यौली) र हर्मोन असन्तुलनबाट बचाउन सक्छ । आलस आलसमा फाइटोएस्ट्रोजन पाइन्छ, जसले हर्मोनको सन्तुलन कायम राख्छ । विशेष गरी एस्ट्रोजन हर्मोन बढाउन यसले फाइदा पुर्याउँछ । आलसले छालाको इलास्टिसिटी (लचिलोपना) लाई पनि कायम राख्छ । शिलाजित आयुर्वेद विशेषज्ञहरूले बताएअनुसार महिलाहरूको लागि शिलाजित एक वरदान जस्तै हो । ३० वर्षको उमेर पछाडि यो प्राकृतिक सप्लिमेन्टले ऊर्जा र स्टामिनाको कमीलाई रोक्छ । यसमा भिटामिन र मिनरलहरू हुन्छन् जसले तौललाई स्वस्थ राख्छ । तौल घटाउनका लागि यसलाई मनतातो पानीसँग पिउनुहोस् र तौल बढाउनका लागि दूधसँग प्रयोग गर्नुहोस् ।