बीएमडब्ल्यू एक्स ७ एक सातामै बिक्री, मूल्य ७ करोड
काठमाडौं । नेपालको सबैभन्दा महँगो लक्जरी गाडी बीएमडब्ल्यू एक्स ७ एक्सड्राइभ ४० आई बिक्री भएको छ । नेपालमा बीएमडब्ल्यू अटोमोबाइल्सका एकमात्र आधिकारिक आयातकर्ता र डिलर लक्ष्मी प्रिमियम मोटर्सले यो गाडी बिक्री गरेको हो । नेपाल भित्रिएको एक सातामै लक्जरी गाडी बिक्री भएको हो । यो गाडीको मूल्य ७ करोड नेपाली रहेको छ । अत्याधुनिक प्रविधि, उत्कृष्ट डिजाइन, सुरक्षा शक्ति र विलासी सुविधाले सुसज्जित यो गाडी अहिलेसम्मको सबैभन्दा महँगो लक्जरी गाडी हो । यस बिक्रीले नेपाली उपभोक्ताबीच प्रिमियम गाडीप्रतिको चासो र रुचिलाई प्रष्ट रूपमा उजागर गरेको छ । यो उपलब्धिले नेपाली बजारमा लक्जरी गाडीहरूको बढ्दो प्रभावलाई थप सशक्त बनाएको लक्ष्मी प्रिमियम मोटर्सले जनाएको छ ।
स्वास्थ्य स्वयंसेविकाको माग : हामीलाई सामाजिक सुरक्षामा समावेश गर्नुपर्छ, सरकारले दिने भत्ता कम भयो
काठमाडौं । उमेरले ५५ वर्ष टेकिसक्दा पनि कीर्तिपुरकि पार्वती महर्जनको जोश र जाँगरमा कुनै कमी आएको छन । घरदैलो कार्यक्रम गर्दै सुरक्षित मातृत्व, नवजात शिशु सरसफाइ, खोप तथा पोषण कार्यक्रमबारे जनचेतना फैलाउनु उनको मुख्य काम हो । कीर्तिपुर नगरपालिका–५ कि महर्जन विगत ३६ वर्षदेखि स्वास्थ्य सचेतना फैलाउने काममा सक्रिय छिन् । उनी अहिले सर्वसाधारण पनि स्वास्थ्यप्रति चनाखो हुन थालेको बताउँछिन् । तर हात्तीपाइले रोगविरुद्धको औषधि खुवाउन अझै पनि धौधौ पर्ने गरेको उनको अनुभव छ । महर्जन सरकारले स्वास्थ्य स्वयंसेविकालाई हेर्ने धारणा परिवर्तन हुनुपर्ने माग गर्छिन् । ‘अरु जागिर भएको भए अहिलेसम्म त पेन्सन पाकिसक्थ्यो होला । हाम्रो पनि भत्ता बढाइदिएको भए हुन्थ्यो ।’ श्रेष्ठ टोखा नगरपालिका–४ कि ४७ वर्षीया हिरामाया २०५२ सालदेखि स्वास्थ्य स्वयसेविकाका रुपमा कार्यरत छिन् । उनले सरकारले आफूहरुले पाउने सुविधा बढाउनुपर्ने धारणा राखिन् । ‘सरकारले हामीलाई सार्वजनिक यातायातमा निःशुल्क भने पनि हालसम्म लागू भएको छैन’, उनले भनिन्, ‘आज पनि म कामकै लागि आउँदा गाडीमा छुट पाइन ।’ चन्द्रागिरी नगरपालिका–१७ की स्वास्थ्य स्वयंसेविका बसन्ती महर्जन आमाको प्रेरणा र सिकाइले नै आफू पनि स्वस्थ्य स्वंयसेविका बनेको सुनाइन् । त्रिपन्न वर्षीय महर्जन हाल नेपाल स्वास्थ्य स्वयंसेवक सङ्घकी अध्यक्ष हुन् । उनले महिला स्वास्थ्य स्वयंसेविकालाई स्वास्थ्यको खम्बा भनेर उपमा दिइएपनि उनीहरुबारेमा सरकारले ध्यान नदिएको गुनासो गरिन् । ‘हामी घाम पानी नभनी काम गरेका छौँ । तर पनि खुसी छौँ । हामी आफ्नो कामप्रति रत्तिभर पनि थाकेका छैनौँ तर हाम्रो बारेमा खोइ सोचिएको ?’ उनले प्रश्न गरिन् । महर्जनले स्वयंसेविकालाई दिइने चार सय रुपैयाँ भत्ता न्यून भएको उल्लेख गर्दै यसलाई बढाउन आवश्यक रहेको धारणा राखिन् । ‘हामी कति दुःख गरेर काम गरिरहका हुन्छौँ, तर सरकारले सो अनुसारको सुविधा दिन सकेको छैन’, उनले भनिन् । आफूहरुलाई पनि योगदानमा आधारित साामाजिक सुरक्षामा समावेश गर्नुपर्ने उनको भनाइ छ । काठमाडौं महानगरपालिका–१६ कि गीता थिङ पौडेलको पनि भनाइ महर्जनसँग मिल्दोजुल्दो छ । उनले स्वास्थ्य स्वयंसेविकाको कामको मूल्याङ्कन हुन नसकेको बताउँछिन् । उनले भनिन्, ‘हामीलाई जे जिम्मेवारी दिए पनि पूरा गर्छौ, हामीले यसैबाट समाजमा पहिचान पनि बनाएका छौँ, हाम्रो माग सरकारले हाम्रो कामको उचित मूल्याङ्कन गरोस् भन्ने हो’, उनले भनिन् । नेपाल स्वास्थ्य स्वयंसेवी सङ्घकी अध्यक्षसमेत रहेकी पौडेलले स्वास्थ्य स्वयंसेविकालाई श्रम शोषण गराउन नपाउने धारणा राख्छिन् । उनी भन्छिन्, ‘स्वास्थ्य स्वयंसेविका हुन् सित्तैमा काम गर्दिन्छन् भन्ने सोच छ । स्वास्थ्य बाहेकका काममा पनि हामीलाई सहभागी गराउँछन् ।’ महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाले ६० वर्षको उमेरसम्म काम गर्न सक्ने भनिएको छ । त्यसैगरी उनीहरुको विदाइका बेला २० हजार रुपैयाँ दिइने नियम छ । पौडेल प्रश्न गर्छिन्, ‘त्यत्तिका वर्ष निःस्वास्र्थ भावले दिदीबहिनीहरुले काम गर्नुहुन्छ । उहाँहरुको मूल्याङकन त्यति मात्र हो त ? कम्तीमा एक लाख रुपैयाँसम्म बढाउनुपर्छ भन्ने हाम्रो माग हो ।’ उनले स्वास्थ्य स्वयंसेविकालाई दिइने भत्ता पनि चार सयबाट एक हजार पाँच सय रुपैयाँ बढाउनुपर्ने माग गरिन् । उनले भनिन्, ‘योगदानमा आधारित सामाजिक सुरक्षाबारेमा सरकारले सोच्नुपर्छ । ताकि हामीहरुको पनि काम गर्न जाँगर बढोस् । सरकारले ऊर्जा थप्ने काम गर्दिनुपर्छ । स्वयमसेविका भन्दैमा त्यसै काम लगाउन पाइँदैन ।’ सरकारले महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका कार्यक्रम विसं २०४५ सालदेखि २८ जिल्लाबाट सुरु गरेको थियो । स्वास्थ्य स्व्यंसेविकाले पोषण तथा खोप कार्यक्रम, सरुवा तथा महामारी रोग नियन्त्रणमा सहयोग, वातावरणीय तथा व्यक्तिगत सरसफाइ, परिवार नियोजनसम्बन्धी सल्लाह दिने, सुरक्षित मातृत्व तथा नवजात शिशु सरसफाइसम्बन्धी समाजमा भूमिका निर्वाह गर्दै आइरहेका छन् । प्रतिकरात्मक तथा प्रबद्र्धनात्मक सेवा पुर्याउन सहयोग गरिरहेका महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका हाल देशभर सेवारत छन् । हाल ५१ हजार चार सय २३ जना महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका सेवारत रहेको तथ्याङ्क छ । रासस
एनएमबि बैंकले पायो युएन वुमन डब्लुईपी अवार्ड
काठमाडौं । युएन वुमन एशिया प्यासिफिकले एनएमबि बैंकलाई २०२४ डब्लुईपी अवार्ड प्रदान गरेको छ । बैंकले लैङ्गिक समानता र सामाजिक समावेशीकरण प्रवर्द्धन गरेकोमा सम्मान उक्त अवार्ड पाएको हो । युएन वुमन र युएन ग्लोबल कम्प्याक्ट बाट कार्यस्थल, बजार र समुदायहरूमा महिला सशक्तिकरण गर्दै लैङ्गिक समानता प्रवर्द्धनका लागि विश्वव्यापी मापदण्डहरू निर्धारण गरिएको छ । एनएमबि बैंकले ती विश्वव्यापी मापदण्डहरू कार्यान्वयन गर्नका लागि बैंकको तर्फबाट सक्दो प्रयास गरेको बताइएको छ । यस अवार्डले एनएमबि बैंकलाई विश्व बजारमा डब्लुईपीअन्तर्गत युएन वुमनद्वारा मान्यताप्राप्त पहिलो नेपाली संस्थाको रूपमा उभ्याएको छ । एसिया-प्यासिफिक देशका ६०० भन्दा बढी आवेदक संस्थाहरूमध्ये यो विशेष अवार्ड बैंकलाई प्रदान गरिएको बताइएको छ । यस अवार्डले एनएमबि बैंकलाई निरन्तर रूपमा समावेशी र दीगो विकास गर्ने आफ्नो उद्देश्य प्राप्त गर्दै अघि बढ्न प्रोत्साहन मिलेको पनि बैंकले जनाएको छ । एनएमबि बैंकले हाल देशभर २०१ शाखाहरू, १८७ एटीएमहरू र ११ एक्सटेन्सन काउन्टरहरूमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आएको छ ।
मुक्तिनाथ म्युचुअल फण्ड : कानुनी बन्देज खुला भए विदेशमा लगानी गर्ने, कस्तो छ वित्तीय अवस्था ?
काठमाडौं । मुक्तिनाथ विकास बैंक प्रवर्द्धक रहेको मुक्तिनाथ म्युचुअल फण्ड-१ बिहीबारदेखि बिक्री खुला गरिएको छ । जुन पहिलो म्युचुअल फण्ड हो । क्यापिटलले एक अर्ब रुपैयाँको म्युचुअल फण्ड बिक्री तथा निष्कासन गरेको हो । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरका १० करोड इकाई बिक्री गरेको हो । जसमध्ये १३ प्रतिशत अर्थात् एक करोड ३० लाख इकाई कोष प्रवर्धक मुक्तिनाथ विकास बैंक, दुई प्रतिशत अर्थात् २० लाख इकाई योजना व्यवस्थापक मुक्तिनाथ क्यापिटल र बाँकी आठ करोड ५० लाख इकाई सर्वसाधारणका लागि निष्कासन गरेको कम्पनीले जनाएको छ । क्यापिटलले आजबाट निष्कासन गरेको फण्डमा लगानीकर्ताले छिटोमा आजदेखि मंसिर २४ गतेसम्म आवदेन दिन सक्नेछन् । सो अवधिसम्म सबै इकाई बिक्री नभएको अवस्थामा पुस ४ गतेसम्म आवेदन दिन सकिने छ । योजना व्यवस्थापकको परिचय म्युचल फण्डको योजना व्यवस्थापक मुक्तिनाथ क्यापिटल हो । यो कम्पनी ऐन, २०६३ अन्तर्गत कम्पनी रजिष्टर्डको कार्यालयमा २०६६ साल माघ २७ गते पब्लिक कम्पनीको रूपमा दर्ता भएको थियो । कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट भने २०६७ साल असार ११ गतेबाट धितोपत्र व्यवसायीसम्बन्धी कार्य गर्न अनुमति पाएको थियो । कम्पनीले बोर्डबाट २०७१ सालबाट निक्षेप सदस्यता प्राप्त गरेको थियो । त्यस्तै, कम्पनीले २०७१ साल कार्तिक २३ गतेबाट सीडीएस एण्ड क्लियरिङको निक्षेप सदस्यता लिई निक्षेप सदस्य सेवासम्बन्धी कार्य गर्दै आइरहेको छ । यस कम्पनीको कार्यालाय नारायणचौर, नक्सालमा रहेको छ । यस संस्थामा मुक्तिनाथ विकास बैंकको ६०.२६ प्रतिशत लगानी रहेको छ । सेयरधनीको हकहितको संरक्षण तथा सम्बद्र्धन गर्ने, लगानीकर्तालाई धितोपत्र व्यवसायीको रुपमा गुणस्तरीय तथा भरपर्दो सेवा उपलब्ध गराउने, पुँजी बजारतर्फको विश्वसनियता अभिवृद्धि गर्न आवश्यक कार्य सञ्चालन गर्ने, सेवाको विकास तथा विस्तार गर्न आवश्यक सहयोग र समन्वय गर्ने योजना व्यवस्थापकको प्रमुख उद्देश्य हुन् । उपलब्ध सीप, श्रम तथा पुँजीलाई उचित परिचालन गरी ग्रामीण तथा सहरी क्षेत्रमा पुँजी बजारसँग सम्बद्ध सुविधाहरू उपलब्ध गराउन आवश्यक वित्तीय साधन, प्राविधिक तथा व्यवस्थापकीय परामर्श सेवा, तालिम तथा प्रविधि उपलब्ध गराई देशको पुँजी बजारको समग्र विकासका लागि सक्रिय रूपमा संलग्न भई सहयोग पुर्याउने योजना व्यवस्थापककाे उद्देश्य रहेको छ । कम्पनीका आगामी योजना र रणनीति कम्पनीले पहिलोपटक बन्दमुखी योजना सञ्चालनमा ल्याएको हो । आगामी दिनमा कम्पनीले समग्र बजारको अवस्था हेरी नयाँ आव २०८१/८२ मा नयाँ खुलामुखी योजना ल्याउने योजना राखेको छ । साथै यस कम्पनीले नयाँ आव २०८१/८२ मा नयाँ खुलामुखी योजनासमेत सञ्चालनमा ल्याउने योजना बनाएको छ । आगामी दिनमा डिम्याट तथा मेरो सेयर खाता खोल्ने, नवीकरण गर्ने, एसआइपीसहित खुलामुखी योजनाको इकाई पुनः खरिद गर्ने योजना कम्पनीको रहेको छ । साथै कम्पनीले प्रवाह गर्ने सम्पूर्ण सुविधाहरूलाई आगमी दिनमा समयसापेक्ष विस्तार गर्दै लैजाने, नयाँ योजनाहरू सञ्चालन गर्ने र आगमी पाँच वर्षमा क्यापिटललाई थप नयाँ उचाइमा पुर्याउने रणनीति लिएको छ । व्यवस्थापकको पुँजी संरचना योजना व्यवस्थापको अधिकृत पुँजी ५० करोड रहेको छ । सो पुँजीलाई प्रतिसेयर एक सयको दरले ५० लाख थान साधारण सेयरमा विभाजन गरिएको छ । त्यस्तै, कम्पनीको ४५ करोड जारी पुँजी र ४० करोड ५० लाख रुपैयाँ चुक्ता पुँजी रहेको छ । क्यापिटलमा मुक्तिनाथ विकास बैंकसहित ५२ जना सेयरधनी रहेका छन् । योजना व्यवस्थापकमा मुक्तिनाथ विकास बैंकको ६०.२६ प्रतिशत अर्थात् २४ लाख ४० हजार ४५० कित्ता सेयर लगानी छ । यस्तै, लुम्बिनी विकास बैंकको १९.७५ प्रतिशत अर्थात् ८ लाख कित्ता, शशिराज पाण्डेको २.७२ प्रतिशत अर्थात् २.७२ प्रतिशत अर्थात् १ लाख १० हजार कित्ता, उर्मिला पाण्डेको १.९८ प्रतिशत अर्थात् ८० हजार कित्ता सेयर लगानी छ । यस्तै, सौरभ तिमिल्सिनाको १.८५ प्रतिशत अर्थात् ७५ हजार कित्ता, आदर्श राज पाण्डे र सिताराम प्रसाईंको समान ०.९९ प्रतिशत अर्थात् ४० हजार कित्ता, सागरप्रसाद तिमिल्सिना र नारायणकुमार श्रेष्ठको समान ०.६२ प्रतिशत अर्थात् २५ हजार कित्ता, तुलसीप्रसाद उप्रेती र सीतारम काफ्लेको समान ०.४९ प्रतिशत अर्थात् २० हजार कित्ता सेयर छ । सञ्चालक र व्यवस्थाक टिम यस कम्पनीको सञ्चालक समितिमा ६ जना रहेका छन् । कम्पनीको अध्यक्षमा मुक्तिनाथ विकास बैंकबाट नारायणकुमार श्रेष्ठ रहेका छन् भने सञ्चालकमा डण्डपानी ढकाल, उमेश रेग्मी, लीलानाथ ढकाल, दिपाञ्जली खकुरेल र सुमन कोइराला रहेका छन् । कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा कविन्द्रध्वज विक्रम जोशी छन् । ४ वर्ष बढी समयदेखि मुक्तिनाथ क्यापिटलको सीईओको भूमिका रहेका उनीसँग एनआइएमबी एस क्यापिटल, प्रभु क्यापिटल, र लक्ष्मी सनराइज बैंकमा गरी साढे २ दशक बढीको बैंकिङ अनुभव छ । कम्पनीको प्रमुख सञ्चालन अधिकृतमा अनिल महर्जन छन् । मुक्तिनाथ क्यापिटलमा तीन वर्षदेखि काम गर्दै आएका महर्जनसँग आरविवि मर्चेन्ट बैंकिङ, एनआइएमबि एस क्यापिटल, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र अन्य बैंक तथा वित्तीय संस्थामा २ दशक बढीको अनुभव छ । लगानी क्षेत्र फण्डबाट संकलन भएको रकम आधारभूत विश्लेषण प्रतिवेदन र प्राविधिक विश्लेषण प्रतिवेदनको आधारमा बजारको अवस्था र योजनाको लगानी नीति हेरी सोहीअनुरूपको आवधिक लगानी योजना तयार गर्नेछन् । यसरी तयार गरिएको योजनालाई लगानीको रकमको आधारमा आवश्यकताअनुरूप सम्बन्धित लगानी व्यवस्थापन समिति, नियम अनुपालन अधिकृत, विभागीय प्रमुख, प्रमुख कार्यकारी अधिकृत, सञ्चालक समितिसम्म पुर्याइ आवश्यक परिमार्जन तथा स्वीकृति गराई योजना प्रबन्धकमार्फत डिलरको माध्यमबाट कार्यान्वयन गरिनेछ । लगानी योजनामा बजारको आवश्यकता तथा जोखिमको आधारमा कुनै परिमार्जन गर्नु परे सोमा आवश्यक संशोधनका लागि योजना प्रबन्धकले आवश्यक कदम चाल्ने कम्पनीको भनाइ छ । धितोपत्रसम्बन्धि कानुनले विदेशमा लगानी गर्न सकिने व्यवस्था गरेको भए तापनि अन्य कानुनी व्यवस्थाले सो गर्न नसकिने हुँदा यस योजनाको रकमलाई हाल विदेशमा लगानी गर्ने कुनै योजना रहेको छैन । तथापि भविष्यमा कानुनले बन्देज नगरेको तथा योजनाको हित अनुकूल हुने देखिएमा नियमन निकायको स्वीकृति लिई आवश्यक अध्ययन गरी विदेशमा लगानी गर्न सकिने कम्पनीले जनाएको छ । कम्पनीले फण्डबाट संकलन भएको रकम बैंकमा निक्षेपको रूपमा जम्मा गर्नुका साथै मुद्रा बजार उपकरण र बोर्डबाट तोकिएको क्षेत्रमा लगानी गर्नेछ । योजना व्यवस्थापको रेटिङ कम्पनीले केयर रेटिङ लिमिटेडबाट केयर–एनपी, त्रिपल बी (आइएस) प्राप्त गरेको छ । उक्त रेटिङले मोडेरेट डिग्री अफ सेफ्ली रिर्गार्डिङ टाइमली सर्भिसिङ अफ फाइनान्सियल अब्लिगेसन इन नेपाल जनाउँछ । म्युचुअल फण्डको प्रतिफल कम्पनीले सामूहिक लगानी कोष नियमावलीमा तोकिएबमोजिम स्थिर आम्दानी (बैंक मुद्दती निक्षेप र डिबेञ्चर) हुने उपकरणमा योजना आकारको २५ प्रतिशतभित्र हुने गरी लगानी गरिने प्रक्षेपण गरिएको छ । यस्तै, प्राथमिक तथा दोस्रो बजारमा गरिने लगानी योजनाको आकार अधिकतम ७३ प्रतिशतसम्म हुने अनुमान गरिएको कम्पनीको भनाइ छ । माग तथा अल्प सूचनामा लगानी हुने रकम लगानी अधिकतम् ५२ प्रतिशतसम्म हुने र बजारको अनुकूलताअनुसार घटीबढी गरिने छ । समग्रमा कम्पनीले म्युचुअल फण्डका इकाईधनीहरूलाई औसतमा प्रत्येक वर्ष २० प्रतिशत प्रतिफल दिने प्रक्षेपण गरेको छ । तर, बजारको उतारचढावसँग निर्भर हुने भएकाले प्रतिफलमा थपघट भने हुन सक्ने कम्पनीले जनाएको छ ।
प्रमुख प्रशासकीय अधिकृत सहित ५ जना विरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख प्रशासकीय अधिकृत सहित ५ जना विरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको छ । आयोगले सिरहा जिल्लाको धनगढीमाई नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत गोपाल प्रसाद बगाले, लेखा अधिकृत पुरुषोत्तम कुमार प्रसाद, स्वास्थ्य शाखा प्रमुख सुरैत चौधरी, जिन्सी शाखा प्रमुख सम्पैत यादव र आयातकर्ता कम्पनी हेल्पिङ मल्टिपर्पाेज प्रालि मैतिदेवी काठमाडौंका सञ्चालक माधव प्रसाद गौतम विरुद्द आयोगले मुद्दा दायर गरेको हो । उनीहरु विरुद्ध आयोगले नेपाल सरकार/सार्वजनिक संस्थालाई हानिनोक्सानी पुर्याउने कार्य गरेको भन्दै शुक्रबार आरोपपत्र दायर गरेको हो । उनीहरुमाथि मिलेमतोमा बिक्रेतासँग औषधि खरिद नगरी बिल बनाएर दाखिला नगरी रकम निकासा गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान गर्दा प्रमाणित भएपछि आरोपपत्र दायर गरिएको आयोगले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । उनीहरुमाथि नेपाल सरकारको सःशर्त अनुदान शीर्षकबाट विनियोजित रकममध्ये १७ प्रकारका औषधिको खरिदमूल्य भन्दा बाहिर गएको र आ.व. २०७८/०७९ मा ३२ प्रकारका औषधिहरुमध्ये १७ प्रकारका औषधिहरु उल्लिखित दररेटभन्दा बढी मूल्यमा खरिद गरेको आरोप लगाईएको छ । आयोगले ५ जना विरुद्ध ४ लाख ६० हजार रुपैयाँ मागदाबी गर्दै मुद्दा दायर गरेको छ ।
खातामा प्यान अद्यावधिक गर्न ग्राहकलाई एनआईसी एशिया बैंकको आह्वान
काठमाडौं । एनआईसी एशिया बैंकले ग्राहकहरुलाई आफ्नो खातामा स्थायी लेखा नम्बर (प्यान)अध्यावधिक गर्न आह्वान गरेको छ । बैंकका ग्राहकको खाताबाट गरिएको करकट्टीको विवरण ‘आयकर ऐन २०५८’ बमोजिम आन्तरिक राजश्व विभागद्वारा जारी गरिएको स्थायी लेखा नम्बर प्रणालीमा आवद्ध गर्नुपर्ने भन्दै ग्राहकले बैंकको पोर्टल वा मोबाइल बैंकिङ एप एनआईसी एशिया मोबाइल बैंकिङको ‘प्यान अपडेट’ अप्सनमा ट्याब गरी आफ्नो प्यान यथाशीघ्र अद्यावधिक गर्नसक्ने बैंकले जानकारी दिएको छ । साथै, ग्राहकले आफूलाई पायक पर्ने यस बैंकको जुनसुकै शाखा कार्यालयबाट पनि आफ्नो खातामा प्यान अध्यावधिक गर्न आवेदन दिन सकिने प्रबन्ध मिलाइएको छ । यस बैंकबाट निक्षेपकर्ताको ब्याज भुक्तानी वापत काटिएको करलाई ईटिडीएस रेकर्डमा जनाउनको लागि प्यान अत्यावश्यक रहेको बताइएको छ । उक्त प्यान अद्यावधिक भएपछि ग्राहकको करकट्टीको विवरण ईटिडीएस सो प्यानमा प्रविष्ट गरिने हुँदा आयकरको प्रणालीले स्वचालित रुपमा अनुसूची १० मा करकट्टीको विवरण मिलान गर्ने गर्दछ । जसले गर्दा ग्राहकलाई करकट्टी प्रमाणपत्र र कर चुक्ता प्रमाणपत्र प्राप्त गर्न सहज हुनुका साथै प्रमाणपत्र लिन बैंकसम्म धाउनुपर्ने अवस्था पनि अन्त्य हुने बैंकले विश्वास लिएको छ । ग्राहकले प्यान अद्यावधिक नगराउँदा ईटीडीएसमा ब्याजकर दाखिला नभएको अवस्थामा र त्यस उप्रान्त ब्याजकरमा थप समायोजन गर्नु परेको अवस्थामा बैंक जिम्मेवार नहुने व्यहोरा समेत बैंकले आफ्ना ग्राहकलाई जानकारी दिएको छ ।
संस्कार एकेडेमीका करिब १५० जना विद्यार्थी दीक्षित
काठमाडौं । संस्कार एकेडेमीले ‘प्रोफेसनल वास्तु कन्सल्ट्याण्ट’ कोर्षको ३ दिनको विशेष प्राक्टिकल कार्यशाला आयोजना सम्पन्न गरेको छ । एकेडेमीले अनलाइन प्रविधिबाट ’प्रोफेसनल वास्तु कन्सल्ट्याण्ट’ कोर्ष अध्ययन गरेका करिब १५० जना विद्यार्थीहरूलाई दीक्षितसमेत गरेको छ । ’घरलाई स्वर्ग बनाउने यात्रा’ मा अगाडि बढेको संस्कार एकेडेमीले नेपालमा आधुनिक र वैज्ञानिक रूपमा काम गर्न सक्ने ’प्रोफेसनल वास्तु कन्सल्ट्याण्ट’ तयार गर्दै आइरहेको छ । संस्कार एकेडेमी वास्तुबाहेक ज्योतिष, अंक ज्योतिष, हस्ताक्षर विश्लेषण, वैज्ञानिक लोगो तथा भिजिटिङ कार्ड डिजाइन, एनएलपी तथा हिप्नोसीसलगायत अन्य धेरै विधामा व्यावसायिक रूपमा काम गर्ने जनशक्ति उत्पादन गर्दै आइरहेको संस्था हो । आफ्ना विद्यार्थीहरूलाई अहिलेको समयअनुसार आधुनिक र वैज्ञानिक रूपमा वास्तुको काम गर्न सक्ने गरी योग्य बनाएर मात्रै बजारमा पठाउने गरेकोले अनलाइन अध्ययनपश्चात यस किसिमको प्राक्टिकल कार्यशाला राखी विद्यार्थीहरूलाई वास्तुको हरेक प्रकारको वैज्ञानिक र प्रभावकारी उपचार गर्न सक्षम बनाउने र वास्तुमा प्रयोग हुने प्रविधि र उपकरणहरूमा समेत दक्ष बनाउने उद्देश्यले संस्कार एकेडेमीले यस्तो कार्यक्रम गर्दै आइरहेको वरिष्ठ वास्तु गुरु आचार्य राजा बाबु शाहले बताए । डा. कुलबहादुर गुरुङले सहरीकरण गरेको कार्यक्रममा इञ्जिनियरहरू सुशील अमात्य, राजेन्द्र लिगल, श्रीराम श्रेष्ठ, सुशील श्रेष्ठ लगायतले वास्तुविद्लाई आवश्यक पर्ने इञ्जिनिएरिङको व्यावहारिक ज्ञान दिएका थिए । आचार्य राजा बाबु शाहबाट योगा, ध्यान, अंक ज्योतिष, स्वर विज्ञानको थप सेसनमा अतिरक्त ज्ञान पाएपछि सहभागीहरूले खुशी प्रकट गरे । कार्यक्रममा कोच आशा शाहले ’ग्राफोलोजी र सिग्नेचर एनालाइसिस’ को मास्टर क्लास दिएका थिए । वास्तु र ज्योतिषको क्षेत्रमा काम गरिरहेकाहरुको अलावा इञ्जिनिएर, अर्किटेक्ट, इन्टेरिएर डिजाइनर, अधिवत्ता, ब्याङ्कर लगायत अन्य विविध पेशा र व्यवसायका मानिसहरू कार्यक्रमबाट दीक्षित भई अब प्रोफेसनल वास्तु कन्सल्ट्याण्ट बनेका छन् । वास्तु धार्मिक विषय नभएर हरेक मानिसको घर र जीवन सग जोडिएको उर्जा विज्ञान भएकोले यसप्रति सबैको रुचि बढदैछ । काभ्रे, धुलिखेलस्थित सारथी होटेलमा मङ्सिर १३ गते देखि ३ दिनसम्म चलेको कार्यक्रममा देशै भरीबाट वास्तु पढिरहेका सहभागीहरू दीक्षित हुन् पुगेका थिए । नेपालमा वास्तु सम्बन्धि यतिको ठुलो कार्यक्रम यस भन्दा अघि सायदै भएको थियो ।
चीनको औपचारिक भ्रमण सकेर प्रधानमन्त्री ओली स्वदेश फिर्ता
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको चारदिने औपचारिक भ्रमण सकेर बिहीबार स्वदेश फर्किएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा प्रधानमन्त्री ओलीलाई उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, नेपाल सरकारका उच्च पदस्थ अधिकृत, सुरक्षा निकायका प्रमुखहरूले स्वागत गरे । प्रधानमन्त्री ओलीको स्वागतमा नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो । चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओली यहीँ मङ्सिर १७ गते चीन प्रस्थान गरेका थिए । बेइजिङमा रहँदा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गरेका थिए । साथै प्रधानमन्त्री ओली र चिनियाँ समकक्षी ली तथा राष्ट्रिय जनकंग्रेस (एनपिसी)का अध्यक्ष चाओ ल चीसँगको भेटमा द्विपक्षीय हितका विविध विषयमा विचार विमर्श भएको थियो । उनको चीन भ्रमणका क्रममा नेपाल–चीनबीच विभिन्न सहमतिमा हस्ताक्षरसमेत भएको छ । प्रधानमन्त्री ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डलमा उहाँकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा युवराज खतिवडा, सांसदहरू, विशिष्ट श्रेणीका सरकारी अधिकारी, निजी क्षेत्रका प्रतिनिधि र सञ्चारकर्मीलगायत थिए ।