विकासन्युज

सिद्धार्थ बैंकको लाभांश घोषणा

काठमाडौं । सिद्धार्थ बैंकले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्ष २०८०/०८१ को वितरणयोग्य मुनाफाबाट लाभांश घोषणा गरेको हो । बैंकले हाल कायम चुक्ता पूँजीको ४ प्रतिशतका दरले नगद लाभांश (कर प्रयोजनार्थसहित) वितरण गर्ने घोषणा गरेको हो । बैंकले हाल कायम चुक्तापुँजी १४ अर्ब ८ करोड ९९ लाख ८० हजार १९० रुपैयाँको कुल ४ प्रतिशतले हुन आउने ५६ करोड ३५ लाख ९९ हजार २०८ रुपैयाँ नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको छ। मंसिर २१ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण गरिनेछ ।

बगैँचाबाटै सुन्तला बिक्री भएपछि किसान उत्साहित, लाखौं आम्दानी

बागलुङ । धादिङका कमबहादुर तामाङ सुन्तला खरिद गर्न बागलुङको सिगाना आएको एक हप्ता भयो । उनले नौ सुन्तला किसानका साथ सुन्तला एकमुष्ट खरिद गरेर नारायणगढ पठाइराखेका छन् । अहिले तामाङजस्ता सुन्तला व्यापारी सिगानाका सुन्तला किसानका घरघरमा पुगेका छन् । सिगाानको सुन्तला स्वादिष्ट भएकाले बगैँचाबाटै खरिद गरेर नारायणगढ पठाएको व्यापारी तामाङको भनाइ छ । उनले सुन्तला खरिदबापत एकमुष्ट १२ लाख रूपैयाँ किसानलाई बुझाएको बताए । तामाङले १२ गाडी सुन्तला नारायणगढ पठाएको जानकारी दिए । ‘सिगानाको सुन्तला नारयणगढमा अत्यधिक माग छ, यस याममा सुन्तलाको कारोबार गरेर रु दुई-चार लाख कमाइन्छ’, तामाङले भने, ‘किसानले रकममात्र बुझे भैगो, टिप्ने, स्तरीकरण गर्ने र बजारसम्म लैजाने काम हामी आफैँ गर्छौँ, सुन्तला फलाउने किसानलाई बसीबसी आम्दानी छ ।’ तामाङले एउटै बगैँचालाई तीन लाख रूपैयाँसम्म तिरेर सुन्तला खरिद गरेको बताए । सुन्तला गाउँका रूपमा परिचय कमाएको सिगानाका किसना यतिबेला सुन्तला बिक्री गर्न व्यस्त छन् । सुरुमा डोके व्यापारीलाई केजीमा बिक्री गर्ने किसानले अहिले सुन्तलाको माग बढेपछि बगैँचाका सुन्तला एकमुष्ट बिक्री गर्न थालेको किसान अनन्तबहादुर खड्काले जानकारी दिए । खड्काले पहिला आफैँ टिपेर बजार पठाउनुपर्ने सुन्तला अहिले व्यापारीले बोटबाटै टिपेर लैजाने गरेको जानकारी दिए । खड्काले सुन्तला बिक्री गरेर वार्षिक रु पाँच लाख आम्दानी गर्दै आएका छन् । शिक्षकबाट अवकाशप्राप्त खड्काको बगैँचामा दुई सय बोटमा लटरम्म सुन्तला फलेका छन् । खड्का मात्र होइन, सिगानाका रामप्रसाद गौतम, राधा खड्का, गङ्गा केसी, रामबहादुर, टोपबहादुर खत्री र शिवकुमार खड्कालगायतका सुन्तला ठूला सहरमा खपत हुने गरेको छ । यहाँका सुन्तला चितवन, धादिङ, काठमाडौँ, पोखरा र नारायणगढका बजारमा पुग्न थालेपछि सुन्तला किसान उत्साहित भएका छन् । सुन्तला उत्पादन गर्नसके बजारको समस्या नरहेको किसान गङ्गा केसीको भनाइ छ । धादिङ, काठमाडौँ, पोखरा र नारायणगढका सुन्तला व्यापारीले अहिले एउटा बगैँचाको रु एक लाखदेखि पाँच लाखसम्म सुन्तला बिक्री गर्ने गरेका छन् । सिगानामा धेरै सुन्तला उत्पादन गर्ने किसान नै एक सयको हाराहारीमा छन् । यस वर्ष छिटो सुन्तला बिक्री भएको किसान अनन्त खड्काले जानकारी दिए । अन्य स्थानका भन्दा ठूलो दाना र गुलियो भएकाले यहाँका सुन्तला महंगो मूल्य तिरेर भए पनि खरिद गर्न व्यापारी आउने गरेका छन् । रासस

नेशनल लाईफबाट सुदुरपश्चिम प्रदेशका अभिकर्ताहरू सम्मानित

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले धनगढीस्थित होटल रुवसमा सुदुर पश्चिम प्रदेशबाट सीइओ क्लब सदस्यता प्राप्त गर्न सफल १६० जना भन्दा बढि अभिकर्ताहरूलाई सम्मान गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृतको सभापतित्वमा सम्पन्न भएको सम्मान कार्यक्रममा विभागीय प्रमुख तथा सुदुर पश्चिम प्रदेश अन्तर्गतका शाखा कार्यालयहरूका शाखा प्रमुखहरूको सहभागिता रहेको थियो । प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले पानसमा दीप प्रज्वलन गदै शुभारम्भ गरिएको सो सम्मान कार्यक्रममा अभिकर्ताहरूलाई सिइओ क्लब सदस्यता वितरण गरिएको थियो भने प्रदेश बाट आफ्नो कोडमा र संजलमा प्रथम, द्वितीय र तृतीय हुन सफल अभिकर्ताहरूलाई विशेष सम्मान तथा पुरस्कृत गरिएको थियो । यसै गरी यस प्रदेशबाट नेशनल रत्न हुने अभिकर्ताहरूलाई पनि नेशनल लाईफ लोगो अंकित चाँदीको मेडल, सर्टिफिकेट र खादाबाट सम्मान गरेका थिए । समारोहमा प्रमुख कार्यकारी अधिकृतले सीईओ क्लब र नेशनल रत्न अन्तर्गत योग्य हुने अभिकर्ताहरूलाई प्रदेश स्तरीय रूपमा सम्मान कार्यक्रम सम्पन्न गर्दै जाने कम्पनीको योजना अनुरूप सुदुरपश्चिम प्रदेशका अभिकर्ताहरूलाई सम्मान गरिए सँगै सीइओ क्लबको सातै प्रदेशको कार्यक्रम सकिएको बताउँदै सबै प्रदेशबाट यस कार्यक्रममा सहभागी जनाउने सबै अभिकर्ताहरूलाई धन्यावाद तथा बधाई ज्ञापन गरे। उनले, अभिकर्ताहरू माझ लोकप्रिय रहेको कार्यक्रम चेयरपर्सन क्लब सदस्यता वितरणकै अनुसरण गरी सिइओ क्लब सदस्यता वितरण कार्यक्रमको धारणा ल्याइएको र यसबाट स–साना व्यवसाय गर्ने अभिकर्ताहरूलाई समेत समेटी आगामी दिनमा चेयरपर्सन क्लबमा पुराउने उद्देश्य रहेको बताए ।

सुन, चाँदी र विदेशी मुद्रासहित कैलालीबाट तीनजना पक्राउ

काठमाडौं । कैलालीको भजनी नगरपालिका–५ स्थित कौवाखेडा सीमा क्षेत्रबाट रु एक करोडभन्दा बढीको सुन, चाँदी र विदेशी मुद्रासहित तीन जना पक्राउ परेका छन् । सशस्त्र प्रहरी बलका सहप्रवक्ता प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाका अनुसार सुर्खेतको चौकुनी गाउँपालिका–१० का ३६ वर्षीय महेन्द्रबहादुर शाही सोही जिल्लाको वीरेन्द्रनगर नगरपालिका–१ का ३१ वर्षीय हर्कबहादुर विक र पञ्चपुरी नगरपालिका–११ का ३२ वर्षीय महेश सुनारलाई गए राति पक्राउ गरिएको हो । भारतभारतबाट आएका उनीहरूबाट रु ८० लाख ७९ हजार पाँच सय ६१ बराबरको छ सय २० ग्राम सुन, रु १५ लाख २८ हजार चार सय ६० बराबरको आठ किलो नौ सय १४ ग्राम चाँदी, विभिन्न दरका रु छ लाख ११ हजार छ सय २५ भारतीय मुद्रा, साउदी रियाल, विभिन्न किसिमका चार थान मोबाइल सेट र चाँदीका लेप लगाएका भाँडा पनि बरामद भएका छन् ।

नेपाल प्रिमियर लिगः आज दुई खेल हुँदै

काठमाडौं । नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा जनकपुर बोल्ट्स र लुम्बिनी लायन्सबीच पहिलो खेल हुनेछ भने सोही मैदानमा हुने दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोज् भिड्ने छन् । यसअघि भएका तीनवटै खेलमा जनपुर बोल्ट्स विजयी भएको छ । सुदूरपश्चिम पनि तीनवटै खेल जितेर अङ्कतालिकाको अग्रस्थानमा छ ।

अमेरिकी डलरसहित अधिकांश मुद्राको भाउ घट्यो, कुवेती एक दिनारको ४४२ रुपैयाँ

काठमाडौं । नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको मूल्य एकको खरिदर १३५.२१ रुपैयाँ र बिक्रीदर १३५.८१ रुपैयाँ तोकेको छ । आज युरोपियन यूरोको एकको खरिदर १४३.०७ रुपैयाँ र बिक्रीदर १४३.७१ रुपैयाँ, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १७२.५७ रुपैयाँ र बिक्रीदर १७२.३३ रुपैयाँ, स्वीस फ्रयाङ्क एकको खरिददर १५४.०८ रुपैयाँ र बिक्रीदर १५४.७६ रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर ८६.८३ रुपैयाँ र बिक्रीदर ८७.२१ रुपैयाँ तोकेको छ । यस्तै, क्यानेडियन डलर एकको खरिददर ९६.३० रुपैयाँ र बिक्रीदर ९६.७३ रुपैयाँ, सिङ्गापुर डलर एकको खरिददर १००.९२ रुपैयाँ र बिक्रीदर १०१.३७ रुपैयाँ, जापानी येन १० को खरिददर ८.९८ रुपैयाँ र बिक्रीदर ९.०२ रुपैयाँ र चिनियाँ युआन एकको खरिददर १८.६१ रुपैयाँ र बिक्रीदर १८.६९ रुपैयाँ तोकेको छ । राष्ट्र बैंककाअनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५.९९ रुपैयाँ र बिक्रीदर ३६.१५ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३७.०९ रुपैयाँ र बिक्रीदर ३७.२५ रुपैयाँ, थाई भाट एकको खरिददर ३.९८ रुपैयाँ र बिक्रीदर ३.९९ रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.८१ रुपैयाँ र बिक्रीदर ३६.९८ रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरिददर ३०.५९ रुपैयाँ र बिक्रीदर ३०.७३ रुपैयाँ तोकेको छ । यस्तै, साउथ कोरियन वन एक सयको खरिदद ९.५२ रुपैयाँ र बिक्रीदर ९.५६ रुपैयाँ, स्वीडिस क्रोनर एकको खरिददर १२.४३ रुपैयाँ र बिक्रीदर १२.४९ रुपैयाँ, डेनिस क्रोनर एकको खरिददर १९.१८ रुपैयाँ र बिक्रीदर १९.२७ रुपैयाँ, हङ्कङ डलर एकको खरिददर १७.३८ रुपैयाँ र बिक्रीदर १७.४६ रुपैयाँ तोकेको छ । यस्तै, कुवेती दिनार एकको खरिददर ४४०.०५ रुपैयाँ र बिक्रीदर ४४२.०० रुपैयाँ, बहराइन दिनार एकको खरिददर ३५८.५५ रुपैयाँ र बिक्रीदर ३६०.१४ रुपैयाँ, ओमानी रियाल एकको खरिददर ३५१.१९ रुपैयाँ र बिक्रीदर ३५२.७५ रुपैयाँ कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।

निर्माण व्यवसायीको ऋण चुक्ताको म्याद थप गर्ने, बक्यौता भुक्तानी एक हप्ता भित्र हुने

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री बिष्णु पौडेलले एक साता भित्र निर्माण व्यवसायीको बक्यौता भुक्तानी गर्ने बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज), भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयको निर्माण व्यवसाय प्रवर्द्धन व्यवस्थापन कार्यान्वयन समिति र नेपाल निर्माण व्यवसायी महासंघसँगको सहकार्यमा आयोजना गरेको ‘विकास बजेटको परिचालः सरकार र निजी क्षेत्रको भुमिका’ बिषयक छलफल कार्यक्रममा उनले यस्तो बताएका हुन् । निर्माण व्यवसायीले काम सम्पन्न गरेर पनि अर्बौ रुपैयाँ भुक्तानी पाउन सकेका छैनन् । गत आवकै भुक्तानी पाउन बाँकी रहेको निर्माण व्यवसायीहरुले गुनासो गरिरहेका छन् । ‘‘तपाइहरुको भुक्तानी बाँकी कुन कुन मन्त्रालय र निकायमा छ, आइतबार जानुस्, भुुक्तानी हुनेछ । आइतबार भएन भने सोमबार त भुक्तानी हुनेछ । ढिलोमा पनि एक सातामा भुक्तानी हुनेछ,’ उनले भने, ‘त्यसरी पनि भुक्तानी पाउनु भएन भने म कहाँ आउनुस, त्यसपछि बसेर छलफल गरी उचित निकास निकाल्नेछौं ।’ उनका अनुसार बक्यौता कति हो भन्नेमा अन्योल छ । बक्यौता रकमाको निर्क्यौल गरे भुक्तानीमा समस्या नहुने उनले बताए । निर्माण व्यवसायीलाई ऋण भुक्तानीका लागि म्याद थप गर्ने विषयमा नेपाल राष्ट्र बैंकसँग छलफल गरेर उचित निकास निकाल्ने अर्थमन्त्री पौडेलले बताए । निर्माण व्यवसायीले ऋण तिर्नुपर्ने म्याद यही मंसिर मसान्तसम्म रहेको छ । सरकार र निर्माण व्यवसायीको सम्बन्ध कस्तो हुनुपर्छ भन्ने बिषयमा पनि स्पष्ट हुनुपर्ने उनले बताए । ‘हामीले एक अर्कालाई दोष दिएर समस्या समाधान हुदैन । सरकार र निर्माण व्यवसायीको सम्बन्ध राम्रो हुनुपर्छ । हामी नदीका दुई किनारा होइनौ । हामी एउटै ढुंगामा अघि बढ्नुपर्छ,’ उनले भने, ‘यहाँहरु आफुलाई सरकार भनेर बझ्नुस । हामी आफुलाई व्यवसायी भनेर सम्झन्छौं । अनि समस्या समाधान हुन्छ ।’

पशुपति क्षेत्रका ९ इनारको उत्खनन गरी संरक्षण गरिँदै

काठमाडौं । प्राचीनकालमा स्थापना भएका पशुपति क्षेत्रका ९ इनारको उत्खनन गरी जनमसमक्ष चिनारी गराउन थालिएको छ । पशुपति क्षेत्रमा पुरातात्विक, ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पर्यटकीय दृष्टिले महत्त्वपूर्ण ९ वटा इनार रहेको भन्ने विभिन्न पुस्तकमा उल्लेख भए पनि अहिले लोप भइसकेका थिए । ऐतिहासिक महत्वका इनार लोप भयो भन्ने गुनासो बढेपछि काठमाडौं महानगरपालिका–८ को सक्रियता र पुरातत्व विभागको सहयोगमा महत्त्वपूर्ण इनार उत्खनन गरी संरक्षण थालिएको हो । उत्खनन गरिएका दुई इनार संरक्षण गर्न लागिएको महानगरपालिकाको सम्पदा विभाग प्रमुखसमेत रहनुभएका वडा नं ८ का अध्यक्ष आशामान सङ्गतले जानकारी दिए । पशुपति क्षेत्रको नवाली टोलस्थित ताम्रेश्वर महादेव मन्दिर नजिकै र जयवागेश्वरीस्थित इन्द्रेश्वर मन्दिर प्राङ्गणमा दुईवटा ऐतिहासिक इनार रहेको सूचनाका आधारमा उत्खनन गरी दुवै इनारलाई संरक्षण सुरु गरिएको हो । यी दुवै इनार पुरिएको अवस्थामा फेला परेका हुन् । अरु सात इनारलाई पनि खोजेर संरक्षण गर्ने तयारी भइरहेको वडा कार्यालयले जनाएको छ ।