विकासन्युज

काठमाडौंका विभिन्न स्थानमा दैनिक ४ घण्टा विद्युत अवरुद्ध हुने

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले काठमाडौंका विभिन्न स्थानमा बुधबारदेखि आगामी पुस ५ गतेसम्म दैनिक चार घण्टा विद्युत् अवरुद्ध हुने जनाएको छ । प्राधिकरणले कुलेश्वर, बानेश्वर र कीर्तिपुर क्षेत्रमा विद्युतीय तार भूमिगत गर्ने कार्यका लागि फिडर सटडाउन गर्न लागिएको जनाएको छ । प्राधिकरणले एक सूचना जारी गर्दै विभिन्न स्थानमा छुट्टाछुट्टै फिडरहरु बिहान ११ देखि दिउँसो ३ बजेसम्म सटडाउन गरिने भएकाले तीन फिडरअन्तर्गत क्षेत्रहरुमा विद्युत् आपूर्ति बन्द हुने जनाएको हो । बुधबार कीर्तिपुरको रोपवे फिडर सट डाउन गरिनेछ । त्यसले बल्खु करिडोर क्षेत्रमा विद्युत अवरूद्ध हुनेछ । बिहीबार मच्छेगाउँ फिडरअन्तर्गतका भत्केपाटीदेखि राराहिल चोक क्षेत्रमा विद्युत् अवरूद्ध हुनेछ । प्राधिकरणका अनुसार शुक्रबार रोपवे फिडरको कीर्तिपुर रिङरोड क्षेत्र र शनिबार बाफल फिडरअन्तर्गतका स्वयम्भू क्षेत्रमा विद्युत् अवरूद्ध हुनेछ । पुस १ गते कीर्तिपुरकै रोपवे फिडरअन्तर्गतका कीर्तिपुर रिङरोड क्षेत्र र खसीबजार क्षेत्रमा विद्युत् अवरुद्ध हुनेछ भने पुस २ गते मच्छेगाउँ फिडरअन्तर्गत राराहिल चोकदेखि ढाल्पा चोक, पुस ३ गते रोपवे फिडरकै मैत्रीनगर इशानेश्वर मन्दिर क्षेत्रमा विद्युत् अवरुद्ध हुनेछ । यसैगरी, पुस ४ गते बाफल फिडरअन्तर्गत स्वयम्भू क्षेत्र र पुस ५ गते शङ्खमूलको दोभान पुल क्षेत्रमा विद्युत् अवरूद्ध हुने प्राधिकरणले जनाएको छ । मौसम प्रतिकूल रहे सटडाउन नहुने पनि प्राधिकरणले जनाएको छ ।

सशस्त्र प्रहरी निरीक्षककै शैक्षिक प्रमाणपत्र नक्कली, अख्तियारले लगायो मुद्दा

काठमाडौं । सशस्त्र प्रहरी निरीक्षककै शैक्षिक प्रमाणपत्र नक्कली भएको पाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी बल (एपीएफ) नेपालको २९ नम्बर गण हेक्वा ज्वालामाई दाङका तत्कालीन सशस्त्र प्रहरी निरीक्षक छविलाल कुँवरविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । आयोगले उनी विरुद्ध बुधबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । आयोगका प्रवक्ता नरहरि घिमिरेकाअनुसार उनले २९ नम्बर गण दाङबाट केही समय अगाडि राजीनामा दिएका थिए । अनुसन्धानका क्रममा उनले माध्यमिक शिक्षा परिषद, उत्तर प्रदेश (बोर्ड अफ हाइस्कूल एन्ड इन्टरमिडियट एजुकेसन, यूपी) अन्तर्गत हाइस्कूल तहको परीक्षा उत्तीर्ण गरेको भनी झुट्टा शैक्षिक प्रमाणपत्र पेश गरेका थिए । साथै उनले राष्ट्रसेवक पदमा प्रवेश गरी बढुवा भएको पाइएको आयोगको दाबी छ । आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिम सजायको मागदाबी गरेको छ ।

सिटिजन्स बैंकका ग्राहकलाई गोंगबुको भोकमन्त्रमा छुट

काठमाडौं । सिटिजन्स बैंकका ग्राहक र कर्मचारीहरुलाई काठमाडौंको गोंगबुस्थित भोकमन्त्रका विभिन्न सेवाहरुमा छुट दिइने भएको छ । दुई पक्षबीच भएको सम्झौता अनुसार सिटिजन्स बैंकका कार्ड वाहक र मोबाइल बैंकिङ ग्राहकहरूले भोकमन्त्रमा १० प्रतिशतसम्मको आकर्षक छुट पाउने छन् । यस्तो सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने बैंकले विश्वास लिएको छ । बैंकले डिजिटल बैंकिङ माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समयसमयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा पनि प्राप्त गर्न सकिने बताइएको छ । हालै विश्वकै प्रतिष्ठित अवार्ड ‘बैंक अफ द ईयर २०२४’ को उपाधि प्राप्त गर्न सफल भएको यस बैंकले केही समयअघि मात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ सञ्चालनमा ल्याएको छ । उक्त भर्चुअल क्रेडिट कार्डमा भौतिक कार्ड बिना नै मोबाइलको माध्यमबाट स्क्यान गरी क्रेडिट कार्डको सुविधा उपभोग गर्नसक्ने सुविधा रहेको बैंकले बताएकाे छ ।

आईसीटी अवार्ड र साइबर सेक्युरिटी कम्पनी फोर्टिनेटबीच सहकार्य

काठमाडौं । आईसीटी अवार्ड र साइबर सेक्युरिटी कम्पनी फोर्टिनेटबीच सहकार्य भएको छ । नवौं संस्करणको आईसीटी अवार्डका लागि दुई संस्थाबीच सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो । यो सहकार्यसँगै ‘आईसीटी अवार्ड २०२४’ मा फोर्टिनेट सेक्युरिटी पार्टनरका रूपमा रहने छ । नेपालको प्रविधि क्षेत्रको प्रतिष्ठित कार्यक्रम आईसीटी अवार्डसँग सहकार्य गर्न उत्साहित भएको र यसले आईसीटी इकोसिस्टमलाई अझै बलियो बनाउन सहयोग गर्ने फोर्टिनेट नेपाल प्रमुख सविन उपाध्यायले बताए । २० वर्ष अगाडि स्थापना भएको फोर्टिनेट ग्लोबल साइबर सेक्युरिटी कम्पनी हो, जसले नेपालमा समेत सेवा प्रदान गरिरहेको छ । ८ लाख बढी ग्राहकलाई सेवा दिइरहेको कम्पनीसँग १ हजार ३७१ ग्लोबल प्याटेन्ट रहेका छन् ।

एनपिएल : जनकपुरको पहिलो हार, सुदूरपश्चिमको चौथो जित

काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगमा जनकपुर बोल्ट्सलाई जारी लिगमै सबैभन्दा कम योगफलमा रोक्दै सुदूरपश्चिम रोयल्सले चौथो जित निकालेको छ । १२४ रनको सामान्य लक्ष्य पछ्याएको जनकपुर ५१ रनमा समेटियो । सुदूरपश्चिमले भने पाँचौँ खेलमा ७२ रनको जित निकालेको हो । साथै सुदूरपश्चिम जनकपुरको अपराजित यात्रा तोड्दै पहिलो पराजय चखाउन सफल रह्यो । यस जितसँगै सुदूरपश्चिम नेट रन रेटका आधारमा अंकतालिकाको शिर्ष स्थानमा उक्लिएको छ । जितको लागि १२४ रनको सहज विजय लक्ष्य पछ्याएको जनकपुर १३ ओभरको पहिलो बलमा नै ५१ रनमा अल आउट भयो । यो एनपिएलमा अहिलेसम्मकै कम योगफल हो । यसअघि चितवनले पोखरालाई ७४ रनमा समेटेको थियो । जारी लिगमा शानदार प्रदर्शन गरेको जनकपुरले १२४ रनको लक्ष्य सहजै पूरा गर्ने अनुमानलाई सुदूरपश्चिमका बलरले गलत तुल्याइदिए । पहिलोदेखि छेटौं क्रमका कुनैपनि ब्याटरले दोहोरो रन छुन सकेनन् । ६ विकेट गुमाउँदा ३७ रन बनाएसँगै जनकपुरको हार निश्चित जस्तै बनेको थियो । लगातार विकेट गएपछि कुनैपनि खेलाडीले टिकेर खेल्न सकेनन् । सहज लक्ष्य हुँदा समेत जनकपुरले निराशाजनक प्रदर्शन ग¥यो । जोसुवा ट्रम्पले १३ रन बनाए । यसबाहेक कसैले पनि दोहोरो रन जोड्न सकेनन् । बलिङमा हर्मित सिंह, दीपेन्द्र सिंह ऐरी र ईशान पाण्डेले समान २/२ विकेट लिए । पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा संघर्ष गर्दै ९ विकेटको नोक्शानीमा मात्र १२३ रनको कम योगफल तयार पार्यो । सुदूरपश्चिमले शुरूवात राम्रो गर्यो । पावर प्लेमा बिना विकेटको नोक्शानीमा ४२ रन बनाएको थियो । सेफ जेब र विनोद भण्डारीले पहिलो विकेटको लागि ५५ रनको साझेदारी गरे । सेफ २१ रनमा आउट भएपछि सुदूरको विकेट पतन हुने क्रम रोकिएन । बाँकी ६८ रन जोड्ने क्रममा सबै विकेट गुमाउन पुग्यो । हर्मित सिंह १ रनमा र ओपनर विनोद ३३ रनाम आउट भए । उनले ३७ बल खेल्दै ३ चौका र १ छक्कासहित टिमको लागि सर्वाधिक ३३ रन बनाए । भरपर्दा ब्याटर तथा कप्तान दीपेन्द्रसिंह ऐेरी रनको खाता नखोली आउट हुँदा सुदूर थप दबाबमा पर्यो । ४ विकेटको नोक्शानीमा सुदूरले मात्र ७६ रन बनायो । दीपेन्द्रलाई पछ्याउँदै ब्रान्डन मकमलेन पनि ११ रनमा आउट भए । यसपछि १८ औं ओभरमा किशोर महतोले सानदार बलिङ गरे । यो ओभरमा उनले आरिफ शेख, ईशान पाण्डे र स्कट कुगेलिनलाई आउट गरे । आरिफ र स्कटले दोहोरो रन समेत छुन सकेनन् भने ईशान १७ रनमा समेटिए । सुदूरका मात्र चार खेलाडीले दोहोरो रन बनाए । बलिङमा किशोर महतोले ४ ओभर बलिङ गर्दै ३५ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । यसैगरी शेर मल्ल र अरनिको यादवले समान २/२ विकेट लिए ।

एनपीएलमा खाजा व्यापार, साना व्यवसायीलाई बहार

काठमाडौं । काठमाडौंका सानुराजा मर्हजनको दैनिकी सधै एकनासले बित्दैन । कहिले पठाओ चलाउने, कहिले आफ्नो घरकै काम गने त कहिल्यै ज्याला मजदुरी । यसैगरी बित्छ उनको दैनिकी । १० दिन भयो, आजभोलि उनको दैनिकी एकैनासले बितिरहेको छ । अहिले उनी बिहानै उठेर कीर्तिपुरको क्रिकेट मैदान पुग्छन् । जहाँ अहिले नेपाल प्रिमियर लिग (एनपीएल) चलिरहेको छ । उनी बिहानदेखि साँझसम्म विभिन्न थरिका खानेकुरा पकाएर बेच्ने गर्छन् । जसबाट उनी धेरथोर आम्दानी पनि गरिरहेका छन् । पैसा कमाउन जे भेटियो त्यो काम गर्न तयार उनले एक समय होटलमा पनि काम गरेका थिए । उनलाई चाउमिन मःम मिठो पकाउन आउँछ । अहिले त्यही सीप उनी प्रयोग गरिरहेका छन् । यही सीपले उनी अहिले दिनमै ३० हजार रुपैयाँसम्म आम्दानी गरिरहेका छन् । यो काममा उनी एक्ला भने हैनन् । उनीसँग अन्य तीनजना साथी पनि छन् । चार जना मिलेरै मम पकाएर बिक्री गरिरहेका छन् । मंगलबार टियू क्रिकेट मैदान पुगेका विकासन्युज प्रतिनिधिसँग कुरा गर्दै उनले भने,‘ साथीहरू मिलेर खानेकुरा बनाइ बेचिरहेका छौँ, सोचे भन्दा राम्रो कमाइ भइरहेको छ ।’ सानुराजाका अन्य साथीहरू पनि उनी जस्तै पठाओ चलाउने काम गर्छन् । काठमाडौंमा नेपाल प्रिमियर लिग हुने थाहा पाएपछि उनले साथीहरूसँग केही व्यवसाय गर्नुपर्छ भन्ने सल्लाह गरेका थिए । साथीहरू पनि उनको सल्लाहमा सहमत भए । उनीहरू अहिले बिहानको लागि चिया, चना अण्डा, चप पकाउँछन् भने दिउँसोको लागि मःम पकाएर बेच्ने गर्छन् । आफ्नो योजना र साथीहरूको सहयोगले सोचेभन्दा राम्रो कमाइरहेका उनी दैनिक डेढ देखि २ सय प्लेट मम, दुईदेखि तीन केजी चना, पाँच केजी चप, दुई क्रेट अण्डा कम्तिमा बिक्री भइरहेको बताउँछन् । ‘बिहान ५ बजेदेखि फ्रेस बनाएर बेचिरहेका छौँ, खटाइ पनि राम्रै छ कमाइ पनि राम्रै भइरहेको छ,’ उनी भन्छन्, मैदान बाहिर खानेकुरा बेच्नेहरूको लागि व्यवस्थित तरिकाले राखिदिएको भए यो भन्दा पनि राम्रो हुने थियो ।’ बाहिर पसल राखेको ठाउँमा पुरै धुलैधुलो छ । धेरै मान्छे हिँड्ने बित्तिकै धुलो उड्छ । क्यानले हाम्रा लागि भएपनि केही व्यवस्था गरेको भए राम्रो हुने थियो, हामीले यो कुरा राखेपनि उनीहरूले सुनेनन् ।’ उनीहरूले मेला भनेर चर्को मूल्य पनि तोकेका छैनन् । ‘सामान्य बाहिर जतिमा खानेकुरा पाइन्छ, त्यहाँ पनि त्यही मुल्यमा बेचेका छौँ, त्यही भएर पनि होला धेरैजना आउनुहुन्छ खानुहुन्छ । पाइन्थ्यो त्यही मुल्यमा बेचिरहेका छन् । पहिलो दिन आएका ग्राहक अहिलेसम्म आइरहनुभएको छ,’ उनी भन्छन्, ‘सस्तो र मिठो भएरै होला, हामी कहाँ मम खानेहरुको भिड लाग्छ ।’ यो मेलामा भएको व्यपारबाट हौसिएका सानुराजा र उनका साथीहरू अब पनि यस्ता मेला पर्वमा व्यापार गर्ने सोच बनाएको बताउँछन् । काभ्रेका प्रविन जोशी अहिले स्टिकर बेचेरै दैनिक १ हजारदेखि १५ सय कमाइरहेका छन् । हरेक दिन जुन टोलीको प्रतिस्पर्धा हुन्छ तिनै टोलीको स्टिकर छापेर ल्याउने र बेच्ने गर्दा खर्च कटाएर दिनमा १५ सयदेखि २ हजार रुपैयाँ कमाइ हुने गरेको उनी बताउँछन् । चावहिलमा स्टिकर बनाएन लगाएर खेलमैदानमा आएर बेच्ने गरेको बताउँदै उनले स्टिकर बेचरै राम्रो कमाइरहेको बताए । मंगलबार कर्णालीको र पोखराको स्टिकर बढी बिक्री भएको उनले बताए । ‘समर्थकहरू आउँछन्, आफ्नो मन परेको टोलीको स्टिकर किन्छन् कोही निधार गाला जता सहज लाग्यो उतै छाप्छन्,’ उनी भन्छन्, ‘५० रुपैयाँ तीनवटा स्टिकरका दरले बेच्दा पनि राम्रो कमाइ हुँदो रहेछ ।’ बैतडीका हरिस सिंह महराले क्रिकेट मैदान बाहिर खुद्रा पसल राखेका छन् । सँगै उनले बैतडीबाट ल्याएको ओखर, बदाम सुन्तला पनि राखेका छन् । काठमाडौंमा कोरियन भाषाको तयारी गरिरहेका उनले केही समयको लागि खर्च जुटाउन पसल राखेको बताए । किक्रेट सुरु हुन लागेको थाहा पाएपछि खाली समय त्यत्तिकै बस्नुभन्दा अलिकति भएपनि कोठाभाडा आउला भन्ने आशामा सामान बेच्न सुरु गरेको उनको भनाइ छ । अहिले उनी बिहान १ घण्टा भाषा सिक्ने र बाँकी समय सामान ल्याएर क्रकेट मैदानमा पुग्छन् । खुद्रा सामान, सुन्तला बदाम बेचेर अहिले उनी दैनिक २ हजारदेखि तीन हजार रुपैयाँसम्म कमाइ रहेका छन् । उनी शनिबार राम्रो कमाइ हुने गरेको बताउँछन् । उनी भन्छन्, ‘यहाँ खेल हेर्न आउने भनेको धेरै जसो विद्यार्थी हुन्, अन्य दिनमा उनीहरूको बिदा हुँदैन शनिबार राम्रो कमाइ हुन्छ, दिनमा ६ हजारसम्म पनि कमाइ गरेँ ।’ हरिष यसअघि शसस्त्र प्रहरीमा आवद्ध थिए । उनी केही वर्ष मलेसिया र दुवईमा काम गरेर पनि फर्किए । ‘नेपालमा पनि राम्रो रोजगारी छैन, खाडीमा पनि राम्रो कमाइ हुँदैन,’ उनी भन्छन्, अब अलि कमाइ हुने देशतिर जाऔं कि भनेर कोरियान भाषा सिकिरहेको छुँ ।’ त्रिवि किक्रेट मैदान बाहिरको दृश्य आजभोलि हेर्न लायक छ । कोही खेल खेलिरहेका, कोही हेरिरहेका, कोही हुटिङ गरिरहेका सबै आ–आफ्नै तालमा देखिन्छन् । अझ बढी हेर्न लयाक त बाहिर व्यापार गरिरहेकाहरूको दृश्य छ । हिँडिरहेकाहरूलाई बोलाउँदै सामान बेच्नेहरू उत्तिकै कराइरहेको पाइन्छ । कोही पानी बेच्दै, कोही बदाम बेच्दै, कोही पानीपुरी चटपटे त कोही मःम, चाउमिन बेच्नेहरूको भीड पनि उत्तिकै छ । क्रिकेट सुरु भएदेखि अन्य समयमा दिनभर ५ सयको व्यापार गर्नेहरू अहिले २ हजार रुपैयाँदेखि तीन हजारसम्मको सामान बेच्छन् । अझ धेरैजसोले त खेलको समयसम्मका लागि मात्र व्यापार राखेका छन् । अधिकांशले यो बेला व्यापार हुन सक्ने मौका छौप्दै व्यापार सुरु गरेको बताएका छन् । कञ्चनपुरका सूर्यबहादुर बुढाले यही मौका छोपेर स्टल राखेर व्यापार गरिरहेका छन् । उनी अहिले चिकेन रोल चिया बेचिरहेका छन् । उनले खर्च कटाएर दैनिक २ हजार रुपैयाँको चिया बिक्री गर्ने गरेका छन् । बच्चा बिरामी भएर उपचार गराउन काठमाडौँ आएका उनी १ वर्षदेखि कीर्तिपुर पाँगामा बस्दै आएका छन् । १० महिनाजति त्रिवि शिक्षण अस्पतालमा राखेर बच्चालाई उपचार गराएका उनीसँग आर्थिक समस्या सुरु भयो । उनी यहाँ बस्दा धेरै ठाउँमा काम खोजे तर भेटेनन् । परिवारसहित बस्नुपर्ने बाध्यता हुँदा उनलाई असहज हुन थाल्यो । उनले यही क्रममा विदेशको भिसा लगाएपनि थर लागेन । उनले त्रिवि क्रिकेट मैदानमा एनपीएल सुरु हुन लागेको थाहा पाए । त्यसपछि उनले निर्णय गरे अब यहाँ केही गर्नुपर्छ । सूर्यले केही समय भारतमा पनि रोल बनाउने काम गरेकाले यहाँ पनि यही बनाएर बेच्ने योजना बनाए । ‘हातमा सिप पनि थियो आवश्यकता पनि प¥यो अहिले यही काम गरिरहेको छु’ विकासन्यूजसँग कुरा गर्दै उनले भने, ‘केही दिनको लागि पनि राम्रै भइरहेको छ, दैनिक दुई हजारको चिया बचे पनि खर्च टर्छ ।’ थर्मसमा बोकेको चियाबाटै कमाइ उदयपुरका जोन मगर थर्मसमा चिया बोक्दै हिँडछन् । १ वर्षदेखि बिहान÷साँझ उनको दैनिकी यसै गरी चल्छ । परिवारसँगै बल्खुमा बस्दै आएका उनी बल्खुको तरकारी बजारमा चिया बोकेर घुम्छन् । केही दिनदेखि भने उनी बल्खु भन्दा कीर्तिपुरमा चिया बोकेर हिँड्न सुरु गरेका छन् । उनी अहिले दैनिक १ हजारभन्दा बढी पैसा चिया बिक्री गरेरै कमाउँछन् । ‘दुःख पनि उति नै हुन्छ, मान्छेलाई चिया खानुहुन्छ भन्दै सोध्दै हिँड्नुपर्छ, कोही खानुहुन्छ, कोही खाँदैन भन्नुहुन्छ,’ उनी भन्छन्, ‘आफैं चिया पकाउँछु, थर्मसमा हाल्छु, यसरी नै डुल्छु, कहिले व्यापार हुन्छ, कहिले हुँदैन यस्तै त हो ।’ एउटा थर्मसमा १५ कप चिया जान्छ, उनी एकै पटक दुईवटा थर्मस बोकेर हिँड्छन् । जोनको दाई विदेश गएका छन् । ‘दाइ विदेश जाँदा लागेको ऋण छ । साहुहरू माग्न घरमै आउँछन्, धेरथोर भएपनि ऋण तिरेको छुँ,’ उनी भन्छन्, यही हो दुःख सुख गरिरहेको छु, अहिलेको जस्तै व्यापार दिनहुँ भइदिए सहजै हुन्थ्यो ।’

लिबर्टी माइक्रो लाइफले माग्यो धेरै संख्यामा कर्मचारी

काठमाडाैं । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सले धेरै संख्यामा कर्मचारी माग गरेको छ । कम्पनीले उपत्यका बाहिरका शाखाहरुका लागि कर्मचारी माग गरेको हो । कम्पनीले गुलरीया, बर्दीया, गोर्खा, महेन्द्रनगर, कन्चनपुर, लम्की, कैलाली, बिरेन्द्रनगर र शुर्खेतका लागि कर्मचारी माग गरेको हो । इच्छुकले पौष २ गतेसम्म आवेदन दिने सकिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार अनलाइनबाट ने आवेदन दिने सकिने छ ।

नेपाल र भारतबीच असमान भन्सार मूल्यांकन प्रणालीले चोरी–तस्करी बढ्दो

पर्सा । नेपाल र भारतबीच समान प्रकृतिका कर प्रणाली लागू नहुँदा चोरी–तस्करी निरन्तर बढिरहेको छ । सार्वभौमसत्ता सम्पन्न देशका आ–आफ्नै शासन एवं राज्य सञ्चालनका प्रणाली पृथक भए पनि खुला सिमाना भएका कारण तस्करी रोक्न एकल प्रकृतिको कर प्रणाली नै उपयुक्त हुने व्यवसायी तथा आर्थिक क्षेत्रका जानकारहरूले सुझाव दिएका छन् । वीरगञ्जका उद्योगी–व्यवसायीले पनि खुला सीमानाकाबाट हुने तस्करी नियन्त्रण गर्न भारतले लागू गरेको वस्तु तथा सेवा कर (जिएसटी) र हाम्रो भन्सार मूल्याङ्कन प्रणालीबीच तालमेल हुनुपर्ने माग गरेका छन् । भारत सरकारले कार्यान्वयन गरेको वस्तु तथा सेवा कर (जिएसटी) र हाम्रो भन्सार मूल्याङ्कन प्रणालीमा एकरूपता नहुँदा सीमावर्ती क्षेत्रमा चोरी तस्करीका घटना बढेकाले उनीहरूले त्यस्तो माग गरेका हुन् । पर्सास्थित सशस्त्र प्रहरी बलले चालु आर्थिक वर्षको प्रथम चार महिनामा भन्सार छलेर भित्र्याइएका रु १५ करोड १८ लाखका सामान नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरीले बरामद गरेका सामग्रीमा लत्ताकपडा, विद्युतीय सामान, हार्डवेयर, मोटरपार्ट्स, खाद्यान्न र किराना सामान अधिक छन् । सोही अवधिमा रु दुई करोड ६४ लाख ३० हजार एक सय ४९ मूल्यका बिलबिजक नभएका सामान पनि बरामद भएका थिए । वीरगञ्ज उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष हरि गौतमले सीमावर्ती सहरमा भारतले लागू गरेको जिएसटी र नेपालको भन्सार महसुलबीच एकरुपता नहुँदा अवैध निकासी र पैठारीका नियन्त्रणमा हुन नसकेको बताए । ‘हाल हाम्रो देशमा निकासी र पैठारीमा अवैध अर्थतन्त्रले प्रश्रय पाइरहेको छ । अत्यधिक भन्सार महसुल लाग्ने वस्तुको भारतीय र नेपाली बजार मूल्यमा धेरैको फरक हुनुले पनि अवैध रूपमा निकासी र पैठारी हुने गरेको हो’, उनले भने, ‘अत्यधिक भन्सार महसुल र दैनिक उपभोग्य एक सय वस्तुको पहिचान गरी भारतीय मूल्य जिएसटीसहित तथा नेपाली मूल्यमा एकरूपता दिएमा निकासी पैठारी घटाउन सकिन्थ्यो । यसले अनौपचारिक अर्थतन्त्रलाई नियन्त्रण गर्न मद्दत पुग्थ्यो ।’ देशको भन्सार मूल्याङ्कन प्रणालीले भारतका प्रतिष्ठित कम्पनीले जारी गरेको बिलबिजकलाई समेत मान्यता नदिँदा व्यवसायी मर्कामा परेका छन् । सङ्घका वरिष्ठ उपाध्यक्ष गौतमले भारतका प्रतिष्ठित कम्पनीले जारी गरेका बिलबिजकलाई पनि मान्यता दिन ढिलाइ गर्न नहुने बताए । ‘आयातित वस्तुको भन्सार मूल्याङ्कनका क्रममा प्रतिष्ठित कम्पनीको बिलबिजकमा ‘अङ्कित मूल्य’ भारत सरकारको आधिकारिक बिलका साथै भारतीय भन्सारले जारी गरेको ‘बिल अफ एक्पोर्ट’लाई आधार बनाएर भन्सार मूल्याङ्कन गर्नुपर्ने आवश्यकता छ, त्यसो गर्न सकिएमा अवैध रुपमा हुँदै आएको निकारी –पैठारीलाई धेरै हदसम्म घटाउन सकिन्थ्यो’, उनले भने । वरिष्ठ उपाध्यक्ष गौतमले हाल भन्सार विभागले कार्यान्वयनमा ल्याएको भन्सार मूल्याङ्कनको सन्दर्भ मूल्य पुस्तिकालाई पनि व्यवस्थित गर्न जरुरी भइसकेको बताए । ‘भन्सार मूल्याङ्कनको प्रमुख आधार भन्सार सन्दर्भ मूल्य पुस्तिका नै रहेको पाइन्छ । आयातकर्ताले सन्दर्भ मूल्यपुस्तिकाभन्दा कम मूल्यको बिलबिजक पेस गरेमा भन्सारले जरिवाना लिने गरेको छ’, उनले भने, ‘आव २०८०/८१ को बजेटमा अन्तःशुल्कमा पनि जरिवानम लिने प्रावधान रहेकाले पनि त्यसबाट जोगिन आयातकर्ताले सन्दर्भ पुस्तिकाभन्दा बढी मूल्य बिलबिजक पेस गर्ने प्रवृत्ति मौलाउँदै गइरहेको छ ।’ पर्सा प्रहरीले आव २०८०/८१ मा रु ५३ करोड ४७ लाख लाख मूल्य पर्ने भन्सार छली गरेर भित्र्याएका तथा बिलबिजक नभएको सामान बरामद गरेको थियो । सोही अवधिमा सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटरले रु ३४ करोड २७ लाख ७८ हजार तीन सय ३३ मूल्य पर्ने बिलबिजक नभएका र भन्सार छली गरेका सामान बरामद गरेको थियो । गत आवमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले पर्सा जिल्लाबाट मात्र रु ८७ करोड ७४ लाख मूल्य पर्ने अवैध वस्तु तथा सामान बरामद गरेको थियो । अनौपचारिक ढङ्गबाट आएका सामानको भने कुनै विवरण नै छैन । सीमा क्षेत्रमा चोरी तस्करीका गतिविधि बढेसँगै वीरगञ्जका दुई ठूला भन्सार कार्यालयको राजस्व सङ्कलन पनि अपेक्षाकृतसुधार हुनसकेको छैन । वीरगञ्ज भन्सार कार्यालयले आव २०८०/८१ मा रु दुई खर्ब ४५ अर्ब ८८ लाख ५० हजार ८१ राजस्व सङ्कलन गर्ने लक्ष्य पाएको थियो । सो अवधिमा कार्यालयले लक्ष्यको रु एक खर्ब ५७ अर्ब ४० करोड ३१ लाख २८ हजार (६४ दशमलव एक प्रतिशत) मात्र राजस्व सङ्कलन गरेको थियो । वीरगञ्जको सुक्खा बन्दरगाह भन्सार कार्यालयले पनि गत आवमा लक्ष्यअनुसार राजस्व सङ्कलन गर्न सकेन । भन्सार विभागले गत आवमा सुक्खा बन्दरगाहलाई रु ६५ अर्ब ९४ करोड एक लाख २२ हजार रकम राजस्व सङ्कलन गर्ने लक्ष्य दिएको थियो । कार्यालयले वार्षिक लक्ष्यको रु ४७ अर्ब ३१ करोड एक लाख ९० हजार (७१ दशमलव ७५ प्रतिशत) राजस्व सङ्कलन गरेको छ । सङ्घका अध्यक्ष अनिलकुमार अग्रवालले भन्सार मूल्याङ्कन पुस्तिका खारेज नभएकाले पनि अनौपचारिक अर्थतन्त्रले प्रश्रय लिँदै आइरहेको दाबी गरे । ‘जुन खालको भन्सार मूल्याङ्कन प्रणाली लागू गरिएको छ । यसले औपचारिकभन्दा अनौपचारिक अर्थतन्त्रलाई बल मिलेको छ । यसलाई सुधार्न जरुरी छ ।’ प्रमुख भन्सार प्रशासक दीपक लामिछाने केही दिनअघि आयोजित राजस्व चुहावट नियन्त्रणसम्बन्धी कार्यक्रममा आयातकर्ताले पनि अन्तरराष्ट्रिय प्रावधान अनुसार हार्मोनाइज्ड सिस्टम ‘एचएस कोड’ को पालना गर्दै मालसामान आयात नगर्दा केही प्राविधिक समस्या आएको बताउँछन् । ‘मुलुकको राजस्वको मुख्य आधार नै आयातमुखी छ । आयात घट्दा राजस्व सङ्कलन पनि घटेको छ’, उनले भने, ‘हामी उद्योगी–व्यवसायीका सहजकर्ता हौं, उहाँहरूका सामानलाई सहज ढङ्गले आयात–निर्यात गराउनेतर्फ हाम्रो ध्यान सधै केन्द्रित छ ।’ रासस