विकासन्युज

बझाङको रायाल केन्द्रविन्दु भएर भूकम्प

काठमाडौं । बझाङको रायाल केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बुधबार विहान ११ बजेर २ मिनेट जाँदा बझाङको रायाल आसपास केन्द्रविन्दु भएर तीन दशमलव नौ रेक्टरस्केलको भूकम्प गएको हो । यसअघि गत मङ्सिर ६ गते बिहान कास्की र मनाङको सीमानामा पर्ने अन्नपूर्ण क्षेत्रलाई केन्द्रविन्दु बनाएर चार दशमवल दुई रेक्टरस्केलको भूकम्प गएको थियो । पछिल्लो समय नेपालमा भूकम्प जाने क्रम जारी रहेको केन्द्रले जनाएको छ । नेपाल हिमालय क्षेत्र भएकाले भूकम्पको जोखिमपूर्ण क्षेत्रका रूपमा लिने गरिन्छ ।

कुमारी बैंकको एटीएम र पीओएसमा अब युनियनपे कार्ड प्रयोग गर्न सकिने

काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्नो एटीएम तथा पीओएस (पोइन्ट अफ सेल) टर्मिनलहरूमा युपीआई (युनियनपे इन्टरनेसनल)का कार्डहरु स्वीकार गर्ने भएको छ । डिजिटल भुक्तानी प्रणालीलाई प्रवर्द्धन गर्दै ग्राहकहरुलाई थप सहज, सुरक्षित र आधुनिक बैंकिङको अनुभव उपलब्ध गराउन कुमारी बैंकले देशभर आफ्ना सबै एटीएम तथा पीओएस टर्मिनलहरूमा उपलब्ध गराउन लागेको हो । यो सुविधाबाट अब युपीआई कार्ड प्रयोगकर्ताहरूले कुमारी बैंकको एटीएम मार्फत रकम झिक्न र पीओएस टर्मिनल मार्फत खरिद भुक्तानी गर्न सहज हुने र यसले व्यापारीहरुलाई पनि लाभ हुने बैंकले विश्वास लिएको छ । बैंकले आफ्नो सेवाको दायरा फराकिलो बनाउँदै डिजिटल नेपालको अभियानमा थप योगदान पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेको छ ।

रास्वपाका सभापति लामिछानेको बयान सकियो

वीरगञ्ज । पर्सा जिल्ला सरकारी वकिल कार्यालयले सहकारी ठगीको अभियोगमा हिरासतमा लिएर अनुसन्धान भइरहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पोखरातर्फ पठाएको छ । निजसँगको बयान पूरा भएपछि उक्त कार्यालयले विमानबाट कास्की पठाउने क्रममा हाल उनी सिमरा विमानस्थलमा रहेको जनाएको छ । जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख भोलानाथ निरौलासहितको टोलीले निजसँग बयान लिएको थियो । पर्सा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता किशोर लम्सालले अभियुक्त लामिछानेलाई सिमराबाट काठमाडौं हुँदै कास्की पुर्याइने जानकारी दिए ।

तोलामा २ हजारले बढ्यो सुन

काठमाडौं । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै स्थानीय बजारमा बुधबार प्रतितोला सुनमा दुई हजार रुपैयाँले वृद्धि भएको छ । मंगललबार एकतोला सुन एक लाख ५२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार चाँदीको मूल्य भने स्थिर छ । आज प्रतितोला चाँदी एक हजार ९२५ रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल स्वास्थ्य व्यवसायी महासंघ अध्यक्षमा कैलाश खड्का निर्वाचित

काठमाडौं । नेपाल स्वास्थ्य व्यवसायी महासंघको अध्यक्षमा कैलाश खड्का निर्वाचित भएका छन् । सोमबार सम्पन्न १९औं महाधिवेशनबाट खड्का अध्यक्षमा निर्वाचित भएका हुन् । महासंघको वरिष्ठ उपाध्यक्षमा महेशराज श्रेष्ठ, प्रथम उपाध्यक्षमा गायत्री जीसी, द्वितीय उपाध्यक्षमा धनबहादुर गिरी, महासचिवमा दाताराम काफ्ले, सचिवमा लिलाम्बर झा, कोषाध्यक्षमा रामपुकार तिवारी निर्वाचित भएका छन् । त्यस्तै केन्द्रीय सदस्यहरूमा चन्द्रमा राई, प्रवेश रोक्का क्षेत्री, दीपककुमार कार्की, वेलबहादुर श्रेष्ठ, केशर थापा, रोजिना शाक्य र रामप्रसाद लम्साल चयन भएका छन् । महाधिवेशनको उद्घाटन श्रममन्त्री शरतसिंह भण्डारीले गरेका थिए । मन्त्री भण्डारीले वैदेशिक रोजगारमा गएका श्रमिकलाई हिट स्ट्रेस, मृगौला फेल लगायत रोगबाट जोगाउन सरकारले प्रभावकारी स्वास्थ्य परिक्षणमा ध्यान दिइएको बताएका थिए । नवनिर्वाचित अध्यक्ष खड्काले मलेसिया जाने श्रमिकको मेडिकल फिट सम्बन्धी रिपोर्ट शतप्रतिशत गुणस्तरीय बनाउने अभियान जारी रहेको बताए । महासंघमा आबद्ध सबै स्वास्थ्य संस्थाहरूले अन्तर्राष्ट्रिय स्तरको मापदण्डलाई पूर्ण रूपमा अनुशरण गर्दै आइरहेको भन्दै उनले समय समयमा सरकारी निकायबाट भइरहेको अनुगमनबाट पनि यसको पुष्टि हुँदै आएको उनले बताए । कोही कसैलाई श्रमिकको स्वास्थ्यमा खेलवाड गर्ने छुट नभएको भन्दै उनले व्यावसायिक आचारसंहितालाई उच्च मनोबलका साथ प्रर्दशन गर्न कुनै कसुर बाँकी नराख्ने उनले बताए । अध्यक्ष खड्काले नेपाल र मलेसियावीच भएको श्रम सम्झौतालाई कार्यान्वयन गर्न आफ्ना सदस्य संस्थाहरूले कहीँ कतै कमजोरी नदेखिएको भन्दै प्रंशसा गरे । महाधिवेशनले महासंघको प्रगति र आर्थिक प्रतिवेदन समेत सर्वसम्मत रूपमा पारित गरेको छ । नेपाल स्वास्थ्य व्यवसायी महासंघ वैदेशिक रोजगारीमा जाने श्रमिकको गुणस्तरीय बायोमेडिकल स्वास्थ्य परीक्षण गर्न स्थापित स्वास्थ्य संस्थाहरूको छाता संगठन हो ।

एचआईडीसीएलको लाभांश घोषणा

काठमाडौं । हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल)ले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०८०/०८१ को वितरणयोग्य मुनाफाबाट लाभांश घोषणा गरेको हो । कम्पनी सञ्चालक समितिको मंसिर २६ बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । जसअनुसार कम्पनीले सेयरधनीहरूलाई चुक्तापुँजीको कुल ५.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । प्रस्तावित लाभांश नेपाल सरकारबाट स्वीकृत भएपछि मात्रै आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरूलाई वितरण गरिने कम्पनीले जनाएको छ ।

बैंकिङ प्रणालीबाट आज फेरि ४० अर्ब तान्दै राष्ट्र बैंक

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले लगातार निक्षेप संकलन उपकरण प्रयोग गर्दै पैसा खिचिरहेको छ । केन्द्रीय बैंकले आज मंसिर २६ गते फेरि बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ तान्ने भएको छ । अधिक तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणको प्रयोग गर्दै बैंकिङ प्रणालीबाट आज फेरि पैसा खिच्न लागेको हो। यसका लागि आज दिउँसो २ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ । निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् । निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् । यो २१ दिने निक्षेप संकलन उपकरणको पुस १७ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ ।

माछापुच्छ्रे बैंकले सेयरधनीलाई लाभांश नदिने

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने घोषणा गरेको छ । मंसिर २६ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले मुनाफाबाट सेयरधनीहरूलाई कुनै पनि लाभांश (बोनस सेयर र नगद) वितरण नगर्ने निर्णय गरेको हो । उक्त मुनाफा रकम ऋणपत्रको भुक्तानी कोषमा जम्मा गर्ने निर्णय पनि सञ्चालक समितिले गरेको छ । नेपाल राष्ट्र बैंकले स्वीकृती गरेपश्चात सो वित्तीय विवरण आगामी वार्षिक साधारण सभाले पारित गर्नेछ ।