विकासन्युज

सुन्तलाबाट मनग्य आम्दानी गर्दै कृषक, एउटै वडाबाट ३ करोडको बिक्री हुने अनुमान

तनहुँ । तनहुँको देवघाट गाउँपालिका–३ का कृषकहरुले सुन्तला बिक्रीबाट मनग्य आम्दानी गरिरहेका छन् । उक्त वडाको बाटक, लुङ्ग्रिङ, छिपछिपे, छापस्वाँरा, दगराबाट मात्रै यस वर्ष ३ करोड रुपैयाँ बराबरको सुन्तला बिक्री हुने कृषकको अनुमान छ । स्थानीय कृषक भीमबहादुर रानाले यस वर्ष यो वडाबाट ३ करोडभन्दा बढीको सुन्तला बिक्री हुने अनुमान गरिएको बताए । लुङ्ग्रिङमा एकै घरबाट २० लाखभन्दा बढीको सुन्तला बिक्री हुने उनले जनकारी दिए । विगतमा केही अन्नबाली उत्पादन नभएर भोकै बस्नुपर्ने बाध्यता भएका बाटकवासी केही वर्षयता भने सुन्तला बेचेरै लखपति बनेको स्थानीय कृषक प्रेम थापाले बताए । पछिल्लो समय यहाँका कृषकको मुख्य आम्दानी नै सुन्तला रहेको उनको भनाइ छ । उनले भने, ‘यहाँका कृषकले सुन्तलाखेतीबाट मनग्य आम्दानी गर्दै आएका छन् । पछिल्लो समय सुन्तलामा विभिन्न किसिमका रोग देखिँदा कृषक भने चिन्तित छन् ।’ सोही वडाका स्थानीय जितबहादुर थापाका अनुसार रोग नलागेको भए ३ करोडभन्दा बढीको सुन्तला बिक्री हुने अनुमान थियो । उनले भने, ‘३ करोडको सुन्तला बिक्री हुने अनुमान छ, तर रोग नलागेको भए अझै धेरै बिक्री हुन्थ्यो होला ।’ यहाँ करोडौँ मूल्य बराबरको सुन्तला उत्पादन भए पनि उक्त सुन्तलालाई बजारसम्म लैजान भने समस्या हुँदै आइरहेको छ । नदीपारि रहेको लुङग्रिङ, बाटक, छिपछिपे, छापस्वाँरा तथा दगरा गाउँलाई राजमार्गसम्म जोड्न त्रिशूली र सेती नदीमा पुल नहुँदा सुन्तला बजारसम्म लैजान समस्या हुने कृषकहरु बताउँछन् । लुङग्रिङ र छिपछिपेका कृषकले बुद्धसिंह मार्गको नाल्दीघाट तथा मुग्लिङ नारायणगढ सडकको गाईघाटसम्म जिपमा ल्याएर त्यहाँबाट बोकाएर झोलुङ्गे पुल तारेर राजमार्गसम्म ल्याउँछन् । छापस्वाँरा र दगराका कृषकले भने ग्राभिटी रोपवेमार्फत बुद्धसिंह मार्गमा झारेर त्यहाँबाट दमौली हुँदै काठमाडौँ लैजाने गरेका छन् । नाल्दी र गाइघाटमा पुल नहुँदा ढुवानी खर्च महंगो हुने गरेको कृषक हरिकुमार श्रेष्ठको भनाइ छ । उनले भने, ‘यहाँका स्थानीयले सुन्तला, अदुवा, केरा तथा अन्य फलफुल रोपवेबाट नै राजमार्गसम्म झार्ने गरेका छन् ।’ गाउँपालिका अध्यक्ष तिलबहादुर थापाले देवघाट तीन तिरबाट नदीले घेरिएको र उक्त ठाउँमा पुल नहुँदा समस्या भइरहेको बताए । रासस

नेपालमा चौंथोपटक १० लाखभन्दा बढी पर्यटक भित्रिए, सबैभन्दा धेरै कुन देशबाट ?

काठमाडौं । सन् २०२४ को ११ महिनामा १० लाखभन्दा बढी विदेशी पर्यटक भित्रिएका छन् । नेपाल पर्यटन बोर्डको तथ्यांकअनुसार जनवरीदेखि नोभेम्बरसम्ममा १० लाख ५५ हजार ५५३ जना पर्यटक नेपाल भ्रमण गर्न आइपुगेका हुन् । नेपालमा १० लाखभन्दा बढी पर्यटक भित्रिएको यो चौंथो पटक हो । तथ्यांकअनुसार अघिल्लो वर्ष अर्थात सन् २०२३ मा पनि नेपालमा १० लाख १४ हजार ८ सय ८२ जना विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । त्यसअघि सन् २०१८ मा नेपालमा ११ लाख ७३ हजार ७२ जना विदेशी पर्यटक भित्रिएका थिए । त्यस्तै, सन् २०१९ मा नेपालमा विदेशी पर्यटक भित्रिने संख्या ११ लाख ९७ हजार १ सय ९१ थियो । सन् २०२४ को नोभेम्बरमा मात्रै एक लाख १४ हजार ५०१ पर्यटक भित्रिएका छन् । गत वर्षको नोभेम्बरमा एक लाख ८ हजार ६३० पर्यटक नेपाल भित्रिएको थियो । तथ्यांकअनुसार गत वर्षको डिसेम्बरको तुलनामा यस वर्ष सबै मुलुकबाट भित्रिने पर्यटकको संख्यामा वृद्धि देखिएको छ । पर्यटन बोर्डका अनुसार नोभेम्बरमा सार्क मुलुकबाट सबैभन्दा बढी पर्यटक भित्रिएका छन् । सार्क मुलुकबाट ३१ हजार १६१ पर्यटक भित्रिएको छ । दोस्रोमा एसियाबाट २४ हजार ८९७ पर्यटक भित्रिएका छन् । गत वर्षको सोही अवधिमा एसियाबाट २२ हजार ४३८ पर्यटक भित्रिएका थिए । गत वर्षको नोभेम्बरको तुलनामा यस वर्ष नोभेम्बरमा युरोप मुलुकबाट भित्रिने पर्यटको संख्यामा पनि वृद्धि छ । गत वर्ष २२ हजार ६९३ पर्यटक भित्रिएकोमा यो वर्ष २६ हजार १५५ पर्यटक भित्रिएका छन् । समीक्षा महिनामा सबैभन्दा धेरै भारतबाट १९ हजार ९१५ पर्यटक नेपाल भ्रमणका लागि भित्रिएका छन् । यो गत वर्षको सोही अवधिको तुलनामा १८.५ प्रतिशतले कमी हो । गत वर्षको सोही महिनामा २४ हजार ४४३ पर्यटक भित्रिएका थिए । भारतपछि सबैभन्दा बढी पर्यटक अमेरिकाबाट १० हजार ९८१ पर्यटक भित्रिएका छन् । जुन गत वर्षको भन्दा ७.७ प्रतिशतले बढी पर्यटक भित्रिएको छ । गत वर्षको सोही अवधिमा ६ हजार १३८ पर्यटक नेपाल भ्रमणमा आएका थिए । त्यस्तै, नेपालमा सबैभन्दा धेरै पर्यटक भित्रिने तेस्रो मुलुकमा चीन रहेको छ । नोभेम्बरमा चीनबाट ६ हजार ६११ पर्यटक भित्रिएको बोर्डको तथ्यांक छ । यो संख्या पनि गत वर्षको तुलनामा २४.४ प्रतिशतले बढी हो । चीनपछि बेलायतबाट धेरै पर्यटक भित्रिएका छन् । बेलायतबाट नोभेम्बरसम्ममा ६ हजार ६११ पर्यटक भित्रिएका छन् । जुन गत वर्षको भन्दा ७.७ प्रतिशतले बढी हो ।

स्वास्थ्य मन्त्रालयद्वारा जनसंख्या नीति परिमार्जनका लागि प्रक्रिया सुरु

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राष्ट्रिय जनसंख्या नीति २०७१ लाई संसोधन गरेर नयाँ नीति ल्याउन प्रक्रिया अघि बढाएको छ । यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले विज्ञहरुसँग परामर्श थालेका छन् । राजधानीमा मन्त्रालयले योजना आयोग, विषयगत मन्त्रालय तथा विज्ञसँग सुझाव संकलन गरेको छ । कार्यक्रममा बोल्दै मन्त्री पौडेलले नेपालको जनसंख्या वृद्धिदर घटिरहेको र गाउँका बस्ती रित्तो बनिरहेको सन्दर्भमा पुरानो नीतिमा परिमार्जन गर्नुपर्ने आवश्यकता महसुस गरेर छलफल थालिएको बताए । उनले नेपालको जनगणना २०७८ को नतिजाले ३४ जिल्ला र तीन सय १९ तहमा जनसंख्या ऋणात्मक रहेको भन्दै बढ्दो असन्तुलनलाई कम गर्नका लागि सम्बोधन गरेर राष्ट्रिय जनसंख्या नीति परिमार्जन गर्न आवश्यक रहेको बताए । सहरी क्षेत्रमा बसाइंसराई बढ्ने तथा विदेश जानेको संख्या वृद्धि हुनुमा रोजगारी र अवसर अभाव प्रमुख समस्या रहेको भन्दै उनले यसका लागि नीतिगत सुधार आवश्यक रहेको महसुस गरेर ऐन परिमार्जनमा लागेको बताए । हाम्रो प्रजनन दर ऋणात्मक हुने अवस्थामा नजाओस्, त्यसको असर जनसांख्यिक विकासमा नपरोस् भनेर अपनाउँदै आएको नीतिमा परिमार्जन गर्न खोजेका छौं, उनले भने, हामी नीतिगत परिमार्जनका लागि तयार छौं । तर यो हाम्रो मात्र नभएर पालिका सरकारको पनि जिम्मेवारी हो । मन्त्री पौडेलले पालिकाभित्र जनसंख्या किन घट्यो भनेर पालिका सरकारहरु पनि चिन्तित हुनुपर्ने उल्लेख गर्दै मिलेर समस्या समाधान गर्ने बताए । ‘आफ्नो पालिकाभित्र जनसंख्या किन घट्यो भनेर पालिकाहरुले पनि सोच्नु जरुरी छ,’ उनले भने, ‘हामीले बाहिर जाने कारण पत्ता लगाएर त्यसलाई कसरी रोक्न सकिन्छ भनेर सहकार्य गरौं । हामी तयार छौं ।’ मन्त्रालयले विज्ञहरुको सुझावका आधारमा ऐन परिमार्जन गरेर संसोधनका लागि संसदमा लैजाने गरी परामर्श गरिरहेको प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए ।

अंग प्रत्यारोपण गर्ने दुई संस्थाबीच एकता

काठमाडौं । नेपालमा मानव अंग प्रत्यारोपण गर्ने दुई संस्थाबीच एकता भएको छ ।  सोसाइटी अफ अर्गान ट्रान्सप्लान्टेसन ( एनइएसओटी) र नेपाल ट्रान्सप्लान्टेसन सोसाइटी (एनटीएस) बीच एकता भएको हो । एकताको लागि दर्ता प्रक्रियामा रहेको संस्थाको नाम सोसाइटी अफ अर्गान ट्रान्सप्लान्ट अफ नेपाल रहेको छ । एकीकृत संस्थाको ३ वर्षसम्म डा. पुकारचन्द्र श्रेष्ठ अध्यक्ष  बन्ने सहमति भएको छ भने, त्यसपछि अर्को कार्यकाल डा. दिव्या सिंह शाहले गर्ने सहमति भएको छ । त्यसपछिको नेतृत्वका लागि भने निर्वाचन हुने छ । यसैबीच मानव अङ्ग प्रत्यारोपण गर्ने संस्थाको आयोजनामा प्रत्यारोपण सम्मेलन हुने भएको छ । ‘द हिमालयन ट्रान्सप्लान्ट कन्फरेन्स’ नाम दिइएको सम्मेलन यही मंसिर २९ र ३० गते काठमाडौंमा हुने जनाइएको छ । सम्मेलनमा चिकित्सक र अनुसन्धानकर्ताहरूले आफ्नो कार्यपत्र प्रस्तुत गर्ने छन् । भारत, अमेरिका बेलायत, जापान, नेदरल्यान्ड लगायतका देशका प्रत्यारोपण विज्ञ सम्मेलनमा सहभागी हुने डा.श्रेष्ठले जानकारी दिए ।  सम्मेलनमा भारत, अमेरिका बेलायत, जापान, नेदरल्यान्ड लगायतका देशका प्रत्यारोपण विज्ञ सहभागी हुने भएका छन् ।  

वायु प्रदुषणका कारण विद्यार्थी र कर्मचारीलाई घरमै बस्न निर्देशन

काठमाडौं । इरानको राजधानी तेहरानमा बुधबार र बिहीबार ‘अस्वस्थ’ वायु प्रदूषणका कारण विद्यार्थी र सरकारी कर्मचारीलाई घरभित्रै बस्न आदेश दिइएको इरानको सरकारी सञ्चारमाध्यमले जनाएका छन्। उच्च प्रदूषणको स्तर रहेको तेहरानमा हालैका दिनहरूमा धुवाँ तथा तुवालोका कारण प्रदूषणको मात्रा ह्वात्तै बढेको छ । अल्बोर्ज पर्वतको दक्षिणी फेदमा अवस्थित तेहरानमा बुधबार स्थानीय सञ्चारमाध्यमले अधिकारीहरूलाई उद्धृत गरी वायुको गुणस्तर ‘अस्वस्थ’ स्तरमा पुगेको अर्थात् औसत वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) १७० पुगेको बताएका छन् । राजधानीमा केही विशिष्ट शाखाबाहेक सबै सङ्ग्रहालय र बैङ्कहरू बन्द गरिएको थियो । इरानको चार सय ३५ मिटर अग्लो ऐतिहासिक मिलाद टावर बुधबार बिहान मुस्किलले देखिएको थियो । प्रदूषणले मध्य इरानको इस्फाहान र उत्तरपश्चिमको ताब्रिजलगायत अन्य प्रमुख शहरहरूमा पनि प्रभाव पारिरहेको छ । दक्षिणपश्चिममा रहेको अहवाजमा पनि प्रदूषणको मात्रा उच्च रहेको सरकारी टेलिभिजनले जनाएको छ । स्थानीय सञ्चारमाध्यमले केही औद्योगिक पूर्वाधारको जीर्ण अवस्था, पुरानो सवारी साधनको र गुणस्तरहीन पेट्रोलका कारण प्रदूषण बढेको बताएका छन् । हालैका हप्ताहरूमा, सरकारले केही पावर प्लान्टहरूमा प्रयोग हुने ईन्धनलाई पनि योगदानको कारकको रूपमा हेरेको छ । इरानका स्वास्थ्यमन्त्री मोहम्मद–रेजा जफरघान्डीका अनुसार वायु प्रदूषणका कारण हरेक वर्ष देशभर करिब ५० हजार मानिसको अकालमा मृत्यु हुने गरेको छ ।

निर्माण व्यवसायी र सिमेन्ट उत्पादक संघबीच सिमेन्टको मूल्य घटाउने सहमति

काठमाडौं । सिमेन्ट उद्योगी व्यवसायीले सिमेन्टको मूल्य घटाउने प्रतिबद्धता जनाएका छन् । बुधबार निर्माण व्यवसायी महासंघ र सिमेन्ट उत्पादक संघबीच उद्योग मन्त्रालयमा भएको छलफलमा सिमेन्टको मूल्य घटाउने सहमति भएको निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले जानकारी दिए । छलफलपछि सञ्चारकर्मीहरूसँग अध्यक्ष सिंहले काठमाडौं उपत्यकामा ओपिसी सिमेन्ट ७०० रुपैयाँमा उपलब्ध गराउन सिमेन्ट व्यवसायीहरूले प्रतिवद्धता गरेको जानकारी दिए । सिंहका अनुसार काठमाडौं उपत्यकामा अब ६०० रुपैयाँमा पीपीसी सिमेन्ट उपलब्ध हुनेछ । आफूहरूले सिमेन्ट उद्योगहरू धराशायी हुने गरेर बजार भाउ नघटाउन र निर्माण व्यवसायीलाई मार पर्नेगरी नबढाउन सुझाव दिएको सिंहको भनाइ छ । ‘हामीले उहाँहरूलाई सिमेन्ट उद्योगीहरू धराशायी हुने गरेर बजार भाउ पनि राख्नु भएन । बजार घाटालाई हेरेर जसरी उहाँहरुले अहिले फ्याक्ट्रीमा सात सय रुपैयाँ पुर्‍याउनु भएको छ,’ सिंहले भने,  ‘आफ्ना आफ्ना समस्याहरू राख्ने काम भएको छ । अब यही अनुसार सिमेन्ट व्यवसायीहरूले काठमाडौंमा ७०० रुपैयाँमा ओपिसी सिमेन्ट र ६०० रुपैयाँमा पीपीसी सिमेन्ट उपलब्ध गराउने हाम्रो बीचमा सहमति भएको छ । त्यो स्वागतयोग्य छ।’ सिमेन्ट उत्पादक संघले नयाँ मूल्यसूची छिट्टै कार्यान्वयन गर्ने सिंहले विश्वास व्यक्त गरे ।

अमेरिकाले रुसी सम्पत्तिबाट भएको नाफाबाट युक्रेनलाई २० अर्ब डलर ऋण दिने

एजेन्सी । संयुक्त राज्य अमेरिकाले रुसी सम्पत्तिबाट प्राप्त आम्दानीबाट युक्रेनलाई २० अर्ब डलर ऋण वितरण गरेको छ । यो जी–७ को ५० अर्ब डलरको समर्थन प्याकेजको हिस्सा हो । यो रकम अक्टोबरमा जी–७ उन्नत अर्थतन्त्रहरूले अन्तिम रूप दिएको ५० अर्ब डलरको नयाँ ऋणको महत्त्वपूर्ण हिस्सा हो । यसको उद्देश्य मस्कोको जारी आक्रमण विरुद्ध लड्न सङ्घर्ष गरिरहेको बेला किएभलाई मद्दत गर्नु हो । जनवरीमा राष्ट्रपति जो बाइडेनले डोनाल्ड ट्रम्पलाई सत्ता हस्तान्तरण गर्नुअघि युक्रेनी पक्षमा अमेरिकी समर्थनको भविष्यबारे प्रश्नहरू उठ्दा यी कोषहरू अत्यन्त महत्त्वपूर्ण समयमा आएका छन् । आगामी राष्ट्रपतिले सन् २०२२ मा रुसको आक्रमणपछि युक्रेनलाई दिइएको आर्थिक सहयोगको स्तरमा प्रश्न उठाउँदै बिहीबार किएभलाई दिइने सहायता ‘सम्भवतः’ कम गर्ने बताए । ‘रुसको आफ्नै अचल सम्पत्तिबाट कमाएको अप्रत्याशित आयबाट भुक्तान गरिएका यी कोषहरूले युक्रेनलाई अनावश्यक आक्रमण विरुद्ध आफ्नो देशको रक्षा गर्दा सहयोगको महत्त्वपूर्ण प्रवाह प्रदान गर्नेछ’, अमेरिकी अर्थमन्त्री जेनेट येलेनले विज्ञप्तिमा भने, ‘जी–७ का ऋणहरूले युक्रेनलाई आपत्कालीन सेवा, अस्पताल र आफ्नो साहसी प्रतिरोधका अन्य आधारहरू सञ्चालन गर्न आवश्यक स्रोतहरू सुनिश्चित गर्न सहयोग गर्नेछन् ।’ युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले मङ्गलबार यसलाई ‘न्यायको शक्तिशाली कार्य’ भन्दै वितरणका लागि ‘गहिरो कृतज्ञ’ भएको बताए । ‘यो समर्थनले युक्रेनको रक्षालाई बलियो बनाउनेछ र हाम्रो सार्वभौमिकता र जनतालाई अनावश्यक आक्रमणबाट जोगाउन मद्दत गर्नेछ’, उनले छुट्टै विज्ञप्तिमा भनेका छन् । यो कदम अमेरिका र यसका सहयोगीहरूबीच कानून भङ्ग नगरी युक्रेनलाई सहयोग गर्न निष्क्रिय रुसी सम्पत्तिको उपयोग गर्ने सर्वोत्तम तरिकाबारे लामो वार्तापछि आएको हो । ‘युक्रेनमा क्रूर आक्रमण गरेको रुसले आफ्नो आक्रामकता अन्त्य नगरेसम्म र युक्रेनलाई क्षति पुर्याएसम्म हाम्रो क्षेत्राधिकारमा रूसी सार्वभौम सम्पत्ति स्थिर रहने जी–७ ले प्रतिबद्धता जनाएको छ’, ह्वाइट हाउसका प्रेस सचिव करिन जिन–पियरेले मङ्गलबार पत्रकारहरूलाई भने, ‘अमेरिका र जी–७ अब त्यस प्रतिबद्धतालाई वास्तविक बनाउँदैछन् ।’ युरोपेली सङ्घ (इयु) ले रुसको केन्द्रीय बैंकबाट करिब दुई खर्ब ३५ अर्ब डलर कोष फ्रिज गरेपछि विश्वव्यापी रूपमा मस्कोको अधिकांश अचल सम्पत्तिको घर बनेको छ । यसको करिब ९० प्रतिशत बेल्जियममा आधारित अन्तर्राष्ट्रिय निक्षेप संस्था युरोक्लियरको स्वामित्वमा छ । वासिङ्टनले विश्व बैंकलाई २० अर्ब डलर हस्तान्तरण गरेको अर्थ मन्त्रालयले बताएको छ । बैंकले मौजुदा कोषमार्फत युक्रेनलाई रकम उपलब्ध गराउनेछ । इयुले पहिले नै रुसी निष्क्रिय सम्पत्तिद्वारा समर्थित करिब १९ अर्ब डलरको ऋण प्रतिबद्धता व्यक्त गरेको छ भने बेलायत, क्यानाडा र जापानले पनि योगदान गर्ने बताएका छन् । युक्रेनलाई ५० अर्ब डलरको ऋण जी–७ देशहरूबाट २०२२ देखि प्राप्त अन्य सहयोगमाथि थपिएको छ । यसमा वासिङ्टनबाट करिब ६० अर्ब डलरको सैन्य सहायता र इयु तथा यसका सदस्य राज्यहरूबाट करिब एक खर्ब २० अर्ब युरो (करिब एक खर्ब २७ अर्ब डलर) को समर्थन समावेश छ ।

४५ अंकले बढ्यो नेप्से, ५ अर्ब बढीको कारोबार

काठमाडौं । साताको चौथो दिन बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले बढेको छ । आज नेप्से ४५.८८ अंकले बढेर २७१५.७१ बिन्दुमा पुगेको छ । लगातार पाँच दिनसम्म घटेको बजार आज उच्च अंकले बढेको हो । बुधबार २११ वटा कम्पनीको सेयर मूल्य बढ्दा २९ वटा कम्पनीको सेयर मूल्य घटेको छ । ३ वटा कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन भएको छैन । साथै, ३०३ वटा कम्पनीको १ करोड १३ लाख ८६ हजार ८५४ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ५ करोड ६५ लाख रुपैयाँ बढीको कारोबार भएको छ । जसमध्ये, सबैभन्दा धेरै कारोबार जानकी फाइनान्स कम्पनी लिमिटेडले गरेको छ । जानकीले ३६ करोड १५ लाख रुपैयाँ बढीको कारोबार गरेको हो । यस्तै, रिभर फल्स पावर लिमिटेडले २० करोड २५ लाख, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडले ११ करोड ८१ लाख, जोशी हाइड्राेपावर डेभलपमेन्ट कम्पनीले ९ करोड ८५ लाख बढीको काराेबार गरेका छन् । आज कम्पनीहरूको सेयर ९.९७ प्रतिशतसम्म बढेको छ भने ९.९९ प्रतिशतसम्म घटेको छ । ज्यादी हाइड्रो पावर, कुथेली बुखरी स्मेल हाइड्रोपावर, नारायणी डेभलपमेन्ट बैंक, माथिल्लो मैलुङ खोला जलविद्युत, राप्ती हाइड्रो एण्ड जनरल कन्ट्रक्सनको ७.१६ प्रतिशतदेखि ९.८७ प्रतिशतले बढेको छ । आज म्युचुअल फन्डबाहेक सबै उपसमूह हरिया रहेका छन् ।