अन्तर्राष्ट्रियस्तरमा नेपाली र्यापको चर्चा
काठमाडौं । नेपाली गीतसङ्गीतमा ‘र्याप’ को छुटै स्थान छ । भनिन्छ, र्यापले नचाउँछ, विद्रोहको भाव जगाउँछ र नयाँ पुस्ताको प्रतिनिधित्व पनि गर्छ । लोकगीत र सुगम सङ्गीत नेपालमा रुचाइने सदाबहार विधा हुन् । यद्यपि नयाँ पुस्ता र्यापतर्फ पनि उत्तिकै आकर्षित छन् । पप विधाअन्तर्गत रहेको र्यापलाई ‘एक्प्रेस योर सेल्फ’ भन्ने गरिन्छ । र्यापले आफ्नो भोगाई र समाजको देखाइलाई व्यक्त गर्ने गरेको छ । पछिल्लो समय नेपाली र्याप र र्यापरको चर्चा राष्ट्रिय रूपमा मात्रै होइन अन्तर्राष्ट्रियस्तरमा पनि हुने गरेको छ । विदेशी र्यापरले नेपाली र्यापरको चर्चा गरेपछि यसप्रतिको आकर्षण र यसको बजार पनि बढ्दै गएको बताइन्छ । र्यापर गिरिस खतिवडा पछिल्लो समय र्यापको सुनौलो समय आएको बताउँछन् । ‘हामी कलाकारको लागि र्याप एउटा थेरापी जस्तै हो, मनको कुरा पोख्न पाएका छौँ । र्यापले गाउँको समस्या सहरसम्म र सहरको समस्या गाउँसम्म बुझाएको छ, किनकि म आफैँ सहरमा बस्न थालेपछि गाउँलाई र्यापमार्फत पनि चिन्ने गरेको छु,’ उनले भने । खतिवडाले आफूले र्यापलाई मनको कुरा व्यक्त गर्ने माध्यमको रूपमा लिएको बताउँछन् । अन्य माध्यमको तुलनामा सजिलै भावना व्यक्त गर्न सकिने माध्यम र्याप रहेको उनको बुझाइ छ । अर्का र्यापर मानस घलेले नयाँ पुस्तामा र्यापप्रति बढेको आकर्षणले सङ्गीतमा छुटै स्थान बनाउन सफल भएको बताए । ‘हामीले र्यापलाई नेपालभर प्रचार गर्ने प्रयास गरेका थियौँ तर अहिलेको पुस्ताले यसलाई अन्तर्राष्ट्रियकरण गरेको छ । नेपाली भाषा नबुझ्ने पनि हाम्रो श्रोता बन्नुभएको छ । हामीले रहरमा सुरू गरेको र्याप अहिले पेसा बनिसकेको छ । अहिले र्याप गायनबाटै जीविकोपार्जन गर्न सकिन्छ,’ उनले भने । र्यापरप्रति सामाजिक धारणा फेरिएकै कारण काठमाडौं महानगरपालिकाले र्यापर बालेनलाई प्रमुखको रूपमा पाएको उनले बताए । पछिल्लो समय नवोदितसँगै पुराना र्यापरको माग स्टेज कार्यक्रममा पनि बढ्दै गएको छ । नेपाल मात्र नभई विदेशमा पनि उत्तिकै लोकप्रिय छन्, र्यापर । यद्यपि र्यापलाई चाहिनेभन्दा बढी बद्नाम गर्नेको पनि कमि नरहेको र्यापर हाकिमले बताए । ‘र्याप भनेको भावना व्यक्त गर्ने भएकाले यसमा बन्देज हुँदैन, यसकारण पनि हामीले मनमा लागेको शब्दलाई कुनै फिल्टर नगरी बाहिर ल्याउछौँ तर यो भन्दैमा अश्लीलतालाई प्रवर्द्धन गर्नु हुँदैन । र, जसले अश्लील, अपाच्य शब्दकै सहारामा मात्र र्याप बनाउने गरेका छन्, ती चर्चाको लागि आएका र्यापर हुन् । किनकि र्यापमा बेदना, भोगाई र बुझाइ हुन्छ,’ उनले भने । र्यापरलाई सुरुआती समयमा आर्थिक कठिनाई र सामाजिक सद्भाव नभएका कारण ती पीडा र्यापमार्फत बाहिर आउने गरेको गयाक ब्रिजेश श्रेष्ठको बुझाइ छ । गीत रेकर्डिङ स्टुडियोसमेत सञ्चालन गरिरहेका उनले नवोदितको पीडा राम्रोसँग बुझेको बताए । ‘मसँग स्टुडियो भएकाले नयाँको पीडालाई नजिकबाट अनुभव गरेको छु । उनीहरूको रहरमा समाज र परिवार बाधक बन्ने गरेको सुनेको छु, किनकि र्यापलाई अहिले पनि रहरिया भन्ने गरिन्छ । त्यहीकारण मैले प्रतिभावान केहीलाई निःशुल्क रेकर्डिङ गरिदिने गरेको छु । यो पेसालाई सहजै स्वीकार नगरिएकै प्रभाव र्यापमा देखिएको पनि हुन् सक्छ,’ गायक श्रेष्ठले भने । उनी केही समय अगाडि गीतसङ्गीत छाडेर विदेश पनि जानु भएको थियो तर आफ्नो ‘प्यासन’ जीवित रहँदै नेपाल फर्किएर पुनःगीतसङ्गीतमा सक्रिय भएका छन् । श्रेष्ठ गीतसङ्गीतलाई सबैले सुन्ने र हेर्ने बनाउनुपर्ने बताउँछन् । हाल र्यापको अवस्था नेपालमा राम्रो देखिनु खुसीको विषय भए पनि र्यापरले परिवेश र भविष्य हेर्ने भन्दा पनि आफ्नो भावना व्यक्त गर्ने गरेको र्यापर खतिवडाको धारणा छ । ‘हामीले र्याप हान्ने हो, आफूलाई व्यक्त गर्ने हो । यसको भविष्य के होला वा हाम्रो स्कोप कस्तो छ भनेर सोच्ने नै होइन । र्यापले मलाई खुसी र सन्तुष्टी दिएको छ, त्यहि भएर म अहिलेसम्म सक्रिय छु,’ उनले भने । र्यापर घले हाल विभिन्न रियालिटी ‘सो’ हरू निर्माण भइरहेकाले पनि र्यापमा भविष्य खोज्नेलाई सहज भएको बताउँछन् । ‘हाल आइरहेका विभिन्न कार्यक्रमले एउटा बाटो देखाएको छ तर मेहनती चाहिँ हुनुपर्छ किनकि मेहनती नहुँदा त्यसको प्रतिफल पाउन सकिँदैन । अहिले सहजता बढेसँगै प्रतिष्पर्धा पनि बढेको छ । त्यसैले यसलाई नै पेसा बनाउन मेहनत आवश्यक छ,’ उनले भने । र्यापर हाकिमले ‘जी-बब’जस्ता र्यापर ‘रियालिटी शो’मार्फत नै आएको बताए । उनीसहितको टिमले विभिन्न ‘सो’समेत गर्ने गरेको छ । र्यापलाई पेसा बनाउन सके यसमा राम्रो भविष्य उनले देखेका छन् । ‘अहिले नेपाल मात्र नभई विदेशमा समेत कार्यक्रममा सहभागिता जनाउन सके र्यापरका लागि उत्तम समय छ । आउँदो दिन झनै राम्रो देखिएको छ । अहिले र्यापलाई लिएर सामाजिक धारणासमेत फेरिएको छ । म निकै खुसी छुँ,’ र्यापर हाकिमले भने । उनको ‘राक्षस’, ‘चोरीदेउ लौन मलाई’ लगायतका गीत लोकप्रिय छ । ती गीतको समयमा यसलाई ‘प्यासन’को रूपमा हेरिएको उनले स्मरण गरे । नयाँ पुस्ताको आगमन बढेसँगै केही अश्लीलता बढेकामा भने धेरै जसोको चिन्ता छ । ‘अहिले बढिरहेको लोकप्रियताले र्याप नबुझी आउनेलाई यहाँ टिक्न दिँदैन । यहाँ टिक्न र र्याप गाउन त लगाव चाहिन्छ, नत्र एउटा र्याप बनाउने र हराउने हुन्छ । यद्यपि आउँदो समय नेपाली र्यापका लागि राम्रो देखिएको छ,’ र्यापर हाकिमले भने । र्यापरद्वय खतिवडा र घलेको पनि यस्तै सल्लाह छ । उनीहरू नवोदितका लागि यसै क्षेत्रमा राम्रो भविष्य देख्छन् ।
उपत्यकामा चिसो झन् बढ्यो, काठमाडौंको तापक्रम ३.९ डिग्रीमा झर्याे
काठमाडौं । काठमाडौं उपत्यकामा निरन्तर तापक्रम घटिरहेको छ । यो क्रम जारी रहने मौसमविद्हरूले बताएका छन् । यद्यपि यहाँको मौसम भने सफा रहने छ । आज बिहान यहाँको न्यूनतम तापक्रम ३.९ डिग्री सेल्सियस रेकर्ड गरिएको तथा अहिले त्यो चार डिग्री सेल्सियस रहेको मौसमविद् सरोज पुडासैनीले बताए । आज यहाँको अधिकतम तापक्रम १७ देखि १९ डिग्री सेल्सियसका बीच रहने छ । आज ६ः४५ बजे सूर्योदय हुनेछ भने अपराह्न ५ः१० मा सूर्यास्त हुनेछ । जल तथा मौसम विज्ञान विभागको नियमित मौसम बुलेटिनअनुसार अहिले देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको छ । साथै तराई तथा उपत्यका धेरै स्थानमा हुस्सु र केही स्थानमा कुहिरो लागेको छ । विभागका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ भने आज राति सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी, बागमती र कोशी प्रदेशका केही भागमा आंशिक बदली रही बाँकी भेगमा मौसम सफा रहने छ । शुक्रबार बिहान तराई तथा उपत्यका धेरै स्थानमा हुस्सु तथा केही स्थानमा कुहिरो लाग्ने सम्भावना रहेकाले त्यसबाट दैनिक जनजीवन, यातायात तथा हवाई उड्डयनमा आंशिक असर पर्न सक्ने जनाउँदै विभागले सोहीअनुरुप आफ्ना गतिविधि सञ्चालन गर्न सम्बन्धित सबैमा अनुरोध गरेको छ ।
एडीबीसँग २१ अर्ब २३ करोड ऋण र अनुदान लिने सहमति
काठमाडौं । नेपाल सरकार र एसियाली विकास बैंक (एडीबी) बीच नवीनतम यान्त्रिक सिँचाइ आयोजना (एमआईआईपी) र जलवायु लचिलो परिदृश्य र जीविका आयोजनाका लागि करिब २१ अर्ब २३ करोड रुपैयाँ (१५ करोड ७० लाख अमेरिकी डलर) को सहुलियतपूणर् ऋण र अनुदान सम्झौतामा बुधबार हस्ताक्षर सम्पन्न भएको छ । नवीनतम यान्त्रिक सिँचाइ आयोजना कार्यान्वयनका लागि १ करोड ५० लाख अमेरिकी डलर (करिब २ अर्ब रुपैयाँ) अनुदान र ११ करोड अमेरिकी डलर (करिब १४ अर्ब ८८ करोड रुपैयाँ) ऋण सम्झौतामा नेपाल सरकारको तर्फबाट अर्थसचिव डा. रामप्रसाद घिमिरे र एसियाली विकास बैंकको तर्फबाट नेपालका लागि कन्ट्री डाईरेक्टर अर्नाउड कचोइसले हस्ताक्षर गरेका छन् । यस आयोजनाबाट किसानहरूले प्रिपेड कार्ड प्रणाली मार्फत उन्नत सिँचाइ प्रविधिहरूको प्रयोगबाट आफ्नो खेतको आवश्यकता अनुसार सिंचाइको लागि पहुँच प्राप्त गर्न सक्नेछन् । यो आयोजना मधेस प्रदेशका रौतहट र सर्लाही जिल्लामा लागू हुने र यसबाट एक लाख २१ हजारभन्दा बढी किसान लाभान्वित हुनेछन् । परियोजनाको प्राथमिक उद्देश्यहरू कृषि उत्पादकत्वमा सुधार, वर्षभरी सिँचाइ सुनिश्चित गर्नु र खाद्य सुरक्षामा योगदान पुर्याउनु हो।त्यसैगरी, यस परियोजनाले यस क्षेत्रमा भूमिगत सिँचाइ प्रणालीको दीर्घकालीन दिगोपनको लागि डिजाइन, निर्माण र सञ्चालन मोडालिटी प्रयोग गर्ने र सिँचाइ व्यवस्थापन कम्पनीको समेत स्थापना गर्ने अर्थमन्त्रालयले जनाएको छ । त्यसैगरी, सीएलआरआरपी कार्यान्वयनका लागि २२ मिलियन अमेरिकी डलर (करीब २ अर्ब ९७ करोड रुपैयाँ)को अनुदान सम्झौता र एक करोड अमेरिकी डलर (करीब १ अर्ब ३५ करोड रुपैयाँ)को ऋण सम्झौतामा अर्थ मन्त्रालयका सहसचिव धनीराम शर्मा र अर्नाउड कचोइस, नेपालका लागि एडिवीका निर्देशक अर्नाउड काचोइसले नेपाल सरकार र एडिवीको तर्फवाट हस्ताक्षर गरेका छन् । सीएलआरआरपीले जलवायु परिवर्तनको प्रभावबाट अत्यधिक जोखिममा रहेका कणर्ाली र सुदूरपश्चिम प्रदेशका ग्रामीण समुदायहरूको जलवायु लचिलोपन बढाउनमा केन्द्रित छ। यस परियोजनाले पानीको उपलब्धता सुनिश्चित गर्न सम्बोधन गर्ने, प्रकृतिमा आधारित जीविकोपार्जनलाई प्रवर्द्धन गर्ने र जलस्रोतको दिगो व्यवस्थापन मार्फत स्थानीय समुदायहरूलाई सशक्त बनाउने अर्थमन्त्रालयले जनाएको छ । आयोजनाले दिगो जल व्यवस्थापन, कृषि वन, सिल्भिकल्चर र वन व्यवस्थापनमा ध्यान केन्द्रित गरी जलवायु चुनौतीहरूसँग अनुकूलन गर्न समुदायहरूलाई सशक्त बनाउने लक्ष्य राखेको छ । त्यसैगरी, सीआरएलएलपीको आयोजना सम्झौतामा वन तथा वातावरण मन्त्रालयका सहसचिव बद्रीराज ढुंगाना, कणर्ाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव श्री दीर्घ नारायण कोइराला, सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालय र नेपालका लागि एडिवीका निर्देशक अर्नाउड काचोइसले हस्ताक्षर गरेका छन् ।
चार महिनामा काठमाडौं महानगरको १२ प्रतिशत बजेट खर्च, कुन महानगरको कति ?
काठमाडौं । देशभर रहेका ६ महानगरपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चौमासिकमा लक्ष्यअनुसारको बजेट खर्च गर्न सकेको छैनन् । पहिलो चौमासिक अर्थात् कार्तिक मसान्तसम्ममा काठमाडौं महानगरपालिकाले ३ अर्ब ८ करोड ८४ लाख बजेट खर्च गरेको छ । जुन महानगरपालिकाले विनियोजन गरेको कुल बजेटको १२.४ प्रतिशतमात्रै प्रगति हो । चालु आवको लागि महानगरले २४ अर्ब ९० करोड ६३ लाख बजेट विनियोजन गरेको थियो । महानगरले सोही अवधिमा एक अर्ब २८ करोड २९ लाख पुँजीगत बजेट खर्च गरेको छ । चालु आवको लागि महानगरले पुँजीगततर्फ १५ अर्ब २ करोड २८ लाख बजेट छुट्याएकोमा सो रकम बराबरमात्रै खर्च भएको हो । तथ्यांकअनुुसार महानगरले पहिलो चौमासिकमा चालुतर्फ १ अर्ब ८० करोड ५४ लाख बजेट खर्च गरेको छ । महानगरले चालु आवको लागि कुल ९ अर्ब ७५ करोड ४९ लाख बजेट विनियोजन गरेको थियो । कुन महानगरको कति बजेट खर्च ? ललितपुर महानगरपालिका ललितपुर महानगरपालिकाले चालु आवको चार महिनामा ३३ करोड २९ लाख पुँजीगत खर्च गरेको छ, जुन विनियोजित कुल पुँजीगत खर्चको ७.११ प्रतिशत हो । महानगरले चालु आवको लागि ४ अर्ब ६७ करोड ९४ पुँजीगततर्फ बजेट छुट्याएको थियो । त्यस्तै, चालुतर्फ कुल २ अर्ब ७८ करोड ८९ लाख बजेट विनियोजन गरेकोमा महानगरले पहिलो चौमासिकमा ५३ करोड ३६ लाख मात्रै चालु बजेट खर्च गरेको छ । यो विनियोजित कुल बजेटको २६.०४ प्रतिशत खर्च भएको महानगरले जनाएको छ । महानगरले चालु आवको लागि ७ अर्ब ४६ करोड ८३ लाख बजेट विनियोजन गरेको थियो । भरतपुर महानगरपालिका भरतपुर महानगरपालिकाले चालु आव २०८१/८२ को लागि कुल ६ अर्ब ५६ करोड १ लाख बजेट विनियोजन गरेको थियो । महानगरले कुल विनियोजित बजेटमध्ये पहिलो चौमासिकसम्ममा ७३ करोड ३५ लाख खर्च गरेको छ जुन कुल बजेटको ११.१८ प्रतिशत प्रगति हो । कार्तिक मसान्तसम्ममा महानगरले २२ करोड ७७ लाख पुँजीगत बजेट खर्च गरेको महानगरपालिको सूचना अधिकारी मेनुका पण्डितले बताइन् । जुन विनियोजित बजेटको ५.९६ प्रतिशत हो । सूचना अधिकारी पण्डितका अनुसार चालु आवको लागि महानगरले पुँजीगततर्फ ३ अर्ब ८२ करोड ४८ लाख बजेट छुट्याएको थियो । त्यस्तै भरतपुर महानगरले चालुतर्फ २ अर्ब ७३ करोड ५२ लाख बजेट विनियोजन गरेकोमा चार महिनामा ५० करोड ५७ लाख खर्च भएको छ । जुन समग्र बजेटको १८.४८ प्रतिशत प्रगति हो । पोखरा महानगरपालिका पोखरा महानगरपालिकाले चालु आवको पहिलो चौमाासिकमा कुल विनियोजित बजेको १५ प्रतिशत बजेट खर्च गरेको छ । महानगरले चालु आवको लागि कुल ७ अर्ब ५१ करोड ३२ लाख बजेट छुट्याएकोमा एक अर्ब १२ करोड ७४ लाख बजेट खर्च गरेको हो । महानगरले सोही अवधिसम्म पुँजीगततर्फ ४६ करोड तीन लाख बजेट खर्च गरेको छ । चालु आवको लागि महानगरले पुँजीगततर्फको लागि भने कुल ४ अर्ब २९ करोड ७ लाख बजेट विनियोजन गरेकाो थियो । त्यसैगरी, महानगरले चालुतर्फ ६६ करोड ७१ लाख ८ लाख बजेट खर्च गरेको छ । कुल ३ अर्ब २२ करोड २५ लाख चालुतर्फ बजेट छुट्याएकोमा चार महिनामा सो रकम बराबरको मात्रै बजेट खर्च भएको महानगरले जनाएको छ । विराटनगर महानगरपालिका विराटनगर महानगरपालिकाले चालु आवको लागि कुल ३ अर्ब ४९ करोड ९८ लाख बजेट विनियोजन गरेको थियो । जसमध्ये पहिलो चौमासिकमा लक्ष्यको १३.६५ प्रतिशत अर्थात ४७ करोड ७७ लाख बजेट खर्च भएको महानगरको तथ्यांक छ । महानगरका अनुसार पुँजीगततर्फ बजेट विनियोजन एक अर्ब ६६ करोड ७९ लाख विनियोजन गरेकोमा जसमध्ये चार महिनामा १० करोड ५२ लाख रुपैयाँ पुँजीगत खर्च भएको छ । जुन लक्ष्यको ६.३३ प्रतिशत हो । त्यस्तै, महानगरले चालुतर्फ एक अर्ब ७८ करोड १८ लाख रुपैयाँ बजेट छुट्याएको छ । पहिलो चौमासिकमा महानगरले छुट्याएको बजेटको ३०.८९ अर्थात ३७ करोड २२ लाख रुपैयाँ चालुतर्फ बजेट खर्च गरेको छ । वीरगञ्ज महानगरको बारेमा विकासन्यूजबाट बुझ्न खोज्दा सम्पर्क भए पनि सम्बन्धित व्यक्तिले जानकारी दिन मानेनन् ।
यूनाइटेड अजोडका सीईओ गौतमले गरे पदभार ग्रहण
फाइल तस्बिर । काठमाडाैं । यूनाइटेड अजोड इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिृकत (सीईओ) कमल गौतमले पदभार ग्रहण गरका छन् । गौतमले बुधबार कम्पनीका अध्यक्ष अजद श्रेष्ठसमक्ष पदभार ग्रहण गरेका हुन् । मसिंर १८ गते सबेको कम्पनीको सञ्चालक समितिको बैठकले गौतमलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको थियो । लगत्तै कम्पनीले स्वीकृतिका लागि नियामक निकाय नेपाल बीमा प्राधिकरणमा पेश गरेको थियो । प्राधिकरणले कम्पनीको सञ्चालकको निर्णय बमोजिम नियुक्त अनुमति दिएपछि आज उनले शपथ ग्रहण गरेका हुन् । यसअघि साबिक एभरेष्ट इस्यारेन्समा सीईओको भूमिका निर्वाह गरिसकेका गौतम साविक एभरेष्ट र साविक हिमालयन इन्स्योरेन्स मर्जरपछि नायव प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ) बनेका थिए । उनले गत २०८० फागुनमा हिमालयन एभरेष्टबाट राजीनामा दिएर बाहिरिएका थिए । साविक एभरेष्ट इन्स्योरेन्स समस्यामा थियो । तर, गौतमको व्यवस्थापकीय क्षमताले कम्पनीलाई सुधार गरी थप उचाइमा पुर्याएका थिए । नेपाल ग्रिन्डलेज बैंकबाट बैंकिङ करिअर सुरु गरेका गौतमसँग हिमालयन बैंक, एनआईसी एसिया बैंक, एनबि बैंक, सनराइज बैंक र इन्फ्रान्स्ट्रक्चर डेभलपमेन्ट बैंकमा काम गरेको अनुभव छ । बैंकिङ र बीमा गरी तीन दशक बढी अनुभवी गौतमले त्रिभुवन विश्वविद्यालयवाट व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका छन् । गत कात्तिक ८ गते श्रवण रावलको निधन भएपछि यूनाइटेड अजोड इन्स्योरेन्समा सीईओ पद रिक्त थियो । रावलको हृदयघातका कारण निधन भएको थियो ।
प्रभु हाइड्रो इन्भेष्टमेन्टले आईपीओ जारी गर्दै, बिक्री प्रबन्धकमा कुमारी क्यापिटल
काठमाडाैं । प्रभु स्टील्स एण्ड हाइड्रो इन्भेष्टमेण्ट कम्पनीले आईपीओ निष्कासन गर्ने भएको छ । जसका लागि कम्पनीले बिक्री प्रबन्धकमा कुमारी क्यापिटललाई नियुक्त गरेको छ । आईपीओ निष्काशनको प्रक्रिया अघि बढाउन प्रभु स्टील्स एण्ड हाइड्रो इन्भेष्टमेण्ट र कुमारी क्यापिटल लिमिटेडबीच सम्झौता भएको हो । सम्झौतापत्रमा प्रभु स्टील्स एण्ड हाइड्रो इन्भेष्टमेण्टका प्रमुख कार्यकारी अधिकृत (सीईण) दिलप्रसाद अधिकारी र कुमारी क्यापिटलको तर्फबाट प्रमुख मर्चेन्ट बैंकिङ सविन बुढाथोकीले हस्ताक्षर गरे । प्रभु हाइड्रो इन्भेष्टमेन्टले ९८ करोड रुपैयाँ सेयर पूँजी बराबरको ५० रुपैयाँ अंकित दरको १ करोड ९६ लाख कित्ता साधारण सेयर सर्वसाधारणहरूलाई बिक्री गर्न लागिएको हो । यस कम्पनीको २ अर्ब ५ करोडको अधिकृत पूँजी रहेको छ भने जारी पूँजी २ अर्ब रहेको छ । कम्पनीको हाल १ अर्ब २ करोड संस्थापक समूहको चुक्ता पूँजी छ । कम्पनीले जलविद्युत, कृषि, पर्यटन, विभिन्न उत्पादनमूलक उद्योग र साहासिक पर्यटनमा लगानी गर्दै आइरहेको छ । दोस्रो बजारमा समेत यस कम्पनीको राम्रो उपस्थिति रहेको छ । यस कम्पनीको मुख्य उद्देश्य लगानीमूलक हो । प्रभु हाइड्रो इन्भेष्टमेन्टमा प्रभु केवलकार एण्ड टुरिजम लिमिटेड, प्रभु होल्डिङ्गस् एण्ड हाइड्रो डेभलपमेन्ट कम्पनी लिमिटेड र हाइड्रो होल्डिङ्गस् एण्ड पावर डेभलपमेन्ट कम्पनी लिमिटेडको मुख्य लगानी रहेको छ । यस कम्पनीले हाइड्रो पावरको विभिन्न संरचनामा चाहिने मेसिनहरू आयात गरी भण्डारण गर्ने र जलविद्युत कम्पनीलाई सप्लाई गर्ने उद्देश्यले पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका वडा नं. ३१ मा यसै आर्थिक वर्षमा तीन विगाह जमिनसमेत खरिद गरेको छ । यस कम्पनीको लिबर्टी इनर्जी कम्पनी लिमिटेड र बुटवलको फुलबारी पार्क देउराली डाँडास्थित सञ्चालनमा आइसकेको गौतम बुद्धको कुलगुरु ऋषि कालदेवलको आश्रम एवं नुवाकोट गढी जाने सिद्धार्थ केवलकार लिमिटेडमा समेत ठूलो लगानी रहेको छ । यस कम्पनीले आईपीओ निष्काशनपछि आउने रकमले जलविद्युत क्षेत्रमा आक्रामक ढंगले लगानी विस्तार गर्ने उद्देश्य लिएको छ ।यस इन्भेष्टमेण्ट कम्पनीले बडीमालिका केवलकार, इच्छाकामना केवलकार र प्रभु जलविद्युत विकास कम्पनीमा समेत लगानी गर्ने प्रतिवद्धता गरेको छ ।
गोल्डेन ड्रेगनका नयाँ मोडलहरू नेपाल भित्रिँदै
काठमाडौं । गोल्डेन ड्रेगनका विद्युतीय भ्यानका थप मोडल नेपाली बजारमा उपलब्ध हुने भएका छन् । नेपालका लागि आधिकारिक वितरक आर्क्स ग्रुपले गोल्डेन ड्रेगनका विद्युतीय माइक्रोबस बिक्री–वितरणका लागि उपलब्ध गराउने जनाएको छ । १४ सिटे माइक्रोबसको मूल्य ५७ लाख रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ । गोल्डेन ड्रेगनमा १५ सिटर र १६ सिटर माइक्रोबस समेत उपलब्ध हुनेछन् । यी माइक्रोबसको मूल्य ५५ लाख र ६२ लाख रुपैयाँ रहने छ । त्यसैगरी, आर्क्स ग्रुपले जुबाओ ब्रान्डका माइक्रोबस समेत बिक्रीका लागि उपलब्ध गराउने भएको जनाएको छ । ११ सिटर र १४ सिटर यी माइक्रोबसको मूल्य क्रमशः ४५ लाख ५० हजार र ४९ लाख ५० हजार रुपैयाँ हुनेछ । यी भ्यानहरू लामो र छोटो दूरीका विभिन्न यातायात सञ्चालक, ट्राभल एजेन्सी, ट्रेकिङ, अस्पताल, स्कुल, होटेल, कर्पोरेट कार्यालय लगायतका विभिन्न क्षेत्रका लागि अत्यन्तै उपयोगी र व्यावहारिक हुने विश्वास गरिएको छ । आर्क्स ग्रुपले नेपाली बजारमा हाइगर बस, हाइलोङ ईभी भ्यान लगायतका अन्य विभिन्न ब्रान्डको समेत कारोबार गर्दै आइरहेको छ।
राष्ट्रिय जीवन बीमाको सीईओमा बैंकरदेखि पूर्वउपसचिवसम्मले दिए आवेदन, ८ मध्ये कसले मार्ला बाजी ?
काठमाडाैं । राष्ट्रिय जीवन बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि बीमा, बैंकिङ, सामाजिक सुरक्षा कोषका उच्च व्यवस्थापक र पूर्व उपसचिवबीच प्रतिस्पर्धा हुने देखिएको छ । आवेदन दिने अन्तिम मिति आज (बुधबार) साँझ ४ बजेसम्म बीमा क्षेत्रमा उच्च व्यवस्थापन पदमा कार्यरत कर्मचारी, बीमा क्षेत्रमा उच्च व्यवस्थापन पदमा कार्यरत र पूर्व कर्मचारी, पूर्व उपसचिव, सामाजिक सुरक्षा कोषको उच्च व्यवस्थापन पदमा रहेका कर्मचारी लगायत ८ जनाले आवेदन दिएका छन् । आवेदन दिनेहरूमा सुन्दर पन्थी, प्रकाशमान बज्राचार्य, रामकृष्ण पन्थी, महेश रिमाल, रामदेव यादव, राजुनाथ खनाल र लक्ष्मण पराजुली रहेका छन् । जसमध्ये सुन्दर पन्थी नेपाल बैंकको फष्ट क्लास अफिसर हुन् । स्थायी ठेगाना गुल्मी रहेका पन्थीले बैंकको अपरेशन डिपार्ट सम्हालिरहेका छन् । यसैगरी, काठमाडौंका प्रकाशमान मानन्धर प्राइम कमर्सियल बैंकका उच्च व्यवस्थापन पदमा कार्यरत थिए । स्थायी ठेगाना गुल्मी रहेका रामकृष्ण पन्थी पूर्वउपसचिव हुन । उनी महालेखा नियन्त्रक कार्यालयको उपसचिवबाट रिटायर भएका हुन् । रिमाल हाल कम्पनीको कार्यवाहक सीईओ हुन् । चार्टर्ड एकाउण्टेन्टसमेत रहेका रिमाल विगत २ दशकदेखि सोही कम्पनीमा कार्यरत रहेका छन् । २०८० कार्तिकमा तत्कालीन बीमा संस्थान कम्पनीमा परिणत भएको थियो । कम्पनीमा परिणत भएसँगै रिमालले कार्यवाहक सीईओको भूमिका निर्वाह गर्दै आएका छन् । विराटनगर घर भएका रोहित रेग्मी सामाजिक सुरक्षा कोषका उच्च व्यवस्थापक पदमा कार्यरत छन् । उनी कोषको उपनिर्देशक हुन् । धनुषा घर भएका रामदेव यादव विभिन्न विकास बैंकको उच्च व्यवस्थापन पदमा काम गरिसकेका व्यक्ति हुन् । उनको स्थायी ठेगाना धनुषा हो । राजनाथ खनाल नेपाल बैंकको उच्च व्यवस्थापन पदबाट रिटायर कर्मचारी हुन् । उनी साविक बीमा संस्थानको सञ्चालक समितिका सदस्य समेत बनेका थिए । स्याङ्जा घर भएका लक्ष्मण पराजुली यूनाइटेड अजोड इन्स्योरेन्समा कार्यरत छन् । उनले सो कम्पनीमा मार्केटिङ डिपार्ट सम्हालिरहेका छन् । राष्ट्रिय जीवन बीमा कम्पनीले मसिंर ६ गते दोस्रो पटक सीईओको आवेदन खुलाएको थियो । जहाँ आवेदन दिने अन्तिम दिन आज साँझसम्म थियो । यसअघि कम्पनीले पहिलोपटक असोज १६ गते आवेदन माग गरेको थियो । त्यसबखत ४ जनाको आवेदन परेको थियो । जसमध्ये ४ जना नै फेल भएका थिए । दरखास्त दिने उम्मेदवारहरूले पेश गरेका शैक्षिक योग्यता, अनुभव र व्यावसायिक कार्ययोजनाको मूल्यांकनमा शैक्षिक योग्यता, अनुभव र व्यावसायिक कार्ययोजनाको कुल पूर्णाङ्क ५५ को ६० प्रतिशतले हुन आउने अंक प्राप्त गर्ने उम्मेदवारलाई व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण र अन्तर्वार्ताको लागि सिफारिस गर्नुपर्ने व्यवस्था रहेकोमा कुनै पनि उम्मेदवारले कुल पूर्णाङ्कको ६० प्रतिशत अंक प्राप्त गर्न नसकेपछि पदपूर्ति समितिले सबैलाई फेल गराएको सूचना सार्वजनिक गराएको थियो । त्यसबखत आवेदन दिनेहरूमा महेश रिमाल, सुवास कोइराला, रामनाथ यादव र बुद्धकाजी श्रेष्ठ रहेका थिए, जसमध्ये यादव र रिमालले फेरि पनि आवेदन दिएका छन् ।