एनसेल पीआरबीटी सेवाले एनपीएलमा उत्साह थप्दै
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनल भोलि हुन गइरहेको छ, र यसले क्रिकेटप्रेमीहरूको उत्साहलाई चरम उत्कर्षमा पुर्याएको छ । यो माहोललाई अझ रोमाञ्चक बनाउन, एनसेलले आफ्ना ग्राहकहरूलाई आफूलाई मनपर्ने टिमलाई समर्थन गर्न कल टोन राख्न सकिने सुविधा ल्याएको छ । यससँगै ग्राहकहरुले एनपीएलका टिमहरुको थिम गीतलाई पर्सनलाइज्ड रिङ ब्याक टोन (पीआरबीटी)का रूपमा आफ्नो फोनमा सेट गर्न सक्छन् । बिहीबारसम्म, ५०,००० भन्दा बढी एनसेल ग्राहकहरूले एनपीएलका विभिन्न टिमहरुको थिम गीतलाई आफ्नो पीआरबीटीका रुपमा राखिसकेका छन् । धेरै ग्राहकहरु आफ्नो टिमलाई समर्थन गर्न कल टोन सेट गरिरहेका छन् । ग्राहकहरूले *123*6# डायल गरेर आफूले रोजेको पीआरबीटी राखेर क्रिकेटको माहोललाई थप उत्साहजनक बनाउन सक्ने कम्पनीले जनाएको छ । एनसेलको पीआरबीटी एक विषेश सेवा हो । यो सेवा अन्तर्गत ग्राहकहरूले नर्मल गीतहरु बाहेक अन्य तीन तरिकामा आफ्नो रुचि, मुड, वा विशेष अवसरसँग मेल खाने गरी कल टोन सेट गर्न सक्छन् । कम्पनीकाअनुसार ‘नेम ट्युन’ पीआरबीटी सेवामा ग्राहकहरूले आफ्नो नामलाई कलर टोनको रूपमा सेट गर्न पनि सक्छन् । त्यसैगरी ‘स्टाटस पीआरबीटी’ अन्तर्गत निश्चित समयका लागि आफ्नो गतिविधी अनुसारमा टोन राख्न सकिन्छ । जस्तै कुनै ग्राहकले आफूले गाडी चलाईरहेको छ भने उसले फोन गर्नेहरुलाई आफुले गाडी चलाईरहेको जानकारी दिने टोन राख्न सक्छन् । यसबाहेक ‘आफ्नै धुन’ पीआरबीटी सेवा अन्तर्गत ग्राहकले आफुलाई मनपर्ने गीत, धुन वा कुनै अडियो रेकर्ड गरी अपलोड गरेर टोनका रुपमा पनि राख्न सक्छन् । प्रत्येक पीआरबीटीको शुल्क करसहित मात्र ३१ रूपैयाँ पर्छ र यो ३० दिनसम्म सक्रिय रहन्छ । यस पीआरबीटी सेवामा सुशान्त केसी, याबेश थापा, भेकजस्ता औद्यी मन पराइएका कलाकारका गीतहरू देखि लिएर अरु गीतहरु पनि हरेक संगीतप्रेमीको ईच्छा अनुसार छान्न सकिन्छ । एनसेलले आफ्नो पीआरबीटी सेवामा नयाँ र ट्रेन्डिङ गीतहरू नियमित रूपमा थप्ने गर्दछ, जसले यो सेवालाई विशेष बनाएको कम्पनीले जनाएको छ ।
भरतपुर वडा नम्बर ६ बालमैत्री वडा घोषणा
चितवन । भरतपुर वडा नम्बर ६ लाई बालमैत्री वडा घोषण गरिएको छ । शुक्रबार एक कार्यक्रमकाबीच भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, उपप्रमुख चित्रसेन अधिकारीले संयुक्त रुपमा बालमैत्री वडा गरे । भरतपुर ६ बालमैत्री वडा घोषण भएसँगै भरतपुरका ५ वटा वडा बैलमैत्री घोषणा भएका छन् । यस अघि भरतपुर १४, १३, २३ र २१ घोषणा भइसकेको छ । भरतपुरलाई आथिर्क वर्ष २०८३/०८४ मा पूर्ण बालमैत्री घोषणा गर्ने लक्ष्य लिएको छ । बालमैत्री वडा तथा नगर घोषणा गर्न ५१ वटा सूचकहरू तय गरिएको छ । त्यसमध्ये बालमैत्री घोषणा कार्यविधि अनुसार केही सुचक सत प्रतिशत र केही ८० प्रतिशत पुरा भए घोषणा गर्न मिल्ने व्यवस्था छ । यसका ४ वटा खम्बा रहेका छन् । सहभागिता, विकास, संरक्षण, बाच्न पाउने अधिकार रहेका छन् । यी सूचकहरु पुरा भएकाले वडा नम्बर ६ लाई बालमैत्री वडा घोषाणा गरिएको सामाजिक तथा स्वास्थ्य महाशाखा प्रमुख शान्ताकुमारी पौडेलले जानकारी दिइन् । विसं २०७६ सालमा भरतपुर–१४ लाई बालमैत्री वडा घोषणा गरिएको थियो । भरतपुरलाई बालमैत्री नगर बनाउन २०६८ सालदेखि नै अभियान थालिएको हो । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले सिङ्गो महानगरपालिकालाई बालमैत्री महानगरपालिका घोषणा गर्ने अभियान जारी रहेको उल्लेख गरिन् । उनले बालबालिकाको शिक्षा स्वास्थ्य लगायतका कुरामा आफुहरू लागिपरेको भन्दै अभिभावक पनि जिम्मेवार भएर लाग्न अुरोध गरिन् । अपाङ्गता भएका बालबालिकाहरुको शिक्षाका लागि छुट्टै स्रोत कक्षा समेत सञ्चालन गरिएको उनले जानकारी दिइन् । महानगरपालिकामा सडक बालबालिका समेत नरहेको उनले जानकारी दिइन् । भरतपुरमा बालबालिकाविरुद्ध हुने सबै खाले हिंसाहरू, यातनाहरु, भेदभाव, शोषणबाट मुक्त गराई सभ्य, सुन्दर र समृद्ध महानगर बनाउन प्रतिवद्ध रहेको उनको भनाई छ। उपप्रमुख चित्रसेन अधिकारीले बालमैत्री वडा कायम राख्न सबै पक्षले विशेष चासो र चिन्ता लिनुपर्ने बताए । अधिकारीले महानगरपालिका पूर्वाधार विकाससँगै सामाजिक र मानव अधिकारका विषयमा त्यतिकै ध्यान दिएको बताए । घोषणा गर्ने तर व्यवहारमा फरक हुने परम्परा रहेको भन्दै सबै वडावासी जिम्मेवार बन्नु पर्ने बताए । बालमैत्री घोषणासँगै थप चुनौती र जिम्मेवारी थपिएको उनको भनाई छ । कार्यक्रम वडा अध्यक्ष कृष्णलाल श्रेष्ठको अध्यक्षतामा भएको हो ।
हेटौँडा सिमेन्ट उद्योगले आगामी सातादेखि उत्पादन थाल्ने
बागमती । हेटौँडा सिमेन्ट उद्योग व्यवस्थापनले यही पुस १३ गतेदेखि सिमेन्ट उत्पादन सुरु गर्ने तयारी गरेको छ । उद्योगको उपकरण मर्मतको काम सकिन लागेकाले पुस १३ गतेदेखि सिमेन्ट उत्पादन सुरु गरिने तयारी भएको उद्योग व्यवस्थापन समितिका अध्यक्ष नरेन्द्र भण्डारीले जानकारी दिए । उपकरणको कार्य पुसको १० गतेसम्ममा सकिने र त्यस लगत्तैबाट उत्पादन गर्ने तयारीमा रहेको उनले बताए । ‘उद्योगको क्लिनिकलर मेसिन लगायतका उपकरणको मर्मतकार्य अझै भइरहेकै छ, ‘ अध्यक्ष भण्डारीले भने, ‘हामीले तिहारसम्ममा मर्मत सकिन्छ र त्यस लगत्तै पुनः सिमेन्ट उत्पादको कार्य सुरु गर्ने अनुमान गरेका थियौं तर उपकरण मर्मतको काम नसकिएकाले उद्योग सञ्चालन गर्न समय लागेको हो ।’ उपकरणको मर्मत गर्नुपर्ने भन्दै उद्योग व्यवस्थापनले गत असोज १५ गतेदेखि सिमेन्ट उत्पादन बन्द गरेको थियो । उद्योगको उपकरण बनाउन भारतबाट श्रमिक ल्याउनुपर्ने भएकाले मर्मत सम्भारमा समय लागेको उनले बताए । ‘हामीसँग कच्चापदार्थको कुनै अभाव छैन,’ अध्यक्ष भण्डारीले भने, ‘उद्योगलाई चाहिने करिब ४०० मेट्रिक टन कोइला मौज्दात छ ।’ थप कोइला खरिदको प्रक्रिया अघि बढिसकेकाले कोइलाको समस्या नहुने उनको भनाइ छ । आर्थिक अभावका कारण यसअघि दुई महिना सो उद्योग बन्द भएको थियो । यही भदौ महिनाको तेस्रो साताबाट सिमेन्ट उत्पादन सुरु गरेको सो उद्योगले यस अवधिमा ६५ हजार बोरा सिमेन्ट उत्पादन गरेको अध्यक्ष भण्डारीले बताए । विसं २०३३ मा हेटौँडाको लामसुरेमा स्थापना भएको उक्त उद्योगले विसं २०४३ देखि सिमेन्ट उत्पादन सुरु गरेको थियो ।
अर्थमन्त्री पौडेल स्वदेश फिर्ता
काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल शुक्रबार स्वदेश फर्किएका छन् । थाइल्याण्डको राजधानी बैंककमा आयोजित एसिया र प्रशान्त क्षेत्रमा विकासका लागि वित्तसम्बन्धी उच्चस्तरीय क्षेत्रीय परामर्श बैठकमा भाग लिएर अर्थमन्त्री पौडेल स्वदेश फर्किएका हुन् । सम्मेलनमा दिगो विकासका लक्ष्यहरू, स्रोत व्यवस्थापन, पुँजी परिचालन, सार्वजनिक ऋण, जलवायु वित्तका लागि स्थापित कोष, वित्तीय अन्तरलगायतका विषयमा छलफल भएको थियो । एसिया र प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसंघीय आर्थिक तथा सामाजिक आयोगले आयोजना गरेको परामर्श बैठकको अध्यक्षता नेपालले गरेको थियो । परामर्श बैठकबाट आएका सुझावहरूलाई समेत समावेश गरी सन् २०२५ मा स्पेनमा हुने विकासका लागि वित्तसम्बन्धी चौथौ अन्तर्राष्ट्रिय सम्मेलनमा पेश गरिने दस्तावेज तयार पारिनेछ ।
सहकारी बैंकका ६ जना सञ्चालक बर्खास्त, ७ जनाको समिति बनाउन राष्ट्र बैंकको निर्देशन
काठमाडौं । राष्ट्रिय सहकारी बैंकको सञ्चालक समितिको बैठकले ६ जना सञ्चालकलाई पदबाट हटाएको छ । बैंकले नेपाल राष्ट्र बैंकको निर्देशन पालना गर्दै छजना सञ्चालकलाई सञ्चालकबाट हटाउने निर्णय गरेको हो । बिहीबार बसेको सञ्चालक समितिको बैठकले अध्यक्ष केबी उप्रेतीसँगै सञ्चालकहरू रामबहादुर जीसी, रामहरि बजगाईं, केदार मानन्धर, शिवा थापा र मनोजकुमार थापा मगरलाई पदबाट हटाएको हो । बैंकको नवनियुक्त अध्यक्ष महेन्द्र गिरीका अनुसार नेपाल राष्ट्र बैंकको निर्देशन पालना गरेर उनीहरूलाई पदबाट राजीनामा माग गरेको जानकारी दिए । ‘राष्ट्र बैंकले ६ जना सञ्चालकलाई छिटो हटाउन निर्देशन दिएको थियो, हामीले राष्ट्र बैंकको निर्देशन पालना गरेका हौं,’ उनले भने, ‘साथीहरूले पनि सहयोग गर्नुभयो ।’ गिरीका अनुसार जीसी र मानन्धरले राजीनामा दिएका थिए । अन्यलाई भने राष्ट्र बैंकको निर्देशनअनुसार नै पदबाट बर्खास्त गर्नु परेको हो । उनीहरू आवद्ध संस्थाले बैंकको ऋण भुक्तान नगरेको कारण राष्ट्र बैंकले सञ्चालकबाट हटाउन निर्देशन दिएको थियो । बैंक सञ्चालक समिति अध्यक्ष कृष्णबहादुर (केबी) उप्रेती सहकारीको बचत ठगीको आरोपमा हाल पुर्पक्षका लागि थुनामा छन् । उप्रेती अध्यक्ष रहेको तत्कालीन हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी संस्थासहित पाँच सहकारी मिलेर बनेको आइडियल यमुना हाम्रो बहुउद्देश्यी सहकारी संस्थाले बैंकको करिब ६० करोड रुपैयाँ ऋण तिर्न बाँकी रहेको बुझिएको छ । राष्ट्र बैंकले राष्ट्रिय सहकमारी बैंकलाई ७ जनाको मात्रै सञ्चालक समिति बनाउन पनि निर्देशन दिएको बुझिएको छ । चार जना सहकारी संस्थाबाट निर्वाचित तथा दुई जना सर्वसाधारणबाट र एक जना विज्ञ गरी कुल ७ जनाको सञ्चालक समिति बनाउन राष्ट्र बैंकले निर्देशन दिएको छ । तर, बैंकले भने ११ जनाको कार्यसमितिका लागि अनुरोध गरेको बुझिएको छ । १५ जनाको सञ्चालक समिति रहेको बैंकमा ६ जनालाई सञ्चालक समितिबाट हटाएपछि हाल बैंकको सञ्चालक समितिमा ९ जना रहेका छन् । अब विनियमावली संशोधनपछि के-कस्तो व्यवस्था हुन्छ सोही व्यवस्थाअनसार अगाडि बढ्ने तयारी राष्ट्रिय सहकारी बैंकको छ । अध्यक्ष जेलमा, सीईओ चेपुवामा
शिवशंकर हाईड्रोले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल
काठमाडौं । शिवशंकर हाईड्रो इन्भेष्टमेन्ट लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनका लागि बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । हाईड्रोपावरले सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित दरका २५ लाख कित्ताले हुन आउने २५ करोड रुपैयाँ रकम बराबरको साधारण सेयर निष्कासन गर्न लागेको हो । उक्त सम्झौतामा लक्ष्मी सनराइज क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) विजयलाल श्रेष्ठ र शिवशंकर हाईड्रो इन्भेष्टमेन्ट लिमिटेडका अध्यक्ष खगेश्वर बोहराले हस्ताक्षर गरेका छन् । सम्झौता कार्यक्रममा शिवशंकर हाईड्रोका प्रबन्ध निर्देशक दीपकराज जोशीको समेत उपस्थिति रहेको थियो । शिव शंकर हाईड्रो इन्भेष्टमेन्ट लिमिटेड, शिव शंकर इन्भेष्टमेन्ट र जय गणेश इन्भेष्टमेन्ट एक आपसमा गाभिएर स्थापित भएको एक लगानी (इन्भेष्टमेन्ट) कम्पनी हो, जसले मुख्यतया जलविद्युत, पूर्वाधार क्षेत्र र अन्य उत्पादनशील क्षेत्रमा आफ्नो लगानीको दायरा केन्द्रित गरेको छ । हाल कम्पनीले सानिगार्ड हाइड्रो लिमिटेड (३८.४६ मेगावाट), कलंगा हाइड्रो लिमिटेड (१५.३३ मेगावाट), बुङ्गल हाइड्रो लिमिटेड (१०.७ मेगावाट) र भिजन ईनर्जी एण्ड पावर लिमिटेड (५७.५ मेगावाट) नामक जलबिद्युत कम्पनीहरुमा लगानी गरेको छ । उल्लेखित कम्पनीहरूमध्ये पहिलो तीन कम्पनीहरू सञ्चालनमा आईसकेको र प्राथमिक सेयर निष्काशनको प्रकृयाका लागि नेपाल धितोपत्र बोर्डमा दर्ता भईसकेको छ । शिवशंकर हाईड्रो इन्भेष्टमेन्ट लिमिटेडले साधारण सेयर निष्काशनपश्चात उक्त कम्पनीको चुक्ता पूँजी १ अर्ब ५ करोड रुपैयाँ पुग्नेछ ।
नेपाल एसबिआई बैंकद्वारा विद्यालयलाई आर्थिक सहयोग
काठमाडौं । नेपाल एसबीआई बैंकले चितवनको गायत्री वेद वेदाङ्ग संस्कृत विद्यालयलाई आर्थिक सहयोग गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत विद्यालयलाई १ लाख ५० हजार रुपैयाँ सहयोग गरेको हो । कार्यक्रममा बैंकका बागमती प्रदेश कार्यालय प्रमुख प्रविणमुनि बज्राचार्यले गायत्री वेद वेदाङ्ग संस्कृत विद्यालय गुरुकुलमका प्राचार्य सुभास चालिसेलाई सहयोग रकम हस्तान्तरण गरे । उक्त कार्यक्रममा बैंक तथा गुरुकुलमका अन्य पदाधिकारीहरू समेतको उपस्थिति रहेको थियो । बैंकले समुदाय स्तरमा संस्कृति तथा सम्पदा संरक्षणको लागि समयसमयमा यस्ता गतिविधिहरू गर्दै आइरहेको छ । हाल बैंकले १०० शाखा, २२ एक्सटेन्सन काउण्टर, ७ प्रदेश कार्यालय, १९ शाखारहित बैंकिङ सेवा, १२१ एटीएम र १ कर्पोरेट कार्यालयमार्फत सेवा प्रदान गर्दै आएको छ ।
कार्यालय समयमा चिकित्सक नभए कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको पत्र
काठमाडौं । चिकित्सकहरु कार्यालय समयमा नभएको पाइए कारबाही गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयारी गरेको छ । मन्त्रालयले स्थापना गरेको गुनासो सुनुवाइ एकाइ हेल्लो स्वास्थ्य १११५ मा कार्यालय समयमा चिकित्सक उपलब्ध नभएको गुनासो आएको भन्दै अटेर गरेको पाइए कारबाही गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मातहतका अधिकारीहरुलाई भनेका छन् । उनले यसअघि नै व्यवस्था गर्न भनिएको विद्युतीय हाजिरी अनिवार्य गर्ने व्यवस्था मिलाउनका लागि समेत अधिकारीहरुलाई भनेका थिए । यसलगत्तै मन्त्रालयले मातहतका सबै अस्पतालहरुमा पत्राचार गर्दै कार्यालय समयमा सेवा प्रवाह गरेको सुनिश्चितता गर्न भनेको छ । मन्त्रालयअन्तर्गतको गुणस्तर मापन तथा नियन्त्रण महाशाखाले मातहतका सबै कार्यालयमा पठाएको पत्रमा चिकित्सक एवं स्वास्थ्यकर्मीहरु कार्यालय समयमा कार्यकक्षमा रहि सेवा प्रवाहको व्यवस्था मिलाउन भनिएको छ । कार्यालय समयमा बाहिर जानु परे लगबुक राखेर मात्र जाने व्यवस्था मिलाउन पत्रमा भनिएको छ । मन्त्रालयले कार्यालयमा आउँदा र जाँदा अनिवार्य रुपमा विद्युतीय हाजिरी गर्ने व्यवस्था मिलाउनसमेत पत्रमा भनेको छ । मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले कार्यालय समयमा चिकित्सक तथा स्वास्थ्यकर्मी नभएको बारम्बारको गुनासोपछि पत्राचार गरिएको भन्दै अनुगमन पनि गर्ने बताए । ‘कार्यालय समयमा सेवामा उपस्थित हुनुपर्ने सबैको कर्तव्य हो’, उनले भने, ‘यसलाई कडाइका साथ लागु गर्न स्मरण गराएका छौं । अनुगमनमा कोही दोषी भेटिए कारबाही हुनेछ ।’