विकासन्युज

‘एनसेल वुमन आइकन आइसीटी अवार्ड २०२४’ बाट बन्दना शर्मा सम्मानित

काठमाडौं । ‘एनसेल वुमन आइकन आइसीटी अवार्ड- २०२४’ बन्दना शर्माले पाएकी छन् । हालै सम्पन्न आइसीटी अवार्ड २०२४ को ग्राण्ड फिनाले कार्यक्रममा उनले यो अवार्ड पाएकी हुन् । सूचना प्रविधि क्षेत्रमा क्रियाशील रहेर योगदान पुर्‍याएवापत् शर्मालाई यो वर्षको अवार्ड प्रदान गरिएको हो । कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कडेल र एनसेलकी कर्पोरेट कम्युनिकेशन एन्ड सीएसआर हेड विशाखा लक्ष्मी खड्काले संयुक्त रूपमा अवार्ड प्रदान गरे । नेपाल बैंकको कार्ड तथा डिजिटल बैंकिङ डिभिजन प्रमुखको रूपमा कार्यरत शर्माले यो अवार्डसँगै ३ लाख रुपैयाँ नगद पुरस्कारसमेत पाएकी छिन् । नेपालको सूचना प्रविधि क्षेत्रमा काम गर्दै यो क्षेत्रको विकासमा उल्लेख्य योगदान पुर्‍याएका महिलालाई यो अवार्ड प्रदान गरिन्छ । सूचना प्रविधि क्षेत्रमा सक्रिय महिलाहरुलाई सम्मान तथा प्रोत्साहन गर्नका लागि विगत पाँच वर्षदेखि आइसिटी अवार्ड र एनसेलबीच सहकार्य हुँदै आएको छ । यो वर्षको एनसेल वुमन आइकन आइसिटी अवार्ड विजेता शर्मा सूचना प्रविधि क्षेत्रमा १८ वर्षदेखि निरन्तर क्रियाशील महिला हुन् । यसअघि २०२३ मा सुनैना घिमिरे पाण्डे, २०२२ शीला कंसाकार कार्की, २०२१ मा गुणकेशरी प्रधान र २०२० मा तिमिला यमी ‘एनसेल वुमन आइकन आइसिटी अवार्ड’बाट सम्मानित भएकी थिइन् । यो अवार्डबाहेक एनसेल फाउन्डेसनले सूचना प्रविधिको पाटोमा विशेष गरी शिक्षा, डिजिटल डिभाइड कम गर्न र साइबर सुरक्षा, डिजिटल साक्षरता जगाउन विभिन्न कार्यहरु गरेको छ । यो वर्षको एनसेल वुमन आइकन आइसिटी अवार्ड विजेता शर्मा २००६ मा आइटी सपोर्ट अफिसरको रूपमा नेपाल बैंकमा प्रवेश गरेकी थिईन् । नेपाल बैंकलाई डिजिटलाइज गर्ने काममा सुरूवातदेखि नै आवद्ध उनले कोर बैंकिङ सिस्टम, नेटवर्क सुरक्षा, साइबर सुरक्षा लगायत बैंकको डिजिटल पूर्वाधार विकास तथा सेवाहरूलाई ग्राहकमैत्री बनाउन निकै महत्त्वपूर्ण भूमिका खेलेकी छिन् । पोखरा विश्वविद्यालयबाट बीसीए अध्ययन गरेकी शर्माले मास्टर्समा सूचना प्रविधि, नेटवर्क एण्ड ई बिजनेस र एमबीए पनि अध्ययन गरेकी छन् । शर्मा क्यान महासंघ, वुमन इन आईटी, युनिप्रोफेसनल म्यानेजमेन्ट कमिटिमा पनि आवद्ध भएर आफ्नो अनुभव बाँडिरहेकी छन् । साथै वित्तीय समावेशीता र स्टेम एजुकेसनमा उनको योगदान रहेको छ ।

कर्णाली डेभलपमेन्ट बैंक समस्याग्रस्त घोषणा, व्यवस्थापन राष्ट्र बैंकको नियन्त्रणमा

काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त संस्था घोषणा गरेको छ । नेपालगञ्जको बाँकेमा केन्द्रीय कार्यालय रहेको ‘ख’ वर्गको इजाजतपत्र प्राप्त वित्तीय संस्था कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त संस्था घोषणा गरेको हो । राष्ट्र बैंक सञ्चालक समितिको पुस १० गते बुधबार बसेको बैठकले राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ ख बमोजिम बैंकलाई समस्याग्रस्त घोषणा गर्ने निर्णय गरेको गभर्नरको कार्यालयले जनाएको छ । साथै, अर्को व्यवस्था नभएसम्मका लागि ऐनको दफा ८६ ग बमोजिम बैंकको व्यवस्थापन राष्ट्र बैंकको नियन्त्रणमा लिइएको छ । उक्त संस्था सञ्चालनका निम्ति बैंक तथा वित्तीय संस्था नियमन विभागका उप-निर्देशक टीकाराम खतिवडाको संयोजकत्वमा तीन सदस्यीय व्यवस्थापन समूह गठन गरिएको छ । जसमा वित्तीय संस्था सुपरिवेक्षण विभागका उप-निर्देशक विष्णुकुमार विश्वकर्मा र कानुन महाशाखाका उप-निर्देशक जुगल किशोर कुशवाहालाई सदस्य तोकिएको राष्ट्र बैंकले जनाएको छ । खतिवडाको व्यवस्थापन समूहले पुस ११ गतेदेखि नै बैंकको तोकिएको जिम्मेवारी सम्हाल्नेछ । राष्ट्र बैंकको उक्त व्यवस्थापन समूहलाई तोकिएको कार्यादेशसहित नेपाल राष्ट्र बैंक ऐन, २०५८, बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ लगायतका प्रचलित कानुनको अधीनमा रही सञ्चालक समिति र संस्थाको विशेष साधारण सभाको समेत काम, कर्तव्य र अधिकारको प्रयोग गर्ने अख्तियारी दिइएको छ । व्यवस्थापन समूहलाई सर्वसाधारणको हित संरक्षणलाई केन्द्रित गर्दै बचतकर्ताको बचत भुक्तानी र संस्थाको ऋण असुलीलाई प्राथमिकता दिई कार्य गर्ने, संस्थाको ड्यू डेलिजेन्स अडिट (डीडीए) सम्पन्न गराउन आवश्यक कार्य गर्ने, संस्थामा भएका वित्तीय अपचलनउपर आवश्यक छानबिन गरी कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाउने लगायतका अख्तियारी प्रदान गरिएको राष्ट्र बैंकले जनाएको छ । तोकेको न्यूनतम पुँजीकोष अनुपात कायम नगरेको, संस्थागत सुशासनको अवस्था कमजोर भएको, आर्थिक हिनामिनाको आशङ्का भएको, कमजोर तरलता स्थितिसँगै संस्थाले भुक्तानी गर्नुपर्ने निक्षेप दायित्व पूरा गर्न नसक्नुका साथै संस्थाबाट प्राप्त वित्तीय अपचलन समेतका आधारमा बैंकलाई यथास्थितिमा सञ्चालन गर्न दिँदा निक्षेपकर्ताको हित सुरक्षित नहुने र बैंकिङ प्रणालीप्रति अविश्वास सिर्जना हुने भएकाले समस्याग्रस्त घोषणा गरिएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले तोकेबमोजिमको न्यूनतम पुँजीकोष अनुपात कायम नभएको, निष्क्रिय कर्जा अनुपात ४०.८५ प्रतिशत रहेको लगायत कारणले संस्थाको वित्तीय अवस्था समस्याउन्मुख देखिएको बैंकलाई गत मङ्सिर ११ गते शीघ्र सुधारात्मक कारबाही गरेको थियो । सम्बन्धित सामग्री : कर्णाली डेभलपमेन्ट बैंकलाई व्यवसाय गर्न राष्ट्र बैंकले रोक्यो, एनपीएल ४०.८५ प्रतिशत विशेष निरीक्षण गरेको ५ महिनापछि कारवाही, कर्णाली विकास बैंकको एनपीएल ७ कि ४० प्रतिशत ? ३ विकास बैंक र २ फाइनान्सलाई शीघ्र सुधारात्मक कारबाही, समस्या बढ्दा राष्ट्र बैंक चिन्तित

नामीले ११ दिने एआई स्कुल सञ्चालन गर्ने, १० देशका उद्योगी विशेषज्ञहरूले तालिम दिने

काठमाडौं । एआईसम्बन्धी अध्ययन/अनुसन्धान गर्ने नेपाल अप्लाइड म्याथम्याटिक्स एन्ड इन्फर्मेटिक्स इन्स्टिच्युट फर रिसर्च (नामी) ले ११ दिने ‘एआई स्कुल’ सञ्चालन गर्ने भएको छ । आगामी १२ गतेदेखि २३ पुससम्म ललितपुरमा अवस्थित प्रिमियर इन्टरनेसनल स्कुलमा उक्त कार्यक्रम आयोजना गरिने भएको हो । एआईसम्बन्धी यस छोटो अवधिको तालिममा स्नातक तहदेखि विद्यावारिधि गरिरहेका विद्यार्थीहरू सहभागी हुने छन् । ​ एआई स्कुलअन्तर्गत पढाउने शैली र पाठ्यक्रममा भएको समस्या सुधार तथा यस क्षेत्रमा अवसर दिनेगरी तालिम सञ्चालन हुने नामीले जनाएको छ । कार्यक्रममा एआई स्कुलको ५औं वार्षिक कार्यक्रमको उद्देश्य, महिमा र गरिमा र एआई क्षेत्रमा योगदानको यात्राको बारेमा जानकारी गराइने बताएको छ । यस्तै, नेपालका विविध क्षेत्रमा एआईको प्रयोगबाट सिर्जना हुने नयाँ प्रविधि र अवसरको महत्त्वका बारेमा प्रष्ट पारिने जनाएको छ। कार्यक्रममा १० देशका उद्योगी विशेषज्ञहरूले तालिम दिने तथा यसबारे गहन छलफल पनि गरिनेछ । विश्व बजारमा अहिले भइरहेको ‘आर्टिफिसियल इन्टेलिजेन्स’को विकास र उपयोगबारे नेपाली समाजलाई जानकारी दिन तालिमको आयोजना गर्न लागिएको नामीका संस्थापक तथा डा. विशेष खनालले जानकारी दिए । विश्वभरका २५ जना वैज्ञानिक र प्राध्यापकहरूले तीन मुख्य क्षेत्र जीओमेट्रिक डीप लर्निङ, फन्डामेन्टल मोडल्स तथा एप्लिकेसन्स र मोडर्न प्राक्टिसमा भौतिक कक्षाहरू सञ्चालन गर्ने उनले बताए । ‘सानो ठाउँबाट ठूला परिवर्तन आउनसक्छ,’ भन्ने मान्यतामा आधारित यस वर्षको एआई स्कूलले नेपाली र अन्तर्राष्ट्रिय विद्यार्थी तथा एआई अभ्यासकर्ताहरूलाई विश्वस्तरमा भइरहेको अत्याधुनिक विकाससँग परिचित गराउने लक्ष्य राखेको छ । तालिममा भाग लिनेहरूले ११ दिनसम्म विश्वस्तरीय विशेषज्ञहरूसँग सिक्ने, व्यावहारिक कार्यशालामा भाग लिने र आफ्नो व्यावसायिक सञ्जाल विस्तार गर्ने अवसर पनि पाइने जनाइएको छ । यस कार्यक्रमलाई सफल बनाउन एफवन सफ्ट, इसेवा, फोनेपे, यूके इन्टरनेशनल डेभलपमेन्ट, एशिया फाउन्डेसन, डाटा फर डेभलपमेन्ट इन नेपाललगायतकाे साझेदारी रहेको छ । साथै, यंग इनोभेसन्स, सेक्युरिटीपल, गुगल, र फ्युजमेसिन्स पनि मुख्य समर्थनकर्ता रहेका छन् । विगतका चार संस्करणमा ४० भन्दा बढी देशका ५५० भन्दा बढी विद्यार्थीहरूले यस कार्यक्रममा भाग लिएका थिए ।

जर्मनीमा एक समय एक डलरको मूल्य एक खर्ब मार्क, आज विश्वको तेस्रो ठूलो अर्थतन्त्र

काठमाडौं । जर्मनी विश्वको तेस्रो तथा युरोपको सबैभन्दा ठूलो अर्थतन्त्र हो । तर एक समयमा जर्मनीको मुद्राको मूल्य भारी मुद्रास्फीतिको कारण बेकार भएको थियो । यो सन् १९३० को प्रारम्भिक चरणको समय हो । त्यतिबेला जर्मन मुद्रालाई मार्क भनिन्थ्यो । मुद्रास्फीतिका कारण एक डलरको मूल्यमा ४,२१०,५००,००,००० मार्क आउँथ्यो । बच्चाहरूले मार्क प्लेकार्डको रूपमा प्रयोग गर्न थालेका थिए । मुद्रास्फीतिका कारण जर्मनीका लाखौं मानिस टाट पल्टिए । यस संकटले देशमा हिटलरको नाजी पार्टीको उदयमा महत्त्वपूर्ण भूमिका खेलेको थियो । पहिलो विश्वयुद्धको समयमा जर्मनीमा मूल्य दोब्बर भयो, तर यो देशको आर्थिक गिरावटको सुरुवात थियो । सन् १९१४ मा जर्मन सरकारले नयाँ मुद्रा चलाएको थियो । युद्ध धेरै लामो समय टिक्न नसक्ने उसले अनुमान गरेको थियो । तर युद्ध चार वर्षसम्म चल्यो र त्यसमा जर्मनी पराजित भयो । भर्साइलस सन्धिको कारण जर्मनीले ठूलो मूल्य चुकाउनु परेको थियो । मूल्यवृद्धि र मार्कको आपूर्ति बढेसँगै मुलुकमा मुद्रास्फीति बढ्न थालेको हो । प्रथम विश्वयुद्ध अघि एक अमेरिकी डलरको मूल्य चार मार्क थियो । तर १९२० मा मार्कको मूल्य १६ गुना घट्यो । पत्रपत्रिका किन्न बोराभरि नोट एक डलरको मूल्य केही दिन ६९ मार्कमा स्थिर रहेपनि सरकारले थप धेरै पैसा छाप्न सुरु गर्‍यो । जुलाई १९२२ सम्म ७०० प्रतिशतले मूल्य बढ्यो । अवस्था यस्तो भयो कि सरकारले करोड र अर्बको नोट छाप्नुपर्‍यो । नोभेम्बर १९२३ मा एक डलरको मूल्य एक खर्ब मार्क पुग्यो । अवस्था यस्तो थियो कि जनताले पत्रपत्रिका किन्न झोलाभरि नोट राख्नुपर्थ्यो । एकजना विद्यार्थीले त्यो अवधि सम्झँदै ५ हजार मार्कमा एक कप कफी अर्डर गरेको र अर्को क्षण यसको मूल्य ७ हजार मार्कमा पुगेको बताएका थिए । मुद्रास्फीतिले हिटलरलाई जर्मनीमा सत्तामा आउनको लागि मार्ग प्रशस्त गरेको थियो । अगस्त १९२४ मा एक नयाँ मुद्रा रेन्टेनमार्क सुरु भएको थियो । त्यसपछि धेरै कुरा नियन्त्रणमा आयो । आज जर्मनी अमेरिका र चीनपछि विश्वको तेस्रो ठूलो अर्थतन्त्र हो । आज जर्मनी युरोपेली संघको हिस्सा हो र यसको मुद्रा यूरो हो । फोर्ब्सका अनुसार जर्मनीको जीडीपी ४.७१ ट्रिलियन डलर र प्रतिव्यक्ति जीडीपी ५५.५२ हजार डलर छ ।

सहकारी ठगीमा संलग्न जो कोहीलाई छोड्दैनौँ : मन्त्री गुरुङ

काठमाडों । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सहकारी ठगीसम्बन्धी बनेको संसदीय छानबिन समितिको प्रतिवेदनमा उल्लेख भएका जोसुकै व्यक्तिलाई सरकारले नछोड्ने बताएका छन् । काठमाडाैंमा तमू(गुरुङ) सञ्चारकर्मी सङ्घ नेपालले आज आयोजना गरेको ‘तमू पत्रकारिता पुरस्कार वितगरण तथा गुरुङ न्युज डटकम वर्ष पुस्तक लोकार्पण’ कार्यक्रममा बोल्दै सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले सांसद सूर्य थापाको नेतृत्वमा तयार भएको प्रतिवेदनमा उल्लेख गरिएका जो कोहीलाई कानुनको दायरमा ल्याई कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरे । कानुनभन्दा माथि कोही पनि नभएको उल्लेख गर्दै उनले सहकारी ठगी प्रक्ररणमा कांग्रेस, एमाले, माओवादी वा अन्य पार्टीसम्बद्ध नेता तथा कार्यकर्ता एवं अन्य जो कोहीलाई कानुन बमोजिम कारवाही गर्ने स्पष्ट गरे । सांसद थापाको प्रतिवेदनमा उल्लेख भएका सबैलाई अहिले एकै चोटी कारबाही प्रक्रियामा ल्याउन नसकिने बताउँदै मन्त्री गुरुङले भने, ‘पालैपालो गरेर कसैलाई पनि छोड्ने छैनौँ, सहकारी ठगी गर्नेले उम्किन्छु भन्ने नसोचेहुन्छ, कानुनबमोजिम सबै पक्राउ पर्नेछन् ।’ मन्त्री गुरुङले सहकारी ठगी आरोपमा अनुसन्धान प्रक्रियामा प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका नेता रवि लामिछानेलाई छुटाउन गरिएको विरोध असंवैधानिक कार्य रहेको बताए । अदालतमा विचाराधीन रहेको मुद्दालाई प्रभावित गर्ने काम भइरहेकोप्रति आपत्ति व्यक्त गर्दै मन्त्री गुरुङले यस किसिमको लोकतान्त्रिक विधि र प्रक्रिया विपरितका गतिविधि नगर्न सम्बन्धित पक्षको ध्यानाकर्षण गरे । ‘आफ्ना नेता छानबिनको दायरामा रहेकाले अनुसन्धान प्रक्रियामा सहयोग गर्नुपर्ने दायित्व रास्वपाको हो, सम्मानित अदालतबाट हुने आदेश तथा फैसला नआइन्जेल धर्ना–विरोध प्रदर्शन गरी अनुसन्धान प्रक्रियालाई प्रभावित पार्न खोज्नु कदापि राम्रो होइन, अलोकतान्त्रिक गतिविधिभन्दा विधि र कानुनी शासनको पक्षमा उभिन ‘रास्वपा’ सँग अनुरोध गर्दछु’, उनले भने ।

सुनचाँदीमा बैंकहरूले बढाए २२ प्रतिशत लगानी, माछापुच्छ्रे र प्रभु बैंक आक्रामक

काठमाडौं । एक समय नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ लाख ६७ हजार २ सय रुपैयाँ पुग्यो । जुन मूल्य हालसम्मकै उच्च हो । तर, भारतमा सुनको भन्सार कम रहेका कारण नेपालमा तस्करी बढ्न सक्ने आशंकासहित सरकारले भन्सार दर घटायो । त्यसपछि सर्वाधिक उचाइमा पुगेको सुनको मूल्य करिब २० हजार रुपैयाँले घटिसकेको छ । हाल सुनको मूल्य प्रतितोला १ लाख ४९ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसरी सुनको मूल्यमा व्यापक उतारचढाव भइरहँदा सुन धितो राखेर बैंकबाट कर्जा लिनेको संख्या पनि बढेको देखिन्छ । बैंक तथा वित्तीय संस्थाले सुनलाई धितोका रूपमा राखेर कर्जा प्रवाह गर्ने गरेका छन् । चालु आर्थिक वर्ष २०८१/८२ को ४ महिनामा बैंकहरूले सुनचाँदी धितो राखेर २२.१३ प्रतिशत कर्जा बढाएका छन् । गत कात्तिकसम्म बैंकहरूले सुनचाँदीमा ६२ अर्ब ७७ करोड ६३ लाख रुपैयाँ कर्जा लगानी गरेका छन् । जबकि गत वर्षको कात्तिकमा बैंकहरूले ५१ अर्ब ३९ करोड ७७ लाख रुपैयाँ मात्रै सुनचाँदीमा लगानी गरेका थिए । यस अवधिमा बैंकहरूले सुनचाँदीमा ११ अर्ब ३७ करोड रुपैयाँ लगानी बढाएको देखिन्छ । ४ महिनाको अवधिमा माछापुच्छ्रे बैंकले आक्रामक रूपमा सुनाचाँदीमा लगानी बढाएको देखिन्छ । तथ्याङ्कअनुसार बैंकले सुनचाँदीमा १ हजार ५०६ प्रतिशत बढाएर १६ करोड ७५ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । जबकि गत वर्षको कार्तिककसम्म १ करोड ४ लाख रुपैयाँमात्रै लगानी गरेको थियो । यस्तै, प्रभु बैंकको ५७९ प्रतिशत बढेर ७ करोड ७६ लाख रुपैयाँ, सालपा विकास बैंकको २१२.३८ प्रतिशत बढेर ७ करोड ९९ लाख रुपैयाँ, नबिल बैंकको १२४.५२ प्रतिशत बढेर ६९ करोड ५ लाख रुपैयाँ सुनचाँदीमा लगानी गरेका हुन् । यस्तै, गत कार्तिकसम्म लक्ष्मी सनराइज बैंकको ७०.४६ प्रतिशत बढेर ७१ करोड ८ लाख रुपैयाँ, ग्रीन डेभलपमेन्ट बैंकको ६४.८३ प्रतिशत बढेर ७ करोड रुपैयाँ, सांग्रिला डेभलपमेन्ट बैंकको ३७.२१ प्रतिशत बढेर १८ करोड ९२ लाख रुपैयाँ, नेपाल बैंकको ३४.८० प्रतिशत बढेर २४ अर्ब ८७ करोड ६ लाख रुपैयाँ, सिद्धार्थ बैंकको ३२.६५ प्रतिशत बढेर १ करोड ३० लाख रुपैयाँ, गुडविल फाइनान्सको ३२.०९ प्रतिशत बढेर ५७ करोड ९५ लाख रुपैयाँ सुनचाँदीमा लगानी गरेका छन् । यस्तै, सिन्धु विकास बैंकको ३०.६३ प्रतिशत बढेर १० करोड १२ लाख रुपैयाँ, सप्तकोशी डेभलपमेन्ट बैंकको १६.५६ प्रतिशत बढेर १८ करोड ७७ लाख रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकको १५.७० प्रतिशत बढेर २१ अर्ब ५९ करोड ६८ लाख रुपैयाँ, लुम्बिनी विकास बैंकको १५.२० प्रतिशत बढेर २१ करोड २९ लाख रुपैयाँ, मुक्तिनाथ विकास बैंकको १३.७३ प्रतिशत बढेर ७० करोड ५२ लाख रुपैयाँ सुनचाँदी धितो राखेर कर्जा लगानी गरेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार सुनचाँदी धितो राखेर गरिमा विकास बैंकको ९.९९ प्रतिशत बढेर १ अर्ब ४ करोड १९ लाख रुपैयाँ, प्राइम बैंकको ९.८५ प्रतिशत बढेर ६ अर्ब ७८ करोड ४७ लाख रुपैयाँ, महालक्ष्मी विकास बैंकको ९.१८ प्रतिशत बढेर २४ करोड २५ लाख रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ७.०४ प्रतिशत बढेर १ अर्ब ८८ करोड ८३ लाख रुपैयाँ, ज्योति विकास बैंकको ६.११ प्रतिशत बढेर ४६ करोड १० लाख रुपैयाँ र एक्सल डेभलपमेन्ट बैंकको ०.७६ प्रतिशत बढेर ८ करोड २ लाख रुपैयाँ कर्जा लगानी गरेका छन् । तर, समीक्षा अवधिमा भने विभिन्न ८ वटा बैंकले भने सुनचाँदीमा लगानी घटाएका छन् । एनआईसी एशिया बैंकको ७५.१० प्रतिशत घटेर २ करोड २१ लाख रुपैयाँ, कुमारी बैंकको ६६.५३ प्रतिशत घटेर २५ लाख रुपैयाँ, एनएमबी बैंकको ६६.४९ प्रतिशत घटेर ६ लाख रुपैयाँ, सानिमा बैंकको ६२.३६ प्रतिशत घटेर ७ लाख रुपैयाँ सुनचाँदीमा लगानी गरेका छन् । यस्तै, गोर्खाज फाइनान्सको ७.५० प्रतिशत घटेर ५४ करोड ३६ लाख रुपैयाँ, कामना सेवा विकास बैंकको ३.९३ प्रतिशत घटेर ७३ करोड ३३ लाख रुपैयाँ, सिटिजन्स बैंकको ३.२१ प्रतिशत घटेर ७० करोड ५१ लाख रुपैयाँ, कृषि विकास बैंकको ५१.८२ प्रतिशत घटेर १ करोड ६२ लाख रुपैयाँ सुनचाँदीमा लगानी गरेका छन् ।

दराज १.१ न्यू इयर मेगासेल सुरु, ७० प्रतिशतसम्म छुट

काठमाडौं । नेपालको ई-कमर्स प्लेटफर्म दराजले नजिकिदै गरेको नयाँ वर्षको स्वागतार्थ १.१ न्यू इयर मेगासेलको आयोजना गर्ने भएको छ । १.१ न्यू इयर मेगासेल पुस १० गतेदेखि २१ सम्म चल्ने जानकारी दिइएको छ । यस मेगासेलमार्फत नयाँ वर्षको भव्य स्वागत गर्न सकियोस् भन्ने सोचका साथ कम्पनीले ग्राहकहरूलाई निःशुल्क डेलिभरी, ७० प्रतिशतसम्म छुटसहितको विशेष फ्ल्याश सेल डिलहरू र २ करोड रुपैयाँ बराबरको भाउचरहरूसमेत उपलब्ध गराउने बताएको छ। दराजको १.१ न्यू इयर मेगासेलमार्फत कम्पनीले ग्राहकहरूका लागि खेलकुद र आउटडोर, फर्निचर र होम डेकोर, महिला लुगा र जुत्ता, अडियो र मोबाइलका सामान, स्वास्थ्य तथा सौन्दर्य सामग्री लगायत विभिन्न श्रेणीहरूमा ४ हजार रुपैयाँसम्मको छुट प्राप्त गर्न सकिने भाउचर उपलब्ध गराउने जनाएको छ । गुणस्तरीय उत्पादन तथा शीर्ष ब्रान्डहरूको अभूतपूर्व डिलहरू समेटिएको दराज १.१ न्यू इयर मेगासेल, उत्कृष्ट अनलाइन किनमेल अनुभवको पर्याय बन्ने कुरामा कम्पनी विश्वस्त रहेको छ । ग्राहकहरूले सेटाफिल, ऐविबि, ब्रान्डहाउस, एन्कर र बोल्ट लगायत दराज प्लाटिनम ब्रान्ड पार्टनरहरूका साथै, नाइके तथा जुभारा जस्ता गोल्ड पार्टनरहरूद्वारा उपलब्ध गरिएका विशेष छुटहरू पनि प्राप्त गर्न सक्ने जानकारी दिइएको छ । मेगा सेल, केवल छुटहरूमा मात्र सीमित नभएको र यसमार्फत ग्राहकहरूले नयाँ उत्पादनहरू, क्लियरेन्स सेल, विभिन्न ब्रान्डहरूको हट डिल मार्फत ६० प्रतिशतसम्म छुटका साथै बजेट बाइज्अन्तर्गत ६९९, ९९९ र १ हजार ९९९ भित्रको विशेष अफरहरूको मज्जासमेत लिन सक्नेछन् । दराजले आफ्ना सम्मानित ग्राहकहरूका लागि थप बचतको व्यवस्था गर्ने उद्देश्यका साथ नेपालका प्रमुख बैंकहरूसँग साझेदारी पनि गरेको छ । सेलको अवधिभर ग्राहकहरूले दराज एपमा कार्डमार्फत भुक्तानी गर्दा थप छुटहरू प्राप्त गर्न सक्नेछन् : ११ पुस : एभरेस्ट बैंकको डेबिट कार्ड प्रयोगकर्ताहरूले १० प्रतिशत छुट (५०० रुपैयाँसम्म) र क्रेडिट कार्ड प्रयोगकर्ताहरूले १५ प्रतिशत छुट (७५० सम्म) को लाभ उठाउन सक्ने १२ पुस : एनएमबी बैंकको डेबिट र क्रेडिट कार्ड प्रयोग गर्दा ग्राहकहरूले १० प्रतिशत छुट (५०० सम्म) को लाभ उठाउन सक्ने १३ पुस : हिमालयन बैंकको डेबिट कार्ड प्रयोगकर्ताहरूले १० प्रतिशत छुट (५०० सम्म) र क्रेडिट कार्ड प्रयोगकर्ताहरूले १५ छुट (५०० सम्म) को लाभ उठाउन सक्ने। सन् २०१५ मा स्थापित दराज, दक्षिण एशियाकै अग्रणी ई-कमर्स प्लेटफर्म हो । दराजले पाकिस्तान, बंगलादेश, श्रीलंका, नेपाल र म्यानमारमा आफ्नो सेवा प्रदान गर्दछ । कम्पनीले ५० करोड जनसंख्या भएको तीव्र रूपमा बढ्दो क्षेत्रलाई लक्षित गर्दै अत्याधुनिक बजार प्रविधि उपलब्ध गराउँदै आइरहेको छ ।

सिद्धार्थ बैंकले मनायो २२ औं वार्षिकोत्सव

काठमाडौं । सिद्धार्थ बैंकले आफ्नो स्थापना कालको २२ औं वर्ष पुरा गरेको छ । २०५९ साल पौष ९ गते १७ औं वाणिज्य बैंकको रूपमा सिद्धार्थ बैंक स्थापना भएको थियो । बैंक सञ्चालनको २२ वर्ष पूरा भएको अवसरमा बैंकले नक्सालस्थित आफ्नो प्रधान कार्यालय भवनमा प्रमुख कार्यकारी अधिकृत, नायव प्रमुख कार्यकारी अधिकृत, सहायक प्रमुख कार्यकारी अधिकृत र बैंकमा कार्यरत कर्मचारीहरूको उपस्थितिमा एक कार्यक्रम गरी बैंकको वार्षिकोत्सव सम्पन्न गरेको छ । यसैगरी, बैंकले आफ्नो वार्षिकोत्सवलाई भव्य र सभ्य बनाउने उद्देश्यले विभिन्न कार्यक्रमहरूको आयोजना गरेको छ । यस अवसरमा फुटसल प्रतियोगिता, टेबल टेनिस, देशका विभिन्न स्थानमा रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो । रक्तदान कार्यक्रममा बैंकका कर्मचारीहरूका साथसाथै ग्राहक एवं स्थानीयवासीहरू गरी १०२ जना रक्तदाताहरूको सहभागिता रहेको थियो । साथसाथै बैंकमा १५ वर्ष बिताएका कर्मचारीहरूको योगदानलाई कदर गर्दै उनीहरूलाई अभिनन्दन गरेको छ । डिजिटल बैंकिङलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ ग्राहक महानुभावहरूलाई लक्षित गर्दै ‘सिद्धार्थ बैंक २२ औं वार्षिकोत्सव अफर’ ल्याएको छ ।