हल्दिबारीमा ३३ किलोमिटर सडक कालोपत्र
काठमाडौं । झापाको हल्दिबारी गाउँपालिकाले पालिका क्षेत्रमा ३३ किलोमिटर सडक कालोपत्र गरेको छ । स्थानीय तह पुनःसंंरचना भएपछि हल्दिबारी गाउँपालिकाले यहाँका मुख्य सडक कालोपत्र गरेको हो । गाउँपालिका अध्यक्ष रविन्द्र लिङ्देनका अनुसार गाउँपालिकाको आन्तरिक स्रोत वार्षिक १ करोड ५० लाख रुपैयाँबाट कालोपत्र थालिएको जानकारी दिँदै सङ्घ र प्रदेशबाट पर्याप्त बजेट प्राप्त नहुँदा नागरिकको माग अनुसार काम गर्न नसकिएको बताए । गाउँपालिकाले चालु आर्थिक वर्षमा १६ किलोमिटर सडक निर्माण पूरा गर्ने लक्ष्यका साथ धमाधम काम गरिरहेको छ । काठ र बाँसबाट बनेका पुल विस्थापित गर्ने गाउँपालिकाको अभियानअन्तर्गत १ सय वटाभन्दा बढी त्यस्ता पुल विस्थापित गरी पक्की पुल र कल्भर्ट निर्माण गरिएको जानकारी उनले दिए । यसैबीच, बहुवर्षे योजनाअन्तर्गत भुतेनी र भुसुडी खोलामा पक्की पुल निर्माण भइरहेको छ । दुवै खोलामा पुल निर्माणका लागि ५ करोड ५० लाख रुपैयाँ बराबरको बोलपत्र आह्वान गरे पनि ४ करोड ६७ लाख रुपैयाँमा सम्झौता भएर ७० प्रतिशत कार्य सम्पन्न भएको छ ।
सवारी दुर्घटनामा १९१ को ज्यान गयो, ३२७ जना गम्भीर घाइते
काठमाडौं । कोशी प्रदेशमा पाँच महिनामा २ हजार ९२ मोटरसाइकल दुर्घटनाका घटना भएका छन् । चालु आर्थिक वर्षको साउनदेखि मङ्सिर मसान्तसम्ममा प्रदेशभर ३ हजार ४९८ वटा सवारी दुर्घटना भएका इटहरीस्थित नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले जनाएको छ । उक्त अवधिमा सबैभन्दा बढी मोटरसाइकल दुर्घटना भएका र त्यसपछि क्रमशः टेम्पो, जिप र कार दुर्घटना भएका उक्त कार्यालयका सूचना अधिकारी रामेश्वर ट्वाटीले बताए । ‘पूर्वपश्चिम राजमार्गमा एसियन हाइवेको स्तरोन्नति कार्य भइरहेको अवस्थामा जेब्रा क्रसिङ र सवारी सङ्केतको अभावमा बढी मोटरसाइकल दुर्घटना भएको देखिन्छ,’ उनले दुर्घटनाको कारण बताउँदै भने, ‘तीव्र गतिमा लापर्वाहीपूर्वक मोटरसाइकल चलाउँदा मानव क्षति धेरै भएको छ ।’ सवारी दुर्घटनामा परी सो अवधिमा १९१ जनाको मृत्यु भएको छ भने ३२७ जना गम्भीर घाइते भएका छन् ।
भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको ९२ वर्षको उमेरमा निधन
काठमाडौं । भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको बिहीबार राति निधन भएको छ । उको ९२ वर्षको उमेरमा निधन भएको हो । सिंहआज घरमा अचानक बेहोस भएपछि उनलाई दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) लगिएको थियो। उमेरसँग सम्बन्धित स्वास्थ्य समस्याका कारण उनको लामौ समयदेखि उपचार भइरहेको थियो । बिहीबार घरमा अचानक बेहोस भएका उनलाई तुरुन्तै घरमा सामान्य उपचारपछि राति ८ः०६ बजे नयाँ दिल्लीस्थित एम्समा मेडिकल इमर्जेन्सीमा लगिएको थियो । ‘सबै प्रयासका बावजुद उहाँलाई बचाउन सकिएन र राति ९ः५१ बजे उनलाई मृत घोषित गरियो,’ एम्सले जारी गरेको विज्ञप्तिमा भनिएको छ। सिंहले ३३ वर्ष सेवा गरेपछि यसै वर्षको सुरुमा अवकाश विश्राम लिएका थिए । सन् १९३२ मा पञ्जाबमा जन्मिएका मनोमोहन सिंहले सन् २००४ देखि २०१४ सम्म दुई कार्यकाल भारतको प्रधानमन्त्रीको रूपमा काम गरे । सन् २००४ को लोकसभा चुनावमा अटल बिहारी बाजपेयी नेतृत्वको एनडीएविरुद्ध कंग्रेसले विजय हासिल गरेपछि उनले पहिलोपटक सन् २००४ मा प्रधानमन्त्री पदको शपथ लिएका थिए । उनले सन् २००९ देखि २०१४ सम्म दोस्रो कार्यकाल सम्हालेका थिए । उनले सन् २०१४ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जिम्मेवारी सुम्पिएका थिए । यसैबीच, भारतीय प्रधानमन्त्री मोदी,लगायतका सत्ताधारी दल र विपक्षी दलका नेताहरूले उनलाई एक असल एवं कर्तव्यनिष्ठ प्रधानमन्त्रीका रूपमा स्मरण गरेका छन् । प्रधानमन्त्री मोदीले सिंहको निधनको खबरले आफुलाई दुखी तुल्याएको बताएका छन् । उनका अनुसार भारतले आफ्ना एक सम्मानित नेता डा मनमोहन सिंहजीलाई गुमाएको छ। नम्र पृष्ठभूमिबाट उठेर उनले एक सम्मानित अर्थशास्त्रीको रूपमा आफ्नो पहिचान बनाएका थिए । उनले अर्थमन्त्रीलगायत सरकारका धेरै महत्वपूर्ण पदमा रहेर काम गरेका थिए ।
प्रभु महालक्ष्मी लाइफ एनसीएचएलमा आबद्ध, सबै भुक्तानी डिजिटलबाटै हुने
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको भुक्तानी सम्बन्धी कारोबार नेपाल क्लियरिङ्ग हाउस (एनसीएचएल) बाट गर्न सकिने भएको छ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका सबै भुक्तानी एनसीएचएलको भुक्तानी प्रणाली प्रयोग गरी डिजिटल माध्यमबाटै गर्न सकिने भएको हो । प्रभु महालक्ष्मीको भुक्तानी सम्बन्धी कारोबार गर्ने दुई संस्थाबीच सम्झौता भएको छ । सम्झौतापत्रमा प्रभु महालक्ष्मी लाइफका प्रमुख कार्यकारी अधिकृत सन्तोस प्रसाईं र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका हुन् । यससँगै प्रभु महालक्ष्मीको आन्तरिक प्रणालीलाई एनसीएचएलको नेशनल पेमेन्ट इन्टरफेससँग जोडी विभिन्न भुक्तानी उपकरणहरु प्रयोग गर्न सक्नेछन । प्रभु महालक्ष्मी लाइफले एनसीएचएल आईपीएस र आरपीएस प्रणालीहरुमार्फत् प्रिमियम भुक्तानी संकलन, एजेन्ट कमिशन, तलब, भेण्डर भुक्तानी, सरकारी राजस्व, सामाजिक सुरक्षा कोष, नागरिक लगानी कोषका भुक्तानी लगायत सेवा उपलब्ध हुने छन् । साथै प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले एनपीआई प्रयोग गरी आफ्ना बीमाकर्ताहरूलाई ऋण भुक्तानी गर्न थालिसकेको छ । भविष्यमा अन्य भुक्तानीहरु पनि क्रमिक रुपमा लागू हुने कम्पनीले जनाएको छ ।
सबैभन्दा बढी डिजिटल कारोबार गर्ने बैंक बन्यो ज्योति विकास, पायो एक्सलेन्स इन डिजिटल ट्रान्जेक्सन अवार्ड
काठमाडौं । ज्योति विकास बैंक एक्सलेन्स इन डिजिटल ट्रान्जेक्सन अवार्डबाट सम्मानित भएको छ । उत्कृष्ट डिजिटल सेवाका साथै सबैभन्दा बढी डिजिटल कारोबार गरेर विद्युतीय भुक्तानीलाई प्रोत्साहन गरेको भन्दै नेपाल क्लियरिङ हाउस (एनसीएचएल)ले एक्सलेन्स बैंकलाई इन डिजिटल ट्रान्जेक्सन अवार्डबाट सम्मान गरेको हो । एनसीएचएलको १६औँ वार्षिकोत्सवको अवसरमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)कपिल ढकाललाई उक्त अवार्ड प्रदान गरेका हुन् । प्रविधिमैत्री र ग्राहक केन्द्रीत सेवालाई प्राथमिकतामा राख्दै डिजिटल ट्रान्सफर्मेशन र नवीनतम प्रविधि मार्फत डिजिटल बैंकिङ्गमा भूमिका निर्वाह गर्दै सबल र सुदृढ डिजिटल बैंकिङ निर्माणलाई निरन्तरता दिंदै आएको बैंकले जनाएको छ । बैंकले ग्राहकहरूलाई सुविधाजनक र सुरक्षित पहुँच प्रदान गर्ने अनलाइन र मोबाइल बैंकिङ्ग प्लेटफर्महरूलाई सुव्यवस्थित गर्दै विभिन्न आधुनिक डिजिटल बैंकिङ्ग सेवा र सुविधाहरू उपलब्ध गराउँदै आएको बैंकको भनाइ छ । बैंकले विकास बैंकहरूमा पहिलोपटक भ्यावइस अडियो बक्स क्यूआर सेवा सुचारु गरी क्यूआर मर्चेन्टहरूको सहजता सुनिश्चित गरेको छ । यस्तै, डिजिटल बैंकिङ्ग र नगद रहित कारोबार प्रवद्र्धन गर्दै क्रस–बोर्डर भुक्तानी सेवा पनि सञ्चालन गरेको छ । मोबाइल बैंकिङ्ग एपमार्फत मुद्दती खाता खोल्न सकिने सुविधा, ज्योति स्मार्ट एप मार्फत एटीएम बाट पैसा झिक्न सकिने कार्डलेस क्यास विथड्रल सेवा, चेक बिना नै काउन्टरमा भएको क्यूआर कोड स्क्यान गरी रकम झिक्न सकिने स्क्यान एण्ड वीथड्र सेवा, अनलाइनबाटै खाता खोल्न र सुचारु गर्न भिडियो केवाईसी सुविधा लगायत थुप्रै आधुनिक बैंकिङ्ग सेवाहरू बैंकले उपलब्ध गराउँदै आएको छ । साथै, देशभरिका व्यवसायीलाई निःशुल्क क्यूआर कोड सेवा प्रदान गर्दै बैंकले डिजिटल कारोबारलाई थप प्रोत्साहित गर्दै डिजिटल बैंकिङ्गको विकासमा महत्वपूर्ण योगदान दिइरहेको छ । अत्याधुनिक डिजिटल अभ्यासहरूलाई उच्च प्राथमिकता दिंदै बैंकसँगको कारोबारलाई थप सबल र प्रभावकारी बनाउन बैंक प्रतिवद्ध छ । डिजिटल बैंकिङ्गको प्रयोग बढेसँगै बैंकले सोहि प्रक्रियामा आवश्यक पर्ने पासवर्ड, पिन, ओटीपी कोड र अन्य गोप्य विवरण सुरक्षित राखी कारोबार गर्न र वित्तीय ठगी विरुद्ध सचेत हुन जोड दिएको छ ।
४ दिनमै बिक्री भयो गरिमा समृद्धि योजनाका इकाई
काठमाडौं । गरिमा म्युचुअल फण्ड ४ दिनमै बिक्री भएको छ । गरिमा क्यापिटलको गरिमा म्युचूअल फण्ड अन्तर्गत सञ्चालित गरिमा समृद्धि योजनाका इकाई ४ दिनमा नै बिक्री भएको जनाएको छ । कोष प्रवर्द्धक गरिमा विकास बैंक र योजना व्यवस्थापक गरिमा क्यापिटल रहेको उक्त फण्ड गरिमा म्युचूअल फण्ड अन्तर्गतको पहिलो बन्दमुखी योजना हो । क्यापिटलको पुस ७ गतेदेखि आज पुस ११ गतेसम्म बिक्री खुला गरेको थियो । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्य दरका १ अर्ब रुपैयाँको १० करोड इकाई बिक्री गरेको हो । जसमध्ये १४ प्रतिशत अर्थात् १ करोड ४० लाख इकाई कोष प्रवद्र्धक गरिमा विकास बैंक, एक प्रतिशत अर्थात् १० लाख इकाई योजना व्यवस्थापक गरिमा क्यापिटल र बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधरणका लागि छुट्याएको छ । १० वर्ष अवधि रहेको उक्त योजनामा रितपूर्वक मागभन्दा बढी रकमको लागि आवेदन परेकाले निष्काशन बन्द गरिएको क्यापिटलले जनाएको छ ।
देशबन्धु बस्नेतले भित्र्याए होटल ‘मर्क्योर’, सुकेधारामा ३ अर्ब लगानीमा सञ्चालनमा आउँदै
काठमाडौं । पाँचतारे होटल ‘द मेट्रोपोलिटन होटल’ सुकेधारामा सञ्चालनमा आउँदैछ । होटल व्यवसायमा विश्वकै अग्रणी मानिने एक्कोर समूहले होटल निर्माण गरेको हो । विश्वविख्यात चेन होटल ब्राण्ड ‘मक्र्योर’लाई देशबन्धु बस्नेत (अजित)ले नेपाल भित्र्याएका हुन् । होटल २०२५ जनवरी दोस्रो सातादेखि सञ्चालनमा आउन लागेको छ । ५ रोपनी क्षेत्रफलमा फैलिएको होटल ११ तले छ । होटलमा १०४ वटा विलासी कोठा छन् । होटलले सुकेधारा क्षेत्रलाई पर्यटनको केन्द्रमा परिणत गर्दै रोजगारी सिर्जना गर्ने र भौतिक पूर्वाधार सुधार्ने अपेक्षा गरिएको छ । होटलले १८० देखि २२० प्रत्यक्ष र अप्रत्यक्ष रोजगारी सिर्जना गरेको जनाइएको छ । होटल उद्घाटन नहुँदै होटलको आडैमा रहेको खाली जग्गालाई सजाई मनमोहन पार्क निर्माण भइसकेको छ । होटलमा हालसम्म ३ अर्ब बढी लगानी भइसकेको बताइएको छ । होटलको व्यवस्थापन ‘मर्क्योर’ले सम्हालेको छ । मक्र्योर ब्राण्डले एसिया, युरोप, अफ्रिका र मध्यपूर्वका ५ हजार ५ सय बढी होटलको व्यवस्थापन गरिरहेको छ । यसैगरी, १० हजारभन्दा बढी खाना तथा पेयस्थलहरू पनि सञ्चालन गर्दै आएको छ । एकोरमा लक्जरीदेखि आर्थिक वर्गसम्मका ब्राण्डहरूको समावेशी पोर्टफोलियो रहेको छ । एकोर केवल आवासीय सेवामै सीमित छैन, यो जीवनशैली अनुभव प्रदान गर्ने र यात्राको भविष्य निर्माणमा अग्रणी संस्थासमेत हो । देशबन्धु नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारी सदस्य हुन् । उनी वायु तथा यातायात समितिका अध्यक्ष र नेपालमा जाम्बियाको मानार्थ कन्सुलर पनि हुन् । साथै उनी एबी होल्डिङका अध्यक्षसमेत हुन् । एबी होल्डिङ एक प्रख्यात कन्ग्लोमेरेट हो, जुन परियोजना विकास र इक्विटी लगानीमा संलग्न छ ।
हकप्रद सेयर निष्कासन गर्दै मन्दाकिनी हाइड्रो, बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल
काठमाडौं । मन्दाकिनी हाइड्रोपावरले हकप्रद सेयर निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले १ः१.२५ अनुपातमा हकप्रद सेयर निष्कासन गर्न लागेको हो । हकप्रद सेयर जारी गरी कम्पनीले माथिल्लो सार्दिखोला जलविद्युत आयोजना (२.९ मेगावाट) निर्माण गर्ने तथा अन्य जलविद्युत परियोजनामा लगानी गर्ने योजना बनाएको छ । कम्पनीको हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल नियुक्त गरेको छ । काठमाण्डौंमा आयोजित एक कार्यक्रममा मन्दाकिनी हाइड्रोपावरको तर्फबाट सञ्चालक समितिका अध्यक्ष शरदकुमार दाहाल र ग्लोबल आइएमई क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) मन्दिप लुईंटेलले सम्झौतापत्रमा हस्ताक्षर गरे । यस कम्पनीद्वारा प्रवर्द्धित सार्दीखोला जलविद्युत आयोजना कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिकामा रहेको र आयोजनाबाट ४ मेगावाट बराबरको विद्युतशक्ति २०७४ साल मंसीरदेखि व्यवसायिक रुपमा उत्पादन भई आयोजना पूर्ण रूपमा सञ्चालनमा आएको छ । कम्पनीको अधिकृत पुँजी २ अर्ब रुपैयाँ तथा जारी पूँजी ६४ करोड ६७ लाख रुपैयाँ छ। मंसिर ७ गते सम्पन्न भएको एघारौं वार्षिक साधारण सभाले हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित गरिसकेको छ ।