आइसीएफसी फाइनान्सका ग्राहकलाई स्काईवाक टावरमा १५ प्रतिशत छुट
काठमाडौं । आइसीएफसी फाइनान्स लिमिटेडका ग्राहकले स्काईवाक टावरको टिकट मूल्यमा १५ प्रतिशत छुट पाउने भएका छन् । बैंकको डेबिट कार्डबाहक तथा मोबाइल बैंकिङ प्रयोगकर्ताहरूलाई वन्डर्स नेपाल प्रालिबाट सञ्चालित कमलादीस्थित स्काईवाक टावरको टिकट मूल्यमा १५ प्रतिशत छुट प्रदान गर्ने गरी दुवै पक्षबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो । उक्त साझेदारीमा आइसीएफसी फाइनान्सको तर्फबाट बजार प्रमुख सन्जोग गुरुङ र वन्डर्स नेपालको तर्फबाट प्रमुख सञ्चालन अधिकृत रोहित ज्ञावालीले हस्ताक्षर गरेका थिए । सम्झौताअनुसार फाइनान्सका ग्राहकहरूलाई वन्डर्स नेपालले स्काईवाक टावरमा उपलब्ध मनोरञ्जनात्मक तथा अन्य सेवाहरूमा १५ प्रतिशत छुट उपलब्ध गराउनेछ ।
अन्नपूर्ण क्षेत्रमा अहिले सम्मकै बढी पर्यटक
गण्डकी । पदयात्राका लागि विश्वप्रसिद्ध गन्तव्य अन्नपूर्ण क्षेत्रमा सन् २०२४ मा दुई लाख ४४ हजार ४५ जना विदेशी पर्यटक भित्रिएका छन् । ती मध्ये दक्षिण एसियाली मुलुकका एक लाख ३२ हजार ९४ र अन्य मुलुकका एक लाख ११ हजार नौ सय ५१ रहेका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का अनुसार उक्त सङ्ख्या हालसम्मकै बढी हो । यसअघि सबैभन्दा बढी सन् २०२३ मा एक लाख ९१ हजार पाँच सय ५८ पर्यटकले उक्त क्षेत्रको भ्रमण गरेका थिए । सन् २०१९ मा एक लाख ८१ हजार पर्यटक भित्रिएकामा त्यसयता कोभिड-१९ महामारीका कारण पर्यटक आगमन घटेको थियो । उक्त महामारी छँदा सन् २०२१ मा जम्मा १६ हजार एक सय पाँच पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका थिए । त्यसको अर्को वर्ष अर्थात् सन् २०२२ मा जम्मा एक लाख २९ हजार सात सय ३३ पर्यटक त्यस क्षेत्रमा पुगेका थिए । गत वर्षदेखि यस क्षेत्रको पर्यटन पुरानै लयतिर फर्किएको ‘एक्याप’का प्रमुख डा. रबिन कडरियाले बताए । ‘अन्नपूर्ण क्षेत्रमा सन् २०२४ मा पर्यटक आगमनमा नयाँ रेकर्ड कायम भएको छ’, उनले भने, ‘गत वर्षको तुलनामा उल्लेख्य संख्यामा पर्यटक बढेका छन् ।’ अन्नपूर्ण चक्रीय पदमार्गमा अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, मनाङको तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ, मुक्तिनाथ क्षेत्र, म्याग्दीको घोडेपानीलगायतका गन्तव्यस्थलमा बर्सेनि लाखौँ आन्तरिक तथा बाह्य पर्यटक पुग्ने गरेका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले ती गन्तव्यस्थलमा घुमफिर गर्ने विदेशी पर्यटकको मात्र तथ्याङ्क राख्ने गरेको छ । सात हजार छ सय वर्ग किलोमिटरमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्र पदयात्राका लागि आकर्षक गन्तव्य मानिन्छ । चार वर्षअघि चर्चित अन्तर्राष्ट्रिय ट्राभल साइट लोन्ली प्लानेटले अन्नपूर्ण चक्रीय पदमार्गलाई विश्वका घुम्नै पर्ने दस गन्तव्य सूचीमा राखेको थियो । अमेरिकी समाचार संस्था ‘सिएनएन’ले सन् २०२३ मा विश्वका घुम्नैपर्ने २३ गन्तव्यको सूचीमा परेको मुस्ताङ उपत्यका पनि अन्नपूर्ण संरक्षण क्षेत्रमै पर्छ । प्राकृतिक सौन्दर्य, जैविक विविधता, हिमाली जनजीवन, संस्कृति आदि कारणले अन्नपूर्ण क्षेत्र पर्यटकको रोजाइमा पर्ने गरेको छ । कास्की, लमजुङ, मनाङ, म्याग्दीलगायत जनसुकै मार्गबाट अन्नपूर्ण क्षेत्रको छोटो, मध्यम र लामो दुरीको पदयात्रा तय गर्न सकिन्छ । आकर्षक गन्तव्यस्थल, पर्यटनमैत्री पूर्वाधार, स्थानीयवासीको आतिथ्यता र सेवासुविधाका हिसाबले अन्नपूर्ण चक्रीय पदमार्ग घुमफिरका लागि उत्कृष्ट मानिन्छ ।
सञ्चालनमा आयो तनहुँको मार्कीचोक २२० केभी सबस्टेसन
काठमाडौं । तनहुँको आँबुखैरेनी गाउँपालिकाको मार्कीचोकमा ग्याँस इन्सुलेटेड प्रणाली (जिआइएस) प्रविधिमा आधारित २२०/१३२ केभी सबस्टेसन निर्माण सम्पन्न भएको छ । मर्स्याङ्दी-काठमाडौं २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत निर्माण गरिएको मार्कीचोक सबस्टेसन मङ्गलबार विद्युत प्रवाह गरी (चार्ज) सञ्चालनमा ल्याइएको छ । मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत काठमाडौ उपत्यकामा ल्याउन मार्कीचोक सबस्टेसनबाट काठमाडौंसम्मको मर्स्याङ्दी-काठमाडौं २२० केभी डबल सर्किट प्रसारण लाइनलाई पनि मङ्गलबारनै २२० केभीमा चार्ज गरी सञ्चालनमा ल्याइएको छ । ८२ किलोमिटर उक्त प्रसारण लाइनलाई ७ असार २०७९बाट १३२ केभीमा चार्ज गरी सञ्चालनमा ल्याइएको थियो । मार्कीचोक सबस्टेसन चार्ज गरिएसँगै मर्स्याङ्दी-काठमाडौ प्रसारण लाइन २२० केभीमा सञ्चालनमा ल्याइएको हो । मर्स्याङ्दी नदी जलाधार क्षेत्रका जलविद्युत आयोजनाहरुको विद्युत् काठमाडौं उपत्यकामा आपूर्ति गर्न र देशभित्रको एकीकृत विद्युत् प्रणालीलाई सुदृढ बनाउन मर्स्याङ्दी-काठमाडौं २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत प्रसारण लाइन र मार्कीचोक तथा काठमाडौंको मातातीर्थमा २२०/१३२ केभी सबस्टेसन निर्माण गरिएको हो । मातातीर्थ सबस्टेसन निर्माण सम्पन्न गरी गत वैशाखबाट सञ्चालनमा आइसकेको छ । दुवै सबस्टेसनमा १६०/१६० एमभिए क्षमताका दुई/दुई पावर ट्रान्सफर्मर राखिएका छन् । दुवै सबस्टेसनको क्षमता ३२०/३२० एमभिए छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मार्कीचोक सबस्टेसन सञ्चालनमा आएसँगै मस्र्याङ्दी नदी करिडोरका जलविद्युत आयोजनाहरुको विद्युत् २२० केभी प्रसारण लाइनबाट काठमाडौं उपत्यकामा ल्याउन पूर्वाधार संरचना बनेको बताए । यसबाट देशको एकीकृत विद्युत् प्रणालीको भोल्टेज सुधार भई विद्युत् थप पर्याप्त, भरपर्दो र गुणस्तरीय हुने उल्लेख गर्दै कार्यकारी निर्देशक घिसिङले मर्स्याङ्दी करिडोर प्रसारण लाइन आयोजनाअन्तर्गत निर्माणाधीन मार्कीचोक-भरतपुर खण्ड सम्पन्न भएपछि विद्युत् भरतपुरतर्फ पनि पठाउन सकिने बताए । मार्कीचोक-भरतपुर खण्ड आगामी जेठभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ । मार्कीचोकबाट चन्द्रगिरि नगरपालिकाको बाडभञ्ज्याङसम्म मर्स्याङ्दी-काठमाडौं प्रसारण लाइन र त्रिशूली नदी जलाधार क्षेत्रका जलविद्युत आयोजनाहरुको विद्युत काठमाडौं उपत्यकामा ल्याउन निर्माण गरिएको त्रिशूली-काठमाडौं २२० केभी प्रसारण लाइनलाई बाडभञ्ज्याङमा एक आपसमा आवद्ध गरिएको छ । त्रिशूली र मर्स्याङ्दीका दुवै प्रसारण लाइनलाई बाडभञ्ज्याङबाट मल्टिसर्किट (चार सर्किट ) मा आवद्ध गरी मातातीर्थ सबस्टेसनमा समाहित गरिएको छ । मर्स्याङ्दी-काठमाडौं र त्रिशूली–काठमाडौं प्रसारण लाइनबाट आएको करिब १/१ हजार मेगावाट विद्युत् बाडभञ्ज्याङमा आवद्ध भई त्यहाँबाट करिब २ हजार मेगावाट विद्युत् मल्टिसर्किट प्रसारण लाइनमार्फत मातातीर्थ सबस्टेसनमा समाहित हुने छ । मर्स्याङ्दी-काठमाडौं प्रसारण लाइन आयोजनाअन्तर्गत मातातीर्थ र मार्कीचोक सबस्टेसन निर्माण ठेक्का पाएको कम्पनीको कार्यसम्पादन सन्तोषजनक नभएपछि ठेक्का तोडी २०७७ पुसमा चाइना मेसेनरी इन्जिनियरिङ कर्पोरेसनसँग नयाँ ठेक्का सम्झौता गरी बाँकी निर्माण अगाडि बढाइएको थियो । दुवै सबस्टेसनको अनुमानित लागत करिब सवा दुई अर्ब रुपैयाँ रहेको आयोजना प्रमुख लक्ष्मण फुँयालले उल्लेख गरे । नेपाल सरकार तथा प्राधिकरणको लगानी र नर्वे सरकारको अनुदान तथा एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा मर्स्याङ्दी-काठमाडौं प्रसारण लाइन आयोजना सुरु गरिएको थियो ।
माछापुच्छ्रे बैंकले कपन बहुमुखी क्याम्पसमा गर्यो वित्तीय साक्षरता कार्यक्रम
काठमाडौं । माछापुच्छ्रे क्यापिटल लिमिटेड तथा माछापुच्छ्रे बैंक लिमिटेडको कपन शाखाले कपन बहुमुखी क्याम्पसमा वित्तीय साक्षरता तथा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । बैंकको कपन शाखाको संयुक्त आयोजनामा मंगलबार युवा विद्यार्थीहरूमा लगानी सम्बन्धी सचेतना प्रदान गर्ने तथा लगानीको महत्व बुझाउने उद्देश्यले कार्यक्रम गरेको हाे । बैंकले बुढानीलकण्ठमा रहेकाे कपन बहुमुखी क्याम्पसमा स्नातक तहमा अध्यनरत विद्यार्थीहरूलाई लगानी तथा वित्तीय जनचेतना सम्बन्धी प्रारम्भिक शिक्षा तथा सचेतना प्रदान गरेको छ । माछापुच्छ्रे क्यापिटल लिमिटेड माछापुच्छ्रे बैंक लिमिटेडको सहायक कम्पनी हो । पब्लीक लिमिटेड कम्पनीको रुपमा स्थापित धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) कम्पनी, माछापुच्छ्रे क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्ड मार्फत धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन, संस्थागत परामर्श सेवा, निक्षेप सदस्य, सामूहिक लगानी कोषको सेवा प्रदान गरिरहेको छ ।
एशियन लाइफ इन्स्योरेन्सको सीईओमा दिनेशलाल श्रेष्ठ दोहोरिए
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा दिनेशलाल श्रेष्ठ पुनः नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको बैठकले श्रेष्ठलाई थप ४ वर्षका लागि पुनः सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । श्रेष्ठलाई आगामी माघ १ गतेदेखि सीईओमा पुनः नियुक्ति गर्ने निर्णय गरेको कम्पनीका अध्यक्ष दीपककुमार श्रेष्ठले जानकारी दिए । श्रेष्ठको पहिलो कार्यकाल पुस मसान्तमा सकिँदैछ । एशियन लाइफको सीईओ बन्नुअघि श्रेष्ठ गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्समा सीईओको रूपमा कार्यरत थिए । उनले त्रिभुवन विश्वविद्यालयबाट एमबीएसम्मको अध्ययन पूरा गरेका छन् । १८ वर्षको बैकिङ क्षेत्रमा काम गरेको अनुभव उनीसँग छ ।
बिटकोइनको मूल्यमा १२० प्रतिशतको वृद्धि , ३.५ ट्रिलियन डलरको बजार
काठमाडौं । बिटकोइनको मूल्य सन् २०२४ मा दोब्बरभन्दा धेरै बढेको छ । अमेरिकी बजार नियामकले यसको ‘स्पट मूल्य’ मा आधारित एक्सचेन्ज-ट्रेडेड फन्ड (ईटीएफ) को स्वीकृति र अमेरिकामा राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्पको जित प्रमुख कारण बिटकोइनको मूल्य बढेको हो । विश्वको सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी बिटकोइन डिसेम्बरको सुरुमा १ लाख डलरमा पुगेको थियो, जसले यस क्षेत्रमा नयाँ ऊर्जा प्रदान गरेको छ । यो वर्ष बिटकोइनमा १२० प्रतिशत वृद्धि र इथरको लगभग ५० प्रतिशत वृद्धिले क्रिप्टो उद्योगको बजार मूल्यलाई करिब ३.५ ट्रिलियन डलरमा पुर्याएको कोइनगेक्कोले जनाएको छ । बिटकोइनको मार्केट क्याप २.१ ट्रिलियन पुगेको छ र यो गुगललाई हराउनबाट १० प्रतिशतमात्र टाढा छ । गुगलको मूल कम्पनी अल्फाबेटको बजार पुँजी २.३३२ ट्रिलियन छ र यो विश्वको छैटौं सबैभन्दा मूल्यवान कम्पनी हो । विश्लेषकहरू बिटकोइनले २०२५ मा पनि झन् धेरै प्रगति गर्ने जनाएका छन् । ‘हामी विश्वस्त छौं कि १ लाख डलर अन्तिम कोशेढुंगा होइन । हामी बिटकोइनले २०२५ को अन्तमा २ लाख डलरको उच्च वृद्धिमा पुग्ने आशा गर्छौं,’ ब्रोकरेज बर्नस्टाइनका विश्लेषकहरूले यस महिनाको सुरुमा ग्राहक नोटमा लेखेका थिए । माइक्रोस्ट्रटेजी एक सफ्टवेयर फर्म जुन बिटकोइनको संसारको सबैभन्दा ठूलो कर्पोरेट होल्डर बनेको छ, यसको सेयर २०२४ मा लगभग पाँच गुणा बढेको छ । ‘हामी आशा गर्छौं कि बिटकोइनले नयाँ युगको प्रमुख ‘मूल्यको भण्डार’ सम्पत्तिको रूपमा अन्ततः अर्को दशकमा सुनलाई प्रतिस्थापन गर्नेछ र संस्थागत बहु-सम्पत्ति विनियोजनको स्थायी अंश र कर्पोरेट ट्रेजरी व्यवस्थापनको लागि मानक बन्नेछ,’ बर्नस्टेन नोटले भनेको छ । जनवरीमा यूएस सेक्युरिटीज एण्ड एक्सचेन्ज आयोगले बिटकोइनको स्पट मूल्य ट्र्याक गर्न पहिलो ईटीएफलाई अनुमोदन गरेसँगै आशा बढेको थियो । डिसेम्बर ५ मा पहिलो पटक बिटकोइनको मूल्य १ लाख पुगेको थियो । यसको कारण अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प हुन् । उनले चुनावी क्याम्पको क्रममा देशमा तेलको भण्डारजस्तै बिटक्वाइनको भण्डार सिर्जना गर्ने योजना रहेको बताएका थिए। अमेरिकामा राष्ट्रपतीय चुनावमा ट्रम्पको जितपछि बिटकोइनले फड्को मार्दै आएको हो । उनलाई क्रिप्टोकरेन्सीको बलियो समर्थक मानिन्छ । चुनावी प्रचारका क्रममा उनले अमेरिकालाई विश्वको क्रिप्टो राजधानी बनाउन चाहेको बताएका थिए । नोभेम्बर ५ मा नतिजा आएदेखि बिटकोइन ५० प्रतिशतले बढेको छ। २०२४ मा माइक्रोस्ट्राटेजी, कोइनबेस, र बिटकोइन माइनर हट ८ जस्ता कम्पनीहरूले क्रिप्टो उद्योगको वृद्धिबाट फाइदा उठाएका छन् तर, उच्च ऊर्जा र हार्डवेयर लागतका कारण अन्य माइनरहरू भने घाटामा गएका छन् ।
एकैदिन प्रतितोला १४ सयले बढ्यो सुनको मूल्य
काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य बढेको छ । मंगलबार प्रतितोला एक हजार रूपैयाँ घटेको सुनको मूल्य बुधबार प्रतितोला एक हजार चार सय रूपैयाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५१ हजार रूपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाल सुन प्रतितोला एक लाख ४९ हजार छ सय रूपैयाँमा कारोबार भएको थियो । यस्तै, बुधबार चाँदीको मूल्य स्थिर रहेको छ । आज चाँदीको मूल्य प्रतितोला एक हजार सात सय ६५ रूपैयाँमा कारोबार भइरहेको छ । आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २६ सय २५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
स्याङ्जाबाट एक अर्ब १२ करोड सुन्तला बिक्री
वालिङ । यस वर्ष स्याङ्जाबाट एक अर्ब १२ करोड रुपैयाँभन्दाको सुन्तला बिक्री भएको छ । सुन्तला सुपरजोन क्षेत्रमा उत्पादन भएका सुन्तला बिक्रीबाट यस वर्ष स्याङ्जामा एक अर्ब १२ करोड ४७ लाख १५ हजार दुई सय रुपैयाँ भित्रिएको हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ सुन्तला सुपरजोनका सूचना अधिकारी प्रतिभा बुढाथोकी क्षेत्रीका अनुसार स्याङ्जामा यस वर्ष २० हजार ८४ दशमलव दुई मेट्रिक टन सुन्तला उत्पादन भएको हो । उत्पादिमध्ये ९० प्रतिशत बिक्री भएको उनले बताए । उत्पादित सुन्लता थोक मूल्यमा प्रतिकेजी ५६ रुपैयाँका दरले बिक्री भएको हो । चालु आर्थिक वर्षमा स्याङ्जामा सुन्तला बगैँचाको क्षेत्रफल दुई हजार दुई सय ८० हेक्टरमा विस्तार भएको छ । चालु आवमा प्रतिहेक्टरमा सुन्तलाको उत्पादकत्व १४.६६ टन भएको सूचना अधिकारी बुढाथोकीले जानकारी दिए । गत आवमा दुई हजार एक सय हेक्टरमा सुन्तला बगैँचा कायम थियो । गत वर्ष एक हजार नौ सय ८७ मेट्रिक टन सुन्तला उत्पादन भएको उनले जानकारी दिए । गत वर्षको तुलनामा यस वर्ष ५० हेक्टर उत्पादनशील क्षेत्रफल वृद्धि भएको हो । स्याङ्जाका सुपरजोन घोषणा हुनुपूर्व आठ सय ८७ हेक्टरमा फैलिएको सुन्तला बगैँचा सुपरजोन भएसँगै हालसम्म दुई हजार दुई सय ८० हेक्टरमा सुन्तला बगैँचा विस्तार भएको उनले बताए । विसं २०७३/७४ मा स्याङ्जालाई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना जोन कार्यान्वयन एकाइ घोषणा गरिएको थियो । आव २०७५/७६ को सुरुवातसँगै स्याङ्जालाई सुपरजोन घोषणा गरिएको थियो । सुन्तलाका क्षेत्रमा सुपरजोन घोषणा भई कार्यान्वयनमा आएसँगै जिल्लामा सुन्तला उत्पादनतर्फ किसान थप आकर्षित भएर लागेका सुन्तला सुपरजोन सञ्चालक समिति स्याङ्जाका अध्यक्ष बोधराज अर्यालले बताए । स्याङ्जामा साउनदेखि फागुनसम्म विभिन्न प्रजातिका सुन्तला उत्पादन हुँदै आएका छन् । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ थापाथोकमा रहेको त्रिपुत्र बागवानी कृषि फार्मले यस वर्षमात्र पाँच करोड रुपैयाँका सुन्तलाको कारोबार गरेको छ । फार्मले भाटभटेनी सुपरमार्केटलगायत व्यावसायिक सङ्घसंस्थालाई भारी मात्रामा सुन्तला बिक्री गर्दै आएको छ । फार्मले यस वर्ष प्रतिकेजी न्यूनतम २५ देखि अधिकतम ८५ रुपैयाँसम्मका दरले सुन्तला बिक्री गरिरहेको छ । फार्मका सञ्चालक फणिनारायण अर्यालका अनुसार सुन्तलाको न्यूनतम मूल्य प्रतिकेजी २५ रुपैयाँदेखि अधिकतम ८५ रुपैयाँसम्म कायम भएको छ । तुलनात्मक रुपमा गत वर्षभन्दा यस वर्ष सुन्तलाको बिक्री मूल्य घटेको उनले बताए । उनी जिल्लाकै अगुवा सुन्तला किसान हुन् । उनी एक्लैले सुन्तला बेचेर गरेर वार्षिक ६० देखि ७० लाख रुपैयाँसम्म आम्दानी गर्दै आएका छन् । स्याङ्जामा सुन्तला व्यवसायलाई मुख्य आम्दानीको सोतका रूपमा विकास गर्ने पद्धतिको विकास हुँदै गएको छ । जिल्लाका विभिन्न भागमा निर्वाहमुखी र घरायसी प्रयोजनका लागि गरिँदै आएको सुन्तलाखेती विस्तार भएको छ । पुतलीबजार, वालिङ, भिरकोट, गल्याङ नगरपालिकासहित आँधीखोला, फेदिखोला, बिरुवा, हरिनास, अर्जुनचौपारी गाउँपालिका सुन्तलाका पकेट क्षेत्र हुन् । रासस