आमाको दूधलाई प्रतिस्थापन गर्ने आहार नबेच्न निर्देशन
काठमाडौं । जनस्वास्थ्य कार्यालय काठमाडौंले आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु बिक्री-वितरण नगर्न निर्देशन दिएको छ । कार्यालयले बजारमा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुको बिक्री-वितरण भइरहेको पाइएकाले सो कार्य बन्द गर्न आग्रह गरेको हो । कार्यालयकी जनस्वास्थ्य अधिकृत अनिता खनालले बजारमा आमाको दूध प्रतिस्थापन गर्न विभिन्न आहार र खाद्यपदार्थ बिक्री वितरण गरिएको पाइकाले सो कार्य रोक्न निर्देशन दिएको जानकारी दिइन् । आमाको दूधमा शिशुका लागि आवश्यक सबै प्रकारका पोषण तत्व पाइने तथा पोसिलो र रोग प्रतिरोधको क्षमता बढाउने महत्वपूर्ण आहार भएकाले त्यसको विकल्पमा कुनै पनि खाद्य, आहार तथा बजारमा पाइने दूध हुन नसक्ने अधिकृत खनालले बताइन् । ‘विभिन्न औषधि पसल तथा अन्य पसलमा विभिन्न ‘ब्रान्ड’का आमाको दूध प्रतिस्थापन गर्ने वस्तु प्रदर्शन गर्ने र सामाजिक सञ्जालको माध्यमबाट उक्त वस्तुलाई प्रवद्र्धन गर्ने गरेको पाइएको छ’, उनले भनिन् । कार्यालयले आमाको दूध प्रतिस्थापन गर्ने वस्तुको (बिक्री–वितरण नियन्त्रण) ऐन २०४९ तथा नियमावली २०५१ को पालना गर्न तथा आमा र शिशुको स्वास्थ्य अधिकार प्रवद्र्धन गर्न सबैलाई आग्रह गरेको छ ।
२ अर्बको सम्पत्ति जफत गर्दै गृहमन्त्रालय, भ्रष्टाचारीको सम्पत्ति सरकारका नाममा ल्याउने
काठमाडौं । गृह मन्त्रालयले भ्रष्टाचारबाट आर्जन गरेको सम्पत्ति सरकारका नाममा फिर्ता ल्याउन सक्रियता बढाएको छ । त्यस क्रममा सर्वोच्च अदालतबाट जफत हुने भनेर फैसला भएका घरजग्गा सरकारका नाममा ल्याउने प्रस्ताव गृह मन्त्रालयमार्फत मन्त्रिपरिषद् पठाइएको कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागका महानिर्देशक सुरेश पन्थीले जानकारी दिए । ‘पाँच जना पूर्वप्रशासक र आपराधिक गतिविधिबाट एक भारतीले नेपालमा खरिद गरेको घरजग्गा जफतका लागि प्रस्ताव पठाइएको छ’, उनले भने, ‘हामीले अदालतबाट सोसम्बन्धी भएका फैसलाको लगत सङ्कलनका लागि शाखा अधिकृतको नेतृत्वमा पाँच वटा समूह बनाएर खटाएका छौँ ।’ महानिर्देशक पन्थीले सम्पत्ति जफतसम्बन्धी विभिन्न अदालतबाट तीन हजार पाँच सय फैसला भएको जानकारी दिए । उनले दुई अर्ब रुपैयाँ बराबरको सम्पत्ति जफतको तयारी भइरहेको बताए । पहिलो चरणमा पाँच पूर्वप्रशासकले भ्रष्टाचारबाट आर्जन गरेको काठमाडौं उपत्यकाका विभिन्न स्थानमा रहेको सम्पत्ति जफतको प्रक्रिया अघि बढाइएको जानकारी दिए । अदालतबाट फैसला भई जफत गर्नुपर्ने घरजग्गा लामो समयदेखि कसुरदारले नै प्रयोग गर्दै आएको अवस्थामा मन्त्रालयले जफत गर्ने कार्यलाई सक्रियताका साथ अघि बढाएको गृहमन्त्रालयले जनाएको छ । कसुरजन्य सम्पत्ति जफतसम्बन्धी ऐनअनुसार सर्वोच्चबाट फैसला भएका घरजग्गा जफत गरी सरकारका नाममा ल्याउने कार्य तीव्र गतिमा बघि बढाइने महानिर्देशक पन्थीको भनाइ छ । विभागका अनुसार पूर्वप्रशासक, कर्मचारी तथा परिवारका सदस्यहरू, आमोनन्द मिश्र, सरस्वती ढुङ्गाना, मुरारीबहादुर कार्की, केशरजङ्ग खड्का र रामात्रा चतुर्वेदीको काठमाडौं उपत्यकाका विभिन्न स्थानमा रहेका घरजग्गा जफत गर्ने प्रक्रिया मन्त्रिपरिषद्मा पुगेको हो । यस्तै, आपराधिक गतिविधिबाट एक भारतीले नेपालमा खरिद गरेको घरजग्गा पनि जफतका लागि मन्त्रिपरिषद्मा प्रस्ताव पेस भएको छ । विगतमा आपराधिक गतिविधिमा संलग्न भारतको असाम राज्यका निरञ्जन होजाइले नेपाली महिलाका नाममा काठमाडौंको जोरपाटीमा राखेको जग्गा र घर जफतका लागि गृह मन्त्रालयले अघि बढाएको हो । डेढ वर्षअघि कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागले सो घर खाली गराए पनि सरकारको नाममा आउन नसकेको महानिर्देशक पन्थीले बताए । ‘होजाइसँग विवाह गरेकी सरिता गिरीको नाममा सो घरजग्गा छ’, उनले भने, ‘होजाइले नेपालमा निर्मल राईका नाममा नागरिकता लिई आफ्नो पहिचान लुकाएर आतङ्कवाद/आपराधिक गतिविधिको पैसा ल्याएका थिए । सिन्धुपाल्चोककी सरितासँग बिहे गरी उनी र उनको परिवारका नाममा सम्पत्ति लुकाएको अनुसन्धानमा भेटिएपछि मुद्दा दायर भएको थियो ।’ महानिर्देशक पन्थीले कसुरजन्य सम्पत्ति जफतको कामलाई तीव्रता दिइने बताए । जफतको ठहर भएका घरजग्गा लिलामी गर्ने वा सरकारका नाममा ल्याउने दुवै विकल्प कानुनले दिएको छ । भ्रष्टाचारसम्बन्धी मुद्दामा जफत गर्न लागिएका घरजग्गा भने सरकारका नाममा ल्याएर सरकारी प्रयोजनमा प्रयोग गरिने विभागले जनाएको छ । रासस
दैलेखमा ग्यास भण्डारण र प्रशोधनको काम अगाडि बढ्ने
दैलेख । दैलेखको भैरवी गाउँपालिका–१ जलजलेमा पेट्रोलियम पदार्थ अन्वेषणको ‘ड्रिलिङ’ कार्य सम्पन्न भएसँगै निस्किएको नमूना लिएर प्राविधिक विज्ञ टोली चीन फर्किएको छ । गत वैशाख २३ गतेदेखि सुरु गरिएको ड्रिलिङ कार्यबाट भेटिएको नमूना लिएर विज्ञ टोली चीन गएको हो । खानी तथा भूगर्भ विभागका भूगर्भविद् प्रकाश लुइँटेलले चार हजार १३ मिटर गहिराइसम्म ड्रिलिङ कार्य सकिएसँगै त्यसबाट आएका नमूना ‘स्याम्पल’ लिएर चीनको प्राविधिक टोली फर्किएको बताए । उनले भने, ‘विज्ञहरूले चार हजार एक सय तीन सय मिटर गहिराइसम्म खन्दा दुई/दुई मिटरको फरकमा गहिराइबाट गिट्टी र बालुवाको नमूना सङ्कलन गरिएको थियो । प्राप्त नमूनालाई सङ्कलन गरी सोर्स रक, रिजर्भ वायर रक र सिल रक थप अध्ययनका लागि मालवाहक गाडीमा ढुवानी गरेर टोली चीन फर्किएको छ ।’ पेट्रोलियम पदार्थको अन्वेषणका लागि गरिएको ड्रिलिङ कार्य सकिएपछि केसिङ र सिमेन्टको काम सकिएको भूगर्भविद् लुइँटेलले बताए । उनले पेट्रोलियम पदार्थको अन्वेषणका लागि चीनबाट आएको ३५ जनाको प्राविधिक टोलीमध्ये १५ जना मात्र जलजलेमा रहेका र अन्य सबै फर्किएको जानकारी दिए । तीन महिनापछि उत्खननका लागि ग्यास भण्डारण र प्रशोधनको काम अगाडि बढाउन सकिने उनले बताए । भूगर्भविद् लुइँटेलले भने, ‘पहिलो चरणमा चिनियाँ प्राविधिकहरूले दैलेखको स्थलगत अध्ययन गरेर पेट्रोलियम पदार्थ हुनसक्ने सम्भावित ठाउँ पत्ता लगाएका थिए । त्यसैका आधारमा ड्रिलिङका लागि रिङ हाउस निर्माण गरी काम सुरु भएको थियो । खानी भेटिएपछि त्यसको आर्थिक विश्लेषण हुने र त्यसपछि मात्र उत्पादनको आवश्यक काम अगाडि बढ्ने छ ।’ दैलेखको शिरस्थान नाभिस्थान पादुका स्थानमा तीन वर्षभित्र पेट्रोलियम पदार्थको अनुसन्धान सक्ने गरी चिनियाँ सरकारसँग नेपाल सरकारले सन् २०१९ फेब्रुअरी २८ मा सम्झौता गरेको थियो । सुरुआतमा तीन वर्षभित्र तीन चरणमा काम सक्नेगरी सम्झौता भए पनि कोरोना महामारीका कारण सम्झौताअनुसार काम हुन सकेको थिएन । चीन सरकारको दुई अर्ब ५० करोड रुपैयाँ अनुदानमा पेट्रोलियम पदार्थको अन्वेषण गरिएको हो । रासस
सुकेधारामा सुविधासम्पन्न पाँच तारे होटल मर्क्योर (भिडियो स्टोरी)
काठमाडौं । काठमाडौंको चक्रपथ (रिङरोड) परिक्रमा गर्दा जोसुकैले पनि सहजै देख्न सक्छन् सुकेधारमा ठडिएको विशाल महल । सुकेधाराको मुहार नै परिवर्तन गर्ने गरी ठडिएको यो महल नेपाल उद्योग वाणिज्य महासंघका पर्यटन तथा हवाई यातायात समितिका सभापति देशबन्धु बस्नेत (अजित) ले एकल लगानीमा सञ्चालनमा ल्याएको पाँच तारे होटल ‘‘मर्क्योर’ हो । करिब ५ वर्ष समय खर्चेर बनेको उक्त होटललाई विश्व प्रसिद्ध चेन ब्राण्ड ‘मर्क्योर बिहीबारदेखि सञ्चालनमा ल्याएको हो । पर्यटन व्यवसायी देशबन्धु बस्नेतको ३ अर्ब रुपैयाँ लगानीमा स्थापना भएको यो होटलको व्यवस्थापन फ्रान्सेली होटल व्यवस्थापन कम्पनी मर्क्योर ग्रुपले सम्हालेको हो । ‘मर्क्योर होटलका हरेक कोठामा काठमाडौंको भावना भरिएको र पाहुनाहरूले अत्याधुनिक सुविधा, प्राकृतिक प्रकाश र फराकिलो दृश्यावलीसहित सहरवरपरका डाँडाकाँडा र शानदार हिमालहरुका मनोरम दृश्यहरू देख्नेछन् । परम्परागत नेपाली सजावटसँग आधुनिक डिजाइन मिसिएको भित्री भागहरूले यस ठाउँको समृद्ध सम्पदा झल्काउने आत्मीय वातावरण सिर्जना गरेको छ । होटलको अर्को आकर्षण भनेको विविधतायुक्त पकवानहरूको अनुभव पनि हो । दिनभरि चल्ने भोजन रेस्टुरेन्ट (डीवाईएनई) डाइनले अन्तर्राष्ट्रिय क्लासिकदेखि प्रामाणिक स्थानीय स्वादसम्मको मेनु प्रदान गर्दछ । सोप्रा इटालियनले अथेन्टिक इटालियन खाना प्रदान गर्दछ भने जाइकाले परम्परागत भारतीय खाना र यसका मसलाहरुको बास्ना प्रदान गर्दछ । थप आरामदायी वातावरण खोज्नेहरुका लागि शुक्रबारले भित्री र बाहिरी दुवै सिटहरू भएको रुफटप लाउन्ज सेटिंग प्रदान गर्दछ । पाहुनाहरूले होटलको रुफटप इन्फिनिटी पुलमा काठमाडौं उपत्यकाका दृश्यहरू हेर्दै आराम गर्न सक्नेछन् भने स्टिम र साउना सुविधासहितको अत्याधुनिक फिटनेस सेन्टरमा आफूलाई रिचार्ज गर्न पनि सक्नेछन् । आफ्नो बसाइको समयमा पाहुनाहरूले यी सुविधाहरू लिन सक्छन् । मर्क्याेर होटलले विवाहदेखि कर्पोरेट बैठक र सामाजिक उत्सवहरुसम्मका कार्यक्रम र जमघटहरुको लागि उपयुक्त स्थान पनि प्रदान गर्दछ । समर्पित कार्यक्रम टोलीले एक निर्वाध र यादगार अनुभव प्रदान गर्दै प्रत्येक अवसरलाई पूर्ण बनाउने छन् । ‘मर्क्याेर होटलले प्रत्येक स्थानको सम्पदा प्रवर्द्धन गर्ने लक्ष्यलाई मूर्त रूप दिएको छ, ’ एकोरका प्रिमियम, मिडस्केल र इकोनोमी डिभिजन, एसियाका चिफ अपरेटिङ अफिसर गार्थ सिमन्सले भने, ‘मक्याेरसँग सहकार्य गरी यो सम्मानित ब्रान्डलाई नेपालमा ल्याउन पाउँदा हामी गौरवान्भित र्छौं ।’ द मेट्रोपोलिटन होटल प्रालिका अध्यक्ष देशबन्धु बस्नेत (अजित)ले नेपालको जीवन्त संस्कृति र परम्परालाई अँगाल्दै असाधारण आतिथ्य प्रदान गर्ने हाम्रो साझा दृष्टिकोण अनुसार यो साझेदारी गरिएको बताए । सन् १९७३ मा स्थापना भएदेखि मर्क्याेर पाहुनाहरूका लागि एक इमर्सिभ अनुभव सिर्जना गर्दै प्रत्येक गन्तव्यका सम्पदाहरू प्रवर्द्धन गर्न समर्पित छ । ६० भन्दा बढी देशहरूमा एक हजारभन्दा बढी होटलहरूको विश्वव्यापी पोर्टफोलियो भएको र २२० भन्दा बढी अन्य संरचना विकास गर्दै गरेको मर्क्याेर प्रत्येक गन्तव्यका मौलिकता प्रवर्द्धन गरिरहेको होटलको दाबी छ । मक्याेरमा पाँच किसिमका गरी १०४ वटा कोठा छन्- सुपर स्विट, जुनियर स्विट, एक्जुकेटिभ स्विट, स्ट्यान्डर्ड किङ र स्ट्यान्डर्ड क्वीन । हरेक कोठाका सुविधा फरक छन् । विश्वप्रशिद्ध मर्क्याेर ब्राण्डमा पाँच तारे होटल सञ्चालनमा ल्याएका बस्नेतले इटहरीमा पनि विश्वप्रसिद्ध अमेरिकी चेन होटल ब्राण्ड ‘रमडा’ लाई भित्र्याएका छन् । व्यवसायी बस्नेतको एकल लगानीमा इटहरीमा निर्माणाधीन ग्राण्ड सेन्ट्रल होटल ‘रमडा’ पनि २०२५ बाटै सञ्चालनमा आउने बताएका छन् ।
होटललाई उद्योगको मान्यता स्वागतयोग्य
काठमाडौं । होटल संघ नेपालले संघको ४९औं वार्षिक साधारणसभाले नेपाल सरकारले जारी गरेको ‘आर्थिक तथा व्यवसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश २०८१’ ले ‘तारे स्तरको होटल तथा पर्यापर्यटन रिसोर्ट’लाई राष्ट्रिय प्राथमिकता प्राप्त उद्योग’मा सूचीकृत गरेकोमा स्वागत गरेको छ । दशकौं अघिदेखि होटललाई राष्ट्रिय प्राथमिकताप्राप्त उद्योगको मान्यता प्राप्त गर्नका लागि संघले गरेको अथक प्रयास र पहल सम्बोधन भएको संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यसैगरी, संघको ४९औं वार्षिक साधारणसभाले होटल संघ नेपालको विधानलाई संशोधन गरी सातै प्रदेश र सतहत्तरै जिल्लामा संघको सक्रिय उपस्थिति सहित सेवा प्रवाहको प्रभावकारिताको लागि संघीय संरचनामा लैजाने प्रस्ताव पनि पारित गरेको छ । सोही अवसरमा होटल संघ नेपालले सत्कार दिवस २०२५ को पनि आयोजना गरेको थियो ।
न सडक न बत्ती : सधैं अँध्यारो नार्पाभूमिका बस्ती, ज्यान जोखिममा राखेर सामग्री ढुवानी गर्नुपर्ने
मनाङ । गण्डकी प्रदेश सरकारले उज्यालो प्रदेश र प्रत्येक स्थानीय तहसम्म सडक सञ्जालले जोड्ने लक्ष्य पूरा भएको घोषणा गर्ने अवस्थामा पुगेको छ । तर, प्रदेशकै एकमात्र पालिका हिमाली जिल्ला मनाङको नार्पाभूमि गाउँपालिका भने हालसम्म न सडक सञ्जालले जोडेको छ, न त बिजुली बत्ती नै विस्तार हुनसकेको छ । विद्युत् अभावले यहाँका पालिकाबाट दिइने सेवामा समस्या आउने गरेको छ । पालिकासम्म पुग्नै पैदल हिँडेर दुई दिन लाग्छ । बिजुली अभावले सेवा प्रवाहमा समयमा हुनै सक्दैन । सौर्य ऊर्जाको भरमा पालिकाका कार्यालयबाट सेवा प्रवाह गर्दै आए पनि सबैजसो दिन घाम नलाग्दा समयमा काम नै हुन नसक्ने अवस्था रहेको कर्मचारी बताउँछन् । स्थानीय सरकारले कार्यालयसम्म सडक सञ्जाल पुर्याउने उद्देश्यले वार्षिक रूपमा बजेट छुट्याउँदै आएको गाउँपालिका अध्यक्ष कुञ्जो तेञ्जिङ लामाले बताए । ‘पालिकावासीलाई सेवा प्रवाह र यात्रा सहज बनाउने लक्ष्यका साथ सडकलाई बजेट व्यवस्थापन गर्दै आएका छौं, पालिकाले मात्र सम्भव त छैन, तर कोसिस गरिरहेका छौं,’ उनले भने, ‘एकैपटकमा सडक र विद्युत् पुर्याउन सकिने अवस्था त होइन, प्रयास जारी छ ।’ सडक र विद्युत्का लागि प्रदेश सरकारसँग समन्वय भइहेको उनले बताए । देशका प्रत्येक वडा भवनसम्म सडक कालोपत्र गरिसकिएको अवस्था रहे पनि नार्पाभूमि गाउँपालिकामा सडक सञ्जालको ट्रयाक मात्र पनि खोल्न नसक्दा दुःखी भएको उनले बताए । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अन्य वर्षभन्दा यस वर्ष जहाँ सडक र विद्युत् पुगेका छैनन्, प्रदेशको ती स्थान प्राथमिकतामा रहेका बताए । उनले हालसम्म पालिकामा नै सडक र विद्युत् नपुगेका क्षेत्रमा पुर्याउने लक्ष्यसहित काम अगाडि बढेको बताए । ‘प्रदेशका प्रत्येक सडक र विद्युत् नपुगेका क्षेत्र मुख्य प्राथमिकतामा छन्, ती क्षेत्रमा चालु आर्थिक वर्षमा नै केही कामको थालनी हुन्छ, बजेट पूर्ति गर्न नसक्ने अवस्थामा संघ सरकारसँग पहल गरेर भए पनि सडक र विद्युत् पुर्याउने लक्ष्यमा छौं,’ उनले भने। चालु आर्थिक वर्षमा सडक सञ्जाल पुर्याउन सम्भव छैन । प्रदेश सरकारले सडक र बत्तीका लागि योजना निर्माण गरेअनुरूप नै काम हुनसके नार्पाभूमिवासीले सहज यात्रा र बिजुली बत्ती पाउने आशा जगाउनेछ । यसले नार्पाभूमिवासीलाई हर्षित त बनाउनेछ । तर, कति समय लाग्ने भन्ने पक्कापक्की भने छैन । प्रदेश नीति तथा योजना आयोग गण्डकी प्रदेशका उपाध्यक्ष डा कृष्णचन्द्र देवकोटाले नार्पाभूमिमा सडक सञ्जालले जोड्नका लागि ट्र्याक मात्र खोल्न अनुमानित रू एक अर्ब बढी लाग्ने बताए । ‘प्रदेश सरकार टनेल बनाएर अगाडि बढे पनि बजेट पु¥याउन सकिने अवस्था छैन, चालु आवमा योजना निर्माण गरी कार्यान्वयनको पक्षमा छौं,’ उनले भने । ‘हाम्रो तथ्यांकले पाँच प्रतिशत जनता उज्यालोको पहुँचमा पुग्न नसकेको होइन । सडक सञ्जाल यसै वर्ष पुर्याउन नसकिए पनि बत्ती भने पुर्याउँछौं, कहीँ सौर्य ऊर्जा, कहीँ विद्युत् पुर्याउने लक्ष्य हो, सोहीअनुसार बत्ती चालु आवमा पुर्याउनेछौं,’ डा देवकोटाले भने । यस पालिकाका कर्मचारी सामान्य सेवा प्रवाहमा सकस भएपछि पालिकाको सेवा नै सदरमुकाम केन्द्रित भएर दिनुपर्ने अवस्था रहेको बताउँछन् । कार्यालयबाट सेवा प्रवाहमा सकस हुँदा स्थानीयवासीले सेवा लिन दूरदराजमा पुग्नुपर्ने अवस्था अझै कायम रहेको स्थानीय मिङ्मार फुन्चो लामा बताउँछन् । ‘स्थानीय सरकार आए पनि हामीले अनुभव गर्न पाएका छैनौं, पालिका अध्यक्षलगायत यहाँका नेतृत्वले नगरेका होइनन्, तर एक्लै गर्न सम्भव छैन, यसले अझै कति वर्ष पछि पर्छौं, भन्ने हो, यसतर्फ प्रदेश र संघ सरकारले पनि चासो दिनुपर्छ,’ उनले भने । मनाङ पर्यटकीय हब पनि हो । यहाँ भ्रमणका लागि आउने पर्यटक र स्थानीयवासीले उत्पादन गरेका खाद्यान्नले मात्र पुग्दैन । खाद्यान्न तथा विकास निर्माणका सामग्री ढुवानीका निम्ति सडक सञ्जाल सहज नहुँदा समस्या छ । ज्यान जोखिममा राखेर सामग्री ढुवानी गर्नुपर्ने अवस्था छ । जोखिम सूचीकृत क्षेत्र भएकाले यहाँ आउने पर्यटक बिरामी परेमा अझ समस्या पर्ने गरेको छ । यहाँ आएका पर्यटक तथा स्थानीयवासी बिरामी भएमा सडक सञ्जाल नहुँदा स्थलमार्ग उपयोग गर्न सक्ने अवस्था हुँदैन । महँगो मूल्यमा हेलिकप्टर नै चार्टर गर्नुपर्ने हुन्छ । बिरामीलाई स्वास्थ्यको पहुँचमा पुर्याउनसमेत सहज छैन । रासस
देश विकासमा इप्पानको ठूलो भूमिका छ, निजी क्षेत्रलाई सरकारले सक्दो सहयोग गर्छ : ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निजी तथा सरकारी क्षेत्रले गर्नुपर्ने काम भैरहेको दाबी गरेका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)काे २५ औं वार्षिकोत्सवको अवसरमा उनले यस्तो दावी गरे । उनले ईप्पानको प्रशंसा गर्दै बधाई तथा शुभकामना व्यक्त गरे । उनले इप्पानले देश विकासमा ठूलो योगदान दिएको बताए । उनले भने, ‘तपाईंहरूले ठूलो योगदान दिनुभएको छ । देशको विकास मार्गमा यहाँहरूले ठूलो उपलब्धि हासिल गर्नु भएको छ । साँच्चिकै नेपाल आधुनिकतिर लम्किरहेको छ । देशमा ९५ प्रतिशत बिजुली पुगिसकेको छ । यसमा हामीले खुसी हुनुपर्छ । तपाईंले व्यवस्था बदलियो, अवस्था उस्तै छ भन्ने उखानलाई उदाहरण नै दिनुभएको छ ।’ कार्यक्रममा उनले नेपाल प्राकृतिक रूपमा धनी देश भएको बताए । देशमा भएका स्रोतसाधनलाई समृद्धि हुने गरी, उन्नति प्रगति हुने गरी अगाडि बढ्नुपर्नेमा उनको जोड छ । प्रधानमन्त्री ओलीले पूर्वाधार नै विकास भएको बताए । ऊर्जा क्षेत्रमा फड्को मार्न सकेमा देश आफै समृद्धि हुने उनको भनाइ छ । उनले उर्जालाई उत्पादन गर्नुपर्नमा सबैको साथ आवश्यक रहेको बताए । उनले भने, ‘अब देशमा ऊर्जा उत्पादन हुन्छ । ऊर्जा उत्पादन गर्नमा अरूलाई लिएर होइन, आफै लागेर अघि बढेर ऊर्जा उत्पादन गर्नुपर्छ । यो पक्कै सम्भव छ । यसमा सरकार लागिरहेको छ । विकासलाई अगाडि बढाउनुपर्छ ।’ आआफ्नो क्षेत्रका काममा जिम्मेवार भइ लाग्नुपर्ने उनको भनाइ छ । इप्पानले ‘लिडिङ द इनर्जी प्रस्पोरेटी’ भन्ने नारासहित ‘इप्पान रजत जयन्ती, २०८१’ भव्यताका साथ मनाउन विभिन्न समितिहरू बनाएर कार्यक्रमको आयोजना गरेको अध्यक्ष गणेश कार्कीले जानकारी दिए । लगानीको हिसाबले नेपालको निजी क्षेत्रको सबैभन्दा ठूलो र ५ सयभन्दा धेरै ऊर्जा उत्पादक कम्पनीहरु सदस्य रहेको ऊर्जा उद्यमीहरूको छाता संस्था इप्पानको यो २५ वर्षे यात्रालाई विशेष स्मरण गराउँदै यस अवधिमा भएका उपलब्धी र प्रगतिहरूलाई प्रस्तुत गर्नको लागि विशेष कार्यक्रमसहित इप्पानको रजत जयन्ती मनाउन लागेको कार्कीको भनाइ छ । १०० मेगावाटका आयोजनामा सीमित गर्ने सरकारको प्रस्तावले निजी क्षेत्र त्रासित
नयाँ नम्बरबाट फोन र नयाँ ‘आइडी’बाट मेल आउँछ ? सावधान ! घरबारविहीन बनाउनसक्छ
काठमाडौं । तपाईंलाई कुनै नयाँ खालको नम्बरबाट फोन आउने गरेको छ ? वा कुनै नयाँ इमेल आइडीबाट प्रलोभन दिने खालका सन्देशहरू आइरहेका छन् ? यदि आइरहेका छ भने सावधान ! त्यस्ता इमेल वा नम्बरबाट आएका सन्देश तथा कुराकानीमा विश्वास नगर्नुहोला । त्यसले तपाईंलाई घरबारविहीनसमेत बनाउनसक्छ । नेपाल प्रहरी, साइबर ब्यूरोका प्रवक्ता, प्रहरी उपरीक्षक दीपकराज अवस्थी त्यसरी आएको फोन उठाउन र त्यस्ता इमेलको विश्वास नगर्न तथा प्रतिक्रिया नदिन आग्रह गर्छन् । त्यसरी अपरिचित व्यक्तिले भनेका तथा अपरिचित इमेलबाट आएका सन्देशको भर पर्दा र प्रतिक्रिया जनाउँदा मानिसहरू ठगिएकाले यसतर्फ विशेष सावधानी अपनाउन उनले आग्रह गरेका हुन् । प्रहरी उपरीक्षक अवस्थीले पछिल्लो समय साइबर ब्यूरोलगायत नेपाल प्रहरीका विशिष्टीकृत कार्यालयहरू र नेपाल प्रहरीकै उच्च अधिकारीहरूको नाम तथा दर्जा प्रयोग गरी विभिन्न व्यक्तिहरूलाई चेतावनीयुक्त इमेलहरू प्राप्त भएको जस्ता गुनासाहरू नेपाल प्रहरी प्रधान कार्यालय, साइबर ब्यूरोमा प्राप्त भएकाले यसतर्फ ब्यूरोको समेत गम्भीर ध्यानाकर्षण भएको बताए । उनले भने, ‘नेपाल प्रहरी साइबर ब्यूरोलगायत अन्य प्रहरी कार्यालयहरूबाट पठाइएको भनिएका यस्ता इमेलहरू नक्कली भएकाले यस प्रकृतिका मेलहरूको विश्वास नगर्न साथै कुनै प्रतिक्रिया नदिन सम्पूर्ण महानुभावहरूमा विनम्र अनुरोध छ ।’ त्यसरी आएका इमेलका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको तथा कुनै शङ्का लागेमा ब्यूरोको आधिकारिक वेबसाइटमा रहेका सम्पर्क नम्बरहरू र इमेलमार्फत जानकारी गराउन सबैमा अनुरोध गरिएको छ । ब्यूरोले एक सार्वजनिक सूचना जारी गरेर त्यस्ता गतिविधिप्रति सचेत हुन र कुनै शङ्का लागेमा नजिकका प्रहरीमा जानकारी गराउन अनुरोध पनि गरेको छ । रासस