विकासन्युज

६ महिनामा १३ अर्ब बढीको ईभी आयात, ७६ प्रतिशत गाडी चीनबाट भित्रियो

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा १३ अर्ब बढीको विद्युतीय चार पांग्रे सवारी (ईभी) आयात भएको छ । चालु आवको पौष मसान्तसम्म १३ अर्ब १० करोड ८० लाख रुपैयाँ बढीको ५ हजार ४८० वटा ईभी जिप, भ्यान र कार आयात भएको भन्सार विभागले जनाएको छ । विभागका अनुसार उक्त ईभी आयात हुँदा सरकारलाई ८ अर्ब १६ करोड ३३ लाख राजस्व प्राप्ति भएको छ । ५१ देखि १०० किलोवाट गाडी धेरै आयात विभागका अनुसार ५१ किलोवाटदेखि १०० किलोवाट क्षमता भएका ईभी गाडीहरू नेपाल आयात भएका छन् । ५१ देखि १०० किलोवाट क्षमता भएका ३ हजार १९१ वटा ईभी नेपाल भित्रिएका हुन् । जुन कुल ईभी आयातको ५८.२२ प्रतिशत हो । यसैगरी, ५० किलोवाटभन्दा कम क्षमता भएका गाडीहरुको आयात पनि उल्लेख्य रहेको छ । पछिल्लो ६ महिनामा ५० किलोवाटभन्दा कम क्षमता भएका ईभी १ हजार ७२५ वटा ईभी आयात भएको छ । जुन कुल आयातको ३१.४७ प्रतिशत हो । यसैगरी, १०१ देखि २०० किलोवाटसम्मका ५५३ वटा, २०१ देखि ३०० किलोवाट क्षमता भएका ९ वटा र ३०० किलोवाट भन्दा धेरै क्षमता भएको २ वटा गाडी आयात भएको छ । कुन देशबाट कति आयात ? नेपालमा ५ वटा देशबाट ईभी गाडी आयात भएको देखिन्छ । चीन, भारत, दक्षिण कोरिया, जर्मनी र अमेरिकाबाट ईभीको आयात भएको छ । जसमध्ये सबैभन्दो धेरै चीनबाट आयात भएको छ । पछिल्लो ६ महिनामा मात्रै चीनबाट १० अर्ब ६४ करोड ७८ लाख रुपैयाँ बढीको ४ हजार २०५ वटा ईभी आयात भएको छ । यो कूल ईभी आयातको ७६.७३ प्रतिशत हो । यसैगरी भारतबाट २ अर्ब २९ करोड ८१ लाख रुपैयाँ बढीको १ हजार २५० वटा ईभी आयात भएको छ । जुन कुल आयातको २२.८१ प्रतिशत हो । अमेरिकाबाट १ करोड ६६ लाख रुपैयाँको ४ वटा, कोरियाबाट १ करोड २५ लाख रुपैयाँको २ वटा र जर्मनीबाट १३ करोड २८ लाख रुपैयाँको १९ वाटा ईभी आयात भएको छ ।

रवि लामिछानेलाई धरौटीमा छाड्नुको कारण पेस गर्न उच्च अदालत पोखराको आदेश

पोखरा । उच्च अदालत पोखराले पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित ७ जनालाई धरौटीमा छाड्नुका आधार र कारण स्पष्ट गर्न आदेश दिएको छ । न्यायाधीश राजकुमार खतिवडाको इजलासले सूर्यदर्शन सहकारी ठगी मुद्दाका प्रतिवादी लामिछानेसहित ७ जनालाई धरौटीमा छाड्ने आदेशको ‘कैफियत प्रतिवेदन’ पेस गर्न कास्की जिल्ला अदालतलाई निर्देशन दिएको हो । कास्की जिल्ला अदालतले लामिछानेसहित सात जनालाई धरौटीमा छाड्ने आदेश गरेपछि उक्त आदेश बदर गर्नुपर्ने माग गर्दै जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले उच्च अदालत पोखरामा निवेदन दिएको थियो । प्रतिवेदन अध्ययनपश्चात् उच्च अदालतले निवेदनलाई पेशीमा राखेर दुवै पक्षका बीचमा बहस हुनेछ । बहसपछि उच्च अदालत कास्कीले जिल्ला अदालत कास्कीको आदेशलाई सदर गर्ने वा उल्ट्याउने भन्ने विषयमा अर्को आदेश जारी गर्नेछ । यसअघि, कास्की जिल्ला अदालतले लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न आदेश दिएको थियो । सूर्यदर्शन सहकारीको रकम गोर्खा मिडियामा लगेर समूह मिलेर अपचलन गरेको आरोपमा उनीसहित सात जनाविरुद्ध सहकारी ठगी, संगठित अपराध, र सम्पत्ति शुद्धीकरणको अभियोगमा मुद्दा दायर गरिएको थियो ।

अन्तत: मस्कको सपना साकार, ट्रम्पले मंगल ग्रहमा अन्तरिक्ष यात्री पठाउने

काठमाडौं । अन्तत: अर्बपति एलन मस्कको सपना साकार भएको छ । अमेरिकाका नयाँ राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार आफ्नो शपथ ग्रहण समारोहमा मंगल ग्रहमा अन्तरिक्ष यात्री पठाउने घोषणा गरेका छन् । ट्रम्पले अमेरिकालाई अन्तरिक्ष विज्ञानमा अग्रणी बनाउने र मंगल ग्रहमा अमेरिकी झण्डा फहराउने कुरा गरे । ट्रम्पको यो घोषणामा विश्वका सबैभन्दा धनी व्यक्तिहरूमध्ये एक अर्बपति मस्कले बुढी‍औंला दिएर आफ्नो समर्थन व्यक्त गरे । अन्तरिक्ष कम्पनी स्पेसएक्सका मालिक एलोन मस्क डोनाल्ड ट्रम्पका नजिकका सहयोगी हुन् र उनले चुनावको समयमा ट्रम्पको लागि ठूलो अभियान चलाएका थिए। डोनाल्ड ट्रम्पले आफ्नो भाषणमा अमेरिकी अन्तरिक्ष यात्रीहरू पक्कै पनि मंगल ग्रहमा जाने र अमेरिकाले अन्तरिक्षमा आफ्नो सम्पत्ति बढाउने बताए । गत महिना मस्कले चन्द्रमामा जानेभन्दा सिधै मंगल ग्रहमा मिसन पठाउनुपर्ने बताएका थिए । अन्तत: उनको सपनाले साकार रूप पाउने जनाइएको छ । ट्रम्पको घोषणासँगै अब नासाको अन्तरिक्ष अन्वेषण कार्यक्रममा ठूलो परिवर्तन हुनेछ । मस्कको विशेष अन्तरिक्ष योजना ट्रम्पको घोषणामा मस्कको खुसीको कारण अन्तरिक्ष क्षेत्रमा उनको रुचि हो । मस्कले दुई दशकअघि निजी अमेरिकी अन्तरिक्ष कम्पनी स्पेसएक्स सुरु गरेका थिए । यो कम्पनी अन्तरिक्ष अनुसन्धान र अन्तरिक्ष प्रविधिमा काम गर्छ । उनीसँग पनि विशेष अन्तरिक्ष योजना छ । यो योजना मंगल ग्रहमा बस्ती स्थापनासँग सम्बन्धित छ । मस्कको विश्वास छ कि मंगल ग्रहमा मानिसहरूलाई बसोबास गर्नसक्यो भने मानवतालाई पृथ्वीभन्दा बाहिर विस्तार गर्न सक्षम बनाउनेछ । ट्रम्प र मस्कको जोडीले अमेरिकाको अन्तरिक्ष नीतिमा ठूलो परिवर्तन ल्याउन सक्छ । नासाको आर्टेमिस कार्यक्रममा पनि परिवर्तनहरू अपेक्षित छन्, जसले मस्कको कम्पनी स्पेसएक्सलाई फाइदा पुर्‍याउन सक्छ । आर्टेमिस कार्यक्रमको लक्ष्य भनेको मानिसहरूलाई चन्द्रमामा फर्काउनु हो । यो मंगल ग्रह जाने तयारीको एक हिस्सा हो । ट्रम्पको नेतृत्वमा कार्यक्रम सिधै मंगल ग्रहमा केन्द्रित हुने अपेक्षा गरिएको छ । नयाँ प्रशासनको अन्तरिक्ष योजनाबारे बेजोस आशावादी अमेजनका फाउन्डर तथा अर्बपति जेफ बेजोसले स्पेसएक्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलन मस्क र अमेरिकी निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पबीचको निकट सम्बन्धले आफ्नो अन्तरिक्ष कम्पनी ‘ब्लू ओरिजिन’लाई कमजोर नबनाउने उल्लेख गरेका थिए । समाचार एजेन्सी रोयटर्ससँगको अन्तर्वार्ताका क्रममा उनले नयाँ प्रशासनको अन्तरिक्ष योजनाबारे आफू ‘धेरै आशावादी’ रहेको बताएका थिए । उनी चन्द्रमा र मंगल ग्रह दुबैमा जानुपर्ने विचार राख्छन् । बेजोसको ब्लू ओरिजिनले नासासँग चन्द्रमामा अवतरण गर्ने ठूला सम्झौताहरू पाएको छ । बेजोस, ब्लू ओरिजिन र ट्रम्प-मस्क सम्बन्ध स्पेसएक्सको वृद्धि अधिक विस्फोटक, टेस्लालाई पछि पार्ने स्टारलिंकलाई चुनौती दिँदै चिनियाँ स्याटेलाइट प्रोजेक्ट, अरू पनि प्रतिस्पर्धामा

अमेरिकी क्यापिटलमा आक्रमण गर्ने १ हजार ५०० समर्थकलाई ट्रम्पले दिए माफी

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जनवरी ६, २०२१ मा अमेरिकी क्यापिटल आक्रमणमा संलग्न भएको आरोपमा १ हजार ५०० जनालाई माफी दिएका छन् । उनले पुन: राष्ट्रपति बनेको पहिलो दिन यो निर्णय गरेका हुन् । ट्रम्पले न्याय विभागको इतिहासमा सबैभन्दा ठूलो अनुसन्धान र अभियोजन अन्त्य गर्न आफ्नो व्यापक क्षमाशील शक्ति प्रयोग गरेका छन् । मार्च २५ मा अमेरिकी क्यापिटलमा भएको भीडको आक्रमणमा १०० भन्दा बढी प्रहरी अधिकारीहरू घाइते भएका थिए र शान्तिपूर्ण रूपमा शक्ति हस्तान्तरणलाई खतरामा पारेको थियो । एपी रिपोर्टका अनुसार डोनाल्ड ट्रम्पको माफीले आक्रमणमा संलग्नहरूलाई जवाफदेही बनाउन खोजिरहेको न्याय विभागको प्रयासलाई ठूलो धक्का दिएको छ । उक्त आक्रमणलाई अमेरिकी इतिहासको सबैभन्दा कालो दिन भनिएको थियो । ट्रम्पले ओथ किपर्स र प्राउड ब्वाइजका नेताहरूको सजाय पनि घटाएका छन् । यी नेताहरूलाई देशद्रोहको षड्यन्त्र रचेकोमा दोषी ठहराइएको थियो । अभियोजकहरूका अनुसार २०२० को चुनाव हारेपछि ट्रम्पलाई सत्तामा राख्न उनीहरूले षड्यन्त्र गरिरहेका थिए । माफी दिने संकेत पहिला नै ह्वाइट हाउस फर्कनुअघि नै डोनाल्ड ट्रम्पले जनवरी ६ का अभियुक्तहरूको मुद्दालाई केस-दर-केस आधारमा विचार गर्ने संकेत गरेका थिए । आक्रमणकारीहरूलाई देशभक्त र बन्धक भन्दै ट्रम्पले न्याय विभागले उनीहरूलाई अनुचित व्यवहार गरेको दाबी गरेका थिए । डोनाल्ड ट्रम्पले पदभार ग्रहण गरेपछि तुरुन्तै यस विषयमा आदेश जारी गरेका छन् । जनवरी ६ मा ट्रम्प विरुद्धको मुद्दा खारेज भएको केही हप्तापछि नै यो माफी आएको हो । न्याय विभागको नीति अनुसार बहालवाला राष्ट्रपतिमाथि मुद्दा चलाउन सकिँदैन, त्यसैले मुद्दा खारेज गरियो । यदि ट्रम्पले २०२४ को चुनाव हारेको भए उनीमाथि पनि संघीय अदालतमा मुद्दा चलाउन सकिन्थ्यो, जहाँ जनवरी ६ का मुद्दाहरू विगत चार वर्षदेखि चलिरहेका छन् । २०२० को राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्पको पराजयपछि उनका समर्थकहरू अमेरिकी क्यापिटलमा प्रवेश गरी तोडफोड गरेका थिए । यस मुद्दामा १ हजार ५०० भन्दा बढी अभियुक्तहरू मुद्दाको सामना गरिरहेका छन् । २५० भन्दा बढी व्यक्तिहरूलाई अपराधमा दोषी ठहराइएको छ । कुनै पनि निर्णायक मण्डलले क्यापिटल दंगा प्रतिवादीलाई पूर्ण रूपमा निर्दोष मुक्त गरेको छैन ।

मकवानपुर-काठमाडौं जोड्ने दुई सडक पुनःसञ्चालन

मकवानपुर । सडक स्तरोन्नति तथा मर्मतका लागि यातायात सञ्चालनमा रोक लगाइएको मकवानपुर र काठमाडौं जिल्ला जोड्ने दुई सडक पुनःसञ्चालनमा आएको छ । थानकोट–चित्लाङ सडक (गणेशमान मार्ग) र मातातीर्थ सडक आज बिहानदेखि सञ्चालनमा आएको जिल्ला प्रहरीका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । प्रनाउ अर्यालका अनुसार, ती दुबै सडक स्तोन्नतिका लागि गत पौष ७ गते र पौष २२ गतेबाट बन्द गरिएको थियो । यसैगरी, मकवानपुर–काठमाडौं जोड्ने कुलेखानी–फाखेल सडकखण्ड र कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडकखण्डमा एकतर्फी मात्रै सवारी साधन सञ्चालन भइरहेको प्रनाउ अर्यालले बताए ।

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको कार्यकारी निर्देशकको लागि दरखास्त आह्वान 

 काठमाडौं । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको कार्यकारी निर्देशकको लागि दरखास्त आह्वान गरिएको छ ।  निर्देशक छनोट समितिले एक सूचना जारी गर्दै माघ १५ गते भित्र योग्यता पुगेका व्यक्तिहरूलाई दरखास्त दिन आग्रह गरेको छ । नियुक्तिका आधार र मापदण्ड सम्बन्धी विनियम, २०८१ को परिच्छेद ६ बमोजिम त्रि.वि. शिक्षण अस्पतालको रिक्त कार्यकारी निर्देशक पदका लागि दरखास्त माग गरिएको छ । अस्पतालका निर्देशक प्रा.डा दिनेश काफ्लेको समय अवधी सकिएपछि हाल निमित्तको रुपमा डा. घनश्याम गुरुङले जिम्मेवारी सम्हाल्दै आएका छन् ।  

स्नातक र स्नातकोत्तर तहको नक्कली शैक्षिक प्रमाणपत्रसहित पक्राउ

काठमाडौं । त्रिभुवन विश्वविद्यालयबाट जारी भएको स्नातक र स्नातकोत्तर तहको नक्कली प्रमाणपत्रसहित काभ्रेपलाञ्चोक धुलिखेल नगरपालिका–५ श्रीखण्डपुर बस्ने ४८ वर्षीय विकास श्रेष्ठलाई पक्राउ परेका छन् । निजले ब्याचलर डिग्री इन बिजनेस स्टडिज र मास्टर डिग्री इन बिजनेस स्टडिजको नक्कली ट्रान्सक्रिप्ट लिएको सूचनाका आधारमा त्रिभुवन विश्वविद्यालयको अभिलेखमा भिडाइ हेर्दा सूचना सत्य भएको जानकारी भएपछि उनलाई धुलीखेलबाट सोमबार पक्राउ गरिएको उक्त समाचारकक्षले जनाएको छ ।

विदेश पठाइदिन्छु भन्दै ३१ लाख ठगेको अभियोगमा तीन जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ३१ लाख रुपैयाँ ठगी गरेको अभियोगमा तीन जनालाई काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरिएको छ । बाग्लुङ ताराखोला गाउँपालिका–३ का तिलकबहादुर कार्की, प्युठान नौबहिनी गाउँपालिका–६ का हरिबहादुर बिष्ट र स्याङ्जा गल्याङ नगरपालिका–८ की जमुना परियारलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट परिचालन भएको टोलीले सोमबार अपाह्न पक्राउ गरेको हो । अभियुक्त परियारले २८ लाख रुपैयाँ, कार्कीले एक र बिष्टले दुई लाख रुपैयाँ ठगेको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ । उनीहरूलाई थप कारबाहीको लागि वैदेशिक रोजगार विभाग पठाइएको छ । यसैबीच, मोबाइल तथा व्यक्तिगत कागजातहरू चोरी गरी ठगीमा संलग्न भएको अभियोगमा उदयपुर रौतामाई गाउँपालिका–७ का स्थायी बासिन्दा ध्रुवकुमार राय र राजन डङ्गोललाई पक्राउ गरिएको छ ।