विकासन्युज

ट्रम्पको धम्कीपछि मेक्सिकोद्वारा अमेरिकी सीमामा १० हजार नेसनल गार्ड सेना तैनाथ

काठमाडौं । राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा भन्सार महसुलको धम्कीपछि मेक्सिकोले आफ्नो उत्तरी सीमामा पठाएको १० हजार सैनिकमध्ये पहिलो मेक्सिकाली नेसनल गार्ड र आर्मी ट्रकहरू बुधबार टेक्सासको सिउडाड जुआरेज र एल पासोलाई छुट्याउने सीमामा गुडेका छन् । मास्क लगाएका र हतियारधारी नेशनल गार्डका सदस्यहरूले सिउडाड जुआरेजको बाहिरी क्षेत्रमा सीमा अवरोधको साथै रहेको झाडीमा खोजी गरे, खाल्डोमा लुकाएर राखिएका अस्थायी भर्‍याङहरू र डोरीहरू निकाले र तिनलाई ट्रकमा राखे । तिजुआना नजिकैका सीमाका अन्य भागहरूमा पनि गस्ती देखिएको थियो ।यो घटना ट्रम्पले मेक्सिकोमाथि कठोर भन्सार लगाउने कुरालाई कम्तीमा एक महिनाका लागि स्थगित गर्ने घोषणा गरेपछिको अशान्त हप्तापछि आएको हो । बदलामा मेक्सिकोका राष्ट्रपति क्लाउडिया सेनबामले सीमा सुदृढीकरण गर्न र फेन्टानिल तस्करीविरुद्ध कारबाही गर्न देशको नेशनल गार्ड पठाउने वाचा गरे । गत वर्ष आप्रवासनको स्तर र फेन्टानिलको मात्रा उल्लेखनीय रूपमा घटेको भए पनि ट्रम्पले सीमामा आपत्काल घोषणा गरेका छन् । अमेरिकाले बदलामा मेक्सिकोमा कार्टेल हिंसालाई बढावा दिन अमेरिकी हतियारहरूको तस्करी रोक्न थप काम गर्ने बताएको छ । यो हिंसा आपराधिक समूहहरूले लाभदायक आप्रवासी तस्करी उद्योगको नियन्त्रणका लागि लड्दै गर्दा देशका अन्य भागहरूमा फैलिएको छ । मङ्गलबार ती सेनामध्ये पहिलो समूह सरकारी विमानहरूबाट बाहिर निस्केर सीमावर्ती सहरहरूमा आइपुग्यो ।  बुधबार गस्तीमा रहेका गार्ड सदस्यहरूले उनीहरू नयाँ बलको हिस्सा भएको पुष्टि गरे । ‘सीमामा स्थायी निगरानी हुनेछ’, सहरमा तैनाथीको नेतृत्व गर्दै गरेका नेसनल गार्डका नेताहरूमध्ये एक जोसे लुइस सान्तोस इजाले पहिलो सैनिक समूहको आगमनमा मिडियालाई भने, ‘यो अभियान मुख्यतया मेक्सिकोबाट संयुक्त राज्य अमेरिकामा लागूपदार्थ तस्करी, मुख्यतया फेन्टानिल रोक्नका लागि हो ।’ सरकारी आँकडा अनुसार सिउडाड जुआरेजमा कम्तीमा एक हजार छ सय ५० सैनिक पठाइने अपेक्षा गरिएको छ । यसलाई देशको सीमा सुदृढीकरणको सबैभन्दा ठूलो प्राप्तकर्ताहरू मध्ये एक बनाएको छ । तिजुआना पछि दोस्रो, जहाँ एक हजार नौ सय ४९ सैनिक पठाइने योजना छ । अमेरिकी विदेशमन्त्री मार्को रुबियोको ल्याटिन अमेरिका भ्रमणका क्रममा मेक्सिको सरकारको विज्ञप्ति अनुसार शीर्ष अमेरिकी कूटनीतिज्ञले सैन्य बल पठाएकामा मेक्सिको सरकारलाई धन्यवाद दिए । विदेशमन्त्रीको भ्रमणमा आप्रवासन मुख्य एजेन्डामा थियो । सेनबामको वार्तालाई पर्यवेक्षकहरूले नवनिर्वाचित मेक्सिकाली नेताको चतुर राजनीतिक चालको रूपमा हेरेका थिए । धेरैले पहिले नै उनको पूर्ववर्ती र सहयोगी, पूर्वराष्ट्रपति एन्ड्रेस म्यानुएल लोपेज ओब्राडोरको आन्द्रेस म्यानुअल लोपेज ओब्राडोर जस्तै प्रभावकारी ढङ्गले ट्रम्पको राष्ट्रपति कार्यकालमा काम गर्न सक्षम हुनेमा आशङ्का गरेका थिए । रासस

सानिमा र मुक्तिनाथ बैंकले माथिल्लो जुनबेसी जलविद्युत् आयोजनमा ९० करोड लगानी गर्ने

काठमाडौं । ५.८७५ मेगावाटको माथिल्लो जुनबेसी खोला जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन पूरा भएको छ । सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका-२ जुनबेसीमा निर्माण गरिने आयोजनामा दुई वटा बैंकले ऋण लगानी गर्नेगरी मंगलबार वित्तीय व्यवस्थापन पूरा गरिएको हो । गोर्खाज हिमालयन हाइड्रो लिमिटेडले प्रवर्द्धन गर्न लागेको आयोजनामा सहवित्तीयकरण ऋण लगानीको नेतृत्वकर्ता सानिमा बैंक लिमिटेडले ६५ करोड रुपैयाँ र मुक्तिनाथ विकास बैंकले २५ करोड रुपैयाँ लगानी गर्ने सम्झौता भएको प्रवर्द्धक कम्पनीका प्रबन्ध सञ्चालक सन्तोष भट्टराईले जानकारी दिए । उनका अनुसार आयोजनाको कुल लागत अनुमान एक अर्ब २९ करोड रुपैयाँ रहेको छ । यसमध्ये ७० प्रतिशतले हुन आउने ९० करोड रुपैयाँ ऋण र ३० प्रतिशतले हुन आउने ३९ करोड रुपैयाँ प्रवर्द्धकको स्वपुँजी लगानीबाट जुटाइने छ । विद्युत्को उच्च माग हुने समय (पिक आवर)मा दैनिक एक घण्टा पूर्ण क्षमतामा विद्युत् उत्पादन गर्न सक्ने गरी आयोजनालाई आंशिक जलाशय (पीआरओआर)को रूपमा निर्माण गर्न लागिएको छ । ‘अब आयोजना निर्माणमा लान आवश्यक सबै तयारी करिब पूरा भएको छ,’ प्रबन्ध सञ्चालक भट्टराईले भने, ‘आउँदो फागुन १ गतेदेखि निर्माण सुरु गरेर २१ महिना (२०८३ साल कात्तिक) भित्र पूरा गरी आयोजनाबाट बत्ती बाल्ने हाम्रो लक्ष्य छ ।’ आयोजना निर्माणस्थलमा जान आवश्यक पहुँचमार्ग, आवास लगायतका संरचनाको निर्माण सकिएको उनले बताए । आयोजनाबाट वर्षायाममा २३.५३२ गिगावाट घण्टा र हिउँदमा ११.५२६ गिगावाट घण्टा गरी वार्षिक कुल ३५.०५९ गिगावाट घण्टा विद्युत् उत्पादन हुनेछ । नेपाल विद्युत् प्राधिकरणसँग भएको विद्युत् खरिद-बिक्री सम्झौता (पीपीए) अनुसार आयोजनाले उत्पादन गर्ने बिजुलीको मूल्य वर्षायामका ६ महिना ४.८० रुपैयाँ र हिउँदका ६ महिना ८.४० रुपैयाँ प्रतियुनिट रहने छ । उत्पादित बिजुली आयोजनाले ३३ केभी आठ किलोमिटर लामो लाइन निर्माण गरी सोलुखुम्बुस्थित १३२ केभी तिङ्ला सबस्टेसनमा जोडेर राष्ट्रिय प्रसारण लाइनमा पुर्‍याउने छ ।

एसयू सेभेन अल्ट्राको लक्जरी संस्करण १० हजार युनिट बिक्री गर्ने साओमीको लक्ष्य

काठमाडौं । साओमीले आफ्नो ईभी लक्जरी संस्करणको १० हजार युनिट बिक्री लक्ष्य राखेको छ । बुधवार साओमीका संस्थापक लेइ जुनले आफ्नो रेड नोट खातामा १० हजार युनिट बिक्री लक्ष्य राखेको उल्लेख गरे । कम्पनीको प्रमुख इलेक्ट्रिक वाहन एसयू सेभेन अल्ट्राको लक्जरी संस्करण फेब्रुअरी अन्त्यमा सार्वजनिक गरिने जनाइएको छ । साओमीले दुईवटा नयाँ मोडेल सार्वजनिक गर्ने योजना बनाएको हो । एसयू सेभेन सेडान अझ खेलकुद शैलीको संस्करण हुने जनाइएको छ । यसमा १,५२६ हर्सपावर १ हजार ७७० एनएम टर्क हुनेछ । यो ईभी ०-१०० किलोमिटर पर आवर्समात्र १.९८ सेकेन्ड मा पुग्नेछ र २०० किलोमिटर पर हावर्स गति ५.८६ सेकेन्ड मा प्राप्त गर्नेछ । साओमीले २०२५ मा ३ लाख कार डेलिभर गर्ने लक्ष्य राखेको छ । यसले २०२४ मा १ लाख ३५ हजारभन्दा बढी कार डेलिभर गरेको थियो । कारन्यूजचाइना पत्रिकाका अनुसार साओमीको प्रारम्भिक डेलिभरी लक्ष्य २०२४ का लागि १ लाख इकाइ थियो, तर बेइजिङ कारखानामा उत्पादन अपेक्षाभन्दा बढी भएपछि कम्पनीले यो संख्या बढाएको हो । साओमीको ईभी प्लान्टको पहिलो चरणमा वार्षिक उत्पादन क्षमता १ लाख ५० हजार इकाइ रहेको छ । दोस्रो चरणको विस्तारपछि थप १ लाख ५० हजार इकाइ उत्पादन क्षमता थपिँदैछ, जसले कुल क्षमता ३ लाख इकाइ प्रति वर्ष पुर्‍याउनेछ ।

पोखरा फाइनान्सका सीईओ गुरुङ पदमुक्त

काठमाडौं । पोखरा फाइनान्सले प्रमुख कार्यकारी अधिकृत (सीईओ) रविचन्द्र गुरुङलाई पदमुक्त गरेको छ । माघ २३ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले सीईओ गुरुङलाई बिहीबारदेखि लागू हुने गरी पदमुक्त गरेको कम्पनीका सचिव निर्मलकुमार कार्कीले जानकारी दिए । साथै गुरुङको ठाउँमा नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) राजुमोहन भट्टराईलाई कायम मुकायम कार्यकारी प्रमुखको रूपमा नियुक्त गरेको कम्पनीले जनाएको छ । वित्तीय सूचक कमजोर भएको फाइनान्स यतिबेला प्राप्ति-समाहित, गाभ्ने वा गाभिनतर्फ लागेको छ । फाइनान्सले स्वतन्त्र सञ्चालक तीलबहादुर गुरुङको संयोजकत्वमा २ सदस्यीय समिति गठन गरेको छ । समितिमा अर्का सदस्य प्रतीक गुरुङ रहेका छन् । मर्जरको प्रकृया करिब अन्तिम चरणमा रहेको जनाइएको छ ।

पाथीभरामा यातायातको सुविधामात्र दिन खोजेको हो, मविरुद्ध नकारात्मक सन्देश फैलाइयो: ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्दप्रसाद ढकालले सामाजिक सञ्जालले गलत सन्देश प्रवाह भएको बताएका छन् । बिहीबार क्यान इन्फोटेक मेलाको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले भने, ‘सामाजिक सञ्जालले चन्द्र ढकाललाई दलाल भनेर चिनाउने प्रयास गरिरहेको छ, जुन खेदजनक छ । वैदेशिक रोजगारको जागीर छोडेर नेपालमै केही गर्नुपर्छ भनेर फर्केर आएको मान्छे, अहिले हजारौंलाई रोजगार दिइरहेका छु । तर आज सामाजिक सञ्जालमा मेरो विषयमा गलत सन्देश फैलिएको छ । विभिन्न क्षेत्रमा मैले योगदान दिएको छु ।’ अध्यक्ष ढकालले पाथीभरामा केबलकार बनाउने विषयमा भएको विवादले गलत देखाउन खोजेको हुँदा वास्तविक रूपमा त्यहाँ केबलकर बनाएर यातायातको सुविधा मात्र दिन खोजेको बताए । उनले धर्मको नाममा गलत सन्देश फैलाउन खोजिएको बताए । यसैगरी, अध्यक्ष ढकालले नेपालले सूचना प्रविधि क्षेत्रको विकासका राज्यले नेपालको सूचना प्रविधि क्षेत्रको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताए । उनले सरकार र निजी क्षेत्रको सहकार्यले मात्र आईटी हबको लक्ष्य हासिल गर्न सकिने बताए । आईटी क्षेत्र विश्वव्यापी बजार भएको, खबौं रुपैया बराबरको सेवा निर्यात गर्न सक्ने र लाखौं मानिसलाई रोजगारी दिन सक्ने क्षेत्र भएको उल्लेख गर्दै अध्यक्ष ढकालले यस क्षेत्रको थप विकासका लागि आवश्यक नीतिगत र संरचनागत सुधारको लागि काम गर्न काम गर्न सरकारसँग आग्रह गरे । उनले क्यान इन्फोटेकले नवीनतम प्रविधि स्टार्टअप इनोभेशन तथा स्थानीय बजारको मागअनुसार विकास गरिएका प्रतिभा र आविष्कारले डिजिटल नेपाल निर्माणको अभियानलाई सहयोग पुग्ने बताए । अर्काे प्रसंगमा अध्यक्ष ढकालले नेपालमा सरकारले रोजगारीमा प्रोत्साहन गर्न सकेन भने भोलिका सन्ततिले पछुताउनुपर्ने बताए । यसैगरी, सञ्चार तथा सूचना प्रविधीमन्त्री पृथ्वीसुब्बा गुरुङले सूचना प्रविधि क्षेत्रमा सरकार आफैले धेरै काम गर्न बाँकी रहेको बताए । उनले यस क्षेत्रमा निजी क्षेत्रले गरेको योगदानको सराहना गर्दै आउने दिनमा निजी क्षेत्रसँग सहकार्य गरेर काम गर्ने बताए । आईटीलाई उद्योगको रूपमा विकास गर्दै अगाडि लैजान नीतिगत सुधार आवस्यक रहेको उल्लेख गर्दै उनले सरकारले नीतिगत सुधारको लागि काम गरिरहेको जानकारी दिए । क्यान इन्फोटेक मेला आजदेखि सुरु

मस्तिष्कलाई क्रियाशील बनाउन फलफूल भोजन

चालिस वर्षदेखि कार्यरत वरिष्ठ मानसिकरोग विशेषज्ञ डा विश्वबन्धु शर्माको अनुभवमा मानसिक रूपमा स्वस्थ रहन हाम्रो भोजनले ठूलो भूमिका खेल्छ । डा शर्माका विचार ‘सामान्य शारीरिक स्वास्थ्यको अवस्था मानसिक स्वास्थ्यको पूर्वाधार भएकाले जस्तो खानपिनले शारीरिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छ, त्यो मानसिक स्वास्थ्यको लागि पनि उपयुक्त हुन्छ भन्ने कुरा सामान्य स्थापित मान्यता हो । केही खाद्य वस्तुको विशेष भूमिका रहन्छ ।’ सुक्ष्म पोषण तत्वसहित रेशादार पदार्थ प्रचुर मात्रामा भएको खाना विशेषरूपले मानसिक स्वास्थ्य सबल पार्न मद्दत गर्छ । जति सक्यो कम प्रशोधन गरिएको, शरिरमा एकैचोटी चिनीको मात्रा नबढाउने, ताजा खाद्य पदार्थले मस्तिष्क सक्रिय र प्रभावकारी बनाउन भूमिका खेल्छन् । अर्थात विभिन्न थरिका स्वस्थ भोजनका साथै वनस्पतिजन्य भोजनले मस्तिष्कलाई क्रियाशील बनाउन सक्षम हुन्छ । त्यसैगरी विभिन्न फलफूलजस्तै सुन्तला, जुनार, अम्बा, विभिन्न प्रकारको बेरीहरु जस्तै (काफल, एैसेँलु, स्ट्रबेरी जस्ता) फलफूलमा शरीरमा एन्टिअक्सिडेन्ट (बढौती हुने प्रक्रिया न्यूनीकरण गर्ने) तत्व, रेशादार हुन्छन् । यी तत्वहरुले मानसिक स्वास्थ्य सबल राख्न भूमिका खेल्छन् । त्यसैगरी तरकारी जस्तो ब्रोकाउली, काउली, मुला आदिजस्ता तरकारी पनि महत्वपूर्ण मानिन्छन् । गाढा हरियो पात, रङ्गिन तरकारी जस्तैः फर्सी, चुकन्दर, रातो बन्दा आदिमा पर्याप्त मात्रामा फाइटोकेमिकल (एक रसायन जुन मस्तिष्कको लागि उपयोगी) हुन्छ । मानसिक स्वास्थ्यमा सकरात्मक असर पार्छ । स्वस्थकर खानाको चर्चा गर्दा वैज्ञानिकले महत्वपूर्ण कुरा शुरुवात भएको छ । मानसिक स्वास्थ्य समस्या भएर आएका बिरामीलाई ओखर, विभिन्न बियाँ (आलस, तिल, फर्सीको बियाँ) र रङ्गिन दलहन र कालो दाल, रातो दाल मुगे प्रयोग गर्ने सल्लाह दिइन्छ । डा शर्माको भनाइले स्पष्ट हुन्छ कि प्रायःमानसिक स्वास्थ्य सबल राख्न पनि त्यस्ता भोजनले भूमिका खेल्छन जुन भोजनले मुटु, कलेजो, पाचन प्रणाली स्वस्थ राख्छ । विभिन्न वैज्ञानिक अनुसन्धानले सिद्ध गरेका छन् । डा शर्माको भनाइअनुसार मस्तिष्कको लागि भिटामिन ‘बी’ १२, भिटामिन ‘डी’ आदि पनि महत्वपूर्ण छन् । भिटामिन ‘बी’ १२ को धेरै कमी भए बिर्सने रोगको जस्तै लक्षण देखा पर्ने सम्भावना हुन्छ । ‘चरुवा कुखुराको अण्डा, ताजा पानीका माछा, चरुवा जनावरको मासुको सेवन मस्तिष्क स्वस्थ राख्न उपयुक्त हुन्छ । हुन त कति स्वास्थ्यकर्मीले भिटामिन ‘बी’ १२ शाकाहारी भोजनमा पाइन्न भन्ने ठान्छन् । तर वनस्पतिजन्य भोजन जस्तैः चिज, पनिर, दही, मोहीले शरीरमा भिटामीन ‘बी’ १२ पुग्छ’ भन्ने डा शर्माको अनुभव छ । ‘मष्तिस्कका कोषिकाहरु नष्ट भएपछि पुनर्जीवित हुँदैनन्, त्यसैले नष्ट हुने प्रकिृया न्यूनीकरण गर्न सकेसम्म स्वास्थ्यका भोजनमा ध्यान दिनुपर्छ ।’ विगत केही वर्षदेखि पोषण र मानसिक स्वस्थ अनेक अनुसन्धान भइरहेको र मानसिक रोग विज्ञले मानसिक रूपमा स्वस्थ रहन व्यायाम, निद्रा, सामाजिक सक्रियातालाई पनि महत्वपूर्ण ठान्छन् । मानसिक समस्या भएर विभिन्न औषधि सेवन गर्दा त्यसबाट हुने ‘साइडइफेक्ट’ न्यूनीकरण गर्न पनि पौष्टिक भोजनको जरुरत पर्दछ । कुनै औषधिले कब्जियत गराए पर्याप्त मात्रामा सुप, पानी वा मोही पिउने र विभिन्न थरिका साग, फलफूलजस्ता रेशादार तत्व बढी भएका भोजनको प्रयोग गर्नुपर्छ । त्यसैगरी अनिद्राको कारणले मस्तिष्क र पाचन प्रणालीमा समस्या हुनसक्ने भएकाले यो बेलामा पनि भोजन र जीवनशैलीसम्बन्धी परामर्श दिइन्छ । सुत्ने बेला तातो दूध र बेसारको सेवन गर्ने, रातिको समयमा धेरै क्यालोरी र बोसोजन्य वस्तु आदि नखाने सल्लाह दिइन्छ । पाचन अङ्ग आन्द्रा र आन्द्रामा भएका सुक्ष्म किटाणुले पाचन प्रणालीलाई मजबुत गराउनेछ भने हालै वैज्ञानिक अनुसन्धानले देखाएको छ । मानसिक स्वास्थ्यसँग भोजन जोडिएको छ भन्ने तथ्य त केही चिकित्सकले अगाडिदेखि भन्दै आए पनि यो कुरा आम मानिसले बुझ्न अझै बाँकी छ । पेटभित्रको अङ्गको फरकफरक सञ्चालन प्रकृया छ । आकाश गङ्गामा खर्बै तारा रहे जस्तो पेटभित्र पनि खर्बौं किटाणु छन् । जीवाणु, ढुसी आदि शरीरको विभिन्न भाग (आन्द्र) भूुँडीको साथै फोक्सो आदिमा अवस्थित रहन्छन् । यिनको उपस्थितिले हाम्रो शारीरिक र मानसिक स्वास्थ्यमा भूमिका खेल्न सक्नेबारे अनुसन्धान भइरहेको छ । आधुनिक चिकित्सा विज्ञानले भन्छ, ‘धेरैजसो शारीरिक रोगको जरो पेटमा हुन्छ ।’ आयुर्वेद विज्ञानले पनि पेटको समस्या परेपछि विभिन्न रोग उब्जिन्ने उल्लेख गरेको छ । अहिलेको वैज्ञानिक अनुसन्धानले सिद्ध गरेको छ कि ‘पेटको स्वास्थ्यले मानसिक स्वास्थ्यमा पनि असर पर्छ । सजिलो बुझ्ने भाषामा बुझ्ने हो भने मानसिकरूपमा सबल हुन स्वस्थकर भोजन चाहिन्छ । मानसिक रोगीलाई केबल पेटको स्वास्थ्य राम्रो पारेर मात्रै उपचार गर्न सकिन्छ भन्ने होइन । मानसिक तनाव, डिप्रेसन, छारेरोग, उन्माद हुँदा औषधिको जरुरत पर्छ नै । कतिलाई त लामो समय औषधि जरुरत पर्छ । तर मानसिक रोग लागेका मानिसलाई औषधिको साथै स्वस्थ भोजनको पनि जरुरत पर्छ भन्ने चाहिँ पक्कै हो । जस्तो छारेरोग लागेको मानिसले जाँड रक्सी त छुनै हुँदैन । हाम्रो पेट स्वस्थ भयो भने अर्थात् स्वस्थ खाना खायौँ भने मानसिक स्वास्थ्यको उपचार पनि ठूलो भूमिको खेल्छ । पेट र सम्बन्ध दुईबीचको प्रगाढ सम्बन्ध छ । यतिसम्म कि पेटलाई त दोस्रो मस्तिष्क नै मानिएको छ । यो स्पष्ट छ कि पेटमा रहेको खर्बौँ जीवाणुको स्वास्थ्य पनि हाम्रो भोजनमा नै निर्भर रहन्छ । अनि तीनै जीवाणुले र किटाणुले हाम्रो मस्तिष्क भावना उत्तार चढावमा भूमिका खेल्छ । सरकारको स्वास्थ्यको कार्यक्रममा मानसिक रोगको उपचार र मानसिक स्वास्थ्य अति कम प्राथमिकतामा पर्छ । किनभने जो यो समस्याबाट पीडित छ उसले आफूलाई भएको समस्याको बारेमा बोल्न सक्दो आवाज उठाउन सक्दैन । जसलाई यो समस्या परेको छैन, उसले मानसिक रोगीप्रति हेर्ने दृष्टिकोण सकारात्मक रहेको पाइँदैन । शरीर स्वस्थ रह्यो भने मन स्वस्थ रहन्छ, पेट स्वस्थ भए मन र शरीर दुवै स्वस्थ भन्ने भनाइ पनि छ । विज्ञले भन्नुहुन्छ पेटको स्वास्थ्यसँग छ सम्बन्ध अहिले विभिन्न बिर्सिने रोग, पार्किन्सको समस्याले मानसिक समस्यामा पनि भूमिका खेल्छ । सेराटोनिन नामको तत्व पेटमा ८० प्रतिशत उत्पन्न हुन्छ । सेराटोनिनले मानव मस्तिष्कमा प्रभाव पारेर आनन्दको अनुभूति जगाउँछ । तर मस्तिष्कमा सेराटोनिनको कमि भएपछि उदास हुने समस्या उत्पन्न हुन्छ । जुन तत्व पेटमा उत्पन्न भएर मस्तिष्कको कार्यलाई नियन्त्रण गर्छ । त्यसैले पेट स्वस्थ राख्न भोजन निन्द्रा, व्यायामको कुराले महत्व राख्दछ । रेशादार पदार्थ भएको भोजनको उपयोग गर्दा मनको स्वास्थ्य सबल राख्न पनि मद्दत गर्छ । विश्व स्वास्थ्य सङ्गठनको एक तथ्याङ्कअनुसार कुुनै पनि समाजमा १५ प्रतिशत मानिस विभिन्न किसिमका मानसिक समस्याबाट पीडित हुन्छन् र दुई प्रतिशत मानिसमा अति कडा खालका मानसिक समस्या रहेको छ । यस अर्थमा नेपालमा पनि झण्डै ४० लाख मानिस विभिन्न किसिमका मानसिक समस्याबाट पीडित छन् र झण्डै छ लाख मानिसमा कडा किसिमको मानसिक समस्या रहेको छ । यस्ता मानसिक समस्यामध्ये सुस्त मनस्थिति, विभिन्न किसिमका लागूऔषधिहरु प्रयोग गरेर विक्षिप्त भएका मानिस, विभिन्न किसिमका सामाजिक समस्या परेर मानसिक अपराध र डिप्रेसन, प्रसवपछि मानसिक समस्या परेका आदि व्यक्ति पनि पर्छन् । अहिलेको बदलिँदो सामाजिक अवस्थाले गर्दा बढ्दै गरेका मानसिक समस्या अझ थपिएका छन् । विश्व स्वास्थ्यको तथ्याङ्कलाई हेर्ने हो भने संसारभरमा मानिसलाई सबभन्दा बढी अशक्त भार पर्ने १० वटा रोगमध्ये पाँच वटा त मानसिक रोग नै छ । त्यसमा पनि डिप्रेशन (मानसिक अवस्था) दोस्रो स्थानमा छ । बढ्दो मानसिक रोगको समस्याको दिगो समाधानका लागि समयमै औषधोपचार गर्नुको साथै उचित खानपानमा पनि ध्यान दिन आवश्यक छ । यसबारेमा जनस्तरमै चेतना अभिवृद्धि हर्नुपर्ने देखिन्छ । रासस (लेखक जनस्वास्थ्य तथा पोषणविद् हुन्)

सर्वसाधारणलाई उद्यमी बनाइरहेको ‘कोशेली घर’, कीर्तिपुरवासीमा खुसीयाली

काठमाडौं । कीर्तिपुरवासी निर्मला महर्जन दुई वर्षअघिसम्म स्वीटर बुन्ने काम गर्थिन् । बुन्ने मात्रै नभएर उनले ज्यालामा २०/२५ जनालाई रोजगारीसमेत दिँदै आएकी थिइन् । झण्डै २५ वर्ष यस पेशामा आवद्ध भएकी उनले स्वास्थ्यमा समस्या भएपछि स्वीटर बुन्ने कामलाई निरन्तरता दिन सकिनन् । गरिरहेको सीपलाई निरन्तरता दिन नसकेपछि अरू कुनै व्यापार/व्यवसाय गर्न पाए हुन्थ्यो भन्ने सोंचमा थिइन् उनी । खाजा पसल सुरु गर्ने कि भन्ने सोंच भएपनि ठाउँ अभाव हुँदा अन्योलमा थिइन् निर्मला । त्यसै सन्र्दभमा कीर्तिपुर नगरपालिकाले लघु उद्यमी/व्यवसायीले उत्पादन गरेको वस्तुलाई बजारीकरणमा सहज होस् भन्ने हेतुले सञ्चालन भएको कोशेली घरमा सटर खाली हुँदै छ भन्ने जानकारी पाइन् । त्यहाँ उनकै आफन्तले सञ्चालन गर्दै आएको झोलाको पसल अन्तै सर्ने भएपछि त्यही सटरमा सुरु गर्ने भन्ने निर्णय गरिन् । अन्ततः निर्मलाले नगरपालिकासँग समन्वय गरेर एक जना साथीसँग मिलेर खाजा पसल सुरु गरिन् । सुरुमा बारा र परौठा मात्रै सुरु गरेको खाजा पसलमा उनले विस्तारै नेवारी खाजाका परिकारदेखि सबै खाजा राख्न थालिन् । अहिले उनले सबै खालका खाजा उपलब्ध गराउँदै आएको बताइन् । स्कुल/कलेज नजिक भएकाले विद्यार्थीहरू त्यही खाजा खान आइपुग्छन् । उनका अनुसार नगरपालिकाका कर्मचारीहरूसमेत त्यही खाजा खाना आइपुग्छन् । ‘पसल ठीकठीकै चलिहेको छ, नगरपालिकाले पनि सहयोग गरेको छ । विभिन्न तालिम हुँदा यही खाजा अर्डर गर्नुहुन्छ, कर्मचारीहरू पनि यही खाना आउनहुन्छ । कतिपय अफिसबाट खाजा अर्डर आउँछ,’ निर्मलाले सुनाइन् । आफ्नो पसलको बजारीकरणको लागि नगरपालिकाबाट सहयोग पुगेको बताउँछिन् उनी । साथै नगरपालिकाले पसलको लागि सस्तो मूल्यमा सटर उपलब्ध गराउँदा त्यसबाट राहत पुगेको बताउँछिन् । कीर्तिपुर वडा न ४ निवासी अजित दुलालले नगरपालिकाद्वारा सञ्चालित कोशेली घरमा जुत्ता तथा चप्पलको पसल राख्दै आएका छन् । अहिले उनले आफनो पसललाई कौशल फुटवयर नाममा दर्ता गरेर सञ्चालन गरिरहेका छन् । जहाँ उनले स्थानीय महिला तथा दाजुभाईले उत्पादन गरेका स्वदेशी जुत्ता तथा चप्पललाई आफ्नो पसलमा लिई बजारीकरणमा ठूलो भूमिकासमेत निभाउँदै आएका छन् । साढे तीन वर्षंअघि नगरपालिकाले महिलाहरूलाई जुत्ता चप्पल बनाउने तालिम दिएको थियो । तालिम लिइसकेपछि आफूले उत्पादन गरेका जुत्ता तथा चप्पल कहाँ लगेर बेच्ने अन्यौलता ती दिदीबहिनीमा भइरहेको कुरा अजितले नजिकैबाटै नियालिरहेको थिए । उनी आफै पनि नयाँ व्यवसाय केही गर्ने कि भन्ने सोंचमा थिए । त्यस्तैमा उनले नगरपालिकाले सञ्चालन गरिरहेको कोशेली घरबारे सूचना पाए । व्यवसाय पनि हुने र बजारीकरणमा सहयोग पनि पुग्ने भएपछि उनले जुत्ता चप्पलको पसल राखेको बताए । अजितका अनुसार सुरुमा कोशेली घरमा स्थानीय उत्पादन मात्रै राख्नुपर्ने व्यवस्था थियो । स्थानीय उत्पादनले मात्रै व्यापार नहुने भएपछि पछिल्लो समय बाहिरबाट सामान ल्याएर बेच्न थालेको उनी सुनाउँछन् । उनले पसलमा मखमलो चप्पल, स्कुल कलेजको जुत्तादेखि सबै खालका जुत्ताको व्यापार गर्दै आएका छन् । पसल राख्नको लागि बाहिर सटर महँगो हुने बताउँदै कोशेली घरमा कम शुल्कमा पाएकोमा त्यसले नवउद्यमीलाई राहत पुगेको बताउँछन् उनी । त्यस्तै, कोशेली घरमा नगरपालिकाबाटै हेयर कटिङको तालिम लिएर दुई जना दिदीबहिनीले हेयर शैलुन सञ्चालन गर्दै आएका छन् । उक्त शैलुनलाई नगपालिकाकले ६ महिनासम्म निःशुल्क सटर उपलब्ध गराएको छ । खाजा पसल, जुत्ताचप्पल, हेयर शैलुनमात्रै नभएर कोशेली घरमा अन्य व्यवसाय पनि सञ्चालनमा रहेका छन् । जहाँ अजित र निर्मलाजस्तै १२ उद्यमीले व्यवसाय सञ्चालन गर्दै आएका छन् । जहाँ आफूले उत्पादन गरेको वस्तुदेखि बाहिरबाट ल्याएर सामान बिक्री गर्दै आएका छन् । यसरी सुरु भयो कोशेली घर स्थानीय उत्पादन र प्रवर्द्धनकाे लागि सरकारले जोड दिँदै आएपनि वास्तविक रूपमा स्वदेशी उत्पादनको बजारीकरणमा ठूलो समस्या छ । धेरै जना नवउद्यमीहरूले आफ्नो उत्पादनले बजार नपाउँदा निरन्तरता दिन नसकेको गुनासो गर्ने गरेका छन् । यस्ता समस्यालाई मध्यनजर गरेर आजभन्दा पाँच वर्षअघि कीर्तिपुर नगरपालिकाले लघु उद्यमीहरूले उत्पादन गरेको वस्तु तथा सेवाको बजारीकरणको लागि सहज वातावारण बनाउने लक्ष्यसहित कोशेली घर सुरु गरेको हो । ‘स्थानीय उत्पादन बिकाउन सकेन भन्ने उद्यमीहरूको गुनासोलाई मध्यनजर बजारीकरणको लागि नगरपालिकाले ठाउँ उपलब्ध गराउने लक्ष्यसहित कोशेली भर सुरु भएको हो,’ नगरपालिका उपप्रमुख शुभलक्ष्मी शाक्यले बताइन् । कोशेली घर सञ्चालनको सुरुवातमा स्थानीय उद्यमीलाई आफूले उत्पादन गरेको वस्तुको बिक्री वितरणको लागि निःशुल्क सटरको व्यवस्था गरेको थियो । तर, नगरपालिकाले जुन लक्ष्यले कोशेली घर सुरु गरेको थियो, त्यही अनुरूप चल्न सकेन । कोशेली घर अव्यस्थित हुँदै जान थाल्यो । उद्यमीहरूले मनलाग्दी सटर खोल्ने र बन्द गर्ने गर्न थालेपछि गुनासो बढ्दै जान थाल्यो । पहिलेको जनप्रनिधिले सुरु गरेको कोशेली घरको व्यवस्थापनको जिम्मेवारी नयाँ जनप्रतिनिधिको काँधमा आएसँगै त्यसलाई के गर्ने भनेर छलफलमा जुटेको नगरपालिका उपप्रमुख शाक्यले सुनाइन् । व्यवस्थित बनाउन शुल्क नगरपालिकाद्वारा सञ्चालित कोशेली घर अव्यस्थित बन्दै गएपछि समस्या के रहेछ भनेर त्यहाँ व्यवसाय गर्दै आइरहेका सबै उद्यमीलाई छलफलमा बोलाएको उपप्रमुख शाक्यले बताइन् । छलफलमा सबै उद्यमीले स्थानीय उत्पादन मात्रै बेच्दा व्यापार नभएको गुनासो राखे । साथसाथै उनीहरूले स्थानीय उत्पादनसँगै बाहिरी वस्तु राखेर व्यापार गर्नुपर्ने अवस्था देखिएको सुझाव दिए । उद्यमीहरूमार्फत् यस प्रकारको गुनासो आएपछि नगरपालिकाले नयाँ ढंगबाट कोशेली घर सञ्चालन गर्ने निर्णयमा पुगेको उपप्रमुख शाक्यले बताइन् । शाक्यका अनुसार त्यसपछि भने नगरपालिकाले शुल्क लिएर व्यवसायीलाई सटर उपलब्ध गराएको र बाहिरी वस्तु पनि राख्न अनुमति दिएको हो । उनका अनुसार टेन्डर नै खुलाएर सटर दिने व्यवस्था गरेको थियो । न्यूनतम पाँच हजार शुल्क लिनेगरी नगरपालिकाले टेन्डर खुलाएको थियो । त्यतिबेला धेरै जना स्थानीय व्यवसायीले आवेदन दिएपनि १२ जनालाई छनोट गरी सटर उपलब्ध गराइएको थियो । अहिले धेरैजसो पुरानो उद्यमीहरूले सटर छाडेकोमा नयाँ उद्यमीहरूले सञ्चालन गरिरहेको छन्, केही पुरानै उद्यमीले त्यही सटरमा आफ्नो व्यवसायलाई निरन्तरता दिँदै आएका छन् । कोशेली घर स्थापना भएको सुरुवाती चरणबाटै संलग्न हुँदै आएकी नगरपालिकाको उद्यम विकास केन्द्रकी उद्यम विकास सहजकर्ता अप्सरा भट्टराईले तीन वर्षयता नगरपालिकाले एक उद्यमी बराबर मासिक पाँच हजार रुपैयाँ शुल्क लिँदै आएको बताउँछिन् । कोशेली घर सञ्चालनको सुरुवाती चरणमा स्थानीय व्यवसायीलाई निःशुल्क रूपमा व्यवसायको लागि सटर उपलब्ध गराउँदा लापरबाही बढ्न गएकोले व्यवस्थित बनाउने हिसाबले शुल्क लिन थालेको उद्यम विकास सहजकर्ता भट्टराईले थप प्रष्ट्याइन् । उनले भनिन्, ‘दुई वर्षजति हामीले उद्यमीलाई व्यवसाय सञ्चालनको लागि निःशुल्क सटर उपलब्ध गरायौं, निःशुल्क रूपमा चलाउन दिँदा उहाँहरूले मनपरी गर्न थाल्नुभयो । कहिले खोल्ने, कहिले १५ दिनसम्म बन्द गरिदिने । यसले कोशेली घर अव्यवस्थित देखियो । बाध्य भएर शुल्क लिने निर्णय लिनुपर्यो ।’ उद्यमीहरूलाई शुल्कसहित सटर उपलब्ध गराउँदा कोेशेली घर पहिलेभन्दा व्यवस्थित बन्दै गएको र राम्रै व्यापार भयो भन्ने प्रतिक्रिया उद्यमीमार्फत् आउने गरेको भट्टराईले बताइन् । पहिले व्यवसाय दर्ता बिना नै धेरैले व्यवसाय गर्दै आएकामा अहिले उद्यम दर्ता गर्न आउनेहरूको संख्या बढ्दै गएको उनी सुनाउँछिन् । ‘पहिला उद्यमीहरूको पसल दर्ता गरेको थिएनन्, दर्ता नगरी काम गर्न असजिलो हुने भएकोले दर्ता गर्न क्रमशः आइरहनुभएको छ । अहिले त्यहाँ होटलदेखि रेडिमेड सामान, स्थानीय उत्पादन पनि राख्नुभएको छ । हेयर शैलुन पनि यसै सालबाट सुरु गर्दैछ,’ भट्टराईले भनिन् । पछिल्लो समय कोशेली घरमा सटर चाहियो भनेर निवेदन दिने नयाँ उद्यमीको संख्या बढ्दै गएको उनी सुनाउँछिन् । ‘हामीसँग अहिले १२ सटर मात्रै उपलब्ध छन्, तर, नगरपालिकामा सटर चाहियो भनेर धेरै जनाले निवदेन दिनुभएको छ । कसैले छोडिहाल्यो भने भन्नु है भन्नुहुन्छ, त्यसैले हामीले सटर बढाउने कि भनेर सोच बनाएका छौं ।’ तालिमपछि उद्यमी, त्यसपछि बजारीकरण नगरपालिकाले नव तथा साना उद्यमीको उत्पादन भएको वस्तुको बजारीकरण मात्रै नभएर विभिन्न तालिमहरू पनि दिने गरेको अधिकारी बताउँछिन् । जुत्ता चप्पल बनाउने तालिमदेखि पार्लर, ड्राइभिङलगायत विभिन्न सीप चरणबद्ध रूपमा सिकाउँदै आएको छ । सीप सिकिसकेपछि पनि बजारीकरणमा नगरपालिकाले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । नगरपालिकाले कतिपय तालिम आन्तरिक स्रोतबाट र गरिबी निवारणको लागि लघु उद्यम विकास (मेड्पा) मार्फत दिँदै आएको छ । नगरपालिकाद्वारा तालिम लिएर कोशेली घरमा भर्खरै सुरु भएको एक व्यवसाय हो– हेयर कटिङ शैलुन । नगरपालिकाका अनुसार दुई जना महिलाले ६ महिना तालिम लिएर यो व्यवसाय सुरु गरेको हो । उद्यम विकास सहजकर्ता अधिकारीका अनुसार मेड्पाले वार्षिक रूपमा यस तालिमको लागि भन्दै १२ लाख रुपैयाँ उपलब्ध गराउँदै आएको छ । योअन्र्तगत ६/७ चरणमा तालिमहरू सञ्चालन हुन्छ । केही गर्न चाहने स्थानीय नागरिकले नगरपालिकाद्वारा सञ्चालित तालिममा सहभागी हुन सक्छन् । नगरपालिकामा आवेदन परेकाहरूमध्ये छनोटमा परेका ५० जनाले तालिम लिन पाउँछन् । तालिम दिइसकेपछि पनि सम्भव भएसम्म प्रविधिसमेत हस्तान्तरण गर्ने गरेको अधिकारी बताउँछिन् । थप व्यवस्थित बनाइँदै नगरपालिकाले कीर्तिपुर हाल नयाँ बजार चोकमा कोशेली घर सञ्चालन गर्दै आइरहेको छ । अहिले सञ्चालन भइरहेको ठाउँ उपयुक्त नभएको हुँदा लक्ष्यअनुरूप कोशेली घर सञ्चालन नभएको हुँदा यसलाई अझै व्यवस्थित बनाउने योजना रहेको उपप्रमुख शाक्य सुनाउँछिन् । ‘अहिलेको ठाउँ व्यापारिक हिसाबले उद्यमीहरूलाई ठीकठीकै छ । स्थानीय उत्पादनले मात्रै व्यापार नभएपछि उहाँहरूले बाहिरबाट सामान ल्याएर पनि बेच्नुभएको छ, यसले राम्रै गरिरहनुभएको छ । हाम्रो उद्देश्य स्थानीय उत्पानलाई जोड हो । तर, त्योअनुसार हुन सकेको छैन,’ उनले भनिन् । कोशेली घरलाई थप व्यवस्थित बनाउन नगरपालिकाले सञ्चालन गरेको पर्यटन सूचना केन्द्रमा सार्ने योजना बनाएको उनले सुनाइन् । ‘अहिले हामीले कोशेली घर नजिकै पर्यटन सूचना केन्द्र बनाएका छौं । त्यसको तल्लो तलामा कोशेली घरलाई सार्ने कि भन्ने योजना बनाएका छौं,’ उनले बताइन् । पर्यटन सूचना केन्द्रमा सबै उद्यमी व्यवसायीले उत्पादन गरेको वस्तु राख्नुभन्दा उनीहरूको नम्बर र वस्तुबारे जानकारी दिने गरी व्यवस्थित बनाउन लागेको उपप्रमुख शाक्य बताउँछिन् । त्यसका लागि केन्द्रकै कर्मचारीले सहजीकरणको भूमिका खेल्नेछन् ।

तोलामा १६ सयले बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला एक लाख ६८ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ। बुधबार छापावाल सुन प्रतितोला एक लाख ६६ हजार नौ सय रूपैयाँमा कारोबार भएको थियो । आज सुनको मूल्य प्रतितोला १ हजार ६ सय रूपैयाँ बढेको हो । साथै, चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य प्रतितोला १ हजार ९ सय ८० रूपैयाँमा कारोबार भइरहेको छ । बुधबार चाँदीको मूलेय १ हजार ९ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।