अदालतले धरौटीमा छोडिसकेपछि संसदबाट रविलाई निलम्वन गर्नु हुँदैन : प्रचण्ड
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले अदालतले धरौटीमा छोडिसकेपछि संसदबाट गरिएको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको निलम्वन न्यायपूर्ण नभएको बताएका छन् । बिहीबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले अदालतहरुले धरौटीमा छोडिसकेपछि संसदबाट राष्ट्रिय स्वतन्त्र पार्टीकासभापति रवि लामिछानेको निलम्वन न्यायपूर्ण नभएको बताएका हुन् । उनले सहकारीबाट पैसा ल्याउन प्रत्यक्ष कतै नजोडिए पनि लामिछानेलाई देशको सबैभन्दा ठूलो सहकारी ठगका रुपमा देशभर दौडाइएको बताए । विगतमा प्रधानमन्त्री बनाउन अफर गर्नेहरुले आज न्यायपालिकालाई धम्क्याएर डाइछाड्ने षड्यन्त्रमा लागेको बताए । सहकारी ठगीमा सरकारको मापदण्ड अन्यायपूर्ण मात्र नभइ अपराधपूर्ण रहेको जानकारी दिए । ‘सरकार बलियो तब देखिन्छ, जब प्रतिशोध लिनुपर्ने हुन्छ । त्यसको सबैभन्दा ठूलो उदाहरण राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने हुनहुन्छ । सहकारीबाट पैसा ल्याउन प्रत्यक्ष कतै नजोडिएका उहाँलाई आज देशको सबैभन्दा ठूलो सहकारी ठगका रुपमा देशभर दौडाइएको छ ,’ उनले भने । अध्यक्ष दाहालले प्रतिशोध लिने कुरामा सरकार बलियो देखिएको जानकारी दिए ।
जनकपुरबाट अल्ट्रालाइट वायुयान उडान परीक्षण
जनकपुर । एभियाक्लब पोखराले सगरमाथा हिमाल, त्यस वरपरका चुचुरा र कोसी टप्पु क्षेत्रको दृश्यावलोकन गर्नेगरी जनकपुरबाट अल्ट्रालाइट वायुयानको उडान परीक्षण गरिएको छ । परीक्षणका लागि बिहीबार जनकपुर विमानस्थलबाट एभियाक्लबको अल्ट्रालाइट वायुयानले राजविराजका लागि उडान भरेको हो । भारतीय पर्यटकको हिमाल तथा कोसी नदी क्षेत्रको दृश्यावलोकनप्रति बढ्दै गएको रुचिलाई दृष्टिगत गरी मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले अल्ट्रालाइट वायुयान सञ्चालन गराउन नागरिक उड्ड्यन प्राधिकरणलाई आग्रह गरेका थिए । प्राधिकरणका सहनिर्देशक देवचन्द्रलाल कर्णले एभियाक्लबको अल्ट्रालाइट वायुयानले सगरमाथाको चुचुरो देखिने गरी जनकपुरबाट राजविराजका लागि आज उडान भरेको जानकारी दिए । उनले सो उडान सफल र व्यावसायिक रूपमा नाफामूलक देखिएमा भविष्यमा राजविराज विमानस्थललाई केन्द्र बनाई सगरमाथा दर्शनका लागि परिचालन गरिने उल्लेख गरे । हेलिकोप्टरबाट सगरमाथाको दृश्यावलोकन महँगो भएको र जहाजबाट दृश्यावलोकनको पूर्ण आनन्द प्राप्त गर्न नसकिने हुँदा तुलनात्मक रूपमा अल्ट्रालाइट वायुयान पर्यटकका लागि सस्तो र आकर्षक हुने कर्णले विश्वास व्यक्त गरे । एक यात्रु लिएर उड्ने अल्ट्रालाइट वायुयानबाट सगरमाथा दर्शन गर्न प्रतिव्यक्ति १५ हजार रुपैयाँसम्म खर्च लाग्ने अनुमान गरिएको छ ।
बजार घटे पनि कारोबार रकममा वृद्धि
काठमाडौं । साताको अन्तिम कारोबारको दिन अर्थात बिहीबार सेयर बजारमा गिरावट आएको छ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ११.६४ अंकले घटेर २६९९.८१ बिन्दुमा झरेको छ । नेप्सेका अनुसार ७४ कम्पनीको सेयर मूल्य बढ्दा १६० कम्पनीको सेयर मूल्य घटेको छ । ९ कम्पनीको सेयर मूल्यमा भने कुनै परिवर्तन आएको छैन । आज सेयर घटे पनि काराेबार भने बढेकाे छ । ३१५ कम्पनीको १ करोड ८६ लाख कित्ता सेयर किनबेच हुँदा ९ अर्ब २४ करोड रुपैयाँ बढीको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार साहस ऊर्जाको भएको छ । साहसको ३१ करोड रुपैयाँ बढीको कारोबार भएको छ । साथै नेपाल रिइन्स्योरेन्स कम्पनीको २२ करोड, बरुण हाइड्रोपावरको १८ करोड, सानिमा माइ हाइड्रोपावरको १६ करोड र युनाइटेड मोदी हाइड्रोपावरको १६ करोड रुपैयाँ बढीको कारोबार भएको छ । आज फाइनान्सबाहेक सबै सेक्टरका सूचक घटेका छन् । फाइनान्स १.५८ प्रतिशतले बढेको छ । विकास बैंक सबैभन्दा धेरै १.५३ प्रतिशत घटेको छ । बैंकिङ ०.३५, होटल तथा पर्यटन ०.३७, हाइड्रोपावर ०.३८, लगानी ०.३९, जीवन बीमा ०.१६, उत्पादन तथा प्रशोधन ०.४०, माइक्रोफाइनान्स ०.५९, निर्जीवन बीमा ०.४५, अन्य १.०५ र व्यापार ०.११ प्रतिशतले घटेको छ । आज अप्पर लाहोरे खोला हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । त्यसैगरी, उपकार लघुवित्त र कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको नेप्सेले जनाएको छ ।
आईटी क्षेत्रलाई उद्योगको रूपमा विकास गर्न सरकार प्रतिवद्ध छ : मन्त्री गुरुङ
काठमाडौं । संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आईटी क्षेत्रलाई उद्योगको रूपमा विकास गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् । बिहीबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको क्यान इन्फोटेक २०२५ को ३०औं संस्करणको उद्घाटन कार्यक्रममा उनले उक्त कुरा बताएका हुन् । साथै उनले सरकारले आजको दिनसम्म आइटी क्षेत्रमा केही गर्न नसकेको स्वीकारेका छन् । उनले भने, ‘सरकारले आइटी क्षेत्रमा केही गरेको छैन । हिजो जति गरेको छ त्यसमै सीमित छ । अब आइटी क्षेत्रमा सरकारले धेरै कुरा गर्नुछ ।’ मन्त्री गुरुङले सूचना प्रविधि क्षेत्रको विकासका लागि सरकारले अध्यादेशमार्फत महत्त्वपूर्ण कानुन बनाउने योजना अघि सारेको उल्लेख गरे । उनले भने, ‘हामीले आईटी क्षेत्रलाई उद्योगको रूपमा विकास गर्न सरकार प्रतिवद्ध छ । नेपाली आईटी कम्पनीहरूलाई विदेशमा शाखा सञ्चालन गरेर व्यवसाय विस्तार गर्न आवश्यक कानुनी व्यवस्था अध्यादेशमार्फत गरिएको छ ।’ आइटी सेक्टरले नेपालको डिजिटल अर्थतन्त्रमा ठूलो भूमिका निर्वाह गरेको उल्लेख गर्दै मन्त्री गुरुङले आउँदा दिनमा एआई प्लाटफर्मलाई सरकारको तर्फबाट गर्नु सकिने सहयोग रहने कुरा अघि सारे । आजदेखि सुरु भएको क्यान इन्फोटेक विद्यार्थी, उद्यमी, अनुसन्धानकर्तादेखि सवै वर्गलाई महत्वपूर्ण प्लाटफर्म रहेको हुँदो यसको भरपूर उपयोग गर्न बताए । पाथीभरामा यातायातको सुविधामात्र दिन खोजेको हो, मविरुद्ध नकारात्मक सन्देश फैलाइयो: ढकाल क्यान इन्फोटेक मेला आजदेखि सुरु
पफर्मेन्स कमजोर भन्दै पदमुक्त, ‘केही महिनाभित्रै मर्जर’
काठमाडौं । पर्फमेन्स कमजोर भएपछि पोखरा फाइनान्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रविचन्द्र गुरुङ पदमुक्त भएका छन् । सीईओ गुर’ङले गरेको काम चित्त नबुझेपछि माघ २३ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले बिहीबारदेखि लागू हुने गरी पदमुक्त गरेको हो । पछिल्लो समय कम्पनीले प्रवाह गरेको कर्जा असुली नभएपछि खराब कर्जा (एनपीएल) उच्च हुन पुगेको छ । गत पुससम्म कम्पनीको खराब कर्जा ३३.४४ प्रतिशत पुगेको छ । एनपीएल उच्च भएपछि नेपाल राष्ट्र बैंकले खराब कर्जा असुलीमा दबाब दिँदै आएको छ । तर, सीईओ गुरुङको पफर्मेन्समा खासै सुधार नभएपछि पदमुक्त गरिएको स्रोतले बतायो । ‘एनपीएल धेरै भएपछि राष्ट्र बैंकले दबाब दिन थाल्यो । कर्जा समयमा असुल भएको भए समस्या हुँदैनथ्यो । राष्ट्र बैंकले आफ्नो निर्देशिका अनुसार गर्न लगाउँछ, गरेन भने कारवाही गर्छु भन्न थाल्यो,’ फाइनान्स स्रोतले भन्यो, ‘सीईओको पफर्मेन्स राम्रो देखिएन । त्यसपछि सञ्चालक समितिले कारवाही स्वरूप पदमुक्त गरेको हो ।’ पछिल्लो समय कम्पनीको वित्तीय अवस्था कमजोर अवस्थामा पुगेपछि मर्जर तथा एक्विजिशनका विभिन्न बैंक तथा वित्तीय संस्थासँग छलफल गरिरहेको छ । चालु आर्थिक वर्षभित्रै मर्जर गर्ने गरी सञ्चालक तीलबहादुर गुरुङको संयोजकत्जमा मर्जर कमिटी गठन गरिएको छ । उक्त कमिटीमा सञ्चालक प्रतीक गुरुङ सदस्य रहेका छन् । ‘चालु आर्थिक वर्षभित्रै मर्ज गर्ने प्रबल सम्भावना छ । मर्जर कमिटीले प्रयास गरिरहेको छ । मर्जर कमिटी जति सक्रिय भयो त्यति नै छिटो मर्ज हुन्छ,’ फाइनान्सका एक उच्च अधिकारीले भने, ‘मर्जर कमिटीले आन्तरिक रूपमा छलफल गरिरहेका छ । विभिन्न बैंकसँग छलफल भइरहेको छ ।’ सीईओ गुरुङ पदमुक्त भएपछि नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) राजुमोहन भट्टराईलाई फाइनान्सको कायम मुकायम कार्यकारी प्रमुख (कामु सीईओ)को जिम्मेवारी दिइएको कम्पनी सचिव निर्मलकुमार कार्कीले बताए । गत पुस मसान्तसम्म फाइनान्सको खुद नाफा ६५ करोड ३१ हजार रुपैयाँ ऋणात्मक छ । १ अर्ब ८ करोड २५ लाख रुपैयाँ चुक्ता पुँजी रहेको फाइनान्सको जगेडा कोष १ अर्ब ५ करोड ३७ लाख रुपैयाँ छ । सञ्चित नाफा १ अर्ब ५५ करोड २० लाख रुपैयाँ ऋणात्मक छ । गत पुस मसान्तसम्ममा फाइनान्सले १० अर्ब ५५ करोड ९१ लाख रुपैयाँ निक्षेप संलकन गरी ६ अर्ब ४० करोड ४ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । पोखरा फाइनान्समा समस्या, स्पष्टिकरण लिने राष्ट्र बैंकको निर्णय
तनहुँ जलविद्युत आयोजनाको सहयोगमा निर्मित विद्यालय भवन हस्तान्तरण तथा उद्घाटन
तनहुँ । निर्माणाधीन १४० मेगावाटको तनहुँ जलविद्युत आयोजनाको सामाजिक विकास कार्यक्रमअन्तर्गत आयोजना प्रभावित व्यास नगरपालिका- ५ बेनीपाटनमा विद्यालय भवन निर्माण सम्पन्न भएको छ । व्यास नगरपालिकाले उपलब्ध गराएको जग्गामा पराशर माध्यमिक विद्यालयको २ तले ८ कोठा भएको पक्की भवन आयोजनाबाट आफ्नै खर्च एवम् प्राविधिक सहयोगमा निर्माण सम्पन्न गरिएको हो । आयोजनाबाट निर्माण गरिएको नवनिर्मित भवन १४ माघ सोमबारका दिन विद्यालयको ३३ औं स्थापना दिवस तथा अभिभावक भेलाको अवसरमा आयोजित कार्यक्रमकाबीच हस्तान्तरण एवम् उद्घाटन गरियो । आयोजनाबाट विद्यालय भवन व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेलाई हस्तान्तरण गरिएको हो । नवनिर्मित उक्त भवनको नगरपालिकाका प्रमुख न्यौपानेले उद्घाटन गरे । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाईले लागू गरेको डिजाइनअनुसार निर्माण गरिएको विद्यालय भवन भूकम्प प्रतिरोधी एवम् अपाङ्गमैत्री रहेको छ । भौतिक रुपमा विद्यालयको पूर्वाधार बलियो र सुरक्षित हुँदा यसको सकारात्मक प्रभाव विद्यार्थी, अभिभावक, विद्यालय व्यवस्थापन समिति, शिक्षकलगायत सबैलाई पर्ने आयोजनाले विश्वास लिएको छ । भवन निर्माणका लागि आयोजना र निर्माण व्यवसायी ऐञ्जल पारस जेभीबीच करिब दुई वर्षअघि १ करोड ३८ लाख २४ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । आयोजना प्रभावित क्षेत्र भिमाद नगरपालिका- ५ ऋषिङपाटनस्थित दीपक माध्यमिक विद्यालयको भवन पनि निर्माण अन्तिम चरणमा छ । सामाजिक विकास कार्यक्रमअन्तर्गत हालसम्म व्यास तथा भिमाद नगरपालिका र ऋषिङ, म्याग्दे तथा बन्दीपुर गाउँपालिका आयोजना प्रभावित वडाहरूमा ६६ योजनाहरू सम्पन्न भएका छन् । ९ वटा योजनाहरु हाल सञ्चालित छन् ।
मुकेश अम्बानीको रिलायन्सलाई ऋण दिन करिब २ दर्जन बैंक लाइनमा, जेपी मोर्गन पनि समावेश
काठमाडौं । विश्वभरका धेरैजसो ठूला बैंकहरू रिलायन्स इन्डस्ट्रीजलाई ऋण दिनका लागि लाइनमा उभिएका छन् । भारतको सबैभन्दा मूल्यवान कम्पनी रिलायन्स इन्डस्ट्रीज लिमिटेड (आरआईएल) ले ३ अर्ब डलरको ऋण लिन डिसेम्बरमा ११ बैंकको समूह (कन्सोर्टियम) सँग सम्झौता गरेको थियो । स्रोतहरूका अनुसार अब कम्तीमा १० अन्य बैंकहरू पनि यो वित्तीय समूहमा सहभागी हुन चाहिरहेका छन् । ती बैंकहरूमा अष्ट्रेलिया, उत्तर अमेरिका, ताइवान, युरोप र एसिया का प्रतिष्ठित बैंकहरू सामेल छन् । आगामी हप्ता ऋण संकलनको रोड शो सुरु आगामी हप्तादेखि यो ऋणका लागि रोड शोहरू सुरु हुनेछन् । कम्पनी र मुख्य बैंकहरूले सुनिश्चित गर्न चाहन्छन् कि अझ धेरै बैंकहरू यसमा सहभागी बनून् । स्रोतका अनुसार आरईएलले यी बैंकहरूलाई पहिले नै चयन गरिसकेको छ । किन बैंकहरू रिलायन्सलाई ऋण दिन इच्छुक छन् ? आरआईएल आफ्ना कर्जदाता बैंकहरूको दायरा बढाउन चाहन्छ । मुख्य बैंकहरूले आरआईएललाई भारतको सबैभन्दा राम्रो क्रेडिटधारी कम्पनी मान्छन् । नयाँ बैंकहरूले पनि यसरी सुरक्षित राम्रो क्रेडिटमा लगानी गर्न चाहन्छन् । मुख्य बैंकहरूले यसबाट फीस पाउँछन् र भविष्यमा थप ऋण दिने अवसर पनि मिल्छ । भारतको उच्चतम क्रेडिट रेटिङ प्राप्त कम्पनी बैंकहरू कम ब्याजदर (मार्जिन) मा पनि आरआईएललाई ऋण दिन तयार छन् । किनकि आरआईएल भारतको सबैभन्दा राम्रो क्रेडिट रेटिङ भएको कम्पनी हो ।यसको क्रेडिट रेटिङ त्रिपल बी प्लस छ, जुन भारतको बीबीबी– सोवरेन क्रेडिट रेटिङभन्दा उच्च हो । आरआईएलले यसबारे औपचारिक रूपमा कुनै प्रतिक्रिया दिएको छैन । कर्जा संरचना र ब्याजदर आरआईएलले ११ बैंकहरूबाट ३ अर्ब डलर उठाइसकेको छ, जुन पछिल्लो दुई वर्षमा लिएको सबैभन्दा ठूलो ऋण हो । यो ५ वर्षको अवधि भएको ऋण हो । ४५० मिलियन डलर जापानी येनमा पनि ऋण लिइएको छ । यो रकम यस वर्ष परिपक्व हुने ऋण चुक्ता गर्न प्रयोग गरिन सक्छ । कुन बैंकले कति ऋण दिए ? बैंक अफ अमेरिकाले ३४३ मिलियन डलर, डीबीस र एचएसबीसी बैंकले ३००–३०० मिलियन, एमयूएफजीले २८० मिलियन डलर र एकमात्र भारतीय बैंक एसबीआईले २७५ मिलियन डलर ऋण दिएका छन् । अन्य बैंकहरू जस्तै स्ट्यान्डर्ड चार्टर्ड बैंक, मिजुहो बैंक र एसएमबीसी बैंकले २५०–२५० मिलियन डलर ऋण दिएका छन् । यसैगरी, फस्र्ट अबुधाबी बैंक, सिटिबैंक, क्रेडिट अग्रिकोल सीआईबीले २४१–२४१ मिलियन डलर ऋण दिएका छन् । नयाँ बैंकहरूको भूमिका दोस्रो चरणमा थपिने नयाँ बैंकहरूले आफ्नो क्षमताअनुसार ऋण दिनेछन् । प्रत्येक बैंकको कुनै पनि कम्पनीलाई दिन सक्ने ऋणको सीमा हुन्छ । मुख्य बैंकहरू कति रकम छोड्न चाहन्छन् र जोखिम मूल्यांकन कस्तो छ भन्नेमा नयाँ बैंकहरूको लगानी निर्भर हुनेछ । रिलायन्सबाट बाहिरिँदै विदेशी लगानीकर्ता, विदेशी हिस्सेदारी एक दशकको न्यूनतम स्तरमा विश्वकै सबैभन्दा ठूलो डेटा सेन्टर बनाउँदै मुकेश अम्बानी
शानदार म:म: सेन्टरमा ग्यास विस्फोट (तस्बिरहरू)
काठमाडौं । काठमाडौंको कमलपोखरीस्थित एक खाजा घरमा सिलिण्डर ग्यास विस्फोट भएको छ । विष्फोटमा ११ जना घाइते भएका छन् । केशव श्रेष्ठको घरमा सञ्चालनमा रहेको शानदार म:म: सेन्टरमा ग्यास विस्फोट भएको हो । घाइतेहरूलाई उपचारको लागि हिमाल अस्पताल पुर्याइएको छ ।