विकासन्युज

वर्तमान सरकार कामचलाउ मात्र, मध्यावधि निर्वाचनको सम्भावना छ : शशांक कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले वर्तमान सरकारले कुनै ठोस र जनपक्षीय काम गर्न नसकेको टिप्पणी गरेका छन् । शनिबार काठमाडौंमा नेपाली कांग्रेसको संस्थापन इतर पक्षको राष्ट्रिय भेलाका क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता कोइरालाले सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका हुन् । बहुमतको समर्थन प्राप्त भए पनि सरकारले हालसम्म कुनै नयाँ नीति तथा कार्यक्रम ल्याउन नसकेको बताए। उनले वर्तमान सरकारलाई ‘कामचलाउ’ सरकारको संज्ञा दिए । वर्तमान सत्ता पाँच वर्षको पूर्ण कार्यकाल टिक्नेमा आशंका व्यक्त गर्दै कोइरालाले मुलुक मध्यावधि निर्वाचनतर्फ जानसक्ने सम्भावना रहेकोसमेत उल्लेख गरे । उनले भने, ‘यो सरकार साधारण प्रकृतिको मात्र देखिएको छ। बहुमत भए पनि ठोस रूपमा कुनै राम्रो काम भएको मलाई लाग्दैन । नयाँ नीतिहरू केही छैनन्, यसलाई एक प्रकारको कामचलाउ सरकार नै भन्न सकिन्छ । यो सरकार पाँच वर्ष नै टिक्छ भन्ने सुनिश्चितता छैन, बीचैमा मध्यावधि निर्वाचनमा जानुपर्ने सम्भावना पनि रहन्छ । राजनीतिमा यस्तो सम्भावनालाई नकार्न सकिँदैन ।’

प्रवासी नेपालीलाई ढुक्क भएर लगानी गर्न अर्थमन्त्रीको आह्वान

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रवासमा रहेका नेपालीलाई नेपालमा ढुक्क भएर लगानी गर्न आग्रह गरेका छन् । चीनको ग्वाङ्झाउमा सुरु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औँ एसिया प्यासिफिक सम्मेलनलाई भिडियो सन्देशमार्फत सम्बोधन गर्दै मन्त्री वाग्लेले सरकारले नेपालमा लगानीको वातावरण निर्माण गरिरहेको बताए । उनले भने, ‘यसपालिको बजेटलाई हामीले आर्थिक दिशा परिवर्तन गर्ने र नयाँ गन्तव्य तय गर्ने आधारशिलाका रूपमा ल्याएका छौ पाँच वर्षे मार्गचित्रअनुसार पहिलो वर्ष सुधारको जग बसाल्ने, दोस्रो र तेस्रो वर्ष त्यसलाई गति दिने र अन्तिम दुई वर्ष सुधारबाट प्राप्त प्रतिफल नेपाली जनतालाई लाभांशका रूपमा वितरण गर्ने हाम्रो लक्ष्य छ ।’   उनले देशमै रोजगारीका अवसर सिर्जना गर्ने तथा एआई र सूचना प्रविधिको क्षेत्रमा काम गर्न प्रोत्साहन गर्ने नीतिगत रणनीति कार्यान्वयन भइरहेको उल्लेख गरे । नेपालमा लगानीका लागि अनुकूल वातावरण बन्दै गएकाले प्रवासी नेपालीलाई लगानी गर्न उनले आग्रह गरे । मन्त्री वाग्लेले पर्यटन, सूचना प्रविधि, हरित ऊर्जा, उच्च मूल्ययुक्त कृषि तथा आयात प्रतिस्थापन गर्ने क्षेत्रमा लगानी गर्न विशेष आग्रह गरे ।  

४ बैंकको वितरणयोग्य नाफा ३६.१० अर्ब ऋणात्मक, औसत लाभांश क्षमता १३.४२ प्रतिशत

काठमाडौं । गत आर्थिक वर्ष २०८२/८३ मा ४ वटा वाणिज्य बैंकको वितरणयोग्य नाफा ऋणात्मक रहेको छ । बैंकहरूले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार आर्थिक वर्षको अन्त्यसम्म एनआईसी एसिया बैंक, हिमालयन बैंक, प्रभु बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी)को कुल वितरणयोग्य नाफा ३६ अर्ब १० करोड ५८ लाख रुपैयाँ ऋणात्मक रहेको छ । सबैभन्दा बढी ऋणात्मक वितरणयोग्य नाफा एनआईसी एसिया बैंकको रहेको छ । बैंकको वितरणयोग्य नाफा १४ अर्ब ८६ करोड ५० लाख रुपैयाँ ऋणात्मक रहेको छ । अघिल्लो आर्थिक वर्षमा पनि बैंकको वितरणयोग्य नाफा १० अर्ब ६७ करोड ८१ लाख रुपैयाँ ऋणात्मक थियो । समीक्षा अवधिमा हिमालयन बैंकको वितरणयोग्य नाफा ९ अर्ब ८४ करोड १ लाख रुपैयाँ ऋणात्मक रहेको छ । त्यस्तै, प्रभु बैंकको ६ अर्ब ३१ करोड ३१ लाख रुपैयाँ र नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी)को ५ अर्ब ८ करोड ७५ लाख रुपैयाँ वितरणयोग्य नाफा ऋणात्मक रहेको छ । १६ बैंकको वितरणयोग्य नाफा धनात्मक समीक्षा अवधिमा १६ वटा वाणिज्य बैंकको वितरणयोग्य नाफा धनात्मक रहेको छ । सार्वजनिक तथ्याङ्कअनुसार एभरेष्ट बैंकको वितरणयोग्य नाफा सबैभन्दा बढी रहेको छ । बैंकको वितरणयोग्य नाफा ५ अर्ब २५ करोड ७८ लाख १५ हजार रुपैयाँ रहेको छ । त्यस्तै, नबिल बैंकको ५ अर्ब १६ करोड ९१ लाख ४८ हजार रुपैयाँ र ग्लोबल आइएमई बैंकको ४ अर्ब ५८ करोड १० लाख ६४ हजार रुपैयाँ वितरणयोग्य नाफा रहेको छ । सिद्धार्थ बैंकको वितरणयोग्य नाफा ३ अर्ब ८६ करोड ८२ लाख ३० हजार रुपैयाँ रहेको छ भने सानिमा बैंकको २ अर्ब ८३ करोड १७ लाख ७६ हजार रुपैयाँ रहेको छ । नेपाल बैंकको वितरणयोग्य नाफा २ अर्ब ३२ करोड ७९ लाख ६० हजार रुपैयाँ पुगेको छ । स्ट्यान्डर्ड चार्टर्ड बैंकको वितरणयोग्य नाफा १ अर्ब ९१ करोड १५ लाख ९२ हजार रुपैयाँ रहेको छ।  त्यस्तै, प्राइम बैंकको १ अर्ब ९० करोड ७४ लाख १२ हजार रुपैयाँ र लक्ष्मी सनराइज बैंकको १ अर्ब ८१ करोड ८९ लाख ४७ हजार रुपैयाँ वितरणयोग्य नाफा रहेको छ । एनएमबी बैंकको वितरणयोग्य नाफा १ अर्ब ७५ करोड ९ लाख ४१ हजार रुपैयाँ रहेको छ भने कृषि विकास बैंकको १ अर्ब २६ करोड २१ लाख ८६ हजार रुपैयाँ रहेको छ । नेपाल एसबीआई बैंकको वितरणयोग्य नाफा १ अर्ब २५ करोड १६ लाख ३९ हजार रुपैयाँ पुगेको छ । राष्ट्रिय वाणिज्य बैंकको वितरणयोग्य नाफा १ अर्ब ७ करोड ६९ लाख ५७ हजार रुपैयाँ रहेको छ।  माछापुच्छ्रे बैंकको ९८ करोड १९ लाख ६१ हजार रुपैयाँ, कुमारी बैंकको ७९ करोड १६ लाख ६१ हजार रुपैयाँ र सिटिजन्स बैंकको ५२ करोड ३१ लाख १ हजार रुपैयाँ वितरणयोग्य नाफा रहेको छ । बैंकहरूको औसत लाभांश क्षमता १३.४२ प्रतिशत नाफामा सुधार भएसँगै वाणिज्य बैंकहरूको औसत लाभांश क्षमता गत आर्थिक वर्ष २०८२/८३ मा १३.४२ प्रतिशत पुगेको छ । तर, एनआईसी एसिया बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी), हिमालयन बैंक र प्रभु बैंक भने लाभांश वितरण गर्ने अवस्थामा छैनन् । गत आर्थिक वर्षमा सबैभन्दा बढी लाभांश वितरण गर्ने क्षमता एभरेष्ट बैंकको रहेको छ। बैंकको लाभांश क्षमता ३८.३२ प्रतिशत रहेको छ । त्यस्तै, सिद्धार्थ बैंकको लाभांश क्षमता २६.१५ प्रतिशत रहेको छ भने सानिमा बैंकको २०.८५ प्रतिशत रहेको छ ।  नबिल बैंकको लाभांश क्षमता १९.१० प्रतिशत रहेको छ भने स्ट्यान्डर्ड चार्टर्ड बैंकको १९.०४ प्रतिशत रहेको छ । नेपाल बैंकको लाभांश क्षमता १५.८४ प्रतिशत रहेको छ ।  त्यसैगरी, ग्लोबल आइएमई बैंकको १२.०२ प्रतिशत र नेपाल एसबीआई बैंकको ११.०४ प्रतिशत लाभांश क्षमता रहेको छ । प्राइम बैंकको लाभांश क्षमता ९.१० प्रतिशत रहेको छ भने एनएमबी बैंकको ९.०८ प्रतिशत रहेको छ । यस्तै, माछापुच्छ्रे बैंकको ७.५१ प्रतिशत, लक्ष्मी सनराइज बैंकको ६.७९ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको ६.८९ प्रतिशत र कृषि विकास बैंकको ६.५४ प्रतिशत लाभांश क्षमता रहेको छ । त्यसैगरी, सिटिजन्स बैंकको लाभांश क्षमता ३.३७ प्रतिशत रहेको छ भने कुमारी बैंकको ३.०२ प्रतिशत रहेको छ ।     

भन्सार जाँचबिनै ल्याइएका ८ कन्टेनर मुस्ताङमा पक्राउ

काठमाडौं । प्रहरीले भन्सार जाँचबिनै सिल लगाएर ल्याइएका आठ वटा कन्टेनर मुस्ताङबाट नियन्त्रणमा लिएको छ । प्रहरीले कन्टेनरसहित आठ जना चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय हरिहरभवन, ललितपुर पठाएको छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङबाट शनिबार दिउँसो करिब १२ बजे खटिएको टोलीले अवैध वस्तु ओसारपसार भइरहेको सूचनाका आधारमा जोमसोमस्थित पर्यटक चेकपोस्टमा सवारीसाधन जाँच गरेको थियो । जाँचका क्रममा विभिन्न कन्टेनरका कागजपत्र परीक्षण तथा चालकसँग सोधपुछ गर्दा ती सवारीसाधन भन्सार यार्डमा चेकजाँच नगरी सिधै सिल लगाएर ल्याइएको पाइएको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानका क्रममा कन्टेनरभित्र अवैध वस्तु हुन सक्ने आशंका भएपछि प्रहरीले आठ वटै कन्टेनर र चालकलाई नियन्त्रणमा लिएको हो । कन्टेनरभित्र के–कस्ता वस्तु रहेका छन् भन्ने विषयमा राजस्व अनुसन्धान कार्यालयले थप जाँच तथा अनुसन्धान गर्ने प्रहरीले जनाएको छ । नियन्त्रणमा लिइएका कन्टेनर र चालकहरूमा ना.६ ख ४७४१ नम्बरका कन्टेनर चालक धादिङ धार्के गाउँपालिका–२ का ३० वर्षीय ईश्वर थापा, को.१ ख ५६९६ नम्बरका चालक दोलखा शैलुङ गाउँपालिका–३ का ४३ वर्षीय रत्नबहादुर तामाङ र बा.प्र.०१–००६ ख २२४८ नम्बरका चालक दोलखा भीमेश्वर नगरपालिका–८ का २९ वर्षीय उद्दव बस्नेत रहेका छन् । त्यस्तै, बा.प्र.०१–००६ ख ६२७३ नम्बरका चालक पाल्पा तानसेन नगरपालिका–८ का ३६ वर्षीय धर्मबहादुर नेपाली, ना.३ ख ७१६० नम्बरका चालक सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–२ का ३५ वर्षीय कर्म शेर्पा, ना.६ ख २०२२ नम्बरका चालक सिन्धुपाल्चोक जुगल गाउँपालिका–५ का ३३ वर्षीय निरोज नेपाली, बा.प्र.१००६ ख ६६११ नम्बरका चालक काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका–८ का २३ वर्षीय विशाल तामाङ र बा.प्र.०१–००५ ख २२४५ नम्बरका चालक सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिकाका ३६ वर्षीय गोपाल श्रेष्ठ रहेका छन् ।

वैदेशिक रोजगारीमा जानेलाई ३० लाख बढी ठगी गर्ने तीन जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ललितपुर, ललितपुर महानगरपालिका-१ बस्ने सिराहा घर भएका ४३ वर्षीय हर्ष नारायण चौधरी, काठमाडौं महानगरपालिका-३२ बस्ने म्याग्दी घर भएका ४१ वर्षीय पदम बहादुर खड्का क्षेत्री र काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-४ बस्ने सप्तरी घर भएका ४८ वर्षीय शिव नारायण चौधरी रहेका छन् ।  पक्राउ मध्ये हर्षले इजरायल पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख रूपैयाँ, पदमले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख १० हजार रूपैयाँ र शिवले अजरबैजान पठाइदिन्छु भन्दै ६ जना पीडितहरूबाट २२ लाख ४६ हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले हर्षलाई काठमाडौं महानगरपालिका- १६ बाट र पदमलाई काठमाडौं महानगरपालिका-३२ बाट बिहीबार तथा शिवलाई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-४ बाट शुक्रबार पक्राउ गरेको हो ।  उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

बैंकिङ कसुर मुद्दामा फरार अधिकारी पक्राउ

काठमाडौं । बैंकिङ कसुर मुद्दामा रहेका फरार एक जना पक्राउ परेका छन् । कागेश्वरी मनोहरा नगरपालिका-९ काँडाघारी ४० वर्षीय तुलप्रसाद अधिकारी पक्राउ परेका हुन् । जिल्ला अदालत काठमाडौंको २०८० माघ २ गतेको फैसलाले उक्त मुद्दामा २ दिन कैद सजाय र १४ लाख रूपैयाँ जरिवाना ठहर भएको छ । फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले कागेश्वरी मनोहरा नगरपालिका- ९ काँडाघारीबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा पेश गरिएको प्रहरीले जनाएको छ ।  

लामबद्ध नागरिक भन्छन् - दिनभर कुर्दा पनि ग्यास पाएनौँ (फोटो फिचर)

काठमाडौं । खाना पकाउने एलपी ग्यासको अभाव चर्किएपछि नेपाल आयल निगमले काठमाडौंका पाँच स्थानबाट ग्यास बिक्री वितरण सुरु गरेको छ । नेपाल आयल निगमले जिल्ला प्रशासन कार्यालय काठमाडौंसँगको समन्वयमा शनिबारदेखि पाँच स्थानमा ग्यास उद्योग तथा डिपोमार्फत ग्यास वितरण थालेको हो । निगमका अनुसार टेकुस्थित नेपाल आयल निगम परिसर, चाबहिलस्थित यातायात कार्यालय परिसर, कीर्तिपुर र वसुन्धरास्थित राधास्वामी परिसर तथा बबरमहलस्थित पुरानो जिल्ला प्रशासन कार्यालय परिसरबाट ग्यास वितरण भइरहेको छ । बिक्री केन्द्रअनुसार फरक–फरक ब्रान्डका ग्यास उपलब्ध गराइएको निगमले जनाएको छ । निगमले तोकेका स्थानमा ग्यास लिन बिहानैदेखि सर्वसाधारणको भीड लागेको छ । नेपाल आयल निगमका कर्मचारी भीमप्रसाद पौडेलका अनुसार बबरमहल वितरण केन्द्रमा मात्रै ग्यास लिन एक हजारभन्दा बढी उपभोक्ता पुगेका छन् । बिहानैदेखि ठूलो संख्यामा उपभोक्ता लाइनमा रहेको उनले जानकारी दिए । निगमले बिहान १० बजेदेखि साँझ ६ बजेसम्म ग्यास वितरण गर्ने योजना बनाएको छ । बबरमहल केन्द्रबाट काठमाडौंका जुनसुकै क्षेत्रका उपभोक्ताले ग्यास लिन सक्ने व्यवस्था गरिएको छ । बबरमहल केन्द्रमा करिब १० प्रकारका ग्यास सिलिन्डर उपलब्ध रहेको पौडेलले जानकारी दिए । निगमले अहिलेको ग्यास संकटका कारण ग्यास डिपोसँगको समन्वयमा ग्यास वितरण गर्न सहजीकरण गरेको जनाएको छ । ग्यासको कालोबजारी तथा अनावश्यक भण्डारणविरुद्ध अनुगमन तीव्र पारिएको निगमले जनाएको छ । ग्यास लुकाउने, अनावश्यक रूपमा भण्डारण गर्ने तथा कालोबजारी गर्नेहरूलाई कानुनी दायरामा ल्याउने गरी अनुगमन भइरहेको पौडेलले बताए । निगमले विभिन्न स्थानबाट ग्यास वितरण गरे पनि सर्वसाधारणले भने सहज रूपमा ग्यास पाउन नसकेको गुनासो गरेका छन् । बबरमहलमा ग्यास लिन बसेका सेवाग्राहीले लामो समयसम्म लाइनमा बस्दा पनि ग्यास नपाएको गुनासो गरेका छन् । लाइनमा बसेर ग्यास लिने पालो आए पनि वितरण गर्ने ठाउँमा नै ग्यास नहुँदा कुरेर बस्न बाध्य भएको उनीहरूको भनाइ छ । यद्यपि, ग्यास आउने आशामा आफूहरू दिनभर कुरेर बसेको उपभोक्ताले बताएका छन् । निगमले अत्यावश्यक परेका उपभोक्तालाई मात्र तोकिएको वितरण केन्द्र र समयमा उपस्थित भएर ग्यास खरिद गर्न आग्रह गरेको छ । ग्यास लिन आउने उपभोक्ताले अनिवार्य रूपमा परिचयपत्र साथमा ल्याउनुपर्नेछ ।

निर्जीवन बीमाको नाफा ३९.२१ प्रतिशत घट्यो, प्रभु बाहेक सबैको घट्यो

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरूको नाफामा उल्लेख्य गिरावट आएको छ । गत भदौमा भएको जेनजी आन्दोलन तथा बाढीपहिरोका कारण आर्थिक वर्ष २०८२/८३ मा निर्जीवन बीमा कम्पनीहरूको खुद नाफा ३९.२१ प्रतिशत अर्थात् १ अर्ब ८० करोड ६ लाख रुपैयाँले घटेको हो । गत आर्थिक वर्षमा १४ वटा निर्जीवन बीमा कम्पनीहरूले कुल २ अर्ब ७९ करोड १५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा यी कम्पनीहरूले ४ अर्ब ५९ करोड २२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका थिए । गत वर्ष प्रभु इन्स्योरेन्सबाहेक अन्य सबै निर्जीवन बीमा कम्पनीहरूको नाफामा गिरावट आएको छ । प्रभु इन्स्योरेन्सको नाफा १९.७१ प्रतिशतले बढेर २४ करोड ६४ लाख ४३ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष कम्पनीले २० करोड ५८ लाख ६० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । राष्ट्रिय बीमा कम्पनीको नाफा १९.४५ प्रतिशतले घटेर ३४ करोड ४४ लाख ३७ हजार रुपैयाँमा सीमित भएको छ । त्यस्तै, सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) को नाफा ३२.७४ प्रतिशतले घटेर ३७ करोड ५६ लाख ४६ हजार रुपैयाँ नाफा गरेको छ ।  हिमालयन एभरेष्ट इन्स्योरेन्सको नाफा ३६.५२ प्रतिशतले घटेर ३३ करोड ७८ लाख ८५ हजार रुपैयाँमा झरेको छ भने नेको इन्स्योरेन्सको नाफा ५०.१९ प्रतिशतले घटेर २८ करोड ८३ लाख २१ हजार रुपैयाँमा सीमित भएको छ । त्यसैगरी, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नाफा ५६.७५ प्रतिशतले घटेर ३२ करोड ६८ लाख ५२ हजार रुपैयाँ नाफा गरेको छ । नेपाल इन्स्योरेन्सको नाफा ५९.६९ प्रतिशतले घटेर १२ करोड ७५ लाख ५० हजार रुपैयाँमा झरेको छ भने सानिमा जिआईसी इन्स्योरेन्सको नाफा ६१.३८ प्रतिशतले घटेर १३ करोड ३९ हजार रुपैयाँमा सीमित भएको छ ।  एनएलजी इन्स्योरेन्सको नाफा ६२.३० प्रतिशतले घटेर ५ करोड ७८ लाख १२ हजार रुपैयाँ छ भने यूनाइटेड अजोड इन्स्योरेन्सको नाफा ६४.५५ प्रतिशतले घटेर ६ करोड ३० लाख ९९ हजार रुपैयाँमा झरेको छ । शिखर इन्स्योरेन्सको नाफा ७१.२१ प्रतिशतले घटेर १३ करोड ८९ हजार रुपैयाँमा सीमित भएको छ भने आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको नाफा ९८.८९ प्रतिशतले घटेर ४० लाख ३८ हजार रुपैयाँमा झरेको छ । अघिल्लो आर्थिक वर्षमा ११ करोड ७६ लाख ४७ हजार रुपैयाँ नोक्सानीमा रहेको दि ओरियन्टल इन्स्योरेन्सले भने गत वर्ष ४९ करोड ४ लाख ५३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यता, नेशनल इन्स्योरेन्स गत आर्थिक वर्षमा १३ करोड १० लाख ७५ हजार रुपैयाँ नोक्सानीमा गएको छ ।