विकासन्युज

धनुषाधाम विद्युत् चोरीमुक्त नगरपालिका घोषणा

काठमाडौं । धनुषा जिल्लास्थित धनुषाधामलाई विद्युत् चोरीमुक्त नगरपालिका घोषणा गरिएको छ । धनुषाधाम नगरपालिकाको आयोजना र नेपाल विद्युत प्राधिकरणको संयोजकत्वमा नगरपालिका विद्युत् चोरीमुक्त क्षेत्र घोषणा गरिएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र नगरपालिका प्रमुख बालेश्वर मण्डलले शनिबार धनुषाधाममा आयोजित कार्यक्रममा नगरपालिकालाई विद्युत् चोरीमुक्त क्षेत्र घोषणा गरेका हुन् । कार्यक्रममा धनुषाधाम नगरपालिका क्षेत्रमा बसोबास गर्ने पिछडिएका तथा आर्थिक रुपमा विपन्न घरपरिवारलाई निःशुल्क विद्युत् मिटर वितरणसमेत गरिएको छ । उर्जामापक यन्त्र (मिटर)मार्फत बाहेक विद्युतको अन्य लाइनबाट प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा विद्युतको लाइन तानेमा वा जडान गर्ने (हुकिङ), मिटरलाई छली विद्युत् प्रयोग गर्ने, मिटर तोडी, नासी, बिगारी वा अन्य कुनै किसिमले क्षति पुर्‍याउने वा सामान्य परिचालन हुन नसक्ने गरी असक्षम बनाउलेलगायतका कार्य गरेमा विद्युत् चोरीको कसूर गरेको मानिने कानूनी व्यवस्था छ । चोरीमार्फत अनाधिकृत र असुरक्षित रुपमा विद्युत्को प्रयोग गर्दा हरेक वर्ष धनजनको क्षति हुनेगरेको छ । प्राधिकरणले विद्युत्को पहुँच विस्तार र अनाधिकृत रुपमा हुने विद्युत् प्रयोगलाई रोक्न मिटर नै किन्न नसक्ने पिछडिएका तथा आर्थिक रूपमा विपन्न घरपरिवारलाई निःशुल्क विद्युत् मिटर वितरण गर्दै आएको छ । मुलुकभर रहेका आफ्ना वितरण केन्द्रहरुमार्फत प्राधिकरणले विपन्न वर्गलाई निः शुल्क मिटर उपलब्ध गराएर विद्युत जडान गरिदिँदै आएको छ । विपन्न वर्गले प्राधिकरणको मापदण्डअनुसारको ५-३० एम्पिएर क्षमताको बक्ससहितको सिंगल फेज इनर्जी मिटर, एमसीबी बक्स निःशुल्क पाउने छन् । प्राधिकरणले मिटर जडानका लागि सेवा शुल्क लिंदैन । धनुषाधामले आफ्नै प्रयास र पहलमा विद्युत् चोरीमुक्त नगरपालिका घोषणा गरी ठूलो चुनौती लिएको उल्लेख गर्दै कार्यक्रममा कार्यकारी निर्देशक घिसिङले विद्युत चोरी सामाजिक अवराध भएकाले यसको नियन्त्रणका लागि प्राधिकरणकातर्फ गर्नु पर्ने प्राविधिक कामहरुलाई उच्च प्राथमिकतामा राखी अगाडि बढाइएको बताए । उनले कृषि र औद्योगिक क्षेत्र विस्तारको प्रचुर सम्भावना रहेको मधेश प्रदेशका जिल्लाहरुमा विद्युत् आपूर्तिलाई पर्याप्त, भरपर्दो र गुणस्तरीय बनाउन प्रसारण तथा वितरणतर्फका पूर्वाधार संरचना विस्तार र सुदृढीकरण लागि करिब ४० अर्ब रुपैयाँ लगानीका विभिन्न आयोजनाहरुको काम भइरहेको उल्लेख गरे । सिँचाइ र ग्राहस्थतर्फको विद्युतीकरणमा धेरै काम भएको उल्लेख गर्दै नगरपालिका प्रमुख मण्डलले खाना पकाउने ग्याँसलाई विस्थापित गर्न विद्युतीय चुलोमा अनुदानको व्यवस्था गरिनु पर्ने बताए। कार्यक्रममा विद्युत् चोरी सामाजिक अपराध भएको सन्देश दिने नाटक प्रस्तुत गरिएको थियो । मधेश प्रदेशमा चालू आर्थिक वर्ष २०८१/८२को पुससम्ममा वितरणतर्फको विद्युत् चुहावट १४.२० प्रतिशत छ । चालू आवमा मधेश प्रदेशको विद्युत् चुहावट ११.९ प्रतिशतमा झार्ने लक्ष्य तय गरिएको छ । प्राधिकरणले गैह्रप्राविधिक चुहावट नियन्त्रणका लागि चोरी नियन्त्रण,महशुल बक्यौता असुलीमा कडाइ, मिटर वाइपास तथा हुकिङ गरी चोरी गर्नेलाई कडा कारवाही गर्र्नेे, बन्द मिटर फेर्ने, मिटर लिन प्रोत्साहित गर्ने, मिटर रिडिङ नभएको (स्टक युनिट) ग्राहकको पहिचान गरी रिडिङ गर्ने काम अभियानकै रुपमा चलाइरहेको छ । प्राधिकरणले आफ्ना हरेक वितरण केन्द्रहरुलाई प्रत्येक वर्ष चुहावट नियन्त्रणको लक्ष्य दिई सोहीअनुसार क्रियाकलापहरु सञ्चालन गरिरहेको छ । प्राधिकरणले गत आवमा प्रणालीको विद्युत चुहावट करिब १२ दशमलव ७३ प्रतिशतमा झारेको थियो । ८ वर्ष अघिसम्म प्रणालीबाट २५ दशमलव ७८ प्रतिशत विद्युत चुहावट भइरहेको थियो ।

बोनस सूचीकरणको ढिलाइले मर्कामा लगानीकर्ता, कम्पनीमाथि दोष थुपार्दै नेप्से

काठमाडौं । यो वर्ष लाभांश घोषणा गर्ने पहिलो कम्पनी हो सुपरमाई हाइड्रोपावर । पुँजी बजारमा सूचीकृत कम्पनीहरूमध्ये सबैभन्दा पहिला लाभांश घोषणा गरेको यस कम्पनीको गत भदौ १७ गते बसेको सञ्चालक समिति बैठकले १२.६३ प्रतिशत लाभांश प्रस्ताव गरेको थियो । कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट चुक्ता पुँजी ५० करोड रुपैयाँको ७ प्रतिशतका दरले ३ करोड ५० लाख रुपैयाँ बोनस सेयर र कर प्रयोजनसहित ५.६३ प्रतिशतका दरले २ करोड ८१ लाख ५० हजार रुपैयाँ नगद गरी कुल १२.६३ प्रतिशत लाभांश प्रस्ताव गरेको थियो । मंसिर २८ गते सम्पन्न १०औं वार्षिक साधारण सभाले उक्त लाभांश पारित गर्‍यो । तर, घोषणा भएको ६ महिना हुँदासम्म पनि सेयरधनीहरूले लाभांश पाएका छैनन् । यस्तै, एभरेष्ट बैंकको भदौ २९ गते बसेको सञ्चालक समिति बैठकले १५.५३ प्रतिशत लाभांश प्रस्ताव गर्‍यो । बैंकले गत आव २०८०/८१ को नाफाबाट चुक्ता पुँजी ११ अर्ब ७६ करोड ७९ लाख ३ हजार रुपैयाँको १० प्रतिशत बोनस सेयर र ५.५३ प्रतिशत नगद गरी कुल १५.५३ प्रतिशत लाभांश प्रस्ताव गर्‍यो । असोज २० गते सम्पन्न ३०औँ वार्षिक साधारण सभाले उक्त लाभांश पारित गर्‍यो । झण्डै ३ महिनापछि गत मंसिर ४ गते मात्रै बैंकको बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भयो । यस्तै, भगवती हाइड्रोपावर डेभलपमेन्टको गत भदौ २२ गते बसेको सञ्चालक समिति बैठकले चुक्ता पुँजी ५७ करोड २० लाख ६४ हजार रुपैयाँको ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित १०.७३ प्रतिशत नगद गरी कुल १४.७३ प्रतिशत लाभांश प्रस्ताव गर्‍यो । असोज १६ गते सम्पन्न २४औं वार्षिक साधारण सभाले उक्त लाभांश पारित गर्‍यो । ३ महिनापछि मात्रै कम्पनीको बोनस सेयर गत मंसिर २७ गते नेप्सेमा सूचीकृत भयो । यी माथिका केही उदाहरणमात्रै हुन् । लाभांश पारित भएको लामो समयसम्म पनि पुँजी बजारमा सम्बन्धित कम्पनीहरूको बोनस सेयर सूचीकृत नहुँदा सेयरधनीहरू मर्कामा परेका छन् । यसवर्ष ६५ कम्पनीले सेयरधनीहरूलाई बोनस सेयर प्रस्ताव गरेका छन् । तर, १७ वटा कम्पनीको मात्रै बोनस सेयर नेप्सेमा सूचीकृत भएको देखिन्छ । लगानीकर्ता राजु पौडेल लामो समयसम्म पनि बोनस सेयर नेप्सेमा सूचीकृत नहुँदा लगानीकर्ताहरू मर्कामा परेको बताउँछन् । उनका अनुसार कुनै कम्पनीको बोनस सेयर सूचीकरणमा वर्षाैं समय लागेका छ । निश्चित अवधिभित्र बोनस सेयर सूचीकरण गरिसक्नुपर्ने कानुनी व्यवस्था गर्न उनले माग गरे । ‘कुनै कम्पनीको छिटो हुन्छ, कुनै कम्पनीको ढिलो सूचीकरण हुन्छ । कुनै कम्पनीको त एक वर्षसम्म पनि बोनस सूचीकरण हुँदैन । बजार बढेको समयमा बोनस सेयर आयो भने बेच्न पाउँथ्यो । लगानीकर्ताले त्यो अवसर गुमाइरहेका छन् । बोनस सेयर आउँदा बजार धेरै उतारचढाव भइसकेको हुन्छ । सेयर बजार माथि भएको बेला बोनस बिक्री गर्न नि मिल्दैन,’ पौडेलले भने, ‘त्यसैले बोनस सूचीकृतमा पनि एकरूपता ल्याउनुपर्छ । निश्चित समयभित्र बोनस सेयर सूचीकृत गरिसक्नुपर्ने व्यवस्था हुनुपर्छ ।’ वार्षिक साधारण सभा सम्पन्न भएको निश्चित अवधिभित्र बोनस सूचीकरण गरिसक्नुपर्ने गरी कानुनी व्यवस्था मिलाउन पौडेलले सरोकारवाला पक्षसँग माग गरे । नेप्सेका सहायक महाप्रबन्धक निरञ्जन फुयाल नेप्सेमा आवेदन दिएको ७ दिनभित्र सूचीकरण गर्ने गरेको बताउँछन् । कम्पनीले निर्णय गरेको वा साधारण सभाले पारित गरेको यति समयभित्र बोनस सूचीकरण गरिसक्नुपर्ने भनेर कुनै व्यवस्था नरहेको उनको भनाइ छ । ‘बोनस सूचीकरणका लागि नेप्सेमा आवेदन दिएको ७ दिनभित्र जवाफ दिनुपर्छ । कम्पनीले निर्णय गरेको वा साधारण सभाले पारित गरेको निश्चित अवधिभित्र बोनस सूचीकरण गर्नुपर्छ भनेर कुनै व्यवस्था छैन । साधारण सभाले पारित गरेपछि कहिले कम्पनी रजिष्ट्रारको कार्यालय, कहिले कुनै नियामकको स्वीकृति चाहिन्छ । यो चक्करमा जाँदा बोनस सूचीकरणमा ढिलाइ हुने गरेको देखिन्छ, नियामकले कुनै मुद्दामा घुमाउने गरेको छ,’ उनले भने । उनका अनुसार साधारण सभाले बोनस पारित गरेपछि नेपाल धितोपत्र बोर्ड (सेबोन)मा दर्ता गर्नुपर्छ । त्यसपछि नेप्सेमा सूचीकरण गरेर मात्रै सीडीएस एण्ड क्लियरिङले खातामा जम्मा गर्ने गरेको उनले बताए । ‘सेबोनले दर्ता भएको जानकारी गराएपछि मात्रै नेप्सेमा कारोबारयोग्य हुन्छ, ऐनमा नै उल्लेख भएकाले २०६३ सालदेखि सेबोनमा दर्ता नभई कुनै पनि सेयर नेप्सेमा आउँदैन,’ उनले भने, ‘सेबोनमा गएको कुनै कम्पनी ५/७ दिन र कुनै कम्पनीले ५/७ महिना समय लगाएको देखिन्छ, कहाँ, के, कसरी अड्किन्छ ? प्राविधिक विषय थाहा हुँदैन ।’ उनका अनुसार बोनस सेयर सूचीकरणमा सम्बन्धित कम्पनी जिम्मेवार हुनुपर्छ । कम्पनी ऐन, २०६३ को दफा १८२ मा लाभांश दिने निर्णय भएको ४५ दिनभित्र सेयरधनीहरूलाई लाभांश वितरण गरिसक्नु पर्ने व्यवस्था छ । साथै सोही दफाको उपदफा ३ मा यदि ४५ दिनभित्र लाभांश वितरण नगरेमा तोकिए बमोजिमको ब्याज थप गरी लाभांश वितरण गर्नुपर्नेछ । चालु आव ०८१/८२ को साउन १ गतेदेखि हालसम्म ३२ कम्पनीको बोनस सेयर सेयर बजारमा सूचीकृत भएको छ । नेप्सेका अनुसार ३२ वटा कम्पनीको ७ अर्ब ६० करोड ७६ लाख रुपैयाँ बराबरको ७ करोड ६० लाख ७६ हजार कित्ता बोनस सेयर सूचीकृत भएको हो। चालु आवमा बोनस सूचीकृत भएका कम्पनीहरूमा केही कम्पनीले गत वर्ष लाभांश घोषणा गरेका हुन् । नेप्सेका अनुसार नेशनल लघुवित्त वित्तीय संस्थाको १४.२५ प्रतिशत बापत १६ लाख ६० हजार ८६८ कित्ता, रुरु जलविद्युत परियोजनाको १५ प्रतिशत बापत ७ लाख ३९ हजार ९८५ कित्ता, ओरियन्टल होटल्सको ५ प्रतिशत बापत ५ लाख ६४ हजार ४५ कित्ता, सगरमाथा जलविद्युत कम्पनीको ४.७५ प्रतिशतबापत ५ लाख ३२ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । यस्तै, साहस ऊर्जाको ८ प्रतिशत बोनसबापत २८ लाख कित्ता, सानिमा रिलायन्स लाइफको १८.३८ प्रतिशत बापतको ७६ लाख ९० हजार ६५२ कित्ता, सुपर मादी हाइड्रोपावरको ५ प्रतिशत बोनस बापत १० लाख ५० हजार कित्ता, सिटिजन्स बैंकको ४ प्रतिशत बोनस बापत ५६ लाख ८० हजार ३८९ कित्ता, हाथवे इन्भेष्टमेन्टको १० प्रतिशत बोनस बापतको २५ लाख ७४ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत भएको नेप्सेले जनाएको छ । यस्तै, आशा लघुवित्तको १४.२५ प्रतिशत बोनस बापत ९ लाख १४ हजार ३०२ कित्ता, भगवती हाइड्रोपावर डेभलपमेन्टको ४ प्रतिशत बोनस बापत २ लाख २८ हजार ८२६ कित्ता, प्रभु महालक्ष्मी लाइफको १० प्रतिशत बोनस बापत ४२ लाख ९६ हजार कित्ता, स्वावलम्बन लघुवित्तको १४.२५ प्रतिशत बोनस बापत २० लाख ६६ हजार २५० कित्ता, अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्टको ३ प्रतिशत बोनस बापत ११ लाख २० हजार ७७८ कित्ता, गुराँस लघुवित्तको १४.२५ प्रतिशत बोनस बापत १ लाख ४४ हजार ४९५ कित्ता सेयर सूचीकृत भएको नेप्सेले जनाएको छ । नेप्सेका अनुसार सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको ११ प्रतिशत बोनस बापत १० लाख २४ हजार ९१९ कित्ता, अपि पावर कम्पनीको ५ प्रतिशत बोनस बापत २८ लाख ९३ हजार २९८ कित्ता, कामना सेवा विकास बैंकको ७ प्रतिशत बोनस बापत २२ लाख ९६ हजार ९१५ कित्ता, एभरेष्ट बैंकको १० प्रतिशत बोनस बापत १ करोड १७ लाख ६७ हजार ९०३ कित्ता, नेपाल ल्यूब आयलको २५ प्रतिशत बोनस बापत १ लाख २२ हजार ४० कित्ता सेयर सूचीकृत भएको छ । यस्तै, कर्पाेरेट डेभलपमेन्ट बैंकको ५ प्रतिशत बोनस बापत २ लाख ५० हजार कित्ता, समाज लघुवित्तको १४.२५ प्रतिशत बोनस बापत २८ हजार ५ सय कित्ता, नेशनल लाइफ इन्स्योरेन्सको ४ प्रतिशत बोनस बापत २० लाख ४ हजार ६६६ कित्ता, सुर्याेदय वोमी लघुवित्तको १४ प्रतिशत बोनस बापत १२ लाख ८२ हजार १०८ कित्ता, ग्रीन डेभलपमेन्ट बैंकको ३.८० प्रतिशत बोनस बापत १ लाख ९७ हजार २२० कित्ता, नागरिक लगानी कोषको १४ प्रतिशत बोनस बापत ७४ लाख ३९ हजार २५० कित्ता, नेपाल रिइन्स्योरेन्सको ४.७५ प्रतिशत बोनसबापत ६० लाख ८६ हजार ४३३ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो । यस्तै, सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको ११ प्रतिशत बोनसबापत ९ लाख २३ हजार ३५१ कित्ता, मैलुङ खोला जलविद्युत कम्पनीको २.२२ प्रतिशत बोनस बापत ८१ हजार ७६८ कित्ता, सन नेपाल लाइफ इन्स्योरेन्सको २३.८० प्रतिशत बोनस बापतको ७६ लाख १६ हजार कित्ता, आइएमई लाइफको इन्स्योरेन्सको २५ प्रतिशत बोनस बापत १ करोड कित्ता, प्रुभ इन्स्योरेन्सको ४.७५ प्रतिशत बापत ६ लाख ५३ हजार ६५८ कित्ता नेप्सेको तथ्याङ्कमा उल्लेख छ ।

‘तुवाचुङ मिनी ग्रेटवाल’ पर्यटकका रोजाइमा

खोटाङ । तुवाचुङ–जायजुममा निर्माण गरिएको पदमार्ग पर्यटकका लागि आकर्षणको केन्द्र बनेको छ । हलेसी तुवाचुङ नगरपालिका–७ मा रहेको किरात ऐतिहासिकस्थल तुवाचुङ जायजुङमा कङ्क्रिट प्रयोग नगरी चुनासुकीको पर्खाल निर्माण पदमार्ग सात सय ३० मिटर लामो छ ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको लगानीमा निर्माण सुरु गरिएको पदमार्गलाई हलेसी तुवाचुङ नगरपालिकाले ‘तुवाचुङ मिनी ग्रेटवाल’ नामकरण गरेको छ । किरात समुदायको सभ्यताको उद्गमस्थल मानिने तुवाचुङ–जायजङमा मिनी ग्रेटवाल नामको पदमार्ग निर्माण गरिएसँगै सुन्दर बन्दै गएको छ ।तुवाचुङ मिनी ग्रेटवालमा चुना र इँटाको धुलोसँगै फ्लाइ स्टोन जोडेर पर्खाल निर्माण गरिएको हलेसी तुवाचुङ नगरपालिकाका प्रवक्ता एवं वडा नं ७ महादेवस्थानका वडाध्यक्ष कमल गिरीले जानकारी दिए । ‘उकालो र उरालो भू-भागमा सोही सामग्री प्रयोग गरेर सिँढी निर्माण गरिएको छ । समथर स्थानमा घाँस पलाउने गरी ढुङ्गा र माटो मिलाइएको छ’, उनले भने, “पदमार्गमा दुई मिटर चौडाइको पर्खाल निर्माण गरिएको छ । किरात ऐतिहासिकस्थल तुवाचुङ-जायजुममा निर्माणाधीन पदमार्ग आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेको छ ।’ समुन्द्री सतहदेखि एक हजार आठ सय मिटर उचाइमा रहेको तुवाचुङ–जायजुम भौगोलिक हिसाबले अत्यन्तै आकर्षक छ । यहाँबाट सूर्योदय र सूर्यास्तको दृश्य देखिन्छ । आकाश खुलेका दिन उत्तरतिर पर्ने विश्वको सर्वोच्च शिखर सगरमाथाका साथै उच्च हिमाली शृङ्खलाहरु टलक्क चाँदी झैँ टल्किएको देखिन्छ । हिमाल, पहाड र तराईसम्मको दृश्य अवलोकन गर्न सकिने यस ऐतिहासिक एवं पर्यटकीय स्थलमा निर्माणाधीन मिनी ग्रेटवालले थप आकर्षक बनाएको हो । तयामा र खियामाले तान बुनेको यो ऐतिहासिक स्थलमा अहिले पनि दुई वटा तान बुनेको ढुङ्गाको दोखाम ९तान० प्रत्यक्ष रुपमा देख्न सकिन्छ । किरात मुन्दुमी मिथकअनुसार, तुवाचुङ–जायजुममा तयामा र खियामा (दिदीबहिनी)ले कपडा बुन्ने गर्दथे । उनीहरू कपडा सभ्यताका उद्यमी मानिन्छन् । तुवाचुङ–जायजुममा किरात आदिम पुर्खा रैछाकुले, तायामा र खियामाको पूर्णकदको प्रतिमा यसअघि नै स्थापना गरिएको छ । हिन्दू, बौद्ध र किरात धर्मावलम्बीको सङ्गमस्थल हलेसीभन्दा केही माथि पर्ने तुवाचुङ-जायजुममा मिनी ग्रेटवालसँगै, मञ्जुश्री गुफा जाने पदमार्ग, बसाहागुफा अगाडि माङ्खिम घर निर्माणलका लागि सङ्घीय सरकारको लगानीमा रु पाँच करोड ८२ लाखमा ठेक्का लागेको थियो । विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसी नजिकैपर्ने मञ्जुश्री पदमार्ग निर्माणसँगै तुवाचुङ मिनी ग्रेटवाल निर्माण भइसकेको छ । संयुक्त निर्माणको जिम्मा पाएको कर्णेल समृद्धि जेभीले हाल तुवाचुङ-जायजुम प्रवेशद्वारमा रु ६० लाख लगानीमा दुईतले (दुईपाङ्ग्रे सवारीसाधनलाई भूइँतलामा तथा चारपाङ्ग्रे सवारीसाधनलाई माथिल्लो तलामा राख्नेगरी) पार्किङस्थल निर्माण गरिरहेको छ । तुवाचुङ–जायजुम ऐतिहासिकस्थल भएकाले निर्माणाधीन तुवाचुङ मिनी ग्रेटवालमा सिमेन्टको कङ्क्रिट प्रयोग नगरिएको हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख विमला राईले जानकारी दिएका छन् । ‘ऐतिहासिकस्थललाई थप व्यवस्थित र आकर्षित बनाएर पर्यटक भित्र्याउने योजनासहित तुवाचुङ मिनी ग्रेटवालको अवधारणा अघि सारिएको हो’, उनले भने, ‘आगामी दिनमा तयामा र खियामाले तान बुन्दै गरेको स्थानलाई भौतिकीकरण गर्ने, तान बुन्दै गरेको प्रतिमा राख्ने, पर्यटकका लागि चिया तथा कफी खाने पार्क घर निर्माण गर्ने योजना नगरपालिकाको छ । क्रमशः उक्त क्षेत्रमा किरात समुदायको भान्छामा पाउने सबै खाद्यवस्तु उपलब्ध गराउने योजना छ ।’ तयामा र खियामाले तान बुन्दै गरेको प्रतिमा निर्माणका लागि रु ३० लाख तथा गार्डेन (बगैँचा)सहितको किरात सांस्कृतिक घर निर्माणका लागि रु २५ लाख बजेट नगरपालिकाले विनियोजन गरेको छ । प्रतिमा र सांस्कृतिक घरसमेत यसै वर्षभित्र निर्माण गरिने नगरप्रमुख राईले जानकारी दिएका छन् । मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–हलेसी सडकखण्डमा पर्ने तुवाचुङ–जायजुममा उँधौली र उँभौलीका अवसरमा तीन चुल्हाको पूजा गर्दै बृहत् साकेला सिली प्रदर्शन गर्ने गरिएको छ । तुवाचुङ–जायजुममा नेपालका सबै जिल्ला तथा छिमेकी देश सिक्किम, दार्जिलिङ, भुटानलगायत किरात समुदाय आउने गरेका छन् । सरकारले निर्धारण गरेको एक सय वटा गन्तव्यअन्तर्गत मन्दुम ट्रेल (पदमार्ग)मा पर्ने तुवाचुङ–जायजुममा किराती सभ्यताको अध्ययन तथा अवलोकन गर्न आउनेको सङ्ख्या पनि बढ्दै गएको छ । बाह्रै महिना आन्तरिक तथा बाह्य पर्यटकको भीड लाग्ने तुवाचुङ–जायजुमको जमिन भिरालो हुँदा विशेष गरी साकेला नाँच्ने समयमा जोखिम हुने भएकाले ढुङ्गाको पर्खाल लगाएर पदमार्ग निर्माण गरिएको हो । रासस

माछापुच्छ्रे क्यापिटलको शैक्षिक सामाग्री वितरण कार्यक्रममा १०४ बालबालिकालाई सहयोग

काठमाडौं । माछापुच्छ्रे क्यापिटल लिमिटेड, लायन्स क्लब्स अफ काठमाडौं नमस्ते र राष्ट्रिय बीमा संस्थानको संयुक्त आयोजनामा नुवाकोट जिल्लाको तादी गा.पा. वडा नं. ६ चामोट स्थित श्री सीता धर्म आधारभूत विद्यालयका १०४ बालबालिकालाई शैक्षिक सामाग्री, स्कुल व्याग, ट्राक सुट, खेलकुद सामाग्री लगायतका आवश्यक सामाग्री वितरण गरिएको छ। कार्यक्रममा माछापुच्छ्रे क्यापिटल लिमिटेडका अध्यक्ष विश्वम्भर न्यौपाने र प्रमुख कार्यकारी अधिकृत उपेन्द्र मालाकार विशेष उपस्थित थिए । विद्यालयका वाल विकास कक्षाबाट कक्षा ८ सम्मका विद्यार्थीहरूले यस अवसरमा शैक्षिक सामाग्री प्राप्त गरे । माछापुच्छ्रे क्यापिटल लिमिटेडले आफ्नो पाँचौँ वार्षिकोत्सवको अवसरमा माघ महिनाभर रक्तदान, वित्तीय साक्षरता, घरदैलो कार्यक्रम, वृद्धाश्रम तथा अन्य संस्थाहरुलाई सहयोग, र आफ्ना सेवामा छुट लगायतका विभिन्न कार्यक्रमहरूको आयोजना गरी भव्यताका साथ मनाइरहेको छ। माछापुच्छ्रे क्यापिटल लिमिटेड माछापुच्छ्रे बैंक लिमिटेडको सहायक कम्पनी हो र यसले नेपाल धितोपत्र बोर्ड मार्फत धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन, संस्थागत परामर्श सेवा, सामूहिक लगानी कोष लगायतका सेवाहरू प्रदान गर्दै आएको छ ।

आईएमई लाइफ इन्स्योरेन्सले ३ विधामा जित्यो इमर्जिङ एसिया अवार्ड

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स ३ विधामा इमर्जिङ एसिया अवार्ड जित्न सफल भएको छ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पाँचौं संस्करणको तीन विधामा ‘इमर्जिङ एसिया अवार्ड’ जितेको हो । कम्पनीले सर्वश्रेष्ठ जीवन बीमा अवार्ड, बीमा विस्तारमा उत्कृष्ट रणनीति अवार्ड र बीमा नेतृत्वमा महिला गरी तीन विधाको अवार्ड जितेको छ । यी प्रतिष्ठित अवार्डमा स्वतन्त्र तथा विशिष्ट निर्णायकले निर्णय गरेको थियो । यी पुरस्कारले आईएमई लाइफ इन्स्योरेन्सको ग्राहक-केन्द्रित सेवाहरू, नवप्रवर्तनकारी रणनीतिहरू र सहभागितामूलक नेतृत्वको कदर गरेको छ ।  नेपालभित्र बीमा सचेतना फैलाउने, आधुनिक प्रविधिमैत्री सेवा प्रदान गर्ने तथा महिलाहरूलाई बीमा नेतृत्वमा सशक्त बनाउने कम्पनीको उद्देश्यलाई पुरस्कारले थप प्रोत्साहित गरेको आईएमई लाइफ इन्स्योरेन्सले जनाएको छ । कार्यक्रममा नेपालबाट प्रतिनिधित्व गरी आईएमई लाइफका प्रमुख कार्यकारी अधिकृत पवनकुमार खड्का प्यानल डिस्कसनमा वक्ताका रुपमा सहभागी भएका थिए । उनीसँगै जिम विचर्डले आफ्नो २८ वर्षभन्दा बढी विश्वव्यापी अनुभव र बीमा उद्योग तथा चुनौती र सकारात्मक पक्षहरूमाथि प्रकाश पारेका थिए ।

सन नेपाल लाइफ इन्स्योरेन्स तीन अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले बैंककमा आयोजना भएको आईसीसी २०२४ एसिया इन्स्योरेन्स कार्यक्रममा संलग्न भएका बीमा कम्पनीहरुमध्येबाट उत्कृष्टताका आधारमा तीन प्रतिष्ठित विधामा अन्तर्राष्ट्रिय अवार्ड जित्न सफल भएको छ । कम्पनीले ‘उत्कृष्ट जोखिम व्यवस्थापन रणनीति’, ‘बीमा क्षेत्रमा महिला नेतृत्व’ तथा ‘उत्कृष्ट ग्राहकमैत्री जीवन बीमा सेवा’ विधामा उच्च सम्मान प्राप्त गर्दै आफ्नो व्यावसायिक उत्कृष्टता प्रमाणित गरेको छ । बैंककमा आयोजित विशेष कार्यक्रममा उक्त अवार्ड कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले ग्रहण गरेका थिए । यस प्रतिष्ठित उपलब्धिले कम्पनीको नवीन रणनीति, समावेशी नेतृत्व, र ग्राहक केन्द्रित सेवामा उच्चतम मानक स्थापित गरेको पुष्टि गर्दछ । यसले नेपालको बीमा क्षेत्रलाई अन्तर्राष्ट्रिय पहिचान दिलाउनुका साथै ग्राहकको विश्वासलाई अझ मजबुत बनाउने प्रेरणा प्रदान गर्नेछ । सन नेपाल लाइफले १३९ शाखा तथा उपशाखा कार्यालयमार्फत देशभर जीवन बीमा सेवा प्रदान गर्दै आफ्ना ग्राहकको वित्तीय सुरक्षामा निरन्तर समर्पित रहेको जनाएको छ।

भरतपुरका ६ स्थानमा ‘ट्राफिक लाइट’ राखिने

भरतपुर । भरतपुर महानगरपालिकाको मुख्य सहरी क्षेत्रका ६ स्थानमा ट्राफिक लाइट जडान गरिने भएको छ । पुलचोक–गोन्द्राङ छ लेन र बाइपास सडकका मुख्य छ स्थानमा लाइट जडान गर्न लागिएको हो । भरतपुर महानगरपालिकाले मुख्य स्थानमा ट्राफिक लाइट जडानका लागि डिभिजन सडक कार्यालयलाई आग्रह गर्दै आएको थियो । सडक विभागको सडक सुरक्षा तथा ट्राफिक शाखाले ट्राफिक लाइट जडान गर्ने गर्दछ । शाखाका प्रमुख राकेश महर्जनका अनुसार छ लेन सडकको पुलचोक, सहिदचोक, चौबिसकोठी, हाकीमचोक र केन्द्रीय बसपार्क चोकमा लाइट जडान गरिँदैछ । त्यस्तै बाइपास सडकको मालपोत चोकमा लाइट राखिनेछ । शाखाले अध्ययन गरी सरोकारवालासँग छलफल गरेर बोलपत्रको तयारीमा लागेको उनले जानकारी दिए । यसै आर्थिक वर्षभित्र काम सम्पन्न गर्ने गरी काम अघि बढेको उनको भनाइ छ । भरतपुरमा मात्र एक करोड ५० लाख हाराहारी खर्च लाग्ने अनुमान छ । शाखाले भरतपुर र वीरेन्द्र नगरमा सँगसँगै लाइट जडान गर्ने तयारी गरेको छ । यसअघि पोखरा र नेपालगञ्जका पाँच/पाँच स्थानमा लाइट जडान गरेको थियो । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले डिभिजन सडक र ट्राफिक प्रहरी कार्यालयसँग हुने छलफलमा मुख्य चोकमा ट्राफिक लाइट जडानका लागि पहल गर्दै आएको बताइन् । सडक विस्तारका क्रममा रहेकाले ढिला गरी काम हुन लागेको उनले बताइन् । सडक  विभागले लाइट राख्ने भएकाले महानगरले बजेट विनियोजन गर्न नपरेको उनको भनाइ छ । उनले भनिन्, ‘सडक विस्तार पछि लाइट राख्ने भनिएकाले केही समय ढिलो भएको हो । पहिलेदेखि नै लाइट राख्ने कुरा हुँदै आएको थियो ।’ यससँगै सवारी दुर्घटनामा कमी आउने अपेक्षा गरिएको छ । गाडी र पैदलयात्री दुवैलाई हुनेगरी लाइट जडान गरिँदै छ । काठमाडौंमा मात्र ४४ स्थानमा शाखाले लाइट राखेको छ ।

चीन-भारत जोड्ने कालीगण्डकी करिडोरमा २४ वटा मोटरेबल पुल, १२ वटा निर्माण सम्पन्न

काठमाडौं । चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरको बेनी-जोमसोम-कोरला सडकअन्तर्गत मुस्ताङका तीन वटा मोटर चल्ने पुल निर्माण भएको छ । बेनी-जोमसोम-कोरला सडक आयोजना कार्यालय, मुस्ताङले घरपझोङ गाउँपालिका-२ मार्फाखोला, बारागुङ मुक्तिक्षेत्र गाउँपालिका-६ छुसाङको नर्सिङखोला र लोघेकर दामोदरकुण्ड गाउँपालिकाको चराङखोलामा ३१ करोड ७८ लाख रुपैयाँको लागतमा मोटरेबल पुल निर्माण गरेको हो । आयोजनाका प्रमुख धु्रवकुमार झाले तीनवटै पुलको संरचना र पहुँचमार्ग निर्माण सकेर सवारीसाधन सञ्चालन हुन थालेका जानकारी दिए । उनका अनुसार मार्फाखोलामा १२० र छुसाङको नर्सिङखोलामा ९० मिटर लामो मोटरेबल पुल निर्माणका लागि ६ वर्षअघि हिमदुङ एण्ड थोकर इमोटल कन्ट्रक्सनले २१ करोड ६० लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । चराङखोलामा ८० मिटर लामो मोटरेबल पुल निर्माणका लागि विसं २०७५ असार २९ गते १० करोड १८ लाख रुपैयाँमा काष्ठमाण्डप निर्माण सेवाले ठेक्का लिएको थियो । पक्की पुल सञ्चालन भएपछि काठको मुडा राखिएको कच्ची र अस्थायी पुल तथा खोलाबाट जोखिम मोलेर सवारी वारपार गर्नुपर्ने समस्या हटेको लोघेकर–दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोम्साङ छोम्फेल विष्टले बताए । पर्वतको मालढुुङ्गादेखि म्याग्दी हुँदै मुुस्ताङस्थित चीनको सिमाना कोरला नाका जोड्ने २०२ किलोमिटर दूरीको बेनी-जोमसोम कोरला सडकअन्तर्गत २४ वटा मोटरेबल पुल निर्माण गर्नुपर्नेमा १९ वटाको ठेक्का लागेको, १२ वटा निर्माण सकिएको, २ वटा निर्माणाधीन, ५ वटाको ठेक्का तोडेको र ५ वटा पुल निर्माणको प्रक्रियामा छन् । विसं २०७३/७४ देखि सुुरु भएको योजनाको हालसम्म ८४ प्रतिशत भौतिक प्रगति भएको छ ।