६ जना व्यवसायीले सुरु गरेको करेन्टले तहल्का पिट्दै, ५ अर्ब कारोबार, १५ देशमा निर्यात
काठमाडौं । काठमाडौंका प्रवेश कुँवर करेन्ट चाउचाउका पारखी हुन् । उनले हप्तामा कम्तीमा पनि तीन दिन करेन्ट चाउचाउ खान्छन् । विशेषगरी उनको दिउँसोको खाजा नै करेन्ट चाउचाउ बनेको छ । पहिला एकैखाले चाउचाउ खाने प्रवेशको अहिले स्वाद फेरिएको छ । हाल उनी नेपालमै उत्पादन भएको पिरो चाउचाउ खान रुचाउँछन् । करेन्ट मसालेदार र पिरो चाउचाउ हो । प्रवेश भन्छन्, ‘स्वाद नै क्या मज्जा छ, मलाई हट एन्ड स्पाइसी खानेकुरा भनेपछि खुबै मनपर्छ, त्यसैले करेन्ट बेला–बेला खाऊँ–खाऊँ लागिरहन्छ ।’ यशोदा फुड्स हाल नेपाली बजारमा निकै प्रख्यात नाम हो । जसले देशभित्रै उपलब्ध पदार्थको प्रयोग गरी करेन्ट चाउचाउ उत्पादन गरिरहेको छ । यतिमात्रै हैन, यशोदा फुड्सले देशलाई अन्तर्राष्ट्रिय चाउचाउ बजारमा चिनाउन सफल पनि भएको छ । विदेशी मुद्रा भित्र्याएर देशको आर्थिक विकासमा समेत ठूलो सहयोग गरिरहेको छ । रुपन्देहीका ६ उद्योगीहरू चुन्नु पौडेल, मधु घिमिरे, कमल मालपानी, नरिश्वर पौडेल, ऋषिराम भण्डारी र श्रवण बेरिवालले चलाएको कम्पनीको मुख्य कार्यालय तिलोत्तमा नगरपालिकाको पत्थरडाँडामा छ । छोटो समयमै चर्चामा यशोदा फुड्सका अध्यक्ष चुन्नप्रसाद पौडेल हुन् । सन् २०१७ देखि चाउचाउको उत्पादन थालेको कम्पनीले छोटो अवधिमा नै बजारमा तहल्का पिटिरहेको छ । चाउचाउ बजारमा ‘हट एण्ड स्पाइसी’ को आफ्नो छुट्टै पहिचान बनाएको करेन्टले पछिल्लो समय नेपाली बजारमा मात्र हैन, अन्तर्राष्ट्रिय बजारमा समेत छल्याङ मारिरहेको छ । केही समयअघिसम्म पिरो र मसलादार स्वादका स्वदेशी चाउचाउ नहुँदा केही कोरियन र जापानी नुडल्सहरूले नेपालको बजार लिइरहेको थियो । तर, कम्पनीले सोही बजारलाई बुझेर स्वदेशमा नै सर्वसुलभ मूल्यमा स्वादिलो र पिरो चाउचाउ उत्पादन थालेपछि आयातित चाउचाउ विस्तापित भएका छन् । कारखाना थप्दै आफ्नो उत्पादनको माग र लोकप्रिय बढ्दै गएपछि एशोदा फुड्सले थप कारखाना थप्दैछ । हाल बुटवल र कपिलवस्तुमा चन्द्रोटामा कम्पनीले कारखाना बनाउँदैछ । ६ वर्षअघि ‘लाली’ चाउचाउबाट उत्पादन थालेको यशोदा फूड्सले सँगै भुजिया, चिजबल्स, कुरकुरे पनि उत्पादन गर्न थाल्यो । वाईवाई, रमपम, प्रीति जस्ता तयारी चाउचाउको दबदबा रहेको अवस्थामा आफ्नो पहिचान बनाउन निकै मिहिनेत गरेको कम्पनीले पछिल्लो समय विभिन्न स्वाद र प्याकेटमा करेन्ट चाउचाउ उत्पादन गर्दै आइरहेको छ । करेन्टको बेग्लै स्वाद, हट एण्ड स्पाइसी र मसलेदार चाउचाउ भएकाले नै बजारमा स्थापित बन्न सफल भएको कम्पनीका अध्यक्ष चुन्नप्रसाद पौडेलले बताए । चुन्नप्रसाद पौडेल । ‘करेन्टको बेग्लै स्वाद, हट एण्ड स्पाइसी र मसलेदार चाउचाउ भएकाले नै बजारमा स्थापित बन्न सफल भएका हौं,’ उनले भने, ‘स्वदेशी बजारमा मात्र होइन, आज विश्वका करिब दुई दर्जन मुलुकमा करेन्टको उच्च माग छ ।’ दैनिक १८ हजार प्याकेट उत्पादन कम्पनीका अनुसार हाल दैनिक २० टन अर्थात् १८ हजार प्याकेट करेन्ट चाउचाउ उत्पादन हुन्छ । तर, बजारको माग बढ्दा पछिल्लो समय यो उत्पादनले बजारको माग धान्न हम्मेहम्मे परिरहेको छ । कम्पनीले छिट्टै थप उत्पादन गर्ने र अन्तर्राष्ट्रिय बजार विस्तार गर्ने योजना बनाएको छ । हाल कम्पनीले वार्षिक ३० हजार नौ सय मेट्रिक टन करिब ३१ करोड प्याकेट करेन्ट चाउचाउको उत्पादन तथा निर्यात गरिरहेको छ । कम्पनीले भारत, अमेरिका, अस्ट्रेलिया, क्यानडा, भुटान, कोरिया, जापान, नेदरल्याण्ड, मलेसिया, दुबई पाकिस्तानलगायत विश्वका १५ देशहरुमा करेन्ट चाउचाउको निर्यात गर्दै आएको छ । ८० करोड रुपैयाँ बढीको चाउचाउ विदेश निर्यात भएको छ । कम्पनीका अनुसार गत बर्ष ५ अर्ब रुपैयाँको कारोबार गरेको थियो । एशोदा फुड्सले २०२१ मा २ अर्ब ६६ करोड ६० लाख रुपैयाँ बराबरको चाउचाउको व्यापार गरेको थियो । यसैगरी, २०२२ मा ३ अर्ब ४३ करोड २० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो । यस्तै, सन् २०२३ मा कम्पनीले ४ अर्ब ९६ करोड ४० लाख रुपैयाँ बराबरको व्यापार गर्न सफल भयो । यसरी करेन्टको बजार आक्रामक रूपमा बढ्दै गर्दा चार दशकदेखि यही बजारमा एकछत्र राज गर्दैआएको वाइवाइमाथि चुनौती बढेको छ । व्यापारको बजार हिस्सा अब करेन्टले थप खोस्ने स्थिति बनेको छ । २ हजारभन्दा बढीलाई रोजगारी कम्पनीले देशभर प्रत्यक्ष्य रूपमा २ हजारभन्दा बढी मानिसलाई रोजगारी दिएको छ भने अप्रत्यक्ष रूपमा ५ हजारलाई रोजगारी दिएको छ । सन् २०१७ मे ७ मा रुपन्देही तिलोत्तबाट आफ्नो उत्पादन सुरुवात गर्दै खाद्य सामग्रीको बजारमा प्रव्रेश गरेको कम्पनीले करेन्ट चाउचाउ उत्पादनका लागि ७ जिल्लाका करिब १० हजारभन्दा बढी कृषकमार्फत अकबरे खुर्सानीलगायत कृषि उत्पादनहरू खरिद गर्दै आएको छ । करेन्टले देशभित्रै विदेशी गुणस्तरको पिरो चाउचाउ उत्पादन गरेसँग विदेशी आयतित चाउचाउ पनि घटेको छ । देशको खस्कँदो अर्थतन्त्रमा निर्यातमार्फत् केही हदसम्म सुधार ल्याउँदै करेन्टले आफूजस्तै अन्य स्वदेशी उत्पादकहरूलाई पनि प्रोत्साहन गरिरेहको छ । लामो अनुसन्धानपछि नेपालमै उत्पादित पिरो चाउचाउले बजार पाउन सक्छ भन्ने पक्कापक्कीपछि यशोदा फुड्सले ‘करेन्ट’को उत्पादन सुरु गरेको हो । उत्पादनको ८ वर्षमै पिरो चाउचाउ करेन्टले नेपाली र विदेशी बजारको ठूलो हिस्सा ओगटेको छ । विदेशमा पनि करेन्ट चाउचाउको मनग्य माग रहेको उत्पादक कम्पनी बताउँछ । यशोदा फुड्सका अनुसार नेपालबाट करेन्ट चाउचाउ प्रतिवर्ष १ करोड अमेरिकी डलर (१ अर्ब ३९ करोड रुपैयाँ) बराबरको निर्यात हुन्छ । नेपालमा करेन्ट चाउचाउ काठमाडौं, विराटनगर, चितवन, बुटवल, पोखरा, धनगढी, सुर्खेतजस्ता मुख्य सहरमा बढी बिक्री हुन्छ । नेपालमै उत्पादित अकबरे खुर्सानीको प्रयोग गरेर बनाइएको करेन्ट चाउचाउको उत्पादनमा प्रयोग हुने सम्पूर्ण सामग्री सरकारबाट अनुमति प्राप्त भएकाले यो स्वस्थकर भएको कम्पनीको दाबी छ । कम्पनीकै मागअनुसार मकवानपुरमा स्थानीय कृषकले ३० हेक्टरभन्दा बढी बाँझो जमिनमार्फत अकबरे खुर्सानी उत्पादन सुरु गरिसकेका छन् । यशोदा फूड्सले गुल्मी, अर्घाखाँची, स्याङ्जा, भोजपुर, इलाम, मकवानपुर, काभ्रे लगायत जिल्लाबाट पनि खुर्सानी खरीद गर्ने गर्दछ । चाउचाउमा प्रयोग हुँदै आएको ८० प्रतिशतजति कच्चा पदार्थ स्वदेशी नै रहेको कम्पनीको दाबी छ । कम्पनीका अनुसार मैदा, मटर, प्याजलगायत कच्चा पदार्थ स्वदेशकै खपत हुन्छ । आयात गरिने २० प्रतिशतमा तेल तथा अन्य मरमसला पर्छन् ।
जाजरकोटमा सुन्तला बिक्रीबाट २२ करोड बढी आम्दानी
सुर्खेत । जाजरकोटमा उत्पादित सुन्तला बिक्रीबाट यो वर्ष किसानले २२ करोड रुपैयाँभन्दा बढी आम्दानी गरेका छन् । जाजरकोट कृषि विकास कार्यालयका अनुसार यस वर्षमा सुन्तला बिक्रीबाट जिल्लाका किसानले २२ करोड दुई लाख ७१ हजार पाँच सय आठ रुपैयाँ आम्दानी गरेका हुन् । जिल्लाबाट दुई हजार सात सय ५३ मेट्रिक टन सुन्तला अन्य जिल्ला खपत भएको कार्यालयका सूचना अधिकारी नवीनराज आचार्यले जानकारी दिए । जिल्लामा छ सय ७० हेक्टर क्षेत्रफलमा सुन्तलाखेती गरिँदै आइएको छ । गत वर्षको तुलनामा किसानले बोटबाट मनग्य मूल्य पाएकाले बजारीकरणमा समस्या नपरेको उनले बताए । ’यस वर्ष बोटबाट ५० देखि रु ८० रुपैयाँ प्रतिकिलो सुन्तला बिक्री भएको छ । किसानले सुरुमा रु ५० मा बिक्री गरेकामा अन्तिम समयसम्म प्रतिकिलो रु ८० सम्म मूल्य पाएका हुन्,’ आचार्यले भने । उनका अनुसार जिल्लाको कुसे गाउँपालिका, नलगाड नगरपालिका, छेडागाड नगरपालिका, शिवालय गाउँपालिका, भेरी नगरपालिका, बारेकोट गाउँपालिकामा सुन्तला उत्पादन हुने गरेको छ । किसानको खेतबारीमा पुगेर मल प्रयोग, काँटछाँट तथा औषधि दिनेसम्मको प्राविधिक सहायता दिएर सहयोग गरिरहेको सूचना अधिकारी आचार्यले बताए । कुसे- ५ दम्दालाका किसान रामबहादुर मल्लले पछिल्लो समय सुन्तलाखेतीबाट मनग्य आम्दानी हुनुका साथै बजारीकरणको समस्या नरहेको बताए । पहिले सुन्तलाका लागि बजारको समस्या भए पनि अहिले सुर्खेत, नेपालगञ्जबाट व्यापारी बारीमा पुग्ने खरिद गरेका उनको भनाइ छ । पहिले अन्नबाली लगाउने खेतबारीलाई किसानले आजभालि सुन्तला बारी बनाउन लागेका कुसे- ५ दम्दालाकी जानुका मल्लले बताए । उनका अनुसार खेतीपातीभन्दा सुन्तलाबाट आम्दानी बढी हुने भएकाले यसतर्फ आकर्षित भएका हुन् । पछिल्लो समय जिल्लामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कृषि विकास कार्यालय, पालिकाका कृषि शाखाले किसानका लागि प्राविधिक तथा यान्त्रिकीकरणमा सहयोग गर्दै आएका छन् ।
पुनर्बीमा कम्पनीको लगानी ४० अर्ब बढी, ७९ प्रतिशत मुद्दती निक्षेपमा
काठमडौं । पुनर्बीमा कम्पनीहरूले चालु आर्थिक वर्षको पौष मसान्तसम्म ४० अर्ब बढी रकम विभिन्न क्षेत्रमा लगानी गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार दुई पुनर्बीमा कम्पनी नेपाल पुनर्बीमा र हिमालयन रिइन्स्योरेन्सले ४० अर्ब ६३ करोड रुपैयाँ बढी लगानी गरेका हुन् । कम्पनीहरूले अघिकांश रकम बैंकको मुद्दती निक्षेपमा राखेका छन् । दुई कम्पनीले ७८.४८ प्रतिशत रकम मुद्दती निक्षेपमा लागनी गरेका छन् । दुई कम्पनीले ३१ अर्ब ९० करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गरेका हुन् । मुद्दती निक्षेपमा लगनी गर्नेमा हिमालयनभन्दा नेपाल पुनर्बीमा अगाडि छ । नेपाल पुनर्बीमाले विभिन्न क्षेत्रमा २१ अर्ब १० करोड रुपैयाँ लगानी गरेको छ । जसमध्ये ८५.४७ प्रतिशत मुद्दती निक्षेपमा राखेको छ । नेपाल पुनर्बीमाले १८ अर्ब ४ करोड रुपैयाँ मुद्दती निक्षेपमा राखेको छ । नेपाल पुनर्बीमाले सबैभन्दा धेरै वाणिज्य बैंकको मुद्दतीमा राखेको छ । १५ अर्ब ६२ करोड रुपैयाँ वाणिज्य बैंकमा राखेको कम्पनीले विकास बैंकमा १ अर्ब ७५ करोड, फाइनान्स कम्पनीमा ४० करोड र पूर्वधार विकास बैंकको मुद्दतीमा २६ करोड रुपैयाँ राखेको छ । यसैगरी, बैंक तथा वित्तीय संस्थाको अग्राधिकार सेयर, बण्ड, डिबेन्चर र ऋणपत्रमा १ अर्ब ३६ करोड रुपैयाँ, नेपाल सरकार, स्थानिय र प्रदेश सरकार वा नेपाल राष्ट्र बैंकको बचतपत्र वा ऋणपत्रमा ३० अर्ब, अन्य कम्पनीहरुको संस्थापक सेयरमा ५९ करोड, सूचीकृत नभएको पब्लिक कम्पनीको सेयरमा ५० करोड, नगारिक लगानी कोष र म्यूचअल फण्डमा ५ करोड रुपैयाँ लगानी गरेको छ । हिमालयन रिले आफ्नो कुल लागनीको ६९ प्रतिशत लगानी मुद्दती निक्षेपमा गरेको छ । पौष मसान्तसम्म कम्पनीले १९ अर्ब ५२ करोड रुपैयाँ लगानी गरेको छ । जसमध्ये १३ अर्ब ५५ करोड रुपैयाँ वाणिज्य बैंकको मुद्दतीमा राखेको छ । यस कम्पनीले विकास बैंक, फाइनान्स र पूर्वधार विकास बैंकको मुद्दतीमा लगानी गरेको छैन । कम्पनीले सूचीकृत पब्लिक कम्पनीको सेयरमा ३ अर्ब, बैंक तथा वित्तीय संस्थाको अग्राधिकार सेयर, बण्ड, डिबेन्चर र ऋणपत्रमा एक अर्ब, ईन्भेष्टमेन्ट कम्पनीको सेयरमा ९० करोड, अन्य संस्थापक सेयरमा ३७ करोड, अन्य क्षेत्रमा ६० करोड रुपैयाँ लगानी गरेको छ ।
आईसीएफसी फाइनान्स र नेबुला मोबिलिटीबीच ऋण सुविधासम्बन्धी सम्झौता
काठमाडौं । आईसीएफसी फाइनान्स लिमिटेडले नेबुला मोबिलिटी- गोगोरोसँग सम्झौता गरेको छ । उक्त सम्झौताअन्तर्गत अब नेबुला मोबिलिटीको विद्युतीय स्कुटर गोगोरो खरिद गर्ने ग्राहकहरूलाई खरिदको लागि आईसीएफसीले ऋण सुविधा प्रदान गर्ने जनाइएको छ । आईसीएफसी फाइनान्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिल पन्त र नेबुला मोबिलिटीका अध्यक्ष मनोजकुमार गोयलले सम्झौतापत्रमा हस्ताक्षर गरे । यो सम्झौताले नेपालका उपभोक्ताहरूलाई डिजिटल र पर्यावरणमैत्री गोगोरो इलेक्ट्रिक स्कूटरहरूको खरिदमा सहजता पुर्याउने विश्वास फाइनान्सले लिएको छ । ग्राहकहरूले अब आईसीएफसी फाइनान्सको ऋण सुविधामार्फत आफ्नो आवश्यकताअनुसार सजिलै वित्तीय सेवा प्राप्त गर्न सक्नेछन् । यो सम्झौताले नेपालको सस्तो, दिगो, स्वच्छ पर्यावरणमैत्री यातायात प्रणालीको विकासमा नयाँ आयाम थप्ने अपेक्षा गरिएको छ ।
दोस्रो त्रैमासमा रिलायन्सका अधिकांश सूचक बढे, नाफा बढेसँगै ईपीएस २२ रुपैयाँ पुग्यो
काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सले चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमासमा उल्लेख्य सुधार गरेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणमा अधिकांश सूचकहरू उल्लेख्य वृद्धि भएका छन् । कम्पनीले चालु आवको पुससम्ममा ६५ करोड ७३ लाख ८६ हजार रुपैयाँ कुल नाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीको कुल नाफा ४३ करोड ३६ लाख २१ हजार रुपैयाँ थियो । चालु आवको दोस्रो त्रैमासमा कम्पनीको कर तिरेपछिको नाफा १३ करोड ८५ लाख रुपैयाँले बढेको छ । पुससम्ममा कम्पनीको करतिरेपछिको नाफा १८ करोड ८८ लाख ८२ हजार रुपैयाँ पुगेको छ । गत आवको पुससम्मा कम्पनीको यस्तो नाफा १ करोड ६० लाख २९ हजार रुपैयाँ थियो । चालु आवको दोस्रो त्रैमाससम्ममा कम्पनीको प्रतिसेयर आम्दानी (इपीएस) २२ रुपैयाँ १९ पैसा कायम भएको छ । यसअघि चालु आवको पहिलो त्रैमासमा कम्पनीको इपीएस १९ रुपैयाँ ९५ पैसा रहेकोमा दोस्रो त्रैमासमा यसले उल्लेख्य सुधार भएको हो । गत आवको पुसमा कम्पनीको इपीएस १.८८ रुपैयाँ थियो । दोस्रो त्रैमाससम्ममा रिलायन्सले ४ अर्ब ८४ करोड ३५ लाख ७२ हजार रुपैयाँको व्यापार गरेको छ । यस्तै २ करोड ३३ लाख ४० हजार रुपैयाँ अन्य आम्दानी गरेको छ । गत आवको पुससम्ममा कम्पनीले ४ अर्ब ८२ करोड ९० लाख ९० हजार रुपैया बराबरको व्यापार गरेको थियो भने सो समयमा अन्य आम्दानी ८० लाख ९६ हजार रहेको थियो । समीक्षा अवधिमा रिलायन्सले ४६ करोड ८७ लाख ५४ हजार रुपैयाँ कुल खर्च रहेको छ । गत आवको सोही अवधिमा कम्पनीको कुल खर्च ४२ करोड ५६ लाख ८८ हजार रुपैयाँ थियो । चुक्तापुँजी १ अर्ब ७० करोड ७३ लाख ४० हजार रुपैयाँ रहेको रिलायन्स स्पिनिङ मिल्सको अन्य इक्विटी ५ अर्ब ५३ करोड ४५ लाख ७८ हजार रुपैयाँ पुगेको छ । गत आवको पुससम्ममा अन्य इक्विटी ५ खर्ब ३१ करोड १३ लाख ४२ हजार रुपैयाँ थियो । रिलायन्स स्पिनिङ्स मिल्स लिमिटेड विसं. २०५४ मा स्थापना भएको कम्पनी हो । स्थापनाको २७ वर्षसम्ममा रिलायन्समा १५ अर्ब रुपैयाँ लगानी पुगिसकेको छ भने ४ हजारभन्दा बढीले प्रत्यक्ष रोजगारी पाइरहेका छन् । यस उद्योगले नेपालको धागोको मागलाई पूर्ति गर्दै भारत, टर्की लगायत थुप्रै मुलुकमा निर्यात पनि गर्दै आएको छ । सुनसरीमा रिलायन्सको धागो कारखाना रहेको छ । यस उद्योगले । ऊन (उल) धागो, सूति (कटन) धागो, पोलिस्टर धागो, एक्रेलिक धागो, भिस्कोस धागो उत्पादन गर्दै आएको छ । कम्पनीले बुक बिल्डिङ विधिबाट आईपीओ जारी गर्ने प्रक्रियामा रहेको छ ।
टेस्लाले अमेरिकामा मोडेल एक्स कारहरूको मूल्य ५ हजार डलरले बढायो
काठमाडौं । टेस्लाले अमेरिकामा आफ्नो मोडल एक्स कारको मूल्य ५ हजार डलरले बढाएको छ । कम्पनीको वेबसाइट अनुसार अब मोडल एक्स अल–ह्वील ड्राइभको मूल्य ८४ हजार ९९० डलर हुनेछ, जुन यसको अघिल्लो मूल्य ७९ हजार ९९० डलरभन्दा बढी हो । यसैगरी, प्लेड भेरियन्टको मूल्य ९४ हजार ९९० डलरबाट बढेर ९९ हजार ९९० डलर पुगेको छ । गत डिसेम्बरमा टेस्लाले अमेरिकामा आफ्नो मोडल एस कारको मूल्य ५ हजार डलरले बढाएको थियो । साथै फेब्रुअरी १ देखि क्यानडामा यसका सबै मोडलहरूको मूल्य बढाएको थियो । टेस्लाले मूल्य वृद्धिको कुनै कारण उल्लेख गरेको छैन । कम्पनीले कार उत्पादन लागत घटाउने प्रयास गरिरहेको छ । जनवरीमा यसले बताएको थियो कि कच्चा पदार्थको मूल्य घटेकोले चौथो त्रैमासिकमा यसको कार निर्माणको सामग्री र श्रम लागत औसतमा सबैभन्दा कम भएको थियो ।
साल्ट ट्रेडिङकी सीइओ श्रेष्ठले पाइन् नेपाल व्यवस्थापन संघको ‘म्यानेजर अफ द इयर’ अवार्ड
काठमाडौं । साल्ट ट्रेडिङकी प्रमुख कार्यकारी अधिकृत (सीईओ) उर्मिला श्रेष्ठले ‘म्यानेजर अफ द इयर’ अवार्डबाट सम्मानित भएकी छन् । नेपाल व्यवस्थापन संघको ४४ औं वार्षिक साधारणसभा तथा राष्ट्रिय व्यवस्थापन सम्मेलनमा श्रेष्ठलाई उक्त अवार्डले सम्मान गरिएको हो । नेपाल व्यवस्थापन संघले हरेक वर्ष उक्त अवार्ड प्रदान गर्दै आएको छ । साल्ट ट्रेडिङ कर्पोरेसनमा रहेर देशभर नुन वितरणको राष्ट्रिय जिम्मेवारी पूरा गर्नुका साथै व्यापार विविधिकरणमार्फत साल्ट ट्रेडिङको वित्तीय दिगोपना एवं सामाजिक कल्याणमार्फत उदाहरणीय योगदान पुर्याउँदै आएकाले श्रेष्ठलाई सम्मान गरेको संघले जनाएको छ । श्रेष्ठ सन् २००७ यता (सीईओ) रहेर काम गरिरहेकी छिन् । उनले ३७ वर्ष साल्ट ट्रेडिङ कर्पोरेसनमा काम गरिसकेकी छन् ।
क्रिप्टोकरेन्सीमा रिप्पल र डगकोइनको दबदबा, रिटर्नमा बिटकोइनभन्दा अगाडि
काठमाडौं । क्रिप्टोकरेन्सीको बजार अहिले धेरै उतार-चढावबाट गुज्रिरहेको छ । हाल बिटकोइन विश्वको सबैभन्दा महँगो क्रिप्टोकरेन्सी हो । अहिले एक बिटकोइनको मूल्य ९६ हजार २०५ डलर (१ करोड ३८ लाख रुपैयाँ) छ । यसको एक प्रतिशत रिटर्नले पनि यसको मूल्यमा ठूलो असर पार्छ भने अन्य क्रिप्टोकरेन्सीको चर्चा निकै कम गरिन्छ । जब कुरा रिटर्नको आउँछ, बिटकोइनको रिटर्नलाई पहिलो प्राथमिकतामा राखिन्छ । त्यसपछि मात्र अन्य क्रिप्टोकरेन्सी पछि आउँछन् । तर यदि बिटकोइनलाई अन्य केही क्रिप्टोकरेन्सीसँग तुलना गरियो भने यो निकै पछि पर्छ । केही क्रिप्टोकरेन्सीहरू छन् जसले एक वर्षमा बिटकोइनभन्दा धेरै बढी रिटर्न दिएका छन् । रिटर्नको मामिलामा तिनीहरूले सुनलाई पनि पछाडि छोडेका छन् । बिटकोइनले कति रिटर्न दियो ? आइतबार बिहान १० बजे एक बिटकोइनको मूल्य करिब १ करोड ३८ लाख रुपैयाँ थियो । एक वर्षअघि यसको मूल्य करिब ६४ लाख रुपैयाँ थियो । यसरी हेर्दा यसले एक वर्षमा लगानीकर्ताहरूलाई १२३ प्रतिशत रिटर्न दिएको छ अर्थात् दोब्बरभन्दा बढी । यी क्रिप्टोकरेन्सीहरूले बिटकोइनलाई पछाडि छोडे एक वर्षको रिटर्नको हिसाबले केही क्रिप्टोकरेन्सीहरूले बिटकोइनलाई पछि पारेका छन् । तिनीहरूले बिटकोइनभन्दा धेरै बढी रिटर्न दिएका छन् । बिटकोइनभन्दा बढी रिटर्न दिने प्रमुख दुई क्रिप्टोकरेन्सीहरू यस्ता छन् : रिप्पल यस क्रिप्टोकरेन्सीले एक वर्षमा ४०० प्रतिशतभन्दा बढी रिटर्न दिएको छ । अहिले यसको मूल्य करिब ३४८ रुपैयाँ छ । एक वर्षअघि यसको मूल्य करिब ६८. ८ रुपैयाँ थियो । यसरी यसको एक वर्षको रिटर्न करिब ४०७ प्रतिशत रह्यो । डगकोइन रिटर्नको मामिलामा डगकोइन पनि पछाडि छैन । एक वर्षमा यसले २०० प्रतिशतभन्दा बढी रिटर्न दिएको छ । अहिले यसको मूल्य करिब ३६.८ रुपैयाँ छ । एक वर्षअघि यसको मूल्य १०.८ रुपैयाँ मात्र थियो । यसरी हेर्दा यसले करिब २४० प्रतिशत रिटर्न दिएको छ । सुनले कति रिटर्न दियो ? सुनले एक वर्षमा करिब ३२ प्रतिशत रिटर्न दिएको छ । यो रिटर्न बिटकोइनको तुलनामा करिब २५ प्रतिशत मात्र हो । अर्थात् बिटकोइनले सुनको तुलनामा चार गुणा बढी रिटर्न दिएको छ । त्यस्तै, रिप्पलले सुनको तुलनामा १३ गुणा र डगकोइनले ६ गुणाभन्दा बढी रिटर्न दिएको छ । (एजेन्सीहरूको सहयोगमा)