चीनमा टेस्ला कारको बिक्री ११.५ प्रतिशतले घट्यो, घरेलु प्रतिस्पर्धा बढ्दै
काठमाडौं । चीनमा टेस्ला कारको बिक्री जनवरीमा घटेको छ, जसमा घरेलु प्रतिस्पर्धीहरूको प्रतिस्पर्धा बढ्दै गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। टेस्लाले जनवरीमा ६३ हजार २३८ युनिट इलेक्ट्रिक कार बेच्यो जुन गत वर्षको जनवरीमा बेचिएको ७१ हजार ४४७ कारभन्दा ११.५ प्रतिशतले कम हो । प्री-मार्केट ट्रेडिङमा टेस्लाको सेयर करिब १।५ प्रतिशतले झर्यो । यसैबीच चिनियाँ प्रतिस्पर्धी बीवाईडीले गत महिना २ लाख ९६ हजार ४४६ शुद्ध इलेक्ट्रिक र प्लग–इन हाइब्रिड सवारी बेच्यो जुन गत वर्षको तुलनामा ४७ प्रतिशतले बढी हो । टेस्लाका अन्य चिनियाँ प्रतिस्पर्धीहरू जस्तै- चाङ्गान अटोमोबाइल र एक्सपेन्जले पनि बिक्रीमा वृद्धि गरेका छन् । टेस्लाले गत वर्ष चीनमा ६ लाख ५७ हजारभन्दा बढी कार बिक्री गरेको थियो, जुन २०२३ को तुलनामा ८.८ प्रतिशतले वृद्धि हो । यो संख्या कम्पनीको कुल डेलिभरीको ३६.७ प्रतिशत हो । टेस्लाले चीनका खरिददारहरूको रुचि कायम राख्न मूल्य कटौतीलाई प्रोत्साहनको रूपमा प्रयोग गर्ने प्रयास गरेको छ । गत वर्षको अन्त्यमा टेस्लाले आफ्नो मोडल वाई कारको मूल्य घटायो र जनवरी अन्त्यसम्म शून्य ब्याज दरको पाँच वर्षे ऋण योजना पनि विस्तार गर्यो । गत महिना टेस्लाले चीनमा आफ्नो सबैभन्दा धेरै बिक्री हुने इलेक्ट्रिक वाहन मोडल वाईको संशोधित संस्करण सार्वजनिक गरेको थियो । यसमा पनि शून्य प्रतिशत ब्याजदरको योजना थियो । टेस्लाले २०२३ को अन्त्यमा साइबरट्रक डेलिभरी सुरु गरेपछि नयाँ मोडल सुरु गरेको छैन । लगानीकर्ताहरूले कम्पनीबाट नयाँ सस्तो मासमार्केट मोडल आउने अपेक्षा गरिरहेका छन्, जसले बिक्रीमा सहयोग पुर्याओस् । टेस्लाले २०२५ को पहिलो छ महिनामा नयाँ सस्तो मोडल सुरु गर्न सकिने जनाएको छ । टेस्लाको विश्वव्यापी डेलिभरी १.१ प्रतिशतले घटेको छ, जसको कारण युरोपमा सब्सिडीमा कटौती, अमेरिकामा सस्तो हाइब्रिड गाडीहरूको बढ्दो लोकप्रियता र चिनियाँ निर्माता बीवाईडीबाट बढ्दो प्रतिस्पर्धा हो । जनवरी महिनामा टेस्लाको बिक्री चीनमा मात्र नभई बेलायत र फ्रान्ससहित पाँच युरोपेली देशहरूमा पनि घटेको छ । नयाँ मोडल भएका प्रतिस्पर्धीहरूले टेस्लालाई पछ्याइरहेका छन् भने सर्वेक्षणहरूले कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलन मस्कप्रति जनताको धारणा नकारात्मक बन्दै गएको देखाएका छन् । विशेष गरी डोनाल्ड ट्रम्पलाई आर्थिक समर्थन गर्दै मस्क २०२४ मा राजनीतिमा प्रवेश गरेका छन् । ट्रम्पको सफल चुनावी अभियानमा मस्कको ठूलो भूमिका रह्यो । यी सबै समस्याहरूका बाबजुद टेस्लाको सेयर मूल्य बजारभन्दा राम्रो प्रदर्शन गर्दै आएको छ । पछिल्लो वर्षमात्र टेस्लाको सेयर मूल्य दोब्बर भएको छ । हाल, टेस्लाको पीई रेसियो पनिअन्य कार निर्माता र प्रविधि कम्पनीहरूको तुलनामा निकै उच्च छ । टेस्लाका लागि २०२५ चुनौतीपूर्ण रहन सक्ने देखिन्छ, तर कम्पनीको नयाँ ईभी मोडल, मूल्य रणनीति र प्रविधि विकास भविष्यको प्रमुख निर्णायक कारक बन्न सक्छ । मस्कको राजनैतिक प्रभाव ! बेलायत र युरोपेली बजारमा टेस्लाको बिक्री घट्दो चीनमा टेस्लाको उच्च रेकर्ड, २०२४ मा बिक्री गर्यो ६ लाख ५७ हजारभन्दा बढी गाडी नयाँ साझेदार खोज्दै ‘निसान’, ताइवानको ‘फक्सकन’ सँग सहकार्य गर्न इच्छुक विद्युतीय सवारीमा फड्को मार्दै फरारी, अक्टोबरमा ६ नयाँ मोडल सार्वजनिक गर्ने
खुवा बिक्री गरेर मासिक एकलाख आम्दानी
मनहरी । हेटौँडा १७ निवासी उत्तम श्रेष्ठले खुवा व्यवसायबाट मासिक रु एक लाख कमाउँदै आएका छन् । उनी यसै पेसाबाट आत्मनिर्भर बन्दै आएका हुन् । उनको दैनिकी बिहान उठेदेखि राति अबेरसम्म खुवा घोटेर बित्ने गर्दछ । दुई वर्षदेखि खुवा व्यवसायमा लागेका श्रेष्ठको चुच्चे खोलामा उत्तम खुवा घर सञ्चालनमा छ । खुवा व्यवसायमा लाग्नुअघि श्रेष्ठले लामो समयदेखि किराना पसल र तोरी मेल सञ्चालन गर्थे। गाउँघरमा उधारो धेरै हुने गरेकाले किराना पसलबाट खासै उपलब्धि हुन नसकेपछि श्रेष्ठ खुवा व्यवसायतर्फ लागेको उनी बताउँछन् ।खुवाको हब बन्दै गएको सोही स्थानमा खुवा व्यवसायलाई सम्हाल्न पुगेका उनले आजभोलि दैनिक तीस किलो खुवा बिक्री गर्दै आएका छन् । उनको पसलमा खुवासँगै खुवाका विभिन्न मिठाइका परिकार, केराको मम, छोइला, पनि, पुष्टकारी उत्पादनसँगै बिक्री हुने गर्दछ । खुवा व्यवसायमा मनग्य आम्दानी देखेका उनले दूधको आपूर्तिका लागि किसानलाई भैँसी किन्न लगानीसमेत गरेका छन् । उनले भने, ‘खुवाको लागि भैँसीको दूध आवश्यक पर्छ सोहीअनुरूप किसानलाई रु दश लाख लगानी गरिसकेको छु ।’ परम्पराभन्दा आधुनिकता तर्फ लम्किँदै व्यवसाय गर्नका लागि उनले सफा, सुग्घर र आकर्षित सजावट गर्दै व्यवसायलाई अगाडि बढाइरहेका छन् । खुवाको हब बन्दै गएको चुच्चे खोलामा हेर्दा पनि आकर्षण तरिकाको पसल उनको छ । पर्यटकलाई सफा र आकर्षण देखिनुपर्छ सोही अनुरूप परिकारमा पनि सफा र स्वादिष्ट उत्पादन गर्ने गरेको उनको भनाइ छ । खुवा पेसा सममालेदेखि उनले आफ्नो व्यवसायबाट ६ कर्मचारीलाई रोजगारी दिएकोसमेत बताए । खुवासँगै खाजा नास्ता लगायतबाट मासिक रु दश लाखको कारोबार हुने गरेको श्रेष्ठले बताए । मासिक दूध खरिद्, खुवा पकाउने दाउरा खरिद, कर्मचारी लगायतमा मासिक साढे आठ लाख खर्च हुने गरेको बताए । अरू पेसामा भन्दा खुवा पेसामा काम गर्दा सन्तुष्ट मिलेको उनको भनाइ छ । आफूसँगै परिवारलाई पनि सहयोग लिएर उनले खुवा व्यवसायलाई अझै बढाउने सोचमा रहेको बताए । खुवा बेचेरै मासिक रु एक लाख कमाउन सकिने भएपछि उनले पैसा कमाउन विदेशिने युवापुस्तालाई देशमै कमाउन सकिने उदाहरण प्रस्तुत गरेका छन् । उनको पसलबाट उत्पादित खुवा काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रो, चितवनलगायतका जिल्लामा निर्यात हुने बताए । कान्तिलोक पथ भएर हिँडने यात्री र खुवाको पारखीलाई आजभोलि उत्तमको खुवा पसलले आर्कष्ण गर्ने गरेको छ । खुवा व्यवसायबाट पनि आत्मनिर्भर बन्न सकिने राम्रो उदाहरण उनले प्रस्तुत गरेका छन् । रासस
रातो मच्छिन्द्रनाथबारे छलफल गर्न ललितपुर महानगर प्रमुख विज्ञसहित गुहाटीमा
ललितपुर । ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जन रातो मच्छिन्द्रनाथको बारे छलफल गर्न आयोजना गरिएको अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन विज्ञसहित भारतको आसाम गुहाटी पुगेका छन् । गुहाटी विश्वविद्यालयले आयोजना गरेको अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन रातो मच्छिन्द्रनाथ पानेजु संघका अध्यक्ष यज्ञरत्न शाक्य, ज्यापू समाज ललितपुरका अध्यक्ष सन्तमान महर्जन, ञवालका गुठीयार नविन महर्जन, घःकुका गुठीयार बुद्ध महर्जन, बाराही दः गुठीका नाइके दिलकुमार वाराहीसहित महानगर प्रमुख चिरीबाबु महर्जन गुहाटी पुगेका हुन् । महानगर प्रमुख महर्जनले रातो मच्छिन्द्रनाथको बारे आयोजना गरिएको सम्मेलनमा विज्ञहरुको सहभागिता महत्वपूर्ण भएको बताउँदै सबैको सहभागितमा आफू गुहाटी आएको बताए । उनले भने, ‘रातो मच्छिन्द्रनाथसँग सम्बन्धित यो कार्यक्रममा उहाँहरु सहभागी हुँदा विषयलाई थप बुझ्ने अवसर पाउनु हुन्छ भन्ने हेतु हो ।’ भ्रमणमा सहभागी भएकाहरु रातो मच्छिन्द्रनाथको बारेमा विज्ञ भएको नगरप्रमुखले दाबी गरे । रातो मच्छिन्द्रनाथको जात्रा र रथ संसार प्रचलित छ । नगरप्रमुखले नेतृत्व गर्नु भएको प्रतिनिधिमण्डलका सदस्य एवम पर्यटन संस्कृति समितिका संयोजक विकासमान श्रेष्ठले यो सम्मेलन महत्वपूर्ण सम्मेलन भएको बताए । वडा नं.५का वडा अध्यक्ष समेत रहेका उनले भने, ‘ सरोकारवाला सबैको सहभागिता हुँदा अझै यो महत्वपूर्ण भएको छ, रातो मच्छिन्द्रनाथको बारेमा थप बुझ्ने अवसर प्राप्त हुन्छ । ’उक्त प्रतिनिधिमण्डलमा पर्यटन समितिका अन्य दुई सदस्य वडा ६का वडा अध्यक्ष रुपेन्द्रराज शाक्य, र वडा नं.१९ का वडा अध्यक्ष राजेन्द्र महर्जन समेत छन् । यसका साथै महानगरका अमूर्त सम्पदा सल्लाहकार वदनलाल न्याछ्यो, पर्यटन सल्लाहकार दिलेन्द्रराज श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत रेखा दास श्रेष्ठ सहभागी छन् ।
भृकुटीमण्डपमा प्रविधि प्रेमीहरूको घुँइचो, एआई र स्वदेशी प्रविधिमा विशेष चासो
काठमाडौं । राजधानीको भृकुटीमण्डपमा संचालित क्यान इन्फोटेक मेलामा अवओकनकर्ताको घुँइचो लागको छ ।आयोजकले एक विज्ञप्ति जारी गर्दै मेलामा सवै क्षेत्रका ब्यक्तिहरुले अवलोकन गरेको जनाएको छ । माघ २४ देखि जारी ‘एचएमसी नेपाल हिक्सेमी क्यान इन्फोटेक २०२५ इन एसोसिएसन विथ मर्कन्टायल अफिस सिस्टम’ मा प्रविधिप्रेमीहरूको घुँइचो लागेको हो । ३०औं संस्करणको यस प्रदर्शनीलाई चौंथो दिन सकिँदासम्म विद्यार्थी तथा युवा उमेर समूह र प्रविधिमा चासो राख्ने व्यक्तिहरूसँगै कलाकार, खेलाडी, अभियन्ता, राजनीतिज्ञ, नीति निर्माता तथा विभिन्न तहका सरकारका प्रतिनिधिहरूले अवलोकन गरेका छन् । यो महाउत्सव सूचना प्रविधिका विकास र विस्तारलाई नजिकबाट चिन्ने अवसरको रूपमा प्रस्तुत भएको छ । आइतबारमात्रै बागमती प्रदेश सभा सदस्य इन्द्र बानियाँ, पूर्वमन्त्री गणेश साह, राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रविन्द्र मिश्र, काठमाडौं महानगरपालिकाको सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमन नरसिंह राजभण्डारी, दिक्तेल नगरपालिकाका मेयर तीर्थराज भट्टराई, कम्प्युटेक ताइवानको तर्फबाट दक्षिण एसिया हेर्ने प्रतिनिधिहरू, नेपाल प्रहरीका डीआईजीहरू अरुण भण्डारी र कुमार न्यौपाने, कलाकार मिस पवी लगायतले क्यान इन्फोटेक अवलोकलन गरेका थिए । यसअघि नीति निर्माण तहका अधिकारीहरू, विभिन्न आयोगका प्रतिनिधिहरू तथा विभिन्न पालिकाका प्रमुख÷उपप्रमुख हरूले क्यान इन्फोटेक अवलोकन गरिसकेका छन् । सो अवसरमा उहाँहरूले डिजिटल नेपाल निर्माणका लागि क्यान इन्फोटेक जस्ता कार्यक्रमहरूको महत्त्वपूर्ण भूमिका हुने तथा सूचना सञ्चार प्रविधि क्षेत्रलाई राष्ट्रिय प्राथमिकता बनाएर अगाडि बढ्नुपर्नेमा जोड दिए। साथै नेपाली प्रतिभा र आविष्कारलाई प्रोत्साहन गर्नेगरी प्रभावकारी कार्यक्रम ल्याउन आफ्नो तर्फबाट पहल गर्ने प्रतिबद्धता समेत उनीहरुले ब्यक्त गरे। क्यान इन्फोटेकमा सूचना प्रविधि क्षेत्रका विश्वस्तरीय ब्राण्डसँगै इन्टरनेट सेवाप्रदायक, नेटवर्क तथा सेक्युरिटी सेवा प्रदायक, स्वदेशी स्याटलाइट, एआई उपकरण, फिन्टेक प्रविधि, ईकमर्स, आईटी तालिम प्रदायक, विभिन्न क्षेत्रका लागि विकास गरिएका सफ्टवेयर तथा म्यानेजमेन्ट सिस्टम, अनलाइन लर्निङ टुल, राइड शेयरिङ एप लगायतसँग सम्बन्धित स्टलहरूमा अवलोकनकर्ताको विशेष चासो देखिएको क्यान महासंघका महासचिव चन्द्र विलास भुर्तेलले जानकारी दिए । अन्य दिनमा कम अवलोकनकर्ता देखिने स्टलहरूमा शनिबार र आइतबार अवलोकनकर्ताको निकै भीड देखिन्थ्यो । विशेषगरी नेपाली विद्यार्थी, स्टार्टअप तथा इनोभेटरले तयार पारेका नवीनतम प्रविधि, एप्लिकेसन र प्रोजेक्टहरूमा अवलोकनकर्ता बढी झुम्मिएका छन् । यसअन्तर्गत मसिन लर्निङमा आधारित एआई टुलदेखि सेल्फ ड्राइभिङ कारसम्मका प्रडक्टमा आकर्षण देखिएको छ । त्यस्तै, स्वदेशी सफ्टवेयर निर्माताका उत्पादनमा पनि धेरैको झुकाव देखिएको छ । साथै, ख्यातिप्राप्त अन्तर्राष्ट्रिय ब्राण्डका उत्पादनहरू एकै ठाउँमा पाउँदा प्रविधिप्रेमी उत्साही देखिएका छन् । नेपालीले विकास गरेका एआई प्रविधिहरूलाई विश्वव्यापी रूपमा प्रस्तुत गर्ने आवश्यकतामा सरोकारहरुले जोड दिएका छन् । डेटा आधारित विश्लेषणमार्फत प्रभावकारी, शुद्ध र भविष्यमुखी निर्णयहरू लिन सकिने भएकाले नेपाली एआई प्रविधिले महत्त्वपूर्ण भूमिका खेल्न सक्ने उनीहरूको मत छ । यसबाहेक, नेपाली नवप्रवर्तकहरूलाई समर्थन गर्न सकिएमा नेपाललाई भविष्यमा प्रविधिको महत्त्वपूर्ण केन्द्रको रूपमा उभ्याउन सकिन्छ भन्ने सरोकारवालाले जोड दिएका छन् । नेपाली स्टार्टअपहरूलाई उचित मञ्च प्रदान गर्ने, प्रशासनिक झन्झटहरू समाधान गर्ने आवश्यक प्रोत्साहन उपलब्ध गराउने जस्ता विषयहरू सरोकारवालाले उठाएका छन् । ब्राण्डिङ कम्पनीका स्टलहरू मुख्य हलभित्र रहेका छन् भने साना कम्पनीहरू ट्रसमा रहेका स्टलहरूमार्फत आफ्ना वस्तु तथा सेवाको प्रचारमा जुटेका छन् । प्रदर्शनीस्थलमै कम्पनीहरूले डिलर छनोट गर्ने र बिजनेश डिल गर्ने कार्यसमेत गरिरहेका छन् । क्यान महासंघकी अध्यक्ष सुनैना घिमिरे पाण्डेले क्यान इन्फोटेकमार्फत विश्वबजार र स्थानीय बजारमा आएका नवीनतम प्रविधि र अभ्यासबारे एकै थलोमा हेर्न, बुझ्न र छलफल गर्न सम्भव भएको बताइन् । अध्यक्ष घिमिरेका अनुसार यसपटक अनावश्यक भीडभन्दा सूचना प्रविधि बुझेका वा उत्सुक अवलोकनकर्ताहरू बढी आएका छन् । कुल १४० स्टल रहेको क्यान इन्फोटेक २०२५ मा सहभागी कम्पनीहरूले आफ्ना वस्तु तथा सेवाको प्रवद्र्धनका अतिरिक्त आकर्षक छुट र अफर दिइरहेका छन् । यसअन्तर्गत कम्पनीहरूले वस्तु खरिद एवं बुकिङमा १० देखि ७० प्रतिशतसम्म छुट प्रदान गरेका छन् । सोमबार प्रदर्शनीकर्ताहरूले थप विशेष अफर ल्याउने तयारी गरेका छन् । साथै रोबोटिक्स एसोसिएसन नेपालले लाइभ रोबोटिक्स कम्पिटिसन तथा अवार्ड कार्यक्रम गर्नेछ । यसैबीच क्यान इन्फोटेकको आज (सोमबार) अन्तिम दिन रहेकाले अवलोकनकर्तालाई मध्यनजर गर्दै ६ बजेसम्म टिकट खुला गरिएको छ ।
बन्दा किलोको १५ रुपैयाँ, यस्तो छ तरकारी र फलफूलको थोक मूल्य
काठमाडौं । कालीमाटी फलफूल तरकारी विकास समितिले साेमबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी रु ६०, गोलभेँडा सानो (तराई) प्रतिकेजी रु २५, आलु रातो प्रतिकेजी रु ३८, आलु रातो (भारतीय) प्रतिकेजी रु ३६, प्याज सुकेको (भारतीय) प्रतिकेजी रु ६६, गाजर (लोकल) प्रतिकेजी रु ४०, गाजर (तराई) प्रतिकेजी रु ३०, बन्दा (लोकल) प्रतिकेजी रु २०, बन्दा (तराई) प्रतिकेजी रु १५, बन्दा (नरिवल) प्रतिकेजी रु १५, काउली स्थानीय प्रतिकेजी रु १२, स्थानीय काउली (ज्यापु) प्रतिकेजी रु २०, काउली (तराई) प्रतिकेजी रु १२, मूला रातो प्रतिकेजी रु २०, मूला सेतो (लोकल) प्रतिकेजी रु २०, सेतो मूला (हाइब्रिड) प्रतिकेजी रु ३०, भन्टा लाम्चो प्रतिकेजी रु ३०, भन्टा डल्लो प्रतिकेजी रु ५० कायम भएको छ । यसैगरी, मटरकोसा प्रतिकेजी रु ५०, घिउ सिमी (लोकल) प्रतिकेजी रु ५०, घिउ सिमी (हाइब्रिड) प्रतिकेजी रु ५०, घिउसिमी (राजमा) प्रतिकेजी रु ८०, टाटे सिमी प्रतिकेजी रु ४०, तितेकरेला प्रतिकेजी रु १३०, लौका प्रतिकेजी रु ५०, फर्सी पाकेको प्रतिकेजी रु ५०, फर्सी हरियो (लाम्चो) प्रतिकेजी–२०, फर्सी हरियो (डल्लो) प्रतिकेजी–२०, सलगम प्रतिकेजी रु १००, भिण्डी प्रतिकेजी रु ११०, सखरखण्ड प्रतिकेजी–८०, पिँडालु प्रतिकेजी रु ९०, स्कुस प्रतिकेजी रु ४०, रायो साग प्रतिकेजी रु १२, पालुङ्गो साग प्रतिकेजी ४५, चमसुरको साग रु ४५, तोरीको साग प्रतिकेजी रु २५, मेथीको साग प्रतिकेजी रु ४५, प्याज हरियो प्रतिकेजी रु ४०, बकुला प्रतिकेजी रु ८०, तरुल प्रतिकेजी रु ९०, च्याउ (कन्य) प्रतिकेजी रु १३०, च्याउ (डल्ले) प्रतिकेजी रु ४०० निर्धारण गरिएको छ । ब्रोकाउली प्रतिकेजी रु ३०, चुकुन्दर प्रतिकेजी रु ८०, रातो बन्दा प्रतिकेजी रु ७०, सजिवन प्रतिकेजी रु २००, जिरीको साग प्रतिकेजी रु ७०, ग्याठकोबी प्रतिकेजी रु ८०, सेलरी प्रतिकेजी रु ४००, पार्सले प्रतिकेजी रु ७००, सौफको साग प्रतिकेजी रु ७०, पुदिना प्रतिकेजी–४००, गान्टे मूला प्रतिकेजी रु ७०, इमली प्रतिकेजी रु १६०, तामा प्रतिकेजी रु १००, तोफु प्रतिकेजी रु १२०, गुन्द्रुक प्रतिकेजी रु ३०० तोकेकोे छ । समितिले स्याउ (झोले) प्रतिकेजी रु २६०, स्याउ (फुजी) प्रतिकेजी रु ३००, केरा (दर्जन) रु १५०, कागती प्रतिकेजी रु १५०, अनार प्रतिकेजी रु ३५०, अङ्गुर (हरियो) प्रतिकेजी रु २५०, अङ्गुर (कालो) प्रतिकेजी रु ३५०, सुन्तला (नेपाली) प्रतिकेजी रु १५०, सुन्तला (भारतीय) प्रतिकेजी रु १००, जुनार प्रतिकेजी रु ११०, भुइँकटर प्रतिगोटा रु २००, काँक्रो (लोकल) प्रतिकेजी रु १३०, काँक्रो (हाइब्रिड) प्रतिकेजी रु ५०, रुखकटहर प्रतिकेजी रु १००, निबुवा प्रतिकेजी रु ६०, नासपाती (चाइनिज) प्रतिकेजी रु २५०, मेवा (नेपाली) प्रतिकेजी रु ६०, मेवा (भारतीय) प्रतिकेजी रु १००, अम्बा प्रतिकेजी रु १२०, लप्सी प्रतिकेजी रु ६०, स्ट्रबेरी (भुइऐँसेलु) प्रतिकेजी रु ५००, किबी प्रतिकेजी रु २५०, आभोकाडो प्रतिकेजी रु ३००, अमला प्रतिकेजी रु ७० निर्धारण गरिएको छ । यसैगरी, अदुवा प्रतिकेजी १२०, खुर्सानी सुकेको प्रतिकेजी रु ४००, खुर्सानी हरियो प्रतिकेजी रु ७०, खुर्सानी हरियो (बुलेट) प्रतिकेजी रु ९०, खुर्सानी हरियो (माछे) प्रतिकेजी रु ५०, खुर्सानी हरियो (अकबरे) प्रतिकेजी रु ३००, भेडे खुर्सानी प्रतिकेजी रु ६०, लसुन हरियो प्रतिकेजी रु ८०, हरियो धनियाँ प्रतिकेजी रु ५०, लसुन सुकेको चाइनिज प्रतिकेजी रु ३००, लसुन सुकेको नेपाली प्रतिकेजी रु ३००, छ्यापी सुकेको प्रतिकेजी रु १६०, छ्यापी हरियो प्रतिकेजी रु २५०, ताजा माछा (रहु) प्रतिकेजी रु ३५०, ताजा माछा (बचुवा) प्रतिकेजी रु २६०, ताजा माछा (छडी) प्रतिकेजी रु २६०, ताजा माछा (मुङ्गरी) प्रतिकेजी रु ४५०, रुख टमाटर प्रतिकेजी १५०, राजा च्याउ प्रतिकेजी रु ३०० र सिताके च्याउ प्रतिकेजी रु ८०० तोकेको छ ।
कर्णालीबाट ४ अर्बको कृषि तथा पशुजन्य उपज निकासी, अनुदान दिएपछि दूध उत्पादन वृद्धि
सुर्खेत । कर्णाली प्रदेशबाट एक वर्षमा रु चार अर्ब बढीको खाद्यन्न, फलफूलसँगै पशु र दुग्धजन्य पदार्थ निकासी हुने गरेको छ । भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेशका अनुसार गत आर्थिक वर्ष २०८०/८१ मा रु चार अर्ब बढीको खाद्यन्न, फलफूल, खसी बोका र दुग्धजन्य पदार्थ निकासी भएको हो । आर्थिक वर्ष २०७९/८० मा पनि कर्णाली प्रदेशका दश जिल्लाबाट चार अर्ब सात करोड १८ लाख ६६ हजारको खाद्यन्न, फलफूल तथा खसी बोका निकासी भएको थियो । विशेषगरी कर्णालीबाट खाद्यन्नमा मकै, कोदो, कागुनो चिनो, फापरलगायतका रैथाने बाली निकासी हुने गरेको छ, भने तरकारी, तरकारीको बीउ, सुन्तला, स्याउ, अदुवा, बेसार, आलु लगायतका वस्तु निकासी हुने गरेको छ । यी वस्तु बाँकेको नेपालगञ्ज, बुटवल, चितवन, काठमाडौँ, पोखरा तथा कैलाली, कञ्चनपुरमा निकासी हुने गरेको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता धनबहादुर कठायतले जानकारी दिए । उनका अनुसार कृषि उपज निकासीबाट कर्णालीमा बर्सेनि करिब रु दुई अर्ब रकम भित्रिने गरेको छ । आर्थिक वर्ष २०७९/८० मा कर्णाली प्रदेशले कृषि वस्तु निकासीबाट एक अर्ब ७९ करोड रकम भित्रयाएको थियो । भने गत आर्थिक वर्षमा करिब दुई अर्बको आम्दानी कृषि वस्तुबाट गरिएको उनले बताए । यसैगरी, पशुपक्षीजन्य उपज निर्यात गरी कर्णाली प्रदेशले रु दुई अर्ब ३० करोड रकम वार्षिक आम्दानी गर्ने गरेको छ । पशुपक्षी अन्तर्गत खसीबोका निकासीबाट मात्रै वार्षिक एक अर्ब ९६ करोडको आम्दानी हुने गरेको पशुपक्षी निर्देशनालयले जनाएको छ । वार्षिक एक लाख २३ हजार मेट्रिक टन खसीबोका निकासी हुने गरेको निर्देशनालयको तथ्याङ्क छ । यस्तै दूध बिक्रीबाट ३० करोड ३३ लाख आम्दानी हुने गरेको छ । कर्णालीबाट, राडीपाखी, खरायोको टोपी, कोटको कपडालगायतका पशुजन्य उपज निकासी हुने गरेको छ । दूधमा अनुदान दिएपछि उत्पादनमा वृद्धि कर्णाली प्रदेश सरकारले दूध उत्पादक किसानलाई दूधमा अनुदान दिँदै आएको छ । माथिल्लो कर्णालीका हुम्ला, जुम्ला, कालीकोट, मुगु र डोल्पाका किसानले उत्पादन गर्ने दूधको लागि लिटरमा १० रुपैयाँ र तल्लो कर्णालीका सुर्खेत, दैलेख, रुकुम पश्चिम, सल्यान, जाजरकोटका किसानले उत्पादन गर्ने दूधमा लिटरमा ५ रुपैयाँ अनुदान दिँदै आएको छ । जसले गर्दा किसान पशुपालन व्यवसाय आकर्षित हुन थालेका हुन भने दूधको उत्पादनमा समेत वृद्धि भएको छ । अहिले कर्णालीमा खपत भएर पनि वार्षिक पाँच हजार दुई सय ६० मेट्रिक टन दूध निकासी हुने गरेको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । मन्त्रालयका प्रवक्ता कठायत भन्छन्,’विगतमा माथिल्लो कर्णालीमा पाउडर दूधको प्रयोग हुने गरेको थियो । जव प्रदेश सरकारले दूधमा अनुदान दिन थाल्यो अहिले दूध उत्पादनमा वृद्धि भएको छ, अब प्रदेश करिब दूधमा आत्मनिर्भर हुँदै गएको छ ।’ प्रदेश सरकारले युवा लक्षित कार्यक्रम ल्याएको भन्दै व्यवसाय गर्ने किसानका लागि सरकारले विशेष कार्यक्रम सञ्चालन गरिरहेको कठायतले जानकारी दिए । प्रदेश सरकारले व्यवसाय गर्ने किसानको लागि ब्याज अनुदानदेखि उत्कृष्ट किसान पहिचान गरी पुरस्कृत गर्ने गरेको उनको भनाइ छ । रासस
बुद्ध र यती एयरको भ्यालेन्टाइन डे अफरः जोडी यात्रुलाई १ हजार ४ सय रुपैयाँसम्म छुट
काठमाडौं । निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयर र यती एयरलाइन्सले ‘भ्यालेन्टाइन’ अर्थात् प्रणय दिवसका अवसरमा विभिन्न ‘अफर’ सार्वजनिक गरेका छन् । बुद्ध एयरले एउटा टिकटमा अर्को निःशुल्क अफर ल्याएको छ । तर, यस्तो अफर पर्वतीय उडान (माउन्टेन फ्लाइट) मा मात्रै भएको कम्पनीले विज्ञप्तिमार्फत जनाएको छ । कम्पनीले १४ फेब्रुअरीका दिन मनाइने प्रणय दिवसलाई थप स्मरणीय मनाउन भ्यालेन्टाइन अफर ल्याएको जनाएको छ । यती एयरलाइन्सले जुनसुकै गन्तव्यमा यात्रा गर्ने जोडी यात्रुलाई १ हजार ४०० रुपैयाँसम्म छुट दिएको जनाएको छ । यती एयरलाइन्सको ‘मोबाइल एप’ वा ‘वेबसाइट’मा ‘यतीमाया’ ‘प्रोमोकोड’ प्रयोग गरेर यस्तो अफर लिन सकिने कम्पनीले जनाएको छ । फेब्रुअरी ७ देखि १४ तारिखसम्मको अवधिमा यात्रा गर्ने सात जोडीलाई ‘लक्की ड्र’मार्फत होटल सरोवर पोखरामा एक रात बासको अवसर प्राप्त गर्नेछन् । एकाबिहानै हुने पर्वतीय उडानमा एउटा टिकटमा अर्को टिकट सित्तैमा दिएको बुद्ध एयरले विज्ञप्तिमार्फत जनाएको छ । पर्वतीय उडानमा सगरमाथा, नुप्त्से, ल्होत्से, मकालु, गौरीशङ्करलगायत हिमशृङ्खलाको अवलोकन गर्न सकिनेछ । अफरको टिकट बुद्ध एयरको काउन्टरबाट लिन सकिने कम्पनीले जनाएको छ ।
सेयर बेचेर प्रभु महालक्ष्मी लाइफबाट बाहिरिँदै संस्थापक कालिकोटा र श्रेष्ठ
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा राखिएको छ । कम्पनीका दुई जना संस्थापक सेयरधनीले १ लाख बढी कित्ता सेयर बिक्रीमा राखेका हुन् । कम्पनीका अनुसार संस्थापक सेयरधनी शंकर प्रसाद कालिकोटा र सुयोग श्रेष्ठले आफ्नो स्वामित्वमा रहेको १ लाख ५ हजार ४०७ कित्ता सेयर बिक्री गरेर बाहिरिने भएका हुन् । कालिकोटाले आफ्नो स्वामित्वमा रहेको १२ हजार ७८ कित्ता र श्रेष्ठले ९३ हजार ३२९ कित्ता सेयर बिक्रीमा राखेका हुन् । कम्पनीको सेयरमा हाल कायम संस्थापक सेयरधनीहरूले मात्रै आवेदन दिन पाउने छन् । खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । यदि उक्त अवधिभित्र आवेदन नदिए सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिने कम्पनीले जनाएको छ ।