कोरियाली युद्ध अन्त्य गर्न राष्ट्रपति लीको आह्वान, उत्तर कोरियासँग संवादको प्रस्ताव
काठमाडौं । दक्षिण कोरियाका राष्ट्रपति ली जे–म्युङले कोरियाली युद्धलाई औपचारिक रूपमा अन्त्य गर्न र उत्तर कोरिया (डीपीआरके) सँग शान्तिपूर्ण सहअस्तित्वका लागि संवादको आह्वान गरेका छन् । जापानी औपनिवेशिक शासनबाट कोरियाली प्रायद्वीप मुक्त भएको ८१ औं वार्षिकोत्सवका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति लीले दुवै मुलुकलाई अनावश्यक टकराव त्यागेर आपसी सम्मान र साझा समृद्धिको बाटोमा लाग्न आग्रह गरे । आफ्नो सम्बोधनका क्रममा राष्ट्रपति लीले शान्तिपूर्ण सहअस्तित्वका लागि एक विशेष मार्गचित्र (रोडम्याप) प्रस्तुत गरे । उनले कोरियाली युद्धका प्रत्यक्ष सरोकारवाला पक्षहरूबीच वार्ताको माध्यमबाट हाल कायम रहेको अस्थिर युद्धविराम सम्झौतालाई स्थायी शान्ति संयन्त्रमा रूपान्तरण गर्नुपर्नेमा जोड दिए । यो प्रस्ताव गत वर्षको मुक्ति दिवसमा राष्ट्रपति लीले व्यक्त गरेको प्रतिवद्धताकै निरन्तरताका रूपमा आएको हो । सो समयमा उनले सियोलले उत्तर कोरियाको राजनीतिक प्रणालीको सम्मान गर्ने, जबर्जस्ती गाभ्ने प्रक्रिया अवलम्वन नगर्ने र कुनैपनि शत्रुतापूर्ण गतिविधि नगर्ने घोषणा गरेका थिए । ती सिद्धान्तहरूलाई व्यवहारमा उतार्न आवश्यक कदमहरू चाल्न आफू तयार रहेको उनले उल्लेख गरे । राष्ट्रपति लीले दुई कोरियाबीचको वैचारिक र संस्थागत शत्रुतालाई क्रमशः न्यूनीकरण गर्दै लैजानुपर्ने धारणा व्यक्त गरे । उनले दुवै पक्षले एकअर्काको अस्तित्वलाई स्वीकार गर्दै साझा विकासका सम्भावनाहरू खोजी गर्न संवादको टेबलमा बस्नुपर्ने बताए । सहअस्तित्वलाई दिगो बनाउनका लागि दक्षिण कोरियाले तनाव र द्वन्द्व व्यवस्थापन गर्ने संयन्त्रहरू स्थापना गर्ने तथा संकट बढ्न नदिन विभिन्न सुरक्षात्मक उपायहरू अवलम्वन गर्ने उनको योजना छ । साथै कोरियाली प्रायद्वीपको सुरक्षा वातावरणको वृहत मूल्याङ्कन गरी सक्रिय र निरन्तर शान्ति प्रक्रिया अगाडि बढाइने राष्ट्रपति लीले प्रतिबद्धता व्यक्त गरे । अन्त्यमा उनले कोरियाली युद्धको औपचारिक अन्त्य र वर्तमान युद्धविरामको सट्टा स्थायी शान्ति सन्धि स्थापना गर्न प्रत्यक्ष संलग्न पक्षहरूबीचको वार्ता अपरिहार्य रहेको पुनः दोहोर्‍याए ।
तृणमुल कंग्रेसका नेता तथा पूर्वमन्त्री आशीष बनर्जीको शव पार्टी कार्यालयमा फेला
काठमाडौं । ममता बनर्जी नेतृत्वको सरकारमा मन्त्री तथा विधानसभा उपाध्यक्षसमेत रहेका आशीष बनर्जीको शव आइतबार बिहान उनको निवाससँगै रहेको पार्टी कार्यालयमा भेटिएको छ । उनी पश्चिम बंगालको बीरभूम जिल्लास्थित रामपुरहाट विधानसभा क्षेत्रबाट लगातार पाँच पटक विधायक निर्वाचित भएका थिए । प्रहरीका एक वरिष्ठ अधिकारीका अनुसार एउटा कोठामा उनको शव फेला परेको थियो । उनको निधनको कारणबारे हाल अनुसन्धान भइरहेको छ । प्रहरी स्रोतका अनुसार शव नजिकै एउटा सुसाइड नोट पनि फेला परेको छ । यद्यपि अधिकारीहरूले त्यसबारे थप जानकारी दिन अस्वीकार गरेका छन् । शवलाई पोस्टमार्टमका लागि पठाइएको छ । आशीष सन् २००१ देखि लगातार रामपुरहाटबाट चुनाव जित्दै आएका थिए । तर यस वर्षको निर्वाचनमा उनी भाजपा उम्मेदवार ध्रुव साहासँग पराजित भएका थिए । स्थानीय बासिन्दाले सबैभन्दा पहिले आशीषको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थल पुगेको रामपुरहाट प्रहरी टोलीले शव बरामद गरेको हो । आशीष बनर्जी ममता बनर्जी नेतृत्वको सरकारमा विद्यालय शिक्षा तथा कृषि मन्त्रीसमेत भएका थिए । सन् २०२१ मा उनलाई विधानसभा उपाध्यक्ष बनाइएको थियो । आशीषले बर्दवान विश्वविद्यालयबाट बंगाली विषयमा विद्यावारिधि गरेपछि रामपुरहाट कलेजमा अध्यापनबाट आफ्नो करियर सुरु गरेका थिए । पछि उनी राजनीतिमा प्रवेश गरेका थिए । उनलाई ममता बनर्जीका निकट नेताका रूपमा चिनिन्थ्यो ।
नेपालमै बनेको विद्युतीय ‘यात्री पीटू’ स्कुटर हेरेर अर्थमन्त्रीले भने- अघि बढ्नुहोस्, सरकार साथमा छ
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमै बनेको विद्युतीय स्कुटरको प्रवद्र्धनका लागि सरकारको साथ रहने बताएका छन् । सिप्रदी यात्रीद्वारा काठमाडौंको बुढानीलकण्ठस्थित कारखानामा तयार पारिएको नेपालमै बनेको पहिलो विद्युतीय स्कुटर ‘यात्री पीटू’ बनाउने प्रक्रियाको कारखानामै पुगेर अवलोकन गर्दै उनले यस्तो बताएका हुन् । ‘तपाईंहरूले गरेको मेहनत सह्रानीय छ । यात्री पीटू विद्युतीय स्कुटर नेपालमै डिजाइन भएर निर्माण हुनु सुखद कुरा हो,’ अर्थमन्त्री डा. वाग्लेले भने ‘गुणस्तरमा विश्वस्तरीय प्रतिस्पर्धामा अब्बल हुनुहोला। अघि बढ्नुहोस् । सरकार तपाईंहरूको साथमा छ ।’ नेपालले आफैँ डिजाइन गरेर दुईपांग्रे विद्युतीय सवारीसाधन निर्माण गर्नु आफैँमा ऐतिहासिक कदम भएको बताउँदै अर्थमन्त्री वाग्लेले यसलाई विश्व बजारसम्म फैलाउन र प्रतिस्पर्धामा अब्बल हुन पनि सुझाव दिए । ‘एप्पलको डिजाइन क्यालिफोर्नियामा हुन्छ, उत्पादन चीनमा हुन्छ । सकेसम्म तपाईंहरू नेपालमै गर्नुहोस् । सरकारले के–के सहयोग गर्नुपर्ने हो भन्नुस् तर, विश्व बजारमा फैलन अरू के–के गर्न सकिन्छ त्यसमा पनि सोच्नुहोला,’ अर्थमन्त्री डा. वाग्लेले भने ‘नेपाली इन्जिनियर र डिजाइनरहरूले गरेको यो मेहनतको म सम्मान गर्छु ।’ नेपालमा बनेको स्कुटरले विश्व बजारमा चलिरहेका ब्रान्डहरूलाई जित्न सकोस् भन्ने शुभकामना पनि उनले दिए । नेपालमा बनेको स्कुटर अमेरिकी पहाडहरूमा समेत दौडिन सकून् भन्दै अर्थमन्त्रीले प्रवासमा रहेका नेपालीहरूलाई यो ब्रान्ड मन परोस् र नेपालीहरूले खोजीखोजी चढेको हेर्न पाइयोस् भन्ने शुभकामना व्यक्त गरे । सो क्रममा अर्थमन्त्री डा.वाग्लेलाई यात्री विद्युतीय बाइकका संस्थापक तथा सीईओ असिम पाण्डेले नयाँ बनाइएको स्कुटर (यात्री पीटू) को डिजाइन, सुरक्षा जाँच, त्यसमा प्रयोग हुने पार्टपुर्जा र स्कुटरको सफल परीक्षणको अनुभवबारे जानकारी गराए । यस्तै, सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले आफूहरूले विद्युतीय स्कुटर नेपालमै डिजाइन र उत्पादन गरेर ऐतिहासिक सफलता हासिल गरेको बताए । दुईपांग्रे सवारीसाधनको डिजाइन र उत्पादन नेपालमै गर्नु र त्यसका केही विशेषता विश्वमै नभएको उच्चस्तरीय र विशिष्ट हुनु नयाँ सफलता भएको उनको भनाइ छ । नेपालको कठिन र जटिल पहाडी तथा हिमाली भूभागहरूमा सफल परीक्षणपछि यस्तो स्कुटरलाई छिट्टै सर्वसाधारणलाई बिक्रीका लागि सार्वजनिक गर्ने तयारी भइरहेको श्रेष्ठले बताए । दुईपांग्रे विद्युतीय सवारीसाधनमा डीसी चार्जर भएको स्कुटर नेपालमा निर्माण हुनु विश्वकै पहिलो सफलता भएको कम्पनीका अधिकारीहरूको दाबी छ । प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बजारमा प्रतिस्पर्धा गर्न सक्ने गरी नेपाली उत्पादनलाई प्रोत्साहन गर्न सरकारले विद्युतीय ब्याट्री र स्कुटरका पार्टपुर्जा बनाउने कच्चा पदार्थमा केही सहुलियतपूर्ण नीति लिनुपर्ने बताए । केही दिनमै सार्वजनिक गर्ने तयारी भइरहेको सो स्कुटर अहिलेलाई भने गोप्य राखिएको छ । नेदरल्याण्ड्सबाट इन्जिनियरिङ सकेर नेपाल फर्किएका असिम पाण्डेले २०१७ मा विद्युतीय मोटरसाइकल बनाउने भन्दै स्टार्टअप कम्पनी ’यात्री मोटरसाइकल’ खोलेका थिए । सोही कम्पनी अहिले भने नेपालको अग्रणी गाडी बिक्रेता कम्पनी ’सिप्रदी ट्रेडिङ’सँगको व्यावसायिक सहकार्यमा ’सिप्रदी यात्री’ बनेको छ । यही कम्पनीले पहिलो पटक नेपालमै आफ्नै डिजाइन, इन्जिनियरिङ र भारतको दुईपांग्रे सवारीसाधनको गुणस्तर परीक्षण गर्ने निकायमा गुणस्तर जाँच गराएर विद्युतीय दुईपांग्रे स्कुटर ‘यात्री पीटू’ निर्माण गरेको हो ।
३ हजार ६ सय रुपैयाँले बढ्यो सुनको मूल्य
काठमाडौं । नेपाली बजारमा आइतबार (आज) सुनको मूल्य तोलामा ३ हजार ६०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलाको ३ लाख ५ हजार २०० रुपैयाँ कायम भएको छ । शुक्रबार सुन प्रतितोला ३ लाख १ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ । प्रतितोलामा ५० रुपैयाँले बढी ४ हजार ७१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । शुक्रबार एक तोला चाँदी ४ हजार ६६० रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ३७७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
इरानी पुरुषको उचाइ विश्वमै सबैभन्दा धेरै बढ्यो, महिलामा दक्षिण कोरियाको रेकर्ड
काठमाडौं । पछिल्लो शताब्दीमा इरानी पुरुषको औसत उचाइ विश्वमै सबैभन्दा धेरै बढेको देखिएको छ । सन् १८९६ देखि १९९६ सम्मको १०० वर्षको अवधिमा इरानी पुरुषको औसत उचाइ करिब १६.५ सेन्टिमिटर बढेको थियो । यो वृद्धि केही सीमित व्यक्तिमा मात्र नभई करिब सम्पूर्ण जनसंख्यामा देखिएको हो । सोही अवधिमा बेलायती पुरुषको उचाइ ११ सेन्टिमिटर र अमेरिकी पुरुषको उचाइ ६ सेन्टिमिटर बढेको थियो । यस आधारमा इरान सबैभन्दा अगाडि रहेको छ । महिलातर्फ भने दक्षिण कोरियाली महिलाको उचाइ सबैभन्दा धेरै बढेको पाइएको छ । स्पेस डेलीका अनुसार पुरुषको उचाइसम्बन्धी यो तथ्य सन् २०१६ मा प्रकाशित एउटा अध्ययनबाट लिइएको हो । ‘वयस्क मानिसको उचाइमा एक शताब्दीको प्रवृत्ति’ शीर्षकको यो अध्ययन एनसीडी रिस्क फ्याक्टर कोलाबोरेसनले इलाइफ जर्नलमा प्रकाशित गरेको थियो । अध्ययनको नेतृत्व इम्पेरियल कलेज लन्डनका अनुसन्धानकर्ताले गरेका थिए। उनीहरूले विश्व स्वास्थ्य संगठनसँग सहकार्य गरेका थिए । अनुसन्धान टोलीले १ करोड ८६ लाखभन्दा बढी मानिसमा गरिएको १ हजार ४७२ वटा जनसंख्यामा आधारित अध्ययनको विभिन्न चरणमा विश्लेषण गरेको थियो । त्यसका आधारमा २०० देशमा सन् १८९६ देखि १९९६ सम्म जन्मिएका मानिसको औसत वयस्क उचाइको अनुमान गरिएको थियो । यस क्रममा इरानी पुरुषको औसत उचाइमा सबैभन्दा धेरै वृद्धि देखियो । २०औं शताब्दीमा इरानी पुरुषको उचाइ १६.५ सेन्टिमिटर बढेको थियो । यसको ९५ प्रतिशत विश्वसनीय अन्तराल १३.३ देखि १९.७ सेन्टिमिटरसम्म रहेको थियो । महिलातर्फ भने दक्षिण कोरियाली महिला सबैभन्दा अगाडि रहे। उनीहरूको औसत उचाइ २०.२ सेन्टिमिटर बढेको अध्ययनले देखाएको छ । अध्ययनले उचाइमा भएको परिवर्तन देखाए पनि यसको ठ्याक्कै कारण भने निर्धारण गरेको छैन । तर अनुसन्धानकर्ताहरूले राम्रो पोषण र स्वस्थ वातावरणलाई यसको सम्भावित कारणका रूपमा औंल्याएका छन् । बाल्यकालमा पर्याप्त पोषण पाउने र राम्रो वातावरणमा हुर्किने बालबालिका तुलनात्मक रूपमा अग्लो हुने गर्छन् । गर्भावस्थामा आमाको स्वास्थ्यले पनि बच्चाको शारीरिक विकासमा प्रभाव पार्न सक्छ । तर उचाइलाई स्वास्थ्यको निश्चित मापदण्ड भने मान्न नसकिने अनुसन्धानकर्ताहरू बताउँछन् । इम्पेरियल कलेजका प्रोफेसर माजिद इजातीले यसलाई एक प्रकारको ‘स्वास्थ्यको तस्वीर’ का रूपमा व्याख्या गरेका छन् । उनका अनुसार यो अध्ययनले पछिल्लो शताब्दीमा विभिन्न देशका मानिसको स्वास्थ्य अवस्थाको समग्र तस्वीर बुझ्न सहयोग गर्छ । कतिपय देशमा मानिसको औसत उचाइ घटिरहेको देखिन्छ भने कतिपय देशमा मानिस झन् अग्ला हुँदै गएका छन् । उचाइ बढेका देशलाई ‘विजेता’ र उचाइ घटेका देशलाई खराब अवस्थाको संकेतका रूपमा हेर्न सजिलो हुन्छ । तर अध्ययनको मुख्य विषय उचाइ आफै भने होइन । उचाइलाई बाल्यकालमा मानिसले पाएको पोषण, स्वास्थ्य सेवा र जीवनयापनको अवस्थाको अप्रत्यक्ष संकेत का रूपमा बुझ्न सकिन्छ । यस्ता पक्षलाई १०० वर्षको लामो अवधिमा प्रत्यक्ष रूपमा मापन गर्न कठिन हुने भएकाले उचाइ एउटा उपयोगी संकेत बन्न सक्छ । पछि एनसीडी–आरआइएससीको अर्को अध्ययनले यो विषयलाई थप स्पष्ट पारेको थियो । अध्ययनमा धेरै देशमा पाँच वर्ष उमेरका बालबालिकाको उचाइ र तौल सामान्य देखिए पनि विद्यालय जाने उमेरमा उनीहरू विकासको हिसाबले पछि परेको पाइएको थियो । यसले विद्यालय जाने उमेरमा समेत पोषण, स्वास्थ्य र जीवनयापनको वातावरणले बालबालिकाको शारीरिक विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने देखाउँछ ।
नाटामा पद मात्र पाएको छैन, दृष्टिकोणसहित जिम्मेवारी पाएको छु: अध्यक्ष पाण्डे
काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाटा)को निर्वाचनमा भरत जंग पाण्डे अध्यक्षमा निर्वाचित भएका छन् । निर्वाचन परिणाम आएसँगै उनले विकासन्युजसँग संक्षिप्त कुराकानी गर्दै काँधमा अब एउटा पद मात्रै आएको छैन, नाटालाई नयाँ सोच, नयाँ कार्यशैली र संस्थागत सुधारको बाटोमा अघि बढाउने जिम्मेवारी र अवसर पनि आएको बताएका छन् । ‘निर्वाचित हुनु भनेको पुनः नयाँ विद्यालयमा प्रवेश गरेजस्तै भएको छ,’ उनले भने,’ मेरो लागि सबैभन्दा ठूलो परीक्षा पनि हो र राम्रो गर्नका लागि सुनौलो यात्रा गर्ने अवसर आएको छ ।’ पाण्डेका अनुसार निर्वाचन अभियान यसपटकको प्रतिस्पर्धा अरू निर्वाचनभन्दा केही फरक देखियो । न त ठूलो भोजभतेर, न त अनावश्यक भीडभाड । न त शक्ति प्रदर्शनको होड, न त तडकभडक। साथीभाइसँग सामान्य छलफल, भेटघाट र संवादमार्फत आफ्ना एजेण्डा मतदातासम्म पुर्याउने प्रयास भयो । पाण्डेले मतदातालाई आफ्ना एजेण्डा सुनाउने मात्र गरेनन्, उनीहरूका कुरा पनि सुने। नाटा परिवारभित्रका समस्या, अपेक्षा र संस्थालाई परिवर्तन गर्नुपर्ने विषयमा निरन्तर सुझाव लिए । नेतृत्व भनेको भाषण गर्ने मात्रै होइन, सुन्ने र त्यसअनुसार काम गर्ने जिम्मेवारी पनि हो भन्ने सन्देश पाण्डेले अभियानमा बनाएका थिए । निर्वाचनका क्रममा उनले संस्थामा देखिएका कमजोरीप्रति पनि गम्भीर चासो राखे । ‘बिग्रिएपछि सुधार्ने’ भन्दा ‘बिग्रिन नदिन सचेत हुने’ सोच आवश्यक रहेको उनले धारणा राखे । संस्थाको आजको अवस्थालाई मात्र हेरेर होइन, भोलिको नाटालाई कस्तो बनाउने भन्ने दीर्घकालीन दृष्टिकोणका साथ उनले मत मागे । उनी एक मतले शताब्दीसम्म काम गर्छ भनेर गम्भीर बनेका थिए । ‘पाण्डेको बुझाइमा नाटा एउटा निर्वाचनबाट आउने र जाने नेतृत्वको संस्था मात्र होइन । पर्यटन तथा ट्राभल व्यवसायीहरूको साझा आवाज, व्यावसायिक हितको प्रतिनिधि र नेपालको पर्यटन क्षेत्रसँग जोडिएको महत्वपूर्ण संस्था हो । नाटाको गरिमा, प्रभाव र ऐतिहासिक महत्वलाई अझ उचाइमा पुर्याउनुपर्ने आवश्यकता रहेको उनको ठहर छ । यही सोचका साथ उनी निर्वाचनमा होम्मिए । निर्वाचनको अन्तिम नतिजा आएपछि नाटालाई भोलिको पुस्ताले पनि गर्वका साथ सम्झन सक्ने संस्था बनाउने पाण्डे बताउँछन् । ‘अब निर्वाचन सकिएको छ। प्रतिस्पर्धाको अध्याय बन्द भएको छ र कामको अध्याय सुरु भएको छ । निर्वाचनमा व्यक्त गरिएका प्रतिबद्धतालाई व्यवहारमा उतार्नु नै नयाँ नेतृत्वको वास्तविक परीक्षा हुनेछ,’ पाण्डे गम्भीर सुनिन्छन् । उनका लागि चुनौती निर्वाचनका बेला सुनेका आवाजलाई निर्णयको आधार बनाउने, संस्थाभित्रको एकतालाई बलियो बनाउने, व्यवसायीका समस्या समाधानका लागि प्रभावकारी पहल गर्ने र नाटाको संस्थागत क्षमता अझ मजबुत बनाउने हो । पाण्डेको अनुसार नाटाको नेतृत्व पद प्राप्त गर्ने विषय मात्र होइन, संस्थाको भविष्य निर्माण गर्ने जिम्मेवारी हो । अब यस नेतृत्वले संकल्पलाई कति व्यवहारमा उतार्छ, त्यसको मूल्यांकन समयले गर्नेछ। पद आउने र जाने क्रम चलिरहन्छ । मानिसले गरेको कामले संस्थालाई जीवन्त राख्नेछ । निर्वाचित भएसँगै उनले नाटालाई केवल वर्तमानमा मात्र चलाउने नभइ इतिहासले सम्झने गरी संस्थाको महत्व र गरिमा कायम राख्ने उल्लेख गरे । नाटाको ५९ औं शुक्रबार भएको निर्वाचनमा १८८ मत प्राप्त गरी उनी निर्वाचित भएका हुन् ।
इरानी सांसदको चेतावनी– ट्रम्पले हर्मुजको चिन्ता छाडी आफ्नो सुरक्षाको चिन्ता गरून्
काठमाडौं । इरानको संसद्को राष्ट्रिय सुरक्षा तथा विदेश नीति समितिका प्रमुख इब्राहिम अजिजीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज स्ट्रेटबारे दिएको बयानको प्रतिक्रिया जनाएका छन् । अजिजीले ट्रम्पलाई हर्मुज स्ट्रेटबारे लगातार धम्की दिनुको सट्टा आफ्नो सुरक्षाको चिन्ता गर्न सुझाव दिएका छन् । उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन् कि आफ्नो सुरक्षाका लागि ट्रम्पले सम्भवतः ‘खाना बोक्ने ट्रक’मा लुक्नुपर्ने अवस्था आउन सक्छ । अजिजीको यो प्रतिक्रिया ट्रम्पले अघिल्लो रात आफूले ‘हर्मुज स्ट्रेटलाई अमेरिकी क्षेत्र घोषणा गर्ने’ बताएको भनाइपछि आएको हो । पछि ह्वाइट हाउसले ट्रम्पले उक्त कुरा मजाकका रूपमा भनेको स्पष्ट पारेको थियो । यद्यपि उनको उक्त भनाइको सञ्चारमाध्यममा व्यापक चर्चा भएको छ भने इरानका विभिन्न अधिकारी तथा राजनीतिक नेताहरूले पनि त्यसबारे प्रतिक्रिया दिएका छन् ।
नयाँ भनिएका राजनीतिक शक्तिमा शासन गर्ने न्यूनतम दक्षतासमेत छैन : ओली
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारको कार्यशैली र नेतृत्वको अनुभवहीनताका कारण देश बरबादीतर्फ उन्मुख रहेको बताएका छन् । इलाममा आयोजित लोकतान्त्रिक आदिवासी जनजाति महासंघ, नेपालको केन्द्रिय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले अदूरदर्शी र अनुभव नभएका शक्तिहरूका कारण मुलुक संकटतर्फ धकेलिएको दाबी गरेका हुन् । अध्यक्ष ओलीले प्रधानमन्त्री बालेन्द्र शाहप्रति लक्षित गर्दै सरकार सञ्चालनलाई कला र अनुभवसँग तुलना गरे । नयाँ भनिएका राजनीतिक शक्तिहरूमा शासन गर्ने न्यूनतम दक्षतासमेत नभएको उनको टिप्पणी छ । अनुभवहीन सरकारले जे गर्न सक्थ्यो, त्यही मात्र गरिरहेको ओलीले बताए । खाना पकाउन नजान्ने बच्चालाई भान्साको जिम्मेवारी दिएजस्तै नयाँ भनिएकाहरूले प्रक्रिया पनि नबुझेको र नतिजा दिन पनि नसक्ने जिकिर उनले गरे । सिक्दै नसकेका र प्रक्रिया नबुझेका व्यक्तिहरूले देश चलाउन खोज्दा उल्टै क्षति पुगिरहेको उनको भनाइ छ । ओलीले सीप नभएको मानिसलाई बाजा बजाउन वा नृत्य गर्न लगाउँदा आउने परिणामजस्तै वर्तमान सरकारको अवस्था रहेको उल्लेख गरे । अनुभवी र दक्ष नेतृत्वको अभावमा देशको अवस्था बिग्रिएको तर्क गर्दै उनले ‘उरन्ठेउला’ व्यक्तिहरूका कारण राष्ट्रिय राजनीति र प्रशासनमा बेथिति मौलाएको आरोप लगाए । संविधानको रक्षाका विषयमा बोल्दै पूर्वप्रधानमन्त्री ओलीले वर्तमान अवस्थामा संविधानको उल्लंघन भइरहेको र यसलाई सही बाटोमा फर्काउनु अनिवार्य रहेको बताए । अध्यक्ष ओलीले मुलुकको हितका लागि सक्षम र अनुभवी नेतृत्वको विकल्प नरहेको भन्दै कार्यकर्ताहरूलाई संविधानको रक्षा र देशको विकासका लागि सचेत रहन निर्देशन समेत दिए ।