इरानका विदेशमन्त्रीसँग आरजुको भेटवार्ता, विपीनको रिहाइका लागि कुटनीतिक पहल गरिदिन आग्रह
काठमाडौं । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र इस्लामिक गणतन्त्र इरानका विदेशमन्त्री अब्बास अराघ्चीबीच सोमबार ओमनको मस्कटमा भेटवार्ता भएको छ । आठौं हिन्द महासागर सम्मेलनमा सहभागिताका लागि ओमनको राजधानी मस्कटमा रहेकी परराष्ट्रमन्त्री डा देउवा र इरानी विदेशमन्त्रीबीच भेटावर्ता भएको हो । सो वार्ताका क्रममा नेपाल इरान सम्बन्ध र आपसी हितका विषयमा कुराकानी भएको थियो । साथै त्यस अवसरमा मन्त्री डा देउवाले हमास समूहको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीको रिहाइको कूटनीतिक पहल गरिदिन इरानी विदेशमन्त्रीसँग आग्रह गरेका थिइन् । हमासको नियन्त्रणमा रहेका युवा विपिनको रिहाइका लागि पहल गरिदिन आग्रह गर्दै मन्त्री डा देउवाले केही दिनअघि पनि इरानी विदेशमन्त्री अराघ्चीसँग फोनमा कुराकानी गरेकी थिइन् । आज भएको भेटका क्रममा विदेशमन्त्री अराघ्चीले हमासका अधिकारीसँग आफूले विपिन रिहाइको मुद्दा प्राथमिकताका साथ उठाउने आश्वासन दिएका थिए । नेपाली युवा विपिनलाई हमासबाट मुक्त गर्न आफूले सक्दो पहल गर्ने आश्वासन उनले दिएका थिए । सन् २०२३ को अक्टोबरमा हमासको अपहरणमा परेका विपिनलाई मुक्त गर्न नेपाल सरकारले कूटनीतिक पहल जारी राखेको छ । यसक्रममा मन्त्री डा देउवाले हिजोमात्र पनि कतारका विदेश राज्यमन्त्रीसँग सो अपिल गरेका थिए । यसका लागि नेपाल सरकारले गत वर्षदेखि नै कूटनीतिक प्रयास जारी राखेको छ । मन्त्री डा देउवाले संयुक्त राष्ट्रसङ्घ, अन्तर्राष्ट्रिय एवं क्षेत्रीय मञ्चहरू र बैठकहरूमार्फत विपिनको रिहाइका लागि कूटनीतिक पहल गरिरहेकी छिन् ।
उद्यमीहरूको जोड-अनुदान पाउनकै लागि कृषिखेती गर्ने प्रवृत्ति धेरै, वास्तविक किसानलाई मात्रै दिऔं
काठमाडौं । सरकारले दिने अनुदान र सहुलियत ऋण वास्तविक किसानलाई मात्रै दिनुपर्नेमा कृषि उद्यमीहरुले जोड दिएका छन् । सरकारले कृषि क्षेत्रमा पर्याप्त लगानी गर्नुपर्ने उनीहरुको भनाइ छ । बज्रबराई च्याउ उत्पादन उद्योगका सञ्चालक विकास देशारले नियमित मौसमी खेती गर्नेहरुले नभई नियमतिक कृषि खेती गरिरहेका कृषकहरुले सरकारी अनुदान सहयोग पाउनुपर्ने बताए । उनले अनुदान पाउनकै लागि कृषि खेती गर्ने प्रवृत्ति मौलाउँदै जाँदा सरकारी बजेटको दुरुपयोग भइरहेको बताए । कृषि अनुदान र सहुलियतमा ऋण कृषि उत्पादनको आधारमा दिनुपर्ने उनको भनाइ छ । खेती र उत्पादनसम्बन्धी आधारभूत ज्ञान समेत नभएका किसानलाई अनुदान दिँदा समस्या झनै जटिल बन्दै जाने जानकारी दिए । ‘नियमित कृषि खेती गरिरहेका किसानहरुले अनुदान पाउनैपर्छ । अहिले बढी हल्ला गर्ने किसानहरु कस्ता किसानहरु हुन्छन् भने मौसमी किसान हुन्छन् । यदि अनुदानसम्बन्धी कुनै कार्यक्रम आयो भने उनीहरु नयाँ किसान भनेर एकैचोटि हाम फाल्ने गर्छन्,’ उनले भने । एसएस एग्रीकल्चर फार्मका सञ्चलाक प्रदीप सिम्खडाले कृषि व्यवसाय गर्ने किसानले शुरुवाती चरणमा सरकारी अनुदान पाउनुपर्ने बताए । उनले स्थापित भइसके पछिका किसानले अनुदान नपाएपनि व्यवसाय अगाडि बढाउन सक्ने उनको भनाइ छ । आइतबार सम्पन्न नेपाल एग्रीटेक तथा नेपाल फुड एण्ड बेभरेज इन्टरनेशनल एक्स्पोमा सहभागी उनले शुरुवाती दिनहरुमा कृषि क्षेत्रमा काम गर्न गाह्रो हुने भएको कारण सरकारले आवश्यक सहयोग गर्न जरुरी रहेको बताए । गरिखाने किसानले सरकारी अनुदान पाउन सकेमात्रै कृषि क्षेत्र फस्टाउउने उनको धारणा छ । ‘किसानले सुरुका दिनमा अनुदान पायो भने उसले केही गर्नसक्छ । स्थापित भइसकेपछि अुनदानको अर्थ हुँदैन । स्थापित भइसकेका कृषि फर्मलाई अनुदानको जरुरत नै हुदैन । सरकारले दिने अनुदान वास्तविक किसानको हातमा परोस भन्ने मेरो चाहाना हो,’ उनले भने । कनेक्ट किसान डिजिटल प्लेटफर्मका सहसंस्थापक राजन दाहालले कृषि क्षेत्रमा सरकारले पर्याप्त लगानी गर्न नसकेको बताए । उनले कृषि क्षेत्रमा भएको लगानी बिस्तारै खस्कँदै गएको देखिएको बताए । नेपालले कृषि क्षेत्रसँग सम्बन्धीत कार्यक्रमहरु भारतको कृषि क्षेत्रसँग सम्बन्धित रहेर गर्नुपर्ने उनको बुझाई छ । कृषि मेसिनरीको बढीभन्दा बढी सदुपयोग गर्न नसके नेपालमा कृषि उत्पादमा ह्रास आउने र कृषक पलायन बढ्दै जाने जानकारी दिए । ‘अहिलेको बजेटलाई नै हामीले हेर्दै गयौं भने कृषि क्षेत्रमा पहिले जति लगानी भएको थियो अहिले त्यो बजेटको प्रतिशत घट्दै गएको छ, ’ उनले भने । सरकारले कृषि क्षेत्रमा पर्याप्त लगानी गर्न नसके कृषि उत्पादनमा ह्रास आउने र कृषक पलायन बढ्ने उनको भनाइ छ । आइतबार सम्पन्न नेपाल एग्रीटेक तथा नेपाल फुड एण्ड बेभरेज इन्टरनेशनल एक्स्पोमा कृषक र कृषिसम्बन्धी चासो राख्नेहरुको उल्लेख्य उपस्थिति रहेको आयोजकको भनाइ छ । प्रदर्शनीले कृषि सम्बन्धी प्रविधि, बीउबिजन, उत्पादन, बजारीकरणका लागि सहयोग पुगेको आयोजकले बताएको छ ।
हलेसीमा ग्यास सिलिन्डर लिक हुँदा आगलागी, सात करोड ३० लाख बढीको क्षति
खोटाङ । विश्वप्रसिद्ध त्रिधार्मिकस्थल खोटाङको हलेसी बजारमा भएको आगलागीमा सात करोड ३० लाख रुपैयाँ बढीको क्षति भएको छ । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित हलेसी बजारका पदमशेर राईको भान्छा कोठाबाट गएराति सुरू भएको आगोले चारवटा घर, तीनवटा होटल, एउटा हार्डवेयर पसल, लघुवित्तको कार्यालयलगायत जलेर नष्ट भएको हो । आगलागीमा पदमशेरको काठ र जस्तापाताले बनेका तीनतले घर, पहिलो तलामा राखिएको हार्डवेयर पसल, दोस्रो तलामा सञ्चालित निर्धन उत्थान लघुवित्त संस्थाको कार्यालयलगायत सामग्री जलेर नष्ट हुँदा करिब चार करोड रुपैयाँ बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक प्रतिवेदनमा देखिएको निमित्त प्रमुख जिल्ला अधिकारी हीराधन राईले जानकारी दिएका छन् । निमित्त प्रमुख जिल्ला अधिकारी राईका अनुसार स्थानीय आइराख राईको न्यू–कल्याण होटल, चारतले पक्की घर र घरको पछाडिपट्टि दुईतले काठको घर गरी दुई करोड ५० लाख रुपैयाँ बराबरको क्षति भएको छ । साँझ करिब ७ बजेदेखि सुरू भएको आगलागीमा परेर स्थानीय प्रकाशचन्द्र गिरीको हलेसी दर्शन होटलको फलामको ट्रसले बनेको एकतले भान्छा घर र दुईतले पक्की घरमा आंशिक क्षति हुँदा ३० लाख रुपैयाँ बराबरको क्षति भएको जनाइएको छ । आइराख राईको घरसँगै जोडिएको भरणशेर राईको पारूहाङ होटल, चारतले पक्की भवनको दोस्रो र तेस्रो तलामा आंशिक क्षति हुँदा अन्दाजी ५० लाख रुपैयाँ बराबरको भएको छ । आगलागीमा मानवीय क्षति नभए पनि ठूलो मात्रामा धनसम्पत्ति तथा भौतिक सामग्री जलेर नष्ट भएको हलेसी तुवाचुङ नगरपालिकाका प्रवक्ता एवम् वडा नं ७ महादेवस्थानका वडाध्यक्ष कमल गिरीले जानकारी दिए । “आगलागी नियन्त्रण गर्न बेलैमा सबैको सहयोग उपलब्ध भयो । रातको समयमा भए पनि मानवीय क्षति हुनबाट जोगाउन सफल भयौँ”, उनले भने, “आगलागी पीडितका लागि राहत उपलब्ध गराउन विभिन्न निकायसँग समन्वय गरिरहेका छौँ । सङ्कलित राहत एकद्वार प्रणालीमार्फत वितरण गर्ने सर्वपक्षीय निर्णय गरिएको छ ।” आगो नियन्त्रणमा रणभीम गण मुढे ब्यारेक, सशस्त्र प्रहरी बल ७ नं वाहिनी हलेसी गुल्म, नेपाल प्रहरी, जिल्ला प्रशासन, स्थानीय तह, स्थानीयलगायत गरी करिब ५०० जना खटिएका थिए । स्थानीय पदमशेर राईको ग्यास पसल नजिकै रहेको भान्छा कोठाबाट आइतबार साँझ करिब ७ बजेतिर सुरू भएको आगो साढे चार घण्टापछि साढे ११ बजेतिर नियन्त्रणमा आएको थियो । सुक्खाग्रस्त क्षेत्रमा पर्ने हलेसीमा भएको आगलागी नियन्त्रणमा लिनका लागि पानी अभाव भएकाले समस्या भएको इलाका प्रहरी कार्यालय हलेसीका प्रमुख प्रहरी निरीक्षक हेमन्त राईले जानकारी दिए । हिन्दू, बौद्ध किरात धर्मावलम्बीको सङ्गमस्थल हलेसी बजारमा भएको आगलागीका घटनालाई दमकल अभावका कारण समयमै नियन्त्रण गर्न नसक्दा ठूलो क्षति भएको हो । हलेसी बजारमा भएको आगलागी सबैको सहयोगले तत्कालै नियन्त्रणमा लिन सफल भएको हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख विमला राईले जानकारी दिए । “नगरपालिकामा दमकल छैन । दमकल नहुँदा आगलागी नियन्त्रणमा निकै समस्या भयो । तर, उपलब्ध स्रोत र साधन प्रयोग गरेर करिब साढे ४ घण्टापछि आगो नियन्त्रणमा लिन सफल भयौँ”, उनले भने, “आगलागीमा ठूलो क्षति भएको छ । क्षति भए जति त आगलागी पीडितलाई राहत उपलब्ध गराउन सक्दैनौँ । यद्यपि, गृहमन्त्री, सम्बन्धित मन्त्रालयलगायतसँग समन्वय भइरहेको छ । आगलागी पीडितका लागि चाँडै मलमपट्टि लगाउने प्रयास गरिरहेका छौँ ।” हलेसीमा भएको आगलागीका घटनाका विषयमा विभिन्न निकायले दुःख व्यक्त गर्दै आगलागी पीडितका लागि तत्काल क्षतिपूर्ति उपलब्ध गराउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् । नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दालाल ‘प्रचण्ड’ लगायतले आगलागी पीडितका लागि तत्काल राहतको व्यवस्था गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका हुन् । रासस
पेट्रोलियम पाइपलाइनबाट आयात सुरु, ढुवानी भाडा बचत हुने
बागमती । भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म पेट्रोलियम पाइपलाइनबाट नियमित आयात सुरु भएको छ । अन्तरदेशीय पेट्रोलियम पाइपलाइन विस्तारको काम सकिएपछि पाइपलाइनबाटै पेट्रोल, मट्टीतेललगायत पेट्रोलियम पदार्थको आयात सुरु भएको नेपाल आयल निगमको मधेस प्रादेशिक कार्यालय अमलेखगञ्जले जनाएको छ । पेट्रोलियम पाइपलाइन विस्तारको सम्पूर्ण काम सकिएको र केही दिनदेखि पाइपलाइनबाटै नियमित रूपमा पेट्रोलियम पदार्थ ल्याउन सुरु गरिएको नेपाल आयल निगम मधेस प्रदेश कार्यालय अमलेखगञ्जका प्रमुख प्रलयङ्कर आचार्यले जानकारी दिए । ‘पाइपलाइनबाटै पेट्रोल र मट्टीतेल आइसकेको छु,’ प्रमुख आचार्यले भने, ‘अहिले पाइपलाइनबाट आयातित पेट्रोल नेपालको प्रमुख सहरका डिपोमा औपचारिक रुपमा वितरण थालिसकेका छौं ।’ पाइलाइन विस्तार परियोजनाअन्तर्गत भारतीय आयल निगमले अमलेखगञ्जस्थित डिपोमा चार हजार १०० किलोलिटर क्षमताका दुई पेट्रोल ट्याङ्क, २५० किलोलिटर क्षमताका दुई ट्रान्समिक्स ट्याङ्क, पेट्रोल ढुवानीका लागि २४ पूर्ण स्वचालित लोडिङ्ग वे–रिफिलर, पम्प हाउस र प्रयोगशाला निर्माण गरिएको प्रमुख आचार्यले बताए । सोही परियोजनाअन्तर्गत ‘फायर फाइटिङ सिस्टम’को स्तरोन्नति, पानी र तेल छुट्याउने ‘ओडब्ल्युएस सिस्टम’ तथा पिएमसिसी कक्षसमेत निर्माण गरिएको छ । सन् २०२३ भित्र सम्पूर्ण पूर्वाधार निर्माणसम्पन्न गर्ने गरी लिखिता इन्फ्रास्ट्रक्चर प्रालिलाई ठेक्का दिइएको थियो । विभिन्न कारणले केही दिनअघि मात्र सो पाइपलाइन विस्तारको काम सकिएको प्रमुख आचार्यले बताए । यस्तै, पेट्रोल र डिजेल दुवै हुन सक्ने मिश्रित इन्धन राख्नका लागि दुई ट्रान्समिक्स ट्याङ्क र डिपोभित्रको सुरक्षाका लागि तीन हजार किलोलिटर क्षमताको फायरवाटर ट्याङ्क भारतीय आयल निगमनले निर्माण गरिदिएको छ । परियोजनाअन्तर्गत पहिलो चरणको काम सम्पन्न भई गत २०७६ साल भदौ २५ गतेदेखि पाइपलाइनबाट डिजेलको आयात भइरहेको छ । ‘एउटै पाइपलाइनबाट पेट्रोल र मट्टीतेल आयात गर्न सम्भव भए पनि भण्डारण गर्ने क्षमता नहुँदा ट्याङ्करबाटै पेट्रोलियम पदार्थ ल्याउनुपर्ने बाध्यता थियो,’ प्रमुख आचार्यले भने, ‘आयोजनाको काम सम्पन्न भएपछि पेट्रोल, डिजेल र मट्टीतेल गरी तीनवटै पदार्थको नियमित आयात पाइपलाइनबाटै हुन थालेको ।’ मोतिहारी-अमलेखगञ्ज पाइपलाइनबाट पेट्रोलियम पदार्थ आयात हँदा प्राविधिक नोक्सानी शून्य हुने, ढुवानी भाडासमेत बचत हुने तथा वातावरणीय प्रदूषण कम गर्न सहयोग पुग्ने कार्यालय प्रमुख आचार्यको भनाइ छ । यो आयोजना निर्माणसम्पन्न भएसँगै अमलेखगञ्ज डिपोमा डिजेलको भण्डारण क्षमता २४ हजार ८४० किलोलिटर र पेट्रोलको भण्डारण क्षमता १६ हजार ६३० किलोलिटर पुग्नेछ । रासस
डीपसीकको कमाल : एक महिनामा चीनको बजारमा १.३ खर्ब डलरको उछाल
काठमाडौं । कृत्रिम बौद्धिकता (एआई) मा चीनको एक कदमले सेयर बजारमा ठुलो परिवर्तन ल्याएको छ । ब्लूमबर्गको रिपोर्ट अनुसार डीपसीकको लन्च भएपछि गत एक महिनामा चीनको सेयर बजारमा १.३ खर्ब डलर वृद्धि भएको छ । डीपसीकको प्रभावले चीनको प्रविधि सेयरहरूमा तीव्र उछाल आएको छ, जसका कारण बढीभन्दा बढी हेज फण्डहरूले त्यहाँ लगानी गरिरहेका छन् । चीनमा सम्पूर्ण एआई इकोसिस्टम निर्माण गर्नसक्ने कम्पनी विश्लेषकहरूका अनुसार डीपसीकले चीनमा सम्पूर्ण एआई इकोसिस्टम निर्माण गर्न सक्ने कम्पनीहरू रहेको प्रमाणित गरेको छ । केही वर्षदेखि चीनबाट बाहिरिएको लगानी अब चीनमै फर्किने विश्वास गरिन्छ । विश्लेषकहरूका अनुसार डीपसीकको विकासले चीनको अर्थतन्त्र र सेयर बजारलाई ठूलो फाइदा पुर्याउन सक्छ । रिस्क रिवार्डको आधारमा चीन आकर्षक गन्तव्य बनेको छ । बढ्दै चिनियाँ सेयरमा लगानी चीनको एमएससीआई चाइना इन्डेक्सका अनुसार चीनले ११ गुणा बढी मूल्यमा व्यापार गरिरहेको छ । ब्लूमबर्गको डेटा अनुसार एसियाका ठूला इक्विटी फण्डहरूले भारतीय बजारमा लगानी घटाई चीनका सेयरहरूमा लगानी बढाइरहेका छन् । डीपसीकले चीनमा विदेशी लगानी बढाउन ठूलो भूमिका खेलेको छ । चिनियाँ सरकार अर्थतन्त्रलाई पुनः सशक्त बनाउने उद्देश्यले थप प्रोत्साहन प्याकेजहरू ल्याउने तयारीमा छ । द म्यान एसिया एक्स जापान इक्विटीले गत वर्षमा चीनमा आफ्नो लगानी ३० प्रतिशतबाट बढाएर ४० प्रतिशत पुर्याएको छ । अलिबाबाको बजार पूँजीकरणमात्र पाँच हप्तामा १०० अर्ब डलरले बढेको छ । (एजेन्सीहरूको सहयोगमा) डीपसीकको उदयपश्चात प्रविधि कम्पनीहरूप्रति चिनियाँ सरकारको धारणा परिवर्तन गुगलको एआई डीपमाइन्डका सीईओ भन्छन्– डीपसीकको एआई मोडेल राम्रो तर प्रचार ‘अतिरञ्जित’ एकदिनमै विश्वको एआई उद्योग हल्लाउने डीपसीकका संस्थापक को हुन् ? कति छ उनको नेटवर्थ ? चिनियाँ एआई मोडल डीपसीकको फन्दामा अमेरिका, सामान्य पृष्ठभूमिका लियाङ ‘मास्टरमाइन्ड’
कुमारी बैंक र सूर्यविनायक मिसन हस्पिटलबीच सम्झौता
काठमाडौं । कुमारी बैंक र सूर्यविनायक भक्तपुरस्थित सूर्यविनायक मिसन हस्पिटलबीच कुमारी बैंक लिमिटेडका ग्राहकलाई हस्पिटलबाट प्रदान हुने विभिन्न सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौता अनुसार सूर्यविनायक मिसन हस्पिटलबाट प्रदान गरिदै आएका सेवाहरुमा ग्राहकहरूलाई प्रयोगशाला परीक्षण, एक्स–रे, युसिजी तथा ओपिडी टिकटमा २० प्रतिशत छुट र औषधिमा १० प्रतिशत छुट दिने गरी सम्झौता भएको हो । विगत २३ वर्षदेखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले अनवरतरुपमा वित्तिय साक्षरता प्रवद्र्धन गर्दै आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१६ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने समेत प्रतिबद्धता जनाएको छ ।
मनाङमा भूकम्पको धक्का
काठमाडौं । मनाङमा भूकम्प गएको छ । साेमबार बिहान साढे ८ बजे ३.८ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पको केन्द्रविन्दु भ्रका रहेको केन्द्रले जनाएको छ ।
अर्थमन्त्री पौडेल अस्पतालबाट ‘डिस्चार्ज’
काठमाडौं । पोखरा भ्रमण वर्षका क्रममा बेलुन पड्किएर घाइतेभएका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल कीर्तिपुर अस्पतालबाट घर फर्र्किएका छन् । अस्पतालमा दुई दिनदेखि उपचार गराइ रहेका पौडेल आज ‘डिस्चार्ज’ भएका हुन् । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको स्वास्थ्य अवस्था सामान्य हुँदै गएको र उनलाई थप केही दिन अस्पतालमा राखिने पनि अस्पतालले जनाइएको छ । ‘दुवै जनाको जलनको घाउ निको हुँदै गएको र फोक्सोमा कुनै खराब असर परेको देखिँदैन । यस कारण आजै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई अस्पतालबाट ‘डिस्चार्ज’ गर्ने निर्णय भएको छ’, कीर्तिपुर अस्पतालद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘मेयर धनराज आचार्यको पहिलेदेखि नै उच्च रक्तचापको समस्या भएको कारण हृदयरोग विशेषज्ञसँग परामर्श भईरहेकाले केही दिन थप उपचार हुने जानकारी गराइन्छ ।’ सङ्क्रमणको जोखिम कम गर्न मेयर आचार्यसँग भेटघाट गर्न बन्द गरिएको पनि अस्पतालले जनाएको छ ।