काठमाडौं । हुलाक बचत बैंकमार्फत पाँच करोड ३५ लाख रुपैयाँभन्दा बढी अपचलन गरेको आरोपमा जिल्ला हुलाक कार्यालय बाराका तत्कालीन कार्यालय प्रमुख जयलाल प्रसाद साह कानूसहित ६ जना विरुद्ध विशेष अदालत, काठमाडौंमा भ्रष्टाचारको मुद्दा दायर गरिएको छ ।
आरोपितहरूमध्ये हाल कार्यालय प्रमुखसमेत रहेका नायब सुब्बा बलीराम प्रसाद कुर्मी २०६० सालदेखि बचत बैंकको जिम्मेवारी सम्हाल्दै आएका थिए । उनले बचतकर्ताको निक्षेप रकम कुनै अभिलेख नराखी व्यक्तिगत लाभका लागि प्रयोग गरेको उजुरीको आधारमा अनुसन्धान गरिएको हो ।
अनुसन्धानमा कार्यालयका तत्कालीन प्रमुखहरू जयलाल प्रसाद साह कानू, अदालत प्रसाद कुर्मी, बुन्नी प्रसाद यादव, सुरेन्द्र प्रसाद यादव र सुजित कुमार साहले समेत मिलेमतोमा रकम दुरुपयोग गरेको देखिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।
बचतकर्ताबाट संकलन भएको रकम कार्यालयको दैनिक नगदी रजिष्टरमा नजनाई, लेजर र पासबुकमा मात्र विवरण राखिएको, केन्द्रीय कार्यालयमा समेत जानकारी नगराई रकम अपचलन गरी बाँडफाँड गरिएको आयोगले बताएको छ ।
उनीहरूमाथि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ अनुसार कैद, जरिवाना र बिगो असुल माग गर्दै मुद्दा दायर गरिएको आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिए ।