सानिमा क्यापिटलको सानिमा फ्लेक्सी फण्ड बिक्री खुला, ४० लाख इकाई खरिद गर्न सकिने
काठमाडौं । सानिमा क्यापिटलले आज फागुन ६ गतेदेखि १ अर्ब रुपैयाँको सानिमा फ्लेक्सी फण्ड निष्काशन तथा बिक्री खुला गरेको छ । सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सानिमा फ्लेक्सी फण्ड खुलामुखी योजना बिक्री खुला गरेको हो । क्यापिटलले १ अर्ब रुपैयाँको प्रतिइकाई १० रुपैयाँका दरले १० करोड इकाई बिक्री खुला गर्नेछ । जसमध्ये ४० प्रतिशत अर्थात् ४० करोड रुपैयाँको ४ करोड इकाई क्यापिटलले पहिलो चरणमा बिक्रीमा राखेको हो । ४ करोड इकाईमध्ये १ करोड ३० लाख इकाई कोष प्रबद्र्धक सानिमा बैंक, २० लाख इकाई सानिमा क्यापिटल र बाँकी २ करोड ५० लाख इकाई सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिएको हो । क्यापिटलको फण्डमा न्यूनतम १ सय इकाईदेखि ४० लाख इकाईसम्म आवेदन दिन सकिनेछ । फण्डको इकाईमा फागुन ११ गतेसम्म आवेदन दिन सकिन्छ । यदि उक्त समयमा बिक्री नभएको खण्डमा फागुन २० गतेसम्म आवेदन दिने समय लम्बिनेछ । फण्ड निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ । लगानीकर्ताले धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र सिडिएस एण्ड क्लियरिङ्गले निर्माण गरेको मेरो सेयरबाट फण्डको इकाईमा आवेदन दिन सक्नेछन् । इक्रा नेपालले कोष प्रबद्र्धकलाई इक्राएनपि इस्यूअर रेटिङ्ग ए माइनस एटडरेट प्रदान गरेको छ भने योजना व्यवस्थापकलाई इक्रएनपि एएमसि क्वालिटि ३ प्लस रेटिङ्ग प्रदान गरेको छ । यस रेटिङ्गले योजना व्यवस्थापकको व्यवस्थापन गुणस्तरमा पर्याप्त विश्वास रहेको संकेत गर्दछ । सानिमा बैँकको पूर्ण स्वामित्वमा रहि विगत ९ बर्षदेखी संचालनमा रहेको सानिमा क्यापिटलको व्यवस्थापकत्वमा सानिमा म्युचुअल फण्ड अन्तर्गत यसअघि नै ३ वटा बन्दमुखी योजनाहरु समेत संचालनमा रहेको छ । जसमध्ये सानिमा इक्विटी फण्डले आफ्नो ७ वर्ष समयावधि पूूरा भई परिपक्क भईसकेको र इकाईधनीहरुलाई लगानी रकम फिर्ता गर्ने चरणमा रहेकोमा उक्त योजनाको अवधिभरमा कुल बार्षिक औसत प्रतिफल १७.५ प्रतिशत रहने अनुमान गरीएको छ ।
बागमती प्रदेशभित्रका सवारीसाधनको विद्युत्तीय अभिलेख सुरु
काठमाडौं । बागमती प्रदेशभित्रका सवारीसाधनको विद्युतीय अभिलेख सिर्जना (डिजिटाइजेशन) शुभारम्भ गरिएको छ । सोमबार यातायात व्यवस्था कार्यालय गुर्जुधारा (मोटरसाइकल)मा सम्पन्न एक कार्यक्रमबीच बागमती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री प्रेमभक्त महर्जनले उक्त कार्यको शुभारम्भ गरेका हुन् । कार्यक्रममा डिजिटाइजेशनका लागि मन्त्रालयबाट १ सय जना तथ्याङ्क प्रविष्ट गर्ने कर्मचारी खटाइएको यातायातमन्त्री महर्जनले जानकारी दिए । महर्जनका अनुसार छिट्टै प्रदेशभित्रका सबै सवारीसाधनको विद्युतीय अभिलेख राखिसक्ने, अनलाइनबाटै सवारीसाधनको कर तिर्न सकिने र ब्लुबुक बोक्नु नपर्ने अवस्था निर्माण हुने छ । कार्यक्रममा मन्त्री महर्जनले प्रविधिले सुशासन कायम गर्नमा सहज हुने विश्वास व्यक्त गरे । कार्यक्रममा बागमती प्रदेशसभा सदस्य केशवप्रसाद पोखरेलले सवारीसाधनको क्षेत्रमा डिजिटाइजेशनले महत्त्वपूर्ण अर्थ राख्ने बताए । अर्का बागमती प्रदेशसभा सदस्य रघुनाथ महर्जनले लामो प्रयासपश्चात यातायातसम्बन्धी वास्तविक अधिकार प्रदेशमा आएको बताए । श्रम, रोजगार तथा यातायात मन्त्रालयका सचिव वीरेन्द्रदेव भारतीले तथ्याङ्क अभिलेखकर्ताले जति छिटो तथ्याङ्क प्रविष्ट गर्न सक्यो त्यति धेरै आम्दानी गर्न सक्ने जानकारी दिए । मन्त्रालयले यातायात क्षेत्रमा परिवर्तनको आभास गर्न सक्नेगरी काम भइरहेको उनको भनाइ छ । कार्यक्रममा मन्त्रालयका प्रशासन प्रमुख खगेन्द्र पौडेलले यातायात क्षेत्रका विभिन्न प्रयासका विषयमा प्रस्तुतिकरण गरेका थिए । सो अवसरमा मन्त्रालयले सवारीसाधनको फाइल फिर्ता गर्न दिएको सूचनाअनुसार सवारीधनी प्रशान्त चौधरीले कार्यक्रमस्थलमै यातायात व्यवस्था कार्यालय गुर्जधाराका प्रमुखलाई फाइल हस्तान्तरण गरेका थिए ।
भयावह बन्दै आत्महत्या, साइबर अपराध र सडक दुर्घटना, ३ हजारले ज्यान फाले
काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा सडक दुर्घटनामा परेर १ हजार २३३ जनाको निधन भएको छ । लापराहीपूर्वक सवारीसाधन चलाएको तथा ट्राफिक नियमको पूर्ण परिपालनामा ध्यान नदिएका कारण दुर्घटनामा ज्यान जानेको सङ्ख्या गत आवको सोही अवधिको तुलनामा वृद्धि भएको हो । गृह मन्त्रालयका अनुसार विसं २०८० को पुस मसान्तसम्म देशभर १२ हजार ८५६ सडक दुर्घटनामा १ हजार १४९ जनाको ज्यान गएको थियो । यस वर्षको पुस मसान्तसम्म ११ हजार ३३८ सडक दुर्घटना हुँदा १ हजार २३३ जनाको ज्यान गएको छ । गत वर्षको ६ महिनाको तुलनामा यस वर्षको ६ महिनामा सडक दुर्घटनाको सङ्ख्या घटे पनि मृत्यु हुनेको सङ्ख्यामा वृद्धि भएको छ । गत मङ्सिरको तुलनामा पुसमा सडक दुर्घटना बढे पनि मृत्यु हुनेको सङ्ख्या घटेको गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले जानकारी दिए । मन्त्रालयका अनुसार गत साउनमा १ हजार ६२८ सडक दुर्घटनामा १५२, भदौमा १ हजार ६१९ दुर्घटनामा १७४ जनाको अकालमा ज्यान गएको थियो । गत असोजमा १ हजार ८७३ सडक दुर्घटनामा दुई सय, कात्तिकमा १ हजार ९२८ दुर्घटनामा परी २५८ जनाको निधन भएको विवरण छ । अघिल्लो गत मङ्सिरमा २ हजार १४ सडक दुर्घटनामा परी २५२ र पुसमा सबैभन्दा बढी २ हजार २७६ दुर्घटनामा परेर १९७ जनाको निधन भएको छ । मन्त्रालयले उपलब्ध गराएको विवरण अनुसार गण्डकी, काठमाडौं उपत्यका र कर्णालीमा दुर्घटनाको सङ्ख्या घटे पनि मृत्यु हुनेको सङ्ख्यामा बढोत्तरी भएको छ । मधेस प्रदेश र बागमती (काठमाडौं उपत्यका) बाहेकमा दुर्घटनाको सङ्ख्या बढे पनि मृत्यु हुनेको सङ्ख्या घटेको छ । भयावह आत्महत्या मन्त्रालयका अनुसार चालु आवको ६ महिनामा ३ हजार १३४ जनाले आत्महत्या गरेका छन् । गत वर्षको सोही अवधिमा ३ हजार ४५७ जनाले अकालमा ज्यान फालेका थिए । गत वर्षको ६ महिनाको तुलनामा आत्महत्याको कुल सङ्ख्या घटेको छ । यस्तै गत मङ्सिरको तुलनामा र पुसमा आत्महत्याको सङ्ख्या घटेको छ । यस वर्षको कात्तिकमा सबैभन्दा बढी ६२८, मङ्सिरमा ४७१ र पुसमा ४२५ जनाले आत्महत्या गरी ज्यान फालेका गृह मन्त्रालयले जनाएको छ । साइबर अपराध मन्त्रालयका अनुसार चालु आवको ६ महिनामा १० हजार ७७६ वटा साइबर अपराधसँग जोडिएका निवेदन दर्ता भएका छन् । सामाजिक सञ्जालको दुरुपयोग गरेर अपराध गर्नेहरूले सबैभन्दा बढी टेलिग्राम प्रयोग गरेको पाइएको छ । कुल १ हजार १८७ वटा निवेदन टेलिग्रामसँग जोडिएको दर्ता भएका छन् । यस्तै, फेसबुक प्रयोग गरेर १ हजार ९८, इन्टाग्राम प्रयोग भएका ७३१ र टिकटकसँग जोडिएका १५३ वटा निवेदन दर्ता भएका छन् । आव २०८०÷८१ मा कुल १९ हजार ७३०, आव २०७९÷८० मा ९ हजार १३ वटा साइबर अपराधसँग जोडिएका निवेदन दर्ता भएका मन्त्रालयले जनाएको छ ।
ज्यालामा विभेद भोगेपछि ठेकेदार बनिन् पार्वती, एउटा घरको काम नसकिँदै अर्को ठेक्का
काठमाडौं । पहिला दिनभर मजदुरी गरेर रु पाँच सय ज्याला पाउने कञ्चनपुरको वेदकोट नगरपालिका-५ धरपुरकी पार्वती डगौराले पछिल्लो समय दैनिक १ हजार रुपैयाँ आम्दानी गर्न थालेकी छिन् । घर तथा विभिन्न संरचना निर्माणमा पुरुषसरह मजदूरी गर्दा पनि महिला भएकाले ज्याला कम पाउन थालेपछि पार्वतीले आफैँ घर निर्माणको ठेक्का लिने योजनासहित मिस्त्रीको काम सिकिन् । ‘दिनभर पुरुषसरह मजदूरी गर्दा पनि ज्याला कम पाउन थालेपछि आफैँ मिस्त्रीको काम गर्ने र घर निर्माणको ठेक्का लिने योजना बनाएँ,’ पार्वतीले भनिन्, ‘दातृ निकायको सहयोगमा मैले वडा कार्यालयमा राज मिस्त्रीको तालिम लिएँ ।’ उनले वडा कार्यालय र निड्स नेपाल कञ्चनपुरको दिगो आम्दानी तथा महिला सशक्तीकरण परियोजनाको सहयोगमा ६० दिने राज मिस्त्रीको तालिम लिएको बताइन् । ‘सुरुमा मजदुरी गर्थे दिनको रु पाँच सय मात्रै ज्याला पाउँथे । अहिले आफैँ घर निर्माणको ठेक्का लिन थालेकी छु,’ डगौराले भनिन्, ‘अहिले आफूले मिस्त्रीको काम गर्दा दैनिक १ हजार रुपैयाँ आम्दानी हुन्छ ।’ राज मिस्त्रीको तालिम सकिनेबित्तिकै गाउँमा एउटा घर निर्माणको ठेक्का मिलेको उनको भनाइ छ । ‘मजदुरी गरेर मात्रै घरखर्च धान्न गाह्रो भयो अब आफैँ मिस्त्रीको काम गर्नुपर्छ भनेर हिम्मत गरेँ, मैले महिला पुरुष दुवैको ज्याला समान गरेकी छु । आफूले भोगेको जस्तो ज्यालामा विभेद गरेको छैन,’ उनले भनिन् । पार्वतीले गाउँमै तीन वटा घरको ठेक्का लिएर निर्माण सम्पन्न गरिसकेकी छिन् । एउटा घरको काम नसकिँदै अर्को घरको ठेक्का पाउने गरेको उनको भनाइ छ । ‘अहिले धेरै सजिलो भएको छ ठेक्का पाइराखिएको छ । पहिला मजदुरीमा जाँदा थोरै ढिला भए पनि ठेकेदारले फर्काइदिन्थ्यो,’ उनले भनिन् । दृढ इच्छा शक्ति धैर्यता र निरन्तरता हुने हो भने कुनै चिज असम्भव नहुने डगौराको भनाइ छ । ‘यहाँ ज्यालामा धेरै विभेद छ, एउटै कामको ज्यादा पुरुषलाई बढी छ महिलालाई कम दिइन्छ । यो विभेद अन्त्य गर्नका लागि पनि मैले हिम्मत गरेर तालिम लिएर आफैँ घर निर्माणको ठेक्का लिन थालेकी हुँ,’ उनले भनिन् । अहिले उनले अरु महिलालाई रोजगारी दिएको बताइन् । निड्स नेपाल कञ्चनपुरले दिगो आम्दानी तथा महिला सशक्तीकरण परियोजनाअन्तर्गत कञ्चनपुरको वेदकोट र कृष्णपुर नगरपालिकामा परियोजना सञ्चालन गरेको छ । परियोजनाअन्तर्गत महिलाको आयआर्जनमा सुधार क्षमता विकासका लागि तालिम र उनीहरुको आश्वयकता अनुसारको उद्यममा सहयोग गरेको परियोजना संयोजक हेमन्त शाहीले बताए । ‘परियोजनाअन्तर्गत १३ प्रकारका उद्यममा एक सय २३ जना प्रत्यक्ष लाभाम्वित छन् । यस परियोजनाबाट न्यून आयस्तर भएका महिलाको जीविकोपार्जनमा सुधार आएको छ,’ उनले भने । वेदकोट नगरपालिका-४ का वडाध्यक्ष नरेन्द्रबहादुर बोहराले केही गर्न चाहने महिला आत्मनिर्भर बन्न सहयोग पुगेको बताए । ‘न्यून आयस्तर भएका महिला र इच्छाशक्ति भएकाहरूलाई दातृ निकायको सहयोगमा हामीले आत्मनिर्भर बन्न सहयोग गर्दै आएका छौँ । अहिले धेरै महिला विभिन्न पेसामा सक्रिय रहेर आत्मनिर्भर बनेका छन्,’ उनले भने । उनले व्यवसाय गर्ने महिलालाई तालिम मात्रै नभई आर्थिक रूपमा पनि सहयोग गरिरहेको बताए ।
जेसीबीको एनएक्सटी सिरिज एक्स्काभेटर सार्वजनिक, यस्ता छन् विशेषताहरू
काठमाडौं । विश्वव्यापी निर्माण तथा भारी उपकरण निर्माता जेसीबीले नेपालमा नयाँ एनएक्सटी सिरिज एक्स्काभेटर सार्वजनिक गरेको छ । जेसीबी एनएक्सटी २२१ एलसी फ्युल मास्टर र जेसीबी एनएक्सटी २२५ एलसीएम ट्र्याक्ड एक्स्काभेटर नेपाली बजारमा ल्याएको हो । यी दुवै एक्स्काभेटरहरू उच्च इन्धन दक्षता र कम मर्मत खर्चलाई ध्यानमा राखी डिजाइन गरिएका छन् । नेपालमा जेसीबीका यी नयाँ मेसिनहरू एमएडब्ल्यू अर्थमुभर्स (जेसीबीको नेपालका लागि आधिकारिक डिलर) मार्फत उपलब्ध हुने जनाइएको छ । जेसीबी एनएक्सटी २२१ एलसी फ्युल मास्टर यस मेसिनले १४ प्रतिशत इन्धन खपत घटाउने र ५ प्रतिशत बढी उत्पादकत्व दिने क्षमता राख्छ । यसमा स्वचालित इन्जिन आइडल स्टप फिचर छ, जसले अनावश्यक इन्धन खपत हुनबाट जोगाउँछ । जेसीबी एनएक्सटी २२५ एलसीएम ट्र्याक्ड एक्स्काभेटर आफ्नो श्रेणीमा सबैभन्दा बढी इन्धन दक्ष र उत्पादक एक्स्काभेटरमध्ये एक हो । यसको इन्लाइन एफआईपी इन्जिन प्रणालीले मर्मत सजिलो बनाउँछ र सञ्चालन खर्च घटाउँछ । अघिल्लो मोडेलको तुलनामा ५ प्रतिशत बढी इन्धन दक्ष र ६ प्रतिशत बढी उत्पादक रहेको छ । यसमा १० हजार घण्टा वा ५ वर्षको वारेन्टी प्रदान गरिएको छ । यी एक्स्काभेटरहरूको उच्च इन्धन दक्षता जेसीबीको अत्याधुनिक इन्टेलीफ्लो हाइड्रोलिक्स प्रविधिबाट सम्भव भएको हो । साथै इन्धन खपतको वास्तविक–समय डेटा मेसिनको अनबोर्ड स्क्रिन वा जेसीबीको लाइभलिन्क रिमोट मनिटरिङ प्रणालीमार्फत उपलब्ध हुने जनाइएको छ । विष्णुकुमार अग्रवाल । जेसीबीको नेपालमा लगानी र प्रतिबद्धता जेसीबी इन्डियाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) तथा म्यानेजिङ डिरेक्टर दीपक शेट्टीले नेपाल दक्षिण एसियामा नेपाल प्रमुख बजार रहेको बताए । उनले भने, ‘दक्षिण एसियामा नेपाल हामीहरूका लागि प्रमुख बजार हो । देश निर्माण तथा पूर्वाधार क्षेत्रमा तीव्र प्रगति गर्दैछ । जसले जेसीबीका उत्पादनहरूका लागि ठूलो सम्भावना देखाउँछ । नेपालमा प्रविधिमैत्री उत्पादनहरू ल्याउन हामी प्रतिबद्ध छौं ।’ दीपक शेट्टी । एमएडब्ल्यू अर्थमुभर्सका डिलर प्रमुख विष्णु अग्रवालले जेसीबीका मेसिनहरू ग्राहकको ध्यानमा राखी डिजाइन गरिएको जानकारी दिए । एमएडब्ल्यूले विगत २० वर्षदेखि जेसीबीका मेसिनहरू बिक्री गर्दै आएको छ । यसका नेपालभरि ३३ वटा आउटलेटहरू छन् । हालसम्म ११ हजार प्लस जेसीबी मेसिनहरू बिक्री भइसकेका छन् । जेसीबीको बारेमा जेसीबी जसको पूरा नाम जोशेफ सिरिल बामफर्ड हो । यो एक ब्रिटिश कम्पनी हो जसले मुख्य रूपमा निर्माण, कृषि र उद्योगहरूका लागि भारी उपकरणहरू बनाउँछ । यसको स्थापना स्थापना १९४५ मा जोशेफले गरेका थिए । यो कम्पनी विश्वभर प्रसिद्ध छ र यसले विभिन्न प्रकारका उपकरणहरू जस्तै एक्साभेटर, लोडर, बुलडोजर र टेलीह्यान्डलरहरू उत्पादन गर्दै आइरहेको छ ।
भारतमा नेपाली छात्राको मृत्यु भएको विषयमा कूटनीतिक पहल गर्न अध्यक्ष दाहालको आग्रह
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतको ओडिसामा भएको घटनाका विषयमा यथार्थ विवरण सार्वजनिक गर्न र विद्यार्थीको सुरक्षाका लागि कूटनीतिक पहल गर्न सरकारसँग आग्रह गरेका छन् । उनले भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी)को छात्राबासमा २१ वर्षीया नेपाली छात्रा प्रकृति लम्सालको मृत्यु भएको र नेपाली विद्यार्थीलाई होस्टेलबाट निकालिएको समाचारले गम्भीर बनाएको उल्लेख गरेका छन् । मृतक विद्यार्थीप्रति श्रद्धाञ्जली अर्पण तथा परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष दाहालले आज सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘घटनाको यथार्थ विवरण सार्वजनिक गरी निष्कासित विद्यार्थीहरूको सुरक्षाका लागि तत्काल कूटनीतिक पहल गर्न सरकारसँग आग्रह गर्दछु ।’ केआईआईटी विश्वविद्यालयमा बी टेक सीएससी तेस्रो सेमेस्टरमा अध्ययनरत लम्साल मृत भेटिएकी थिइन् । उनको मृत्युपश्चात् नेपाली विद्यार्थीहरूले न्यायको माग गर्दै शान्तिपूर्ण प्रदर्शन गरेका थिए । विश्वविद्यालयले सबै नेपाली विद्यार्थीलाई कलेजबाट निकालेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । लम्सालमाथि सोही कलेजमा अध्ययनरत एक युवकले दुर्व्यवहार गर्ने गरेको बताइएकाे छ ।
रुद्री पूजा गरेर सञ्चालनमा आयो कागेश्वरी मनोहरा नगरपालिकाको नयाँ भवन
काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । सोमबार धार्मिक विधिअनुसार हवन, रुद्री पूजा गरेर भव्य रूपमा नगरपालिकाको भवन उद्घाटन गरी सञ्चलनमा ल्याइएको हो । नयाँ भवन सञ्चालनमा आएसँगै कागेश्वरी मनोहरा नगरपालिकाले आफ्नो सेवालाई सहज र सरल बनाउँदै प्रभावकारी गर्ने जनाएको छ । नवनिर्मित भवनबाट प्रशासनिक कामकाजलाई सरल र पारदर्शी बनाउने नगर प्रखुम (मेयर) उपेन्द्र कार्कीले बताए । वातावरण संरक्षणमा जोड दिँदै सेवा प्रवाहमा थप सुधार ल्याउने योजना रहेको उनको भनाइ छ । मेयर कार्कीले आफ्नो कार्यकालमा विभिन्न सकारात्मक कामहरू गर्दै नगरपालिकालाई समृद्धिको मार्गमा अगाडि बढाउने बताए । नयाँ भवन उद्घाटनको रुद्री पूजामा नौवटै वडाका वडाअध्यक्ष, स्थानीय जनप्रतिनिधि, समाजसेवी, कर्मचारी तथा नगरवासीहरूको उपस्थिति रहेको थियो । भवनमा कार्यालय कक्षहरू, सभाकक्ष, सेवाग्राही प्रतीक्षालय र प्राविधिक पूर्वाधारहरू जडान गरिएका छन् । साथै, भवन अपाङ्गमैत्री रहेको छ भने डिजिटल प्रणालीको पनि प्रयोग गरिएको छ ।
स्टेलान्टिसले टर्मोली प्लान्टमा हाइब्रिड गाडीका पार्ट्स उत्पादन गर्ने
काठमाडौं । विश्वको चौथो ठूलो अटोमेकर स्टेलान्टिसले दक्षिणी इटालीको टर्मोली प्लान्टमा हाइब्रिड गाडीहरूको लागि डुअल–क्लच ट्रान्समिसन (ईडीसीटी) उत्पादन गर्ने सोमबार घोषणा गरेको छ । तर सोही प्लान्टलाई स्टेलान्टिसको संयुक्त उद्यम अटोमोटिभ्स सेल्स कम्पनी (एसीसी)ले ईभी ब्याट्री उत्पादन केन्द्र बनाउन छुट्याएको थियो । टर्मोली प्लान्टले हाल इन्जिन उत्पादन गर्छ र यो स्टेलान्टिसको नेतृत्वमा रहेको एसीसीले युरोपमा ईभी ब्याट्री गिगाफ्याक्ट्री बनाउने तीन साइटहरूमध्ये एक हो । फ्रान्समा रहेको एसीसीको गिगाफ्याक्ट्रीले सञ्चालन सुरु गरिसकेको छ, तर इटाली र जर्मनीमा बनाउने योजनाहरू गत वर्ष औपचारिक रूपमा रोकिएका थिए । ईभीहरूको मागमा गिरावट आएपछि एसीसीले सस्तो ब्याट्री प्रविधिमा स्विच गर्दै थियो। एसीसीको लगानी योजना अझै अन्योलमा एसीसीका प्रवक्ताले सोमबार इटाली र जर्मनीका लागि लगानी योजना पुनः मूल्यांकन भइरहेको र निर्णय जुन महिनाभन्दा अघि नआउने बताएका छन् । स्टेलान्टिसको टर्मोलीसम्बन्धी घोषणाले एसीसीको योजना परिवर्तन नगर्ने एसीसी प्रवक्ताले जानकारी दिए । यसै महिनाको सुरुमा टोटलइनर्जिस (एसीसीमा २५ प्रतिशत हिस्सेदार) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) ले एसीसीलाई केवल फ्रान्सको प्लान्टमा केन्द्रित गर्नुपर्ने संकेत दिएका थिए । यसले सम्भावित रूपमा इटाली र जर्मनीका गिगाफ्याक्ट्री योजनाहरू रद्द हुनसक्ने संकेत गरेको छ । टर्मोली प्लान्टमा हाइब्रिड गाडीका पाट्र्स उत्पादन स्टेलान्टिसले सोमबार दिएको बयानमा टर्मोलीमा इलेक्ट्रिफाइड डुअल–क्लच ट्रान्समिसन (ईडीसीटी) उत्पादन गरिने बताएको छ । तर, एसीसीको ईभी ब्याट्री निर्माण योजनाबारे केही उल्लेख गरिएको छैन । स्टेलान्टिसले भनेको छ, ‘तीन लाख युनिट प्रति वर्ष उत्पादन लक्ष्यसहित टर्मोली स्टेलान्टिसको तेस्रो ईडीसीटी उत्पादन केन्द्र बन्दैछ ।’ यसअघि स्टेलान्टिसले इटालीको मीराफीओरी र फ्रान्सको मेट्जमा ईडीसीटी उत्पादन गर्दै आएको छ । स्टेलान्टिसको अन्य उत्पादन वृद्धि योजनाहरू स्टेलान्टिसले सोमबार बेल्जियमको सिन्ट ट्रुइडेन र फ्रान्सको मेट्ज प्लान्टमा ईडीसीटी उत्पादन बढाइने घोषणा गरेको छ । साथै मेट्ज प्लान्टमा नयाँ असेम्बली लाइन पनि जडान गरिनेछ । स्टेलान्टिस अहिले चिनियाँ ब्याट्री निर्माता सीएटीएलसँग मिलेर स्पेनमा ४.१ अर्ब युरो (४.३ अर्ब डलर) को गिगाफ्याक्ट्री बनाउने योजना बनाइरहेको छ । साइबरट्रक दुर्घटनाले तनावमा टेस्ला, सेल्फ-ड्राइभिङ सफ्टवेयरबारे चिन्ता बढ्यो स्टेलान्टिसमा सीईओको खोजी जारी, व्यवस्थापन र संरचनामा परिवर्तन स्टेलान्टिस र सीएटीएलले स्पेनमा ईभी ब्याट्री प्लान्ट निर्माण गर्ने, ४.३ बिलियन डलरको लगानी