शिवम सिमेन्टले सरकारलाई तिर्‍यो ८६ लाख जरिवाना, ड्यामेज भएको विनयी पुल छिट्टै मर्मत हुने

<p>काठमाडौं । पूर्व-पश्चिम राजमार्गको नारायणघाट–बुटवल सडकखण्डमा पर्ने विनयी खोलाको पुल भाँचिनेगरी गह्रौं भार बोकेको भारतीय ट्रक ल्याउने कम्पनी शिवम सिमेन्टले सरकारलाई क्षतिपूर्ति तिरेको छ । एनएल ०१ ए एच ५१७९ नम्बरको भारतीय हेभी ट्रकमा सामान ल्याउने शिवम सिमेन्टलाई सरकारले ८६ लाख रुपैयाँ क्षतिपूर्ति तिराएको सडक विभाग अन्तर्गतको पुल महाशाखाका उपमहानिर्देशक ललिजन खनालले जानकारी दिए । [&hellip;]</p>

काठमाडौं । पूर्व-पश्चिम राजमार्गको नारायणघाट–बुटवल सडकखण्डमा पर्ने विनयी खोलाको पुल भाँचिनेगरी गह्रौं भार बोकेको भारतीय ट्रक ल्याउने कम्पनी शिवम सिमेन्टले सरकारलाई क्षतिपूर्ति तिरेको छ ।

एनएल ०१ ए एच ५१७९ नम्बरको भारतीय हेभी ट्रकमा सामान ल्याउने शिवम सिमेन्टलाई सरकारले ८६ लाख रुपैयाँ क्षतिपूर्ति तिराएको सडक विभाग अन्तर्गतको पुल महाशाखाका उपमहानिर्देशक ललिजन खनालले जानकारी दिए ।

उनका अनुसार शिवम सिमेन्टले नेपाल लाइन्स प्रालिमार्फत ८६ लाख रुपैयाँ सडक डिभिजन भरतपुरको खातामा जम्मा गरेको छ । गत पुस २६ गते गह्रौं भारसहितको ट्रक पुल पार गर्नेक्रममा भाँचिएको थियो । मुख्य राजमार्गको पुल भाँचिदा लामो समयसम्म यात्रुले सास्ती पाएका थिए ।

उपमहानिर्देशक खनालले भने, ‘पुल भाँचिएपछि अध्ययन गर्न मेरै संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । हामीले पुलबारे प्रतिवेदन पठाइसक्यौं । अनुसन्धानमा पुल मर्मत गर्नुपर्ने देखियो । पुल मर्मत गर्न झण्डै ९० लाख खर्च लाग्ने भएपछि सो रकम क्षतिपूर्तिका रूपमा तिराएका हौं ।’

८६ लाख रुपैयाँले तत्कालका लागि मर्मत गरेर गाडी चलाउन सकिने भएकाले शिवम सिमेन्ट सस्तोमा परेको छानविन उपमहानिर्देशक खनालको भनाइ छ ।

उनले सडक विस्तारको क्रममा रहेको र नयाँ पुल पनि बन्दै गरेकाले धेरै क्षतिपूर्ति नतिराइएको बताए ।

गत पुसमा भारतीय हेभी ट्रक पुल पार गर्ने क्रममा विनयी खोला पुल एक्कासि भाँचिएको थियो ।

क्षतिपूर्ति तिरेसँगै अब पुलले थेग्न सक्ने भारमात्र बोक्न निर्देशन दिएर उक्त भारतीय ट्रकलाई छोडिएको सडक डिभिजन कार्यालय, भरतपुरका प्रमुख तथा सिनियर डिभिजन इन्जिनियर हाल उक्त आयोजनाका प्रमुख नारायणप्रसाद लामेछानेले बताए ।

उनले भने, ‘हाल ड्यामेज भएको ठाउँमा मर्मत गर्ने गरी तयारी भइरहेको छ । काम अब मर्मतको छिट्टै अघि बढ्छ । लगभग डिजाइनको काम सकिसकेको छ ।’

कोटको जय श्री पूल, कावासोतीको लोकाहा पुल, देवचुली दलदलेको बौलाहा खोला पुल भाँचिएका थिए।

जीर्ण अवस्थामा रहेका यी पुलहरू विगत १० वर्षदेखि मर्मत गर्दै सञ्चालनमा आइरहेका छन् ।

ब्रिटिस सरकारको अनुदानमा बनेको पुल ५० वर्षमै ‘ड्यामेज’, कसरी गुड्न दिइयो ११० टनको ट्रक ?

Share News